गृह सचिव न्यौपानेको सरुवा हुने,गृह सचिवमा एकनारायण अर्याललाई भित्र्याइने

काठमाडौँ । सरकारले गृहसहित केही मन्त्रालयमा सचिव सरुवाको गृहकार्य थालेको छ । स्रोतका अनुसार गृहसचिव महेश्वर न्यौपानेले मन्त्रालयलाई चलायमान बनाउन नसक्दा सरकारले सचिब न्यौपाने लाई निर्वाचन आयोग पठाउने तयारी छ ।
गृहसचिव न्यौपानेको सरुवा हुने भए पछि गृहमन्त्रालयमा सरुवा हुन सचिवहरूको दौड शुरू भएको छ।

मुख्यसचिव पछि गृहसचिवलाई निकै महत्त्वपूर्ण मानिन्छ ।

स्रोतका अनुसार गृहसचिवका लागि सूर्य गौतम र यादव कोइराला दौडमा रहेको देखिए पनि सबै हिसाबले सचिब एकनारायण अर्याल नै उपयुक्त पात्र रहेको बताइएको छ।

अर्याल संघीय मामिला तथा सामान्य प्रशासन, कोइराला स‌ंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गौतम खरिद अनुगमन कार्यालयका सचिव हुन् ।

प्रतिनिधि सभा विघटनपछि देशव्यापी आन्दोलन भइरहेको र चुनावको मिति समेत घोषणा भएको अवस्थामा गृहसचिवको भूमिका निकै महत्त्वपूर्ण हुन्छ ।

स्रोतका अनुसार लामो समय गृह प्रशासनमा बिताएका एकनारायण अर्याल गृहसचिव बन्ने सम्भावना बढेर गएको छ।

यसअघि काठमाडौं महानरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका अर्याललाई सरकारले एक वर्षअगाडि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको थियो ।

निजामती सेवामा निर्भीक, इमान्दार र निर्णय क्षमताको सबालमा अग्रपंक्तिमा अर्यालको नाम आउँछ ।

अर्यालले काठमाडौं महानगरपालिकामा रहँदा अनावश्यक भत्ता, सुविधा र खर्च नियन्त्रण एवं कटौती गरेर राज्य कोषको रकम बचाएका थिए ।

अनलाइनबाट राजस्व संकलन, घरको नक्साको डिजिटालाइजेसन, विभागीय प्रमुखहरूसँग कार्यसम्पादन करारजस्ता प्रमुख काम उनले महागरपालिकामा रहँदा गरे । साथै, काठमाडौं महानगरपालिकाको आफ्नै भवन निर्माण प्रक्रिया पनि अर्यालले अन्तिम चरणमा पुर्‍याएका थिए ।

सचिव हुनुअघि अर्याल भारतको कोलकत्तामा नेपाली महावाणिज्यदूत थिए ।

महावाणिज्यदूत छँदा उनले शुरू गरेको इलेक्ट्रिक कार्गो ट्र्याकिङ सिस्टमको चौतर्फी प्रशंसा भएको थियो ।

कोभिड महामारीमा यो सिस्टम निकै प्रभावकारी रहेको अधिकारीहरू बताउँछन् ।

अर्याल गृह मन्त्रालय मातहत रहेर लामो समय सेवा गरेका व्यक्ति हुन् । उनले आफ्नो करियरको धेरै समय गृह प्रशासनमा बिताए ।

जहाँ–जहाँ सीडीओ भएर गए त्यहाँ अर्यालले केही न केही सुधार र सकरात्मक परिवर्तनका काम गरेका जानकारहरु बताउछ्न।

गृह प्रशासन बुझेको अनुभवी थोरै कर्मचारीमा अर्याल पर्छन् ।

२०७२ सालको भूकम्पका बेला उनी काठमाडौंको सीडीओ थिए ।

भूकम्पका बेला कालोबजारी गर्ने उच्च घरानाका व्यापारीको गोदाममा छापा मारेर लुकाएर राखेको खाद्य सामग्री जफत गर्नुका साथै व्यापारीमाथि मुद्दा चलाए ।

व्यापक दबाबका बावजुद कालोबजारीमा संलग्न उच्च घरानाका व्यापारीमाथि कारवाही अघि बढाएपछि अर्यालको प्रशंसा चुलिएको थियो ।

अर्याल अनियमितता नगर्ने, घूस र ढिलासुस्तीमा तल्लीन कर्मचारीमाथि शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, फाइल अड्काएर दुःख नदिने, निर्णय क्षमता भएका निर्भीक एवं इमान्दार प्रशासकका रूपमा परिचित छन् ।

आजबाट एकैपटक ११ अस्पतालमार्फत कोरोना खोप अभियान शुभारम्भ गरिँदै

काठमाडौं । मुलुकमा आजबाट कोरोना भाइरसविरुद्धको खोप सुचारु गरिदैँ छ । पहिलो चरणमा कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिँदै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सफाइकर्मीलगायतलाई दिइने कोरोना खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

केहीबेर पछि अर्थात १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ अस्पतालमा खोप अभियानको शुभारम्भ गरिने छ ।

आजबाट शुरुवात हुने पहिलो चरणको खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, वीर अस्पताल, आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र अस्पताल कीर्तिपुर, पाटन अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुर, काठमाडौं मेडिकल कलेज जोरपाटी, सशस्त्र प्रहरी अस्पताल बलम्बु, शहीद गंगालाल अस्पताल बाँसबारीका स्वास्थ्यकर्मीले लगाउनेछन् ।

शुक्रराजस्थित टेकु अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले टेकु अस्पतालको तर्फबाट पहिलो खोप लगाउने बताउनुभएको छ । राजभण्डारीले कोरोनाविरुद्धको खोप सुरक्षित छ भन्ने सन्देश दिन सबैभन्दा पहिले आफैंले खोप लगाउन लागेको जानकारी दिए ।

ग्लोबल आइएमई बैंकद्वारा पाल्पाको हुमिनमा नयाँ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौँ । ग्लोबल आइएमई बैंकले पाल्पाको हुमिन(ग्याङ्गसिंगपोखरा)मा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यस शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २४५ पुगेको छ ।

बैंकले पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ४, हुमिन(ग्याङ्गसिंगपोखरा)मा सञ्चालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रम्भा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष भोज बहादुर बि.क.ले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधि बिष्णु बहादुर बोम्रेललाई नियुक्त गरिएको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधि मार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ७३ वटा जिल्लामा फैलिएको २६४ शाखा सञ्जाल सहित २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २४५ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २२ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

२५० मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजनाको सरकार, बोर्ड र राइजेन इनर्जी सिंगापुर जेभिबीच सम्झौता

काठमाडौं । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न नेपाल सरकार, लगानी बोर्डको कार्यालय र राइजेन इनर्जी सिंगापुर जेभीबीच समझदारीपत्रमा आज मंगलबार हस्ताक्षर भयो ।MoU का अनुसार बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने छ । उक्त परियोजनाको कुल अनुमानित लागत १८ करोड ९५ लाख अमेरिकी डलर रहेको छ । लगानी बोर्ड कार्यालयमा सम्पन्न MoU मा बोर्ड कार्यालयका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धकले हस्ताक्षर गरे । MoUअनुसार कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र म्ँक्च् तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ । २०७७ असार ५ मा बसेको लगानी बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई म्ँक्च् तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । उक्त परियोजना नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।

काँग्रेसद्वारा तीन दिनको आन्दोलनको घोषणा

काठमाडौं । नेपाली काँग्रेसले तीन दिनको आन्दोलन घोषणा गरेको छ । सरकारको प्रतिगमनको निर्णयविरुद्ध थप आन्दोलनका कार्यक्रमहरु तय गर्दै कांग्रेसले माघ १९ गते, २४ गते र ३० गतेका लागि आन्दोलनको घोषणा गरेको हो । १९ गते भातृ संस्थाले, २४ गते शुभेच्छुक संगठनले आन्दोलन गर्ने छन् भने ३० गते जिल्ला स्तरीय प्रदर्शन आयोजना गरिने छ ।

आज बसेको काँग्रेस केन्द्रीय समिति वैठकले सोही आन्दोलन कार्यक्रम तय गरेको हो । सभापति शेरबहादुर देउवा भने आन्दोलनमा जान अनिच्छुक रहेका छन् । तर वरिष्ठ नेता रामचन्द्र पौडेलको जोडबलपछि काँग्रेसले थप आन्दोलनमा जाने निर्णय गरेको हो ।

नेविसंघ, महिला संघ, किसान संघ, दलित संघसहित म्याद सकिएका भ्रातृसंस्थाहरूको म्याद सकिएको मितिले ६ महिना थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

अमेरिकाको पहिलो महिला अर्थमन्त्रीको रुपमा येलेनलाई सिनेटको अनुमोदन

काठमाडौँ । अमेरिकी माथिल्लो सदन सिनेटले राष्ट्रपति जो बाइडेनद्वारा अर्थमन्त्रीमा मनोनित जेनेट येलेनलाई अनुमोदन गरेको छ । उनी अमेरिकी अर्थमन्त्रीको पद सम्हाल्ने पहिलो महिला पनि हुनेछिन् ।

अर्थमन्त्री येलेनमाथि कोभिड–१९ सँग सम्बन्धित विशाल आर्थिक प्याकेजमा तल्लो सदन कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने ठूलो चुनौती छ ।

येलेनले यसअघि अमेरिकी केन्द्रीय बैंकको पनि सन् २०१४ देखि २०१८ सम्म पहिलो महिलाका रुपमा नेतृत्व गरिसकेकी छिन् । उनीसँग विगतमा ह्वाइट हाउसको आर्थिक सल्लाहकार परिषदमा रहेर पनि काम गरेको अनुभव छ ।

राष्ट्रपति जो बाइडेनले कोभिड–१९ का कारण अमेरिकी अर्थतन्त्रमा परेको असर न्यून गर्न भन्दै अघि सार्नु भएको १९ खर्ब डलरको आर्थिक पुनरुत्थान प्याकेजलाई कङ्ग्रेसबाट अनुमोदन गराउनुपर्ने येलेनसामु पहिलो चुनौती छ ।

सिनेटको वित्त समितिमा भएको सुनुवाईका क्रममा येलेनले ब्याजदरमा निकै गिरावट आएकाले बाइडेन प्रशासनले ठूलै आर्थिक प्याकेज घोषणा गर्नु सकारात्मक कदम हुने बताए ।

सोमबार राष्ट्रपति बाइडेनले पनि राहत योजना अघि बढाउँदा अमेरिकी कङ्ग्रेसका दुबै दलबीच सहमति जुटाउन पहल गर्ने बताएका छन् ।

उनले अहिले लगानी नगरे कोभिड–१९ बाट सिर्जित आर्थिक चुनौती अझ व्यापक हुने र पछि त्यसलाई सम्बोधन गर्दा अझ ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ भनेका छन् । उनले , “लगानीको उपयुक्त समय नै अहिले हो, त्यसैले लगानी नगरी हामी चुप बस्न मिल्दैन ।”

सिनेटमा सुनुवाईका क्रममा वित्त समितिका अध्यक्ष सिनेटर रोन वाइडेनले अर्थमन्त्रीमा प्रस्तावित येलेन प्रतिभाशाली अर्थशास्त्री रहेका भएको चर्चा गर्दै अहिलेको विषम परिस्थितिमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न उन उपयुक्त र योग्य व्यक्ति रहेको बताए ।

रिपब्लीकनका तर्फबाट सिनेटमा अल्पमतका नेता मिच म्याक्कोनेलले आफ्नै पार्टीका एक दर्जनभन्दा बढी सदस्यले बिरोध गरे पनि येलेनको अनुमोदनलाई समर्थन गरेका थिए ।

अमेरिकामा कोभिड–१९ बाट संक्रमितको संख्या अढाई करोड पुगिसकेको छ भने संक्रमितमध्ये चार लाख २० हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

विवाहको खर्च कटाएर धुर्मुस सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग

काठमाडौँ । एक नवविवाहित जोडीले आफ्नो विवाहको खर्च कटौती गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग गरेका छन् ।

जनस्तरबाट रकम संकलन गरी चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि बुटवल निवासी लोकेश गिरी र पद्मा गिरीले आफ्नो विवाहको खर्च रकम कटौती गरी २२ हजार २ सय २५ रुपैयाँ सहयोग गरेका हुन् ।

सोमवार उक्त रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए ।

सहयोग रकम ग्रहण गर्दै फाउण्डेसनका अध्यक्ष कट्टेलले भने, “यस सहयोग र यस अभियानमा जोडिनुभएकोमा लोकेश गिरी ज्यू र पद्मा गिरी ज्यू साथै उहाँको सम्पूर्ण परिवारलाई हार्दिक धन्यवाद एवम् आभार ब्यक्त गर्न चाहान्छौं ।”

जनस्तरको सहयोग बाट बन्न लागेको यति ठुलो योजना सफल पार्न केही भएपनि सहयोग होस् भनी विवाह को खर्च कटाएर सहयोग गरेको दाता लोकेश गिरी बताउँछन् । गिरी यसअघि पनि जन्मोत्सवको अबसरमा समेत धुर्मुस सुन्तली को एकिकृत नमुना बस्ती, स्कुल, अपाङ्ग आश्रम , वृद्ध आश्रम, अस्पताल का बिरामी लगायत को लागि विभिन्न सहयोग गर्दै आएका थिए ।

राजस्वसम्बन्धी गुनासा सम्बोधन गर्न एकाइ गठन गर्दै महासङ्घ

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले कर तथा राजस्व समिति विस्तार गरेको छ । महासङ्घका कार्यकारिणी समितिका सदस्य सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समिति सदस्यमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ रहेका छन् ।

समितिका सदस्यमा फ्रेट फरवार्डर एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राजेन्द्र संग्रौला र नेपाल औषधि उत्पादक सङ्घका निवर्तमान अध्यक्ष दिपकप्रसाद दाहाल रहेका छन् । त्यसैगरी समितिको आमन्त्रित सदस्यमा महासङ्घको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैक वित्तिय तथा विमा समितिका सभापति शाहिल अग्रवाललगायत रहेका छन् ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाले समितिका विभिन्न जिम्मेवारीमा चयन भएका सदस्यलाई औपचारिक पत्र हस्तान्तरण गर्नुहुँदै उद्यमी व्यवसायीका समस्या तथा कठिनाइ पहिचान गरी निराकरण गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे।

उनले समितिको जिम्मेवारी निकै गहन भएकाले समितिले हासिल गर्ने प्रगति वर्तमान कार्यसमितिको सफलतासँग समेत जोडिएकाले सोहीअनुसार काम गर्नेमा जोड दिए । महासङ्घ सचिवालयमा कर, राजस्वसम्बन्धी समस्या एवं गुनासो सम्बोधन गर्न एक एकाइ स्थापना गर्ने योजना रहेको पनि उनले जानकारी दिए ।

ओलीविरुद्ध अदालतको अवहेलना गरेको दाबीसहित सवोच्चमा रिट दायर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीवीरुद्ध अदालतको अवहेलना गरेको दाबीसहित सवोच्च अदालतमा रिट निवेदन पेस भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतवार रिट पेस गरेका हुन् । प्रक्रिया बाँकी रहेकाले पेस गरेको रिट दर्ता भने अझै नभएको सर्वोच्च अदालतले जनाएको छ।

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले अदालतको अवहेलना हुनेगरी टिप्पणी गरेको उल्लेख गरेको निवेदनमा उल्लेख छ। प्रधानमन्त्रीले बोलेको अडियो भिडियोसहित निवेदन पेस गरिएको पनि निवेदनमा उल्लेख छ।

‘प्रधानमन्त्रीलाई झिकाई अदालतको अवहेलनामा कारबाही चलाई हदैसम्मको सजाय गरिपाऊँ’, निवेदनमा उल्लेख छ, ‘सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्रीजस्तो जिम्मेवारलाई झनै क्षम्य हुँदैन ।’

निवेदनमाः

‘माघ ९ मा कार्की व्यंक्वेटमा भएको पार्टी कार्यकर्ता भेलामा अदालतमा गरेको बहसलाई लिएर एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन भन्दै सर्वोच्चमा हुने बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे भनेर निन्दायुक्त शब्द प्रयोग गरिएको छ।

सार्वजनिक रूपमा कानुन व्यवसायीलाई हास्य पात्रको रूपमा प्रस्तुत गरी प्रधानमन्त्रीले संविधानको धारा १२८ उपधारा ४ बमोजिम अदालत र इजलासको अवहेलना गर्नुभएको छ ।’

संविधानले नै कानुन व्यवसायीलाई अदालतमा उपस्थित भएर बहस पैरवी गर्ने अधिकार दिएको छ। प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिले कसैको अपमान गर्नु पदीय मर्यादाविपरीत रहेको रिट निवेदकको दाबी छ । ‘उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले कारवाही गरिपाउन अनुरोध छ’, रिटमा भनिएको छ।

आगलागीबाट धनमाल नष्ट

काठमाडौं , झापा, बिर्तामोड नगरपालिका–५ भद्रपुर रोडस्थित बिकास अग्रवालको ईलेक्ट्रोनिक्स पसलको स्टोरमा बिजुलीको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा पसल भित्र रहेको वाल घडी, पंखा र ईलेक्ट्रिक बल लगायतका सामानहरु जलेर करिब ५० लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।
त्यस्तै डोल्पा, ठुलिभेरी नगरपालिका–३ दुनै राजाचोक बस्ने लोकेन्द्र कार्कीको फेन्सी र कस्मेटिक पसलमा विजुलीको तार सर्ट भई आइतबार बिहान आगलागी हुँदा पसलमा रहेको सम्पुर्ण सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । धनुषा, मिथिला बिहारी नगरपालिका–१ भुतहीपटेर्वा बस्ने श्रवण यादवको कुखुरा खोरमा बिजुलीको सर्ट भई शनिबार बिहान आगलागी हुँदा करिब १ हजार कुखुरा तथा बिभिन्न सामान जलेर करिब ६ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीयवासी र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

आफ्नै स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सिरहा । कर्जन्हा नगरपालिका–२ डाडाटोलस्थित सडकमा पीभीएम ईङ्लिस बोर्डिङ स्कुलको बा.२ ख २३९० नम्बरको बसको ठक्करबाट सोही स्कूल पढ्ने १० वर्षीय साजन परियारको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

सो ठाउँमा विद्यार्थी झारेर अगाडि बढ्ने क्रममा उक्त बसले ठक्कर दिँदा उनको मृत्यु भएको हो । बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

भिन्न भिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला

बझाङ तलकोट गाउँपालिका–१ स्थित डेरा गरी बस्ने ७० वर्षीय गोपाल दमाइको कोठामा जयपृथ्वी नगरपालिका–१० बस्ने ४२ वर्षीया पुनी बादी आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
कञ्चनपुर, भिमदत्त नगरपालिका–४ बसपार्कस्थित कोशी एण्ड मोरङ होटलको १०५ नम्बर कोठामा धादिङ ज्वालामुखी गाउँपालिका–३ बस्ने ६७ वर्षीय नरे सार्की आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, सैनामैना नगरपालिका–११ स्थित शान्ति सामुदायिक वनमा हाल नाम, थर, वतन नखुलेकी करिब २६ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
नवलपरासी (पश्चिम), सुस्ता गाउँपालिका–२ हरकपुरास्थित बढई नालीमा सोही गाउँपालिका–३ रेवा मच्छुटोल बस्ने ३२ वर्षीय रमेश शर्मा आइतबार मृत अवस्थामा फेला परेका छन् । यूपि ५६ एच ६६५३ नम्बरको मोटरसाइकलबाट लडेर उनको मृत्यु भएको बुझिएको छ । मोटरसाइकल सोही ठाउँस्थित सडक छेउमा पल्टिएको अवस्थामा फेला परेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

हातहतियार तथा अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । मोरङ पथरी शनिश्चरे नगरपालिका–४ स्थित कल्पना राईको घरबाट अवैध लागूऔषध ६ सय ३० मिलिग्राम ब्राउन सुगर, ७६ ग्राम गाँजा, ५४ ट्याब्लेट, ९० ट्याब्लेट ट्रामाडोल, बिभिन्न हात हतियारमा लाग्ने ४ थान गोली, १ थान गोलीको खोका, १ थान हातमा लगाउने नक, १ थान सुल्फा, १ थान खुकुरी र को.१४ प ४७२५ नम्बरको मोटरसाइकल सहित ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने दशरथ भन्ने २२ वर्षीय छिरीङ राई, सिजन भन्ने २४ वर्षीय नबराज राई, १९ वर्षीय साजन राई र भोजपुर साल्पासिलोछो गाउँपालिका–२ बस्ने १९ वर्षीय निराज राई रहेका छन् । उक्त घरबाट अबैध रुपमा लागूऔषध सेवन तथा किनबेच भईरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घर कोठा तलासी गर्दा उनीहरूलाई उक्त लागूऔषध तथा हतियार सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर लागूऔषध तथा हातहतियार खरखजना कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यसैगरी मोरङ, बिराटनगर महानगरपालिका–१७ मटेरुवाबाट नियन्त्रित लागूऔषध १ सय ६९ ट्याब्लेट स्पास्मो, २० बोतल डाइलेक्स डीसी, १५ ट्याब्लेट नाईट्राभेट र २० ट्याब्लेट ल्क्ष्त्श्ब्ऋब्च्भ् सहित सुनसरी धरान उपमहानगरपालिका–९ बस्ने ३९ वर्षीय सुवास लामीछानेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी मटेरवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुवासलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । सुवासलाई ईलाका प्रहरी कार्यालय रानीबाट लागूऔषध मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बाँके, नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ३० ट्याब्लेट नाईट्राभेट र १ सय ट्याब्लेट ट्रामवेल सहित मुगु राराछाया नाथ गाउँपालिका–५ बस्ने २० वर्षीय दिल भामलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दिललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका(७ क्वाटरचोकबाट अवैध लागूऔषध करिब ७ किलो गाँजा सहित मरिण गाउँपालिका–३ बस्ने ४४ वर्षीया गंगामाया वाईबालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरीले बा।२ ख ४५३१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार गंगामायाको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पर्सा । जबरजस्ती करणी गरेको अभियोगमा भारत विहार पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पंचायत टिकुलीया–१३ बस्ने ३४ वर्षीय नेहाल मियाँलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बीरगंज महानगरपालिका–१ स्थित आफ्नै साथीको डेरामा शुक्रबार राति गई सुतेकी ११ वर्षीया बालिकालाई अर्थात साथीकै छोरीलाई जबरजस्ती करणी गरी भागेर फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले नेहाललाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट

काठमाडौं । बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ.व. २०७६–०७७ को नेपाल प्रहरीमा कायम बेरुजुमध्ये समग्रमा ९५.४६ प्रतिशत फर्छ्‍यौट गरी बेरुजु फर्छ्‍यौट प्रगतिमा नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । नेपाल सरकार मन्त्रीस्तरको २०७७ पुस २१ गतेको निर्णय अनुसार नेपाल प्रहरी सर्वोत्कृष्ट भएको हो ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्‍यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहमा ८ हजार रुपैयाँ नगद पुरस्कार सहित प्रशंसापत्र प्रदान गरेका छन् । पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बल बहादुर बस्नेत रहेका छन् ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पुरस्कार तथा प्रशंसापत्र वितरण गर्दै बेरुजु फर्छ्‍यौटमा लगन र मेहनत साथ काम गर्ने प्रहरी कर्मचारीहरुप्रति आभार व्यक्त गरे। यस कार्यमा पूर्व प्रहरी महानिरीक्षकहरु सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीको समेत ठूलो योगदान रहेको उनले स्मरण गरे ।
प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयहरुको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्‍यौट गर्ने वार्षिक लक्ष्य रहेकोमा नेपाल प्रहरीको तर्फबाट कूल कायम बेरुजुमध्ये लक्ष्य भन्दा बढी ९५.४६ प्रतिशत फर्छ्‍यौट गरी हाल सम्मकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको हो ।
बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा २०७३–०७४, २०७४–०७५ र २०७५–०७६ गरी ३ वटा आ.व. मा समेत नेपाल प्रहरी सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भएको थियो ।