पूवप्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन्। उनलाई बुधबार साँझ एक्कासी रक्तचाप बढेपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।

नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईलाई उदृढ गर्दै केन्द्रीय सदस्य रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री खनाललाई साँझ ४ बजे अस्पताल भर्ना गरिएको हो, उहाँको स्वास्थ्य अवस्था सामान्य छ, सम्भवतः विहिबार नै अस्पतालबाट डिस्चार्ज हुनुहुनेछ ।’

मन्त्री परिषद् गठन, अर्थ मन्त्रालयमा पौडेल

काठमाडौं । आज मन्त्री परिषद् गठन भएकाे छ । राष्ट्रपति विद्यादेवि भण्डारीले आज गठित माैजसदा मन्त्री परिषद्मा नेपालकाे संविधानकाे धारा ७६ काे उपधारा ९ बमाेजिम प्रधानमन्त्री केपी ओलीकाे सिफारिसमा नियुक्ति हेरफेर र कार्य विभाजन गरि मन्त्री परिषद् गठन गर्नु भएकाे छ ।
यस्ताे छ नियुक्ति हेरफेर तथा मन्त्री परिषद् गठन:

थप २ हजार ६सय ३८ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २ हजार १ सय ७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ८० हजार ९ सय ५४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १३ हजार ९ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ भने ४ हजार ६ सय ६६ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ सय ७५ पुगेको छ।

एक महिनामै छुट भएका ३५९ उद्योग दर्ता

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । प्रदेश सरकारले कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनकरूपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख उद्योग अधिकृत जयराम थारूले जानकारी दिए ।

उनका अनुसार चालू आर्थिक वर्षको साउन १ गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकामा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३५९ उद्योग दर्ता भएका छन् । प्रदेश सरकारको गत भदौ ११ गतेको मन्त्रिपरिषद् बैठकले गरेको घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरूपमा छुट गर्ने निर्णय भदौ २३ गतेदेखि कार्यान्वयनमा आएको हो ।

“रु पाँच लाखसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै दर्ता हुने व्यवस्था भएको छ, पाँच लाखभन्दा बढी पूँजीमा सञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ”, प्रमुख उद्योग अधिकृत थारूले भन्नुभयो, “उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछि अहिले धमाधम उद्योग दर्ता भइरहेका छन् ।”

रु २० लाखसम्मको पूँजीमा सञ्चालन हुने उद्योगको रु पाँच हजार, रु २० लाखदेखि रु ५० लाखसम्मको रु १५ हजार र रु ५० लाखदेखि माथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताका लागि रु २५ हजार दर्ता दस्तुर रहेको थियो । प्रदेश सरकारको निर्णयपछि अहिले निवेदन दस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरूपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारूले जानकारी दिनुभयो ।

घरेलु तथा साना उद्योग कार्यालय बाँकेले घरेलु तथा साना उद्योगीलाई प्रोत्साहनका लागि प्रविधि हस्तान्तरण तथा क्षमता विकाससम्बन्धी तालिम कार्यक्रम तय गरेको छ । उद्योगीहरुको आवश्यकता र मागका आधारमा कार्यक्रम सञ्चालन गरिने प्रमुख उद्योग अधिकृत थारूको भनाइ छ । घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्ने निर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन भएको बताउनुभयो । दर्ता दस्तुर छुटपछि अहिले धमाधम घरेलु तथा साना उद्योग दर्ता भइरहेको बताउँदै उहाँले महासङ्घले नयाँ उद्योगीलाई व्यावसायिक योजना र आवश्यक परामर्श दिने कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।

भरतपुरमा यात्रु सहायता कक्ष स्थापना

भरतपुर । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायताकक्ष स्थापना गरेको हो ।

चाडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख जयकृष्ण भट्टले जानकारी गराए । उनले भने, “दशैँ तथा तिहार मनाउन जिल्लामा भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरेका छौँ, चाडबाडको अवधिभर हामीले यसैबाट सहयोगी भूमिका निर्वाह गर्छौँ”, उनले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताए ।

सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले औनपचारिकरूपमा मङ्गलबार उद्घाटन गर्नुभयो । सरकारले नै औपचारिक कार्यक्रम नगर्न र उद्घाटनजस्ता कार्यक्रम नगर्न भनेपछि प्रजिअ भट्टराईले अनौपचारिकरुपमै कार्यको शुभारम्भ भएको घोषणा गरेका थिए । सो अवसरमा प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबाड मनाउन आग्रह गरिएकाले सोहीअनुरुप मनाउन आग्रह गर्नुभयो । उहाँले यसपटक विल्कुलै फरक तवरले चाडबाड मनाउनुपर्ने भएकाले सबैले सजगता अपनाएर मनाउन आग्रह गरे । उनले यस सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने प्रजिअ भट्टराईले बताए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले चाडबाडमा हुने घटना हुन नदिन प्रहरी सतर्क रहेको बताए । उनले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारको निर्देशनअनुरुप नै यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्ने बताउनुभयो । उनले चाडबाडका बेला बसमा हुने विभिन्न घटना रोक्न महासङ्घ पनि तयारी अवस्थामा रहेको भन्दै सयायता कक्षले सबैलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा हुनसक्ने यात्रुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्नेजस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने ट्राफिक प्रमुख भट्टले बताउनुभयो । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन् ।

नगरनगरपालिका द्धारा कपास खेती गर्ने किसानका लागि दश लाख विनियोज

खोटाङ । खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष १० लाख बजेट विनियोजन गरेको छ । कच्चा पदार्थ (कपास) अभावमा सङ्कटमा पर्दै गएको खाँडी कपडा बुन्ने उद्योग पुनः सञ्चालन गर्न नगरपालिकाले कपास खेतीमा लगानी गर्न लागेको हो ।

पछिल्लो समय सङ्कटमा पर्दै गएको पुख्र्यौली व्यवसायलाई जगाउन नगरपालिकाको तर्फबाट किसानलाई कपास खेती गराउन आर्थिक वर्ष २०७७÷०७८ बजेट विनियोजन गरिएको नगर उपप्रमुख विमला राईले बताइन् । “बजारमा हलेसी क्षेत्रमा बुनिएका खाँडी कपडाको माग धान्न गाह्रो देखिएको छ”, उनले भनिन्, “लोपोन्मुख अवस्थामा पुगेको खाँडी कपडा बुन्ने व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन नगरपालिकाको तर्फबाट यस वर्षदेखि कपास खेतीका लागि बजेट व्यवस्था गरेका हौं ।”

कपास खेतीका लागि ७ नम्बर वडा कार्यालयको तर्फबाट आर्थिक वर्ष २०७६÷०७७ मा १५ जना महिलालाई कपास खेती प्रवद्र्धनसम्बन्धी तालिम दिइएको वडाध्यक्ष चइन्द्र राईले बताउनुभयो । यद्यपी, व्यावसायिक कपास खेतीका लागि क्षेत्र भने छनोट गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।

बाबुबाजेको पालासम्म हलेसीका विभिन्न क्षेत्रमा कपासको धागोबाट खाँडीका कपडा उत्पादन गर्ने गरिएको थियो । स्थानीय कृषकले कपास खेती गर्न छाडेपछि कच्चा पदार्थ अभावमा अहिले खाँडी कपडा उत्पादन हुन छाडेको छ ।

कोगटी र ढ्याङ्ग्रे खेती गरेर कपास निकालेपछि कपडा तयार पर्ने गरिएको छ । कपासबाट उत्पादन गरिएको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु १५ हजार र कोगटीको दौरा–सुरुवाल पुग्ने कपडा प्रतिथान रु २० हजारमा बिक्री हुने गरेको छ ।

कोगटीबाट उत्पादन गरिने खाँडी कपडाको माग बजारमा उच्च रहेपनि माग धान्न नसकिएको वडा नम्बर–७ महादेविस्थानकी खाँडी कपडा उद्यमी जुनासरी राईले बताउनुभएको छ । यसअघि हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बाहिरी जिल्ला तथा विदेशसमेत निर्यात हुने गरेको थियो ।

त्रिधार्मिकस्थल हलेसी आउने दर्शनार्थी तथा पर्यटकलाई हलेसी क्षेत्रमा उत्पादित खाँडी कपडा बिक्री गर्दा आम्दानीको स्रोतसमेत हुनेको गरेको थियो । पछिल्लो समय हलेसी आउने दर्शनार्थी तथा पर्यटकले खाँडी कपडा खोजे पनि उनीहरुलाई उपलब्ध गराउन नसकिएको उद्यमीहरुले बताउने गरेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा खाँडी कपडा उत्पादन तथा अल्लो प्रशोधनका लागि सबैजसो स्थानीय तहले लगानी गरिरहेका छन् । साकेला गाउँपालिकाले मात्तिममा अल्लो प्रशोधन केन्द्र स्थापनाको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ ।

सचिव र सहसचिवको लागि ६ सय ३८ संख्यामा विज्ञापन खुल्यो

काठमाडौँ । लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधवार(आज) सूचना प्रकाशित गर्दै १८२ सहसचिव र ४५६ उपसचिव गरि ६३८ पदका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुशार उपसचिव बढुवा तीन सय ८४ र खुल्ला ७२ जना गरी जम्मा चार सय ५६ जना मागिएको छ । जसमध्ये निजामती तर्फ बढुवा दुई सय ६६ र खुल्ला २७ जना गरी दुई सय ९३ जना माग गरिएको छ । संसदतर्फ १६ बढुवा र दुई खुल्लामा गरी १८ जना मागिएको छ भने स्वास्थ्यतर्फ बढुवा एक सय दुई जना र ४३ जना खुल्ला गरी एक सय ४५ जना मागिएको छ ।

त्यसैगरी सहसचिवतर्फ एक सय ६३ जना बढुवा र १९ जना खुल्लातर्फ गरी जम्मा एक सय ८२ पदमा विज्ञापन भएको छ । जसमध्ये निजामती तर्फ बढुवा ९५ जना र खुल्ला १० जना, संसदतर्फ बढुवा ३ जना र स्वास्थ्यतर्फ ६५ जना बढुवा र ९ जना खुल्ला गरी ७४ पदमा विज्ञापन भएको छ ।

निजामती सेवा, सङ्घीय संसद् सेवा तथा स्वास्थ्य सेवा तर्फ गरी खुलेको विज्ञापनमा योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् । आवेदन आयोगको वेवसाईटमार्फत भर्न सकिने छ ।

https://drive.google.com/file/d/1N0Oea4YcYSxMaHRlkwVDr8dgqt3EKv7q/preview

आज ५ सय बढी उपसचिव र सहसचिवको लागि विज्ञापन खुल्दै

काठमाडौँ । लोक सेवा आयोगले उपसचिव र सहसचिवको विज्ञापन खुलाउने भएको छ । आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार आज (बुधवार) विभिन्न सेवाका गरी पाँच सय भन्दा बढी उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गर्ने छ ।

प्रशासन सिंहदरबार स्रोतका अनुसार स्वास्थ्य सेवाका एक सय ५० जना उपसचिव र ७० जना सहसचिव, संसद् सेवाबाट उपसचिव र सहसचिव गरी २१ जना र निजामतीतर्फ प्राविधिक र अप्राविधिक गरी तीन सय उपसचिव र एक सय सहसचिवको विज्ञापन हुँदै छ ।

जसमध्ये सबै सेवाका गरी करिब ९० जति पदमा खुल्ला प्रतियोगिताबाट पदपूर्ति हुनेछ भने बाँकी फाइल बढुवा र आन्तरिक प्रतियोगिता पदपूर्ति हुनेछ । उपसचिव र सहसचिवमा कुल पदको १० पदको मात्रै खुल्ला प्रतियोगितामार्फत पदपूर्ति गर्ने व्यवस्था रही आएको छ ।

यसैबिच परराष्ट्र सेवाका तीन जना सहसचिवसहित अन्य केहि सेवाबाटपनि अन्तिम समयमा थप माग पठाइएको बुझिएको छ । जबकि आयोगले आर्थिक वर्षको सुरुमै आफ्नो वार्षिक कार्य तालिका प्रकाशित गर्ने र सोही अनुसार मन्त्रालयबाट माग पठाउनु पर्ने भए पनि पछिल्ला समय व्यक्तिलाई उकाल्ने र पछि पार्ने खेलमा केही पद लुकाउने तथा बढाएर पठाउने गरेको पाइएको छ ।

यस पटक पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पद लुकाएर यही खेल दोहोर्‍याएको भन्दै केही कर्मचारीले प्रधानमन्त्री कार्यालयमासमेत निवेदन दिएका थिए । त्यसपछि आज सामान्य प्रशासन मन्त्रालयले अन्तिम घडीमा आएर केही पद थप गरेर पठाएको उच्च स्रोतले जानकारी दिएको छ ।

पाथिभरामाताले सबैको रक्षा गरुन् (असोज २८ गते बुधबारको राशिफल)

वि.सं.२०७७ साल असोज २८ गते । बुधबार । ईश्वी सन् २०२० अक्टोबर १४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–द्वादशी,०५ घडी ४८ पला,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र– पूर्वाफाल्गुनी,३२ घडी १४ पला,बेलुकी ०६ बजेर ५८ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–शुक्ल,१७ घडी ५५ पला,दिउसो ०१ बजेर १४ मिनेट उप्रान्त ब्रम्ह । करण–तैतिल,बिहान ०८ बजेर २३ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर २६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०३ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३४ मिनेट । दिनमान २८ घडी ४५ पला । विश्व गुणस्तर दिवस । प्रदोष व्रत।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

अवसर आएपनि अवसरहरु पहिचान गर्न नसक्दा कामहरु अरुकै पोल्टोमा पर्नेछ । आफ्नो भन्दा पनि अरुकै बारेमा चोसो लिने बानिले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन । भौतिक सम्पति तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा मावलि पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुसिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ । पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले तत्काल नयाँ काम नगर्नु नै राम्रो रहनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । आत्मिय मित्र तथा परिवारका साथ रहेर स्वादिष्ट भोजनको टेष्ट लिने अवसर जुर्ने भएपनि खानपानको तालमेल नमिल्दा सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । आफन्त तथा कुटुम्बलाई समय दिन नसक्दा तपाईबाट टाडिनेछन् । मोजमस्ति तथा रमाईलो तिर ध्यान जादा स्वास्थ्य सम्बन्धि समस्या आउँन सकछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि गर्न निकैनै समय लगानि गर्नुपर्नेछ । बोल्दा वा कुनै सभा समारोहमा सहभागि भई प्रस्तुति दिदा ख्याल गर्नुहोला बोलिको प्रभाव घट्ने तथा गलत अर्थ लाग्ने प्रस्तुति हुँन सक्छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि हुनेछ भने घर परिवार तथा आफन्तका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । अध्ययन अध्यापनमा चाहेजस्तो सफलता हात हागी हुने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिबाट भनेजस्तो सहयोग पाईने हुनाले आर्थिक स्थिति मजभुत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

गैर सरकारि सस्था तथा बिदेशि लगानिबाट सञ्चालित सस्थाहरुमा सहभागि भई काम गर्ने अवसर आउँनेछ । लामो यात्राको अभिक सम्भावना रहेको छ भने बिदेशी बस्तुको व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि गर्न सकिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्न सक्छ ध्यान लिनुहोला । पढाई लेखाईमा सफलता प्राप्त गर्न अलि बढिनै समय लगानि गर्नुपर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समाजमा राम्रा काम गर्न सकिने हुनाले उचाई बढ्नेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ भने आकश्मिक लाभ तथा आभुषण प्राप्तीको गतिलो योग रहेकोछ । तपाईको कार्यकुसलताको सबैले तारिफ गर्नेछन् । कुटुम्ब तथा आफन्तबाट धन तथा सम्पति लाभ हुने ग्रहयोग रहेकोछ । मेलमिलाप तथा भाईचाराको सम्बन्ध स्थापनमा तपाईको भूमिका महत्वपुर्ण हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

व्यापार व्यावसायमा प्रशस्त आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायबाट राम्रै आम्दानि हुनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

प्रशासनिक काम गर्दा ध्यान दिनुहोला राज्यबाट गलत आक्षेप लगाउनेहरु सक्रिय हुनेछन् । समाजसेवा तथा राजनिति गर्नेहरुले जनताबाट अपमान तथा आलोचना सहनु पर्नेहुँदा काम गर्दा अलि बडि ख्याल गर्नुहोला । लामो दुरिको शैक्षिक तथा धार्मिक यात्राको अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्का प्रति शंकाको दृष्टिले हेर्दा अबिश्वास पैदा हुँन सक्छ ।

तामाकोशीबाट पुनः ४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु हुनै लागेको छ । यस्तै झण्डै ८८० मेगावाट क्षमताको तामाकोशी तेस्रोलगायत अन्य आयोजनासमेत निकट भविष्यमा निर्माणमा जाने तयारी छन् ।

निजी क्षेत्रले निर्माण सम्पन्न गरेका र निर्माणमा जान लागेका आयोजनाको सङ्ख्या झण्डै एक दर्जनको हाराहारीमा रहेको छ । माथिल्लो तामाकोशीको बाँधस्थल लामाबगरभन्दा माथिल्लो तटीय क्षेत्रमा समेत थप दुई आयोजना अध्ययनको क्रममा छन् । त्यस्तै, दोलखा र रामेछापमा पनि अन्य आयोजना निर्माणाधीन तथा निर्माणमा जाने तयारी छन् । ती सबै आयोजनाबाट उतपादित हुने विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणाली जोडेर बढी माग हुने क्षेत्रमा पु¥याउनका लागि सबैभन्दा महत्वपूर्ण हुन जान्छ प्रसारण लाइन ।

माथिल्लो तामाकोशीबाट उतपादन हुने विद्युत् रामेछापको न्यू खिम्ती सवस्टेशनबाट सिन्धुली, महोत्तरी हुँदै धनुषाको ढल्केबरमा पु¥याएर मात्रै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिन्छ । प्रसारण लाइन तथा अन्य संरचनाको अभावमा विद्युत् घुमाउनु परेको छ ।यही अवस्थालाई मध्यनजर गरेर सरकारले ४०० केभी क्षमताको तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । नेपाल सरकार, नेपाल विद्युत् प्राधिरकण तथा एशियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्न थालिएको हो ।

राष्ट्रिय प्राथमिकता प्राप्त तामाकोशी–काठमाडौँ २२०÷४०० केभी क्षमताको प्रसारण लाइन आयोजनाले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनालगायत अन्य सार्वजनिक निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् प्रवाह गर्नेछ । यस्तै रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्राणलीमा जोडिने भएको छ । न्यू खिम्तीदेखि काठमाडौँसम्म कूल ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुनेछ ।

सोही प्रसारण लाइन निर्माणको क्रममा दोलखा जिल्लाको मेलुङ गाँउपालिका, भीमेश्वर नगरपालिकालगायत विभिन्न स्थानमा पर्ने ४०० केभी आयोजनाको टावर निर्माणका लागि जग्गा प्राप्ति गर्ने प्रक्रिया शुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले आज एक सार्वजनिक सूचना प्रकाशित गरी आयोजनाले प्रभावित पार्ने क्षेत्रका जग्गाधनीलाई मुआब्जा वितरण गर्न लागेको हो । सरकारले गत साउन १९ गते आयोजना प्रभावित क्षेत्रको जग्गा प्राप्ति गर्ने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले जग्गा प्राप्ति गर्ने निर्णय गरेको थियो । ‘जग्गा प्राप्ति ऐन, २०३४’ को दफा ९ बमोजिम जग्गा प्राप्ति गर्ने प्रक्रिया अगाडि बढाइएको आज प्रकाशित सूचना उल्लेख छ ।

सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र जग्गाको भोगचलनसम्बन्धी काजगात, निस्सा तथा प्रमाणसहित रीतपूर्वक नेपाल विद्युत् प्राधिकरण, तामाकोशी–काठमाडौँ प्रसारण लाइन आयोजना भक्तपुर र साइट कार्यालय चरिकोटमा आवेदन दिन आग्रह गरिएको छ । आयोजनाले कूल ३६६ जनाको जग्गा लिन लागेको छ । आयोजनाले रीतपूर्वक निवेदन दिई सरकारको काममा सहयोग गर्नसमेत आग्रह गरेको छ । जग्गा प्राप्ति ऐनअनुसार आयोजना प्रभावितलाई कानूनअनुसार मुआब्जा उपलब्ध गराइनेछ

नेप्सेको ओरालो यात्रा, कारोबार रमकमा पनि गिरावट

काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९.४२ अङ्कले घटेर एक हजार ५६८.५९ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.७० बिन्दुले घटेर ३११.४१ मा झरेको छ । कूल १९३ कम्पनीको ६७ लाख ८२ हजार ९४७ कित्ता शेयर रु एक अर्ब ८१ करोड ९६ लाख ३८ हजार ९७७ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ताले नाफा बुक गर्न थालेका कारण बजार पुनः ओरालो लाग्न थालेको छ । त्यसको प्रभावस्वरुप आज कारोवार रकममा समेत गिरावट आएको छ ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १.४९, उत्पादन १०.८४ र सामूहिक लगानी कोष ०.०५ ले बढेको छ । यस्तै, बैंकिङ ७.७, होटल १०.०६, विकास बैंक ८.५६, जलविद्युत् २७.८४, वित्त १६.३, निर्जीवन बीमा ४८.४१, अन्य १.५१, लघुवित्त १३.६३ र जीवन बीमा ३८.९४ ले ओरोलो लागेको छ ।

कारोवारका आधारमा आज अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड २६ लाख २१ हजार ४७३ बराबरको कारोवार भयो । यस्तै, ज्योति विकास बैंक रु ११ करोड सात लाख एक हजार ४०४, मुक्तिनाथ विकास बैंक रु आठ करोड ५३ लाख ७० हजार १६७, नेपाल पुनरबीमा कम्पनी रु छ करोड ३२ लाख ८९ हजार ४००, सानिमा माई हाइड्रोपावर रु पाँच करोड ४६ लाख ७४ लाख ७४ र नेपाल बैंकको रु पाँच करोड २४ लाख ७१ हजार ४५७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

कारोवारका आधारमा आज ज्योति विकास बैंक ४.८३, लक्ष्मी उन्नति कोष, ३.३३, युनिलिभर नेपाल ३.०९, एनआइबिएल प्रगति फण्ड २.३६, सिटिजन म्युचअल फण्ड १.७६ र आइसिएफसी फाइनान्सका लगानीकर्ताले १.५५ प्रतिशतले कमाए । यस्तै, पञ्चकन्या माई हाइड्रोपावर ८.७२, दिव्यश्वरी हाइड्रोपावर ७.५०, खानीखोला हाइड्रोपावर ७.२६, रिडी हाइड्रोपावर ७.२२, घलेम्दी हाइड्रो ६.७७, समृद्धि फाइनान्स ६.५४ र युनियन हाइड्रोपावरका लगानीकर्ताले ६.३५ प्रतिशतले गुमाएका छन् ।

हुम्लामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

हुम्ला । उत्तरी क्षेत्रमा रहेका दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट – ८ धारापोरीस्थित टावरमा खराबी आएका कारण पाँच दिनदेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाबाट वञ्चित छन् ।
धारापोरी, ठाडा ढुङ्गगाको लेकमा रहेको नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवाबाट वञ्चित रहेको खोल्सीबाट बमबहादुर थापाले जानकारी दिए ।
पाँचदिनदेखि टेलिफोन सेवाले काम नगर्दा स्थानीय सञ्चारबाट विच्छेद हुनाका साथै टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नसकिएको नुर्बु बुढाको भनाइ छ ।
मर्मतका लागि नेपाल टेलिकम सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरिएको स्थानीयवासीले आरोप लगाएका छन् । नमस्ते टेलिफोनको टावरले राम्रो काम नगर्दा स्थानीयवासीले बारम्बार समस्या भोग्दै आउनुपरेको छ । गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको थापाले बताए ।

दुई देशका लागि भारतीय राजदुत नियुक्त

काठमाडौँ । भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो ।

भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गर्नुभएका मनोज कुमार भारतीलाई इन्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो ।

विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गर्नुभएका भारतीलाई इन्डोनेसियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ ।

त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ । उनी पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी हुन् ।

उनले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहेको मन्त्रालयले जनाएको छ ।

उनीहरु दुवै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्नुहुने पनि विज्ञप्तिमार्फत् विश्वास व्यक्त गरिएको छ ।

चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय बने ट्रम्प

काठमाडौँ । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् ।

कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहेका थिए । सार्वजनिक कार्यक्रमहरुमा पनि सहभागी भएका थिएनन् ।

त्यसपछि सोमबार पहिलो पटक उनी फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएका छन् ।

कार्यक्रममा उनी मास्क विना सहभागी भएका थिए भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् ।

उनले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफु स्वस्थ भइसकेको र आफुलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेको दावी गरेका थिए ।

उनले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाए ।

उनले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उनी सङ्क्रमणमुक्त भएको उनका निजी चिकित्सकहरुले बताएका थिए ।

कुर्था–जनकपुर–जयनगर रेल सञ्चालनका लागि कर्मचारी भर्ना प्रक्रिया सुरु

काठमाडौँ । कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि स्थायी कर्मचारी भर्ना प्रक्रिया सुरु भएको छ । सरकारले तत्काल रेल सेवा सञ्चालन गर्ने तयारीका साथ करारमा कर्मचारी भर्नाको लागि दरखास्त आह्वान गरेको हो । रेलवे कम्पनीले स्थायी कर्मचारी नियुक्ति प्रक्रिया सुरु गरेको हो ।

करारमा कर्मचारी नियुक्ति गर्दा करार अवधि समाप्त भएपछि समस्या उत्पन्न हुने भएकाले स्थायी कर्मचारी नै नियुक्त गर्ने गरी प्रक्रिया थालिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले जानकारी दिएको छ । रेल सेवा स्थायी रूपमा सञ्चालन गर्नका लागि स्थायी कर्मचारी नै आवश्यक पर्ने भएकाले करारमा कर्मचारी राखेर पछि हटाउँदा विभिन्न समस्या आउन सक्ने स्रोतको भनाई छ ।

करार प्रक्रियाबाट कर्मचारी भर्ना गर्दा विभिन्न किसिमको टीकाटिप्पणी आउन सक्ने तथा कर्मचारी भर्नालाई विवादरहित बनाउन र रेल्वे सञ्चालनलाई स्थायित्व प्रदान गर्न एकै पटक स्थायी कर्मचारी भर्ना गरिन लागिएको हो ।

यसअघि, छ महिनाका लागि करारमा कर्मचारी भर्ना गर्न दरखास्त आह्वान गरिएको थियो । कम्पनीले स्टेसन मास्टर, टिटी, क्यासियर, गार्ड, प्रशासन, लेखा लगायतका २९ पदमा १२९ जना करार कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको थियो । असोज १२ गतेसम्म दरखास्त दिने अन्तिम म्याद तोकिएको थियो । जसमा ३२ हजार ६८६ जनाले करारका लागि आवेदन दिएका थिए ।

मन्त्रालयका अनुसार स्थायी कर्मचारी भर्नाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र लोक सेवा आयोगबीच अहिले अन्तिम चरणको छलफल भइरहेको छ । यसै हप्ताभित्र टुङ्गो लाग्नेछ । अहिले करारका लागि आवेदन दिएकाहरू स्वतः सहभागी हुनेछन् । अन्य इच्छुकका लागि पुनः दरखास्त आह्वान गरिनेछ । सबैको परीक्षा प्रक्रिया एकैसाथ सुरु हुनेछ ।