प्रा डा केसीका आवाजलाई सम्बोधन गर्न ढिलाइ नगरियोस्ः कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न माग राखी अनशनरत प्रा डा गोविन्द केसीका जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ नगर्न सरकारसँग आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत प्रा डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको प्रति ध्यानाकर्षण गराउँदै उहाँको अनशनको २४ दिन पुगिसक्दा समेत सरकारले वार्ता समितिसम्म गठन नगरेको जनाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

कांग्रेस नेतृत्वको सरकारका पालामा प्रा डा केसी अनशन बस्दा वार्ता गरिएको र कैयौं माग पूरा गरिएको उल्लेख गर्दै उहाँले सुशील कोइराला नेतृत्वको सरकारले उच्चस्तरीय कार्यदल बनाएर तथा शेरबहादुर देउवा नेतृत्वको सरकारले अध्यादेश जारी गरेर तथा संवादमार्फत प्रा डा केसीका माग पूरा गरिएको स्मरण गराउनुभएको छ । उनीसँग वार्ता नगर्ने हठ सरकारलाई महंगो पर्ने चेतावनी समेत दिए ।

कुटपिट गरेको बुबाको हत्या गर्ने गुल्मीका बस्नेच पक्राउ

गुल्मी । गुल्मीमा आफ्नै बुबाको हत्या गर्ने छोरा पक्राउ परेका छन् । जिल्लाको इस्मा गाउँपालिका –४ दोहोलीका २८ वर्षीय अनिल बस्नेत मङ्गलबार साँझ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालयले इस्मा – १ हर्पुकोटस्थित आफन्तका घरबाट बस्नेतलाई पक्राउ गरेको हो । उनले गत आइतबार ६० वर्षीय बुबा दिलबहादुरलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइतेको उपचारका लागि बुटबल लैजाँदै गर्दा बाटामै ज्यान गएको थियो ।
बुबाको हत्या गरेर फरार अनिलको खोजी गर्नेक्रममा सुराकीका आधारमा फुपू दिदीका घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केदारनाथ पन्थले जानकारी दिए । अनीलले अपराध स्वीकार गरिसकेको बताइएको छ । अहिले उनी प्रहरी हिरासतमै रहेको र कानूनी प्रक्रिया पु¥याएर कारागार चलान गरिने पन्थले बताए ।

होमस्टे खुले, पाहुना आएनन्

ओखलढुङ्गा । जिल्लाको ठाडेका होमस्टे पुनःसंचालनमा आएका छन् । कोरोना माहामारीको त्रासका कारण बन्द रहेका होमस्टे छ महिना पछि पुनः सञ्चालन गरिएको हो ।लामो समयको लकडाउन र निषेद्याज्ञामा बन्द रहेका होमस्टे बडादशैं र दिपावलीजस्ता चाडपर्व नजिकिएसंगै मानिसको चहलपहल पनि हुने भएकाले स्वास्थ्य सुरक्षा अपनाएर होमस्टेको सेवा पुनः शुरु गरिएको ठाडे मगर सामुदायिक होमस्टेका उपाध्यक्ष हरिकुमार मगरले बताए ।

आन्तरिक पर्यटक र सुरक्षा अपनाएर आउने पाहुनाले सामजिक दूरी कायम गर्नुपर्ने, होमस्टे प्रवेश गर्नुअघि र समूहमा बस्दा अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको उपाध्यक्ष मगरले जोड दिए। ठाडेका वासिन्दाले सामूहिकरूपमा चलाएका होमस्टेमा पाहुनाका लागि हातधुने ठाँउ, साबुन र स्यानिटाईजरको पनि व्यवस्था गरिएको छ । लामो समयको लकडाउनले होमस्टे व्यवसाय सङ्कटमा परेकाले सतर्कता अपनाएर सेवा शुरु गरिएको स्थानीय व्यवसायीले बताए ।

गत चैत दोस्रो साताबाट बन्द भएका होमस्टे खुलेपछि विगत वर्षको जस्तो पाहुना नआए पनि सम्पर्कमार्फत सुरक्षित भएर आउने सिमित पाहुनालाई सेवा दिनुपर्ने बाध्यता रहेको अध्यक्ष पारस मगरले बताउनुभयो । शहरमा बस्ने धेरैजसो अहिले गाउँमा रहेकाले जैविक परिकारको स्वादमा रमाउन चाहनेहरु मात्रै होमस्टेमा आउने गरेको उहाँको भनाइ थियो । ठाडेबजार समुन्द्री सतहबाट करिब २ हजार ९ सय मिटर उचाईमा छ । सगरमाथाको प्रवेशमार्गमा पर्ने ठाडे बजार सोलुखुम्बुको पत्ताले नजिक पर्दछ ।
यहाँबाट विश्वको सर्वोच्च शिखर सगरमाथालगायत अन्य दर्जनौं हिमशृंखलाको अवलोकन गर्न सकिन्छ ।

यहाँको होमस्टेमा पुग्ने पाहुनालाई आलुको ढिडो (रिल्दुक), गोर्मालिक (गहुँको पिठो दूधमा पकाएको परिकार), स्याक्पा, सिमी, मकै, फापरको ढिंडोलगायत स्थानीय परिकार खुवाउने र मगर समुदायको संस्कारले सत्कार गर्ने चलन छ ।

अफगानिस्तनमा तालिबानका छुट्टाछुट्टै आक्रमणमा ६ प्रहरी र ४ सैनिकको मृत्यु

काठमाडौँ । अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरुले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ ।
अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका यहाँको टोलो न्युजले जानकारी दिएको छ ।मंगलबार राति अफगानिस्तानको जाबुल प्रान्तको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा तालिबानहरुले हमला गरेका थिए ।

त्यसैगरी अफगानिस्तानको हेल्माण्ड प्रान्तको ओमार जवाक जिल्लामा भएको कार बम हमलामा परी कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ ।उक्त जिल्लामा सैनिक समूहलाई लक्ष्य गरेर कारबम हमला गरिएको थियो । त्यसमा परी चार जना अफगान सेनाका सदस्यको घटनास्थलमै ज्यान गएको थियो भने अरु छ जना घाइते भएका छन् ।

पछिल्लो समयमा तालिबानीहरुले हेल्माण्ड प्रान्तमा कैयौँ हिंस्रक हमलाहरु गरिरहेका छन् । उता कतारको राजधानी दोहामा अफगान सरकार र तालिबानीहरुबीच शान्ति वार्ता हुने बताइरहेका बेला यता उनीहरुले हमला रोकेका छैनन् ।

थप ३४३९ जनामा संक्रमण पुष्टि

बुधरबार आज एकै दिनमा ३ हजार ४ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ । महिला १ हजार २ सय ६१ र पूरुष २ हजार १ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो । आज १४ हजार २ सय ९ जनामा पिसिआर परिक्षण गरिएको थियो । यो एकैदिनमा संक्रमित भेटिनेमा आजसम्मकै सार्वाधिक हो ।

सामुदायिक विद्यालयका छात्रालाई साइकल

भरतपुर । भरतपुर महानगरपालिकाले ‘जोखिममा परेका महिलासँग मेयर कार्यक्रम’ अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई साइकल वितरण थालेको छ । पहिलो चरणमा मङ्गलबार महानगरका पाँच वडाका १३५ छात्रालाई साइकल वितरण गरिएको हो । जसमा वडा नं ६, १३, २२, २३ र २४ का १७ विद्यालयका छात्रा छनोटमा परेका थिए ।

भरतपुर महानगरपालिका वडा नं २२ को राष्ट्रिय आधारभूत विद्यालय धनौजीमा आयोजित कार्यक्रममार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले साइकल वितरण शुभारम्भ गरे । विद्यालय शिक्षामा छात्रालाई शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरी छात्रालाई साइकल वितरण गरिएको प्रमुख दाहालले बताए । उनले भने, “महानगरपालिकाभित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई साइकल वितरण गरेका छौँ, आगामी दिनमा यसलाई निरन्तरता दिनेछौँ ।” उनले दैनिक ज्यालादारी काम गरेर खाने श्रमिकका परिवारलाई प्राथमिकता दिइएको बताए । “वडाको सिफारिसका आधारमा विद्यालय छनोट गरेका हौँ”, उनले भने, “सही सदुपयोगका लागि अनुगमनसमेत गरेका छौँ ।”

उनले साइकल विरतणपछि टाढा–टाढाबाट विद्यालय आउने छात्राका लागि सहज हुने बताए । उनले साइकल वितरणपछि छात्रालाई नियमित विद्यालय आउन उत्प्ररित गर्ने धारणा राखे । शिक्षा क्षेत्रको विकासमा महानगरपालिकाले चालेको कदम हरेक विपन्न वर्गले अनुभूति गर्ने खालको हुने उनको भनाइ छ । दाहालका अनुसार महानगरपालिकाभित्रका १२ वडाका विभिन्न विद्यालयका ३३० छात्रालाई क्रमशः साइकल वितरण गरिनेछ ।

महानगर उपप्रमुख पार्वती शाह ठकुरीले विपन्न परिवारका छात्रालाई लक्ष्य गरी गरिएको यो कार्यक्रमले छात्रालाई विद्यालयमा निरन्तरता गराउन धेरै प्रभावकारी हुने बताए । महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले भरतपुर महानगरका विद्यालयको शैक्षिकस्तरदेखि भौतिक सुधारमा महानगर लागिपरेको र सरकारी विद्यालयलाई विद्यार्थीको प्रमुख रोजाइको केन्द्रका रूपमा विकास गर्ने गरी काम भइरहेको बताए ।

महानगरले आफ्नो आन्तरिक स्रोतबाट मात्रै रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरी काम थालेको र केन्द्र तथा प्रदेश सरकारबाट पनि शिक्षामा पर्याप्त बजेट आएको उहाँले जानकारी दिनुभयो । गत वर्ष पनि महानगरपालिकाले बालबालिकासँग मेयर कार्यक्रम’ अन्तर्गत न्यानो कपडा र पाठ्यपुस्तक वितरण गरेको थियो । महानगरपालिकाले यो कार्यक्रमलाई प्रत्येक वर्ष निरन्तरता दिँदै आएको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह, प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापकलगायतको सहभागिता थियो ।

लागुऔषधसहित दुई पक्राउ

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।

विशेष सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । ज८प ५९३६ नंको मोटरसाइकलमा रहेका दुवै जनालाई जाँच गर्दा प्लाष्टिकको बोरामा लुकाइछिपाइ ल्याएको डाइलक्स डिसी ८९ बोतल, स्प्रामोप्रोक्सीभन प्लस ७६८ क्याप्सुल र निट्राभेट ४२० ट्याब्लेट बरामद गरिएको नायब उपरीक्षक कार्कीले बताए । लागुऔषधसहित पक्राउ परेका उपेन्द्र र हरिशङ्करउपर थप अनुसन्धान तथा कानूनी कारवाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
–––

परराष्ट्र प्रवक्ताको जिम्मेबारी लम्सालले पाए

काठमाडौँ । परराष्ट्र मन्त्रालयले प्रवक्ताको जिम्मेवारी सहसचिव सेवा लम्साललाई दिएको छ ।

हालै पाकिस्तानको इस्लामावादस्थित नेपाली नियोगबाट ४ वर्षे राजदूत कार्यकाल पूरा गरेर फर्केकी लम्सालले न्यूयोर्क मिसनमा समेत काम गरेकी छिन् ।

यसअघि परराष्ट्र प्रवक्ता रहेका सहसचिव भरतराज पौड्यालले वरिष्ठता आधारमा मन्त्रालयमा निमित्त सचिवको जिम्मेवारी पाएपछि रिक्त प्रवक्ता स्थानमा लम्साललाई लगिएको हो ।

यौन दुर्व्यवहारको आरोपमा वडाध्यक्ष पक्राउ

ओखलढुङ्गा । यौन दुर्व्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् ।

स्थानीय एक महिलालाई यौन दुर्व्यवहार गरेको उजूरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए। करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।’ घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।

अध्यक्ष राईले चार दिन अघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।

पशुपतिले सबैको रक्षा गरुनु (असोज २१ गते बुधबारको राशिफल)

आज श्री शाके १९४२ बि.स.२०७७ साल असोज २१ गते बुधबार इश्वी सन २०२० अक्टोबर ७ तारीख अधिक आश्विन कृष्णपक्ष पञ्चमी तिथी पश्चात षष्ठी तिथी रोहिणी नक्षत्र ब्यतिपात योग गर करण चन्द्रंमा बृष राशिमा आनन्दादि योगमा शुभ योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रियजनको स्वास्थमा सामान्य खराबि आउनाले मानसीक समस्या आईपर्न सक्नेछ । बाणीमा मधुरता छाउनाले कुल कुटुम्बहरुको साथ सहयोगमा बृद्यिहुने योग रहेकोछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला । बादबीवादको झमेलामा फस्न सक्ने सम्भाबना रहेको छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ब्यापार ब्यवसायको निम्ति तथा नयाँ लगानिका लागी राम्रो समय रहेको छ । मान्यजनको साथ सहयोग द्वारा गरीरहेको काममा बिशेष फाइदा प्राप्त हुनेछ । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । स्वास्थ सम्बन्धि समस्या ले सताउला । भौतिक श्रोत साधनको प्रयोगले मन प्रशन्न रहला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ने छ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । सामान्य यात्राको सम्भाबना रहेकोछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धोका हुन सक्छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पुराना तथा प्रिय मित्रजनको भेटघाटले मन हर्शित रहनेछ । मनोरञ्जनको क्षेत्रमा धेरै समय ब्यतित हुन सक्छ । तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । प्रतिपक्क्षीहरु सबल रहनाले कार्य सम्पादनमा झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परोपकारको क्षेत्रमा धेरै समय र परीश्रम खर्च हुन सक्छ । मान्यजनको अनुसरण बाट बिशेष लाभ प्राप्त हुने समय रहेको छ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । शारिरीक आलस्यताले सताउला । पारीवारिक साथ सहयोग बाट काममा बिशेष फाईदा हुनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । अनावश्यक यात्राको सम्भाबना रहेकोछ । प्रतिश्पर्दीहरू कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । दाजुभाई तथा मित्रजनको साथ सहयोगमा गरीएका कार्यमा बिशेष फाईदा पुग्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ । स्वास्थमा देखा परेको गढबढीले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न गराउला । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ । तपाईको कार्यको फल अरुलाई सहजै प्राप्त हुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) अपरीचीत ब्यक्तिहरुको बिश्वास गर्नाले षड्यन्त्रमा फसीएला सजग रहनु पर्ने समय रहेको छ । शत्रु सबल रहनेछन । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्र्थीक झमेलाले सताउनेछ । सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । यात्रा खर्च दायक रहनसक्ने सम्भाबना रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहनेछ । सानो प्रयासले ब्यक्तित्व बिकासमा निकै टेवा पूर्याउनेछ । आम्दानि मध्यम रहनेछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन । आफु भन्दा सानोको सहयोगमा गरिएका कामहरु दीगो फाईदा मुलक साबित हुनेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) भौतिक श्रोतसाधनको प्रयोगमा समय ब्यतित रहला । कार्य सम्पादनमा भएका सामाय त्रुटिले अपजसको सामना गनु पर्ने सम्भाबना रहेको छ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । अरुको दबाबको अनुभब हुन सक्नेछ । सामाजिक कार्यका क्षेत्रमा धेरै समय र परीश्रम खर्चिनु पर्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) मान सम्मान प्राप्तिको योग रहेको छ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहला । अध्यन अध्यापन मध्यम रहनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । कार्य सम्पादनमा लगाईएको लगनसीलताको राम्रो कदर हुनाले मन प्रशन्न रहनेछ । बल पराक्रममा बृद्धि हुनेछ ।

जलविद्युत् कम्पनीका शेयरमा ओइरिए लगानीकर्ता

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ४.१७ बिन्दुले वृद्धि भई एक हजार ५८६.२९ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.७६ बिन्दुले बढेर ३१३.२२ मा पुगेको छ । कूल १९५ कम्पनीको ९९ लाख ४९ हजार ३१७ कित्ता शेयर रु दुई अर्ब ५१ करोड ५ लाख ८५ हजार ३३२ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ६ उपसमूहको शेयर उकालो लागेको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार ८.१५, विकास बैंक ७.०९, जलविद्युत् ६६.८३, वित्त ६.०३, उत्पादन ४.७७ र अन्य उपसमूहको शेयर २.०८ बिन्दुले उकालो लागेको छ ।

यस्तै बैंकिङ०.४६, होटल ०.१५, निर्जीबन बीमा ५७.०२, लघुवित्त ९.२९, जीवन बीमा २५.७९ र सामूहिक लगानी कोष ०.०२ ले ओरालो लागेको छ । कारोबारका आधारमा आज सानिमा माइ हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज रु १० करोड ७० लाख ६८ हजार ७१० बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै, नेशनल हाइड्रोपावर रु १० करोड ६ लाख १३ हजार १४२ , अरुण काबेली पावर कम्पनी रु नौ करोड २ लाख ४८ हजार ८४१, अपि पावर कम्पनी रु आठ करोड ९५ लाख ४७ हजार ७९०, अरुण भ्याली हाइड्रोपावर कम्पनी रु आठ करोड ३१ लाख ४८ हजार ५८९, हिमाल दोलखा हाइड्रोपावर रु आठ करोड २७ लाख आठ हजार ५८९ र नेपाल बैंक लिमिटेडको रु सात करोड ९९ लाख ६६ हजार ५७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा आज ङादी ग्रुप अफ पावर, दिव्यश्वरी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, माउण्टेन हाइड्रो र नेपाल फाइनान्सका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । ती कम्पनीका शेयरमा आज सकारात्मक सर्किट लागेको थियो । यस्तै, रसुवागढी हाइड्रोपावर ९.९५, खानीखोला हाइड्रोपावर ९।९१, कालिका पावर कम्पनी ९.८८, साञ्जेन जलविद्युत् कम्पनी ९.८३ र बरुण हाइड्रोपावरका लगानीकर्ताले ९।८३ प्रतिशतले कमाए । त्यस्तै, अरुण भ्याली हाइड्रोपावर ४, एनआरएन लघुवित्त ३।३३, कामना सेवा विकास बैंक ३.१८, एनआइबिएल समृद्धि फण्ड एक ३.०३, कर्णाली डेभलपमेन्ट बैंक २.९९, श्री इन्भेस्टमेन्ट कम्पनी २.६५ र कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले २.४२ प्रतिशतले गुमाए ।

युएईमा कोरोना संक्रमित एक लाख नाघे

काठमाडौँ । नेपाली श्रमिकहरुको ठूलो संख्या रहेको खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (युएई) मा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या मंगलबारसम्ममा एक लाख नाघेको छ ।

युएईको स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्या एक लाख ७९४ पुगेको र तीमध्ये ४२१ जनाको मृत्यु भएको जनाएको छ । पछिल्ला दुई महिनामा दैनिक संक्रमितको संख्या बढ्दै गएको देखिएको छ । गत अगष्ट ३ का दिन १६४ जना नयाँ संक्रमित रहेकामा गत शनिबार एकै दिन एक हजार २३१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

अधिकारीहरुले आम मानिसले सामाजिक दूरी कायम नगरेका कारण संक्रमितको संख्या बढेको बताएका छन् । सरकारले युएईका सातमध्ये कुन इमिरेट्समा सबैभन्दा बढी बिरामी भेटिए भन्ने खुलाएको छैन । मंगलबार एक हजार ६१ नयाँ संक्रमित भेटिएका थिए भने ६ जनाको मृत्यु भएको थियो ।

युएईमा प्रतिव्यक्ति परीक्षण निकै उच्च छ । सरकारले हालसम्म एक करोडभन्दा बढी परीक्षण गरिसकेको जनाएको छ ।

महिलालाई बन्धक बनाई हत्या गर्ने माझी पक्राउ

काठमाडौ । कर्तव्य ज्यान मुद्दामा फरार रहेका सिन्धुपाल्चोक, ईन्द्रावती गा.पा.–११, बडगाउँ घर भई हाल जिल्ला मकवानपुर, हेटौडा उपमहानगरपालिका–१४, नयाँबस्ती, गैरीटोल बस्ने विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका छन् ।

माझि डेढ बर्ष अगाडि जिल्ला काठमाण्डौं, कागेश्वरी मनहरा नगरपालिका–९ गोठाटार स्थित रमेश श्रेष्ठको अस्थायी टहरामा सिन्धुपाल्चोक कर्थली–३ स्थायी घर भई काठमाडौँको जोरपाटी नयाँबस्ती बस्ने बर्ष–३६ की पम्फा श्रेष्ठलाई बन्धक बनाई राखेर मारे पछि भागेका थिए ।

उनलाई महानगरीय अपराध महाशाखा, मीनभवनबाट खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका–१४, नयाँ बस्तीबाट डेढ बर्ष पछि पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा निज विनय माझीले मृतक पम्फा श्रेष्ठलाई विभिन्न बहाना गरी निजको डेराकोठामा लगी मिति २०७६–०१–३० गते देखी जबरजस्ती बन्धक बनाई मात्र राखेनन हत्या गरी कोठा बाहिरबाट ताला लगाई फरार भएका थिए ।

मिति २०७६–०२–०५ गते स्थानिय व्यक्तिहरूले प्रहरीलाई खबर गरे लगत्तै प्रहरी अनुसन्धान टोलीले ताला फोडी हेर्दा पम्फालाई मृत अवस्थामा खाटमा फेला पारेको थियो । घटनामा संलग्न माझी घटना पश्चात् फरार रहेकोमा असोज १९ गते पक्राउ परेका हुन ।

निज विनय माझीले सोम बहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता निकालेको पाइएकोले सो सम्बन्धमा समेत अनुसन्धान जारी रहेकोभएपनि थप आवश्यक अनुसन्धान कार्यको लागी निज विनय श्रेष्ठ भन्ने विनय माझीलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर थुनामा पठाइएको बताइएको छ।

थप १ हजार ५ सय ५१ जनामा संक्रमण पुष्टि

काठमाडौँ । मंगलबार थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १०४२ पुरुष र ५०९ महिला गरी सोही संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा ९० हजार ८ सय १४ जनामा संक्रमण पुष्टि भएको छ । आज ११ सय ४७ जनामा पसीआर परिक्षण गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ३ सय ४० जना डिस्चार्ज भएका छन् ।

पहिरा पीडित बालकलाई सहयोग

काठमाडौँ । गत भदौ २९ गतेको पहिरोले घर पुरिएर आफन्तसँग बस्दै आएका जैमिनी नगरपालिका १ कुश्मीशेरा टुनिबोटका एक बालकलाई दक्षिण कोरियामा रहेका युवाले सहयोग गरेका छन् । पहिरोले घर पुरिएपछि आमासँगै मामा घरमा बस्दै आएका बिस्मात क्षेत्रीलाई ती युवाल पढाइ खर्च उपलब्ध गराएका हुन् ।
पहिरो पीडितका लागि दक्षिण कोरियामा सङ्कलन गरिएको राहत रकमबाट १५ हजार रुपैयाँ पीडित बालकको पठनपाठनमा सहयोग पुर्याउने गरी पठाइएको अभियान्ता सन्तोष पौडेलले जानकारी दिए । पहिरोले घरगोठ पुरिएपछि उनी बेसहारा बनेका छन् । अन्यत्र घर बनाउने जग्गासमेत नरहेकाले क्षेत्री परिवार समस्यामा परेको छ । उनका हजुरवुवा र काकाको घरसमेत पहिरोले पुरेको छ । क्षेत्रीले कक्षा ११ मा अध्ययनरत् छन् ।

रोजगारीको सिलसिलामा कोरियामा रहेका युवाहरुले पहिरो पीडितहरुका लागि राहत रकम पठाएका थिए । उनीहरुले पठाएको २ लाख १३ हजार रुपैयाँमध्ये मृत्यु भएकाका दुई परिवारको लागि ६० हजार र घरगोठ पुरिएर विस्थापित भएका ७ परिवारलाई २३ हजार रुपैयाँका दरले राहत रकम उपलव्ध गराईएको छ । राहत रकम वितरण गर्दै जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले वैदेशिक रोजगारीमा रहेका युवाहरुले देखाएको मातृ ममता प्रशंसनीय रहेको बताउनुभयो । दक्षिण कोरियामा सोही गाउँबाट रोजगारीका लागि पुगेका सन्तोष पौडेल, दयाराम पौडेल र जीवन चपागाईले राहत सङ्कलनको अगुवाइ गरे ।

राप्रपा अध्यक्षमा खड्का

राष्ट्रिय प्रजातन्त्र पार्टीको बागलुङ जिल्ला अध्यक्षमा सुरेन्द्र खड्का चयन भएका छन् । राप्रपा र राप्रपा संयुक्तको एकीकरण समायोजन बैठकले उनलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
सोमबार सम्पन्न एकीकरण बैठकले दुवै तर्फका पदाधिकारी मध्येबाट समायोजन गराएको हो । सदस्यमा भने दुवै पार्टीका जिल्ला सदस्यहरु यथावत् रहने व्यवस्था निर्णय गरेका छ । एकीकरण बैठकले सह अध्यक्षमा शैलेन्द्र कुमार श्रेष्ठलाइ तोकेको छ । यस अघि राप्रपाको अध्यक्ष खड्का र राप्रपा संयुक्तको अध्यक्ष श्रेष्ठ भए ।

बैठकले उपाध्यक्षमा मनबहादुर घर्ती र नबिनचन्द्र सर्बुजा तथा सचिवमा बिष्णुप्रसाद सापकोटालाई चयन गरेको छ । सहसचिवमा पार्वती शर्मा र कोषाध्यक्षमा जयलाल सापकोटा रहेको छैन । केही समय अघि केन्द्र देखि जिल्ला सम्म पार्टी एकीकरण गर्ने घोषणा भएको थियो । पार्टीलाई एक बनाएर लैजानका लागि बैठक मार्फत जिल्ला कार्यसमिति गठन गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।