फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सद्वारा “फ्याक्ट्स अफ नेपाल २०२०” सार्वजनिक

काठमाडौँ । फ्याक्ट्स रिसर्च एण्ड एनलाइटिक्सले नेपालका विभिन्न क्षेत्रहरुको जानकारी र तथ्याङ्क संकलन गरि तयार पारेको वार्षिक पुस्तक  FACTS of Nepal: 2020 संस्करण आज अनावरण गरेको छ ।

यस २०२० को वार्षिक पुस्तकमा अघिल्लो वर्षको विभिन्न क्षेत्रहरुको तथ्याङ्क संकलन गरि बनाइएको सूचनागत दृष्यचित्रहरु (इन्फोग्राफिक्स) समावेश गरिएका छन् । यो पुस्तकमा देशको सामाजिक, आर्थिक क्षेत्र लगायतका १० क्षेत्रहरु समेटिएका छन् । यो प्रकाशन यस फ्याक्ट्स वार्षिक पुस्तकको छैठौँ संस्करण हो । यस पुस्तकका पछिल्ला संस्करणहरूले देशको कर्पोरेट, सामाजिक, विकासशील र राजनीतिक क्षेत्रहरूमा लोकप्रियता पाउनुका साथै सो पुस्तकहरुलाई तथ्याङ्क र अन्तर्दृष्टिहरूको प्रस्तुतीकरणको एक विश्वसनीय स्रोतको रूपमा लिने गरिएको छ ।

यो संस्करणको मूल्य ने.रु. ५०० राखिएको छ र देशका प्रमुख पुस्तक पसलहरुमा यो पुस्तक उपलब्ध हुनेछ । यस पटक पाठकहरुले यो पुस्तक बिभिन्न अनलाइन पोर्टलबाट पनि अर्डर गर्न सक्नेछन् । प्यानडेमिकका कारण सार्वजनिकीकरणमा केहि ढिलाइ भएता पनि परम्परालाई निरन्तरता दिदैँ यो संस्करणको बिमोचन गरिएको हो ।

स्वतन्त्र निजी अनुसन्धानमूलक कम्पनीको रुपमा रहेको फ्याक्ट्सले अनुसन्धान र विश्लेषणात्मक परियोजनाहरु सञ्चालन गर्नुको साथै आफ्नो स्थापनाकाल (२०१२) देखि नै सामाजिक सञ्जाल र छापा माध्यम मार्फत् आमजनताका लागि दैनिक, साप्ताहिक र मासिक रूपमा सूचनामूलक तथ्याङ्कीय चित्रहरू प्रस्तुत गर्ने कार्य जारी राखेको छ । तथ्याङ्कीय पारस्परीक छलफलहरु र सूचनागत दृश्यचित्र (इन्फोग्राफिक्स) लाई बुझ्नको लागि फ्याक्ट्सले अनलाईन समाचार पोर्टल, दैनिक पत्रिका, मासिक पत्रिका र राष्ट्रिय टेलिभिजनहरुसँग साझेदारी गरेर अघि बढीरहेको छ ।

सवारी दुर्घटनामा परी चार जनाको मृत्यु

काठमाडौं । बारा, जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित सडकमा ना.१ त ५८०० नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरमा लेवर काम गर्ने कलैया उपमहानगरपालिका—२२ मदिलवा बस्ने २५ वर्षीय शेख रुस्तमको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुनसरी, भोक्राहा नर्सिङ गाउँपालिका(४ स्थित सडकमा प्रदेश २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–५ बस्ने ६५ वर्षीय सोकील मियाको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवा हुँदै थप उपचारको क्रममा न्यूरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरी, दुहबी नगरपालिका(८ कदमगाछीस्थित सडकमा को.१७ प ६९८१ नम्बरको मोटरसाइकललाई मे.१ ख २४९८ नम्बरको डिजल ट्याङकरले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ सुन्दरहरैचा नगरपालिका–५ बस्ने ७० वर्षीय कृष्ण दाहालको घट्नास्थलमै मृत्यु भएको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सुनसरी, भोक्राहानरसिंह गाउँपालिका–१ खोनिया पुलस्थित सडकमा ना.५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएर आइतबार राति दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेकी करिब ३८ वर्षीया महिलाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका ट्रक चालक सुनसरी लालपुर–४ बस्ने ३२ वर्षीय अनुप चौधरीको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिराटनगर न्यूरो अस्पताल रिफर गरिएको छ ।

एक पुरुष र एक महिला मृत अवस्थामा फेला

काठमाडौं । तनहुँ, शुक्लागण्डकी नगरपालिका-६ प्रगतिटोल बस्ने ५६ वर्षीया पदमा कुमाल आफ्नै घर नजिकै खेतको छेउमा आइतबार मृत अवस्थामा पेला परेकी छिन् ।
मोरङ, रतुवामाई नगरपालिका–५ आनन्द चोकस्थित सडकको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

सवारी साधनमा लगाएको प्रतिवन्ध फुकुवा गर्दै सरकार

काठमाडौं । सरकारले ५० हजार अमेरिकी डलरभन्दा बढी मूल्य पर्ने सवारी साधानमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने भएको छ । सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सोही कुरा जानकारी गराएका हुन् ।

उनका अनुसार गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार डलरभन्दा बढीका सवारी साधनमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । कूटनीतिक निकायका सवारी खरिदमा अप्ठ्यारो परेकोले सरकारले फुकुवा गर्ने निर्णय गरिएको उनले जनाए ।

खाद्य ऐन प्रतिकुल देखिएका २४ उद्योग विरुद्ध मुद्दा

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको अनुगमनलाई तिब्रता दिएको छ । चाडवार्ड नजिक आएकाले टोली गठन गरी खाद्य अनुगमन तथा परीक्षण कार्यलाई थप व्यवस्थित गरिइएको हो । विभागका सहप्रवक्ता सन्तोष दाहालले अनुगमनका क्रममा खाद्य ऐन प्रतिकुल देखिएका उत्पादक कम्पनी तथा उद्योग विरुद्ध मुद्दा चलाइएको जानकारी दिए ।

तत्कालै गुनासो सुन्न तयार पारिएको समुह ‘र्यापिड रेस्पोन्स टिम’ मा विभिन्न २४ उजुरी परेकोमा एक पानी उद्योग अनुमती वीना सञ्चालन भएको पाइएकाले बन्द गराइएको छ । खाद्य ऐन विपरित रहेको दुई उद्योगलाई उत्पादन रोक्का गरिएको विभागले जनाएको छ । अन्य २१ उद्योग विरुद्ध भने मुद्दा चलाइएको दाहालले जानकारी दिए ।

उनका अनुसार विभाग र मातहतका कार्यालयबाट कुल ३९८ स्थानका होटल, खाद्य उद्योग, दाना उद्योग खाद्य पसलमा अनुगमन भएको थियो । त्यसमध्य खाद्य पदार्थ तथा दाना उद्योगको २७८ र खाद्य स्वच्छता सम्बन्धि १५५ गरी ४३३ नमूना सङ्कलन भएको थियो । परीक्षणका क्रममा १४ वटा नमूना प्रतिकुल देखिएकाले कारावही गरिएको छ । अन्य अनुसन्धान कै क्रममा रहेको जनाइएको छ ।

विभागअन्तरगत मुलुकमा २४ डिभिजन कार्यालय र १२ स्थानमा खाद्य आयात÷निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय रहेको छ । यसअघि कार्यालयले भदौ २८ देखि नै तीन वटा अनुगमन टोली परिचालन गर्दै आएको छ । कोभिड १९ का कारण पिउने पानी, दुध तथा दानाकोअनुगमन गरिएको थियो ।

अहिले भने चाडबाड केन्द्रीत अनुगमन टोली तयार गरी परिचालन गरिएको विभागले जनाएको छ । मातहतका कार्यालयलाई समेत अनुगमनलाई तिब्रता दिन दिर्नेशन दिइएको छ ।
यसअघि पानी उद्योगमा ५४ पटक अनुगमन भएको र २५ नमूना सङ्कलन भएको थियो । दुई वटा नमूना प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया अघि बढेको जनाइएको छ । अन्य नमूना विष्लेषणको क्रममा छ ।
सात दुग्ध उद्योगमा अनुगमन भएकोमा छ वटाको नमूना सङ्कलन भएको छ । खाद्य व्यवसायको ३१ ठाउँमा अनुगमन भएकोमा ३४ नमूना सङ्कलन गरिएको र एउटा प्रतिकुल देखिएकाले कारवाही प्रक्रिया शुरु गरिएको विभागले जनाएको छ ।

चार्डबार्डमा समेत गुनासो सम्बोधन गरिने

विभागले चाडबाडको विदाको समयमा पनि गुनासो सुन्ने भएको छ । यस्तै प्रयोगशाला परीक्षण समेत सञ्चालन गरिने विभागले एक सूचनामार्फत जानकारी दिएको छ । त्यसका लागि सम्पर्क व्यक्ति समेत तोकिएको छ । खाद्य पदार्थको उत्पादनदेखि उपभोगसम्मको विभिन्न नियम निर्देशिका कार्यान्वयनमा तिब्रता दिइएको सहप्रवक्ता दाहालले बताए ।
­­­

बाग्लुङ नपा कार्यालय अनिश्चितकालका लागि बन्द

बाग्लुङ । नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बागलुङ नगरपालिकाले आजदेखि अनिश्चितकालका लागि सबै सेवा बन्द गरेको छ । नगरपालिकाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहित समुदाय स्तरमा कोरोना पुिष्ट भएपछि नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा बागलुङ बजारका स्थानीयमा कोरोना पुिष्ट भएपछि अनिश्चतकालका लागि नगरपालिकाको सेवा बन्द गरिएको उनले बताए ।

बागलुङ जिल्लामा शनिबार मात्रै ४७ जनामा कोरोना पुष्टि भएका थियो । ती मध्ये अधिकांश बागलुङ बजार क्षेत्र आसपासका रहेका जनाइएको छ । नगरपालिकाको एक जना स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधिमा सङक्रमण भएपछि अहिले कन्ट्रयाक्ट ट्रेसिङ भइरहेका कारण नगरपालिकाको सेवा बन्द गरिएको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । उनले बागलुङ बजारमा दशै तिहारको किनमेलका कारण अनावश्यक भीडभाड भएका कारण जोखिम बढ्न सक्ने भन्दै सर्तकता अपनाउन आग्रह गरे ।

नगरपालिकाले नगरपालिकाको कार्यालय सहित १४ वटै वडामा अत्यावश्यक सेवा बाहेका काम बन्द गरिएको हो । बागलुङमा हालसम्म ५२५ जनालाई सङ्क्रमण भएको छ । ती मध्ये ३६७ जना कोरोना मुक्त भएका छन् भने एक जनाको मृत्यु भइसकेको छ । बागलुङमा हाल सक्रिय सक्रमितको सङ्ख्या १५७ जना रहेको छ ।

आइएमई अटोमोटिभ्स्ले लियो “ESCORTS दशैं तिहार उपहार भरमार अफर”

काठमाडौँ । नेपालका लागी ESCORTS Construction Equipment को आधिकारिक विक्रेता आइएमई अटोमोटिभ्स् प्रा. लि. ले ESCORTS मेसिन खरिदका लागि दशै तिहारमा विशेष अफर ल्याएको छ ।
सो अफर अन्र्तगत कुनै पनि ESCORTS मेसिनको खरिदमा अब ग्राहकले यासुदा ब्राण्डको Home Appliance प्याकेज पाउनुको साथै थप डिस्काउन्ट पाउन सकिने छ ।
आइएमई अटोमोटिभ्स्ले यो अफर दशैं तिहार र छठ पर्व लाई लक्ष्ति गरि बजारमा ल्याएको कम्पनीले जनाएको छ । विशेष प्याकेजका साथै कम्पनीले फाईनान्सको सुविधाको पनि ब्यवस्था गरेको छ । अहिलेको विषम परिस्थितीमा फाईनान्सको सुविधाले ग्राहक महानुभावहरु लाई अझ सहज हुने कम्पनीले जनाएको छ ।

दशैँमा राष्ट्रबैंकले नयाँ नोट निष्काशन नगर्ने

काठमाडौं । यो दशैंमा नयाँ नोट नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै कोरोना संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न नयाँ नोट सटही नहुने जनाएको हो ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने राष्ट्र बैंककले सूचनामार्फत जानकारी दिएको छ । विगतका वर्षहरुमा दशैंमा नयाँ नोट सटही हुँदै आएपनि यसपालिको दशैंमा भने कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर नयाँ नोट सटही नगरेको बैकले जनाएको छ । ‘हाल बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा समेत कोरोना संक्रमण निकै फैलिएको र नगद सटहीका क्रममा हुने भिडभाडबाट संक्रमण फैलन सक्ने सम्भावना उच्च भएको भएको परिपेक्ष्यमा आम नेपाली नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनैपनि कार्यालयहरुबाट यस वर्षको वडादशैंको प्रयोजनका लागि नयाँ नोट सटही सुविधा प्रदान नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ सूचानामा भनिएको छ ।

राष्ट्र बैंकले यसले सर्वसाधारण माथि पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

थप २०७१ जनामा संक्रमण पुष्टि

काठमाडौँ । आइतबार थप २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । महिला ७ सय २ र १ हजार ३ सय ६९ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमण पुष्टि हुनको संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ । हाल जम्मा ३१ हजार ३ सय १५ सकृय संक्रमित रहेका छन् ।

पशुपतिले सबैको रक्षा गरुन (असोज २६ गते सोमबारको राशिफल)

वि.सं.२०७७ साल असोज २६ गते । सोमबार । ईश्वी सन् २०२० अक्टोबर १२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन कृष्णपक्ष । तिथि–दशमी,१३ घडी १९ पला,बिहान ११ बजेर २२ मिनेट उप्रान्त एकादशी । नक्षत्र–अष्लेषा,३७ घडी ०० पला,बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त मघा । योग–साध्य,३० घडी ०७ पला,बेलुकी ०६ बजेर ०५ मिनेट उप्रान्त शुभ । करण–भद्रा,बिहान ११ बजेर २२ मिनेट उप्रान्त बव,बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त बालव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कर्कट,बेलुकी ०८ बजेर ५१ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३६ मिनेट । दिनमान २८ घडी ५३ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । समाजसेवामा समय खर्चने हरुले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा ईष्टमित्र तथा अग्रज सँग टाडिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा आम्दानि भएपनि बचाउन मुस्किल पर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

व्यापार व्यावसाय तथा उद्योगमा लगानि गरि आम्दानि बढाउन सकिनेछ भने व्यावसायकै सन्द्रर्भमा छोटो दुरिको यात्रा गर्न सकिनेछ । दाजुभाई तथा छिमेमबाट तपाईले सोचेभन्दा बढि सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । अदालतबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछ । आट तथा पराक्रम बढेर जाने हुनाले शाहशिलो काम गर्न जोस आउनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि दिनले साथ दिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

उत्तम बस्त्र,मनपर्ने भोजन तथा बिशेष उपाहार प्राप्तिको योग रहेकोछ । बिभिन्न अवसरले पछ्याउँनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुँने हुँदा आफन्तहरु खुसि हुनेछन् । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखि रहनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाईने हुँनाले सार्वजनिक पद पाउँने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयमा सचेत नहुदा आकश्मिक कामहरु बिग्रने तथा व्यापार व्यावसायमा घाटा लाग्नेछ । स्वदेशि उत्पादन भन्दा बिदेशबाट आयात गरिएका बस्तुहरुको बिक्रि बढ्नेछ भने लामो दुरिको बिदेश यात्रा गर्न सकिने समय रहेकोछ । पढाई लेखाईमा मन नजादा अरु भन्दा पछि परिनेछ । खानपान तथा मौषमको ख्याल गर्नुहोला स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । आफन्त तथा साथिभाईको सल्लाह तथा सुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । सानो लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुदा आर्थिक अवस्था सुदृड हुनेछ । पुराना कामहरु फत्ते हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नीतिनिर्माण तहमा तपाईको सम्मानजनक उपस्थिति रहनेछ भने आज गरिने निर्णयहरु सबैलाई मान्य हुनेछ । पढाई लेखाईमा प्रतिश्पर्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । थप लगानि गरि व्यापार बिस्तार गर्न सकिनेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । गित संगितमा बिषेश रुचि बढ्नेछ भने पारिवारिक जमघटमा सहभागि भई मिठो मसिनो भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पढाई लेखाई अरु दिन भन्दा सुध्रिएर जाने हुँनाले नतिजा तपाईकै पोल्टोमा पर्नेछ । भाग्यले साथ दिने हुँदा थोरै लगानिबाट प्रशस्त आम्दानि हुँने तथा सानु प्रयत्नले ठुलो काम बन्नेछ । पुराना साथिभाई सँग भेटघाट गरि नँया योजना प्रस्तुत गर्न पाउँदा गर्बको महशुस हुनेछ । परिवार तथा आफन्त बाट तपाईको काममा रचनात्मक सहयोग हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

भौतिक सम्पति तथा सवारि साधनको प्र्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । व्यापारमा समय दिए अनुशार प्रतिफल प्राप्त नहुँदा आम्दानिको तुलनामा खर्च बढ्नेछ । अध्ययनमा मन नजादा अरु भन्दा पछि परिनेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा केहि समय खर्चिय राम्रा तथा उपलब्धिमुलक कामहरु बन्नेछन् । माया प्रेममा अबिश्वास बढ्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

परिवार आफन्त तथा साथिभाईहरुको सहयोग हुने हुनाले समस्याका पर्खालहरु आफै ढल्नेछन् । बंश बृद्धिको योग रहेको छ भने सन्तानको प्रगति देखेर मन प्रफुल्लित हुनेछ । परिवार तथा सन्तानबाट तपाईले गरेको काममा सहयोग हुनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायमा लगानि बडाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा स‌ंक्रमण पुष्टि

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका १४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायमा कार्यरत करिब २ सय ४० जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा कार्यालयका एक उपसचिवसहित १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै कार्यालयबाट प्रदान गरिने सेवा प्रभावित बनेको छ ।

त्यस्तै कोरोना देखिएकासँगै प्रत्यक्ष सम्पर्कमा रहेका अन्य २० जना समेत हाल क्वारेन्टाइनमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रशासन महाशाखाका सहसचिव शंकर नेपालले जानकारी दिए । पोजेटिभ देखिएकाहरू अधिकांश कार्यालयका सुब्बा, खरिदार, कार्यालय सहयोगी र चालकहरू रहेका छन् । धेरैजसो कर्मचारीमा कोरोना देखिएपछि कार्यालयको काम सम्पादनमा समस्या नआओस् भनेर जुम, वेविनार जस्ता प्रविधि अपनाइएको कार्यालयले जनाएको छ ।

शिक्षा मन्त्री पोखरेललाई संक्रमण पुष्टि

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भारस संक्रमण भएको छ। पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए।

हिजो स्वाव परिक्षणको लागि दिएकोमा आज रिजल्ट पोजेटिभ आएको हो ।

सहायक रजिस्टार पन्थीलाई ४ महिना कैद

विशेष अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयकी सहायक रजिस्ट्रार गीताकुमारी पन्थीलाई ४ महिना कैद हुने भएको छ । उनलाई दोषी ठहर गर्दै चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ ।
काठमाडौँको एक निजी स्कुलका सञ्चालक कर तिर्न जाँदा कर घटाइदिने भन्दै उनले त्यसबापत एक लाख रुपैयाँ घुस लिएकी थिइन् । सो पैसा बैंकमा जम्मा गर्न जाने क्रममा उनी पक्राउ परेकी थिइन् । पैसा उनको छोरीको साथबाट बरामद भएको थियो ।
२३ माघ ०७५ मा पन्थीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

दुधकोशीमा कमेरो खन्न गएका युवक बेपत्ता

काठमाडौँ । दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर लिप्ने कमेरो माटो खन्न गएका घिमिरेलाई शनिबार बिहान खोलाले बगाएको हो । माटो खनीसकेर भारीसमेत मिलाइसकेका घिमिरेले श्रीमतीलाई पानी पिउन मन लागेको भन्दै ज्याकेट र मोवाइल दिएर दुधकोशीमा गएका थिए । पानी पिउन पौडन नदीमा पसेपछि नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यता थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ । सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । नवजात शिशुको शवपरीक्षण लागि जिल्ला अस्पताल फाप्लु ल्याएको सोलुखुम्बु प्रहरीले जनाएको छ । घटनाको विषयमा अनुशन्धान भइरहेको बताइएको छ ।

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

काठमाडौँ । नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो । तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ । केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो ।

पाण्डवखानीको सामुदायिक तथा नीजि वनमा पाइने अर्घेली र बरुवा जातको रुखबाट उत्पादन हुने लोक्ता प्रशस्त पाइने भएपछि स्थानीय चुडाबहादुर राना चार वर्षदेखि नेपाली हाते कागज उद्योग सञ्चालनमा सक्रिय हुँदै आएका थिए । लघु जलविद्युत्बाट सञ्चालन गरिँदै आएको हाते कागज नियमित विद्युत् आपूर्तिमा समस्या आएपछि बन्द भएको हो । “सात महिनादेखि हाते कागज उद्योग पूर्ण रुपमा ठप्प बनेको छ”, उद्योग सञ्चालक चुडाबहादुर रानाले भने, “केन्द्रीय विद्युत् नभएसम्म उद्योग चल्न नसक्ने भयो, उद्योगमा केन्द्रीय विद्युत् ल्याउने पहल भइरहे पनि केही महिना लाग्ने भयो ।”

लोक्ताको अभाव नभएका कारण भने जति उत्पादन गर्न सकेको उद्योगमा पाँच जनाले नियमित रोजगारी पाउँदै आएका थिए । यहाँ उत्पादन हुँदै आएको नेपाली हाते कागज बागलुङ, पोखरा र काडमाडौँ बिक्री हुँदै आएको थियो । “लघु विद्युत्ले नधानेपछि जेनेरेटर समेत किनेर ल्याए तर, केही सीप लागेन”, उनले भने, “शुरुमा सिक्दासिक्दै घाटा भयो, अहिले विद्युत् नहुँदा लगानी डुब्ने अवस्था आएको छ ।” हाते कागज उद्योगमा झण्डै ५० लाखभन्दा बढी लगानी गरिसकेको रानाले बताउनुभयो । पछिल्लो समय निरन्तर उद्योग चल्दा राम्रै आम्दानी हुन थालेको भएपनि विद्युत् उत्पादनमा कमी आउँदा उद्योग बन्द भएको हो ।

उद्योगमा स्थानीय माउखोला लघुजलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् प्रयोग गरिँदै आएको थियो । उद्योगलाई नियमित ८ किलोवाट विद्युत् आवश्यक भए पनि लघु जलविद्युत्ले जम्मा १२ किलोवाट मात्रै विद्युत् उत्पादन गरेपछि स्थानीयलाई मात्रै विद्युत् बाल्न पुगेको छ । पूरा क्षमताको विद्युत् आपूर्तीमा समस्या भएपछि विद्युतीय उपकरणमा समेत क्षति पुग्ने गरेको छ । हाते कागजको निकै सम्भावना रहेको पाण्डवखानीमा उद्योगलाई पुनः सुचारुका लागि केन्द्रिय विद्युत्को आवश्यकता देखिएको छ ।

उत्पादन भएको नेपाली कागजलाई चौडाई ३० र लम्बाई४० इन्चको कागजलाई गुणस्तरका आधारमा रु ८ देखि ४० रुपैयाँ पर्ने गरेको छ । माघअघि उत्पादन भएको हाते कागज बन्दाबन्दीकै बीचमा बिक्री गर्नुभएका रानाले कागजबाटै वार्षिक रु ३० लाखको आर्थिक कारोवार गर्दै आएको बताए । उद्योगमा अहिले २१५ थान कागज सुकाउने फ्रेम रहेका छन् । केन्द्रीय विद्युत् गाउँ आउना साथ फ्रेम थपेर ५०० पुर्याउने उनको लक्ष्य छ ।

अहिले पाण्डवखानीमा केन्द्रीय विद्युतिकरणका लागि पोल गाड्ने र तार टाँग्ने काम भइरहेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ । केन्द्रीय विद्युतिकरणका लागि केही महिना लाग्ने नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले जानकारी दिए । “पाण्डवखानीमा अहिले विद्युतिकरणको काम भइरहेको छ, सामग्री आपूर्ती नहुँदा केही समय लाग्ने भएको छ”, बितरण केन्द्र प्रमुख गोशलीले भने, “यही दसैं, तिहारपछि विद्युत् जडान गरिनेछ, मागको हिसाबले ट्रान्सफर्मर राख्नुपर्ने भएकाले केही महिना त लाग्ला ।”

बागलुङ जिल्लाको ताराखोलामा समेत हाते कागज उद्योग सञ्चालन हुँदै आएको छ । बागलुङमा उत्पादन भएको नेपाली हाते कागजको माग उच्च छ । नेपाली कागज सरकारी कामकाजका लागि बढी प्रचलनमा आउने गरेको छ ।