निगमले पहिलोपटक मकाउमा उडान गर्दै

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो ।

नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ ।

कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०ः५० बजे काठमाडौँ अवतरण गर्नेछ । मकाउबाट दुई बच्चासहित १४५ यात्रु नेपाल फर्कने छन् । निगमको मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतावासले समन्वय तथा सहयोग गरेको प्रवक्ता श्रेष्ठले बताए ।

चार्टर्ड उडान भए पनि पहिलोपटक नयाँ गन्तव्यमा उड्न पाउँदा उत्साहित भएको निगमले भविष्यमा मकाउको बजार अध्ययन गरी यात्रुको अवस्था राम्रो भएमा सिधा उडान गर्ने योजना बनाएको छ । “मकाउमा चार्टर्ड उडानमा निगमको जहाज प्रयोग भएकामा र उडान सहजीकरण र समन्वयका लागि भूमिका खेल्ने महावाणिज्यदूतावासप्रति आभार प्रकट गर्दछौँ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सहकार्य

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा संचालित उद्यम तथा व्यवसायलाई प्रवद्र्धन गर्ने उद्धेश्यले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ तथा मेगा क्यापिटल मार्केटस्सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा मेगा बैंक नेपाल लिमिटेड., बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटस्का तर्फबाट सोमबार हस्ताक्षर भएको हो ।

यो सम्झौतापश्चात् मेगा बैंकले रोराङ्ग गाउँपालिका, धादिङ्गका साना किसान, व्यवसायीका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

उक्त कार्यक्रममा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीहरुलाई आ—आफ्नो पक्षबाट बेनिघाट रोराङ्ग गाउँपालिकाका उद्यमीहरुलाई सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा प्रदान गर्ने सिलसिलामा भरपुर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । उक्त कार्यक्रममा बैंकले गाउँपालिका तथा उद्योग वाणिज्य संघसँग आवद्ध साना किसान, लघु, घरेलु तथा साना उद्यमीहरुलाइ प्राथमिकताका साथ बंैकको मलेखु, धादिङ स्थित शाखा कार्यालयबाट सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने व्यहोरा बैंकका तर्फबाट विभागीय प्रमुख पुण्यप्रसाद खनियाले जानकारी गराए ।

महानगरपालिकाद्धारा पाटन अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ । ललितपुर महानगरपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)लाई एक करोड सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र अस्पतालका निर्देशक डा रवि शाक्यले आज सम्झौतापत्रमा हस्ताक्षर गरी उक्त रकमको चेक हस्तान्तरण गरे ।

सो क्रममा नगरप्रमुख महर्जनले मुलुक लगभग १० महिनादेखि कोभिड महामारीमा परी मर्माहत अवस्था सिर्जना खडा हुँदा पाटन अस्पतालले उत्कृष्टरुपमा मुलुकका ७७ जिल्लाका मानिसलाई सेवा दिन सफल भएको भनाइ राखे । उनले भने, “अस्पतालले माग गरेअनुरुपको शव भण्डारण गृहको पनि व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।” वाग्मती अञ्चलको १३ जिल्लामा रहेका अस्पतालमध्ये सो अस्पताल एक नम्बरको उत्कृष्ट सेवा दिन सफल भएको सरकारले चर्चा गरेको महर्जनले जानकारी गराए।

अस्पतालका निर्देशक शाक्यले कोरोनाका बिरामीलाई सेवा गर्दै जाँदा महानगरपालिकाले अक्सिजन प्लान्ट खरीद गरिदिएर महत्वपूर्ण सहयोग प्राप्त भएको बताए । उनले भने, “महानगरपालिकाले अस्पतालको आवश्यकता पूर्ति गरी अभिभावकत्व ग्रहण गरिदिएको छ । विगत १० वर्ष पहिले खरीद गरेको प्लान्ट कोरोना कहरको समयमा बिग्रिएकाले दैनिक लगभग तीन सय सिलिण्डर अक्सिजन पूर्ति गर्न ज्यादै मर्का परेको थियो ।” सो प्लान्टले एक मिनेटमा एक हजार २०० लिटर अक्सिजन उत्पादन गर्न सफल हुने शाक्यले जानकारी गराए ।

महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटन अस्पताल मुलुकका उच्चदेखि निम्न वर्गका मानिसलाई सर्वसुलभ सेवा सुविधा दिन सफल भइरहेको धारणा राखे । सामाजिक विकास समितिका संयोजक तथा वडा नं २४ का वडाध्यक्ष दिनेश कार्कीले पाटन अस्पताललाई देशकै नमूना अस्पतालको रुपमा विकास गर्ने गरी सुधारका कामहरु भइरहेको जानकारी दिए ।

उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

काठमाडौँ । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।

“मैले अमेरिकाको सिनेट सदस्य पद मात्रै छाडेकी हुँ, सिनेटबाटै विदा लिएको छैन, म सिनेटमै रहन्छु,” उनले ट्वीटरमा लेखेकि छन् ।

अमेरिकामा उपराष्ट्रपति नै सिनेटको अध्यक्ष हुने व्यवस्था रहेकाले उनी उपराष्ट्रपतिमा निर्वाचित भएकाले स्वतः सिनेटको अध्यक्ष बनेकी हुन् ।

सिनेट सदस्यबाट राजीनामा दिएपनि अध्यक्ष हुने भएकाले सिनेटबाट विदा नभएको उनले बताए ।

अमेरिकाको सिनेटमा अहिले डेमोक्र्याटिक र रिपब्लीकन दुवै पक्षका ५०–५० जना सदस्य रहेका छन् ।

ह्यारिस डेमोक्र्याटको तर्फबाट उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उनीसँगै उनकै पार्टीका जो बाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएकि हुन् । दुवै जनाले यही जनवरी २० तारिखमा सपथग्रहण गर्दै ह्वाइट हाउस प्रवेश गर्न लागेकी हुन् ।

नौ दिनदेखि खानीमा फसेका श्रमिकलाई औषधि तथा खाना

काठमाडौँ । नौ दिनदेखि खानीभित्र फसेका चिनियाँ श्रमिकहरूका लागि खानीभित्र खाना र औषधि पठाउन सफल भएको मङ्गलबार चिनियाँ अधिकारीहरूले उद्धारकर्तालाई उद्धृत गरी जानकारी गराएका छन् ।

औषधि तथा खानेकुरा तीनवटा च्यानलबाट खानीमा पठाउन सफल भएपछि श्रमिकहरूको उद्धारमा सफलता मिल्ने आशा बढेको उद्धारकर्ताहरूले मङ्गलबार जानकारी गराएका छन् । खानीको करिब ५०० मिटरको गहिराईमा उनीहरू फसेको उल्लेख गरिएको छ ।

पूर्वी चीनको शेन्दोङ प्रान्तको यान्ताई नजिकै रहेको सुनखानीमा जनवरी १० मा विष्फोट भई पहिरो खस्दा २२ व्यक्ति खानीभित्र फसेका थिए । उनीहरू खानीबाहिर आउनका लागि बनाएको भर्याङ भत्किएको र उनीहरू बाहिर निस्किने बाटो अवरूद्ध बनेको थियो ।

गत शनिबार खानीभित्रबाट सहयोगका लागि आवाज (सङ्केत) आएपछि खानीभित्र फसेका कामदारलाई जीवितै उद्धार गर्ने आशा पलाएको थियो । आइतबार उनीहरूसम्म तार पु¥याईएको थियो र तारमा श्रमिकले आफूहरूमध्ये करिब एक दर्जन व्यक्ति खानीभित्र पानीले घेरिएको अवस्थामा जीवितै रहेको भन्दै औषधि तथा उद्धारका लागि आग्रह गरेका थिए । खानीमा फसेका १० जनाको अवस्था भने अहिलेसम्म अज्ञात रहेको बताइएको छ । पत्रमा आफूहरूमध्ये धेरैजना घाइते भएका उल्लेख गरिएको छ । भोकले निकै कमजोर बनेका दुई श्रमिकले खाना पाएपछि पुनः माथि चढ्ने बल मिलेको समेत फसेका श्रमिकले उद्धारकर्ताहरूलाई सन्देश पठाएका छन् ।

उद्धारको काम भइरहे पनि निकै खानीको प्रकृतिले गर्दा प्रगति निकै सुस्त रहेको स्थानीय सहरका एक उच्च अधिकारी चेन फेईले बताउनुभयो । उहाँले ग्रेनाइट (पथ्थर) फोडेर उद्धार गर्नुपर्ने भएकोले सुस्त नतिजा आउको पुष्टि गरे ।

फसेका श्रमिकहरू रहेको स्थानमा धेरै पानी भएकाले यो उनीहरूका लागि खतरा हुनसक्ने उनले बताए । चेनका अनुसार खानीमा करिब दुई दिनका लागि खाद्यान्न पठाइएको छ भने सम्पर्कका लागि एउटा टेलिफोन लाइन पनि उनीहरूलाई उपलब्ध गराइएको छ ।

बिएसएल ‘टु प्लस’ प्रयोगशाला निर्माणको लागि कृषि मन्त्रालय र विश्वविद्यालयबीच समझदारी, के हो त बिएसएल ?

काठमाडौँ । बागमती प्रदेशमा पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अध्ययन, अनुसन्धान तथा छिटो छरितो रोग अन्वेषण गर्ने उद्देश्यले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश र कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवन बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनमा अत्याधुनिक बायो सेफ्टी लेभल (बिएसएल) टु प्लस प्रयोगशाला निर्माण गरी हस्तान्तरणको लागि मन्त्री दावा दोर्जे लामा तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. पुण्य प्रसाद रेग्मीको समुपस्थितिमा हिजो एक कार्यक्रमका बिच द्विपक्षिय समझदारी भएको हो ।

मन्त्रालयको तर्फवाट सचिव डा. मतिना जोशी बैद्य र कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुर, चितवनको तर्फवाट प्राध्यापक तथा रजिस्ट्रार डा. शारदा थपलियाले हस्ताक्षर गरेका हुन् ।

के हो बायो सेफ्टी लेभल (बिएसएल) ?
सुविधा सम्पन्न प्रयोगशालामा खतरानाक तथा हानिकारक जिवाणु वा विषाणुहरुलाई अलग गराउन अपनाईने सावधानीलाई बायो सेफ्टी लेभल (बिएसएल) भनिन्छ । न्युनतम बायो सेफ्टी लेभल १ देखि अधिकतम ४ सम्म हुनेछ । बायो सेफ्टी लेभल–टु प्लस प्रयोगशालाबाट ‘बर्ड फ्लु’ लगायतका भाईरस तथा पशुपन्छीमा लाग्ने ब्याक्टेरियाहरुको अनुसन्धान तथा अन्वेषण हुनेछ ।

उक्त प्रयोगशाला नेपालमा दोस्रो र काठमाडौँ उपत्यका बाहिर पहिलो प्रयोगशाला हुनेछ । प्रयोगशाला निर्माणबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई ज्ञान र सिपको थप विकास हुनुको साथै कृषक व्यवसायीहरुलाई समेत फाईदा हुनेछ । प्रयोगशाला सञ्चालनको जिम्मेवारी विश्वविद्यालयको रहनेछ ।

कार्यक्रममा प्रमुखअतिथि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेश का मन्त्री दावा दोर्जे लामाले प्रयोगशाला निर्माणको लागि मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन तयार गरिसकेको र निर्माण कार्य अगाडी बढाउन टेन्डर प्रक्रिया चाडै नै हुने बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा। पुण्य प्रसाद रेग्मीका अनुसार प्रदेश सरकारले शैक्षिक क्षेत्रमा गरेको लगानी खेर नजाने र यस्तो सहयोगले विश्वविद्यालयबाट उत्पादन हुने विद्यार्थीको गुणस्तर वृद्धि हुनुको साथै पशुपन्छी तथा मत्स्यमा लाग्ने रोगहरुको अध्ययन, अनुसन्धान तथा छिटो छरितो रुपमा रोगको अन्वेषण गर्न सहयोग हुनेछ । प्रदेश सरकारको सहयोगबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई नमुना विश्वविद्यालय समेत बनाउन सकिने उनको भनाई छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक तथा रजिस्टार डा। शारदा थपलियाले नेपालमा कोभिड(१९ को माहामारी पछि रोगको परिक्षण तथा अध्ययन अनुसन्धानमा नेपालमा यस्तो किसिमको प्रयोगशालाको आवश्यकता महसुस भएकोले प्रदेश सरकारसगँको पटक पटकको छलफलवाट प्रयोगशाला निर्माण गर्ने तय भएको बताइन् ।

प्रयोगशाला निर्माण पश्चात सञ्चालनको सम्पूर्ण जिम्मा विश्वविद्यालयले लिने र प्रयोगशालालाई बढी भन्दा बढी उपयोग गर्ने र अध्ययन अनुसन्धानमा सेवा दिने प्रतिबद्धता जनाएका छन् । साथै प्रदेश सरकारबाट भेटेरिनरी एम्बुलेन्स, अध्ययन अनुसन्धान तथा स्नाकोत्तर विद्यार्थीलाई फेलोसिपको समेत सहयोग हुने पनि उनले बताइन् ।

सचिव डा. मतिना जोशी बैद्यले मन्त्रालयले बागमती प्रदेशमा व्यवसायिक पशुपन्छीपालनबाट पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर उन्मुख रहेको अवस्थामा यस प्रकारको प्रयोगशाला स्थापनाबाट पशुपन्छीमा लाग्ने रोगको अध्ययन, अनुसन्धान तथा अन्वेषणमा कोशे ढुङ्गा सावित हुने बताएकी छिन् ।

प्रयोगशाला सेवाबाट विश्वविद्यालयमा भएका दक्ष जनशक्ति तथा श्रोतको उपयोग समेत हुनेछ । भविष्यमा विश्वविद्यालयमावाट कृषि क्षेत्रको विकासको लागि सहयोग हुनेछ ।

बागमती प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आ।व। २०७७–७८ को वार्षिक कार्यक्रममा प्रयोगशाला स्थापना तथा हस्तान्तरणलाई बहुवर्षिय आयोजनाको रुपमा बजेट विनियोजन गरेको छ । प्रयोगशाला निर्माणको लागि अनुमानित बजेट १६ करोड ३८ लाख रुपैयाँको व्यवस्था मन्त्रालयले गर्नेछ ।

यी हुन् समझदारी पत्रमा समावेश भएका बुँदाहरु ?
१. प्रदेश स्तरको आधुनिक बायो सेफ्टी लेभल(टु प्लस प्रयोगशालाको निर्माण मन्त्रालयले गर्नेछ । प्रयोगशाला निर्माणको लागि आवश्यक पर्ने बजेट मन्त्रालयद्वारा विनियोजन गरिनेछ ।

२. प्रयोगशाला स्थापनाको लागि आवश्यक पर्ने जमिनको व्यवस्था विश्वविद्यालयले आफ्नो परिसर भित्र गर्नुपर्नेछ ।

३. मन्त्रालयले बि।एस।एल(टु प्लस प्रयोगशाला निर्माण पश्चात विश्वविद्यालयलाई हस्तान्तरण गर्नेछ।

४. प्रयोगशालाको सञ्चालन तथा मर्मतको लागि आवश्यक खर्च र दिगोपनको सम्पूर्ण जिम्मेवारी विश्वविद्यालयको हुनेछ ।

५. प्रयोगशाला सञ्चालनको विधि प्रक्रिया सम्बन्धमा मन्त्रालय र विश्वविद्यालय विच सहमतिमा तयार भएको कार्यविधि बमोजिम हुनेछ ।

६. विश्वविद्यालयले कृषकरव्यवसायी एवम् सरोकारवालाहरुलाई प्रयोगशाला सम्बन्धि सेवाहरु प्राथमिकताका साथ सर्वसुलभ एवम् सहज ढंगबाट प्रदान गर्नुपर्नेछ ।

७. प्रयोगशाला निर्माणको दौरानमा कुनै समस्या, अप्ठ्यारो एवं दुविधा उत्पन्न भएमा आपसी समझदारीबाट समाधान गरिनेछ ।

८. यो समझदारी पत्रमा उल्लेख भएका बुदाँहरु यसै वमोजिम र अन्यको हकमा प्रचलित ऐन नियम बमोजिम हुनेछ ।

प्रधानमन्त्री ओलीमा पुर्व राजाकै भाषा गन्हाउँछः प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा जस्तै ह्वास्सै गन्हाएको बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई मंगलबार काठमाडौमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको पनि बताए । उनले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको ९बच्चा०को हत्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नुपरेको बताए ।

प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र त्यसमा राजाकै भाषा प्रयोग गरिएको बताए । ‘प्रधानमनत्री ओलीको भाषामा राजाकै भाषा ह्वास्स गन्हाएको छ’ प्रचण्डको भनाई छ । उनले ओलीले राजतन्त्र पुनःस्थापना र देशलाई विध्वंश गर्ने प्रतिक्रान्तिको योजना जसरी पनि असफल पार्नुपर्ने बताए । उनले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नु सवैको दायित्व भएको बताए । त्यसक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले पटकपटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरुवात गरेको बताए ।

प्रचण्डले ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै पार्टीले गर्दा संसद विघटन गर्नुपरेको भनेर कूतर्क गरिरहेको बताए । ‘पार्टी र देशको संविधानलाई पनि कुल्चेर उहाँ निरंकुश शासक बन्ने प्रयास गर्नुभयो । उहाँलाई म गाली गर्दिन । तर्क गरिरहेको छु । पूर्व एमालेमा खेल्यो भन्नुहुन्छ । माधव नेपाल, झलनाथ खनाललाई विश्वासमा लिन नसक्ने भर्खरै एकता गरेको प्रचण्डले कसरी विश्वासमा लिन सक्यो केपी ओलीजी म प्रश्न गर्न चाहान्छु’ प्रचण्डले प्रश्न गरे । उनले ओलीको निरंकुश र दम्भका कारण अहिलेको अवस्था आएको भन्दै प्रचण्डले गत माघमा केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओली आत्तिन थालेको बताए ।

उनले ओलीको हातमा अब केही पनि नरहेको र ओलीले हारिसकेको बताए । प्रचण्डले हिटलर र गोर्भाचोभसँग तुलना गर्दै ‘अब केपीको हातमा केही पनि छैन, प्रष्ट बुझ्नुहोला । जुन दिन केपीले संसद विघटन गर्नुभयो त्यो दिनदेखि केपीको हात सकियो । अन्तै छ चिजहरु ।’ उनले अन्ततः फैसला गर्ने निर्वाचन आयोगलाई आफुले केही नभने पनि सही फैसला हुन्छ भन्नेमा विश्वस्त रहेको बताए ।

उनले अन्ततः जनताले मात्रै सहि फैसला दिने भएकाले आफुहरु जनतामा गएको बताए । केपी ओलीले आयोग र सर्वोच्चलाई धम्क्याउदै हिँडेको र सेटिङ गरेको भन्ने केपी गुटलाई प्रश्न गर्नुपरेको प्रचण्डले बताए । देश भाँडमा जाने ओलीको कर्मको फल ओलीले चाँडै भोग्ने बताउँदै प्रचण्डले प्रेस संगठनलाई प्रतिगमनको दुस्साहसलाई पराजित गर्नेगरी आन्दोलनको आँधीहुरी ल्याउनका लागि अघि बढ्न आग्रह गरे ।

नागरिक एपमा समस्या आएपछि अर्को एप बनाइँदै

काठमाडौँ । नेपाल सरकारले गत माघ २ गते नागरिक एप सञ्चालन गरेको थियो । तर सार्वजनिक गरेको ‘नागरिक एप’मा केही समस्या देखिएपछि सो समस्या हटाउन नयाँ एप बन्ने भएको छ । सबै सार्वजनिक सेवा एउटै एपबाट दिनेगरी संचालनमा ल्याइएको नागरिक एपमा आएको समस्या हटाउन सरकारले अर्को अनलाइन प्रणाली बनाउन सुरु गरेको हो।

धेरै सेवाग्राहीको नागरिकता नम्बर मेल नखाएकोले नागरिकतामा भएका सानातिना गल्ती सच्याउन अनलाइन प्रणाली विकाश गर्न लागिएको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए।

‘नागरिकताको विवरण मिलेन भन्ने धेरै गुनासो आयो। गुनासोलाई द्रुतरुपमा सम्बोधन गर्न हामीले यो प्रणाली विकाश गर्न लागेका हौँ। सम्भवत अर्को एप हुन्छ होला,’ लामिछानेले भने। नयाँ प्रणाली बनेपछि नागरिकतामा भएका कमजोरी घरमै बसेर सच्याउन सकिने उनले बताए।

सेवाग्राहीले नागरिकताको फोटो खिचेर त्यो प्रणालीमा दाखिल गरेपछि प्रमाणित हुन्छ। कसैको प्रमाणित हुन समस्या भए जिल्लाबाटै प्रमाणित गराउँछौँ। नागरिकले दुःख पाउन पर्दैन,’ उनले भने।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले मन्त्रालयमा पत्रकार सम्मेलन गरी नागरिक एपको सार्वजनिक गरेका हुन्।

नागरिकलाई सार्वजनिक सेवा प्रवाहमा सहजता ल्याउन तथा सबै प्रकारका काममा अनलाइन प्रणाली अपनाउन नागरिक एपको सञ्चालन गरीएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले जानकारी दिए। सेवाग्राहीले अब लामो लाइन र झन्झटिलो प्रक्रिया अपनाउनु नपर्ने उनको भनाइ छ।

नागरिक एप आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बरको आधारमा नेपाल टेलिकम र एनसेलको सिममार्फत् प्रयोग गर्न सकिने जनाइएको छ।

सेवाको लागि प्रयोगकर्ताले आफ्नो नागरिकता, मतदाता वा राहदानीमध्ये कुनै एकको विवरण उल्लेख गर्नुपर्ने छ।

नेपाल लाइफको एजीएम माघ २८ मा, ५१ प्रतिशत लाभांश पारित गर्ने

काठमाडौं ः नेपाल लाइफ इन्सुरेन्सले माघ २८ गते वार्षिक साधारण सभा गर्ने सुचना जारी गरेको छ । कम्पनीले ३१ प्रतिशत बोनस सेयर र करसहित २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

यता, नेपाल लाइफले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिसेयर मूल्य १०० रुपैयाँलाई परिवर्तन गरी प्रतिसेयर मूल्य ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिसेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ ।

साधारण सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे सुरु हुनेछ । सभा गर्न कम्पनीले माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्नेछ । माघ १३ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

के तपाईलाई थाहा छ? हाल हरेक दिन १० वर्षमुनिका एक जना बालिकामाथि बलात्कार भएको छ

काठमाडौँ । नेपाल प्रहरीका अनुसार प्रत्येक दिन औसतमा १० वर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक वर्ष २०७७–७८ को साउनदेखि मंसिरबीचको पाँच महिनामा मात्रै १० वर्ष मुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका छन् ।

यही अवधिमा ११ देखि १६ वर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक छ । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० वर्ष उमरमुनिका ३० बालिका बलात्कृत भएका छन् ।

यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका बलात्कृत भएका छ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

निर्वाचन आयोगका सहसचिवको सरुवा कानुनविपरित

काठमाडौँ । निर्वाचन अवधिमा निर्वाचन काममा खटिएका कर्मचारीको सरुवा गर्न वा काजमा खटाउन नपाउने कानुनी व्यवस्थाविपरीत सरकारले आयोगका एक सहसचिवलाई सरुवा गरेको पाइएको छ ।

आयोगको कानुन तथा राजनीतिक दल महाशाखा प्रमुख सहसचिव लक्ष्मीप्रसाद गौतमलाई गत साता गरिएको सरुवा निर्वाचन आयोग एनेको व्यवस्था विपरीत छ ।

ऐनको दफा १९(५) मा प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए पनि निर्वाचन अवधिभर आयोगको स्वीकृतिबिना कुनै पनि कर्मचारीलाई सरुवा गर्न वा काज खटाउन नपाइने उल्लेख छ । सोही ऐनले निर्वाचन हुने मितिभन्दा १ सय २० दिन अगाडिदेखि निर्वाचनको परिणाम सार्वजनिक नभएसम्मलाई निर्वाचन अवधि भनेको छ ।

वैशाख १७ मा हुने भनिएको प्रतिनिधि सभा निर्वाचनका लागि पुस २० गते नै निर्वाचन अवधि सुरु भइसकेको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

आजको मौसमः विभागको पूर्वानुमान यस्तो छ !

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेको आजको मौसम पूर्वानुमान अनुसार आज देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ ।

महाशाखाले हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको जानकारी दिएको छ ।

अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहेको र तराईका भूभागहरुमा हुस्सु र कुईरो लागेको जनाएको छ ।

यसैगरी, आज दिउँसोको मौसमबारे गरिएको पूर्वानुमानका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

राति भने प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकि भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

केयूको उपकुलपतिमा माकाजुसहित तीन जना छनोट

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)को उपकुलपतिमा डा. रामकण्ठ माकाजुसहित तीन जनाको नाम सिफारिस भएको छ । सर्च कमिटीले झण्डै चार दर्जन आकांक्षीहरुमध्येबाट माकाजुसहित ३ जनाको नाम छनोट गरेको हो ।

केयूको उपकुलपति बन्न इच्छा देखाउँदै ४४ जनाले शिक्षा मन्त्रालयमा निवेदन दिएका मध्ये शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको सर्च कमिटीले डा. माकाजु, केयूका पूर्वरजिष्ट्रार डा. भोला थापा र शिक्षा विभागका बालचन्द्र लुइँटेलको नाम छनोट गरेको हो ।

संक्षिप्त सूचीमा परेका माकाजु, थापा र लुइँटेलको नामावलीलाई अब कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पठाइने छ र प्रधानमन्त्री ओलीले कुनै एक जनालाई केयूको उपकुलपति नियुक्त गर्ने शिक्षा मन्त्रालयका एक अधिकारीले बताए । उपकुलपतिको कार्यकाल चार वर्षको हुन्छ ।

माकाजुले केयूको उपकुलपतिको रुपमा लगातार दोस्रो कार्यकाल पूरा गरिसकेका छन् । उनैलाई फेरि सर्च कमिटीले तेस्रो कार्यकालका लागि पनि सिफारिस गरेको छ । आठ वर्षे कार्यकालमा माकाजु विवादित बनेको भन्दै केयूमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले एउटै व्यक्तिलाई पटक–पटक नेतृत्व नसुम्पिन दबाबमुलक कार्यक्रम गर्दै आएको छ ।

केयूका उपकुलपति डा. माकाजुको पछिल्लो कार्यकाल यही माघ १० गते सकिँदै छ ।

केयूको ८८ औं सिनेट बैठकले उपकुलपति छनोट गर्न सहकुलपतिसमेत रहेका शिक्षामन्त्री श्रेष्ठको नेतृत्वमा सर्च कमिटी गठन गरेको थियो । सर्च कमिटीमा केयूको बोर्ड अफ ट्रष्टीका प्रमुख दमननाथ ढुंगाना र केयूका पूर्व उपकुलपति सुरेश राज शर्मा सदस्य छन् । ढुंगाना र शर्मा माकाजुलाई तेस्रो कार्यकाल पनि उपकुलपति बनाउनुपर्ने पक्षमा उभिएका छन् ।

माकाजुले ढुंगानालाई बोर्ड अफ ट्रष्टीमा राख्ने र ढुंगानाले माकाजुलाई नै उपकुलपति नियुक्तिमा सिफारिस गर्ने श्रृंखला वर्षौंदेखि चल्दै आएको भन्दै कतिपयले विरोधसमेत जनाएका छन् ।

तारकेश्वरमा ऐतिहासिक साङ्ला पोखरी निर्माण

काठमाडौँ । तारकेश्वर नगरपालिका–१ स्थित साङ्लामा ऐतिहासिक साङ्ला पोखरी निर्माण गरिएको छ । करिब एक रोपनी जग्गामा फैलिएको सो पोखरी नगरपालिकाको रु ३९ लाख बजेटमा निर्माण सम्पन्न भएको नगर प्रवक्ता विदुर सापकोटाले जानकारी दिए ।

पोखरीको गहिराइ पाँच मिटर छ । धेरै वर्षअघि सङ्लो पानी बग्ने गरेकाले पछिसाङ्लोखोला भन्ने नामकरण रहन गएको भन्ने ऐतिहासिक मान्यता छ । उक्त पोखरीसँगै ऐतिहासिक उद्यान पनि निर्माण हुने नगरपालिकाले जनाएको छ ।

पहिलोपटक मेचीपारि प्रहरीको अस्यायी बिट

काठमाडौँ । पहिलोपटक मेचीपारिको नेपाल–भारत सीमानाकामा अस्थायी प्रहरी बिट बनेको छ । भद्रपुर नगरपालिका–५ स्थित मेचीपारिको सीमानाकामा रु १६ लाख ८० हजारको लागतमा पक्की भवन निर्माण गरी सोमबार उद्घाटन गरिएको हो । पुलका उद्घाटन भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले गरेका थिए ।

वडा प्रहरी कार्यालय, सामुदायिक प्रहरी सेवा केन्द्र र भद्रपुर नगरपालिकाको सहयोगमा अस्थायी प्रहरी बिट विसं २०७७ जेठ २४ गतेबाट निर्माणकार्य शुरु भई यही माघ ५ गते निर्माण सम्पन्न भएको थियो । सीमा क्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले मेचीपारि प्रहरी बिट स्थापना गरिएको नगरप्रमुख श्रेष्ठले बताउनुभयो । मेची नदीपारि पनि नेपाली बस्ती ठूलो छ । मेचीनगर नगरपालिका–१५, भद्रपुर– ५ र ३ मा नेपाली बस्ती रहेको छ ।