कोरोना अस्पतालमा प्रयोग गर्नेगरी रोबोट निर्माण

इलामका युवाहरुले यन्त्र (रोबोट) निर्माण गरेका छन् । पाँच युवाले कोरोना अस्पतालमा प्रयोग गर्नेगरी सो यन्त्रको निर्माण गरेका हुन् । निर्माण गरेको यन्त्रलाई इलाम अस्पतालमा प्रदर्शनसमेत गरिएको छ ।

कोरोनाका कारण बिरामीलाई औषधि दिन चिकित्सक तथा नर्सहरु डराइरहेको अवस्थामा रोबोटले नै औषधि पुर्याउन सहयोग गर्ने रोबोट निर्माण गर्नेमध्येका एक युवा नवीन फुयाँलले जानकारी दिए । उनका अनुसार करिब डेढ महिना लगाएर निर्माण गरिएको रोबोट अस्पतालमा नै प्रयोग गरिनेछ ।

कोरोना विशेष अस्पताल र आइसोलेसनमा प्रयोग गर्नकै लागि रोबोटको निर्माण गरिएको हो । रिमोट कन्ट्रोलको माध्यमबाट कुन शय्यामा कुन औषधि लैजाने, कति पटक औषधि सेवन गरेको भन्नेलगायतको जानकारी सोही रोबोटमार्फत प्राप्त हुने उनले बताए । सिसी क्यामेरा प्रयोग गरिएकाले पनि रोबोटबाट धेरै कुराको जानकारी लिन सकिने बताइएको छ ।

इलामका फुयाँल, सुलभ सुवेदी, रिकेश भट्टराई, पवन चापागाईं र अभिनेश सुवेदीले सो रोबोटको निर्माण गरेका हुन् । फरकफरक विषयमा काठमाडौँमा अध्ययन गर्ने उनहरुले काठमाडौँमा समेत विभिन्न क्रयाकलापको प्रदर्शन गरेको बताइएको छ ।

रोबोटको प्रयोगले चिकित्सक र नर्सहरुले धेरै पटक बिरामीलाई नियाल्न आवश्यक नरहेकाले अन्य काम गर्ने समयको समेत बचत हुने बताइएको छ । रिमोट कन्ट्रोलको माध्यमबाट मानिसको आवाज सहजै रोबोटले सुन्ने र काम गर्ने जनाइएको छ । साथै रोबोटबाट आवाज पनि आउने भएकाले बिरामीले समेत सहजै रोबोटलाई प्रयोग गर्नसक्ने जनाइएको छ ।

रोबोट निर्माणको शुरुआती अवस्थामा नै भएकाले करिब रु एक लाख १० हजार खर्च भएको छ । रोबोट निर्माणका लागि इलामका समाजसेवी डम्बर खड्काले उक्त रकम सहयोग गरेको उनले बताए । युवाहरुको जोस र जाँगरमा हौसला प्रदान गर्न आफुले सहयोग गरेको समाजसेवी खड्काले बताए ।

प्रदेश–२ मा सशस्त्र खप्रहरीको रिजर्भ गण स्थापना

काठमाडौ । सशस्त्र प्रहरीले सीमा सुरक्षामा जनशक्ति बढाउँदै प्रदेश–२ मा थप गण सञ्चालनमा ल्याएको छ । प्रदेश–२ का भारतसँग दक्षिणी सीमा जोडिएका आठ वटै जिल्लामा सुरक्षा प्रबन्ध थप सुदृढ बनाउन बिहीबार महोत्तरीको बर्दिवास–४ माईस्थानमा रिजर्भ गणको कार्यालय स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।

सशस्त्र प्रहरी बल प्रदेश–२ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिवासका प्रमुख तथा बाहिनीपति (सशस्त्र प्रहरी नायब महानिरीक्षक) कृष्णभक्त ब्रह्मचार्यले बाहिनी परिसरमै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ ‘रिजर्भ गण’ कार्यालयको उद्घाटन गरेका हुन् ।

नयाँ रिजर्भ गण स्थापनासँगै प्रदेशका आठ वटै जिल्लामा सीमा सुरक्षाका लागि अतिरिक्त जनशक्ति विन्यास गर्न थालिएको गणले जनाएको छ । गणमा अन्य ठाउँबाट नयाँ पदस्थापन भई जनशक्ति आउने क्रम सँगसँगै आवश्यकताका आधारमा विन्यास पनि सँगसँगै गर्न थालिएको नवस्थापित नम्बर ३९ रिजर्भ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकीले सञ्चारकर्मीलाई जानकारी दिए। यस गणमा ६२१ जनशक्ति रहने व्यवस्था छ ।

सीमा नाकाको सुरक्षा, त्यसको व्यवस्थापन र जनशक्ति परिचालनको काम गर्न नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले गत असार २९ गते ‘रिर्जभ गण’को स्थापना गर्ने निर्णय गरेअनुरुप नयाँ गण स्थापना भई सञ्चालनमा आएको हो । यो नवस्थापित गणले विपद् व्यवस्थापन, राहत तथा उद्धार, सीमामा हुने क्रियाकलापहरुको निगरानी गर्ने जिम्मेवारी पाएको छ ।

अहिले प्रदेश–२ का दुई स्थानमा सशस्त्र प्रहरी उपरीक्षकको नेतृत्वमा रिर्जभ गणको स्थापना गरिएको छ । बर्दिवासका साथै अर्को बाराको पिलुवामा यस्तै गण स्थापना गरिएको बाहिनीपति ब्रम्हचार्यले बताउनुभयो । दुवै गण प्रदेशका आठ वटै जिल्लामा आवश्यकतानुसार परिचालित हुनेछन् । सामान्य रेखदेखको कुरामा पर्सा, बारा, रौतहट र सर्लाही जिल्ला पिलुवाले र महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला बर्दिवासले सम्बन्धित जिल्लास्थित गणको समन्वयमा काम गर्ने गरी बाहिनीले निर्देशन गरेको छ ।

सशस्त्र प्रहरीले प्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीमा सीमा सुरक्षा प्रबन्ध बढाउन यस अघि नै ७३ नयाँ सीमा सुरक्षापोष्ट थप्ने गृहकार्य थालिसकेको छ । यसक्रममा १२ वटा पहिलो चरणमा स्थापना भएर धमाधम सञ्चालन गरिने क्रममा छन् । त्यसैगरी दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ गरी प्रदेशभरि जम्मा १२३ सीमा सुरक्षापोष्ट पुर्याइने बाहिनीपति ब्रह्मचार्यले स्पष्टाए ।

पहिलो चरणमा परेका केही स्थानमा नयाँ पोष्ट सञ्चालनमा आइसकेका छन् । यसअघि प्रदेशका आठ वटै जिल्लामा गरी ५० वटा सशस्त्र प्रहरी सीमा सुरक्षापोष्ट सञ्चालनमा थिए । सशस्त्र प्रहरी बलले रिर्जभ गण सञ्चालन गरेर सीमा सुरक्षापोष्ट र थप जनशक्ति बढाएसँगै सीमा क्षेत्रमा आपराधिक क्रियाकलापमा कमी आउने सीमाक्षेत्रका सर्वसाधारणले आस सँगालेका छन् ।

अब नेपालमै अलैँची प्रशोधन, मङ्सिरबाट प्रशोधन गरिने

झापा । नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ ।

झापाको अर्जुनधारामा ३ करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अलैँचीलाई चार प्रकारमा वर्गीकरण गरेर खरीद गर्ने प्रावधान बनाएको छ । उद्योगका सञ्चालक निर्मल भट्टराईका अनुसार ठूलो अलैँची, मझौला अलैँची, सानो अलैँची र सामान्य अलैँचीका रूपमा उद्योगले खरीद गर्नेछ ।

यस्तै अलैँची प्रशोधन गर्ने विभिन्न प्रावधान छन् । गुणस्तरीय अलैँचीलाई १००÷१५० ग्रामको प्याकिङ गरेर निर्यात गरिने छ । अर्को प्रशोधनमार्फत ‘ड्रस’ बनाउने उद्योगको योजना छ । यस्तै अलैँचीलाई ‘माउथ फेवर’ वा मुखलाई सुगन्धित बनाउनका लागि अलैँचीको सानो गेडालाई प्रशोधन गरेर वितरण गर्ने प्रावधान छ ।
“हामीले मुखमा गन्ध चाल नपाउनका लागि ‘सिल्भर कोटेड’मा अलैँचीको सानो दाना मिसाएर बनाउछौँ”, सञ्चालक भट्टराईले भने, “यो प्रविधि सबैभन्दा लाभदायक हुन सक्छ । स्वदेशमा बढी निर्यात हुने सम्भावना छ ।”

अहिलेसम्म अलैँचीलाई प्याकेजिङ नै नगरी बोरामा हालेर विदेश निर्यात गरिन्छ । यसरी निर्यात गर्दा सीमा निर्यात समस्यादेखि अलैँचीको भाउमा समेत तलमाथि हुने समस्या आउने गर्छ । नेपालमै उद्योग निर्माणपछि भने यस्ता समस्या न्यूनीकरण हुने व्यवसायीको अनुमान छ ।

“एकैचोटि सबै अलैँची नेपालमा प्रशोधन गर्न सकिँदैन र एउटा उद्योगले मात्र सम्भव पनि छैन”, सञ्चालक भट्टराईले भने, “एउटा नमूना शुरुआत गरेको हो ।” भट्टराईका अनुसार उद्योगको नमूना प्रशोधनसमेत भइसकेको छ । उद्योगमा प्रशोधन भएका वस्तु बाहिरी देशकै मापदण्डमा रहेकाले निर्यात गर्न आह्वान पनि गरिएको छ ।

मुख्यगरी अलैँचीजन्य पदार्थको बजार नेपालमै केन्द्रित गरिने छ भने बाँकी बजार भारत, पाकिस्तान, युएई, युरोपेली मुलुक र अमेरिका हो । “हाम्रो उद्योगले हाल प्रमाणपत्र पनि लिइसकेको छ । बाहिरी देशको मापदण्डअनुसारकै भइसक्यो”, उनले भने । उद्योगले अहिले अलैँचीको मात्र प्रशोधन गर्ने छ । समयान्तरमा माग र दक्षजनशक्ति बढेमा अन्य वस्तुसँग अलैँची प्रशोधन गरेर बेच्ने योजना रहेको भट्टराईको भनाइ छ । यो उद्योगले मात्रै देशभर उत्पादित १५ प्रतिशत अलैँची प्रशोधन गर्न सकिने भट्टराईको जिकिर छ । स्वस्थकर चिज निर्माण हुने भएकाले उद्योगबाट प्रशोधित धेरै सामग्री नेपालमै खपत हुने भट्टराईको भनाइ छ ।

सभापति देउवा होम आइसोलेसनमा

काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा होम आइसोलेसनमा बसेका छन् । उनको नीजि सचिवालयमा कार्यरत एक जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका हुन्।

देउवा कन्ट्रयाक ट्रेसिङमा परेपछि होम आइसोलेसनमा बसेका हुन् । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
सभापति देउवाको आज स्वाब परीक्षण गर्ने छन् । देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित भएको छ ।

शुक्रबार माता दुर्गाको दर्शन् गर्नुहोस् र आजको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल असोज ०२ गते । शुक्रबार । ईश्वी सन् २०२० सेप्टेम्बर १८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–प्रतिपदा,२१ घडी १८ पला,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–उत्तरफाल्गुनी,०९ घडी ०३ पला,बिहान ०९ बजेर २८ मिनेट उप्रान्त हस्त । योग–शुक्ल,४७ घडी ४७ पला,बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त ब्रम्ह । करण– बव,दिउसो ०२ बजेर ४६ मिनेट उप्रान्त बालव,रातको ०१ बजेर ३६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०३ मिनेट । दिनमान ३० घडी ३१ पला । चन्द्रोदय। अधिक मास (मलमास) प्रारम्भ। अपूप दान सुरु। मत्स्यनारायण मेला प्रारम्भ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सत्रुहरुलाई किनारा लगाउदै चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययन अध्यापनमा मन जाने हुनाले अरु दिन भन्दा खटेर काम गर्न सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने नजिकका मित्रहरुवाट समयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । कुटुम्ब तथा मावली पक्षबाट काममा सहयोग पाईनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउने योग रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । समयको र कामको तालमेल नमिल्दा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ । काममा अप्रत्यासित बाधा ब्याबधान आईलाग्ने तथा ठुलो श्रम खर्च गर्नुपर्ने हुन सक्छ ख्याल गर्नुहोला । अध्ययन अध्यापनमा खासै मन नलाग्ने हुँदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । बौद्धिक ब्यात्तित्व तथा अग्रजहरु सँग सैद्धान्तिक मतभेद रहनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आमा तथा आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । समयमा कामहरु सम्पन्न नहुदा मान तथा सम्मानमा ठेस लाग्न सक्छ ध्यान दिनुहोला । माया प्रेम तथा प्रणय सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ ध्यान दिनुहोला । खानपान तथा मौषमको ख्याल गर्र्नुहोला छाति सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे

खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्निबिच बिश्वासको बाताबरण गुम्ने खतरा रहेको छ । पढाई लेखाईमा खासै ध्यान नजाँदा बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । कुटुम्बसँग मनमुटाब बढ्ने हुँदा आजको दिन टाढानै रहनु राम्रो रहेको छ । व्यापार व्यावसायमा नाफा कमाउन प्रसस्त समय खर्चिनु पर्नेछ । बोल्दा ख्याल गर्नुहोला तपाईको आजको निर्णय आत्मघाति पनि हुन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आएस्रोतका बाटाहरु फराकिला हुँने तथा रोजगारिका अवसरहरु सिर्जना गरि रोजगार दिन सकिनेछ । भौतिक तथा मानव निर्मित भोगबिलासका सामानहरु प्राप्त हुनेछन् । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ भने प्रेम सम्बन्ध सुदृड हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा समय लगानि गर्दा गुरुवर्ग तथा परिवारजनको सहयोग पाईने सकारात्मक नतिजा निकाल्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्ने बिभिन्न अवसर आएपनि समयको ख्याल नगर्दा अरुभन्दा पछि परिनेछ । व्यापारमा मन्दि आउने तथा लगानि फस्ने सम्भावना रहेकोछ । पढाई लेखाईमा मन जाने छैन भने प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावी हुनेछन् । स्वास्थ्य सम्बन्धि समस्या आउनेछ भने पुरना ऋण रोगले सताउनेछ । माया प्रेममा धोका हुने तथा घर परिवार तथा दिदिबहिनी सँग मनमुटाबको सिर्जना हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ । पढाई लेखाईमा थोरै समय दिदापनि उत्कृष्ट नतिजा हात लाग्नेछ । नोकरिमा पदोन्नति तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । प्रतिभाको उच्च मुल्याङकन हुनेछ भने सामाजिक रुपमा ख्याति बढ्नेछ ।

नयाँ बसपार्कमा कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण झण्डै ६ महिना बन्द रहेको नयाँ बसपार्कले प्रविधिलाई पछ्याउँदै कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । कोभिड–१९ का कारण चैत १० गतेदेखि देशभरका सार्वजनिक यातायात बन्द रहेको अवस्थामा सरकारको सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले असोज १ देखि सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेसँगै आजदेखि कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेको हो । टिकट बुकिङ खुला गरेसँगै नयाँ बसपार्कमा टिकट लिन आउने यात्रुसमेत बढेका छन् ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवर बसपार्कका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोरोना सङ्क्रमण हुन नदिन तथा सामाजिक दूरी कायम गरी यात्रुलाई सुरक्षित रुपमा गन्तव्यस्थलसम्म लैजाने वातावरण निर्माणका लागि टिकट बुकिङलाई कम्युटर प्रणालीमा लगिएको बताउनुहुन्छ । “बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी कम्युटर प्रणालीमार्फत ‘टिकट बुकिङ’ खुला गरेका हौँ, आगामी दिनमा अनलाइन र एप्समार्फत टिकट काट्ने व्यवस्था गर्नैछौँ,”–उहाँ भन्नुहुन्छ । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमण तीब्र गतिमा फैलिरहेको बेला ल्होत्से बहुउद्देश्यीय प्रालिले बढी भीडभाड हुने क्षेत्र नयाँ बसपार्कमा कम्युटर प्रणाली जडान गरी टिकट बुकिङको व्यवस्था मिलाएको हो । यस्तै, अबको केही दिनभित्र नै ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेको छ ।

प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्ल यात्रुको सहजताका लागि नयाँ बसपार्कमा अनलाइन प्रणालीबाट टिकट बुकिङको व्यवस्था मिलाइएको बताउनुहुन्छ । “विगतमा विभिन्न व्यक्तिबाट यात्रु ठगिने, महङ्गो बसभाडा तिर्नुपर्नेलगायत समस्या आएकाले अब त्यस्तो हुन नदिन अनलाइनबाटै टिकट काट्ने व्यवस्था मिलाएका हौँ,”–उहाँ भन्नुहुन्छ । ल्होत्से बहुउद्देश्यीय प्रालिले कम्युटर प्रणाली र अनलाइनमार्फत टिकट बुकिङको व्यवस्था शुरु गरेसँगै विभिन्न बस कम्पनीहरु अनलाइन माध्याममा जान शुरु गरेका छन् । आजैदेखि काठमाडौँबाट प्रदेश नं १ को ताप्लेजुङ, संखुवासभा, भोजपुर, धनकुटा, सुनसरी, झापा, मोरङ, तेह्रथुम र उदयपुर र प्रदेश २ को सिरहा र सप्तरी जाने ५४ बस कम्पनीले कम्युटर प्रणालीमार्फत अनलाइन टिकट बुकिङ शुरु गरेका हुन् ।

उक्त ५४ कम्पनी मिलेर बनेको काठमाडौँ–पूर्वाञ्चल यातायात व्यवसायी समन्वय प्रालिले यात्रुलाई सुरक्षित र भरपर्दो तवरले पूर्व लैजानका लागि विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको स्वास्थ्य मापदण्ड पूरा गरेर तयारी अवस्थामा बसेका छन् । प्रालिका अध्यक्ष श्री श्रेष्ठ कोरोना सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गरी अन्तर्राष्ट्रिय स्तरको बससेवा प्रदान गर्नका लागि आफूहरुले अनलाइनमार्फत टिकट बुकिङ खुला गरेको बताउनुहुन्छ । अनलाइनमार्फत टिकट बुकिङ शुरु गरेपछि यात्रु नठगिने उहाँको भनाइ छ ।

उक्त प्रालिमार्फत काठमाडौँबाट पूर्वाञ्चल क्षेत्रमा २७५ सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । सो प्रालिमा डिलक्स, एसी र सामान्य बसहरु सञ्चालित छन् । प्रालिका सचिव रुद्रबहादुर कार्की सरकारले तोकेको मापदण्डलाई पूर्ण रुपमा पालना गरेर बस सञ्चालनको तयारी गरेको बताउनुहुन्छ । “कोभिड–१९ का कारण ६ महिनादेखि अस्तव्यस्त रुपमा रहेको यातायातलाई पूर्ववत अवस्थामा फर्काउनका लागि अनलाइन माध्यामबाट टिकट बुकिङ गरी सरकारले तोकेअनुसारको भाडादरमा यात्रु बोक्छौँ”,–उहाँ भन्नुहुन्छ । सरकारले एक सिटमा एक यात्रुमात्र राख्न पाउने र ५० प्रतिशत भाडा बढाएर लिनपाउने व्यवस्था मिलाएपनि सो निर्णय व्यवहारिक नभएको उहाँको भनाइ छ ।

चालकको लापरवाही तथा बाटोको दूरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि हरेक बसमा ‘जिपिएस सिस्टम’ जडान गर्न लागिएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको जुम्लासम्म ५० भन्दा बढी जिल्लामा सवारी साधन नयाँ बसपार्कबाट आवतजावत गर्छन् । उक्त बसपार्कबाट दैनिक झण्डै दुई हजार सवारी साधन ओहोरदोहोर गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर बताउनुहुन्छ ।

सार्वजनिक सवारी साधन फोहर हुँदा भाइरसको सङ्क्रमण दर बढ्ने भन्दै हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाईने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ । यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्नेछ । ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रले निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको छ । काठमाडौँको गौशाला, कोटेश्वर, कलङ्की, गोङ्गबु, बल्खुका मुख्य सडकबाट लामो दूरीका सवारी साधन विभिन्न जिल्लामा जाने गरेका छन् । सबै सवारी साधनलाई एकै ठाउँबाट सञ्चालन गर्न सकिए कोरोना सङ्क्रमण फैलने क्रममा कमी आउने देखिन्छ ।

रेल सेट शुक्रबार नेपाल आउने

धनुषा । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालनका लागि रेल सेट शुक्रबार नेपाल आइपुग्ने भएको छ । भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउने गरी तयारी गरिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको उनको भनाइ छ । उनले भने, “उताबाट कुनै समस्या आए पनि हाम्रा तर्फबाट कुनै पनि समस्या छैन ।”

भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट ल्याइएको हो । आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको होे ।

जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गका भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न हुनेछ र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ । रेल सञ्चालनको जिम्मेवारी रेल्वे कम्पनीको हो । कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसद्मा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा छ ।
–––

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

काठमाडौ । सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि पनि उहाँलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ ।

उनी गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सोमबार काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उहाँको दायाँ खुट्टा र दायाँ हात भाँचिएको थियो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पु¥याइएको थियो ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन्। पछिल्लो समय उनी नेपाल पुलिस क्लवबाट घरेलु क्रिकेट खेल्दै आएका थिए । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन । उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् (यूएई) विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । भण्डारीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका थिए ।

अस्ट्रेलियामा फेसबुक, गूगलका सन्दर्भमा कानुनमा संशोधन गर्न प्रस्ताव

काठमाडौ । फेसबुक र गूगलले अखबारका समाचारका लागि भुक्तानी गर्नुपर्ने सम्बन्धी प्रस्ताव समेटिएको मस्यौदा कानुनमा ती दुबै निकायलाई आफ्नो संशोधन पेश गर्न समय दिइएको छ । तर मस्यौदा कानुनका लेखकहरुले सैद्धान्तिक रुपमा कानुनको मुख्य विषयमा परिमार्जन नहुने जनाएका छन् ।

अस्ट्रेलियाली स्वच्छ व्यापार नियामक रड सिम्सले आफूले कानुनको अन्तिम मस्यौदा संसदमा बुझाउन लागेको बताउनुभएको छ । प्रस्तावित कानुनमा अक्टोबरको शुरुदेखि नै फेसबुक र गूगलले अस्ट्रेलियाली संचार माध्यमका समाचार सामग्री उद्धृत गरेमा, छापेमा संचार माध्यमलाई भुक्तानी गर्नु पर्ने व्यवस्था समेटिएको छ ।

फेसबुकले समाचार दिनुको साटो अस्ट्रेलियाली समाचार सामग्री आफ्नो साइटमा नदेखिने बनाउन लागेको चेतावनी दिएको छ ।

गूगलले पनि प्रस्तावित कानुनले गूगल सर्च र युट्युबमा नकारात्मक असर पर्ने जनाएको छ । गूगलले निःशुल्क सेवा प्राप्त गर्ने जनताको अधिकार कुण्ठित हुन सक्ने तथा प्रयोगकर्ताका व्यक्तिगत विवरणहरु संचार माध्यममा पुग्न सक्ने बताएको छ ।

सिम्सले अमेरिकी सामाजिक संजालका प्लेटफर्मसँग प्रस्तावित कानुनका बारेमा छलफल गरिरहेको बताउनुभएको छ । प्रस्तावित कानुनका बारेमा अक्टोबरमै संसदमा छलफल हुने कार्यसूची रहेको छ ।

सिम्सले गूगलले उठाएका केही सरोकार जायज रहेका छन्, र त्यसलाई सच्याउन कानुनी व्यवस्था गरिनेछ भने । उनले गूगल वा फेसबुकले भनेझैं सबै कुरा फेरबदल गर्न नसकिने बताए ।

स्पेन र फ्रान्सले पनि बौद्धिक कानुन मार्फत समाचारका लागि फेसबुक र गूगलमाथि भुक्तानीको दाबी गर्ने अभियान संचालन गरे पनि त्यो असफल भएको थियो । यस विषयमा संयुक्तराज्य अमेरिका र युरोपमा पनि उस्तै समस्या रहेका छन् ।

युद्ध हुनुको कारणको खोजी नभई युद्धबिराम हुँदैनः तालिबान

काठमाडौ । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ ।

तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक चरणको वार्ता शुरु भएलत्तै तालिबान समूहले हिंसात्मक कारबाहीमा कमी ल्याएको दाबी गरे । उनले तर सरकारी फौजले आक्रामक कारबाही जारी राखेकामा दुःख व्यक्त गरे ।

प्रवक्ता नईमले भने, “बीस वर्षदेखिको युद्ध एक घण्टामै अन्त्य हुन सक्दैन भन्नेमा सबै विश्वस्त हुन आवश्यक छ । हाम्रो दृष्टिकोणमा वर्तमान समस्या र युद्धका मुख्य पक्षहरुका बारेमा छलफल गरिनु सान्दर्भिक हुन्छ ताकि यो समस्यालाई स्थायी रुपमै समाधान गर्न सकिन्छ ।”

उनले भने, “मानिलिउँ, आजै हामीले युद्धबिराम घोषणा गर्यौं, तर भोलि हामी सहमतिमा पुगेनौं भने त्यसको जिम्मेवारी कसले लिन्छ ? के हामीले फेरि युद्ध शुरु गर्नु ? यसको अर्थ के हो ?” उनले तालिबानको मुख्य चाहना नै अफगानिस्तानलाई इस्लामिक राष्ट्र बनाउनु हो र यसका बारेमा आमजनता र मुलुक नै दृढ छ भने ।

प्रवक्ता नईमले भने, “हाम्रो अर्को उद्देश्य अफगानिस्तानमाथिको विदेशी अतिक्रमण अन्त्य गर्नु हो ।”

उनले वार्तामा उतारचढाब भए पनि अफगान र तालिबान प्रतिनिधिमण्डलबीचको वार्ता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । उनले आफूहरु बलियो इच्छाशक्ति र प्रतिबद्धताका साथ शान्ति प्रक्रियामा प्रवेश गरेको बताउँदै विभिन्न जटिलताका बाबजूद यो प्रक्रिया सहज रुपमा अघि बढ्नेछ भने ।

अफगान सरकार र तालिबानबीच कतारको दोहामा वार्ता हुन थालेको पाँच दिन पुगिसकेको छ । यो अफगान सरकार र तालिबानबीचको पहिलो औपचारिक वार्ता हो । सूत्रका अनुसार औपचारिक सम्झौताका लागि दुबै पक्षबीच कार्यविधि र विधिका बारेमा सहमति जुट्न सकेको छैन ।

गौतमले लिए राष्ट्रिय सभा सदस्यको सपथ

काठमाडौ । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारील मन्त्रिपरिषदको सिफारिसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् ।
अपराह्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

उपत्यकामा थप ६ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका ५ सय ७, ललितपुरका ६१, भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोनाको संक्रमण पछिल्लो समय तीब्र गतिमा बढिरहेको छ।

आजदेखि पितृ पक्ष समापन गरिँदै

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि शुरु भएको पितृ पक्ष अपराह्नकालमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आजदेखि समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि शुरु हुने पितृ पक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा) को श्राद्ध भने यस वर्ष मलमासका कारण कार्तिक १ गते परेको छ । पितृ पक्षका १५ तिथि र आश्विन शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिनसम्म दिवंवगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ ।

यस वर्ष भदौ १७ गतेदेखि शुरु भएको पितृ पक्ष आज असोज १ गते विधिवत् समापन गरिँदै छ । पितृ पक्षको अन्तिम दिन आज आमावास्या अर्थात् औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारणवश यो पक्षका अरु तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ । कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्म अनुसार आश्विन शुक्ल प्रतिपदादेखि आश्विन शुक्ल पञ्चमीसम्म गर्न हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

यस वर्ष असोज महिनाभर अधिकमास भएकाले आश्विन शुक्लपञ्चमी कात्तिक ५ गते बुधबार पर्छ । भदौको पितृपक्ष अर्थात् सोह्र श्राद्धमा कोरोना वा कारणले श्राद्ध गर्न नसक्नेले कात्तिक १ देखि ५ गतेसम्म पनि गर्न शास्त्रसम्मत् हुने उहाँले सुनाउनुभयो । यो समयमा पनि कारणवश सोह्र श्राद्ध गर्न नसकिएमा कार्तिककृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन गर्न सकिन्छ । कार्तिककृष्ण औँसीमा पनि गर्न नसकिने भएमा वृश्चिक सङ्क्रान्ति अर्थात् मङ्सिरसम्म जुराएर गर्न सकिने शास्त्रीय मत छ । यो विकल्प अहिले कोरोनाका कारण सृजना भएको जस्तै परिस्थितिका लागि दिइएको हो ।

आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतीपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्प समेत निर्णयसिन्धु, धर्मसिन्धु लगायत धर्मशास्त्रका ग्रन्थमा दिइएको नेपाल संस्कृत विश्विद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् वैदिक मन्त्रले दैनिक १०८ जप गर्न सकिने शास्त्रीय विकल्प रहेको धर्मशास्त्रविद् भट्टराईले जानकारी गराउनुभयो । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ ।
पितृपक्षका बेलामा पितृलोकबाट दिवंगत पितृहरु पिण्ड, पानीको आशले मत्र्यलोकमा झर्छन् भनी धर्मशास्त्रका हेमाद्रि, वीरमित्रोदय, निर्णयसिन्धु लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यस अवसरमा शास्त्रीय रुपमा दिइएका विकल्प अनुसारका कर्म नगरे पितृ सुस्केरा निकाली सन्तानलाई श्राप दिई फर्कन्छन् भन्ने वाक्य ती ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्र श्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्र श्राद्ध, औँसी तिथिमा मृत्यु भएका पुरुषको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्म कपाली जस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यो पक्षमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको धर्मशास्त्रविद् गौतम बताउनुहून्छ । सोह्रश्राद्ध अपराह्नकालमा गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको पनि उहाँले सुनाउनुभयो । यस अवसरमा उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया, नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावती, देवघाट, त्रिवेणी लगायत तीर्थस्थलमा पनि पितृप्रति श्रद्धासाथ श्राद्ध गर्नेको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न कतै निषेधाज्ञा र कतै बन्दाबन्दी जारी गरिएका कारण मानिस जम्मा हुन सकेनन् । केही मानिसमात्र यी तीर्थमा पुगी श्राद्ध गर्न सफल भए ।

अरुको घरमा डेरा गरी बसेकाले तीर्थमा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ । अरुको घरमा श्राद्ध गर्नुहुँदैन भन्ने शास्त्रीय मान्यताका आधारमा तीर्थमा गई श्राद्ध गर्ने गरिएको हो । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुने गरेपनि यस वर्ष अधिकमासका कारण एक महिना ढिलामात्र नेपालीको महान चाड शुरु हुनेछ । यस वर्ष कार्तिक १ गते घटस्थापनासँगै दुर्गा पक्ष शुरु हुने समितिले जनाएको छ ।

कालिकोट कोरोनामुक्त

कालिकोट । कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताए ।

कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिए । जिल्लाका नौ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताए । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ । कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ ।

मोदीको जन्मदिनमा प्रधानमन्त्री ओलीद्धारा शुभकामना

काठमाडौ । प्रधानमन्त्री केपीशर्मा ओलीले आज पर्न गएको भारतीय समकक्षी नरेन्द्र मोदीलाई ७० औँ जन्मदिनको अवसरमा शुभकामना दिएका छन्। प्रधानमन्त्री ओलीले बिहीबार बिहान ट्वीटरमार्फत् शुभकामना दिएका हुन्।

‘तपाईँको जन्मदिनको शुभ अवसरमा सु–स्वास्थ्य र खुसीको कामना गर्दछु’, प्रधानमन्त्रीले ओलीले भनेका छन्, ‘हामी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन निरन्तर लाग्नेछौँ।’

भारतीय प्रधानमन्त्री मोदी १७ सेप्टेम्बर सन् १९५० मा गुजरातमा जन्मिएका थिए।

उनको ७० औँ जन्मदिनका अवसरमा गुजरात सरकारले विभिन्न योजनाहरू घोषणा गर्दैछ। भारतीय सञ्चार माध्यमका अनुसार राज्य सरकारले किसानलाई प्रोत्साहनका लागि हरेक महिना सहयोग अनुदान उपलब्ध गराउने तथा खानेपानी आपूर्ति लगायतका योजना गुजुरात सरकारले घोषणा गर्न लागेको हो।