भारतमा आन्दोलनरत किसानहरुद्धारा बन्दको घोषणा

काठमाडौँ । भारतमा आन्दोलनरत किसानहरुले बन्दको घोषणा गरेका छन् । आफ्ना मागहरु पुरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरी बन्दको आह्वान गरिएको उनीहरुले बताएका छन् ।

किसानहरुका नेता गुर्नाम सिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत् भारत बन्दको आह्वान गरिएको जानकारी दिनु भएको हो । आफ्ना मागहरु पुरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरी बन्द गराइने उहाँले बताउनुभयो ।

कृषिसम्वन्धी नयाँ कानुनहरुप्रति असन्तुष्टि जनाउदै भारतमा केही समयदेखि किसानहरु देशव्यापी आन्दोलनरत छन् ।हाम्रोे बैठकले आफ्ना मागहरु पुरा गर्न सरकारलाई दवाव दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ, अर्का किसान नेता हर्भिन्डर सिंह लख्वाले भन्नुभयो ।

हालै ल्याइएका कृषिसम्वन्धी कानुनहरु रद्ध नगरिएमा देशव्यापी बन्द अन्तर्गत सवै सडकहरुमा अवरोध गरिने उहाँले बताउनुभयो । सरकारले ल्याएको कानुन लागु भएपछि किसानहरु थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मुल्य नपाउने दाबी आन्दोलनरत किसानहरुको रहेको छ ।

केही महिना अगाडि नै पारित भएको कानुनप्रति किसानहरुले त्यतिबेला देखि नै असन्तुष्टि जनाउदै आएपनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै शुरु भएको हो । अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई समेत प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दवावमा परेको छ ।

आन्दोलन चर्किदै गएपछि सरकारले किसानहरुसँग पटक पटक वार्ता पनि गरेको छ । तर वार्ता परिणममुखी हुन सकेको छैन ।

सामाजिक सुरक्षा कोषका योगदानकर्ताले घर निर्माण गर्न ७५ लाख सापटी पाउने

काठमाडौँ । सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्दै आएका योगदानकर्ताले आफ्नो वित्तीय आवश्यकता पूरा गर्न विभिन्न शीर्षकमा कर्जा प्राप्त गर्ने भएका छन् । सरकारले कोषमा जम्मा भएको रकम लगानी गर्नेसम्बन्धी ‘सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७’ स्वीकृत गरेसँगै श्रमिकले कोषमा योगदान गरेको रकमका आधारमा सापटी पाउने बाटो पनि खुल्ला भएको छ । यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको थियो ।
योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा योगदानकर्ता विशेष सापटी, आवास निर्माणका निम्ति योगदानकर्ता घर सापटी, मानव पूँजी निर्माणमा सहयोग पु¥याउने हेतुले योगदानकर्ता शैक्षिक सापटी तथा श्रमिकको भैपरी आउने कार्यलाई सुविधा प्रदान गर्न योगदानकर्ता सामाजिक कार्य सापटी योगदानकर्ताले प्राप्त गर्नसक्ने कोषले जनाएको छ । परियोजना कर्जाअन्तर्गत जमानत कर्जा, संस्थागत कर्जा तथा सहवित्तीयकरण कर्जा प्राप्त गर्नेछन् । त्यसैगरी लगानीका अन्य क्षेत्रमा सरकारी ऋण पत्रमा लगानी, मुद्दती निक्षेपमा लगानी, शेयरमा लगानी, डिवेन्चरमा लगानी, म्युचुअल फण्डमा लगानी तथा स्थिर सम्पत्तिमा लगानी गर्ने कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

योगदानकर्ता सापटीअन्तर्गत योगदान रकमको आधारमा धितो राखेर योगदानकर्ताले घर निर्माण गर्न, घर खरिद गर्न, संयुक्त आवासमा युनिट खरिद गर्न वा आफ्नो स्वामित्वमा रहेको घरमा तला थप्न तथा मर्मत गर्न रु ७५ लाख वा १५ वर्षको तलब रकम जुन कम हुन्छ सोही बराबर घर सापटी प्राप्त गर्ने सक्नेछन् । यस्तै योगदानकर्ता आफैँ वा निजको पति वा पत्नी, छोरा, छोरीको लागि स्वदेश वा विदेशमा उच्च शिक्षा अध्ययनको लागि शैक्षिक सापटी रु ३५ लाखसम्म प्राप्त गर्न सक्ने प्रवक्ता पन्थीले बताउनुभयो ।

योगदानकर्ताले भैपरी आउने सामाजिक कार्यको लागि रु पाँच लाखसम्मको सामाजिक कार्य सापटी कोषबाट प्राप्त गर्न सक्नेछन् । तर सामाजिक कार्य सापटी अन्य कोषबाट स्वाप गर्ने प्रयोजनको लागि मात्र लागू हुने कोषले जनाएको छ । योगदानकर्ता विशेष सापटीबाहेक अन्य सबै सापटीको कूल योग रु एक करोड वा १५ वर्षको तलब बराबरको रकममध्ये कम हुने रकम सीमाभित्र रही धितोले खामेसम्म र कर्जा भुक्तानीको आधारमा पर्याप्त भएको हुनुपर्नेछ । सापटीका निम्ति कोषमा कम्तीमा तीन वर्षसम्म लगातार योगदान गरेको हुनुपर्ने छ । कोषमा सङ्कलित रकमलाई लगानी विविधीकरणको माध्यमबाट विभिन्न क्षेत्रमा लगानी गर्दै योगदानकर्ताको हितमा परिचालन गराई उच्च, दिगो तथा सुनिश्चित प्रतिफल हासिल गर्ने दिशामा अगाडि बढ्न मार्गप्रशस्त हुने कोषले जनाएको छ ।

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

काठमाडौँ । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उनले नगरेको बताउँछिन् ।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।

“गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भनिन्, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे । भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।”

“तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भने, “वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला । राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।”

त्यसपछि उनी डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा आइन । एक÷दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । “जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना जबर्जस्ती गर्भपतनको औषधि खुवाई गर्भपतन गराइयो ।” असुरक्षित तरिकाले गर्भपतन गराउँदा रक्तस्राव हुन थाल्यो । ताराको रक्तस्राव हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको भइन् । दुवैजना माइती घरमा गइन् ।

झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उनले गहँभरि आँशु खसाल्दै भने, “माइतीमै छाडेर भागे । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आए पछि तेरो लाश हुन्छ’ भनेर धम्की दिन थाले ।”

उनले त्यसपछिका कुरा खोतल्दै भन्नुभयो, “सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो ।” ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताउनुभएको हो । रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन ।

उहाँ भन्नुहुन्छ, “कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।” घर न घाटकी हुनुभएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुग्नुभएको छ । सेवा केन्द्रको सेफहाउसमा बस्दै आउनुभएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ ।

“प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ”, अधिकारकर्मी बिष्नादेवी पन्तले भन्नुभयो, “भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।” सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उहाँले बताउनुभयो ।

प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहरा दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउनुहुन्छ । अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्यादतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउनुहुन्छ । कानूनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उहाँको भनाइ छ ।

“पुरुषको तुलनामा महिला अधिक हिंसामा पर्ने गरेका छन् । यसको मुख्य कारकका रुपमा जाँडरक्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो”, अधिवक्ता भट्टले भन्नुभयो, “केही नपाइने ठाउँमा मदिरा पाइन्छ । यसको नियन्त्रण जरुरी छ ।” एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उहाँले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताए । उनका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् ।

“कानूनी उपचार नगरिकनै अधिकांश हिंसाका घटनालाई मिलापत्रमै टुङग्याइँदा यी घटनापछि विकराल रूपमा आउने गरेका छन्”, उनले भने, “सबैभन्दा बढी यौनजन्य हिंसाका घटना बढी छन् । त्यसपछि मानसिक प्रताडनाका घटना आउने गरेका छन् ।”

झलारी सामुदायिक सेवा केन्द्रमा गत साउन महिनादेखि हालसम्म घरेलु हिंसाका छ, गालीगलौजका १२, कुटपिटका २०, वादविवादका तीन, बालविवाहका पाँच, अलपत्र परेका महिला पाँच, बहुविवाहका चार गरी ५५ जनाले उजुरी गरेका छन् । तीमध्ये १५ जनालाई मनोपरामर्श र पाँच जनालाई मेलमिलापपछि घर फिर्ता गराइएको छ ।

विकासमा अवरोध गरे मलाई भन्नुसः मन्त्री पुन

काठमाडौँ । बैठकको अध्यक्षता गर्नुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कोभिड–९ महामारीको समयमा समेत मन्त्रालयको प्रगति सन्तोषजनक देखिएको भन्दै खुशी व्यक्त गरेका छन् । उनले प्रथम चौमासिकमा देखिएको कमजोरी आगामी चौमासिकमा नदोहोरिने गरी काम गर्न मातहतका सबैलाई निर्देशन दिए ।

“कोरोना महामारीको संवेदनशील अवस्थामा समेत ७८ प्रतिशत वित्तीय र झण्डै ७८ प्रतिशत नै भौतिक प्रगति हुनु खुशीको कुरा हो”, मन्त्री पुनले भने, “आगामी दिनहरुमा मन्त्री, सचिव, विभागीय प्रमुख सबै मिलेर योभन्दा राम्रो प्रगति देखिने गरी काम गरौँ ।”

मन्त्री पुनले विकास निर्माणका काम गर्दा भरसक स्थानीय र प्रभावितलाई लाभ हुने मिल्ने गरी काम गर्न निर्देशन दिनुभयो । मुआब्जा वितरण अगावै ठेक्काको सूचना निकाल्ने, शिलान्यास गरिहाल्ने र कोठाभित्रै बसेर आयोजना बनाउने काम अब बन्द हुनुपर्ने उहाँको भनाइ थियो ।

“विगतमा ईआईए नगरी, जमिनको मुआब्जा टुङ्गो नलगाइ ठेक्का दिने, शिलान्यास गरिहाल्ने र कोठामा बसेर योजना बनाउने गर्दा धेरै आयोजना अघि बढ्न सकेनन्”, मन्त्री पुनले भन्नुभयो, “तपाईं कर्मचारीको जागिर छ, बाबुबाजेको खेतबारी गए पनि मतलब हुँदैन, तर, २÷४ गरा खेत भएका किसानको भएको जमिन सबै विकास आयोजनाले खाँदा ऊ भोकै पर्ने अवस्था हुन्छ, अनि ढुङ्गा हान्न आउँछ, त्यसैले जमिन गए पनि विकास आयोजनाको लाभ किसानले पाउने अवस्थामा कसैको अवरोध हुँदैन ।”

मन्त्री पुनले विकास आयोजनाको काममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र प्रभावित जनताका कुरा अधिकमत सुन्ने र समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

उनले विकासका काममा अवरोध भए समयमै आफूलाई खबर गर्न आग्रह गर्दै समाधान निकाल्न लागिपर्ने बताउनुभयो । “कसैले विकासका काममा अवरोध सिर्जना गरेको अवस्थामा मलाई भन्नुृस्”, मन्त्री पुनले भने, “कोसँग कुरा गरेर समस्या समाधान गर्नुपर्ने हो म आफैँ गएर समाधान गर्छु ।”

वर्तमान सरकार विगतको जस्तो सङ्क्रमणकालीन नभएकाले विकासका काममा कुनै अप्ठेरो महसुस गर्नुपर्ने अवस्था नरहेको उनको भनाइ थियो । “यो विगतको जस्तो सङ्क्रमणकालीन सरकार होइन, तीन वर्षदेखि प्रधानमन्त्री, अधिकांश मन्त्री र सचिवहरु हामी एउटै छौँ”, उनले भने, “विगतका समस्या तेस्र्याएर भाग्ने कोसिस गर्ने छुट कसैलाई छैन ।”

कार्यक्रममा राष्ट्रि«य योजना आयोगका ऊर्जा र वन मन्त्रालय हेर्ने सदस्य डा कृष्णप्रसाद ओलीले कोभिड–१९ महामारीमा समेत मन्त्रालयले काममा राम्रो प्रगति गरेकामा प्रशंसा गरे। ऊर्जा सचिव दिनेशकुमार घिमिरे, जलस्रोेत सचिव मधुसुदन अधिकारी र जल तथा ऊर्जा आयोजका सचिव सागरकुमार राईले विकास आयोजनामा विगतमा देखिने गरेका समस्या नदोहोरिने गरी काम गर्न मातहतलाई निर्देशन दिए ।

पहिलो केन्द्रीय सहकारी बजार सरस्वतीनगरमा

काठमाडौँ । पहिलोपटक सरकारी र सहकारी साझेदारीमा काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित सरस्वतीनगरमा केन्द्रीय सहकारी बजारको शुरुआत भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) को सहयोगमा कृषि–बीउ, तरकारी तथा फलफूल केन्द्रीय सहकारी सङ्घ लिमिटेडले करिब रु सवा करोडको लागतमा बजार सञ्चालनमा ल्याएको हो । सन् २०१८ फेबु्रअरीमा शुरु भएको सहकारी बजार विकास कार्यक्रम (सिएमडीपी) ले चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, मकवानपुर, नुवाकोट र धादिङ गरी छ जिल्लाका १८ स्थानीय तहमा काम शुरु गरेपछि आज राजधानीमा पहिलो बजार सञ्चालनमा ल्याएको हो ।

बजार उद्घाटन गर्नुहुँदै सहकारीमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरे पनि बजारको समस्या भोगिरहेका बेला बजार उचित मूल्य दिलाउन सहयोग गरिने बताए । सरकार र सहकारी हाम्रो साझेदारी भन्ने नाराका साथ यो कार्यक्रमलाई वाग्मती प्रदेशबाट अन्यमा पनि विस्तार गर्न लागिएको उनले जानकारी दिए। “बचत तथा ऋण परिचालन गर्ने सहकारी धेरै भएकाले एकीकरण गरिनुपर्छ, सहकारी कृषि, फलफूल, पशुपालनमा पनि लाग्नुपर्छ, सहकारीले यी क्षेत्रबाट गरेका उत्पादनको बजारीकरण गर्न यस्ता केन्द्र ठाउँठाउँमा खोलिनुपर्छ”, मन्त्री अर्यालले भने ।

मन्त्रालयका सचिव टेकनारायण पाण्डेले किसानको बजारका बीच सहकारीले पुलको काम गरेपछि उपभोक्तासमेत लाभान्वित हुने भएकाले यो कार्यक्रमलाई देशव्यापी रुपमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले २० केन्द्र सहकारी सङ्घमध्ये १३ कृषि क्षेत्रकै रहेकाले किसानका उत्पादनको उचित मूल्य दिनसमेत यस्ता प्रवद्र्धन हुनुपर्ने बताए । सहकारी बजार विकास कार्यक्रमका प्रमुख सुमनशेखर मानन्धरले पहिलो चरणमा छ जिल्लाको १८ पालिकाका १४ हजार ४०० घरधुरी किसान लाभान्वित हुने गरी कार्यक्रम शुरु गरिएको जानकारी दिए ।

हाल छ जिल्लाका १८ पालिकाका ५० सहकारीले तरकारी सङ्कलन केन्द्र स्थापना गरेको पनि उनले बताए । आगामी दिनमा ललितपुरलगायत कार्यक्रम लागू भएका छवटै जिल्लामा सहकारी बजार स्थापना गर्ने तयारी भइरहेको छ । सङ्कलन गरिएका तरकारी ढुवानी गर्न गत आर्थिक वर्षमा कार्यक्रमले पालिकाका सहकारीलाई २८ सवारी साधानसमेत वितरण गरेको छ । चालु आर्थिक वर्षमा पनि २५ साधन वितरण गर्ने कार्यक्रम रहेको कार्यक्रम प्रमुख मानन्धरले बताए ।

बजारमा थोक तथा खुद्रा दुवै व्यापार गरिने छ । सहकारीबाट सिधै बजारमा ल्याइने तरकारी र फलफूल बजारमा पाइने मूल्यभन्दा सस्तोमा ग्राहकले किन्न पाउने बजारका सञ्चालक हरिप्रसाद प्याकुरेलले बताउनुभयो । एक महिना अघिदेखि खुद्रा बजार शुरु गरिएकामा केही दिनमा थोक बजार शुरु गर्न चार वटा सटरसमेत सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।

राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका अध्यक्ष केबी उप्रेतीले बैङ्कमा रु ६० अर्बको कारोबार रहेकाले कृषिमा काम गर्न चाहने सहकारीलाई पूँजीको अभाव नहुने बताए। सङ्घका केन्द्रीय अध्यक्ष विनोद पराजुलीले कृषिको तीनवटामात्र केन्द्रीय सङ्घ बनाउने एकीकरण अभियान शुरु गरी गत असार ३१ गते कृषि बीउ र तरकारी तथा फलफूल सङ्घकाबीच एकीकरण गरी पहिलो साधारणसभा समेत आजै गरिएको जानकारी दिए ।

सङ्घका सहअध्यक्ष ध्रुवराज पाण्डेले सहकारीको ध्यान तरकारी, फलफूल जस्ता चीजमा देशलाई आत्मनिर्भर बनाउनेतर्फ अघि बढ्नुपर्नेमा जोड दिए । सङ्घको आजै हुने साधारणसभाले नयाँ नेतृत्वसमेत चयन गर्ने जनाइएको छ ।

थप १२७२ जनामा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।

काठमाडौँ उपत्यकामा थपिए ६०६ स‌क्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४७ महिला र ३५९ पुरुष गरी ६०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै उपत्यकामा मात्र कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ५४६ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४४० , ललितपुरमा १२५ र भक्तपुरमा ४१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आईसीयू र भेन्टिलेटरमा ३८२ संक्रमित

मन्त्रालयका अनुसार देशभर ३८२ कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ५४ जना भेन्टिलेटरमा र ३२८ संक्रमित आईसीयूमा उपचाररत छन्।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १२२ रहेको छ भने ३१ जना भेन्टिलेटर छन् ।

लुम्बिनी प्रदेशमा ७५ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा २६ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा छन् ।

यस्तै प्रदेश २ मा ८ जना आईसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा ७ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८१ आईसीयू र ९ जना भेन्टिलेटरमा छन्र । कर्णाली प्रदेशमा ९ आईसीयूमा रहेको मन्त्रालयले जनाएको छ ।

थप १५७५ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख २१ हजार ८४७ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

थप १६ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५६७ पुगेको छ ।

२४ घण्टामा कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ८, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा १, झापामा ३०, ताप्लेजुङमा १, तेह्रथुममा १, धनकुटामा २, मोरङमा ६१, संखुवासभामा ३ र सुनसरीमा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

यसैगरी प्रदेश २ को धुनषामा १३, पर्सामा १, बारामा ५, महोत्तरीमा १, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा ४ र सिरहामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ४० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १९, चितवनमा २९, दोलखामा १०, धादिङमा ५, नुवाकोटमा २, भक्तपुरमा ४१, मकवानपुरमा १२, रामेछापमा २, ललितपुरमा १२५, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा ७ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

गण्डकी प्रदेशको कास्कीमा ७९, गोरखामा ७, तनहुँमा ३, नवलपरासी पूर्वमा २८, पर्वतमा १, म्याग्दीमा ९, लमजुङमा २, बागलुङमा ३ र स्याङजामा ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा १, गुल्मीमा २१, दाङमा २१, नलवपरासीमा ९, पाल्पामा १९, प्यूठानमा ५, बर्दियामा ७, बाँकेमा ३०, रोल्पामा १ र रुपन्देहीमा ३६ जना कोरोना संक्रमित थपिएका छन् ।

कर्णाली प्रदेशको दैलेखमा २ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा ४०, कञ्चनपुरमा ७, कैलालीमा २४, डडेल्धुरामा ११, डोटीमा ३, दार्चुलामा ९ र बैतडीमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

वरिष्ठ सहसचिव कडेल सचिवमा बढुवा

काठमाडौँ । वरिष्ठ सहसचिव पेमनारायण कडेललाई सचिवमा बढुवा भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले दोस्रो नम्बरमा सिफारिस गरेका कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले वरिष्ठ सचिवत्रय डा. कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम सिफारिस गरेको थियो ।

डा. आचार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव छन् भने कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र पाण्डे प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत छिन् ।

प्यान दर्ता भएर भ्याटमा दर्ता नहुँदा रकम अशुली गर्न गाह्रो त परेको छैन? यदि छ भने यो कागज देखाउनुस्

काठमाडौँ । यदि तपाईसँग प्यान दर्ता छ तर भ्याटमा दर्ता भएको छैन भने पनि स्थानीय तहबाट वा अन्य निकायबाट रकम लिन गाह्रो हुँदैन । तर अझैपनि कतिपय निकायले भ्याट दर्ता नहुँदा रकम भुक्तानी लिन असहज बनाईदिन्छन् । यदि भ्याट नभएको अवस्थामा भुक्तान लिन गाह्रो बनाए यो कागज देखाएर तपाई तपाईको अधिकार उपयोग गर्न सक्नुहुने छ ।
सरकारले पहिले नै प्यान दर्ता भएको र भ्याट दर्ता नभएको अवस्थामा पनि जति पनि भुक्तानी लिन सकिने व्यवस्था गरेको छ । तत्कालिन मत्रकार महासंघका अध्यक्ष गोविन्द चौलागाईको सक्रियतामा यो नियम लागु गरिएको हो ।

लक्ष्मी माताको दर्शन् गर्नुहोस्, आज मंसिर १९ गतेको राशिफल

वि.सं.२०७७ साल मंसिर १९ गते । शुक्रबार । ईश्वी सन् २०२० डिसेम्बर ०४ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–चतुर्थी,२८ घडी ०१ पला,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त पंचमी । नक्षत्र–पुनर्वशु,१४ घडी ४१ पला,दिउसो १२ बजेर ३३ मिनेट उप्रान्त तिष्य । योग–शुक्ल,०८ घडी ५६ पला,बिहान १० बजेर १५ मिनेट उप्रँन्त ब्रम्ह । करण–बालव,बेलुकी ०५ बजेर ५३ मिनेट उप्रान्त कौलव,रातको ०५ बजेर ४४ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–कर्कट । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०४ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

कामगर्दा ख्याल गर्नुहोला काम बिग्रने तथा कमाएको नाममा ठेस पुग्न सक्छ । आफन्त,साथिभाई तथा घर परिवारका मानिससँग टाडिएर लामो दुरिको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । व्यापार व्यावसायमा मन्दि आई आर्थिक अवस्था कमजोर हुनेछ भने घर जग्गा,सवारि साधन र कृषि क्षेत्रसँग सम्बन्धित कामबाट केहि मात्रामा लाभ लिन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

आन्तरिक यात्राको तय हँुनेछ भने गन्तब्यमा पुग्नको लागि बिभिन्न चुनौतिहरुको पार गर्नुपर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा गरिएको लगानि बालुवामा पानि जस्तै हुँनेछ । आर्थिक कारोबार बिग्रने हुँदा काममा असजिलो महशुष हुनेछ । आफन्त,छिमेकि,दाजुभाईबाट धोका तथा बिश्वासघात हुनेछ काम गर्दा ध्यान दिनुहोला । माया प्रेममा धोका तथा पति पत्निबिचको सम्बन्धमा सामान्य मनमुटाब बढ्नेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

आफन्त तथा आत्मिय मित्रहरु सँग पुराना तथा चिसिएका सम्बन्धहरु राम्रो हुदा मन प्रशन्न हुनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा आउने हुनाले मन प्रशन्न रहनेछ । शुभचिन्तक तथा आफन्तको सहयोग पाईने हुँदा दैनिक कामहरु गर्न सहज हुँनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने धन आर्जन गर्ने बिभिन्न स्रोतहरुको पहिचान गरि लगानि गर्न सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बिभिन्न अवसरहरु आउँने भएपनि ति अवसरहरुलाई सहि रुपमा प्रयोग गर्न नसक्दा समयले तपाईलाई छोड्नेछ । सामाजिक काम गर्ने बाताबरण बन्ने भएपनि जनतासँग सन्तुलित व्यावहार गर्न नजान्दा पद प्राप्तिको योग टरेर जानेछ । आफन्त तथा घर परिवार जनबाट भनेजस्तो सहयोग नपाईने हुँनाले घरायसि कामहरु थाति रहनेछन् । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानि हुनेछ भने स्वदेशि उत्पादनमा नाफा कमाउँन अलि बढि समय खर्चनु पर्नेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । शैद्धान्तिक बिषयमा आफन्त तथा अग्रज ब्याक्तित्वहरु सँग बिवाद सिर्जना हुनेछ भने मान सम्मान तथा प्रतिष्ठामा कमिको महशुस हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बिभिन्न स्रोत साधनको प्रयोग मार्फत मनग्गे धन तथा सम्पनि कमाई गर्न सकिनेछ । घर परिवारका ईच्छा तथा आकांक्षाहरु पुरा गर्न सकिने हुदा आफन्तहरु खुसि रहनेछन् । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा रमाउने जोडीहरुका लागी समयले साथ दिनेछ । उचित समयमा दाजुभाई तथा अग्रजबाट पाईने सहयोगले एक कदम अगाडि बढ्न सकिनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

पढाई लेखाईमा मेहनेत गरेअनुशार नतिजा निकाल्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै उत्तम हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने आफन्तजन तथा परिवारका सदस्यहरु तपाईको ब्याबहारले टाडिन सक्छन् । सम्मानिम ब्याक्तिहरु सँग बिवाद बढ्नेछ भने आर्थिक ब्याबस्थापनका लागि चालिएका प्रयासहरु अर्थहिन हुनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

पुराना तथा थाति रहेका कामहरु सम्पादन हुँने हुँनाले दैनिकी सहज रुपमा अगाडि बढ्नेछ । सानो प्रयत्नले ठुलो कामहरु बन्नेछन् भने सरकारि तथा प्रशासनिक कामहरु समयमा बन्नेछन् । धर्म सस्कृति तथा धार्मिक कार्यमा मन जाने हुनाले धार्मिक प्रतिष्ठानतिरको यात्रा गर्न सकिनेछ । पढाई लेखाईमा भनजस्तो सफलता हात लाग्नेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

माया प्रेमको बन्धन कसिलो हुँनुको साथै पति पत्निबिचको सम्बन्धमा थप सुमधुरता बढेर जानेछ । भौतिक सम्पति तथा उपहार प्राप्तिको योग रहेकोछ । पारिवारिक माहोल तथा शुभ मांगलिक कार्यमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवरि प्राप्त हुनेछ । एकल तथा साझेदारि व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने उपलब्धिमुलक व्यावसायिक यात्रा हुनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

अध्ययन तथा अध्यापनमा तपाई आफ्नै कारणले पछि पर्नुहुनेछ । खानपान तथा बाहिरि बाताबरणको ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या बढ्न सक्छ । माया प्रेममा सामान्य खटपट हुनेछ भने दाम्पत्य जीवनको गाठो फुस्कन सक्छ । सन्तान तथा छोराछोरि सँग पनि मनमुटाब बढ्नेछ । अदालत सँग सम्बन्धित काम गर्दा ध्यान दिनुहोला निर्णयहरु तपाईको पक्षमा नआउँन सक्छ । पुराना रोग बल्झने सम्भावना रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

बौद्धिक कार्यमा सहभागि भई बौद्धिक तथा प्राज्ञिक ब्यात्तित्व सामु गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा आउँने हुँनाले मन प्रशन्न हुनेछ । माया प्रेममा दिनभर रमाईलो गफ गर्दै समय ब्यातित गर्न सकिनेछ । साथिभाई तथा परिवारका सदस्यहरुबाट आर्थिक तथा भावनात्मक सहयोग हुँनेछ।

सांसद खतिवडाद्वारा चार करोडको २९ योजना छनोट

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत २९ वटा योजना छनोटमा परेका छन् ।

प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी २९ वटा योजना छनोट गरेको हो । नेपाल सरकारले सङ्घीय सांसदलाई आफ्नो निर्वाचन क्षेत्रभित्र योजना सञ्चालन गर्नका लागि रु चार करोड बजेट व्यवस्थापन गरेको छ ।

शिक्षा, स्वास्थ्य र पर्यटनलगायत क्षेत्र समेटिने गरी रु चार करोडको बजेटका लागि योजना छनोट गरिएको सांसद खतिवडाले बताए । उनका अनुसार विदुर नगरपालिका–९ स्थित जिल्ला त्रिशूली अस्पतालका लागि कोभिड–१९ परीक्षण उपकरण खरिद तथा प्रयोगशाला स्थापनाका लागि रु ८७ लाख ४० हजार, विदुर–१ स्थित पोष्टबहादुर बोगटी बहुप्राविधिक शिक्षालय पूर्र्वाधार निर्माणका लागि रु १० लाख, विदुर–४ स्थित जिल्ला खेल मैदान बट्टारमा शौचालय निर्माणका लागि रु आठ लाख, विदुर–४ मा कराँते भवन निर्माणका लागि रु १० लाख र विदुर–१० स्थित दारेगाँैडा खानेपानी व्यवस्थापनका लागि रु पाँच लाखको योजना छनोट गरिएको छ ।

यसैगरी कालीखोला मुहान संरक्षणका लागि दुई लाख, विदुर–३ स्थित पोखरे फाँटमा सिँचाइका लागि रु पाँच लाख, विदुर–६ स्थित चैनपुर सामुदायिक भवनका लागि रु आठ लाख, विदुर–५ स्थित पिपलटार र विदुर–१३ स्थित रिसङ्ग माने आम्थाङ माझगाउँका लागि फूटसल खेल प्रशिक्षणस्थल निर्माणका लागि रु पाँच÷पाँच लाख, विदुर–१ स्थित त्रिशूली बजार सिँढी निर्माणका लागि रु पाँच लाखको योजना छनोट गरिएको छ । त्यस्तै विदुर–११ मा रु दुई लाख, विदुर–२ मा रु तीन लाख र वडा नं ८ मा रु पाँच लाख गरी कूल रु १० लाखको सामुदायिक भवन निर्माण योजना छनौट गरिएको सांसख खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार विदुर–४ मा कराँते भवन निर्माणका लागि रु १० लाख र अन्य वडामा सात वटा योजनाका लागि रु एक करोड ५८ लाख ४० हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै, बेलकोटगढी नगरपालिकाका–२ स्थित बोक्से कात्तिके, वीरेन्द्र मावि सडक स्तरोन्नतिका लागि रु १० लाख, वडा नं ६ मा बञ्चरे, कृष्णमन्दिर सडक र मालिका दियाले सडक स्तरोन्नतिका लागि रु १५ लाख, वडा नं ११ मा अमारे, डेउडी र मजुवा सडक स्तरोन्नतिका लागि रु १० लाख, वडा नं ८ र ९ मा जनसेवा बराबोटसडक स्तरोन्नति र साँधी खोला भट्टथोक खमारे सिँचाइका लागि रु १० लाख गरी बेलकोटगढी नगरपालिकालाई कूल रु ५५ लाख बजेट विनियोजन गरिएको छ ।

किस्पाङ गाउँपालिका–१ स्थित गान्द्राङ सिँचाइ र घोङा भञ्ज्याङ सोलार प्लान्ट निर्माणका लागि रु १० लाख, किस्पाङ– ५ स्थित सुकौरो खोलादेखि स्कूल हुँदै अँधेरीखोलासम्मको सिँढी बाटो र ठण्डा खानेपानीका लागि रु १० लाख, किस्पाङ–३ स्थित घट्टेखोलादेखि डिस्युँखोला गोरेटो बाटो र किर्नेबगर आर्वा ग्रामीण सडक स्तरोन्नतिका लागि रु १० लाख, किस्पाङ–२ स्थित ताजी सामुदायिक स्वास्थ्य भवन निर्माणस्थल जाने बाटो निर्माण र कोलथापे गोगने मोटरबाटो स्तरोन्नतिका लागि रु १५ लाख, किस्पाङ–५ स्थित मनकामना स्वास्थ्यचौकी माने गाउँ गोरेटोका लागि रु १० लाख गरी किस्पाङलाई करुल रु ५५ लाखको योजना छनौट गरिएको छ ।

म्यागङ गाउँपालिका–१ स्थित आल्जङ खेलमैदान र आल्जाङ कौशिञ्चेत सडक निर्माणका लागि रु १० लाख, म्यागङ–२ स्थित गरवाङदेखि सरस्वती मावि गोरेटो सिँढीका लागि रु पाँच लाख र धनसिंङ प्रतिष्ठान पूर्वाधारका निर्माणका लागि रु १० लाख, म्यागङ– ३ स्थित दुर्सापाङ गोदोङ्ब्रो हुँदै तल्लो कुँवा जोड्ने सडक स्तरोन्नतिका लागि रु पाँच लाख र चिउरी भञ्ज्याङ लामडाँडा बाटोको लागि रु १० लाख, म्यागङ ४ स्थित बलङ्ग्राङ टोल खेलमैदान र पार्चेतखोला सत्यदेवी सडक स्तरोन्नतिका लागि रु १० लाख, म्यागङ–६ स्थित गुम्वाडाँडा गोरेटो निर्माण र कलेटी गोरेटो मर्मतका लागि रु १० लाख र भैङेरी, मैवल र फलाटे खेलमैदान निर्माणका लागि रु १३ लाख, म्यागङ–५ स्थित नागीनिस्थान खेलमैदान र पुरानो स्कुल टकसार मन्दिरका लागि रु १० लाख गरी म्यागङको लागि कूल रु ८३ लाखको योजना छनौट गरिएको छ ।

त्यस्तै, तारकेश्वर गाउँपालिका–४ स्थित मूलबाटो विक टोल र सरस्वती मावि ढोड सडक स्तरोन्नतिका लागि रु १० लाख, तारकेश्वर–२ र ३ मा तारुका खानेपानीका लागि रु १५ लाख, तारकेश्वर १, ५ र ६ मा फर्सिकोट चालिसे, सिरानटोल लर्केप मोटरबाटो स्तरोन्नति, भूँडीखोप बाँझेगरा सिँचाइ, भञ्ज्याङथोक खेलमैदान, फ्युचर कल्ब र रातोडाँडा गुम्बाका लागि रु १८ लाख तथा प्रशासनिक खर्च जिससका लागि रु तीन लाख ६० हजार गरी कूल रु चार करोडको योजना छनोट गरिएको सांसद खतिवडाले जानकारी दिए ।

‘ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना’

काठमाडौँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रम प्रदेशको आर्थिक रुपान्तरणको महान योजना रहेको बताए । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आज हेटौँडामा भएको बैंकहरुसँग सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा पौडेलले सरकारको यो अभियान सही कार्यान्वयन हुन सके देशको रोजगार र उत्पादनको क्षेत्रमा ठूलो प्रभाव पर्ने उल्लेख गरे ।

मुख्यमन्त्री पौडेलले विगतमा केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार तथा अन्य निकायबाट उत्पादन तथा रोजगार वृद्धिका लागि भनेर गरिएको लगानीको ठूलो हिस्सा अनेकन प्रकारले खेरगएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋणको कार्यक्रमले त्यो अनावश्यक लगानीलाई रोक्ने र वास्तविक उद्यमीले मात्र रकम लिने बताए। सानासाना उद्यम गरेर स्वरोजगार बन्न चाहनेका लागि सरकारको कार्यक्रम उपयोगी हुने भन्दै उहाँले काम गर्न चाहनेका लागि प्रदेश सरकार सारथी बन्ने बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले सरकारको तीनखम्बे अर्थनीतिको सफल कार्यान्वयन गर्न तथा समृद्ध नेपाल, सुखी नेपालीको अवधारणालाई पूरा गर्न कार्यक्रम अघि सारिएको बताए। प्रदेशका प्रमुख सचिव डा मानबहादुर विश्वकर्माले सकारात्मक परिणामको आशासहित अगाडि सारिएको कार्यक्रम केही महत्वकांक्षीसमेत भएकाले सबै निकायको समन्वयमा मात्र कार्यक्रम सफल हुने धारणा राखे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, साना किसान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवप्रसाद कोइरालालगायतले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त गरे ।

प्रदेश सरकारले विनियोजन गरेको रु तीन अर्बको कोषलाई बैंकमार्फत अधिकतम तीन प्रतिशतको सहुलियतपूर्ण ब्याजदरमा वितरण गर्नका लागि आज सरकार र कृषि विकास बैंक तथा साना किसान लघुवित्त वित्तीय संस्थाबीच सम्झौता गरिएको हो । सम्झौताको तत्काल कार्यान्वयन गरिने जनाइएको छ ।

थामियो नेप्से, आठ अर्बको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार नयाँ–नयाँ रेकर्ड बनाउँदै उकालो लागेको नेप्से थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १५.५७ बिन्दुले ओरालो लागेर २०५५.४५ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७६ बिन्दुले ओरालो लागेर ३९२.२९ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम आज रु आठ अर्बमाथि रहेको छ । कूल २०० कम्पनीको एक करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर रु आठ अर्ब दुई करोड ६० लाख २३ हजार ७९८ मूल्यमा खरिद बिक्री भए । लगानीकर्ता नाफा बुक गर्न लागेका कारण बजारमा आज गिरावट आएको अनुमान गरिएको छ ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर उकालो लाग्दा १० उपसमूहको शेयर भने ओरालो लागेका छन् । जलविद्युत् १०.३६ र लघुवित्त ३०.०८ बिन्दुले उकालो लागेको छ । बैंकिङ ८.७३, व्यापार १६०.४२, होटल ८.३५, विकास बैंक २०.३५, वित्त ६.७३, निर्जीवन बीमा १६६.४१, उत्पादन ७२.९६, अन्य १९.३१, जीवन बीमा २५८.२६ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले ओरालो लागेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज नेपाल पुनरबीमा कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ११ करोड ४० लाख आठ हजार ५७७ बराबरको कारोवार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु ४२ करोड १८ लाख ३८ हजार ८९९, नेपाल लाइफ इन्स्योरेन्स रु ३० करोड तीन लाख ३८ हजार ३००, नेशनल लाइफ इन्स्योरेन्स रु २६ करोड सात लाख ११ हजार २७९, शिवम् सिमेन्ट रु २३ करोड ८२ लाख ८२ हजार ११०, प्राइम बैंक रु २२ करोड ३० लाख ८६ हजार, नेपाल बैंक रु १८ करोड ७० लाख ८४ हजार ६७७ र नबिल बैंक रु १८ करोड २४ लाख ३३ हजार ६२२ बराबरको कारोवार भई शीर्षस्थानमा रहे ।

कारोवारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी ९.९५, नेपाल सेवा लघुवित्त ९.०६, डिप्रोक्स लघुवित्त ६.७२, छिमेकी लघुवित्त ६.४०, प्राइम बैंक ४.८२, सूर्योदय लघुवित्त ४.८१, मिथिला लघुवित्त ४.७७ र सामुदायिक लघुवित्तका लगानीकर्ताले ४.७७ प्रतिशतले कमाएका छन् । यसैगरी विशाल बजार कम्पनी ६.९७, साल्ट टे«डिङ कर्पोरेशन ६.९४, बोटलर्स नेपाल तराई ५.२०, रसुवागढी हाइड्रोपावर ५.१४, साञ्जेन जलविद्युत् कम्पनी ५.०९, एशियन लाइफ इन्स्योरेन्स ४.१०, आरएसडिसी लघुवित्त ३.७७ र एचआइसिएलका लगानीकर्ताले ३.७५ प्रतिशतले गुमाए ।

मनकामनाको दर्शन् गर्नुहोस्, आज मंसिर १८ गतेको राशिफल

वि.सं.२०७७ साल मंसिर १८ गते । बिहीबार । ईश्वी सन् २०२० डिसेम्बर ०३ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर कृष्णपक्ष । तिथि–तृतीया,२७ घडी ५० पला,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र– आद्र्रा,१२ घडी ४७ पला,बिहान ११ बजेर ४७ मिनेट उप्रान्त पुनर्वशु । योग–शुभ,११ घडी २९ पला,बिहान ११ बजेर १६ मिनेट उप्रँन्त शुक्ल । करण–भद्रा,बेलुकी ०५ बजेर ४८ मिनेट उप्रान्त बव,रातको ०५ बजेर ५४ मिनेट उप्रान्त बालव । आनन्दादिमा–काण योग । चन्द्रराशि–मिथुन । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ०६ मिनेट । दिनमान २६ घडी ०६ पला । विश्व अपाङग दिवस ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

न्यायिक निर्णय तथा अदालति फैसला तपाईकै पक्षमा आउँनेछ । पराक्रमि क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउँन सकिनेछ । परिवारमा लामो समय लेखि भेटघाट भएका मानिससँग भेट्न पाउँदा आत्मिय भाव बढ्नेछ भने रमाईलो बाताबरणमा दिन कटाउन सकिनेछ । बिश्वासको बाताबरण बढेर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सक्दा परिणाम मुखि कामहरु गर्न सकिनेछ । पढाई लेखाईमा मन जाने हुँनाले सफलता हात लाग्नेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

बोलिको प्रभाव बढ्ने हुँदा थोरै बोलेर मनग्गे आम्दानि गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको सुमधुर आवाज तथा निर्णयको उच्च मुल्याङन हुनेछ भने समाजमा सम्मानित जीवन यापन गर्न सकिनेछ । घर परिवार तथा जीवनसाथिको सहयोगले नयाँ काम गर्न सकिने हुँदा मन प्रफल्लित हुनेछ । अध्ययनमा प्रगति हुँने तथा खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईकै वर्चस्व कायम रहनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)

समयको ख्याल गरेर मात्र अगाडि बड्नु होला किनकि काममा बाधा तथा अरुभन्दा पछि परिने सम्भावना रहेकोछ । समाजमा प्रतिष्ठित काम गरेपनि बिपक्षहरु मान सम्मान तथा ईज्जत प्रतिष्ठामा गिराउन लागि पर्नेछन् । व्यापार व्यावसायमा प्रसस्त समय खर्चिय पनि भने जस्तो आम्दानि नहुने हुनाले आर्थिक ब्याबस्थापन गर्न कठिन हुनेछ । खानपानमा ध्यान नदिय स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

रोकिएर बसेका तथा पुराना काम बन्नाले थप उत्साहित होईनेछ । पढाई लेखाईमा चाहेको सफलता हात लाग्ने हुँनाले सफलताका सिडिहरुरु चुम्न सकिनेछ । चाहेका बस्तु तथा ईच्छित कामनाहरु पुरा हुने समय रहेकोछ । माया प्रेममा रमाउँन सकिनेछ भने दाम्पत्य जीवनमा एक अर्काको सहयोग लिदै अगाडि बढ्न सकिनेछ । पैत्रिक सम्पती तथा प्राकृतिक स्रोतको प्रयोग तथा परिचालन मार्फत मनग्गे लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

बुवा आमा तथा अग्रजहरुबाट सहयोग पाईने हुदा मन प्रफुल्लित हुनेछ । थोरै समयको प्रयत्ने सहजै गन्तब्य तथा लक्ष्य पहिल्याउन सकिनेछ । अवसरहरुको सदुपयोग गर्न सकिने तथा भविश्यको लागि फाईदा हुने काम गर्ने बाताबरण बनाउन सकिनेछ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्ने अवसर प्राप्त हुनेछ । कृषि तथा पशुपालन व्यावसायबाट मनग्गे आम्दानि हुनेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)

व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि सोचेभन्दा धेरै आम्दानि हुँदा मन प्रसन्न रहने तथा थप लगानि बढाउँन मन लाग्नेछ । आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

समयमा कामहरु नसकिने हुँनाले अन्य क्षेत्रमा लगानि गर्ने बाताबरण गुम्न सक्छ । व्यापार व्यावसायमा आम्दानि गर्न प्रशस्त समय खर्चिनु पर्नेछ । व्यापार व्यावसायको सवालमा हुँने यात्रा निअर्थक हुनेछ । पढाई लेखाईमा अलि बढि समय खर्चिय नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्रणय सम्बन्धमा चिसोपनको आभाष हुनेछ भने जीवन साथिको असहयोगले महत्वपुर्ण अवसरहरु जुर्न सक्छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ । आफन्त तथा मावलि पक्षबाट सहयोग पाईने हुँदा मन प्रशन्न रहनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)

भौतिक तथा मानव निर्मित स्रोत साधनको परिचालन गरि मनग्गे आम्दानि गर्न सकिनेछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ भने वंश बृद्धिको योग रहेकोछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाँफा कमाउँन केहि समय पर्खनु पर्नेछ । बौद्धिक ब्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

खोज तथा अनुशन्धानको क्षेत्र तपाई आफ्नै कारणले फितलो रहने हुनाले भने जस्तो नतिजा हात पार्न मुस्किल पर्नेछ । छाति सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । परिवार तथा आमासँग छुट्टिएर टाडाको यात्रा हुने हुँनाले मन बिचलित हँुनेछ । कृषि,सहकारि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ भने अरु व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ ।

३ वर्षको प्रेमलाई विवाहमा परिणत गर्दै बहुप्रतिभाशालि व्यक्ति रमेश प्रसाई

काठमाडौँ । प्रखर वक्ता, गायक तथा बहुमुखि प्रतिभाका खानि रमेश प्रसाई विवाह वन्धनमा बाँधिने भएका छन् । उनले कालीकोटकी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । रमेश र नन्दाले आगामी २२ गते सोमबारका दिन बिबाह गर्न लागेका हुन् । उनीहरु दुवै नै दृष्टिविहिन हुन् ।
अबल वक्तृत्व क्षमता र अरु व्यक्तिको क्यारिकेचर गर्ने रमेशलाई पछिल्लो समय ‘रिंकेबुङको राँगो’ बोलको गीत सँगितमा पनि राम्रो स्थान दियो । उनी पछिल्लो समय इन्द्रेणीमा समेत आवद्ध छन् ।

त्यस्तै यता नन्दा पनि समाजसेवामा छिन् । उनले काठमाडौंमा बालआश्रम चलाइरहेकी छन् ।
नन्दा र रमेशविच ३ बर्षदेखि गहिरो प्रेम सम्बन्ध रहेको बुझिएको छ । नन्दालाई रमेशले प्रेम प्रस्ताव राखेका थिए । इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए ।

उनीहरुको बिहे धरानबाट हुने भएको छ ।

विज्ञापन बोर्डलाई पुर्णता दिँदै सञ्चामन्त्री गुरुङद्धारा ५ सदस्य नियुक्त

काठमाडौँ । सरकारले नेपाल विज्ञापन संघ (आन) को प्रतिनिधित्व नै नगराई नेपाल विज्ञापन बोर्ड गठन गरेको छ । सरकारले नवगठित बोर्डको सदस्यमा महेन्द्रबहादुर शेरचन, शुभशंकर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र बन्दना दनुवारलाई मनोनित गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट बोर्डमा रहने सदस्यहरुको मनोनयन गरिएको हो । नवनियुक्त सदस्यहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार नियुक्तिको प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

यसलगत्तै मन्त्री गुरुङको अध्यक्षतामा बसेको बोर्ड बैठकले बबरमहलमा कार्यालय राखेर काम शुरु गर्ने र बोर्डको अर्को बैठक मंसिर २२ गते बस्ने निर्णय गरिएको नवनियुक्त एक सदस्यले जानकारी दिए ।

नौं सदस्य रहने बोर्डमा तीन जना भने गृह, सञ्चार र उद्योग मन्त्रालयका सहसचिवको प्रतिनिधित्व रहने छ । बोर्डको अध्यक्ष भने प्रतिस्पर्धाका आधारमा सरकारले नियुक्त गर्नेछ ।

यता, विज्ञापन संघको प्रतिनिधित्व नगराएकोमा संघले भने आपत्ति जनाएको छ । संघका अध्यक्ष शशी शर्माले सरकारले गठन गरेको बोर्ड विज्ञापन बोर्ड नभई मिडिया क्लब जस्तो भएको प्रतिक्रिया दिनुभयो । उहाँले सरकारद्वारा गठित विज्ञापन बोर्ड पहिलो गाँसमै ढुंगासरह भएको टिप्पणी गर्नुभयो