कक्षा १२ को परीक्षा अनलाइनबाट पनि दिन सकिने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना जोखिमको विषम स्थितिमा कक्षा १२ को परीक्षा विद्यार्थी जहाँ छन्, त्यहीँबाट पनि दिन सकिने गरी तयारी गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका छन् ।

आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन हुने सो परीक्षाका सन्दर्भमा आज शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बोर्डका पदाधिकारीलाई सिंहदरबारस्थित मन्त्रालयमा निर्देशन दिँदै विद्यार्थीहरु जहाँ छन्, त्यहीँबाट स्वास्थ्य मापदण्ड पूरा गरी परीक्षामा सामेल गराउन भनेका हुन्। मन्त्री पोखरेलले विद्यार्थीलाई इन्टरनेटमा समस्या भएमा सम्बन्धित विद्यालयले डाटामार्फत सुविधा दिएर बोर्डमा लेखेर परीक्षा दिलाउन निर्देश गर्नुभएको मन्त्री पोखरेलका सचिवालयका सदस्य विनोद न्यौपानेले जानकारी दिए। छलफलमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहलाई थप प्रभावकारी बनाउने पनि निर्णय भएको छ । छलफलमा मन्त्रालयका सचिव गोपीनाथ मैनाली, बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेल, सदस्यसचिव दुर्गाप्रसाद अर्याल र मन्त्रालयका सहसचिव दीपक शर्मा सहभागी थिए ।
परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट गणना गरिनेछ । बोर्डले जिल्ला बाहिर रहेका परीक्षार्थीको विवरण सङ्कलन गरी परीक्षामा सामेल गराउन तयारी गरेको छ ।
बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड १९ सङ्क्रमित भएका परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गर्नेछ । कोरोना महामारीको जोखिमका कारण गत वैशाख ८ गतेदेखि हुने भनिएको सो परीक्षा स्थगन भएको थियो ।

पूर्वसभामुख महरालाई पत्नी शोक

काठमाडौँ । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उनकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौँ ल्याइएको थियो । दशैँमा पुख्र्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षकी थिईन । उनको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उनको दुई छोरा र दुई छोरी छन् ।

थप ३ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३३०९ कोरोना संक्रमित थपिएका छन् । यो सगैं नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ ।

त्यस्तै आज निको हुने संक्रमितको संख्या ३ हजार ८४४ रहेको छ । योसंगै हालसम्म कोरोना संक्रमित भएर पनि निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।

हाल मुलुकमा ३६ हजार ९११ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन् । त्यसमध्ये ३० हजार १३१ जना होम आइसोलेसन र ६ हजा ७८० संस्थागगत आइसोलेसनमा रहेका छन् ।

मन्त्रालयका अनुसार आज १३ हजार १४४ जनाको नमूना पीसीआर परीक्षण गरिएको छ । हालसम्म नेपालमा १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

हाल १३०५ जना क्वारेन्टिनमा रहेका छन् भने ३७९ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा रहेका छन् ।त्यस्तै आज थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कर्मचारीहरूको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन, २०७७ को निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यक्रम तथा कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यालयले मङ्गलवार कार्यतालिका सार्वजनिक गर्दै कात्तिक २५ गतेदेखि निर्वाचन कार्यक्रम नसकिँदासम्म मतदानमा सहभागी हुने कर्मचारीको सरुवा वा काज सरुवा गर्न रोक लगाएको छ ।

‘निर्वाचन सम्पन्न नभएसम्म निजामती सेवा ऐन २०४९ को दफा ५३९२० ९क० र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन सम्बन्धी विनियमावली २०६९ को विनियम १०९१० बमोजिम मतदाता हुने कर्मचारीको कात्तिक २५ देखि सरुवारकाज सरुवालगायत कार्य नगर्न नगराउन र सरुवा भइसकेको भए रमाना नगर्न नगराउन अनुरोध गरिन्छ,’ कार्यालय मन्त्रालयहरूलाई पठाएको पत्रमा भनिएको छ ।

असोज २४ गते हुने भनिएको निर्वाचन अन्तिम अवस्थामा सरकारले मङ्सिर २७ गतेलाई सार्दै प्रमुख निर्वाचन अधिकृतको कार्यालयबाट नियुक्त सबै विभागीय र जिल्लाका निर्वाचन अधिकृतहरूलाई २०७७ मङ्सिर २७ गते हुने अर्को निर्वाचनसम्म निरन्तरता दिने निर्णय गरेको थियो । चुनाव सार्ने सरकारको निर्णयसँगै प्रमुख निर्वाचन अधिकृतको कार्यालयले असोज १ गतेदेखि लागू गरेको निर्वाचन आचार संहिता फुकुवा गर्दै नयाँ कार्य तालिका लगायत सम्बद्ध अन्य विषयमा पछि जानकारी गराइने जनाएको थियो ।

प्रमुख निर्वाचन अधिकृत कलानिधि पौड्यालले मङ्सिर २७ गते शनिवारका दिन हुने निर्वाचनका लागि आफू तयारी अवस्थामा रहेको बताएका छन् । ‘मङ्सिर १० मा मतदाता नामावली प्रकाशन गर्नेछौँ’ पौडेलले भने, ‘२७ गते शनिवार ९ बजेदेखि ५ बजेसम्म मतदान कार्य हुनेछ ।’

असोज २४ गतेकै निर्वाचनका लागि सबै तयारी भई सकेकोले पनि मङ्सिर २७ गतेको निर्वाचन सहज हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सरकारले नै रोक्न चाहेको अवस्थामावाहेक अन्य कारणले निर्वाचन नहुने या स्थगित हुने अवस्था अव छैन ।

तोकेकोभन्दा १५ प्रतिशत बढीमा धान खरिद

कैलाली । कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाइरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत असार २ गतेको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि मोटा धानको प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धानको प्रतिक्विन्टल रु दुई हजार ८८५ न्यूनतम समर्थन तोकेको थियो । कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन् ।

कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्ने बाली निरीक्षण, सुपरीवेक्षण, विधि र पद्दतिको प्रयोगबाट उत्पादन भएको बीउलाई सहकारीले महङ्गोमा खरिद गरिरहेका नमूना बहुउद्देश्यीय सहकारी संस्था टीकापुरका अध्यक्ष जीतबहादुर चौधरीले बताए । “किसानको उत्पादनले उचित मूल्य पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हामीले नै बीउ उपलब्ध गराएर किसानलाई बीउ उत्पादनमा प्रोत्साहन गरेका थियौँ”, जीतबहादुरले भने , “त्यही बीउ सरकारले तोकेकोभन्दा केही महङ्गोमा खरिद गरेका हौँ । तोकेकोभन्दा बढी मूल्य पाएपछि किसान खुशी छन् ।”

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा १२ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । यी सहकारी र कम्पनीले एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानको बीजवृद्धि खेती गरी धानको बीउ उत्पादन गर्दै आएका छन् । अन्य बाली उत्पादनभन्दा बीउ बाली उत्पादनमा धेरै मेहनत तथा किसानले ध्यान दिनुपर्ने हुनाले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल रु ३०० थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारी दिए ।

“बीउका लागि गरिने खेतीमा अन्य खेतीभन्दा बढी मेहनत लाग्छ”, प्रबन्धक रावतले भने, “सहकारीको बैठक बसेर प्रतिक्विन्टल रु ३०० बढीमा खरिद गर्ने निर्णय ग¥यौँ । यसले किसानलाई बीजवृद्धि खेती गर्न प्रोत्साहनसमेत गर्छ ।” सरकारले किसानबाट खरिद गरेको धानको भुक्तानीे १५ दिनभित्र किसानलाई दिइसकेको हुनुपर्ने व्यवस्था गरेको छ । कृषि सहकारीले किसानलाई रकम भुक्तानी गरेको प्रमाणको आधारमा सहकारीले सरकारबाट अनुदान पाउने व्यवस्था छ । सरकारको समर्थन मूल्यभन्दा बढी नै मूल्यमा धान खरिद गरे पनि किसानलाई तत्काल नगद रकम दिइरहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउदले बताए । “हामीले प्रतिक्विन्टल रु ४०० बढीमा खरिद गरिरहेका छौँ”, अध्यक्ष साउदले भने, “वर्षभरि खेती गरेका किसान यतिखेर धान बेचेर हिउँदे खेती गर्ने तयारीमा छन् । हामीले नगद दिएर नै खरिद गरिरहेका छौँ ।”

बजारमा गल्ला व्यापारीले यही धान रु दुई हजार १०० सम्म मात्र मूल्य दिने गरेका छन् । टीकापुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत धान खरिद शुरु गरेको छ । किसानले खाद्यमा मोटा धान प्रतिक्विन्टल रु दुई हजार ७३५ र मध्यम धान प्रतिक्विन्टल रु दुई हजार ८८५ मा बिक्री गरिरहेका छन् । सहकारीमा बिक्री गर्नेले यसमा १५ देखि २० प्रतिशत थप रकम पाइरहेका छन् । स्थानीय रामदुलारे चौधरी बजारको मूल्यभन्दा करिब रु एक हजार बढी रकम पाउनु किसानका लागि खुशीको कुरा भएको बताए । “यस वर्ष किसानले खेती गरेर उचित मूल्य पाएका छन्”, उनले भने, “मैले हिजो बिक्री गरेँ । अब किसान ठगिने दिन अन्त्य भएछन् जस्तो लाग्यो ।”

कामना सेवा बैंकले १ अर्ब बराबरको ऋणपत्र निकाल्दै

काठमाडौँ । कामना सेवा विकास बैंकले १ अर्ब रकम बराबरको ऋणपत्र निकाल्ने भएको छ । बैंकले ऋणपत्र निष्काशनका लागि कात्र्तिक १४ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । बैंकले एक हजार अंकित दरका १० लाख कित्ता बराबरको एक अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो ।

जसमध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने र ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ ।१० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९ दशमलव ५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । बैंकको ऋणपत्र निष्काशनमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

आजदेखि सानिमा जनरलको दोस्रो बजारमा कारोबार खुल्ला

काठमाडौं । आजबाट सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार दोस्रो बजारमा खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएको हो । शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार दोस्रो बजारमा खुल्ने भएको हो ।

हिजो कम्पनीको १ करोड कित्ता साधारण शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको न्यूनतम १ सय ३ दशमलव ७३ देखि अधिकतम ३ सय ११ दशमलव १९ पैसासम्मको ओपनिङ रेञ्ज तोकेको छ ।

बिमा भुक्तानी एकहप्ता भित्र गरिदिन समितिको निर्देशन

काठमाडौँ । नेपालको बिमा नियमकारी निकाय बिमा समितिले बिमा कम्पनीलाई कोरोना बिमा भूत्तानी दाबी एक हप्ताभित्रमा गरिदिन निर्देशन दिएको छ । समितिले सोही प्रतिवेदन निकाल्दै सोही निर्देशन दिएको हो । समितिले निकालेको प्रतिवेदनमा भनिएको छ ‘बीमा समितिबाट जारी गरिएको बीमालेख बमोजिम कोरोना परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणित भएको अवस्थामा बीमालेख बमोजिम प्रदान गरिने बीमाङ्ग रकम भुक्तानी दाबी गरेका सबै बीमितहरुलाई एक हप्ता भित्र भुक्तानी गर्ने व्यावस्था गर्नुहुन निर्णयअनुसार जानकारी गरिन्छ ।’

हेलम्बुलाई स्याउको गाउँ बनाइने

काठमाडौँ । हेलम्बुलाई स्याउको गाउँ बनाइने भएको छ । करिब ३७ वर्षपछि सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा फेरि स्याउ फल्न थालेपछि हेलम्बुलाई पुनः स्याउको गाउँ बनाउन स्थानीयवासी जुटेका छन् । विसं २०४० सालपछि स्याउ फल्न छाडेको र स्याउमा रोग लागेपछि स्याउका रूख नै काटिएको थियो ।

अहिले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउन स्थानीय युवाहरू जुटेका छन् । स्याउ फल्न शुरू गरेको पहिलो वर्षमै ३०० किलोभन्दा बढी स्याउ बजारमा बेचिसकेको स्थानीय रेन्जेन ह्योल्मोले बताए । हेलम्बु क्षेत्रमा वर्षा भइरहने र बढी चिसो हुने भएका कारण स्याउ मीठो हुने पनि उनले बताए ।

स्याउकै कारण हेलम्बुको पहिचान भएको र त्यसलाई गुम्न नदिने अठोटका साथ फेरि खेती शुरू गरेको पेमाल्हामु शेर्पाले बताए । स्याउ फल्न शुरू गरेकाले अब स्थानीय सरकारले बजार र प्राविधिकको प्रबन्ध गर्नु पर्ने किसानहरूको भनाइ छ । “गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराको प्रकोपबाट स्याउका बोटलाई जोगाउन समस्या परेको छ”, मेलम्चीघ्याङका कामी लामाले भने, “सरकारले यसतर्फ ध्यान देओस् भन्ने चाहन्छौँ ।” त्यस्तै स्याउ फुल्ने समयमा असिना पर्ने गरेका कारण थप समस्यामा परेको उनले भने ।

नेपाल मात्रै नभई भारत र तेस्रो मुलुकमा समेत चर्चा कमाएको हेलम्बुको स्याउ पहिलेजस्तै फेरि लटरम्मै फलाउन र हेलम्बुलाई चिनाउन सबै गाउँमा स्याउका बिरुवा रोपिएको छ । हेलम्बु मात्र होइन अहिले यस क्षेत्रका मनोरम गाउँ किउल, बरुवा र बाँसखर्कका हिमाली गाउँमा पनि स्याउ खेती शुरू गरिएको छ । बजार नभएकाले पहिले उत्पादन गरिएको स्याउ किसानले गाईवस्तुलाई खुवाउने गरेका थिए ।

गाउँपालिकाले पनि स्याउ उत्पादन गर्ने किसानहरूलाई विशेष सहुलियत दिने र हेलम्बुलाई स्याउको गाउँ बनाउने लक्ष्य राखेको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । मनाङ एग्रोबाट बिरुवा ल्याएर परीक्षण गरिएकोमा राम्रो उत्पादन भएका कारण अब अन्य ठाँउमा पनि लगाइने गाउँपालिकाले बताएको छ ।

पशुपतिको दर्शन् गरेर आज कार्तिक १९ गतेको राशिफल हेर्नुहोस्

वि.सं. २०७७,कार्तिक–१९, बुधवार,ई.सं.२०२० नबोम्वर ०४,शक संवत्–१९४२,नेपाल संवत्–११४० कौलागा,प्रमादी,दक्षिणायन,शरद,कार्तिक कृष्णपक्ष तिथि–चतुर्थी , २६ः११ बजे उप्रान्त पञ्चमी,नक्षत्र–मृगशिरा , २७ः०३ बजे उप्रान्त आर्द्रा,योग–परिघ ०६ः२९ बजेदेखि शिव , ३०ः०९ बजे उप्रान्त साध्य,करण–वव १३ः४१ बजेदेखि वालव , २६ः११ बजे उप्रान्त गर,चन्द्रराशि–वृष,आनन्दादि योग–अमृत, सूर्योदय–०६ः१७, सूर्यास्त–१७ः१६,दिनमान–२७ घडी २६ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – मनमा कुरा खेल्नेछ,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,आर्धिक लेनदेनमा विवाद हुनेछ,तातो रिस गर्नाले काम बिग्रिनेछ,यात्रा घातक बन्ने छ ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,अध्ययनमा सफल हुनुका साथै ज्ञानलाई सदुपयोग गर्ने अवसर प्राप्त हुनेछ,दिन भरि दोधारमा बित्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,घरपरिवारमा मेलमिलाप हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,आजको शुभ अंक १ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – बिबादिद काममा लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ,बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ,विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक ६ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– भेटघाटमा बेस्ताता भइनेछ,शत्रुहरु परास्त हुनेछन,पढाइ लेखाईको क्षेत्रमा उच्चतम सफलता हात लाग्नेछ,खानपानमा विचार गर्नु होला,आजको शुभ अंक ५ रहेको छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) – शत्रुहरु हावी हुनेछन,कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ,ठुला व्यक्ति संगको भेटघाटले कार्यशक्तिमा पढ़ावा दिनेछ,आजको शुभ अंक ९ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– खानपान र हिडडुलमा बिशेष चनाखो रहनुपर्ला,आफ्नै विवेक ले काम गर्नु होला,साझे दारीको काममा संकट आउनेछ,दैनिकी कार्य सहज हुनेछ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– संकल्प गरेको काम सफल हुनेछ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,धार्मिक कार्यमा समय बित्नेछ,मुद्दा मामिला परिनेछ,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ,पेट सम्बन्धि समस्या हुनेछ,परिवारमा सामान्य विवाद हुनेछ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्,आजको शुभ अंक ४ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– आम्दानी बढ्ने छ,सकारात्मक सोचाई रहने छ,स्वास्थ्यमा समस्या आउने छ,आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ,भोज भतेरमा ख्याल गर्नु होला,आजको शुभ अंक ८ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – बोलीमा विचार पुराउनु होला,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ,विविध काममा अवरोध आउनेछ,आफन्त बाट सहयोग हुनेछ, सहयोगी मित्रहरु बढ्नेछन्,आजको शुभ अंक ७ रहेको छ ।

चीनले अस्ट्रेलियाबाट गहुँ खरिदमा प्रतिबन्ध लगाउनेः

काठमाडौँ । अस्ट्रेलिया र चीनबीच तनाब बढ्दै गएसँगै चीनले अस्ट्रेलियामा उत्पादित गहुँ खरिदमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

हङकङबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोस्टमा छापिएको एक समाचार अनुसार चीनले अस्ट्रेलियाबाट बर्सेनि ३९ करोड ४० लाख अमेरिकी डलर बराबरको गहुँ खरिद गर्ने गरेको छ ।

आगामी शुक्रबारदेखि नै चीनले अस्ट्रेलियाबाट जौ, चिनी, रातो अंगुर, काठ, कोइला, तामाको धाऊ समेतका कतिपय वस्तुको आयातमा प्रतिबन्ध लगाएको छ । गहुँ आयातमा गर्न लागिएको प्रतिबन्ध कहिलेदेखि लाग्नेछ भन्ने स्पष्ट भइसकेको छैन ।

चिनियाँ आयातकर्ताहरुले तोकिएको मितिभन्दा पछि अस्ट्रेलियाली प्रतिबन्धित सामग्री आए त्यसको जिम्मेवार आयातकर्ताहरु नै हुने चिनियाँ अधिकारीहरुले बताएका छन् । अधिकारीहरुले परिवर्तित नियमहरुलाई कडाईका साथ लागू गर्न आदेश दिएका छन् ।

अस्ट्रेलियाले गत अप्रिलमा कोरोनाभाइरसको उत्पत्ति चीनबाट भएको दोषारोपण गरेयता चीन र अस्ट्रेलियाबीचको सम्बन्धमा तिक्तता आएको छ ।

त्यसयता चीनले अस्ट्रेलियाबाट आयात हुने सामानमा करवृद्धिका साथै अन्य कारबाही गरिसकेको छ । चिनियाँ भन्सार प्रशासनले शुक्रबार अस्ट्रेलियाबाट आयातित काठमा शंकास्पद विषादी भेटिएको जनाउँदै चीन प्रवेशमा रोक लगाएको जनाएको छ ।
––

फ्रान्सेली कारबाहीमा मालीमा ५० इस्लामिक लडाकू मारिए

काठमाडौँ । पश्चिम अफ्रिकी मुलुक मालीमा इस्लामिक अतिवादीसँग संघर्षरत फ्रान्सेली सेनाले गरेको पछिल्लो सैन्य कारबाहीमा ५० जनाभन्दा बढी लडाकू मारिएको फ्रान्सेली अधिकारीहरुले बताएका छन् ।

फ्रान्सेली रक्षा मन्त्री फ्लोरेन्स पार्लीले ट्वीट गर्दै फ्रान्सेली सेनाले लडाकूबाट हातहतियार र उपकरण बरामद गरेको जनाएका छन् ।

उत्तरी मालीमा ड्रोनबाट गरिएको सर्वेक्षणमा शंकास्पद लडाकूहरु मोटरसाइकलमा देखिएपछि कारबाही गरिएको मन्त्री पार्लीले जानकारी दिए । सेनाले पहिले हवाई आक्रमण गरेको र त्यसपछि फ्रान्सेली कमान्डोले स्थलगत कारबाही गरेको थियो ।

यसैबीच, बुर्किना फासो र नाइजरसँग सीमा जोडिएको मालीको सीमावर्ती इलाकामा केही सातादेखि ठूलो सैन्य अभियान जारी रहेको फ्रान्सेली सेनाका एक अधिकारीले बताएका छन् ।

फ्रान्सेली रक्षामन्त्री पार्लीले सोमबार र मंगलबार मालीको राजधानी बामाकोको भ्रमण गर्नु भएको छ । उनले मालीको अन्तरिम सरकारका प्रमुखसँग भेटवार्ता गरेका थिए । गत अगष्टमा सैनिक बलमा तत्कालीन राष्ट्रपतिलाई अपदस्थ गरिएयता माली भ्रमणमा पुग्नु भएकी रक्षामन्त्री पार्लीले जतिसक्दो चाँडो निर्वाचन गर्न पनि संक्रमणकालीन सरकार समक्ष आग्रह गरेका छन् ।
मालीमा विद्रोहीलाई नियन्त्रणमा ल्याउन हजारौं फ्रान्सेली सैनिक तैनाथ छन् । सन् २०१३ मा फ्रान्सले गरेको सैनिक कारबाहीबाट इस्लामिक अतिवादी विद्रोहीलाई सत्ताच्यूत भएको थियो ।

बेलायतले लिभरपूलका सबैको कोरोना परीक्षण गर्ने

काठमाडौँ । बेलायत सरकारले कोरोनाभाइरसबाट निकै प्रभावित लिभरपूलका सबै निवासीको स्वास्थ्य परीक्षण गर्ने घोषणा गरेको छ । यस शहरमा पाँच लाख भन्दा बढी मानिसको बसोबास रहेको छ ।

कोभिड–१९ परीक्षणका लागि सरकारले विभिन्न किसिमका प्रविधिहरुको प्रयोग गर्नेछ जसले एक घण्टा वा सोभन्दा कम समयमा नतिजा दिनेछ ।

बेलायती स्वास्थ्य सेवा विभागले उन्नत प्रविधिको सहायताले कोरोनाको कुनै लक्षण नदेखिएका व्यक्तिको पनि पहिचान गर्ने जनाएको छ । विभागले सटिक नतिजाबाट मानिसलाई सेल्फ–आइसोलेसनमा बस्न र थप विस्तार हुनबाट रोक्ने विश्वास लिएको छ ।

लिभरपूलमा गरिने यस परीक्षणले बेलायतमा व्यापक परीक्षणका सन्दर्भमा सिकाईका लागि मद्दत गर्नेछ । पछिल्लो समय बेलायतमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सरकार नयाँनयाँ प्रविधि प्रयोग गर्न उत्सुक भएको हो ।

बेलायतमा आगामी बिहीबारदेखि दोस्रो चरणको लकडाउन हुँदैछ । बेलायतमै लिभरपूल शहरमा सबैभन्दा बढी दरमा कोरोना संक्रमित देखिएका छन् । यहाँ प्रति एक लाख जनसंख्यामा ४१० जनाभन्दा बढी संक्रमित भेटिएका छन् ।

छक्का पञ्जा टिमबाट जितु निस्कने कुरा, के हो त कुरो को चुरो ?

दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे र जितु नेपालको समुहलाई नेपाली फिल्म क्षेत्रको शक्तिशाली टिम भन्ने गरिन्छ । ‘६ एकान ६’ देखि पछिल्लो रिलिज फिल्म ‘छ माया छपक्कै’ सम्म आइपुग्दा यो टिमले बनाएका हरेक फिल्मले बक्सअफिसमा ठूलो सफलता हात पारेका छन् । यसैले यो टिमका फिल्मसँग हलमा जुध्न र दुश्मनी होल्न हत्तपत्त कसैले हिम्मत गर्दैनन् ।

तर, फिल्म क्षेत्रमा आफ्नो प्रभुत्व कायम गरेको ‘छक्का पञ्जा’ टिम फुटको संघारमा पुगेको छ ।‘६ एकान ६ र ‘वडा नम्बर ६’ पछि दीपक(दीपाको टिमबाट सिताराम कट्टेल र कुञ्जना घिमिरे अलग भए । अब जितु नेपाल पनि बाहिरिएको चर्चा चलेको छ । ‘छक्का पञ्जा’ टिमका भरपर्दा कलाकार मानिने जितुमाथि दीपकराज गिरी र दीपाश्री निरौलाले प्रतिसोध साँधेको कतिपयको टिप्पणी छ ।

‘छक्का पञ्जा’ टिममा विवाद उत्पन्न हुनुको प्रमुख कारण ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्रीको बर्हिगमनलाई मानिएको छ । ‘महानायक’ विवादमा मुछिएपछि शोको निर्माण कम्पनी ‘कि इन्टरटेन्मेन्ट’ लाई प्रायोजक कम्पनीले दीपाश्रीलाई अध्यक्षबाट हटाउन दबाब दिएका थिए । उनलाई शोमा राख्न जितु नेपालले पनि अडान नराखेपछि दीपाश्रीलाई शोबाट हटाइएको बताइन्छ ।

तर, ‘मुन्द्रेको कमेडी क्लब’ बाट दीपाश्रीलाई हटाउनुमा जितुको नै प्रमुख हात रहेको भन्ने बुझाइ ‘छक्का पञ्जा’ टिमको छ । यसैको प्रतिसोध साँध्न दीपक(दीपाले ‘छक्का पञ्जा’ टिमबाट जितुलाई हटाउने निर्णय गरेको स्रोत बताउँछ । यद्यपि, यो टिमबाट जितु नेपाल अलग भएको आधिकारिक जानकारी दीपक(दीपाले दिएका छैनन् । तर, टिम परिवर्तन हुनसक्ने संकेत भने दिएका छन् ।

स्रोतका अनुसार, ‘मुन्द्रेको कमेडी क्लब’ को अध्यक्षबाट दीपाश्रीलाई हटाउने निर्णय भएदेखि जितु र दीपक(दीपाबीच भेटघाट र फोनवार्ता भएको छैन । यो कुरा जितु स्वयं स्वीकार गर्छन् । केही समयदेखि आफूहरुबीच कुराकानी नभएको जितुको स्वीकारोक्ति छ । दशैंअघि ‘छक्का पञ्जा ४ र छ माया छपक्कै २’ फिल्मको विषयमा भएको छलफलमा समेत जितु नेपाल अनुपस्थिति थिए ।

‘मुन्द्रेको कमेडी क्लब’ पूर्ननिर्माण भए झैँ ‘छक्का पञ्जा’ टिम पनि पूर्ननिर्माण हुने दीपकराज गिरीले बताएका छन् । अब बन्ने एकरदुईवटा फिल्ममा जितु नदेखिन सक्ने संकेत उनले गरेका छन् । कलाकार परिवर्तन नहुँदा फिल्मको लुक एउटै भएकाले अब बन्ने फिल्ममा कास्टिङमा हेरफेर हुनसक्ने उनको भनाई छ । तर, जितुसँग सम्बन्ध विग्रिएको कुरालाई उनी अफवाह बताउँछन् ।

‘छक्का पञ्जा’ टिममा शिवहरी पौडेल, निर्मल शर्मा र विल्सन विक्रम राईको प्रवेश भएको दीपकराजले जानकारी दिएका छन् । किरण केसी पनि यो टिमसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ । जितु नेपाललाई हटाएर दीपक–दीपा ‘छक्का पञ्जा’ टिमलाई थप बलियो बनाउने कसरतमा देखिएका छन् । जितु विनाको दीपकदीपाको समुह कस्तो बन्ला ? त्यो भने हेर्न बाँकी नै छ । स्रोतः फिलिमी खबर

देशभरका संक्रमित मध्ये आज ४५ प्रतिशत बढी संक्रमित उपत्यकामा

पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमितको संख्या भयावह नै बनेको छ । आज मंगबार काठमाडौँ उपत्यकामा मात्रै १४ सय ६८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२ सय ४२, भक्तपुरमा ६३ र ललितपुरमा १६३ संक्रमित थपिएका छन् । उपत्यकामा देखिएको संक्रमण दर आज देशभर देखिएको मध्ये ४६ प्रतिशत हो । यता देशभर ३११४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएाको छ ।

मन्त्रालयका अनुसार अहिले काठमाडौँमा १५ हजार ८६३ सक्रिय संक्रमित रहेका छन् भने भक्तपुरमा १०१९ र ललितपुरमा २२६४ सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै अहिलेसम्म काठमाडौँ जिल्लाका ४९ हजार ६७६ जना संक्रमण मुक्त भएका छन् भने भक्तपुरका ४८७९ र ललितपुरका ६८ सय ८७ जना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म काठमाडौँमा कुल ६५ हजार ७८८ जना संक्रमित भएका छन् भने भक्तपुरका ५९६६ र ललितपुरका ९३१४ जना संक्रमित भएका छन् ।