महालक्ष्मी विकास बैंक लि. र एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. बिच सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. सँग २०७७ कार्तिक २३ गते आइतबार एक सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट महाराजगंज शाखाका प्रमुख श्री पल्लभ श्रेष्ठ र कम्पनीका तर्फबाट नायब बजार प्रमुख श्री अजय यादव ज्यूले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु तथा कर्मचारीहरुले एस. आर. एल. डायगनोस्टिक (नेपाल) प्रा. लि. मा उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता अनुसार बैंकका डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरु साथै कर्मचारीहरुले प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५% आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशभरी १०३ वटा शाखाहरुबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लि. ले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धीत कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।

गण्डकी प्रदेशबाट ढकाल प्यानलको पक्षमा मतदान गर्ने सर्वसम्मत निर्णय

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा गण्डकी प्रदेश अन्तर्गतका सम्पूर्ण जिल्ला नगर अध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्रप्रसाद ढकालको प्यानललाई मतदान गर्ने सर्वसम्मत निर्णय भएको छ ।
चुनावी प्रचारप्रसारको दौरानमा रहेको ढकाल प्यानललाई आइतबारसाँझ पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका अध्यक्ष संजिव बहादुर कोइरालाले गण्डकी प्रदेशका १६ ओटै जिल्ला नगरका अध्यक्षहरुले ढकाल प्यानललाई मतदान गर्ने निर्णय कार्यसमितिबाटै सर्वसम्मत रुपमा गरेको जानकारी दिएका हुन् ।
महासंघको नेतृत्व गर्ने व्यक्ति हरेक हिसाबले सबल र समक्ष हुनुपर्ने भन्दै उनले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको विकल्प नरहेको समेत बताए ।
‘हामी उद्योगी व्यवसायीका लागि जतिबेला समस्या पर्दा पनि उपलब्ध भएर समस्या समाधानमा खटिने ढकालजस्तो व्यक्तिलाई धेरै समयपछि नेतृत्वमा पाएको छौं,’ उनले भने ।
कार्यक्रममा उपस्थित गण्डकी प्रदेशका १३ जिल्ला तथा नगरका अध्यक्षहरुले अहिलेको अवस्थामा वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल र जिल्ला नगरतर्फको उपाध्यक्षमा गुणनिधि तिवारीलाई जिताउनु आफुहरुको दायित्व रहेको समेत बताएका छन् ।
‘वाग्लुङ जिल्लामा जन्मिएर सानो व्यवसायबाट सुरु गरी ठूलो व्यवसायसम्म सफलतापूर्वक संचालन गरिसक्नु भएका ढकाल र डेढ दशकदेखि जिल्ला नगरकै समस्यासँग जुध्दै आएका गुणनिधी तिवारीलाई नेतृत्वमा पाएको छौं,’ कार्यक्रममा उपस्थित जिल्ला नगरका अध्यक्षहरुले एउटै स्वरमा भने, ‘हामी उद्योगी व्यवसायीका समस्यालाई सरकारसँग राख्दै समस्या समाधानका लागि पनि ढकाल प्यानललाई जिताउनु जरुरी छ ।’
सो कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गत लमजुङ जिल्लाका अध्यक्ष राजेश थापा, बाग्लुङका अध्यक्ष युवराज राजभण्डारी, पर्वतका अध्यक्ष केदारनाथ शर्मा, स्याङजाका अध्यक्ष विक्रान्त श्रेष्ठ, पोखराका कार्यबाहक अध्यक्ष नारायण पराजुली, लेखनाथका अध्यक्ष बलराम ढकाल, देवचुलीका अध्यक्ष रेशमराज सापकोटा, नवलपुरका अध्यक्ष डासुराम पोखरेल, शुक्लागण्डकीका अध्यक्ष हरिकुमार श्रेष्ठ, गल्याङका अध्यक्ष यज्ञप्रसाद अर्याल, गैडाकोटका अध्यक्ष अमृत भट्टचन, वालिङका अध्यक्ष शोभाकान्त पौडेल र म्याग्दीको प्रतिनिधित्व गर्दै पूर्व अध्यक्ष कुविरकुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
साथै उक्त कार्यक्रममा अन्य प्रदेशका पनि २० भन्दा बढी जिल्ला तथा नगरका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमा सबै उपस्थित जिल्ला नगरको अध्यक्षहरुको प्रतिनिधित्व गर्दै पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले यस अघि महासंघका आफ्ना साथीहरु कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्र अधिकारी र महासंघ केन्द्रीय सदस्य किशोर आचार्यको सवारी दुर्घटना हुँदा वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकाल उद्दार कार्यमा खटिएर कुशल अविभाकत्व प्रदान गरिसकेको जानकारी दिँदै महासंघमा ढकाल प्यानलको विकल्प नभएको बताए ।
‘दुर्घटनामा परेका हाम्रा साथीहरुको उद्धारका लागि ढकाललगायतका साथीहरु जसरी खटिनु भएको छ । आजसम्म अरु साथीहरु त्यसरी खटिएको थाहा छैन,’ उनले भने ।
भेलालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवार ढकालले जिल्ला नगरका अध्यक्षहरुको गुनासोलाई सम्बोधन गर्दै आफु नेतृत्वमा पुगेपछि यसअघि देखिएका जिल्ला नगरका साथीहरुको गुनासो आगामी दिनमा आउन नदिने वचनबद्धता व्यक्त गरेका छन् ।
‘सुदूरपश्चिमको धनगढीदेखि गण्डकी प्रदेशसम्म आइपुग्दा सबैजसो जिल्ला नगरका साथीहरुले नेतृत्वमा रहेका व्यक्तिहरुले फोन नउठाएको, महासंघको साख खस्कियो भन्ने गुनासो गर्नुभएको छ,’ उनले भने, ‘म महासंघमा पुगेसँगै यी दुवै समस्या तत्काल सम्बोधन हुनेछन् ।’
साथै आफ्नो ७७ ओटै जिल्लामा विभिन्न खालका व्यापार व्यवसाय फैलिएको र आफु महासंघको नेतृत्वमा रहँदा वा नरहँदा पनि व्यवसायीक समस्या समाधानका लागि हरेक क्षण खटिने समेत उनको भनाइ थियो ।
अहिले व्यवसायीक नेतृत्वको लविङ नपुग्दा व्यवसायीमैत्री नीति नियमहरु आउन नसकेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा व्यवसायीहरुको हक, हित र व्यवसायमैत्री नीति निर्माणमा आफूले पहल गर्ने बताए ।
यस्तै कार्यक्रममा जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार गुणनिधी तिवारीले महासंघको विधानमा रहेको जिल्ला नगरको ५० प्रतिशत अधिकारको लागि पनि उक्त पदमा जिल्ला नगरकै प्रतिनिधित्व गर्ने व्यक्तिलाई जिताउनुपर्ने बताए ।
‘अहिले पनि महासंघको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत रहेको छ तर त्यस अनुरुप अधिकार दिइएको छैन,’ उनले भने, अबका दिनमा जिल्ला नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउनका लागि पनि यस पटकको निर्वाचनमा मैले उम्मेदवारी दिएको हुँ ।’
साथै कोभिडका कारण जिल्ला नगरका कतिपय व्यवसायीले आत्महत्या गर्न बाध्य भएको र धेरैजसो उद्योगी व्यवसायी पलायन हुने अवस्थामा पुगेको बताउँदै आफु नेतृत्वमा पुगेसँगै त्यस्ता समस्या समेत सम्बोधन गरिने बताए ।
यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले महासंघको खस्किएको साख उचो पार्दै व्यवसायीका समस्या समाधान गर्नकै लागि यसपटक चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमलाई जीताउनु पर्ने बताए ।
‘यस अघि नेतृत्वमा रहेका कतिपय साथीहरु केन्द्रिकृत भएर बस्नुभयो त्यसैले पनि तपाई जिल्ला नगरका साथीहरुले गरेका गुनासाहरु ठिक हुन,’ जिल्ला नगरका अध्यक्षहरुको गुनासो सम्बोधन गर्ने बचनबद्धता व्यक्तगर्दै उनले भने, ‘सबै जिल्लामा आफ्नो व्यापार व्यवसाय चन्द्रप्रसाद ढकाल र सबैलाई समेटेर अघि बढ्नेछ ।’
कार्यक्रममा महासंघका कोषाध्यक्ष निरक केसी, केन्द्रीय सदस्य डीबी बस्नेतलगायले अहिलेको अवस्थामा महासंघ नेतृत्वमा रहेर व्यवसायीका समस्या समाधानका लागि चन्द्र ढकाल जत्तिको व्यक्ति अरु नभएकाले आफुले पनि समर्थन गर्दै अघि बढेको बताए ।

थप १८ संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २ हजार ५ सय ७१ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ जना पुगेको छ । कुल संक्रमितमध्ये ३६ हजार १ सय ७४ सक्रिय संक्रमित छन् ।

सोमबार थप २ हजार ५ सय ७१ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार ७९८ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५९ हजार ७२४ जना निको भएका छन्।

आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ।पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ।

श्रम तथा उपभोक्ता हित समितिमा मेयर शाक्यको जवाफः काठमाडौँ महानगरपालिकाले कसैलाई भोकै पर्न दिदैँन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ गरिखानेहरुको सपनाको सहर भएको बताउनु भएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ दिदैँ उहाँले यस्तो बताउनु भएको हो । ‘सडकमा कसैले पनि मागि खानुपर्ने अवस्था आयो भने उनीहरु सबैलाई व्यवस्थापन गर्ने दायित्व काठमाडौँ महानगरपालिकाको हो,’ शाक्यले भन्नुभयो, ‘हामीले त्यही जिम्मेवारी निर्वाह गर्ने कोसिस गरिरहेका छौँ । यस्तो अवस्थामा एकले अर्कालाई दोषारोपण गरेर भन्दा पनि सबै मिलेर अघि बढ्नुपर्छ । यो सबैको दायित्व पनि हो ।’
शाक्यले खुलामञ्चमा निः शुल्क खाना खुवाएको विषय सबैको सरोकार भित्र परेको भन्दै त्यसलाई व्यवस्थापन गरेरै छाड्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘मेरो जानकारी अनुसार करीब आधा दर्जन संस्थाले त्यहाँ निशुल्क खाना खुवाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘सबैले एकै ठाउँमा खाना खुवाउन आवश्यक छैन । हामीले निशुल्क भोजनको व्यवस्था गरिरहेका संघ–संस्था र व्यक्तिलाई उहाँहरु र खाना खानेलाई पनि पायक पर्ने गरी फरक–फरक ठाउँमा बन्द स्थानको छनोट गर्नुहोस् भनेका छौँ । हामी ती ठाउँको भाडा तिर्न तयार छौँ । त्यति मात्र होइन । खाना खुवाउन आर्थिक अभाव भयो भने हामी खाद्यन्नको समेत व्यवस्थापन गर्न तयार छौँ । तर, यस्तो कोरोना कहरका बेला स्वास्थ्य मापदण्डको समेत ख्याल गरी खुला ठाउँमा खाना खुवाउनु हुन्न भन्ने हाम्रो चाहना हो ।’
उहाँले खाना खुवाउनकै लागि विभिन्न विदेशी संस्था र स्वदेशबाट समेत आर्थिक सहयोग उठाउनु पर्ने र चन्दा माग्नु पर्ने आवश्यकता नरहेको भन्दै आवश्यक सहयोग गर्न महानगरपालिका तयार रहेको पनि जानकारी गराउनुभयो ।
उहाँले अहिले पनि श्रम गरी खानेहरुका लागि कुनै समस्या नभएको भन्दै श्रम गरी खानेहरुलाई प्रोत्साहन गर्न सबैसँग आग्रह गर्नुभयो । ‘काम नगरी खाने प्रवृत्तिको अन्त्य र श्रम गरी खानेलाई प्रोत्साहन गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । कोभिडका कारण रोजगारी गुमाएकालाई श्रममा आधारित रोजगारीका अवसर दिन महानगरपालिका तयार छ,’ उहाँले भन्नुभयो, ‘हामी सबैसँग सहकार्य गरी अघि बढ्दै मागी खानु पर्ने वाध्यतामा रहेका महानगरवासीलाई व्यवस्थापन गर्न तयार छ ।’
शाक्यले केही माननीयहरुले खुलामञ्चमा पुगेर गरेको आर्थिक सहयोगप्रति संकेत गर्दै भन्नुभयो– ‘गर्न नसक्नेलाई हामी हेर्छौ, त्यो राज्यको दायित्व भित्रै पर्छ । तर, गरिखान सक्नेलाई पनि खुलामञ्चमा पुगेर केही आर्थिक सहयोग गरी महानगरपालिकालाई असहयोग गर्ने गरी गरेको प्रचारले समस्या समाधान हुदैन । सबै मिलौँ समस्या समाधानको उपायको खोजी गरौँ ।’
उहाँले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा पाँच हजार बेडको आइसोलेन वेड निर्माण गर्ने भनेको स्मरण गराउँदै कतिपय अवस्थामा महानगरपालिकाले नै निर्माण गर्ने भनी समाचार आएको र त्यसमा सत्यता नरहेकोले कोही भ्रममा नपर्न आग्रह गर्नुभयो। उहाँले पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको र त्यसमा पनि काठमाडौँ महानगरपालिकामा अझ संक्रमण दर बढीरहेको भन्दै स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वयमा व्यवस्थापन गर्नुको अर्को विकल्प नरहेको प्रष्ट पार्नुभयो ।

अस्पताल पुग्ने वित्तिकै आइसियु नै चाहिन्छ भन्ने माग सरकारले पूरा गर्न नसक्ने भन्दै त्यो बारेमा जनतालाई बुझाउन नसकेकाले केही समस्या भएको उहाँको भनाई थियो ।

‘अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने धेरै नागरिक होम आइसोलेसनमा रहेको लगायतका कारणले पनि हुनसक्छ भेण्टिलेटर र आइसियुका बेडहरुको अभाव भए पनि आइसोलेसन वेडको त्यति अभाव देखिएको छैन,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा थप भयावह अवस्था भयो भने व्यवस्थापनमा कठिन हुनसक्छ । यसका लागि सबैको समन्वय आवश्यक छ ।’
उहाँले काठमाडौँ महानगरपालिकासँग आर्थिक अभाव नरहेको भन्दै समन्वय भयो भने जटिल समस्यालाई पनि समाधान गर्न तयार रहेको जानकारी पनि दिनुभयो ।’
उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका शाक्यले कोभिडका बेला उपत्यकाका १८ वटै नगरपालिकाकाले एक्लाएक्लै होइन समन्वयमा अघि बढ्नुपर्छ भनेर पटक–पटक योजना बनाई अघि बढेको पनि स्मरण गराउनुभयो । उहाँले केही सञ्चारमाध्ययमले शिर्षक तोडमोड गर्दा आम नागरिकमा भ्रम पैदा हुने गरेको भन्दै त्यस्ता विषयमा सजग हुन र नागरिकलाई तथ्य सूचना प्रवह गर्न आग्रह गर्नुभयो । ‘सञ्चार माध्ययम सबै भन्दा बढी जिम्मेवार हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘बेलाबखत केही सञ्चारमाध्ययमले शिर्षक तोडमोड गर्दा नागरिकमा भ्रम पैदा हुने गरेको छ । यस्तो विषयमा ख्याल गर्नुहोला ।’
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगरपालिका भित्र कुनै पनि संघ–संस्थाले समन्वय नगरी खुला स्थानमा निशुल्क खाना खुवाउने लगायतका गतिविधि गर्न नपाउने व्यवस्था गरेको भन्दै त्यहाँ समस्या नरहेको बताउनुभयो । उहाँले कोभिडका बेला आफ्नो नगरपालिकाले गरेका गतिविधि बारे जानकारी दिनुभएको थियो ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमल प्रसाद श्रीवास्तवले अहिलेसम्म स्थानीय तहले गरेका काम सकारात्मक भए पनि थप समन्वय गरेर अघि बढ्दा अझ राम्रो हुने बताउनुभयो । सांसद भिमसेन दास प्रधानले समन्वयको अभावमा समस्या हुने गरेको भन्दै समन्वय गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले खुलामञ्चमा निशुल्क खाना खुवाउनेहरुलाई व्यवस्थापन गर्ने नाममा त्यत्तिकै छाड्न नमिल्ने भन्दै समन्वय गरेर स्थान तोकेरै खाना खुवाउने व्यवस्था गर्न आग्रह गर्नुभयो ।
त्यसैगरी सांसदहरु विन्दा पाण्डे, अभिषेक प्रताप शाह, देवेन्द्र पौडेल, माया ज्ञवाली, सोमप्रसाद पाण्डे, एलपी साँवा लिम्बू, प्रकास रसाइली, श्रम मन्त्रालयका सहसचिव, वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दहाललगायतले पनि कोभिड १९ महामारीको मारमा परेका श्रमिकहरुको व्यवस्थापनका लागि मन्त्रालय र स्थानीय तहहरुले गरेका व्यवस्था, गर्नुपर्ने प्रयासलगायतका बारेमा मेयरहरुलाई सुझाव दिनुभएको थियो ।

नेताहरुले एउटै डुंगामा छौँ भन्ने हेक्का राखेर एक अर्काको संवेदनशीलता ख्याल गरौँ–मन्त्री पोखरेल

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादका खेलले कसैलाई जित्न नदिने बताएका छन् । आइतबार सामाजिक सञ्जाल मार्फत नेताहरुले एउटै डुंगामा छौँ भन्ने हेक्का राखेर एक अर्काको संवेदनशीलता ख्याल गर्नुपर्ने बताएका छन्

‘हामी एउटै डुंगामा छौँ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेदनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो बैठकका निर्णयमै निहित छ, एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन,’ पोखरेलले लेखेका छन् ।

उनले सचिवालयका नेतालाई विवाद र कटुता बिर्सिएर एकताको बाटोतर्फ फर्किनसमेत सुझाव पनि दिएका छन् । उनले भने ‘एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमति भन्दा बाहिरबाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुनेछ, त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकताको बाटोतर्फ फर्कनु होस् ।’

मुख्यमन्त्री पोखरेलले सबैले अनुशासित पार्टी चाहेको र सचिवालयको कर्तव्य स्थायी समितिको निर्णय कार्यान्वयन गर्नु रहेको उनले प्रष्ट पारेका छन् । उनले सचिवालयका सबै सदस्यलाई इमान्दारिताका साथ एकता महाधिवेशनको तयारीमा जुट्न आग्रह गरेका छन् ।
‘आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो, सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो तसर्थ स्थायी समितिको बैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन् ।

मोटरसाइकल चोरीमा संलग्न सातजना पक्राउ

चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका मोटरसाइकल खरिद गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा बाराको करैयामाई नगरपालिका–५ घर भई हाल खैरहनी नगरपालिका–९ बस्ने २८ वर्षीय विजय चौधरी, सोही ठाउँ घर भई भरतपुर महानगरपालिका–३ बस्ने १९ वर्षीय राकेश चौधरी र बाराको कोल्हवी नगरपालिका–७ का २४ वर्षीय महेश चौधरी रहेका छन् । यस्तै मोटरसाइकल चोरी गर्नेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय दिनेश गुरुङ र २५ वर्षीय मनोज दराई रहेका छन् ।

चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका–१२ का २४ वर्षीय समीर चौधरी र २८ वर्षीय अमृत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न समयमा भाटभटेनी सुपर स्टोर अगाडि, कटहर चोक, नहरचोक, पावरहाउस चोक, विक्रममार्ग लगायतका स्थानबाट मोटरसाइकल चोरी भएका घटनाको अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट मोटरसाइकल, चोरी गर्न प्रयोग गरिने औजारहरु समेत बरामद गरिएको प्रहरीले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ अनुसार उनीहरुलाई कानुनी कारवाही हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए ।

तिहारको मुखमा निषेधाज्ञा

नुवाकोट । नुवाकोटमा यही कात्र्तिक २६ गतेदेखि निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार बसेको जिल्ला सङ्कट व्यावस्थापन केन्द्रको बैठकको निर्णयपश्चात प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जारी गरेको आदेशानुसार यही कात्तिक २६ गतेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लगाइएको हो । साथै यो वर्षको तिहारमा देउसीभैलो पनि खेल्न निधेष गरिएको छ ।

काठमाडौँस्थित विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालहरू कोरोना सङ्क्रमितले भरिभराउ भइसकेको र आईसीयू तथा भेन्टिलेटर सेवा पर्याप्त नभएकाले रोग नियन्त्रणका लागि नुवाकोटमा २६ गतेदेखि लागू हुने गरी निषेधाज्ञा लागू गरिएकाले आदेश पालना गर्न सबैलाई अपिल गरिएको छ ।

जिल्लाको धार्मिक, सांस्कृतिक तथा समूहमा भेला भएर गरिने कार्यक्रमले रोगको जोखिम बढाउने भन्दै निषेधाज्ञा जारी गरिएकाले यो वर्षको तिहारमा देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी ढकालले जारी गरेको आदेशमा भनिएको छ ।

निषेधाज्ञाको समयमा अहिलेको जस्तै दैनिकी सामान्यरूपमा चलाउन बजार क्षेत्र खुला राख्ने, गाडी सञ्चालन कायमै रहने भए पनि त्यसका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्नुपर्ने भनिएको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना भए–नभएको बारेमा जनप्रतिनिधिसहित प्रहरीको टोलीलाई अनुगमन गर्ने जिम्मेवारी दिइएको छ ।

नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ६१९ पुगेको छ । तीमध्ये २८८ जना रोग जितेर घर फर्किसकेका छन् भने ३२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमतिमध्ये सात जना त्रिशूली अस्पतालको आइसोलेसनमा र ३२२ जनालाई चिकित्सकको निगरानीमा घरकै एकान्तबासमा राखिएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकृत उत्तमराज खनालले जानकारी दिए ।

सर्वोच्च कमाण्डर गणेशमान जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदै

आज सर्वाेच्च कमाण्डर गणेशमानको जन्म जयन्ती मनाईदै छ । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज १०६ औँ जन्म जयन्ती हो । सोही अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मीएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलगायत नेतालाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका जोशिला तन्नेरी गणेशमान प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय थिए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्ष गरे । देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित सिंह सैद्धान्तिक हिसाबले बिपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा रहे । नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशील रहे ।

विसं २०१५ सालमा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए । विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दीगृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती व्यवस्थाका विरूद्ध सक्रिय रह्यो ।
नेता सिंहलाई विसं २०१७ पुस १ गतेको शाही कूपछि २०२५ सालसम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासनमा जानुभएका नेताहरुलाई २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गिरफ्तार गरी सुन्दरीजल बन्दीगृहमा दोस्रोपटक थुनियो । विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बिपी सङ्ग्रहालयमा रूपान्तरण गरिएको थियो ।

तत्कालीन पञ्चायती सरकारले बिपीसँगै मृत्युदण्डको माग गरिएका आठवटा मुद्दामा विशेष अदालतबाट सफाइ पाउनुभयो । गणेशमानले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बिपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलनको नेतृत्व गरे । विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका सर्वप्रिय नेता गणेशमानको महत्वपूर्ण योगदान २०४६ सालमा रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बन्न सफल बनेका हुन्।

यस वर्ष कोरोना भाइरसको सङक्रमण फैलिएकाले गणेशमान जयन्तीका अवसरमा आज गणेशमान सिंह अध्ययन प्रतिष्ठानले उनको जन्मस्थान भएको क्षेत्र काठमाडौँ–८ मा अक्सिमिटरलगायत स्वास्थ्य सामग्री वितरणसँगै जनचेतनामूलक अभियान शुरु गर्ने अध्यक्ष नवीन्द्रराज जोशीले जानकारी दिए । कांग्रेस र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले जुम प्रविधिबाट विभिन्न कार्यक्रम आयोजना गरी गणेशमान जयन्ती मनाउने जनाइएको छ ।

नगरपालिकाभित्र आज सार्वजनीक बिदा, सिन्धुलीगढी विजयोत्सव मनाइँदै

सिन्धुली । कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउँन लागनेको छ । नगरपालिकाले विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा विजयोत्सव मनाउने योजना गरेको हो ।

नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने भएपनि विजयोत्सव भने मनाइने जनाएका छन् । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने उनको भनाइ छ । विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि निमन्त्रणा नगरिएको उनले जानकारी दिए । यही अवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

सिन्धुलीगढी नेपालीहरुले अङ्ग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको उनको भनाइ छ । नेपाल सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन जारी गरेका निर्देशनहरुको पालना गर्दै सुरक्षित तरिकाले गढीको अवलोकन गर्न पाइने उनले जानकारी दिए ।

नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु बोलाई र्याली, झाँकीसहित गरिने औपचारिक कुनै पनि कार्यक्रम नगरिने नगर प्रमुख खत्रीले बताए । यसपटक विजयोत्सवमा नगर प्रमुख खत्रीले झण्डोत्तोलन गर्ने र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ ।

विस. २०६७ मा नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन शुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासङघले प्रचारप्रसारका लागि उक्त दिवस मनाउन शुरु गरेकोे थियो । त्यसपछिका वर्षमा तत्कालीन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजयोत्सवको आयोजना गर्दै आएको छ ।

नगरपालिका सदस्यले अस्वीकार गरे प्रमुख प्रशासकीय अधिकृत

भक्तपुर । मध्यपुरथिमि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई अस्वीकार गरिएको छ । नगरपालिकाको आइतबार बसेको कार्यपालिका बैठकमा ११ जना सदस्यले विवादका बीच प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई सङ्घीय मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो ।

उनीहरुले रिजाललाई तत्काल मन्त्रालय फिर्ता गरी अर्को प्रशासकीय अधिकृत पठाउन आग्रह गरेका छन् ।

बैठकमा कूल १९ जना सदस्यमध्ये उपप्रमुख अन्जनादेवी मधिकर्मीसहित आठ कार्यपालिका सदस्य अनुपस्थित थिए । नगरपालिकाका प्रवक्ता एवं वडा नं. २ का वडाध्यक्ष राम थापाले बैठक वैधानिक नभएको आरोप लगाउँदै प्रशासकीय प्रमुखलाई फिर्ता नपठाइएको जिकिर गरे ।

बैठकपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरसभाबाट विनियोजित बजेट र उपभोक्ता समितिमार्फत भइरहेका कार्यमा असहयोग गरेकाले फिर्ता पठाउन आग्रह गरिएको जानकारी दिए ।

उनले रिजालले नगरपालिकाको आन्तरिक राजनीतिमा सहभागी भई बजेट र कार्यक्रम रोक्ने, नगरपालिकाका आन्तरिक दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाएर सामाजिक सञ्जालमा हाल्न लगाउने, वडाध्यक्षलाई फोन गर्दै प्रमुखलाई घेराबन्दीमा पार्न उक्साउने गरेको आरोप लगाए ।

प्रशासकीय अधिकृत रिजालले भने सरकारले नै महामारीमा घरमा बसेर काम गर्नु भनेकाले घरमै बसेर काम गरेको बताउँदै नगरपालिकामा उपभोक्ता समितिमार्फत काम गर्ने गरी कार्यविधि नबनेकाले भुक्तानी नदिइएको जवाफ दिए ।

कार्यालय प्रमुखलाई कोरोना पुष्टि भएपछि मालपोत कार्यालय बन्द

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मालपोत कार्यालय, चौताराबाट प्रदान गरिने सेवा बन्द गरिएको छ । कार्यालयका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको सेवा बन्द गरिएको हो ।

कार्यालयले आज सूचना जारी गर्दै यही कात्तिक २४ गतेदेखि २८ गतेसम्म सेवा बन्द हुने जानकारी गराएको छ । कार्यालयका निमित्त कार्यालय प्रमुख गोवद्र्धन ढकालद्वारा जारी विज्ञप्मिा प्रमुख मालपोत अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको र सबै कर्मचारी सतर्क रहनुपरेकाले थप संक्रमण फैलन नदिन कार्यालय बन्द गर्नुपरेको उल्लेख गरिएको छ ।

जिल्ला प्रशासनमा सेवा लिन पनि पालिका अनुसार आलोपालो

सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय पनि आलोपालो सेवा प्रदान गर्ने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालद्वारा जारी सुचनानुसार अब हरेक स्थानीय तहका सेवाग्राहीले हप्तामा एक दिन मात्रै सेवा पाउनेछन् ।

जारी सुचना अनुसार चौतारा साँगाचोकगढी नगरपालिका र जुगल गाँउपालिकाका सेवाग्राहीले आइतबार मात्रै सेवा पाउनेछन् र सो बाहेक अन्य दिन ती स्थानीय तहका सेवाग्राहीलाई कार्यालयले सेवा दिइने छैन ।

नयाँ नीतिअनुसार सोमबार मेलम्ची नगरपालिका र बलेफी गाँउपालिका, मंगलबार बाह्रबिसे नगरपालिका र हेलम्बु गाँउपालिका, बुधबार त्रिपुरासुन्दरी गाँउपालिका र लिसंखुपाखर गाँउपालिका, बिहीबार भोटेकोसी गाँउपालिका र पाँचपोखरी गाँउपालिका र शुक्रबार सुनकोशी गाँउपालिका र इन्द्रावती गाँउपालिकाका स्थानीयले मात्रै सेवा पाउनेछन् ।

बाइडेनको राज्य संञ्चालन , उत्तर कोरिया र किम जोङसँगको व्यवहार कस्तो रहला ?

काठमाडौँ । जबदेखि डेमोक्रेटिक पार्टीले जो बाइडेनको नाम आफ्नो राष्ट्रपति पदका उम्मद्वारको रुपमा फाइनल गर्यो तबदेखि राजनीतिक विशेषज्ञले ‘यदि बाइडेन अमेरिकाका राष्ट्रपति बने डेमोक्रेट सरकारको विदेश नीति डोनल्ड ट्रम्प प्रशासनभन्दा कति भिन्न होला’ भन्ने विषयमा चर्चा गरिरहेका छन् ।

अमेरिकाको विदेश नीति एउटा यस्तो विषय हो जसबारे कुरा उठ्दा उत्तर कोरियासँग अमेरिकाको सम्बन्धबारे कुरा पक्कै पनि हुन्छ ।

ट्रम्पको कार्यकालमा अमेरिकाको उत्तर कोरियासँग बन्ने र बिग्रने अवस्थामा रह्यो । एकपटक यस्तो समय पनि आयो जब ट्रम्पले उत्तर कोरियालाई ‘यदि सुध्रिएनौ भने नतिजा भोग्नका लागि तयार होऔ’ भनेर धम्काए पनि ।

तर केही हप्तापछि नाटकीय परिवर्तन भयो र ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनलाई भेट गरे । यसले संसारभरी यो सन्देश दियो कि उत्तर कोरिया र अमेरिकाबीच हाल सबै सामान्य छ ।

ट्रम्प प्रशासनले पनि यसलाई आफ्नो कुटनीतिक जीत बताउँदै उत्तर कोरियासँग सम्बन्धमा यस्तो सुधार उनको कार्यकालको ठूलो उपलब्धि भएको बयान दियो ।

तर बाइडेन किम जोङ–उनलाई ‘ठग’ भन्छन् । राष्ट्रपति चुनावको बहसमा पनि उनले यहि सम्बोधनले किमको कुरा उठाए ।

यो हेर्दा लाग्छ कि जो बाइडेन उत्तर कोरिया र किम जोङ–उनको विषयमा थोरै सतर्क रहनेछन् ।

राष्ट्रपति चुनावको बहसमा डोनल्ड ट्रम्पले भनेका थिए, ‘बराक ओबामासँग जब मेरो कुराकानी भएको थियो, जुन एक लामो कुराकानी थियो, त्यतिबेला उनले उत्तर कोरिया हाम्रो लागि चिन्ताको सबैभन्दा ठूलो विषय भएको र हामीले उनीहरुसँग युद्ध गर्नुपर्ने स्थिती पनि निम्तिन सक्ने साथै युद्ध भएको खण्डमा त्यो एक परमाणु युद्ध हुने बताएका थिए । म राष्ट्रपति बनेपछि उत्तर कोरियासँग हाम्रो सम्बन्ध राम्रो भयो र युद्धको कुनै सम्भावना रहेन ।’

ट्रम्पले भनेका थिए, ‘किम जोङसँग मेरो सम्बन्ध सुमधुर छ । उनी थोरै भिन्न किसिमका मानिस हुन् तर राम्रा छन् । सायद उनले पनि मेरा बारे यहि सोच्छन् होला ।’

यसको जवाफमा जो बाइडेनले भनेका थिए, ‘जुन सम्बन्धको ट्रम्पले कुरा गरिरहेका छन्, त्यो एक यस्ता व्यक्तिसँगको हो, जो एक ठग हुन् । उनले यसो भन्नुको अर्थ के हो भने ट्रम्पलाई किम जोङ–उन र उत्तर कोरियाको परमाणु मिसाइलको खतरा महसुस हुन्छ । उनलाई लाग्छ कि उत्तर कोरियाको परमाणु हतियार अमेरिकाको धर्तीमा छुन सक्छ ।’

यसबारे एक दक्षिण कोरियाली अनुुसन्धाता पार्क वान–गोनले समाचार एजेन्सी योनहापसँगको कुराकानीमा भने, ‘बाइडेन उत्तर कोरियाको मामिलामा पुनः एक पारम्परिक दृष्टिकोण ल्याउने कोसिस गर्नेछन्, यस्तो सम्भावना प्रबल छ । उनी कुराकानीलाई अघि बढाउनका लागि केही शर्त पनि राख्न सक्छन् जसमा परमाणु कार्यक्रमलाई पूर्ण रुपमा बन्द गरेर देखाउनु एक जरुरी शर्त हुनसक्छ ।’

तर केही विश्लेषकले बाइडेन अमेरिकाको तर्फबाट बराक ओबामाको ‘रणनीतिक धैर्य’ युक्त नीति पनि लागू गर्नसक्ने मान्यता राख्छन् । यसलाई धेरै मानिसहरुले ‘रणनीतिक अज्ञानता’ वा ‘रणनीतिक कोमा’ को रुपमा बुझ्ने गर्छन् ।

उनका एक सल्लाहकारले भनेका छन्, ‘जो बाइडेन किम जोङ उनलाई त्यतिबेला मात्रै भेट्न इच्छुक हुनेछन् यदि उनी डेमोक्रेटिक पार्टीको परमाणु कार्यक्रम बन्द गराउने उद्देश्यको पालना गर्नेछन् । तर जो बाइडन उत्तर कोरिया र किम जोङ–उनसँग आफ्नो सम्बन्ध त्यसरी अघि बढाउने छैनन् जसरी डोनल्ड ट्रम्पले अघि बढाए ।’

सेन्टर फर नेशनल इन्टरेस्टमा कोरियन स्टडीजका निर्देशक ह्यारी जे काजियानिसले एक समाचार नेटवर्कसँगको कुराकानीमा भने, डोनल्ड ट्रम्प जाँदा हामी सर्वोच्च नेता किम जोङ–उन र उनीहरुबीचको सम्बन्धको केमेस्ट्री गुमाउनेछौं । यद्यपि, यो कुरा धेरैलाई मन पर्दैन तर ट्रम्प र किम जोङ–उनबीचको मित्रवत् सम्बन्धले केही फाइदा पनि भएका थिए ।’

सन् २०१९ मा उत्तर कोरियाको सरकारी मिडियाले जो बाइडेनले किम जोङ–उनमाथि लगाएको आरोपको निन्दा गरेका थिए र उनीमाथि अपशब्द पनि प्रयोग गरेका थिए ।

यद्यपि, अब उनले यस्तो प्रकारको भाषाको प्रयोग गर्ने सम्भावना निकै कम छ ।

अमेरिकाको राष्ट्रपति चुनावमा जो बाइडेनको जीतमा उत्तर कोरियाले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन । –बीबीसी मोनिटरिङ

सोमबार शिवको दर्शन् गर्नुहोस्, आज कार्तिक २४ गतेको राशिफल

वि.सं.२०७७ साल कार्तिक २४ गते । सोमबार । ईश्वी सन् २०२० नोभेम्बर ०९ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–नवमी,४४ घडी ५२ पला,रातको १२ बजेर १८ मिनेट उप्रान्त दशमी । नक्षत्र–मघा,५४ घडी १७ पला,रातको ०४ बजेर ०४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–शुक्ल । करण–तैतिल,दिउसो ०१ बजेर ०० मिनेट उप्रान्त गर,रातको १२ बजेर १८ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–ध्वांक्ष योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०८ पला । विश्व स्वतन्त्रता दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ । प्रयत्न गर्दा राज्यबाट पद प्राप्तीको योग रहेकोछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बिभिन्न अवसरहरु आएपनि ति अवसरहरुको सहि रुपमा सदुपयोग गर्न नजान्दा समयले पछि छोड्नेछ । व्यापार व्यावसायमा प्रशस्त समय खर्चदा मात्र आम्दानि गर्न सकिनेछ भने घर जग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट मनग्गे लाभ लिन सकिनेछ । महत्वपूर्ण काम गर्दा ध्यान दिनुहोला आफन्त तथा ईष्टमित्रहरुले बाधा तथा व्यबधान पुर्याउनेछन् । समयको पावबन्धिलाई ख्याल नगर्दा दुख पाईनेछ भने समयमा काम नबन्दा आर्थिक स्थिति खस्कनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

दाजुभाई तथा छिमेकिबाट तपाईले शुरु गर्नु भएको काममा उच्च मुल्याङकन हुनेछ । व्यापार व्यावसायमा लगानि बढाउदा भनेजस्तो आम्दानि हुनेछ भने आर्थिक स्थिति मजभुत हुने हुदा आवस्यक्ताहरु परिपुर्ति गर्न सकिनेछ । अदालत तथा न्यायिक निकायबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । माया प्रेममा रमाउने चाहने जोडिहरुका लागि समयले साथ दिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

गित संगित तथा कला साहित्यमा समय लगानि गर्नेहरुका लागि आजको दिन उत्तम रहेको छ । पारिवारिक जमघटमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर मिल्नेछ । कुटुम्ब सँगको सम्बन्धमा नयाँ आयामको बिकास हुनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई हराई नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । व्यापार व्यावसायमा सोचेजस्तै आम्दानि हुनेछ भने नयाँ नयाँ कामको प्रश्ताब आउँनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिद्या तथा प्रतिष्र्धामा बिजय हुँने योग रहेकोछ भने नयाँ ज्ञान हासिल हुनेछ । बुवा वा बुवासरहका मानिसको आषिर्वाद तथा सहयोगले महत्वपुर्ण कामहरु सम्पादन हुनेछन् । माया प्रेममा एक अर्कालाई भेटि सौहार्दपुण बाताबरणमा समय व्यातित गर्न सकिनेछ । ईच्छित कामनाहरु पुरा हुँने तथा आफ्नो मानिसबाट उपाहार तथा भौतिक सामानहरु प्राप्त हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापारमा रुपैया पैसा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । आज थालिएका जुनसुकै कामहरुबाट भनेजस्तो कमाई हुँने हुँदा आर्थिक क्षेत्र मजभुत हुनेछ । नयाँ काम पाउँने तथा नोकरिमा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाईने हुँनाले पद प्राप्तिको गतिलो योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

तपाईले सुरु गर्नु भएको काममा आफ्ना भन्नेहरुले नै बाधा तथा अवरोध गर्न सक्छन् ध्यान दिनुहोला । समय र परिस्थितिको अध्ययन नगरि अरुको कुरामा दोडनाले दुख पाईनेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले नचाहादा नचाहादै टाडिनु पर्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ । प्रेम गर्ने जोडिहरुका लामो समय सँगै बसेर भलाकुसारि गर्न सक्नेछन् । महिला मित्रहरुसँग गरिने कुनै पनि व्यापार तथा आर्थिक ब्याबस्थापनका लागि गरिने कारोबारहरु फस्टाएर जानेछन् । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आम्दानि बढ्ने योग रहेकोछ । लामो समयदेखि फैसला हुन नसकेका बिषयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ ।

जतिसुकै परिवर्तनकारी शक्ति आएपनि राज्यसत्ताको भावनाअनुसार चलेन

देश र जनतालाई समृद्ध बनाउने राजनीतक दलहरुको दावा सैद्धान्तिक धरातलबाट प्रयोगमा आउन सकेन । ०१७ सालमा सबै राजनीतिक दलहरुमाथि प्रतिबन्ध लगाई पञ्चायती व्यवस्थाको एकल शासन पद्धतिले पनि नेपाललाई स्वीटजरल्याण्ड बनाउने दावाका साथ ३० वर्षसम्म शासन ग¥यो । जनतासँग गरेको सो दावा मिथ्या साबित भएपछि पञ्चायती व्यवस्थाको एकलौटी शासन गर्ने शैलीमाथि प्रश्नचिन्ह लाग्यो र जनताले एकल शासन पद्धतिको अन्त गरि लोकतान्त्रिक शासन पद्धति स्थापना ग¥यो । संसारमा लोकतान्त्रिक शक्तिले गरेको उन्नति र प्रगतिको सपना लिएर नेपाली जनताले पनि देशलाई समृद्ध बनाउन लोकतान्त्रिक पार्टीहरुलाई जनादेश दियो ।
बडो उत्साह र जाँगरका साथ जनताले आन्दोलनको माध्यमबाट सत्ता खोसेर लोकतान्त्रिक शक्तिलाई राज्यसत्ता सुम्पियो । ०४६ सालमा लोकतन्त्रको पुनस्र्थापनाले पार्टीभन्दा जनताको सपना पूरा हुने आशले समग्र देश उत्साहित थियो । जनताले कांग्रेसलाई सरकार बनाउन बहुमत दियो र तत्कालिन एमालेलाई प्रतिपक्षमा राख्यो । भनिन्छ – “प्रथमे ग्रासेमक्षिकापातः ।”
नेपाली काँग्रेसको आफ्नै पार्टीभित्रको ताण्डव, त्यसपछि प्रतिपक्षी ताण्डवले देशमा राजनीतिक अराजकताको सिर्जना भयो । महँगी, भ्रष्टाचार, असुरक्षा, अराजकता व्याप्त भएपछि ०५२ सालमा माओवादीको जन्म, ०५८ सालमा दरवार हत्याकाण्ड र त्यसपछि राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिए । प्रजातन्त्र पुनस्र्थापनाका लागि गरिएको जनआन्दोलन नेपाली कांग्रेस र एमालेको कलहपूर्ण सरकार संचालनबाट मिथ्या साबित भयो । लोकतान्त्रिक पद्धतिमा जनताले बढि कष्ट महसूस गरे । त्यसपछि राजाबाट सत्ता खोस्ने नेपाली काँग्रेसको सडक आन्दोलनमा काठमाडौंमा ५० जना मानिस जम्मा हुँदैन्थ्यो । जनतामा लोकतान्त्रिक शक्तिबाट आएको विरक्तिको यो ठूलो उदाहरण थियो । जनताले सजाएको लोकतान्त्रिक शासन प्रणालीको सपना टुटेको थियो ।
लोकतान्त्रिक शासन प्रणाली नराम्रो होईन । त्यसैले त सयकडौं शहादत दिएर पटक पटक संघर्ष जनताले आखिर यही व्यवस्थालाई मन पराएर ल्यायो । अनुभवी राजनेताहरुद्वारा संचालित शासन व्यवस्थामा लोकतन्त्रको यस्तो विकृत रुप किन देखाप¥यो ? ०१७ सालमा राजाको षडयन्त्र प्रजातन्त्र मास्ने कारण बनेको थियो । ०५८ सालको दरवार हत्याकाण्डपछिको राजा त धेरै कमजोर थियो । राजाले कसरी शासन सत्ता हातमा लिए ? प्रजातन्त्र कमजोर हुनुको ठूलो कारण नेपाली कांग्रेसका नेताहरुमा निजी स्वार्थको डरलाग्दो स्वरुप, भागबण्डाको लडाई तथा गुट, उपगुटको पारस्परिक कलहबाट सिर्जित अराजक अवस्था थियो । जनता र देश विकासको कार्यको कुनै महत्व थिएन । शासन सत्तामा नेपाली कांग्रेसको कार्यशैलीबाट काँग्रेस धेरै बदनाम भयो । व्यक्ति स्वार्थ र भागबण्डामा एमाले पनि पछि थिएन तर नेपाली कांग्रेस जस्तो नाँङ्गो थिएन । नेपाली जनताले वाक्कदिक्क मानेर लोकतान्त्रिक शक्तिको विकल्प खोज्नु लोकतान्त्रिक शक्तिको ठूलो दुर्भाग्य थियो ।
माओवादीको शान्तिपूर्ण अवतरणपछि जनतामा पुनश्चः ठूलो आश जाग्यो । बाटो बिराएका नेपाली कांग्रेस तथा एमाले सच्चिएर माओवादीसँग मिलेर सरकार संचालन गर्छ किभन्ने जनताको आश थियो । ०६२ सालमा राजाको हातबाट शासन सत्ता लिनका लागि तीनवटै पार्टीले काठमाडौंमा भीषण जनआन्दोलन ग¥यो । फलस्वरुप सत्ता पुनश्चः यिनीहरुको हातमा आयो ।
झण्डै १७ वर्षको प्रजातान्त्रिक अभ्यासमा मधेशको अपेक्षा नसमेटिएपछि ०६३ सालमा मधेशले विद्रोह ग¥यो । संविधान सभाबाट संविधान बनाउने बहुप्रतिक्षित विचार साकार पार्न गरिएको मधेश आन्दोलनले अन्ततः संविधान सभाको चुनाव गराउन बाध्य पा¥यो । नेपाली कांग्रेस र एमालेको स्वार्थलिप्सा देशभन्दा पनि ठूलो रहेकोले अवसर पाए नचुक्ने राजनीतिको तल्लो स्तरको यो संस्कारबाट मुक्त हुन सकेको थिएन । पार्टीभित्र अवसर पाउने र नपाउनेको अन्तहीन संघर्ष चल्दै रह्यो । माओवादी पार्टीको अन्तर्संघर्ष विभाजनको कारण बन्यो भने अरु पार्टीहरु गुट उपगुटमा विभाजित थियो ।
सरकारको पहलो जिम्मेवारी देश र जनताप्रति उत्तरदायी रह्ने नीतिगत कुरा राखे पनि अहिलेसम्म जुनसुकै सरकारले निजी स्वार्थलाई नै प्राथमिकतामा राखेर सरकार चलाएको देखिएको छ । यसले सरकारको कार्यक्षमतामाथि सधैं प्रश्न उठ्दै रह्यो तथा सरकारहरु पनि आफ्नो कार्यकाल पूरा नगरि ढल्दै रह्यो । विगतका यी घटनाहरुबाट आउने कुनै सरकारले शिक्षा लिएन । बरु आफ्नो स्वार्थ लिप्सालाई नै निरन्तरता दिई रह्यो ।
संविधान सभाको स्थापनाकालदेखि बैदेशिक सहयोगको मात्रा बढ्दै गएको कारणले पार्टीहरुमा धन संग्रह गर्ने महत्वाकाँक्षा तीव्र रुपमा बढ्यो । नमरुञ्जेल सत्तामा बनिरह्ने आकाँक्षाले धन संग्रहतिर बढि प्रेरित ग¥यो । चुनावमा खर्च गरि जितेर आउने र सत्तामा आपूmलाई शाश्वत रुपमा स्थापित गर्ने सबैको एउटै चाहना प्रवल रुपमा विकसित भएपछि जनता समक्ष सरकारको विकृत रुप देखिनु स्वाभाविक थियो ।
माओवादी पनि अपवाद रह्न सकेन । उनले पनि व्यक्तिगत स्वार्थलाभको धारणालाई तिलाँजली दिई देशको उन्नती, प्रगतिबारे कुनै ठोस कार्य गर्न सकेन । राज्यसत्ताले माओवादीलाई पनि आफ्नो प्रभावमा लिएर कैद गरि सकेको जनताले अनुभव गर्न थाल्यो ।
राजा शासनकालमा चुनाव यति महँगो भएको थिएन । पञ्च भनाउँदाहरु जेकोही पनि जितेर आउने सहजता थियो । लोकतान्त्रिक व्यवस्थामा १०, २० करोड त न्यूनतम् खर्च हो । विगतको चुनावमा ५० करोडसम्म उम्मेदवारले खर्च गरेको सुन्दा कम्युनिष्ट शासनमा यस्तो पनि हुँदो रहेछ, विश्वास लागेको थिएन । पैसाको प्रलोभनबाट मतदातालाई प्रभावित गर्न पाइन्न भनेर कम्युनिष्ट सरकारले निर्वाचन आयोगलाई आचारसंहिता पनि बनाएर दिएको छ । तर पनि खर्च भएको छ । खर्चको चर्चा गर्दा यी सबै प्रोपगेण्डा हुन् भनेर गंगाजल छर्केर चोखिने जुक्ति कम्युनिष्टले पनि धेरै सिकेका छन् ।
सबैको विरोध गर्ने मेरो मनसाय होइन । पहिलेभन्दा परिष्कृत भएर उन्नत, प्रगतिशील, स्वच्छ र जन उत्तरदायी लोकतान्त्रिक शासन प्रणालीको जनताले अपेक्षा गरेको थियो । तर पहिलेभन्दा बदत्तर स्तरको सरकारको कार्यशैली भेटेपछि जनता कहाँ जाऊन् । नेकपा र नेपाली कांग्रेसले निर्विकल्प प्रभुसत्ता कायम गरेदेखि जनताको लागि कम्युनिष्टको विकल्प कांग्रेस भएपछि एकपल्ट कम्युनिष्ट अर्कोपल्ट काँग्रेसको सरकार प्रष्टिएको छ । सरकारको कार्यशैली जस्तोसुकै रहेपनि जनताले पालैपालो शासन स्वीकार गरि बस्ने चलन बनाएको कुराले दुबै शक्तिको प्रभूत्व त्यसै प्रष्ट हुन्छ । कम्युनिष्ट सरकारमा बस्दा काँग्रेसले भागपाउने तथा नेपाली काँग्रेसको सत्ता आउँदा कम्युनिष्टले भाग पाउने ०४६ सालदेखि बसाइएको चलनअनुसार सत्ता चलिरहेको छ ।
भारतसँग लड्ने बहाना झिकी राष्ट्रवादी शक्तिलाई गोलबन्द पारि दुईतिहाई नजिक पुगेको केपी शर्मा ओली शक्तिशाली सरकार बनाउन सफल भयो । चीनको भरपूर सहयोग प्राप्त यो सरकारलाई देश विकास गर्न कुनै किसिमको बाधा अड्चन थिएन । तर पनि ओली सरकार शिथिल भयो । भ्रष्टाचार, अनियमितता, महँगी, असुरक्षा, हत्या हिंसा, बलात्का आदि जस्ता असामाजिक गतिविधि बेरोकटोक हुन लागेकोले राजनीतिक अराजकताको अवस्था सिर्जना भएको छ ।
सधैं शीर्ष स्थानमा रहेको नेपाली काँग्रेस यसपाली ओलीको राष्ट्रवादी मतदाताले पत्याएन र नेपाली काँग्रेस खुम्चिएर बसेको छ । ओली कै शिकार भएर कमजोर मनस्थितिमा पुगेको नेपाली कांग्रेस अहिले गुट उपगुटको पारस्परिक कलहमा फँसेकाले सरकार र देशको चिन्ता त्यागेको छ । ओली सरकारको शक्ति किन ह्रास भयो, कारण बुझ्न सबै जिज्ञासु भएका छन् ।
ठूलो अनुसन्धानको विषय भएको छ कि जति सरकार आए सबै स्वार्थी किन भए ? देश र जनताप्रति कोही किन उत्तरदायी भएनन् ? भ्रष्टाचार गरेर अकूत सम्पत्ति कमाउने र आपूmबाहेक सत्तामा कसैलाई आउन नदिने यस्तो चुनाव प्रणाली किन बनायो ? जनतालाई पढाउने दर्शन यिनी आफै किन बिर्से ? सत्तामा जो आएपनि पारम्परिक चलनलाई निरन्तरता दिनु पर्ने तिलस्मी प्रभाव के हो ? शक्तिशाली तथा प्रगतिशील ओली सरकार असफल किन भयो ? धेरै प्रश्नहरु जनता समक्ष तेर्सिएका छन् ।
सरकारहरुको असफलताबारे बुद्धि अनुसार आफ्नै आफ्नै तर्क छ । यो पंक्तिकारको पनि आफ्नै तर्क छ । कुनै पनि सरकार सफल नहुनुको कारण राज्यसत्ता हो । तर दुईवटै पार्टीले विरासतमा पाएको यो धरोहरलाई आफ्नो असफलताको कारण मान्दैन । नेपालमा उत्तम तथा लोकप्रिय लोकतान्त्रिक व्यवस्था ल्याउन गरिएको जुनसुकै आन्दोलन सम्झौतामा टुँगिएर राज्यसत्ता समक्ष आत्मसमर्पण गरेको छ । आन्दोलनकारीहरुको दुई चारवटा अधिकारलाई संविधानमा लेखेर राखिदिएको छ । संविधानमा लेखिए पनि व्यवहार पक्ष उत्तिकै निर्मम छ र कुनै कुरा जनताले अनुभव गर्न सक्दैन । ओलीले भ्रष्टाचारमा हात हालेर आफ्नो असफलता निम्त्याएको हो । जतिसुकै परिवर्तनकारी शक्ति आएपनि राज्यसत्ताको भावनाअनुसार चलेन भने त्यो सरकार टिक्दैन । ओली पनि त्वम् शरणम् गरि सकेकोले यो सरकारको शिथिलता देखिएको हो । राज्यसत्तामा आमूल परिवर्तन नगरिकन देश र जनताको प्रगति घोषणा पत्रमा मात्र सीमित रह्नेछ । (मधेश दर्पण फिचर सेवा)