आज पाँच सयले बढेर कारोबार भयो सुन

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला रु ९७ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भई एक हजार २७५ पुगेको छ ।

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, कारोबार रकममा पनि रौनक

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । साताको पहिलो दिन परिसूचकसँगै कारोबार रकममा समेत वृद्धि भएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा १२.४९ विन्दुले वृद्धि भई एक हजार ६४८.५८ मा पुगेको छ ।

यस्तै, सेन्सेटिभ परिसूचक १.५७ ले वृद्धि भई ३२५.९४ मा पुगेको हो । कूल १९८ कम्पनीको एक करोड आठ लाख ६३ हजार ४५६ कित्ता शेयर रु तीन अर्ब ५२ करोड ६७ लाख ७७ हजार २६१ मा कारोबार भयो । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.१६ र विकास बैंक उपसमूह ६.७६ विन्दुले ओरालो लागेको छ ।

यस्तै, व्यापार १०५.१९, होटल २७.७५, जलविद्युत् ३०.५९, वित्त ४.२७, निर्जीवन बीमा १८.७९, उत्पादन १२२.६८, अन्य २८.४५, लघुवित्त १०.८५, जीवन बीमा ८६.९३ र सामूहिक लगानी कोष ०.१५ ले वृद्धि भएको छ । कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ९२ लाख दुई हजार ४८२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

यस्तै, हिमालयन डिस्टिलरी १५ करोड ९६ लाख ८१ हजार ६६३, खिबर इन्सुरेन्स कम्पनी १२ करोड ३० लाख ४१ ह्जार ८१४, अपी पावर कम्पनी १२ करोड आठ लाख २० हजार ६०९, बैंक अफ काठमाडौँ १० करोड ४८ लाख २० हजार ६०९, शिवम् सिमेन्ट १० करोड ३५ लाख ४६ हजार ८०० र हिमाल दोलखा हाइड्रोपावर रु नौ करोड ४२ लाख २५ हजार ८४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी ९.९७, साल्ट टे«डिङ कर्पोरेशन ९.९५, दिव्यश्वरी हाइड्रोपावर ९.९२, मिथिला लघुवित्त वित्तीय संस्था ९.९०, युनिभर्सल पावर कम्पनी ९.८६ र सानिमा जनरल इन्सुरेन्स कम्पनीका शेयरधनीले ९.८४ प्रतिशतले कमाए । त्यस्तै, नेपाल फाइनान्स कम्पनी ३.५७, सिभिल लघुवित्त वित्तीय संस्था २.७६, गुराँस लघुवित्त वित्तीय संस्था २.७१, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर २.१२ , सुमिट लघुवित्त वित्तीय संस्था १.६८ र स्वाभिमान लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १.६२ प्रतिशतले गुमाए ।

अमेरिकामा पहिलो महिला उपराष्ट्रपतिको रुपमा कमला ह्यारिस

काठमाडौँ । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका प्रत्यासी जो बाइडेन विजयी हुनुभएको छ । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकामा पहिलो महिला उपराष्ट्रपति पदमा विजय हुनुभएको छ ।

जमाइकाली मूलका डोनाल्ड ह्यारिस र भारतीय मूलकी श्यामला गोपालनकी जेठी छोरीका रुपमा ५५ वर्षअघि कमलाको जन्म भएको हो । उहाँहरुकी जेठी छोरीका रुपमा कमलाको जन्म भएको थियो । बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाको सम्बन्ध विच्छेद भएको थियो ।

पितासँग अलग भएपछि कमला र उहाँकी बहिनी माया दुवै छोरी आमासँगै हुर्किएका थिए । हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गर्नुभएको थियो । पच्पन्न वर्षीया कमला ह्यारिसले शुरुमा अमेरिकाको राष्ट्रपति पदका लागि उम्मेदवार हुने बताउनुभएको थियो । तर उहाँ गत डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिनुभएको हो ।

क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी ह्यारिसका पिता जमैकाली नागरिक र आमा भारतीय हुनुहुन्छ । उहाँकी आमा भारतमा जन्मिनुभएको र पिता जमैकामा जन्मेकाले उहाँलाइ अमेरिकाका लागि अस्वेत तथा अफ्रो एसियाली पहिलो महिला उपराष्ट्रपतिका रुपमा विश्वमा मिडियाले प्रचार गरिरहेका छन् ।

उहाँले हावर्ड विश्वविद्यालमा अध्ययन गर्नुभएको हो । उहाँले सधैँ आफूलाई आफूलाई “एक अमेरिकी“ भन्ने गर्नुहुन्थ्यो । भारतीय– जमैकन मूलकी उहाँ क्यालिफोर्नियाकी सांसद हुनुहुन्थ्यो र कुनैबेला त उहाँले राष्ट्रपतिकै उम्मेदवारका लागि जोन बाइडेनलाई समेत चुनौती दिनुभएको चर्चा पनि व्यापक भएको थियो ।

पछि उहाँ राष्ट्रपतिको उम्मेदवारको दाबीबाट पछि हटेपछि पनि उहाँको नाम चर्चामा नै रहेको थियो । ह्यारिस क्यालिफोर्नियाको महान्यायाधिवक्ता पनि भइसक्नुभएको थियो । उहाँले केही समयमात्र अघि अमेरिकामा देशव्यापी रूपमा भएको रंगभेदविरुद्धको प्रदर्शनका क्रममा अमेरिकी प्रहरीमा सुधार हुनुपर्ने माग पनि राख्नुभएको थियो ।

त्यस क्रममा पनि उहाँ चर्चामा आउनुभएको थियो । उहाँले त्यस आन्दोलन ताका ट्रम्प प्रशासनका साथै प्रहरीमा पनि व्यापक मात्रामा सुधार गर्न आह्वान समेत गर्नुभएको थियो । कमला ह्यारिसका आमा श्यामला गोपालन पनि अधिकारको संघर्षमा लाग्ने महिला हुनुहुन्थ्यो ।

श्यामलाले मानवअधिकारका पक्षमा लागेर यसैको अभियानमा काम गर्दा छोरी ह्यारिसलाई पनि साथमा लाने गरेकोले उहाँकै प्रभावले आफू पनि अधिकारको आन्दोलनमा लागेको अनुभव कमलाले समय समयमा मिडियालाई बताउने गर्नुभएको थियो ।

केही समयअघि अमेरिकाका एकजना अस्वेत नागरिकलाई प्रहरीले गरेको दुव्र्यवहारका कारण अमेरिकाभर भएको आन्दोलनमा पनि कमलाले ट्रम्प प्रशासनको विरुद्धमा र अमेरिकी अस्वेत नागरिकको पक्षमा लागेर काम गर्नुभएको थियो ।

जहाँ पुग्यो त्यहि सुधारका प्रयासमा रमाउँछन् सचिव एकनारायण अर्याल

काठमाडौं । कलकत्तामा नयाँ नयाँ योजनाका साथ काम गर्दैगर्दा सचिव बढुवामा परेका एकनारायण अर्याल जहाँ गयो त्यहिको सुधारमा रमाउँछन् । उनी चैत्र २४ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रकासकीय अधिकृतका रुपमा पद बहाली गरे त्यतिबेला मुलुक कारोना कहरका कारण लकडाउनमा थियो ।

फागुन १८ गते बसेको मन्त्रीपरिषद् बैठकले उनलाई सचिबमा बढुवा गरेर काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रुपमा पदस्थापन गर्ने निर्णय गरेको थियो ।

महानगरपालिकामा जनप्रतिनिधि बहाल भएपछिको पाँचौ प्रमुख प्रशासकीय अधिकृतका रुपमा बहाल भएसँगै कोरोना कहरमा पनि निकै राम्रा प्रयासको थालनी गरेका अर्यालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पद वहाली गरेका छन् । बहाली भएको महिना दिन नबित्दै दिन कस्तो हुन्छ भन्ने कुरा बिहानीको मौसमले सकेत गर्ने जस्तै सचिब अर्यालका प्रारम्भका कार्यहरुले मन्त्रालयमा परिवर्तनको अनुभुती हुन थालेको छ। प्राप्त जानकारी अनुसार कर्मचारी समायोजन संशोधन प्रक्रिया लामो समय देखी रोकिएको थियो सचिब अर्याल आए लगत्तै अगाडि बढेको छ । त्यति मात्र होइन सरुवाको लागि मन्त्रालयमा लाग्ने भिड अब अनलाइन सेवा सुरु हुने भएकाले कम हुने भएको छ। कोभिडको त्रासका कारण धेरै जनप्रतिनिधि देखी कर्मचारीहरुले मन्त्रालय धाउनु नपर्ने भएको छ। सचिब अर्यालले मन्त्रालयमा आएको एक महिना नपुग्दै धेरै जनतामुखि सेवाहरु दिन सफल भएका छन् । सरुवा हुनुअघि नेपाली महाबाणिज्य दूताबास कोलकत्तामा महावाणिज्य दूतका रुपमा रहेका थिए । त्यहाँ रहँदा पनि अर्यालले निजामती सेवामा इमान्दार र निर्णय क्षमता भएका प्रशासकका रुपमा आफुलाई सबैका बीच परिचित गराएका थिए ।

सरकारी जागिरे जिवनको लामो समय गृह प्रशासनमा बिताएका अर्यालले काठमाडौं महानगरपालिकामा छोटो समय रहँदा पनि कर्मचारीको अनावश्यक भत्ता, सुविधा र खर्च कटौती गर्ने कार्य गरेर राज्य कोषको लाखौं रकम बचाउने प्रयासको थालनी गरेका थिए । निडर र हक्की स्वाभावका अर्यालले काठमाडौं महानगरपालिकामा जिम्मेवारी सम्हालेपछि कामचोर कर्मचारीलाई काबुमा राख्ने र कामको मुल्यांकन गर्ने प्रयासको थालनी गरेको श्रेय पनि अर्याललाई जान्छ । कतिपय प्रशासकहरु काम भएन भनेर भौतारिईरहेको देखिन्छ । तर सचिव अर्याल जहाँ जहाँ पुग्छन् त्यही सुधारका प्रयासमा रमाउने उनको विशेषता नै देखिन्छ ।
जिम्मेवारी सम्हालेर पुगेको ठाउँमा केही न केही सुधार र सकारात्मक परिवर्तनको सन्देश दिने अर्यालले काठमाडौं महानगपालिकामा पनि जिम्मेवारी सम्हालेपछि अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता महत्त्वपूर्ण कामको थालनी गरेर सुधार गरेको कुरा अहिले महानगरभित्र तथा बाहिर सर्वविधित्रै छ ।

काठमाडौं महानगपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य कोराना संक्रमणका कारण लामो समय अनुपस्थित रहँदा समेत कुशल ढंगले दैनिक कार्यलाई अघि बढाउन सफल भएका अर्यालले प्रमुख शाक्यको समेत मन सजिलै जित्न सफल भएका थिए । त्यसो त अर्यालले छोटो कार्यकालमै काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माणको प्रक्रिया पनि अन्तिम चरणमा पुर्याएका हुन् ।
भाबी गृहसचिव र मुख्यसचिवका रुपमा हेरिएका अर्याल २०७२ सालको भुकम्पका बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए । भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि दबाबका बाबजुद मुद्दा चलाउन सफल भए । कालोबजारीमा संलग्नहरुलाई कारबाही गर्न जस्तोसुकै दबाब आएपनि नडगमाउने, अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमताका अर्याललाई काठमाडौ जिल्लामा प्रमुख जिल्ला अधिकारी भएकै बखत नेपाल पत्रकार महासंघ काठमाडौ जिल्ला समितिले काठमाडौको ५० वर्षे इतिहासमा कुशल प्रशासकको मूल्यांकनसहित उत्कृष्ट निजामति प्रशासकका रुपमा सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको भव्य कार्यक्रम बीचमा सम्मान समेत गरेको थियो । यस्तो इतिहास बनाउँदै संघीय मामिला छिरेका सचिव अर्यालका यस मन्त्रालयमा पनि उदाहरणीय काम गर्ने अपेक्षा गरिएको छ । २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका हुन् ।

थप २ हजार ८ सय १७ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८१७ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप २ हजार ८१७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।

सक्रिय संक्रमितको सख्या देशभरमा ३५ हजार ४१९ रहेको छ। पछिल्लो २४ घण्टामा थप १२ हजार ३११ परीक्षण भएसँगै अहिलेसम्मको परीक्षणको संख्या १५ लाख ४० हजार ७७ पुगेको छ।

गायक चौलागाईको गीतमा कोरोना कहर‘संसार रोएको छ’ सार्वजनिक

काठमाडौं । गायक युवराज चौलागाईको नयाँ ‘संसार रोएको’ बोलको गित सार्वजनिक भएको छ ।
विश्वनै तंगीत बनाएको कोरोना माहामारीको संकटमा स्वास्थ्यकर्मिको यर्थाथतालाई चित्रण गर्दै गौलागाईले यो गित सार्वजनिक गरेका हुन्। संकटको यो घडीमा आफु र आफ्नो परिवारलाई भुलेर अहोरात्र बिरामीहरुको सेवामा खटिरहने सम्पुर्ण स्वास्थ्यकर्मीहरुमा गीत समर्पित रहेको गायक चौलागाईले बताए।

गीतमा शब्द कौशिला खनाल कर्माचार्यको रहेको छ भने गीतमा स्वर तथा संगीत गायक चौलागाई स्वंयको रहेको छ । यस्तै शैलेन्द्र प्रधानको संगीत संयोजन रहेको गीतलाई लोकेश बज्राचार्यले निर्देशन गरेका छन् ।

गाउँपालिका प्रहरीका लागि ५४ जनाको दरखास्त

काठमाडौँ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो ।

एक हवल्दार र चार जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते विज्ञापन गरेर दरखास्त आह्वान गरेको थियो । दरखास्त दिने अन्तिम दिनसम्ममा प्रहरी हवल्दारका लागि सात र प्रहरी जवानका लागि ४७ जनाको दरखास्त परेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका हवल्दार र प्रहरीको अन्य चरणका छनोट प्रक्रियाका लागि अर्को सूचना आह्वान गरिने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए । गाउँपालिकाको शान्ति, सुरक्षा एवं दैनिक कार्यसम्पादनका क्रममा सहयोगीका रूपमा उपयोग गर्ने गरी गाउँपालिकाले अस्थायी ९करार० गाउँपालिका प्रहरी भर्नाको तयारी गरेको हो ।

सात वडा रहेको गाउँपालिकामा गाउँपालिका प्रहरी ऐन पास गरेरै गाउँपालिका प्रहरी हवल्दार र गाउँपालिका प्रहरी जवान भर्नाको तयारी थालिएको जनाइएको छ । गाउँप्रहरी हवल्दारका लागि एसइई वा सोसरह उत्तीर्ण भएको तथा प्रहरी जवानका लागि कक्षा ८ उत्तीर्ण गरेका महिला र पुरुषबाट दरखास्त आह्वान गरिएको छ ।

हवल्दार वा प्रहरी जवानका उम्मेदवार १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेको हुनुपर्ने गाउँपालिकाको मापदण्ड छ । उम्मेदवारको आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको र शारीरिकरूपमा स्वस्थ हुनुपर्ने गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ । गाउँप्रहरीसँगै चार अहेव (सहायक चौथो) र तीन अनमी (सहायक चौथो) नियुक्तिका लागि समेत दरखास्त आह्वान गरेको थियो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐँसेलुखर्क गाउँपालिकाले गत वर्ष नै तीन जना गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ ।

यसैबीच दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वानलगायतका प्रक्रिया शुरु गर्ने तयारी गरिरहेको छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको नगरपालिकामा नगर प्रहरी भर्नाका लागि नगरसभाबाटै नीति पारित गरिएको छ ।

गुटगत भेला नगर्न ओलीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले काल्पनिक र गलत कुरा गरेर पार्टीलाई भ्रममा पार्ने प्रयास गर्न नहुने बताएका छन् ।

पार्टी बैठक बोलाउन आग्रहसहित अध्यक्ष ओलीलाई भेट्न शनिबार बालुवाटार पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका केही सदस्य नेतासँग उनले यस्तो बताएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

त्यस अवसरमा अध्यक्ष प्रचण्ड सहितका नेताहरूले बैठक बोलाउन दुई पृष्ठको लिखित आग्रह पत्र प्रधानमन्त्रीलाई बुझाएका थिए । अध्यक्ष ओलीले सल्लाह गरेर बैठक बोलाउने बताउनुभएको सल्लाहकार थापाले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले बैठक चाहियो भने काल्पनिक, झुठा कुरा बोल्न, लेख्न छाड्नुस्, पार्टी विभाजन गर्ने खालका गतिविधि नगर्न नेताहरूलाई ध्यानाकर्षण गराउँदै गुटगत राजनीतिले समस्याको समाधान नहुने धारणा व्यक्त गरेको जनाइएको छ ।

नेताहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले भने, “बैठक बस्नु हुँदैन भनेर मैले भनेको छैन, बैठक भोलि बसौँला, पर्सी बसौँला, सल्लाह गरेर बसौँला तर त्यसअघि तपाईंहरू पनि सच्चिनुपर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

राष्ट्रिय अविष्कार केन्द्रलाई युवा सजगता अभियानको १० हजार सहयोग

काठमाडौँ । युवा सजगता अभियानले महावीर पुन नेतृत्वको राष्ट्रिय अविष्कार केन्द्रलाई सहयोग गरेको छ । सामाजिक विकासबाटै राष्ट्रको उन्नति सम्भव छ भन्नेमा सजग रहेको अभियानको शनिबार बसेको केन्द्रीय समितिको बैठकले अविष्कार केन्द्रलाई सहयोग गर्ने निर्णय गरेको हो ।

‘युवा सजगता अभियानको पालो रु ३० सहयोगमा हातेमालो’ भन्दै अभियानले देशभरका ३४० सदस्यबाट उठेको रु १० हजार २०० अविष्कार केन्द्रलाई सहयोग गरेको अभियानका अध्यक्ष चिन्तन पौडेलले भने ।

“राष्ट्रिय अविष्कार केन्द्रको सामाजिक विकास कार्यलाई निरन्तर सहयोग पुगोस् भन्ने हेतुले अभियानमा एक वर्षसम्म जोडिएका सदस्यबाट उठ्ने रकम क्रमशः सहयोग गर्दै जानेछौँ”, उनले भने । युवा सजगता अभियानले आफ्नो सङ्गठन देशका सबै प्रदेश र जिल्लामा विस्तार गरिसकेको छ ।

डोल्पामा वार्षिक परीक्षा सञ्चालन

चिसो मौसममा विद्यालय बन्द हुने उपल्लो डोल्पाको तीनमध्ये दुई स्थानीय तहका केही सामुदायिक विद्यालयमा वार्षिक परीक्षा सञ्चालन गरिएको छ । डोल्पोबुद्धका छ विद्यालयमध्ये पाँच विद्यालयले नतिजासमेत सार्वजनिक गरिसकेका छन् ।

वडा नं २ र ४ का टसी गोमाङ बाल विकास केन्द्र, बाल विकास केन्द्र, सिद्धार्थकुला आधारभूत, र इन्द्रधनुष आधारभूत विद्यालयले वार्षिक परीक्षा सकेका हुन् । वडा नं ३ को क्रिष्टल माउन्टेन विद्यालयले परीक्षाको तयारी गरिरहेको छ । एक महिनाभित्रै परीक्षा गराएर यो वर्षको शैक्षिक सत्र सक्ने विद्यालयको योजना छ । गाउँपालिकाका सामुदायिक विद्यालयमा हरेक वर्ष कात्तिकमै वार्षिक परीक्षा सञ्चालन हुन्छ ।

अत्यधिक चिसो हुने भएकाले माथिल्लो डोल्पाका तीन स्थानीय तहका सबै विद्यालयमा फागुनमा शैक्षिक शत्र शुरु भएर कात्तिकमा सकिने गरेको छ । स्थानीय पेमा गुरुङले नतिजा सार्वजनिक गरेका विद्यालय बन्द भइसकेको बताए । यो वर्ष सरकारी निकायले परीक्षा सञ्चालनमा सहयोग नगरेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकको सक्रियतामा परीक्षा सञ्चालन गरिएको हो ।

यही समयमा वार्षिक परीक्षा सक्नुपर्ने उपल्लो डोल्पाको छार्काताङसोङ गाउँपालिकाका चार विद्यालयले पनि वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरिसकेका छन् । तीन विद्यालयले कोरोनाका कारण तीन महिना विद्यालयमा पठनपाठन बन्द गरेर अहिले परीक्षा गराएर विद्यालय बन्द गरेका हुन् ।

शे फोक्सुण्डो गाउँपालिकाका विद्यालय पनि वार्षिक परीक्षाको तयारीमा छन् । विद्यार्थीहरु परीक्षाको तयारीमा जुटेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद न्यौपानेले बताए । जसरी भए पनि १२ वटै विद्यालयले हिमपातअघि नै नतिजा प्रकाशन गर्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ ।

अख्तियारको ३० ‘स्टिङ अपरेसन’ः सहसचिवसमेत पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रसहित मातहत कार्यालयको टोलीले चालु आर्थिक वर्षमा ३० वटा स्टिङ अपरेसन गरेको छ । आयोगले आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि कात्तिकसम्म गरेको विभिन्न अपरेसनमा एक सहसचिव, चार उपचिव, अधिकृतलगायत विभिन्न कर्मचारीहरु पक्राउ परेका छन् ।

काम लिएर विभिन्न कार्यालय पुगेका सेवाग्राहीको कृत्रिम समस्या बनाई दुःख दिने र सहजीकरण गरिदिने भन्दै घुस÷रिसवत माग गरी भ्रष्टाचार गर्ने कर्मचारीहरुलाई आयोगले पक्राउ गर्ने गरेको छ । यसै क्रममा आयोगले घुस÷रिसवत माग गर्ने सरकारी सेवामा कार्यरत निजामती कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक लगायत विभिन्न कार्यालयका कर्मचारी गरी ४८ जनालाई पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले चार, बर्दिबासले तीन, हेटौँडाले दुई, पोखराले दुई, बुटवलले आठ, सुर्खेतले एक, कञ्चनपुरले दुई, टङ्गालले छ र बुटलको सम्पर्क कार्यालय नेपालगञ्जले दुई गरी चलाएको २९ स्टिङ अपरेसनबाट ४८ जना पक्राउ परेका हुन् ।

प्रहरीको कमाण्डमा हुने स्टिङ अपरेसनमा यो आर्थिक वर्षको हालसम्म सबैभन्दा बढी आयोगको कार्यालय बुटवलले कीर्तिमान राखेको छ । आठवटा अपरेसन गरेको बुटवलले घुस÷रिसवत माग गरेको आरोपमा उपसचिव वा सो सरहका तीन जना कर्मचारी, अन्य अधिकृत, जनप्रतिनिधिका साथै नेपाल प्रहरीको कर्मचारीलाई समेत पक्राउ गरेको छ ।

गुट्खा तथा चिनी व्यवसायीबाट मासिकरूपमा घुस÷रिसवत लेनदेन गर्ने गरेको सूचनाका आधारमा आयोगको कार्यालय बुटवलले साउन २० गते राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय रानालाई पक्राउ गरेको हो । रानाले चलाएको बा२ झ १७६७ नम्बरको सरकारी प्लेटको टोयटा हाइलक्स गाडीमा घुसबापतको रकम लुकाइराखेको अवस्थामा आयोगको टोलीले रु दुई लाखसहित राना र घुस दिने व्यवसायी अनिलकुमार झालाई नियन्त्रणमा लिएको थियो ।

आरोपित राना र झालाई असोज २५ गते आयोगको केन्द्रीय कार्यालय टङ्गालले बिगो रु दुई लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप जरिवाना र कैद सजाय मागदाबी गरी विषेश अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

त्यस्तै आयोगको कार्यालय बुटवलले पूर्वाधार विकास कार्यालय, बाँकेमा कार्यरत कार्यालय प्रमुख सिडिई मनिषकुमार अर्याललाई रु पाँच लाख ३० हजार तथा राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई रु आठ लाख ९८ हजार घुसबापतको स्रोत नखुलेको रकमसहित रुपन्देहीबाट नियन्त्रणमा लिएको हो ।

अनुदान स्वरूपको रकम प्रदान गर्न सहजीकरण गरिदिएको भन्दै सेवाग्राहीबाट रु २० हजार घुस लिने रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई आयोगको टोली बुटवलले नियन्त्रणमा लिएको थियो ।

सहसचिव सरहको निजामती कर्मचारीसहित टङ्गाल, काठमाडौँले यो आर्थिक वर्षको हालसम्म छ वटा स्टिङ अपरेसन गरेको छ । तुलसीपुर उपमहानगरपालिका दाङका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायले स्रोत नखुलेको अस्वाभाविक रकम साथमा लिई हिँडेको भन्ने सूचनाको आधारमा आयोगको टोली टङ्गालले उपाध्यायलाई साउन १७ गते नागढुङ्गा काठमाडौँबाट पक्राउ गरेको थियो । उपाध्यायको साथबाट बैंकमा जम्मा गरेको भौचरसहित रु १४ लाख ४८ हजार ३९६ बरामद गरेको आयोगले जानकारी दिएको छ । उनको अहिले अनुसन्धान चलिरहेको छ ।

नेपाल खानेपानी संस्थान रुपन्देहीका कार्यालय प्रमुख इन्जिनीयर सन्तोष साहले खानेपानी शाखा कार्यालयका कर्मचारीहरुसँग घुस उठाई काठमाडौँ जाँदै गरेको भन्ने उजुरीका आधारमा आयोगको टोली टङ्गालले साहलाई धादिङबाट नियन्त्रणमा लिएको थियो । बैंकमा जम्मा गरेको भौचरसहित साहले प्रयोग गर्ने उक्त संस्थानको लु १ ञ ९५ नं को गाडीबाट आयोगको टोलीले रु आठ लाख २२ हजार बरामद गरेको थियो । साहको हालसम्म पनि अनुसन्धान चलिरहेको छ ।

त्यस्तै शनिबार आयोगको टोली टङ्गालले नुवाकोटको बेलकोटगढी नगरपालिकाका इन्जिनीयर पर्वत पौडेललाई सेवाग्राहीसँग विकास निर्माणको काम गरेबापत घुस रकम लिँदै गर्दा नियन्त्रणमा लिएको छ । नगरपालिकाको करार सेवामा कार्यरत इन्जिनीयर पौडेलमाथि सेवाग्राहीसँग लिएको रु ७५ हजार घुससहित आयोगले थप अनुसन्धान थालेको छ ।

त्यस्तै चारवटा स्टिङ अपरेसन गरेको आयोगको कार्यालय इटहरीले गत साउन ९ गते डिभिजन वन कार्यालय सुनसरीमा कार्यरत डिभिजन प्रमुख रामबाबु साहले स्रोत नखुलेको अवैध रकम लिई जाँदै गरेको भन्ने सूचनाका आधारमा रु पाँच लाख ५३ हजारसहित नियन्त्रणमा लिएको थियो । उनको अहिले थप अनुसन्धा भइरहेको आयोगले जानकारी दिएको छ ।

घुस तथा रिसवत लिएको भन्ने उजुरी परेपछि उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले सव डिभिजन कार्यालय मैनामैनी उदयपुरका प्रमुख शिवनारायण यादवसहित छ जनालाई पक्राउ गरी साउन २७ गते आयोगको कार्यालय इटहरीलाई बुझाएको थियो । रु १७ हजार घुससहित पक्राउ परेका उनीहरुको आयोगले अनुसन्धान थालेको छ ।

त्यस्तै यही कात्तिक २० गते आयोगको कार्यालय हेटौँडाले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरण, हेटौँडा (भरतपुर–बर्दघाट २२० केभीए) प्रसारण लाइन आयोजनाका प्रमुख इश्वरीप्रसाद जयसवाललाई पक्राउ गरेको छ । निर्माणाधीन प्रसारण लाइनभित्र पर्ने रुखहरु कटान गरी ढुवानी तथा घाटगद्दी कार्य सम्पन्न गरेको रकम भुक्तानी दिनका लागि जयसवालले सेवाग्राहीसँग घुस÷रिसवत माग गरेका थिए । उक्त विषयको उजुरी परेपछि आयोगले रु १० लाख घुसबापतको रकम लिइसकेको अवस्थामा उपसचिवस्तरका कर्मचारी जयसवाललाई नियन्त्रणमा लिएको हो । यो सँगै हेटौँडाले चालु आर्थिक वर्षमा दुई वटा स्टिङ अपरेसन गरेको छ ।

उल्लिखित स्टिङ अपरेसनमा पक्राउ पर्नेमा सहसचिवस्तरका कर्मचारीदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधि रहेका छन् । घुस÷रिसवत मागेको आधारमा सामान्यतया आयोगले साना दर्जाका कर्मचारीलाई मात्रै पक्राउ गर्ने गरेको भन्ने गुनासो सुनिए पनि यो आर्थिक वर्षको चार महिनामा आयोगले एक सहसचिव र चार उपसचिवस्तरको कर्मचारी पक्राउ गरी अनुसन्धान थालेको छ ।

आयोगका प्रवक्ता अधिकारीले जुनसुकै दर्जाको व्यक्ति भए पनि उजुरी र सूचनाका आधारमा आयोगले आवश्यक काम कारबाही अगाडि बढाउने बताए। “आयोगले साना ठूला कर्मचारी हेर्ने होइन, उजुरी परेपछि जो पनि छानबिन तथा अनुसन्धानका लागि आयोगले नियन्त्रणमा लिन सक्दछ”, उनले भने ।

अधिकारीका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्रै आयोगले राजपत्रमा उल्लेखित अधिकृतभन्दा माथिल्लो स्तरका ६० प्रतिशत कर्मचारीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो र अहिले पनि पक्राउ परिरहेका छन् ।

अहिले पूरै विश्व कोरानो भाइरसबाट आक्रान्त बनेको समयमा पनि आयोगले सुरक्षा सतर्कता अपनाएर स्टिङ अपरेसन गरी अनुसन्धान गरिरहेको प्रवक्ता अधिकारीले जानकारी दिए । सेवाग्राहीका लागि उजुरी तथा सहयोग चाहिए आयोग सधैँ खुल्ला रहेको जानकारी दिँदै अधिकारीले भ्रष्टाचारजन्य गतिविधि नगर्न तथा नगराउनसमेत आग्रह गरे ।

कालिन्चोकको दर्शन् गर्नुहोस्, कार्तिक २३ गतेको राशिफल

वि.सं.२०७७ साल कार्तिक २३ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर ०८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–अष्टमी,४८ घडी ०९ पला,रातको ०१ बजेर ३६ मिनेट उप्रान्त नवमी । नक्षत्र–अश्लेषा,५६ घडी ०२ पला,रातको ०५ बजेर ४५ मिनेट उप्रान्त मघा । योग–शुक्ल । करण–बालव,दिउसो ०२ बजेर ०६ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर ३६ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–बज्र योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १३ मिनेट । दिनमान २७ घडी १२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुदा खानपान तथा बाहिरि वाताबरणको ख्याल गर्नुहोला । समाजसेवामा समय खर्चने हरुले जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । आफन्त तथा ईष्टमित्र तथा अग्रज सँग टाडिएर कहिकतै जानु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा आम्दानि भएपनि बचाउन मुस्किल पर्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

दाजुभाई तथा साझेदारहरु सँग मिलेर गरिने पेशा व्यावसायबाट भनेजस्तो रुपैया पैसा कमाउन सकिनेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा कलम चलाउँनेहरुले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने घर परिवारमा सबैको सहयोग पाईन हुनाले नया काम गर्ने अवसर आउनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

राम्रा पहिरनले अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । नया प्रबिधिको प्रयोग मार्फत आफुलाई अब्बल साबित गर्न सकिनेछ । नयाँ कामको प्रस्ताब आउनेछ भने नया प्रकृतिको काम थालनि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । परिवारका साथ मिष्टान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । धर्म तथा यस्तै कार्यक्रममा सहभागि हुने अवसर जुर्नेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

व्यापार व्यावसायबाट मनग्गे आम्दानि हुनेछ भने सानो प्रयत्नले ठुलो काम बन्ने तथा थोरै लगानि गर्दापनि प्रशस्त आम्दानि हुने समय रहेकोछ । सहयोगहिरु जुट्नाले रोकिएको काम सहजै सम्पादन हुनेछन् । दाजुभाई तथा अग्रजहरुको हरेक क्षेत्रमा साथ रहने हुनाले मन प्रशन्न रहनेछ । बिषेश समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ रमाउन सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

नयाँ काम पाउँने तथा नोकरिमा बढोत्तरीको गतिलो सम्भावना रहेकोछ । स्रोत साधन जुट्नाले व्यापार व्यावसायमा सोचेभन्दा बढिनै आम्दानि हुनेछ । माया प्रेमको गाठो कसिलो हुनुको साथै जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै नतिजा आफैतिर ल्याउन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

लगनशिल तथा मेहनेतले चाहेको उपलब्धि हासिल हुँनेछ । परिवारका साथ लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रवल सम्भावना रहेकोछ । खोज तथा अनुशन्धानमा समय लगानि गर्नेहरुले राम्रो नतिजा हात पार्न सक्ने योग रहेकोछ । पढाई लेखाईमा अरुदिन भन्दा सुधार भएर जानेछ । कुनै पनि क्षेत्रमा आउने प्रतिष्पर्धिहरुलाई सजिलै हराउन सकिनेछ । माया प्रेममा एक अकासँग नजिक हुने समय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयको ख्याल नगरि काम गर्दा समस्या निम्तिन सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नयाँ समस्याहरु आउँने हुँदा काम गर्न असजिलो हुनेछ । दैनिक खर्च बढ्नेछ भने घर परिवारका आवस्यक्ता परिपुर्ति गर्न सकिने अवस्था रहने छैन । व्यापार व्यावसायमा बढिनै समय खर्चिय मात्र नाफा कमाउँन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

समयमा कामहरु सकिने हुँदा अन्य क्षेत्रमा पनि हात हाल्ने तथा लगानि गर्ने बाताबरण बनाउन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने व्यापारकै शिलशिलामा देश बिदेशको यात्रा गर्न सकिनेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समाजमा आफ्नो खुबि प्रयोग गरि नाम कमाउन सकिनेछ । बिवाद तथा प्रतिष्पर्धामा अरुलाई उछिन्दै तपाईको नाम अग्र स्थानमा आउनेछ । अदालति निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने सत्रुहरु आफै किनारा लाग्नेछन् । व्यापार व्यावासायमा लगनशिल तथा ईमान्दारिताका साथ लाग्नाले मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । व्यापारकै शिलशिलामा लामो दुरियो यात्रा गर्न सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँन सकिनेछ भने तपाईको कार्य शैलिको सबैले समर्थन गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । परिवार तथा सन्तान बाट तपाईले गरेको काममा उल्लेख्य सहयोग पाईनेछ । प्रेम प्रशङमा रमाईलो गर्दै समय ब्यातित गर्न सकिनेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँन सक्छ ।

मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिँदै

काठमाडौँ । नीजि क्षेत्रबाट निर्माण शुरु भएको मकरीगाड हाइड्रोपावर प्रालिले अपिहिमाल गाउँपालिकाको मकरीगाडमा निर्माणाधिन मकरीगाड हाइड्रोपावर निर्माणको काम लम्बिने भएको छ । विश्वभर फैलिएको कोरोनाका कारण १० मेगावट क्षमताको मकरीगाड हाइड्रोपावर निर्माणको काम एक वर्ष लम्बिने भएको हो ।

विसं २०७६ फागुन २ गते दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले शिलन्यास गर्नुभएको मकरीगाड हाइड्रोपावर निर्माणका लागि चाहिने आवश्यक उपकरण ल्याउन ढिलाइ तथा झण्डै आठ महिनादेखि कोरोनाका कारण काम प्रभावित हुँदा निर्माणको काम लम्बिने भएको हो ।

कूल रु दुई अर्ब ७५ करोड लगानीमा निर्माण भइरहेको जलविद्युत निर्माणको काम २०२२ मार्चसम्म लम्बिन सक्ने मकरीगाड हाइड्रोपावर प्रालिका प्रमुख कार्यकारी अधिकृत करन चन्दले जानकारी दिए । अहिलेको अवस्था कायमै रहे आयोजना निर्माणको समय र लागत दुवै बढ्छ ।

“कोभिडले आयोजनाका लागि कामदार ल्याउन ढिलाइ भयो”, चन्दले भने, “विदेशबाट सामान आयातमा समस्या भएकै कारण आयोजना लम्बिने अवस्था देखिएको छ, अहिले आयोजनास्थलमा निर्माणको काम भने जारी छ ।”

अपिहिमाल गाउँपालिका भएर बग्ने मकरीगाड खोलामा यो पहिलो पटक विद्युत उत्पादन थालिएको हो । खात्ती गाउँ नजिकैको मकरी क्षेत्रमा सानो बाँध निर्माण गरी मकरीगाडको १।३५ घनमीटर पानी फर्काइ करिब ३।३ किमि फलामे पेनस्टकपाइपमार्फत मकरीगाडमा विद्युत् उत्पादन गरिँदैछ । अहिले निर्माण स्थलमा पावर हाउस निर्माणदेखि पेनस्टक जोड्ने काम भइरहेको छ ।

विद्युत् निर्माण गर्दा दुई टरवाइन र जेनेरेटरमा ९२४ मिटरको जलचाप खसाली मकरीगाडमा १० मेगावट क्षमताको विद्युत् उत्पादन गरिनेछ । निर्माण कार्य जारी भए पनि कोभिडका कारण गति दिलाउन नसकिएको चन्दले बताए ।

अमेरिकामा मतदान केन्द्रमा आक्रमण, एकजना पक्राउ

काठमाडौँ । हाल अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतगणना केन्द्रमा आक्रमण गर्न खोज्ने एकजनालाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अमेरिकाको फिलाडेल्फियामा उनी पक्राउ परेका हुन् । अमेरिकाको पेन्सिलभानिया कन्भेन्सन सेन्टरमा जारी रहेको मतदान केन्द्रमा हतियारसहित हमला गर्न खोज्ने ती व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

अमेरिकी पत्रिका न्युयोर्क पोष्टले सो समाचार दिएको छ । स्थानीय समयानुसार बिहीबार राति ती व्यक्तिलाई पक्राउ गरिएको सो पत्रिकाले जानकारी दिएको छ । ती व्यक्तिले हातियारसहित सो केन्द्रमा हमला गर्न खोजेपछि पक्राउ गरिएको र उनको साथबाट हातहतियारसहित नै उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो । उनी को हुन् भन्ने बारेमा भने केही पनि बताइएको छैन ।

थप २ हजार ९सय ९ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज थप ४ हजार ५ सय जना डिस्चार्ज भएका छन । योसँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घन्टामा देशभर थप १८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार ७० पुगेको छ।