थप २ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ८५३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।
आज देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ९६० जनाको पिसिआर परीक्षण भएको छ।

रोकिएन चितुवाको आक्रमण, पुनः डडेल्धुरामा किशोरी मृत्यु

डडेल्धुरा । चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ ।

घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले बताए । आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय बालकको ज्यान लिएको थियो ।

अलैँची प्रशोधन केन्द्र स्थापना गर्न केन्द्र सरकारले पहल गर्छः मन्त्री भट्टराई

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङमा प्रशस्त उत्पादन हुने अलैँचीलाई स्थानीयस्तरमै प्रशोधन गर्ने वातावरण बनाउन केन्द्र सरकारले पहल गर्ने बताएका छन् । अन्य जिल्लाको तुलनामा यहाँ बढी अलैँची उत्पादन हुने भएकाले स्थानीयस्तरमा नै प्रशोधन केन्द्रको स्थापना गर्न सके जिल्लाबासीलाई फाइदा पुग्न सक्ने बताए ।

गृह ताप्लेजुङका विभिन्न गाउँपालिकाको भ्रमणका क्रममा मन्त्री भट्टराईले त्यहाँ आयोजित कार्यक्रमहरुमा अलैँचीका प्रशोधित सामग्रीले राम्रो बजार पाउने र रोजगारीको समेत सिर्जना हुने भएकाले यसतर्फ सरकारले विशेषरूपमा ध्यान दिने बताए। ओलाङचुङगोला बाहेक जिल्लाका सबै क्षेत्रमा अलैँची खेती गरिँदै आएको छ भने प्राय किसान यसैको भरमा छन् तर अलैँचीले राम्रो मूल्य नपाँउदा किसानलाई समस्या छ ।

मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा सहज यातायातका लागि जिल्लाका सबै पालिकासम्म पुगेका सडकलाई आगामी दुई वर्षमा कालोपत्रे गर्ने बताए। सहज यातायात नहुँदा स्थानीयस्तरमा उत्पादित वस्तुको बजारीकरणमा समस्या हुनुका साथै सर्वसाधारणले समेत यातायातको भरपर्दो सुविधा उपभोग गर्न नपाउने भएकाले आगामी दुई वर्षभित्रै सबै पालिकाको केन्द्रसम्म पुग्ने सडकलाई कालोपत्रे गरिने उनको भनाइ थियो । यसले पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उनको विश्वास छ ।

यही कात्तिक २८ गतेसम्म गृह जिल्लामै रहनुहुने मन्त्री भट्टराईले सोमबार नेकपाको मेरिङ्देन गाउँपालिका कमिटीको पार्टी कार्यालय र राष्ट्रिय युवा सङ्घ नेपालको पालिका कमिटी कार्यालयको समेत उद्घाटन गरेका छन् ।

एकै दिन ३० फरार प्रतिवादी पक्राउ

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बैकिङ कसुर मुद्दामा फरार रहेका जिल्ला म्याग्दे गाउँपालिका–४ बस्ने ३० वर्षीइ अनुपमणि अधिकारीलाई पक्राउ गरेको छ । निजउपर उच्च अदालत पाटनले विसं २०७६ फागुन १९ गतेको फैसलाले तीन दिन कैद र रु दुई लाख ५० हजार जरिवान फैसला गरेको थियो । अदालतबाट फैसला भई तोकिएको उक्त कैद तथा जरिवाना भुक्तान नगरी फरार रहेका अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले बताए ।

त्यसैगरी कर्तव्य ज्यान मुद्दामा विसं २०५३ पुस ११ गतेको फैसलामा फरार रहेका सात, सम्बन्धविच्छेद मुद्दाका छ, कुटपिट मुद्दाका छ, विसं २०५४ साउन १६ गतेको फैसलामा फरार रहेका दुई र चोरी मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै लुटपाट मुद्दामा एक, जालसाजी मुद्दामा एक, घरेलु हिंसा मुद्दाका एक, सवारी ज्यान मुद्दाका एक, केही सार्वजनिक अपराध मुद्दाका एक र गाली बेइज्जती मुद्दाका दुई गरी जम्मा ३० जनालाई पक्राउ गरिएको प्रनाउ तिमिल्सेनाले जानकारी दिए ।

पक्राउ परेकाबाट हुन आउने कैद एक महिना १८ दिन र जरिवाना रु तीन लाख ३७ लाख ९५० जरिवाना असुल भएको छ । उक्त कैद र जरिवाना भुक्तानका लागि तनहुँ जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय तनहुँमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बन्दाबन्दीमा स्थानीय एजेन्टमार्फत ८ अर्ब बढीका वैदेशिक लगानीका प्रोजेक्ट दर्ता

काठमाडौं । नेपालमा बन्दाबन्दीको अवधिमा पनि वैदेशिक लगानीका परियोजना दर्ता भइरहेका छन् । चैत ११ गतेदेखि साउनको ५ गतेसम्मको बन्दको समयमा पनि ५ देशका लगानीकर्ताले ५२ वटा प्रोजेक्ट उधोग विभागमा दर्ता गराएका छन् ।

विभागका अनुसार बन्दाबन्दीको यो अवधिमा चीन, भारत, सिंगापुर, मलेशिया, नेदरल्यान्डका परियोजनाको कुल लगानी रू. ८ अर्ब ३७ करोड रहेको छ । सरकारले चैतदेखि जारी गरेको बन्दाबन्दी साउन ६ गते मध्यरातबाट खुला गरेको थियो । यस अवधिमा कर्मचारीहरू आलोपालो गरी विभागका कामहरू सुचारू गरिएकाले ती देशका लगानीकर्ता नेपालमा नआए पनि नेपाली एजेन्टले परियोजना दर्ता गरेको विभागका सूचना अधिकारी विनोद खड्काले जानकारी दिए ।

‘अनलाइन र भौतिक रूपमै उपस्थिति भएर उद्योगमा परियोजनाहरू दर्ता गर्न सकिन्छ,’ उनले भने, ‘विदेशी लगानीकर्ताको हकमा उनीहरूले नेपाली स्थानीय एजेन्टलाई अख्तियारी दिएका हुन्छन् र उनीहरूमार्फत नै बन्दाबन्दीको अवधिमा पनि परियोजना दर्ता गराएका हुन् ।’ यस अवधिमा दर्ता भएकामध्ये चिनियाँ लगानीका परियोजनाहरू उल्लेख्य मात्रामा दर्ता भएका छन् ।

चीनबाट सबैभन्दा बढी ४५ ओटा परियोजना दर्ता गराएको छ । तिनमा सेवामुलक र पर्यटनसम्बन्धी परियोजना अधिक छन् । चिनियाँ लगानीकर्ताको रोजाइमा त्यसपछि सूचना तथा प्रविधि, उत्पादनमूलक प्रोजेक्टहरू परेका छन् । यी परियोजनाको कुल लगानी रू। ७ अर्ब ५३ करोड रहेको छ । त्यसपछि परियोजना दर्तामा गर्नेमा भारतीय लगानीकर्ता रहेका छन् । उनीहरूको रोजाइ पनि सेवा र पर्यटन नै परेको छ ।

भारतीय लगानीकर्ताका जम्मा चारओटा परियोजना दर्ता भएका छन् । यी प्रोजेक्टको कुल लगानी रू। ७० करोड ७५ लाख रहेको छ ।

त्यसपछि मलेशिया, सिंगापुरबाट पर्यटन र सेवामा १–१ ओटा र नेदरल्यान्डबाट पनि सेवा र पर्यटन गरी दुईओटा परियोजना उद्योग विभागमा दर्ता गरिएका छन् ।

२०७५–७६ को यही अवधिमा १८ देशका लगानीकर्ताले नेपालमा १३८ ओटा परियोजना दर्ता गराएका थिए । उल्लिखित ५ देशसहित बंगलादेश, अस्ट्रेलिया, म्यानमार, जर्मनी, जापान, दक्षिण कोरिया, टर्की, बेलायत, अमेरिका, दक्षिण अफ्रिका जस्ता देशले परियोजना दर्ता गराएका थिए । साथै, यो अवधिमा १९ अर्ब ३६ करोड लगानीका परियोजना दर्ता गरिएका थिए ।(यो समचार आजको आर्थिक अभियान राष्ट्रिय दैनीकमा हिमा वि.क.ले लेख्नुभएको छ)

मन्त्रीले चैतसम्म आधामात्र तलब लिने

काठमाडौँ । संघीय सरकारका मन्त्रीहरूले आगामी चैतसम्म आधा तलबमात्र लिने भएका छन् । कोरोना संक्रमणको भयावह परिस्थितिमा संक्रमण न्युनीकरण तथा रोकथामका लागि मन्त्रीले आधा तलब कोरोना कोषमा जम्मा गर्ने भएका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंसिरदेखि आगामी चैतसम्मको आधा तलब नलिने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले बताइन ।

यसअघि मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको मंसिरदेखि चैत महिनासम्मको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्रीले कोरोना काल (चैत)देखि अहिलेसम्म तलब नलिएको बताएका छन् । अब मन्त्रीहरूले पनि आधामात्रै तलब लिने भएका हुन् ।

मंगलबार गणेशभगवानको दर्शन् गर्नुहोस्, आज कार्तिक २५ गतेको राशिफल

वि.सं.२०७७ साल कार्तिक २५ गते । मंगलबार । ईश्वी सन् २०२० नोभेम्बर १० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–दशमी,४० घडी ४१ पला,बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त एकादशी । नक्षत्र– पूर्वाफाल्गुनी,५१ घडी ३९ पला,रातको ०३ बजेर ०१ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग–ऐन्द्र । करण–वणिज,बिहान ११ बजेर ३१ मिनेट उप्रान्त भद्रा,बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त बव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–सिंह । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०५ पला । फाल्गुनन्द जयन्ती ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

बिभिन्न बिलाशी बस्तु तथा भौतिक सम्पति हात लागी हुँने योग रहेकोछ । मन परेको मानिसबाट उपाहार प्राप्त हुँनेछ । व्यापार व्यावसायबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममको डोरो कसिलो भएर जाने तथा जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । चिठ्ठा तथा लट्री पर्ने प्रशस्त सम्भावना रहेकोछ । सन्तान तथा आफन्तको प्रगतिमा मन रमाउँनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आमा वा आमा सोसरहका मानिसको सल्लाह तथा सुझाबलाई शिरोधार्य गर्दै अगाडि बढ्न सके उपलब्धि हुँने काम गर्न सकिनेछ । कृषि तथा पशुपान व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने पढाई लेखाईमा अरुदिन भन्दा बढि समय दिन सक्दा सफलता हात लाग्नेछ । प्रेम प्रशङगमा खुलेर रम्ने समय नरहेकोले ध्यान दिनुहोला ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

दाजुभाई तथा छिमेकिको सहयोगले परिणाममुखि काम गर्न सकिने समय रहेकोछ । तपाईले शुरु गरेको काममा सबैको सहयोग तथा समर्थन रहनेछ । काम गर्ने शैलि परिवर्तन गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । अदालति तथा न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् भने पुराना बिवादहरु साम्य गर्न सकने समय रहेकोछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै गन्तब्य पहिल्याउन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

मेहनेत तथा लगनशिल भएर काम गर्दा सम्मानजनक स्थान प्राप्त गर्न सकिनेछ । जुझारु साथिहरुको संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउँनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउँदै चाहेको गन्तब्यमा पुग्न सकिनेछ । शुभ तथा मांगलिक सभा समारोहमा सहभागि भई स्वादिष्ट भोजनका साथ दिन कटाउँन सकिने हुँदा मन प्रशन्न रहनेछ । नयाँ प्रकृतिको काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सामाजिक बिषयको उठान गर्दा अलि बढि अध्ययन तथा अनुशन्धान गरि प्रस्तुत हुँनुहोला प्रतिश्पर्धिहरु तपाईभन्दा बलिया हुँन सक्छन् । समस्या समाधानका लागी चालिएका कदमहरु निअर्थक हुनेछन् भने तपाई आफ्नै कमजोरिले आत्मिय साथि तथा ईष्टमित्रहरु टाडिन सक्छन् । व्यापार व्यावसायमा बढिनै संघर्ष गर्नु पर्नेछ भने आर्थिक अभावले कामहरु रोकिनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा पद प्राप्तिको योग रहेकोछ । सरकारि धन सम्पति तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरु दिल खोलेर राख्न सकिनेछ । उच्च मनोबलका साथ काम गर्न सकिने हुँदा ईच्छा आकाक्षा तथा मनोकामना पुरा हुँने समय रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

कार्य सम्पादन गर्ने सवालमा समाजका अग्रज तथा बिशिष्ट ब्याक्तिहरु सँग भेटघाट हुनेछ । पढाई लेखाईमा अरुलाई पछि पारि नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । मांगलिक कार्य तथा सभा समारोहमा सहभागि भई आफन्त तथा परिवारका साथ मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने लामो समयदेखि भेटघाट नभएका साथिभाई तथा ईष्टमित्रसँग भेट हुँने हुँदा मन प्रशन्न हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समाजमा तारिफयोग्य काम गरि राम्रो उपलब्धि हासिल गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । रोकिएर बसेका कामहर सुचारु हुनेछन् भने नयाँ काममा हाता हाल्न सकिने समय रहेकोछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा उपस्थिति जनाई समयमा काम लिन सकिनेछ । अध्ययनमा सुधार गर्दै सफलता हात पार्न सकिनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिरको यात्रा गर्न सकिने योग रहेकोछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

संकट ब्याबस्थापनका लागी चालिएका प्रयासमा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् । हतार हतारमा काम गर्दा बिग्रन सक्छ होस पु¥याउनु होला । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । भौतिक सामाग्रीको प्रयोग गर्दा वा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना घट्न सक्छ । साथिभाईहरुले नै असहयोग गर्नेछन् भने अरुको स्वार्थको लागि प्रयोग होईनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

समयमा कामहरु सकिने हुँदा अन्य क्षेत्रमा पनि हात हाल्ने तथा लगानि गर्ने बाताबरण बनाउन सकिनेछ । व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने व्यापारकै शिलशिलामा देश बिदेशको यात्रा गर्न सकिनेछ । मन परेको मानिस तथा जीवन साथिको सहयोगले उपलब्धिमुलक कामहरु सम्पादन गर्न सकिने हुँदा आर्थिक रुपमा सम्पन्न हुँने समय रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

लगनशिल तथा ईमान्दारिता पुर्वक गरिएको कामहरु सफलता पुर्वक सम्पन्न गर्न सकिनेछ भने आर्थिक रुपमा सबल हुँने समय रहेकोछ । बिशिष्ट व्याक्तिहरुको संगतले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउँदा मन प्रशन्न हुनेछ । आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला सामान्य मौषमि रोगको प्रकोप भने देखिन सक्छ ।

डोल्पाका विद्यालय खुले

डोल्पा । गत चैत्रदेखि बन्द भएका यहाँका विद्यालय खुलेका छन् । कोरोना भाइरसको फैलँदो सङ्क्रमणका कारण बन्द भएका विद्यालय आठ महिनापछि खुलेका हुन् ।

त्रिपुरासुन्दरी नगरपालिका, मुड्केचुला र जगदुल्ला गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालय खुलाएका छन् । त्रिपुरासुन्दरी नगरपालिकाले कात्तिक १२ गतेदेखि खोल्ने गरी नगरपालिकाभित्र पर्ने ३२ वटै विद्यालयमा निर्देशन दिएको थियो । लामो समयदेखि विद्यार्थीको पठनपाठन ठप्प भएको बताउँदै नगर क्षेत्रका सम्पुर्ण विद्यालय खोल्न लिखित पत्राचार गरेको नगरपालिकाले जनाएको छ ।

नगरको निर्देशनअनुसार दुई सातादेखि विद्यालय खुलाइएको वडा नं १ मा पर्ने त्रिपुरा माध्यमिक विद्यालयका प्रधानाध्यापक रमानन्द उपाध्यायले बताउनुभयो । सात–आठ महिनासम्म क्वारेन्टिन चलाइएको यस विद्यालय सामान्य सरसफाई गरेर सञ्चालनमा ल्याइएको उहाँको भनाइ छ । अर्को ठुलीभेरी नगरपालिकाले भने अझै विद्यालय खुलाएको छैन् ।

प्रशासनले खुलेका विद्यालयलाई बन्द ताकेता गर्न थालेपछि ठुलीभेरीका कुनै पनि विद्यालय नखुलाइएको नगरपालिकाले जनाएको छ । तल्लो डोल्पामा पर्ने जगदुल्ला र मुड्केचुला गाउँपालिकामा पनि विद्यालय खुलेका छन् ।

प्रशासनद्धारा विद्यालय बन्द गर्न निर्देशन

यहाँका स्थानीय तहले सरकारको निर्देशनविपरित विद्यालय खुलाएका छन् ।
कोरोना कहरमा देशैभरका विद्यालय खुलाउन सरकारको निर्देशन नभए पनि स्थानीय तहले आफु खुशी विद्यालय चलाएको प्रशासनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले विद्यालयमा हुने जमघटका कारण कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै जिल्लाका स्थानीय तहलाई विद्यालय नखोल्न पटक–पटक मौखिक निर्देशन दिएको छ । निर्देशनलाई बेवास्ता गर्दै जिल्लाका त्रिपुरासुन्दरी, ठुलिभेरी नगरपालिका, जगदुल्ला र मुड्केचुला गाउँपालिकाले विद्यालय खुलाएको प्रशासनले जनाएको छ ।

गण्डकीमा कोभिड–१९ रोकथामका लागि २५ करोड खर्च

पोखरा । विश्व महामारीको रुपमा फैलिएको कोराना नियन्त्रणका लागि रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर केसीले कोभिड–१९ रोकथाम कोषको रु ३४ करोड ७० लाख ६१ हजार दुई सय ६७ बाट हालसम्म रु २५ करोड २६ लाख २३ हजार तीन सय ३६ खर्च भएको जानकारी दिए ।

डा. केसीका अनुसार प्रदेशमा कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी एवम चिकित्सकलाई रु पाँच करोड २७ लाख ७३ हजार जोखिम भत्ता उपलब्ध गराइएको छ । त्यसैगरी ४७ गाउँपालिका र नगरपालिकाका क्वारेन्टिन व्यवस्थापनका लागि पनि रु एक करोड ५३ लाख उपलब्ध गराइएको छ । ८५ स्थानिय तह भए पनि जहाँ जहाँ क्वारेन्टिन सञ्चालन छन् त्यहाँ मात्र रकम उपलब्ध गराइएको उनले जानकारी दिए ।

उनले कोभिड–१९ का लागि प्रदेशका जिल्लामा आइशोलेसन, पिसिआर मेशिनदेखि अन्य आवश्यक उपकरण, भौतिक पूर्वाधार, स्वास्थ्य सामग्रीलगायतका सामान खरीदका लागि उक्त रकम खर्च भएको जानकारी दिए । प्रदेशका केही जिल्लामा उपकरण सञ्चालनका लागि दक्ष जनशक्तिको अभावले समस्या सृजना भएको उनको भनाइ छ ।

गण्डकी प्रदेशको कोरोना सङ्क्रमणको ग्राफ हेर्ने हो भने सबै भन्दा बढी संक्रमित कास्कीमा रहेका छन् । कास्कीमा ४२.९६ प्रतिशत देखिएको छ । त्यसपछि नवलपरासीको पूर्व, तनहुँ, बागलुङ गोर्खा स्याङ्जा, पर्वत, लमजङु म्याग्दी रहेका छन् भने मनाङ मुस्ताङ खतरा बाहिर छ ।

महामारी बढ्दै जाँदा पोखरा महानगरपालिकाले १०४ शै्ययामा अक्सिजन पाइप जडानको शुरुआत गरेको छ । जटिल समस्या भएकाको सहज उपचारका लागि महानगरले पूर्वाधार र कर्मचारी व्यवस्थापनको लागि रु१९ लाख बजेट छुट्याएर काम अगाडि बढाइएको उपप्रमुख मञ्जु गुरुङले जानकारी दिए ।

विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकमा शाक्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी उपकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई दिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले मन्त्रिस्तरीय निर्णय गरी प्राधिकरणका वरिष्ठ उपकार्यकारी निर्देशक शाक्यलाई उक्त जिम्मेवारी दिनुभएको हो । शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले एनइए इञ्जिनीयरिङ कम्पनीमा प्रबन्ध सञ्चालक र शाक्यको काज फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्री पुनले आइतबार अबेर शाक्यलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त कार्यकारी निर्देशकका रुपमा काम गर्ने गरी जिम्मेवारी तोकेका हुन् । मन्त्री पुन प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुन् ।
निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाउनुभएका शाक्यले आजै प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पुगेर आफ्नो पदबहाली गर्नुभएको छ । उहाँ तीन वर्षदेखि प्राधिकरणको सहायक कम्पनी एनइए इञ्जिनीयरिङ कम्पनीको प्रबन्ध सञ्चालकका रुपमा कार्यरत हुनुहुन्थ्यो । प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले अध्ययन तथा अनुसन्धानका क्षेत्रमा खर्च हुने पैसा विदेशिनबाट रोक्ने ध्येयका साथ उक्त कम्पनी स्थापना गर्नुभएको हो ।

गत भदौ २९ गतेदेखि घिसिङको चारवर्षे कार्यावधि सकिएपछि मन्त्रालयले उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पदबहालीपछि रासससँग कुरा गर्दै निमित्त कार्यकारी निर्देशक शाक्यले तत्कालका लागि बत्तीको पर्वसमेत मानिएको तिहारमा विद्युत् पुगेका सबै नेपालीका घरमा सहजरुपमा विद्युत् सेवा उपलब्ध गराउन आफू र आफ्नो टोली लागिपर्ने जानकारी दिनुभयो ।

उहाँले पछिल्ला दिनमा देखिएका केही समस्या समाधानका लागि समेत आफू लागिपर्ने र त्यसका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “दीर्घकालीनरुपमा गर्ने कामका बारेमा भने केही समयपछि मात्रै भन्न सकिन्छ । तत्कालका लागि भने तिहारलाई केन्द्रमा राखेर हामी काम गर्छौं ।”

तीनकुने पुल नयाँ प्रक्रियाबाट निर्माण हुँदै

काठमाडौँ । लामो समयदेखि निर्माण अवरुद्ध तीनकुनेस्थित वाग्मती पुल नयाँ प्रक्रियाबाट बनाइने भएको भएको छ । निर्माणमा संलग्न कम्पनी पप्पु कन्स्ट्रक्सन प्रालिसँगको ठेक्का सम्झौता तोडेसँगै नयाँ प्रक्रियाबाट बनाउन लागिएको हो ।

अब १५÷२० दिनमा ठेक्का सम्झौता हुने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । समयानुसार बजार भाउ बढ्दा पहिलेभन्दा बजेट बढ्नेछ । पुल‘डिजाइन एण्ड बिल्ड’ का आधारमा बनाउन शुरु भएको थियो । आयोजनाका प्रमुख गुरु अधिकारीले भने, “पहिलेजस्तै बन्छ, लम्बाई, चौडाइ केही पनि परिवर्तन हुँदैन ।”

सरकारले कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैङ्कको जमानत फिर्ता लिइसकेको छ । कार्यसम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा ल्याइएको हो । मोबीलाइजेशन कम्पनीलाई उपलब्ध गराएकामा त्यो फिर्ता भएको छ । कम्पनीले बीचमा काम छाडेकाले बाँकी काम कति छ त्यो कामको अहिलेको मूल्यमा २५ प्रतिशत सरकारी बाँकी सरह असुल गरिनेछ । उनले भने, “त्यो अहिलेको मूल्यको हिसाबले छसात करोड हुनेछ ।”

नयाँ ठेक्का सम्झौतामा गएपछि बनाउन करिब तीन वर्ष लाग्नेछ । पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता गरेको थियो ।

सडक विभागले केही समय पहिले पुरानो ठेक्काको मूल्याङ्कन गरेको थियो । कम्पनीले चार जग (फाउण्डेशन) बनाएकोमा एउटा मात्रै स्वीकार गर्न सकिने पाइएको थियो । निर्मितमध्ये प्राविधिक रुपमा समस्या देखिएका संरचना भत्काउनेसम्मको खर्च कम्पनीलेनै बेहोर्नुपर्ने व्यवस्था छ । आयोजनाले विसं २०७१ मा सो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुल बनाउन सम्झौता गरेको थियो । मुख्य सडकका दायाँबायाँ दुईदुई पुल बनाउन एउटै निर्माण कम्पनीसँग सम्झौता भएको थियो । बिजुलीबजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढेको थिएन ।

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पनि उक्त पुल निर्माणमा भएको ढिलाईमा चासो देखाउँदै छलफलसहित स्थलगत निरीक्षण गरी गत साउनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पुल निर्माणमा भएका त्रुटि सच्याउन निर्देशन दिएको थियो । प्राविधिक त्रुटि पाइएपछि सरकारले गत वर्ष भदौ ३१ मा बनेको संरचना भत्काएर नयाँ बनाउन भनेको थियो । विभागले गत वर्ष असोज १३ मा ठेक्का अन्त्य गर्ने सूचना प्रकाशन गरयो । त्यसपछि विभागले मङ्सिर ८ मा ठेक्का तोडेपछि कम्पनीले निषेधाज्ञा (कालोसूची) फिर्ता र मध्यस्थ नियुक्तिको माग गर्दै मुद्दा दायर गरयो । कम्पनीले उच्च अदालतमा दुई र काठमाडौँ जिल्ला अदालतमा दुई मुद्दा हाले पनि सबै खारेज भयो । कोभिड–१९ को सङ्क्रमणकै समयमा विभागले कम्पनीलाई कालोसूचीमा राख्यो जुन सन् २०२३ को फेब्रुअरीसम्म रहनेछ ।

रु २१ करोड ३३ हजार बजेटमा बनाउने गरी ठेक्का भएको थियो । नेपालमा पहिलोपटक नयाँ प्रविधि (आर्क एन्ड ब्रिज) प्रविधिबाट सो पुल निर्माण गर्ने सम्झौता भएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भएपनि यसमा माथिल्लो भागमा पर्नेछ । बढी लगानी भए पनि अरूभन्दा टिकाउ हुन्छ । शहरी क्षेत्रको सुन्दरता बढाउन अरू देशका शहरी क्षेत्रमा सो प्रविधिको पुल बनाउने गरिन्छ । एक दशक पहिले माइतीघरदेखि सूर्यविनायकसम्मको सडक छ लेनको भए पनि यी दुई पुल चार लेन थियो । भक्तपुरतर्फ जाने सडकमा माइतीघरबाटै सडक जाम हुने भएकाले त्यो कम गर्न नयाँ पुल विस्तार गर्न लागिएको थियो ।

नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकममा वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.२२ बिन्दुले बढेर एक हजार ६५२.८० मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक भने आज ०.६१ बिन्दुले घटेर ३२५.३३ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड ३५ हजार ३१३ कित्ता शेयर रु तीन अर्ब ६९ करोड ९८ लाख ७९ हजार ७२६ मा कारोबार भयो ।

कारोबार भएका कूल १२ उपसमूह मध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने छ उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ११.५२, होटल ४.१, विकास बैंक १५.२६, जलविद्युत् १५.२३, जीवन बीमा १७.१९ र सामूहिक लगानी कोष ०.०४ बिन्दुले ओरालो लागेको छ । यस्तै, व्यापार ५८.८, वित्त ०.९२, निर्जीबन बीमा ६५.८५, उत्पादन २६.६८, अन्य ४६.६४ र लघुवित्त ३१.६२ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज रु ५५ करोड एक लाख ८१ ह्जार ४८५ बराबरको कारोबार भयो । यस्तै, नेपाल दूरसञ्चार कम्पनी रु १३ करोड ७४ लाख ७५ हजार ३०८, हिमालयन डिस्टिलरी रु १३ करोड ३६ लाख ७८ हजार २७६, अपि पावर कम्पनी रु १० करोड ८५ लाख ६९ हजार ५६०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १० करोड ३२ लाख ९८ हजार २६६, एभरेष्ट बैंक रु नौ करोड ६९ लाख २९ हजार ४६९, प्रभु बैंक रु आठ करोड २० लाख ९३ हजार ५९ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक १०, मिथिला लघुवित्त वित्तीय संस्था ९.९३, सानिमा जनरल इन्स्योरेन्स ९.९३, नेपाल पुनरबीमा कम्पनी ८.३९, बोटलर्स नेपाल तराई ६.९१, साधना लघुवित्त ५.७९ र साल्ट टे«डिङ कर्पोरेशनका शेयरधनीले ५.२६ प्रतिशतले कमाए । त्यस्तै, घलेम्दी हाइड्रोपावर ४.८६, पाँचथर पावर कम्पनी ४.३५, युनिभर्सल पावर ३.८५, हिमालयन पावर पार्टनर ३.८५, एभरेष्ट बैंक ३.५८, साञ्जेन जलविद्युत् कम्पनी ३.३० र सिनर्जी पावरका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए ।

कोरोना भाइरस संक्रमितको संख्या विश्वमा पाँच करोड भन्दा बढी

काठमाडौँ । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरमा शुरु भएको कोरोना भाइरसबाट हालसम्म ५ करोड भन्दा बढी व्यक्ति सङ्क्रमित भइसकेका छन् ।
यस कोरोना भाइरसबाट हालसम्म ५ करोड ४ लाख २ हजार ५५८ सङ्क्रमित हुनुको साथै १२ लाख ५६ हजार २५४ जनाको मृत्यु भएको जोन्स हप्किङ विश्वविद्यायलले सोमबार जानकारी दिएको छ । यसैबीच तीमध्ये ३ करोड ५५ लाख भन्दा बढी कोरोना मुक्त भएका छन् ।

संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित देश हो यहाँ कोरोना भाइरसबाट २ लाख ३७ हजार ११३ जनको मृत्यु भएको छ । अमोरिकामा ९९ लाख ७१ हजार ६५१ व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

अमेरिकापछि ब्राजिलमा १ लाख ६२ हजार ३९७ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यहाँ ५६ लाख ६४ हजार ११५ कोरोना भाइरस सङ्क्रमित रहेका छन् । भारतमा १ लाख २६ हजार ६११ जनाको कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको छ । यहाँ ८५ लाख ५३ हजार ६५७ कोरोना भाइरस सङ्क्रमित भएका छन् ।

मेक्सिकोमा यस भाइरसका कारण ९५ हजार २७ जनाको मृत्यु भएको छ भने ९ लाख ६७ हजार ८२५ जना सङ्क्रमित भएका छन् ।बेलायतमा ४९ हजार १३४ जनाको मृत्यु भएको छ भने ११ लाख ९५ हजार ३५० जनाको कोरोना भाइरस संक्रमित भएका छन् ।

चीनमा कोरोना भाइरसबाट ९१ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भए भने ४ हजार ७४१ जनाको यस भाइरसको कारण मृत्यु भएको थियो ।

संक्रमणकालमा बाइडेनको टिमसँग काम गर्न ट्रम्पमाथि दबाब

काठमाडौँ । राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सन् २०२१ को जनवरीमा नयाँ प्रशासनले पदभार लिने बित्तिकै शक्तिलाई सहज हस्तान्तरण सुनिश्चित गर्न राष्ट्रपति–निर्वाचित जो बाइडेनको टोलीसँग सहकार्य गर्न दबाबको सामना गर्न थालेका छन् ।

अमेरिकामा सामान्य सेवा प्रशासन (जिएसए)ले औपचारिक रूपमा नयाँ राष्ट्रपति चुनेको मान्यता दिने प्रचलन छ जसले संक्रमणकाल सुरु गर्दछ । तर ट्रम्पले नियुक्त गरेकी यस निकायकी प्रमुख प्रशासक एमिली मर्फीले कुनै प्रक्रिया शुरू गरेका छैनन् । मर्फीले बाइडेनको टिमसँग सहकार्य गर्ने बारेमा राष्ट्रपति ट्रम्पले कुनै निर्देशन पनि दिएका छैनन् ।

त्यो स्पष्टताको अभावले प्रश्नहरू खडा गरिरहेको छ । यसबाट ट्रम्पले सार्वजनिक रूपमा बाइडेनको जितलाई मान्यता नदिएको र चुनावमा धाँधली भएका झुठा दाबीलाई अझै पनि सत्य साबित गर्न खोजेझैं देखिँदैछ ।

अमेरिकी आधुनिक युगमा राष्ट्रपतिले आफ्नो उत्तराधिकारीका लागि त्यस्तो अवरोध खडा गरेको कुनै उदाहरण छैन । विशेष गरी यस बर्ष चुनौती बढी छ किनकि बाइडेनले एउटा महामारीको बीचमा प्रशासन सम्हाल्दै छन् जहाँ सरकारमाथि बृहत्तर जवाफदेहीको खाँचो छ ।

“अमेरिकाको राष्ट्रिय सुरक्षा र आर्थिक चासो मुख्यरुपमा संघीय सरकारको कार्यक्षेत्रमा रहेको अवस्थामा अमेरिकी प्रशासनले जनताको इच्छाको सम्मान गरी सत्ताको सहज र शान्तिपूर्ण हस्तान्तरण गर्नु पर्दछ,” बाइडेनका संक्रमणकालीन सहयोगी जेन साकीले ट्वीटमा लेखेका छन् ।

अमेरिकाको गैर–नाफामूलक संस्था सेन्टर फर प्रेसिडेन्सियल ट्रान्जिसनको सल्लाहकार बोर्डले पनि ट्रम्प प्रशासनलाई “चुनाव पछि संक्रमणकाल तुरुन्तै प्रारम्भ गर्न र बाइडेन टोलीलाई संक्रमकालीन ऐन बमोजिम स्रोतहरूमा पूर्ण पहुँच उपलब्ध गराउन” आग्रह गरेको छ ।

शनिबार अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेनले राष्ट्रपति ट्रम्पबाट पर्याप्त सहयोग प्राप्त नगरे पनि सरकार निर्माणको कदम चाल्नु भएको छ ।

बाइडेनले सर्वप्रथम कोरोनाभाइरसमा ध्यान केन्द्रित गर्नु हुनेछ । अमेरिकामा हालसम्म लगभग २ लाख ४० हजार अमेरिकीको ज्यान गइसकेको छ । बाइडेनले सोमबार एक कार्यदलको कार्य विवरण घोषणा गर्दै छन्, जसले महामारीलाई नियन्त्रणमा ल्याउने प्रयासको खाका तयार गर्नेछ । यस कार्यदलले आगामी जनवरी २० मा बाइडेनले राष्ट्रपति पद ग्रहण गरेपछि कार्यान्वयन थाल्नेछ ।

बाइडेनले यसअघि नै शल्य चिकित्सक डा विवेक मूर्थी र पूर्व खाद्य तथा औषधि प्रशासन आयुक्त डेभिड केसलरलाई कार्यदलको सह–अध्यक्षका रूपमा घोषणा गरिसकेका छन् ।

बाइडेनले प्रशासन समीक्षा टोलीको गठन गर्नु हुनेछ जसले हालको ट्रम्प प्रशासनका मुख्य निकायहरुसँग सम्पर्क स्थापना गर्नेछ । उनीहरूले विवरणहरु संकलन गरी त्यसको समीक्षा गर्नेछन् जस्तै बजेट र कर्मचारी निर्णयहरू, बाँकी नियमहरु र प्रक्रियामा रहेका अन्य कामहरू ।

तर त्यो प्रक्रिया पूर्ण रूपमा सुरु हुन सक्दैन जबसम्म बाइडेनलाई जिएसएले राष्ट्रपति–निर्वाचित रूपमा मान्यता दिँदैन ।

जिएसएको नेतृत्वले स्वतन्त्र र पक्षपात रहीत ढंगले कार्य गर्ने विश्वास गरिन्छ, र कम्तिमा संघीय सरकारका केही अवयवहरूले संक्रमणकालीन योजनाहरू कार्यान्वयन गर्न सुरु गरिसकेका छन् । उदाहरणका लागि, नागरिक उड्डयन अधिकारीहरूले डेलावेयरको विल्मिंगटनस्थित बाइडेन लेकफ्रन्टको घरमाथिको हवाईक्षेत्र प्रतिबन्धित गरेका छन भने सिक्रेट सर्भिसले राष्ट्रपति–निर्वाचित र उहाँको परिवारका लागि राष्ट्रपतिको सुरक्षा विवरणबाट एजेन्टहरू प्रयोग गर्न थालेको छ ।

डेमोक्रेटका केही नेताहरूले नयाँ प्रशासनको तयारी गरिरहेका पनि देखिएका छन् ।

बाइडेनका सहयोगीहरूले राष्ट्रपति–निर्वाचित र संक्रमणकालीन टोलीले रिपब्लिकन सांसदहरुसँग सम्पर्क गरेका छन् । ट्रम्पका निकटतम सहयोगीहरूमध्ये एक, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार मन्त्रिपरिषदको बैठक बस्नुअघि पूर्व उपराष्ट्रपति तथा सिनेटर बाइडेनलाई बधाई दिनु भएको छ ।

“जो बाइडेनसँग मेरो करिब ४० वर्षदेखि लामो र न्यानो व्यक्तिगत सम्बन्ध रहेको छ, र म उहाँलाई इजरायल राज्यको एक महान मित्रको रूपमा चिन्दछु,” नेतन्याहूले भन्नुभएको छ ।

रिपब्लीकन पार्टीका एक मात्र जीवित पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशले बाइडेनलाई “एक असल व्यक्ति” रहेको जनाउँदै उहाँको शासनकालमा अमेरिका अझ एकबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ ।

तर दक्षिण क्यारोलिनाका सिनेटर लिन्डसे ग्राहम लगायत केही रिपब्लिकनले ट्रम्पलाई चुनाव सम्बन्धी कानुनी चुनौतीहरूको अनुशरणलाई जारी राख्न आग्रह गर्नु भएको छ ।

बाइडेनले आइतबार विलमिंग्टनमा आफ्नो घर नजिकको ब्रान्डवाईनस्थित सेन्ट जोसेफ चर्चमा भाग लिनु भयो । यहाँ उहाँ प्रत्येक साता जाने गर्नु हुन्छ ।

उहाँले अरु समय प्रायः घरमै बिताउनु भयो । उहाँका केही कर्मचारीले भिडियोमार्फत घण्टौ खर्च गरी संक्रमणकालीन योजना बनाउनेतर्फ केन्द्रित भएका थिए ।

ती योजनाहरू जोर्जियामा दुई सिनेटको दौडसँग पनि सम्बन्धित हुन सक्छन् किनभने यहाँ आगामी जनवरी ५ मा दोस्रो चरणको मतदान हुँदैछ । यो ठाउँमा रिपब्लिकनले ती सिटहरू जितेमा सिनेटमा रिपब्लीकनको बहुमत हुनेछ र बाइडेनको मन्त्रिमण्डल गठनमा ढिलाई हुनुका साथै बाइडेनले अघि सार्नु भएका कैयौं योजनालाई सहज रुपमा अघि बढाउन कठिन हुनेछ ।

शनिबार आफ्नो विजय भाषणको क्रममा बाइडेनले आफूले सबैलाई एकीकृत गरेर लैजाने बताउनु भएको थियो । उहाँले ट्रम्प समर्थकहरूलाई “एक अर्कालाई मौका दिन” आग्रह पनि गरेका थिए ।

नेपाल पूर्व सशस्त्र प्रहरी संघ र वाणिज्य बैंकबीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल पूर्व सशस्त्र प्रहरी संघ बीच संघका सदस्यहरुलाई बैंकले पेन्सनर कर्जा प्रवाह गर्ने सम्बन्धमा एक सम्झौता भएको छ । आज सोमबार भएको उक्त सम्झौता पत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष किशोर कुमार लामाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता भएपश्चात नेपाल पूर्व सशस्त्र प्रहरी संघले कर्जा आवश्यक भएका आफ्ना सदस्यहरुलाई बैंकमा सिफारिश गर्ने छ । बैंकले सिफारिश भएर आएका सदस्यहरुलाई बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही अधिकतम दश लाख रुपैंयासम्म आधार दरमा दुई प्रतिशत थप प्रिमियम जोडेर पेन्सनर कर्जा प्रवाह गर्ने छ ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सशस्त्र प्रहरी सेवाबाट अवकाश प्राप्त गरेपछी पनि साना तथा मध्यम व्यवसाय गरी उत्पादनसँग जोडिइ आफ्नो आर्थिक अवस्था सुधार गर्न यो कर्जाले सघाउ पुर्याउने बताए । त्यैगरी संघका अध्यक्ष किशोर कुमार लामाले अवकाश प्राप्त सुरक्षाकर्मी साथीहरुले नोकरी पछी बैदेशिक रोजगारीमा नगई नेपालमै केही कार्य गर्न सकिने बताए । समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी तथा संघकाका बरिष्ठ उपाध्यक्ष डा.ठाकुर मोहन श्रेष्ठले मन्तब्य राखेका थिए ।

उक्त समारोहमा बैंकका उप कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी, देवेशप्रसाद लोहनी, विभागीय प्रमुखहरु विनयरमण पौडेल, पद्यमा जिसी, उपप्रमुख दामोदर ज्ञवाली, प्रबन्धक बालकुमार थापा र संघका तर्फबाट सचिव कविराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम कम्पनी सचिव भोलानाथ पौडेलले संचालन गर्नुभएको थियो । बैंकको हाल ७७ जिल्लामा २४२ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।