सिडिओ पौडेल र सहायक सिडिओलाई संक्रमण पुष्टि

अर्घाखाँची । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा समेत कोरोना संक्रमण पुष्टि भएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण गरिएको थियो । बिहीबार साँझ उहाँको रिपोर्ट पोजेटिभ आएको हो,’ सहायक प्रजिअ खनालले भने, ‘अहिले उहाँको स्वास्थ्यमा कुनै समस्या छैन । उहाँ होम आइसोलेसनमा बस्नु भएको छ ।’ सहायक प्रजिअ थापामा भने कुनै लक्षण नदेखिएको उनले बताए ।

‘जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोबाट प्रभावितहरुको उद्धार, राहत तथा पुनःस्थापना लगायतका कार्यमा प्रजिअ पौडेल लगायत खटिनु भएको थियो,’ खनालले भने, ‘सोही क्रममा संक्रमण भएको हुन सक्छ ।’

प्रजिअ पौडेलले शुक्रबार एक सूचना जारी गर्दै भनेका छन्, ‘विगत केही दिनदेखि जिल्लामा उत्पन्न विपद्जन्य घटनाहरुको उद्धार, राहत र पुनःस्थापना लगायतका कार्यहरुमा दिनरात नभनी खटिँदा खटिँदै हामी कोरोना संक्रमति हुन पुगेका छौं । हामी कामको शिलशिलामा विभिन्न महानुभावहरुको सम्पर्कमा पुगेका पनि थियौं । हामीसँग सपर्कमा आउनुभएका महानुभावहरुलाई संयमित भई उच्च मनोवलका साथ स्वास्थ्य मापदण्ड पालना गरी कोभिड १९ विरुद्ध उच्च सर्तकता अपनाउनु हुन विनम्र अनुरोध गर्दछौं ।’

पाँच दिनदेखि हराएका गुल्मीका कुमाल मृतावस्थामा

गुल्मी । पाँच दिनदेखि हराइरहेका इस्मा गाउँपालिका ३ दर्लामचौरका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । दर्लामचौरको खाँसिचौरमा हराइरहेका ४९ वर्षीय वीरबहादुर कुमाल आज मृतावस्थामा फेला परेका हुन् ।
इस्मा ५ अँधेरी खोलामा उनको शव सडेका अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार रावलले जनाकारी दिए । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले घटनास्थलमा स्थलगत मुचुल्का गरेपछि शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याइने प्रहरी निरीक्षक रावलले बताए ।
यसैबीच इस्मा ३ का एक व्यक्ति गत बिहीबार बेलुकीदेखि बेपत्ता बनेका छन् । दर्लामचौरका ६५ वर्षीय इन्द्रमणि मरासिनी घरमा सामान्य विवाद भएपछि घरबाट निस्केर हिँडेको र अहिलेसम्म सम्पर्कमा नआएको इस्मा ३ का वडाध्यक्ष तोयनाथ सापकोटाले जानकारी दिए ।

आयआर्जनका लागि बुहारीलाई आर्थिक सहयोग

काठमाडौँ । बन्दाबन्दी र निषेधाज्ञाले समस्यामा परेका सीमान्तकृत परिवारका २३ बुहारीलाई पशुपालन तथा साना व्यवसाय गरेर आत्मनिर्भर हुनका लागि अनुदान रकम प्रदान गरिएको छ ।

युकेएडको आर्थिक सहयोग र भीएसओ नेपाल तथा इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जनउत्थान केन्द्र लहान सिरहाद्वारा सञ्चालित ‘समग्र लैङ्गिक उत्तरदायी न्यायमा पहुँच सुदृढीकरण परियोजना (सहज)’अन्तर्गत सिरहाका छ र सप्तरीका १७ गरी कूल २३ सीमान्तकृत परिवारका बुहारीलाई आयआर्जन गरी आत्मनिर्भर हुन अनुदान रकम प्रदान गरिएको हो । प्रति परिवारका बुहारीलाई रु ३० हजारको दरले अनुदान रकम उपलब्ध गराएको समग्र जन उत्थान केन्द्र लहानका निर्देशक देवराज पोखरेलले जानकारी दिए ।

यसरी अनुदान रकम पाउनेमा सिरहा नगरपालिका–१ का इन्दिला कुमारी पासवान, लक्ष्मीनियाँ कुमारी पासवान, उर्मिला मेस्तनी, अमृता कुमारी, संजु कुमारी पासवान र बिमला कुमारी सिंह रहेका छन् । त्यस्तै सप्तरीको बोदे बर्साइन नगरपालिका, राजविराज नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १७ परिवारका बुहारीलाई पनि अनुदान रकम उपलब्ध गराइएको छ । यो रकमबाट उनीहरु बाख्रापालन, भैंसीपालन र अन्य साना व्यवसाय गर्ने बताइएको छ । उक्त रकमको चेक आज सबै बुहारीलाई हस्तान्तरण गरेको निर्देशक पोखरेलले जानकारी दिए ।

घरमा आत्मसम्मान र निर्णय प्रक्रियामा सहभागिता बढाउन पनि बुहारीको आर्थिक सशक्तीकरणसँगै समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरूरी रहेकाले सहज परियोजनामार्फत यो अभियानको थालनी गरेको उनले बताए ।

यसैगरी राजविराज नगरपालिका–५ का दुई परिवार र तिलाठी कोईलाडी गाउँपालिका–५ का पाँच परिवारलाई पनि आर्थिक सहयोग प्रदान गरेको समग्र जन उत्थान केन्द्रका जिविकोपार्जन सल्लाहकार रामनाथ साहले जानकारी दिए । उनले सहज परियोजनाको परिवार केन्द्रित पद्धतिअन्तर्गत आयआर्जनका लागि व्यवसाय गर्न सप्तरीको बोदे बर्साइन नगरपालिका, राजविराज नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सिरहाको सिरहा नगरपालिकाका ८० परिवारलाई रू।३० हजारका दरले आर्थिक सहयोग प्रदान गर्ने लक्ष्य लिएको बताए ।

चेक हस्तान्तरण कार्यक्रममा भीएसओ नेपालका प्रतिनिधि सुनिल कुमार साह, बोदे बर्साइन नगरपालिका–५ का वडाध्यक्ष मो. मजेबुल रहमान, वडा सदस्य रूपनी देवी राम, समग्र जन उत्थान केन्द्रका स्थानीय सहजकर्ता लोकेन्द्रप्रसाद यादव, ओमप्रकाश ठाकुर, रिता पंडित, विणाकुमारी पंडित लगायतको सहभागिता थियो ।

जिल्ला अस्पतालका अत्यावश्यक बाहेकका सेवा बन्द

धादिङ । धादिङ जिल्ला अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । अस्पतालमा कार्यरत दुई स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अस्पतालका सेवा पुनः बन्द भएका हुन् । अस्पतालको आकस्मिक , ज्वारो क्लिनिक, र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए । यही असोज ७ गतेदेखि १२ गतेसम्म पनि अस्पतालका सेवा बन्द भएका थिए ।

नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएका छन् । जिल्लामा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

राहुल र प्रियंकासहित दुई सय जना विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झण्डै दुई सय जना विरुद्ध मुद्दा लगाइएको छ ।
भारतीय दण्ड संहिता उलंघन गरेको आरोप लगाउँदै उहाँहरुका विरुद्धमा मुद्दा दायर गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरु दुई सय जनाले दण्ड संहिताको धारा १८८, २६९ र २७० को उलंघन गरेको दावी गरेको छ ।
यसअघि संहिता उल्लंघन गरेकै आरोपमा उनीहरुलाई उत्तर प्रदेश प्रहरीले यमुना द्रुतमार्गबाट बिहीबार गिरफ्तार गरेको थियो ।

सामुहिक बलात्कारपछि हत्या गरिएकी बालिकाका परिवारजनलाई भेट्न उनको घर हथ्रासतर्फ गइरहेका बेला उनीहरुलाई गिरफ्तार गरिएको हो ।

बलात्कार पीडितको मंगलबार उपचारकै क्रममा दिल्लीको सफदरजङ अस्पतालमा निधन भएको थियो ।

गत सेप्टेम्बर २९ तारिखका दिन सामूहिक बलात्कारपछि हत्या गरिएकी ती बालिकाको घर रहेको हथ्रासतर्फ गइरहेका बेला उनीहरुको सवारी साधनलाई प्रहरीले रोकेपछि उनीहरु हिँडेरै त्यसतर्फ लागेपछि प्रहरीले गिरफ्तार गरेको हो ।

प्रहरीले अवरोध गरेर गिरफ्तार गरेपछि उनले आक्रोसित हुँदै भनेका थिए , “के यो मुलुकमा मोदीजी मात्रै हिँड्न पाउने व्यवस्था छ ?” उहाँले भारतमा सामान्य मान्छेहरु हिँड्न पनि नपाएको भन्दै आक्रोश व्यक्त गर्नु भएको थियो ।

नेता गान्धीले आफूलाई प्रहरीले जबरजस्ती समातेर लाठीचार्ज गरेको, भुइँमा लडाएको र धकेलेको आरोप पनि लगाएका थिए ।

उनले आफ्ना सवारी साधनहरु रोकिएकाले आफूहरु हिँडेको भन्दै प्रहरीलाई आफूलाई हिँड्न दिन आग्रह गर्नुभएको थियो ।

“म एक्लै हथ्रासतर्फ हिँडेर जान चाहन्छु, कृपया मलाई हिँड्न दिनुस्, मलाई नरोक्नुस्, मलाई तपाईहरुले किन गिरफ्तार गर्दै हुनुहुन्छ ?,” उउनले भनेका थिए ।

संक्रमणबाट थप ११ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जनाको मृत्यु भएको छ । ४ जना महिला र ७ जना पुरुष गरी ११ जनाको मृत्यु भएको छ ।

थप २७२२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिनमा संक्रमण हुनेमा हालसम्मकै सार्वधिक हो । आज महिला ९६५ र १७५७ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मेगा बैंक ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा आजबाट सुरु

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले व्यावसायिक किसानहरुलाई प्राथमिकतामा राख्दै आजबाट ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवा सुरु गरेको छ । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले शुक्रबार केन्द्रीय कार्यालयमा सुर्यविनायक शाखाका किसान ग्राहकलाई पहिलो कार्ड हस्तान्तरण गरेर ‘मेगा किसान कार्ड’ सहितको ‘मेगा स्मार्ट कृषि’ सेवाको शुभारम्भ गरेकि छिन् ।

स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’लाई मुलमन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानहरुको समयानुकुल आवश्यकतालाई हेरी ‘मेगा किसान कार्ड’ सुविधा ल्याएको जनाएको छ । किसानहरुलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले ‘मेगा किसान कार्ड’ ल्याएको मेगा बैंक सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।

‘यो कृषि क्षेत्रमा नेपालकै नवीनतम् बैंकिङ सुविधा हो,’ मेगा बैंककी सिइओ खुञ्जेलीले भनिन् – ‘मेगा किसान कार्डमार्फत किसानहरुले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजन, लगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामानहरु तोकिएका कृषि सेवा केन्द्रहरुबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने विश्वास पनि लिएका छौं ।’

व्यावसायिक कृषि तथा पशुपालन र महिला उद्यमीलाई यसअघि देखि नै प्राथमिकता दिंदै आएकोे मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै किसानहरुको कृषि उत्पादकत्व वृद्धि गर्ने उद्देश्य लिएको छ । जसअनुसार यस अभियानलाई प्रभावकारी बनाउन मेगा बैंक र आर एण्ड डी ईनोभेटिभ सोलुसनसँग सम्झौता समेत भइसकेको छ ।

किसानहरुको प्रबर्धन गर्दै प्राविधिक सहायता समेत गर्दै आएको आर एण्ड डीसँगको सम्झौतापछि व्यावसायिक किसानहरुलाई अनुदान ऋण लिन थप सहज मिल्ने मेगा बैंकको विश्वास छ ।

ब्राउनसुगरसहित भारतीय पक्राउ

काठमाडौँ । दक्षिणी झापाको सीमावर्ती गाउँपालिका कचनकवल–१ बाट लागुऔषध ब्राउनसुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार किशनगञ्ज सुखानाडिगी पदमपुरका ३२ वर्षीय फरबेद आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बिहीबार भारतबाट नेपालतर्फ आउँदै गर्दा कचनकवल–१ स्थित बगानमा जाँच गर्ने क्रममा आलमको साथबाट ११.६५ ग्राम ब्राउनसुगर बरामद गरेको उनले बताए । पक्राउ परेका आलमलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र आज म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइने भएको छ ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा २८ तोला सुन लेपन गरिएको गजुर राखियो

काठमाडौँ । रानीपोखरी पुनर्निर्माणसँगै बिच भागको बालगोपालेश्वर मन्दिर पनि अन्तिम चरणमा पुगेको छ । बिहीबार बालगोपालेश्वर मन्दिरमा २८ तोला सुनले लेपन गरिएको गजुर प्रतिस्थापन गरिएको छ । गजुरमा २८ तोला सुनले लेपन गरिएको छ । बिहीबार बिहान ८ बजेको शुभसाइतमा मन्दिरमा राख्न लागिएको हो ।

गजुर प्रतिस्थापनक्रममा क्षमापुजा गर्ने प्रचलन अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्वविद् राजुमान मानन्धरले चलनअनुसार सामान्य पुजा गरेर राख्न लागिएको जानकारी दिएका थिए ।

पुनर्निर्माणअन्तर्गत पोखरीवरपर सरसफाइलगायत केही काममात्रै बाँकी छन्। प्राधिकरणले रानीपोखरीमा माछाका भुरा हाल्ने तयारी पनि गरेको छ ।

पुनर्निर्माण जिम्मा सुरुमा काठमाडौं महानगरपालिकाले लिएको थियो । तर, सुरु गरिएसँगै सम्पदामा सिमेन्ट र छड प्रयोग भएपछि विवाद उत्पन्न भयो । लामो समय विवाद जारी रहे पनि मन्त्रिपरिषद्ले रानीपोखरी पुनर्निर्माण जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दियो । प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरी पुनर्निर्माण काम सम्पन्न गराएको हो ।
प्राधिकरणले रानीपोखरी पुनर्निर्माण १२ वैशाख २०७७ मा भूकम्प गएकै दिन सक्नेगरी अघि बढाएको थियो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण पुनर्निर्माण ढिलाई भयो ।

३ माघ २०७२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माण शिलान्यास गरेकी थिइन् । पुनर्निर्माणसम्बन्धी विवाद, कोरोना महामारी, लकडाउन, निषेधाज्ञालगायत संकट झेल्दै शिलान्यासको करिब पाँच वर्षपछि पुनर्निर्माण अन्तिम चरणमा पुगेको हो ।

यसअघि नै रानीपोखरीे पिँधमा कालो माटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माण सकिएसँगै रानीपोखरीमा पानी भरिसकिएको छ ।

पोखरीमा आकाशबाट जम्मा भएको र बाँकी बाग्मती नदीबाट पाइमार्फत ३ करोड २२ लाख लिटर पानी भरिएको छ । पि“ध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालीगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालीगढ सहभागी भएका थिए ।

भरतपुर केरूङ्गा घोलको गुरुयोजना निर्माण

भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र भएर बग्ने केरूङ्गा घोलको गुरुयोजना निर्माण गरिएको छ । झण्डै ३० किमी लामो घोलले गुरुयोजनाअनुसार काम भए नयाँ स्वरुप ग्रहण गर्नेछ । भरतपुर महानगरपालिकाको गणेशधामबाट शुरू भई जगतपुरस्थित राप्ती नदीमा पुगेर मिसिने केरुङ्गा घोलको गुरुयोजनाको काम सकेर डिपिआर निर्माण भइरहेको प्रदेशसभा सदस्य विजय सुवेदीले बताए । गुरुयोजनाअनुसार निर्माण भए घोलले महानगरको सुन्दरता झनै बढ्ने उनले बताए ।

यो आयोजना महानगरका लागि आवश्यक र दूरगामी महत्व राख्ने खालको हुने सांसद सुवेदीले बताए । उनले भने, “केरुङ्गा घोललाई व्यवस्थित गरियो भने शहरको सुन्दरता बढ्न जान्छ । बर्खामा घोलले डुबानमा पार्ने भएकाले पनि सुरक्षित ढङ्गले सौन्दर्यकरण हुनेछ ।” सांसद सुवेदीले महानगरको बीचबाट बगेको यस घोलको अवस्था काठमाडौँको टुकुचाजस्तो नहोस् भन्नका लागि नयाँ योजना बनाइएको बताए । उनले बहुवर्षीय योजनाको रुपमा प्रदेश सरकार र महानगरपालिकाको लगानीमा घोललाई व्यवस्थित बनाउने बताए । उनले भने, “शहरका विभिन्न ठाउँबाट बग्ने ढललाई निर्मलीकरण गर्दै घोलमा मिसाइने छ । जसबाट जल प्रदूषण समयमा नै नियन्त्रण आउनेछ । घोललाई व्यवस्थित गरेपछि डुङ्गा चलाउने, किनारमा साइकल चलाउने गरेर आन्तरिक र बाह्य पर्यटक घुमफिर गर्न सक्छन् ।”

भरतपुर महानगरपालिकाको शहरी विकासको योजनाकार आर्किटेक्ट इञ्जीनियर अस्मिता खनालले शहरीकरणसँगै नदी क्षेत्र अतिक्रमित हुँदै जाने भएकाले पनि उद्यान बनाएर संरक्षण गर्ने योजना बनाइएको बताए । उनले भने, “बर्खाको समयमा घोल घरघरमा पस्ने समस्या देखिएकाले पनि घोललाई उद्यान बनाएर व्यवस्थित गर्न आवश्यक छ । यसबाट एकातिर सार्वजनिक सम्पत्तिको संरक्षण हुनेछ भने अर्कोतिर उद्यानहरु बनाएर पर्यटकलाई पनि आकर्षण गर्न सकिन्छ ।” उनले शुरुमा १५ किलोमिटर जति कामचाहिँ छिट्टै शुरु गर्ने योजना बनेको जानकारी दिए ।

फोहर पानी बग्ने केरूङ्गाको घोलमा होचो भाग भएकाले भरतपुरका विभिन्न क्षेत्रका ढलहरु मिसाउने गरिएको छ । अब फोहर र सफा पानी एकै क्षेत्र तर दुई फरक अवस्थामा बग्ने बनाउने तयारी भएको छ । ढल मिसावट फोहर पानीका लागि छुट्टै नाला बनाउने र केरूङ्गामा भने सफा पानी बग्ने बनाउने गरी डिपिआर निर्माण भइरहेको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिए । हिउँदमा पनि नारायणी लिफ्टको पानी हालेर केरूङ्गामा डुङ्गा चलाउने योजना रहेको उनले बताए ।

केरूङ्गामा डुङ््गा शयर, दुवैतर्फ उद्यान निर्माण, दुवैतर्फ साइकल लेन, हिँड्ने बाटो, मिनीसप, विभिन्न स्थानमा आकर्षक पुल, हरियाली रहने छ । भरतपुर महानगरका वडा क्रमशः ११, १२, ९, ८, ७, ५, ६, १३, १४, २१, २२, २३, २४ भएर केरूङ्गा बग्ने गरेको छ । भरतपुर महानगर वडा नं ९ र ११ ले आफ्नो वडासम्म केरूङ्गा ड्रेनको सीमाङ्कनसमेत गरिसकेका छन् । यस आयोजनाले सङ्घीय निर्वाचन क्षेत्र नं २ र ३ साथै प्रदेश निर्वाचनको भने तीनवटा क्षेत्र समेट्छ ।

आयल निगमका निर्देशक पौडेललाई संक्रमण पुष्टि

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वाव दिएर होम आइसोलेनमा बसेको तीन दिन अर्थात बिहीबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि स्वाव दिएर तीन दिनदेखि होम आइसोलेसनमा बसेको छु । सामान्य ज्वरो बाहेक अन्य समस्या अहिलेसम्म देखिएको छैन’, उनले भने ।

निगमले आज एक प्रेस विज्ञप्ति प्रकाशित गरी कार्यकारी निर्देशक पौडेलसँग एक हप्तामा सम्पर्कमा आएकालाई संयम अपनाउन आग्रह गरेको छ ।

खेलकूद विकास विधेयक–२०७७ पारित भएसँगै गण्डकी प्रदेशमा खेलकूद परिषद् स्थापना हुने

काठमाडौँ । गण्डकी प्रदेशसभाले प्रदेश खेलकूद विकास विधेयक–२०७७ पारित गरेपछि प्रदेश खेलकूद परिषद् स्थापनाको बाटो खुलेको छ । प्रदेशस्तरमा खेलकूदको संरक्षण, संवद्र्धन र विकास तथा खेलकूदको सञ्चालन तथा व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेश सरकारले खेलकूद विधेयक सदनमा दर्ता गराएकामा प्रदेशसभाले सोे विधेयक बुधबार पास गरेपछि प्रदेशमा परिषद् गठनको बाटो खुलेको हो । सभाले पारित विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ ।

प्रदेशमा खेलकूदको विकास, विस्तार, प्रवद्र्धन तथा अध्ययन, अनुसन्धान गरी खेलकूद गतिविधि सञ्चालनका लागि प्रदेश खेलकूद परिषद् स्थापना गरिने सामाजिक विकासमन्त्री नरदेवी पुन मगरले बताए । खेलकूदको माध्यमबाट मुलुकको राष्ट्रिय एकता प्रवद्र्धन गर्दै स्वस्थ, सक्षम र अनुशासित खेलाडी तथा सिर्जनशील नागरिक तयार गर्ने र खेलाडीको व्यावसायिक सुरक्षा गर्ने बताउँदै उहाँले नयाँ खेलकूद ऐनले प्रदेशमा खेलकूदको विकासमा मद्दत पुग्ने उनको भनाइ छ ।

प्रदेशसभाले पास गरेको खेलकूद विधेयकमा खेलकूद परिषद्को अध्यक्ष सामाजिक विकास मन्त्रालयको मन्त्री वा राज्यमन्त्री रहने व्यवस्था गरेको छ । खेलकूदमा विशिष्ट योगदान पु¥याएका व्यक्तिमध्येबाट अध्यक्षको सिफारिसमा प्रदेश सरकारबाट नियुक्त एक जना उपाध्यक्षसहित २५ सदस्यीय परिषद् गठन गरिने उल्लेख छ । प्रदेश खेलकूद परिषद्को कार्यकारी प्रमुख सदस्यसचिव रहनेछन् । सदस्यसचिव बन्न कम्तीमा स्नातक तह उत्तीर्ण गरेको तथा ३० वर्ष उमेर पूरा गरी खेलकूद क्षेत्रमा विशेष योगदान गरेको हुनुपर्नेछ । मन्त्रिपरिषद्ले नियुक्त गर्ने सदस्य सचिवको पदावधि चार वर्षको हुने कानूनमा व्यवस्था गरिएको छ ।

सदस्यसचिवको नियुक्तिको सिफारिस गर्न सामाजिक विकास मन्त्रालयको सचिवको संयोजकत्वमा मन्त्रालयले तोकेको सम्बन्धित क्षेत्रका कम्तीमा एक महिलासहित दुई जना विज्ञ रहेको तीन सदस्यीय सिफारिस समिति गठन गर्नेछ । सिफारिस समितिले योग्यता पूरा भएका व्यक्तिमध्येबाट नियुक्तिका लागि कम्तीमा एक महिलासहित तीन जना व्यक्तिको नाम मन्त्रालयमा सिफारिसपछि मन्त्रिपरिषद्े उपयुक्त ठानेको व्यक्तिलाई सदस्यसचिवको पदमा नियुक्ति गर्ने प्रावधान राखिएको छ ।

त्यसैगरी परिषद्को काम कारवाहीमा सहयोग गर्न सदस्यसचिवको संयोजकत्वमा पाँच सदस्सीय कार्यकारी समिति ९बोर्र्ड० को परिकल्पना विधेयकमा गरिएको छ ।

खेल मिलेमतो गर्नेलाई तीन वर्ष कैद

पारित विधेयकमा खेल मिलेमतोलाई कसुरका रुपमा लिएर कारवाही गर्ने प्रावधान राखिएको छ । नेपालमा वा विदेशी मुलुकमा कुनै खेलाडीसँग प्रतिस्पर्धा गर्दा कुनै खेलसम्वद्ध खेलाडी वा पदाधिकारीले त्यस्तो खेलको प्रतिस्पर्धाबाट आउने स्वभाविक परिणामलाई प्रतिकूल हुने गरी कुनै खेलाडी वा खेलाडीको समूहसँग मिलोमतो गर्न पाइने छैन । कसैको प्रलोभनमा पर्न वा कुनै बाजी जिताउने वा हराउने गरी त्यस्तो खेल खेल्न वा खेलाउने कार्य गर्न नपाइने र गरेमा कसुर गरेको मानिने उल्लेख छ ।

खेल मिलेमतोको कसुर गरेमा तीन वर्ष कैद र रु ५० हजारसम्म जरिवाना गरी सो कसुर गर्दा कुनै रकम लेनदेन गरेको भएमा त्यस्तो लेनदेन गरेको रकमसमेत जफत गरिने व्यवस्था विधेयकमा छ । मिलेमतोका लागि निर्देशन दिने, कसुर गर्न दुरूत्साहन दिने, उक्साउने वा मद्दत गर्ने व्यक्तिलाई मुख्य कसुरदारसरह सजाय हुने र त्यस्तो कसुर सार्वजनिक पदधारण गरेको व्यक्ति वा नेपालको प्रतिनिधित्व गर्ने व्यक्तिले विदेशमा गरेको रहेछ भने समेत निजलाई थप तीन वर्षसम्म कैद हुने व्यवस्था छ ।

खेल पदाधिकारी, प्रशिक्षक, निर्णायक र खेलाडीलाई एक वर्षदेखि तीन वर्षसम्म निलम्बन गरी प्रचलित कानूनबमोजिम कारवाही र सजाय हुने विधेयकमा व्यवस्था गरिएको छ । खेलमा सहभागी हुँदा खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेमा कसुर मानिने र निजले सेवन गरेको प्रतिबन्धित औषधिको मात्रा र प्रकृतिअनुसार त्यस्तो खेलाडीलाई तोकिएबमोजिमको अवधिका लागि कुनै पनि खेलकूद प्रतियोगितामा भाग लिन नपाउने गरी रोक लगाई पहिलोपटकका लागि रु १० हजारसम्म र दोस्रोपटकदेखि प्रत्येकपटक रु १० हजारदेखि रु ५० हजारसम्म जरिवानाको व्यवस्था छ ।

प्रदेश सरकारले जिल्लास्तरमा खेलकूदको सञ्चालन तथा विकासका लागि प्रत्येक जिल्लामा खेलकूद विकास समिति गठन गर्नेछ । त्यसैगरी खेलकूदसम्बन्धी कार्य गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त परिषद्दर्ता भएका ओलम्पिक कमिटीको व्यवस्था गरिएको छ । खेलकूद क्षेत्रको प्राज्ञिक उन्नयनका लागि परिषद्ले एक खेलकूद प्रशिक्षण प्रतिष्ठान गठन गर्न सक्ने व्यवस्था विधेयकमा छ । खेलकूदमा प्रतिबन्धित औषधि सेवनविरूद्ध कार्य गर्ने ‘एन्टिडोपिङ एजेन्सी’ सम्बन्धी परिकल्पनासमेत गरिएको छ ।

संक्रमणबाट रुपन्देहिमा थप एक जनाको मृत्यु

रुपन्देही । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते साँझ ११ बजे अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
संक्रमित पुरुष दुई दिनदेखि भेन्टिलेटरमा थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गलकोटका घरघरमा खानेपानी

काठमाडौँ । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका गलकोट नगरपालिका वडा नम्बर ११ रिघाका स्थानीय बासिन्दा वर्षौको सकस र सास्तीबाट मुक्त भएका छन् । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखराबाट ‘एक घर, एक धारा’को आयोजना परेपछि घरघरमा धारा निर्माण गरिएको छ । गत आर्थिक वर्ष २०७५र७६ बाट सञ्चालित सो आयोजना दुई वर्षमा सक्ने गरी अघि बढाइएको थियो । तीव्ररुपमा काम अघि बढाएको समयमा विश्वव्यापीरुपमा कोरानो भाइरसको महामारीले गर्दा केही काम सम्पन्न गर्न बाँकी छ ।

कूल रु।३ करोडको लागतमा निर्माण सम्पन्न हुन लागेको आयोजनामा हालसम्म झण्डै रु.१ करोड रकम भुक्तानी भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराले जनाएको छ । पाँच हजारदेखि २५ हजार घन लिटरसम्मका ११ वटा रिजर्भ ट्याङ्कीमा कूल १ लाख १५ हजार घनलिटर पानी अट्ने क्षमता छ ।

गाउँमा सञ्चालित झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी आयोजनाबाट रिघाका १६० घरधुरी लाभान्वित भएका हुन् । साबिक रिघा गाविसको वडा नम्बर ३, ६, ७ र ८ का स्थानीयवासी एवम् एउटा विद्यालयका लागिसमेत गरी विभिन्न क्षेत्रमा ११ वटा ट्याङकी निर्माणाधिन अवस्थामा छन् । हालसम्म चार वटा ट्याङ्कीबाट खानेपानी वितरण गरिसकिएको छ भने ७ वटा ट्याङ्कीको काम बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।

यहाँ पहिले एउटै टोलका दशदेखि ३० वटा घरधुरीले एउटै धारामा पानी खादै आएकोमा अहिले एक घर, एक धारा निर्माण गरी घर घरमै खानेपानी पु¥याइएको छ । सुख्यायामका बेलामा खानेपानीको मुल सुक्दा सार्वजनिक धारामा एक गाग्री पानी भर्न सास्ती हुने गरेको तर अहिले खानेपानीको व्यवस्थापन भएपछी घरमै पानी भर्न पाउँदा गलकोट नगरपालिका–११ रिघा मजुवाकी भिमा घर्तीले खुसी व्यक्त गरे ।

अहिले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित गरेपछि सुख्यायाममा स्रोत सुक्दा खानेपानीको जोहो गर्न मुस्किल हुँदै आएकोमा अब यो समस्याको समाधान भएको छ । सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय पोखराको ७० प्रतिशत र स्थानीयको ३० प्रतिशत जनश्रमदानमा निर्माण गर्न लागिएको आयोजनाको पाइप लाइन विस्तार, ट्याङ्की निर्माण र धारा जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । मजुवाका स्थानीयवासी तथा उपभोक्ता समितिका सदस्य दिलबहादुर थापाले खानेपानीको समस्याबाट सदाका लागि मुक्त भएको बताए ।

विश्वभर फैलिएको कोरोना भाइरस महामारीले गर्दा तोकिएको समयभित्र खानेपानी निर्माण कार्य सम्पन्न गर्न नसकेपनि अहिले निर्माण सम्पन्नको अवस्थामा पुगेको झारसाँधी–मजुवा–अर्ले–मनेवापाटा खानेपानी उपभोक्ता समितिका अध्यक्ष बाबुराम नेपालीले बताउनुभयो । लामो समयसम्म एक गाग्री खानेपानीका लागि घण्टौ कुर्नुपर्ने समस्या भोगेका स्थानीयवासी भने घरघरमा जडान गरिएका धाराबाट पानी आउन थालेपछि हर्षित बनेका छन् ।