थप ३१ सय बढीमा संक्रमण पुष्टि, संक्रमणबाट मृत्यु हुनेको संख्या हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ३१४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४१ हजार १३४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १००४ पुगेको छ ।

बाँदर लखेट्न एकोहोरो शङ्ख फुक्छन् किसान

काठमाडौँ । बर्खाको खेती होस् वा हिउँदको तरकारी । घर छेउका जङ्गलमा बस्ने बाँदरको बथानले सधैँ विनाश मच्चाउने । खान भनेर लगाएको खेती बाँदरले बोकेर हिँडेपछि किसान सधैँ निराश ।

खेतीपाती नासिएकै पीडाले जिल्लाको जैमिनी नगरपालिका–२ दमेकका केही घर विस्थापित भए । जैमिनी नगरका सबै वडामा बाँदरको समस्या उस्तै छ । सेतो रङ भएको ठुलो बाँदरभन्दा रातो रङ भएको सानो बाँदरले घरघरमै पसेर खाद्यान्नको विनाश गर्छ । ससना बालबच्चा र एक्लै भेटिने वयस्कलाई समेत बाँदरले टेर्दैन । कुकुरलाई एक्लै भेटेर बाँदरले कुटेका कयौँ उदाहरण किसानसँग छन् ।

समूह बनाएर बाँदर लखेट्ने, एक दुईवटा बाँदर समाउनेदेखि बाँदरले मन नपराउने मोलासिस जातको घाँस लगाउनेसम्मका विधि किसानले गरे तर केही सीप लागेन । अघिल्लो आर्थिक वर्षमा किसानका गुनासालाई सम्बोधन गर्न नगरपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख विनियोजन गर्यो । दश वडा रहेको नगरमा हरेक वडालाई र ५० हजार बाँदर नियन्त्रणका लागि अनुदान दिइयो तर केही लागेन । “चौबीसै घण्टा हेरेर बस्ने समय किसानसँग हुँदैन, आँखा चिम्लियो कि खेतीमा बाँदरको रजाईँ”, जैमिनी–१ कुश्मीशेराका प्रेम पौडेल भन्नुहुन्छ, “हामीले जानेको सबै विधि अपनाइयो, बथान बढाएको बाँदरले टेर्नै छोड्यो ।”

नगरपालिकाले स्याङ्जाबाट खरिद गरेर बाँदर लखेट्ने मेसिनसमेत किसानलाई दिएको छ । कार्बन पड्काउने मेसिनले धपाएको बाँदर घुमीफिरी आउँदा किसान थप चिन्तित थिए । अनेकौँ उपाय लगाएर बाँदर धपाउँदा पनि केही नलागेपछि चिन्तित रहेका यहाँका केही किसानले पछिल्लोपटक अपनाएको विधि भने प्रभावकारी बन्न थालेको छ ।

साविकको कुश्मीशेरा गाउँ विकास समिति–२ का किसानले पछिल्लो समय बालीमा बाँदर पसेपछि शङ्ख बजाउन थालेका छन् । शङ्खको आवाजले बाँदर भाग्न थालेपछि किसानले घरेलु विधि अपनाएका हुन् । “सुन्दा नराम्रो सुनिन्छ, पहिले एकदुई पटक एकोहोरो शङ्ख फुक्दा गाउँले तर्सिए”, वडा नं। १ का वडा सदस्यसमेत रहेका किसान रुद्रनाथ शर्माले भन्नुभयो, “बाँदर बसेको ठाउँमै पुगेर एकोहोरो शङ्ख फुकेपछि केही दिन फर्किन्न ।”

अहिले गाउँका सबैलाई बाँदर आउँदा शङ्ख फुक्ने बानी परेको छ । सबैको घरमा शङ्ख हुने र फुक्नसमेत सबैले सक्ने भएकाले यो विधि उपयुक्त रहेको शर्मा बताउनुहुन्छ । किसानले शव बोकेर सागर जाने समयमा बजाएको शङ्खको आवाजले बाँदर भागेको देखेर यो विधि अपनाएका हुन् ।

बाँदर मार्न नपाइने भएकाले नियन्त्रण गर्न निकै समस्या रहेको सरोकारवाला बताउँछन् । “नमारेसम्म बाँदर डराउँदैन, कानूनीरूपमा मार्न मिल्ने व्यवस्था छैन”, जैमिनी–२ का अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले भन्नुभयो, “पहिले लेकमा नदेखिने बाँदर आजभोलि माथि उक्लिएको छ ।” उपयुक्त विधि पाए नगरले लगानी गरेरै भए पनि बाँदरको नियन्त्रण गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । रासस

बलात्कार आरोपीत वडासचिव यादव कारागार चलान

महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो ।

भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज १४ गते पक्राउ परेका थिए । सो दिन भट्टीमा मदिरा खाएर मातेका यादव घर जाँदै गर्दा बाटोमा भेटिएकी आफ्नै वडा बस्तीकी महिलामाथि जाइलागेर बलात्कार गरेको उनीमाथि आरोप छ । जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको जबर्जस्ती करणी मुद्दाको सुनवाइमा अदालतले पुर्पक्ष थुनाको आदेश गरेको हो । यादवलाई सोमबार साँझ नै महोत्तरी कारागार चलान गरिएको हो ।

जिल्लामा जारी चालु आर्थिक वर्ष २०७७—७८ मा यस प्रकृतिका घटना ह्वात्तै बढेका छन् । चालु आवको प्रथम चौमासिक अवधिमै हालसम्म २१ वटा जबर्जस्ती करणी र तीन करणी उद्योगसहित २४ वटा घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो सङ्ख्या गत आव २०७६—७७ को तुलनामा निकै बढी हो । गत आवको पूरै अवधिमा १६ जबर्जस्ती करणी र सात करणी उद्योगका घटना दर्ता थिए । यसपालि कोभिड–१९ सङ्क्रमण सन्त्रास छाएको समयमा आम मानिसका बाह्य गतिविधि घट्दा यस प्रकृतिका आपराधिक घटना भने बढेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्ट बताए ।

पाँचदिने ‘लकडाउन’ सुरु

पर्वत । पर्वतको मोदी गाउँपालिकामा कोरोना सङ्क्रमण फैलन नदिन पाँच दिन लकडाउन गरिएको छ । मोदी गाउँपालिकाले गरेको कोरोना सङ्क्रमित व्यक्तिको सम्पर्क पहिचान (कन्ट्याक्ट टे«सिङ) को काम भइरहेकाले समुदायमा सङ्क्रमण फैलन नदिन सोमबार राति १२ बजेदेखि पाँच दिन लकडाउन गरिएको हो ।

मोदी गाउँपालिकाको पालिकास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न बैठकले पाँच दिनसम्म पालिकाका सबै सेवा र अत्यावश्यकबाहेक सबै पेशा व्यवसाय बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिए।

गाउँपालिकाका अुनसार सबै वडा कार्यालयको अत्यावश्यक सेवाबाहेकको सेवा, शैक्षिक सङ्घसंस्थाबाट प्रदान गरिने सेवा, गाउँपालिकास्थित बैंक, वित्तीय संस्था एवं सहकारीबाट प्रदान गरिने सेवा कात्तिक २२ गते राति १२ बजेसम्म बन्द हुनेछन् ।

यसैगरी गाउँपालिकाको बेतनी, तिलाहार, डिमुवा, पातिचौर, भद्रखोला र अम्बोटजस्ता बजार क्षेत्रका अत्यावश्यक सेवा र वस्तुबाहेकका पसल पनि बन्द हुने भएका छन् भने गाउँपालिकाकोे विभिन्न शाखा सडकबाट सञ्चालन हुने यातायात सेवा बन्द गर्ने निर्णय भएको छ । मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा पर्ने गाउँपालिकाभित्रको लोकमार्गमा भने सवारी साधन सञ्चालनमा रोक नलगाइएको क्षेत्रीले बताए ।

अत्यावश्यक काममा बाहेक पाँच दिन छिमेकी स्थानीय तह एवं जिल्लाबाट मोदी गाउँपालिकामा आवतजावत नगरिदिन पनि अनुरोध गरिएको छ । गाउँपालिकामा गरिएको सम्पर्क पहिचानका दुई जनामा कोरोना पुष्टि भएको र आगामी दिनमा सङ्क्रमण अझै उच्च हुनसक्ने भएकाले सङ्क्रमितको नजिकको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गर्ने काम भइरहेको पालिकाले जनाएको छ ।

पर्वतको नयाँपुलबाट प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी सिधा पदमार्गले जोडिँदै

काठमाडौँ । पर्वत र कास्कीको सिमाना नयाँपुलबाट राउण्ड अन्नपूर्ण पदमार्गमा पर्ने म्याग्दीको घोरेपानी जोड्ने वैकल्पिक पदमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । नयाँपुलबाट घोरेपानीसम्मको २८ किलोमिटर वैकिल्पक पदमार्गको निर्माण अन्तिम चरणमा पुगेको हो । नयाँपुलबाट देउपुर हुँदै भमरकोटबाट घोडेपानी पुग्ने पदमार्ग निर्माणको काम अहिले पनि जारी छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको रु ७० लाखको बजेटबाट दुई वर्षअघि निर्माणको काम थालिएको पदमार्ग अन्तिम चरणमा पुगेको मोदी गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्षमा सङ्घ सरकारको समेत रु १० लाख बजेट पदमार्गमा खर्च भएको थियो ।

निर्माण सम्पन्न भएकोमध्ये १७ किलोमिटर पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । अहिले खोलिएको पदमार्गबाट प्रसिद्ध पर्यटकीयस्थल भमरकोटसम्म पुग्न सकिन्छ । देउपुरका स्थानीय मनबहादुर खड्काको अगुवाइमा निर्माणाधीन नयाँपुल–देउपुर–भमरकोट–घोडेपानी पदमार्ग अब एक वर्षभित्र बनाइसक्ने लक्ष्य रहेको छ । अहिलेसम्म १७ किलोमिटर पदमार्गको काम सकिएको र अझै ११ किलोमिटरको काम अन्तिम चरणमा पुगेको उजले बताए । “प्रदेश सरकारबाट गत वर्ष बजेट आउन सकेन, सङ्घबाट छुट्टिएको रु १० लाखले थप काम भएको छ”, उनले भने, “सङ्घ र प्रदेशले आवश्यक बजेट विनियोजन गरे एक वर्षभित्रमै काम सकिनेछ ।” पदमार्गमा झण्डै रु साढे दुई करोड खर्च हुने अनुमान छ । पदमार्गमा स्थानीय सीप, प्रविधि र सामग्रीको प्रयोग गरिएको छ ।

अर्कोतर्फ देउपुर हुँदै भमरकोटबाट माटेको लेकसम्मको ११ किलोमिटर पदमार्गले जोडिसकिएको छ भने माटेबाट जलजला हुँदै घोरेपानी जोड्न अब करिब ११ किमी दूरी बाँकी छ । जङ्गल र भिरको बाटोमा जोखिम मोलेरै भए पनि काम गरिरहेको खड्काले बताए । थप बजेट नआएपछि उक्त खण्डको काम अघि बढ्न सकेको छैन । पदमार्गले आसपासका गन्तव्यस्थलको प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । ठूला घाँसेमैदान, दर्जनौँ प्रजातिका गुराँस, चाँप, कटुस, लोक्ता, विविध जडीबुटी तथा घना जङ्गल अवलोकनमा रम्न पाइने यस क्षेत्रको अर्को आकर्षण हो । विभिन्न प्रजातिका चराचुरुङ्गी र जङ्गली जनावरसँग पनि त्यत्तिकै लुकामारी खेल्न पाइने उनले बताए ।

यसैबीच हालै गृहजिल्ला आउनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जङ्गलमै बास बसेर उक्त पदमार्गको अवलोकन गरे । पदमार्गको अवलोकन साथै प्रचारप्रसार गर्न तिमिल्सिनासँगै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी र प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीलगायतको टोली एक रात जङ्गलमै बास बसेर पदमार्गको अवलोकन गरे । बिहानको सूर्योदय र बेलुकाको सूर्यास्तसँगै टोलीले तीन हजार १०० मिटरको उचाइमा रहेको माटेसम्म पुगेको थियो ।

पदमार्गको अवलोकन गर्दै अध्यक्ष तिमिल्सिनाले पर्यटकीय क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएकाले पहिचान भएका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचारप्रसार गर्ने गरी योजना बनाउन आफूले पहल गर्ने बताए । “भमरकोट हुँदै घोरेपानी पुग्ने पदयात्रा मार्गमा सडकको सम्भावना धेरै कम भएकाले यो राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ”, उनले भने, “यो कहिल्यै नमेटिने र सडकको प्रभाव नपर्ने पदमार्ग बन्न सक्छ ।” पोखरासँग यसलाई जोडेर पर्यटकीय पूर्वाधार बनाउने योजना अघि सारिएको उनले बताए ।

भमरकोटसँगै जोडिएका मोदी गाउँपालिकाका सुन्दर बस्ती भुकदेउराली, ताङ्ले, लप्सीबोट, देउपुर, घुरु९ङ्गालगायतका ठाउँमा घरबास (होमस्टे) सेवा सञ्चालन गरी प्रमुख पर्यटकीय गन्तव्य बनाउने गुरुयोजना बनाउन थालिएको मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले बताए ।

कांग्रेस सांसद केसीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सूर्यबहादुर केसीको निधन भएको छ । उनको सोमबार राति १०ः३० बजे निधन भएको छ । उनी लामो समयदेखि सुगर र उच्च रक्तचापका बिरामी रहेको परिवारले जनाएको छ ।

कास्कीबाट प्रतिनिधित्व गरेका सांसद केसी लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टीमा आबद्ध थिए भने ३ वर्षअघि प्रतिनिसभा चुनावताका नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

व्यवसायीक रुपले पनि निकै परिचित केसी रारा चाउचाउको उत्पादक कम्पनी हिमश्री फुडका सञ्चालक समेत थिए । परिवारका अनुसार उनको अहिले बिहान ९ः३० बजे अन्तिम संस्कार गरिने छ ।

आफ्नो कार्यकाल थप भएमा संक्रमण विज्ञ एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने ट्रम्पको चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबारको निर्वाचनबाट आफू पूनः राष्ट्रपतिमा निर्वाचित भएमा सङ्क्रमण रोग विज्ञ डा. एन्थोनी फाउचीलाई जिम्मेवारीबाट हटाउने चेतावनी दिएका छन् ।

सङ्क्रमण रोग न्युनिकरण, नियन्त्रण र व्यवस्थापनसम्वन्धी देशको उच्च जिम्मेवारीमा रहनु भएका फाउचीलाई उनले हटाउने चेतावनी दिएका हुन् ।

अमेरिका व्यापक सङ्क्रामक रोग कोरोनाभाइरसबाट अत्यन्त आक्रान्त बनेको वेला नै उनले हटाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएको समाचारमा जनाइएको छ ।

गत वसन्त ऋतुदेखि नै फैलिएको महामारी नियन्त्रण तथा व्यवस्थापन गर्न राष्ट्रपति ट्रम्प असफल भएको र त्यसमा डा फाउचीको कुरालाई उनले वेवास्ता गर्ने गरेको आरोप लाग्दै आएको थियो ।

डा फाउचीले अमेरिकामा सङ्क्रमण फैलिन नदिन वा सचेतना गर्न र व्यवस्थापन गर्न आफ्नो तर्फबाट सक्दो प्रयासहरु गर्दै आको भन्दै कतिपयले उनको प्रशंसा गर्ने गरेका छन् ।

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म कम्तीमा दुई लाख ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

फ्लोरिडामा आयोजना गरिएको चुनावी कार्यक्रममा सम्वोधन गर्नेक्रममा राष्ट्रपति ट्रम्पले डा फाउचीप्रति असन्तुष्टि व्यक्त गर्दै सङ्क्रमण र त्रास फैलिनुमा डा फाउची पनि दोषी रहेको आरोप लगाए ।

चुनावी कार्यक्रममा आफ्ना समर्थकहरुले डा फाउचीलाई निस्कासन गर्नुपर्ने माग उठाउँदै नारा लगाएपछि राष्ट्रपति ट्रम्पले उनलाई निस्कासन गर्ने चेतावनी दिएका हुन् ।

“यस बारेमा मलाई अरु केही भन्नु पर्दैन, केवल निर्वाचनसम्म पर्खिनुस्, निर्वाचन सकिएपछि मैले तपाईहरुको सुझावलाई कार्यान्वयन गर्नेछु,” उनले आफ्ना हजारौँ समर्थकहरुलाई जवाफ फर्काउँदै भने । एजेन्सी

मंगलबार गणेश भगवानको दर्शन गर्नुहोस्, कात्र्तिक १८ गते मंगलबारको राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल कार्तिक १८ गते मगंलबार इश्वी सन २०२० नोभेम्वर ३ तारीख कार्तिक कृष्णपक्ष तृतिया तिथी रोहिणी नक्षत्र परिघ योग वणिज करण चन्द्रमां बृष राशिमा आनन्दादि योगमा मातंग योग प्रमादीनाम संवत्सर सुर्य दक्षिणायन शरद ऋतु (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नजिकका आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । संचित रकम खर्चगर्नुपर्ने सम्भाबना रहेकोछ । वाणीका कारण सामान्य बादविवादको झमेलामा फस्ने सम्भाबना रहेकोछ । भोजभतेर जन्य कार्यमा सहभागीताको योग रहेकोछ । सभासम्मेलनमा सहभागीताको समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ योजनाका साथमा नयाँ कार्यको थालनि गर्ने उत्तम समय रहेकोछ । पारीवारिक साथसहयोगमा ब्यापार ब्यवसायबाट मनग्यलाभ प्राप्त गर्न सकिनेछ । प्रेम सम्बँन्धमा मधुरता छाउनेछ । अध्यन अध्यापनमा लगाईएको समय महत्वपूर्ण रहनेछ । शिप तथा क्षमताका आधारमा कार्यहरु सम्पादित रहनेछन ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । यात्रामा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्य क्षेत्रमा उत्पन्न तनाबका कारण सामान्य बादबिवादको झमेलामा फसिएला । मानसम्मानमा आचँ आउन सक्ने सम्भाबना रहेकोले बिशेष सजग रहनुहोला । आर्थीक झमेलाले सताउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अध्यन अध्यापनमा समय उत्तम रहनेछ । रचनात्मक कला तथा कौशलका क्षेत्रमा समय ब्यतित रहनेछ । आय आर्जनका क्षेत्रमा मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहेनछ । बौधिक ब्यत्तित्वहरुको अनुशरण दिर्घकालिन फाईदाका श्रोत बन्नेछन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, ट)

भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । मान्यजनहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछन । सभासम्मेलनमा सरिकहुने अवसर प्राप्त रहनेछ । सामान्यकार्यका निम्ती अधिक श्रम खर्चनु परेतापनि कार्य सम्पादनको उत्तम श्रेय प्राप्त रहनाले मन प्रशन्न रहनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मित्रहरुको साथ सहयोग बाट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । मनमा चन्चलताले बास गर्नाले सहि निर्णय गर्न नसकीएला । मान्यजनहरुको मार्गदर्शन निकै फाईदाजनक हुनेछ । गैर ब्यतिहरु द्वारा सम्पादित कार्यको श्रेय तपाईले सहजता पूर्वक प्राप्त गर्नाले मन प्रशन्न रहेछ ।

तुला राशि (र,रि, रु, रे, रो, ता, ति, तु, ते)

शारिरीक आलस्यताले कार्य सम्पादनमा तनाव उत्पन्न गराउन सक्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या देखापर्नेछ । नजिकका मित्रजनहरु सगँको सम्बन्धमा तिक्तता उत्पन्न हुन सक्नेछ । नयाँ लगानिका क्षेत्रमा बिशेष सजगरहनु पर्ने समय रहेकोछ । यात्रामा सजग रहनुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारीक सम्बन्धमा सामान्य झमेला उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । साजेदारीमा नयाँ कार्यको थालनि हुन सक्नेसम्भाबना रहेकोछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मनोबिलासिताका साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रतिश्पदा जन्यकार्यमा अब्बल स्थान प्राप्त रहनेछ । शुभचिन्तकहरुको साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । नयाँ कार्यका निम्ती नयाँ अवसरहरु प्राप्त रहनेछन । मित्रजनरुको प्रशन्नताका निम्ती समय ब्यतित गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

तपाईको क्षमताको उचित मुल्याङ्कन हुने समय रहेकोछ । अध्यन अध्यापनका माध्यमबाटँ आम्दानिका निम्ती दिर्घकालिन श्रोतहरु फेला पर्नेछन । बौधिक तथा बिशिष्ट ब्यत्तीहरुको रायसल्लाहाले नयाँकार्यको प्रारम्भहुन सक्ने योग रहेकोछ । पूराना मित्रजनरु सगँको भेटघाटले मन प्रशन्न रहला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सामाजिक कार्यमा जुट्ने उत्तम समय रहेता पनि आफन्तजनहरुको साथसहयोगमा भने कमि महसुस रहनेछ । भुमि तथा वाहान शुख प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा बिशेष सावधानि अपनाउनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तपाइ सगँ रुष्ट आफन्तजनहरु सहजै नजिक हुन खोज्नेछन । मित्रहरुको साथ सहयोग बाँट बिग्रन लागेको काममा सफलता प्राप्त हुनेछ । धार्मिक यात्राको सम्भाबना रहनेछ । प्रतिश्पर्दीहरु कमजोर रहनाले तपाइलाइ कार्य क्षेत्र सहज बन्नेछ । जटिल कार्यहरु सम्पादन गर्न उत्तम समय रहेकोछ ।

२० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्दै केन्द्रीय बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले यही कात्तिक १९ गते रु २० अर्ब बराबरको विकास ऋणपत्र २०८७ घ’ बिक्री गर्ने भएको छ ।

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र बिक्री गर्न लागेको हो । व्याजदरसमेत बोलकबोल प्रक्रियाबाट निर्धारण हुने केन्द्रीय बैंकले आज जारी गरेको सूचनामा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्था, गैर बैंक, वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले समेत उक्त ऋणपत्र खरिद गर्न सक्नेछन् । उक्त ऋणपत्र धितो राखी कर्जा लिन वा दिन पाइनेछ । ऋणपत्रको ब्याज भुक्तानी अर्धवार्षिकरुपमा हुने र आर्जित व्याजमा समेत व्याजकर लाग्ने सूचनामा उल्लेख छ ।

इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुनसक्नेछ भने प्रतिस्पर्धी र अप्रतिस्पर्धीबीच बोलकबोल प्रक्रियामा क्रमशः ८५ र १५ प्रतिशत गरी छुट्याइएको छ । प्रतिस्पर्धीलाई रु १७ अर्ब र अप्रतिस्पर्धीलाई रु तीन अर्ब छुट्याइएको छ ।

घटीमा रु ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ रु ५० हजारले भाग गर्दा निशेषः भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ । केन्द्रीय बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले प्रतिस्पर्धीका रुपमा सहभागी हुन पाउनेछन् ।

इच्छुक बोलकबोलवालाले बहुव्याजदरमा समेत बोल गर्नसक्ने व्यवस्था गरिएको छ । ऋणपत्रको कारोवार दोस्रो बजार कारोवारमार्फत नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत हुनेछ ।

सेयर बजारमा सामान्य गिरावट, २ अर्ब बढिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा पुगेको छ । कूल १९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर रु दुई अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ मूल्यमा खरिद बिक्री भए ।

आज कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ ११.६२, विकास बैंक ०.३, अन्य ३.२९ र जीवन बीमा ९.४ बिन्दुले ओरालो लागेको छ । व्यापार ३४.५२, होटल ९.३३, जलविद्युत् ०.५४, वित्त ३.९४, निर्जीवन बीमा २५.२५, उत्पादन ३.८८, लघुवित्त ६२.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १२ करोड ४० लाख ९७ हजार ७१८ बराबरको कारोवार भयो । यस्तै नेपाल बैंक रु आठ करोड १६ लाख ९३ हजार २०५, एचाआइडिसिएल रु आठ करोड ८२ लाख ५३७, प्रभु बैंक रु सात करोड ५९ लाख ५७ हजार ९९७, ग्लोबल आइएमइ बैंक रु छ करोड ८४ लाख ३९ हजार ३०१, फष्ट माइक्रोफाइनान्स रु छ करोड ७८ लाख आठ हजार ४४९ र डिप्रोक्स लघुवित्त रु छ करोड ७६ लाख ११ हजार ४४७ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा विशाल बजार कम्पनी ९.९७, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ९.९५, गुराँस लघुवित्त ९.९४, शिव श्री हाइड्रोपावर ९.६६, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.४८, समिट लघुवित्त वित्तीय संस्था ७.३९ र नेपाल फाइनान्सका लगानीकर्ताले ७.२७ प्रतिशतले कमाएका छन् ।

यस्तै जनरल इन्स्योरेन्स कम्पनी ३.१४, सिटिजन बैंक २.११, ग्लोबल आइएमई बैंक २.०२, बरुण हाइड्रोपावर २.०२, सप्तकोशी डेभलपमेन्ट बैंक १.७६, सिनर्जी पावर १.७२ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १.७० प्रतिशतले गुमाए ।

धरौटी रकम लिने निर्णय फिर्ता

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल)ले आइसीयू र आइसोलेशनमा उपचार गर्नुपर्ने कोरोनाका बिरामीबाट धरौटी रकम नलि लिने निर्णय र्फिता गरेको छ । टेकु अस्पतालले कात्तिक १३ गते आइसीयू र आइसोलेशनमा उपचार गर्न धरौटी रकम तोकेको थियो । यसको चौतर्फि विरोध समेत भएको थियो ।

यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनपछि अस्पताल पूर्ववत् निर्णयबाट पछि हटेको हो । टेकु अस्पतालले निःशुल्क रुपमा पीसीआर परीक्षण गनर्काु साथै औषधि र ल्याब परीक्षण निःशुल्क गर्दै आएको सरुवा रोग बिशेषज्ञ डा. अनुप बास्तोलाले बताए । कोभिड—१९ भएर स्वास्थ्य उपचारका लागि निम्नवर्गीय तथा मध्यम वर्गीय परिवारका बिरामी धाउने सरकारी अस्पताल मध्ये प्रमुख टेकु अस्पतालमा मानिन्छ ।

विपन्न, जेष्ठ नागरिक ७० वर्षभन्दा माथि अति अपाङ्गता भएका, अशक्त र एकल महिला संक्रमितको हकमा आवश्यक सिफारिस पत्र, परिचयपत्र भएमा आर्थिक अवस्था हेरेर आवश्यकताका आधारमा उपचार छुट दिने उनले बताए ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरौटी नलिई कोरोना संक्रमितको उपचार गर्न सरकारी अस्पताललाई निर्देशन दिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले धरौटी सम्बन्धी सूचना निकाल्ने सरकारी अस्पताललाई स्पष्टीकरण सोधिएको समेत बताएका थिए ।

पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा संक्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टाभित्र २ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसै अवधिमा ३ हजार १ सय ५० जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको मन्त्रालयले जनाएको छ। यता कोरोनालाई जित्नेको संख्या पनि एक लाख ३७ हजार ९ सय ९२ पुगेको छ।

मन्त्रालयको विवरण अनुसार पछिल्लो २४ घन्टामा थप २४ जनाले ज्यान गुमाएका छन्। थप २४ को मृत्युसँगै नेपालमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या पनि ९ सय ८४ पुगेको छ।

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री ढकाल विरुद्ध सर्वाेच्वमा मुद्दा दायर

प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध अवहेलनाको मुद्धा दायर भएको छ । प्रधानमन्त्री आली र स्वास्थ्य मन्त्री ढकालले अदालतको अवहेलना गरेको भन्दै कैद सजायको माग राखी सर्वोच्च अदालतमा निवेदन दर्ता भएको हो । निवेदनमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना गर्नुपर्ने माग उल्लेख गरिएको छ ।

कोभिड १९ को उपचार निशुल्क गर्नु भन्ने सर्वोच्चको परमादेशको उल्लङ्घन गरेको भन्दै ओली र ढकाल विरुद्ध कारबाही गर्न माग गरिएको हो ।

अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजंग केसीले आज अदालतमा निवेदन दर्ता गरेका हुन् । तर अदालतमा औपचारीक रुपमा मुद्दा भने दर्ता भएको छैन ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले अवहेलना मुद्दा सर्वोच्चमा औपचारिक रुपमा दर्ता नभएको बताए ।

यसअघिको मुल मुद्दामा स्वास्थ्य मन्त्रालयलाई मात्र विपक्षी बनाइएको र यसपटक प्रधानमन्त्रीलाई समेत थप गरेर ल्याएका कारण अदालतले औपचारिक दर्ता गर्न नमानेको र सच्चाएर ल्याउन भनिएको सर्वोच्च स्रोतले जनायो ।

अधिवक्ता ओलीले भने मूल दर्तामा अवहेलना मुद्दा दर्ता भएको बताए ।