माघ १५ बाट विद्यालय सञ्चालनमा आउने

काठमाडौँ । कोरोना महामारीले बन्द रहेका सिमकोट गाउँपालिकाभित्रका भित्रका विद्यालय यही माघ १५ गतेबाट सञ्चालनमा आउने भएको छ । आइतबार बसेको कार्यपालिकाको शिक्षा समितिको बैठकले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । पालिकामा सामुदायिक २३ र निजी पाँच गरी २८ विद्यालय छन् । ती सबै विद्यालयले सामाजिक दूरी कायम गरी स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सञ्चालन गर्ने निर्णय भएको सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए ।

गाउँपालिकाले निजी तथा सामुदायिक ती विद्यालयका लागि स्यानिटाइजर उपलब्ध गराउने भएको छ भने मास्क स्वयं विद्यार्थीले आफ्नै खर्चमा लगाएर विद्यालय उपस्थित हुनुपर्ने जनाएको छ । यसभन्दा अगाडि गाउँपालिकाले गत कात्तिक १९ गतेबाट विद्यालय सञ्चालन गरेर एक हप्तासम्म पठनपाठन गरेको भए पनि उत्तरी नाम्खा गाउँपालिकाको महाबौद्ध माध्यमिक विद्यालय याल्वाङमा अध्ययनरत विद्यार्थीमा कोरोना देखिएपछि बन्द गरिएको थियो ।

जिल्लामाा फागुन पहिलो सातामा नयाँ शैक्षिक सत्र शुरु भई मङ्सिरमा वार्षिक परीक्षा भएर हिउँदे तीन महिना बिदा हुने गर्दथ्यो । विद्यार्थीको पढाइमा बाधा पुगेपछि १५ दिन अगाडि नै विद्यालय सञ्चालन गरिने भएको उनले जानकारी दिए । यस्तै जिल्लाका अन्य गाउँपालिकाका विद्यालय कोरोना त्रासले बन्द रहेका छन् ।

जिल्लामा हालसम्म ९१ मा कोरोना सङ्क्रमण देखिएको थियो ती मध्ये ९० निको भएर घर फिर्ता भइसकेका जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।

स्वयंसेविकालाई तालिम

खार्पुनाथ गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाका लागि नौ दिने तालिम सम्पन्न गरेको छ । साक्षर महिला स्वास्थ्य स्वयंसेविका छनोट गरेपछि पहिलोपटक उनीहरुलाई तालिम सञ्चालन गरिएको हो । नयाँ छनोट भएका साक्षर महिला स्वयंसेविकाले बालबालिकालाई कसरी पोलियो खुवाउने, समाजमा देखिने स्वास्थ्य समस्याका विषयमा कसरी छिटोछरितो जानकारी गराउने, समुदायस्तरमा हुने विभिन्न स्वास्थ्यका लागि पोषण कार्यक्रम, खोप कार्यक्रम, संस्थागत सुत्केरी, परिवार नियोजन कार्यक्रम र राष्ट्रिय कार्यक्रममा भिटामिन, अलबेण्डा झोललगायतका कार्यक्रम प्रभावकारी ढङ्गले सञ्चालन गर्नका लागि महिला स्वयंसेविकाले खेल्नुपर्ने भूमिकालगायतका विषयमा जानकारी गराइएको थियो ।

महिला स्वयंसेविकालाई गत पुस २३ गतेबाट शुरु भएर आइतबार तालिम सम्पन्न भएको खार्पुनाथ गाउँपालिका स्वास्थ्य संयोजक बलिराज शाहीले जानकारी दिए । तालिममा वडा १ देखि ५ सम्मका गरेर ३४ महिलाको सहभागिता रहेको संयोजक उनले जानकारी दिए ।

पत्थरडाँडा–तिनाउ सडक विस्तार शिलान्यास

तिलोत्तमा नगरपालिकाको पत्थरडाँडा चोकबाट पश्चिम हुँदै तिनाउ नदीसम्म जाने सडक विस्तार कार्यको सोमबार शिलान्यास गरिएको छ । क्षेत्राधिकार ५२ फुट कायम गरी नाली, पेटीसहित सडकलाई दुई लेनमा विस्तार गर्ने कार्यको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले वडा नं १३ को तीनधुरेमा शिलान्यास गरे ।

तिलोत्तमा नगरपालिकाद्वारा प्रस्तावित प्रादेशिक बसपार्क स्थलसम्म पुग्ने यो सडकको लम्बाइ छ दशमलव आठ किलोमिटर छ । नदीजन्य पैदावार ओसारपसार गर्ने निकासी सडकका रूपमा परिचित यो सडक विस्तार कार्यको लागत रु ३४ करोड अनुमान गरिएको छ । स्थानीय जनप्रतिनिधिको सक्रियतामा क्षेत्राधिकार कायम गराइएको यो सडक बहुवर्षीय ठेक्का लगाएर दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य लिइएको छ । वडा नं १३ र १४ को विकासमा महत्वपूर्ण टेवा पु¥याउने यो सडक निर्माणलाई तीनै तहका जनप्रतिनिधिले विशेष महत्व दिँदै आएका छन् ।

कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले सडक निर्माणमा स्थानीय जनप्रतिनिधिले देखाएको तत्परताको प्रशंसा गर्दै बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए । जग्गाको सुनिश्चितता गराउने जिम्मेवारी नगरपालिकाको भएको बताउँदै उनले सडक निर्माणमा मुअब्जा दिने प्रदेश सरकारको नीति नरहेको स्पष्ट पारे ।

सोही कार्यक्रममा प्रदेशसभा सदस्य तुलसी चौधरी, रमा अर्याल, सन्तोष पाण्डेयले विकासको मुख्य आधार सडक रहेको हुँदा सडक विस्तारमा सबैको सहयोग र सहकार्य अपरिहार्य रहने बताए ।

तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको सहकार्यमा नगरका प्रमुख सडकलाई विस्तार गरी स्तरीय बनाउने कार्यलाई प्राथमिकता दिइएको बताए । उनले सडक विस्तार कार्यमा आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रहसमेत गरे ।

दुर्घटना नियन्त्रण गर्न समय निर्धारण

काठमाडौँ । सवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सयम निर्धारण प्रणाली (टाइम कार्ड) कार्यान्वयनमा ल्याएको छ । पाल्पाको दोभानबाट बुटवल धागो कारखाना, धागो कारखानाबाट सुनवल र दोभानबाट भैरहवा अञ्चलपुरसम्म चल्ने टिपरका लागि सयम निर्धारण गरिएको हो ।

टिपअनुसारको ज्याला पाउने भएकाले अत्यधिक गतिमा टिपर चलाउँदा दुर्घटना बढेका कारण अनिवार्य समय निर्धारण गरिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालयले सोमबार बुटवलमा पत्रकार भेटघाट गरी जानकारी गराएको छ । दोभानबाट धागोकारखानासम्म ११ किलोमिटर दूरी ३३ मिनेट समयमा पुग्ने गरी सयम तोकिएको छ । धागो कारखानाबाट सुनवलसम्म २३ किलोमिटरको दूरी ४६ मिनेटमा र दोभानबाट भैरहवा अञ्चलपुरसम्मको २८ किलोमिटर दूरी ५६ मिनेटमा पुग्ने गरी सयम निर्धारण गरिएको ट्राफिक प्रहरी प्रमुख डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

टाइम कार्ड लिएका टिपरले प्रहरी चौकीमा अनिवार्य प्रवेश (इन्ट्री) गराउनुपर्ने छ । तोकिएको समयभन्दा छिटो नै टिपर पुगेमा नियमअनुसारको कारवाहीमा पर्नेछन् । प्रत्येक टिपर चालकलाई एक÷एकवटा सयम निर्धारणका कार्ड वितरण गरिने र सो कार्ड देखाइ तोकिएको स्थानमा इन्ट्री गराउनुपर्ने र इन्ट्री नगराइ गएमा जरिवाना लाग्ने ट्राफिक प्रहरी प्रमुख विकले बताए सयम निर्धारण भएपछि टिपरको तीव्रगतिलाई रोक्नुका साथै दुर्घटनामा कमी ल्याउने र यात्रुलाई सडकमा यात्रा गर्न सजिलो हुने उहाँले विश्वास व्यक्त गरे ।

सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले सडक लेनको प्रयोगबारे सवारी चालक र यात्रुलाई सचेत बनाउने कामसमेत शुरु गरेको जनाएको छ । सडकमै यात्रु तथा चालकलाई लेनको अनुशासनबारे सचेत गराउने काम भइरहेको छ । सडक सुरक्षाका लागि नयाँ प्रहरीलाई प्रशिक्षित गरी सडकमा खटाउने तयारी गरेको ट्राफिक प्रहरी प्रमुख विकले भने । “अहिले ३० ट्राफिक प्रहरीलाई तालिम दिइरहेका छौँ, थप गरी सडक व्यवस्थापनका लागि परिचालन गर्दैछौँ”, उनले भने ।

प्रहरीले सवारी दुर्घटना बढ्दै गएपछि सडक सुरक्षाका लागि विभिन्न कार्यक्रम अघि सारेको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो छ महिनामा लुम्बिनी प्रदेशमा १६ दशमलव ५५ प्रतिशतले दुर्घटना वृद्धि भएको छ । आर्थिक वर्ष २०७७ साउन १ देखि पुस मसान्तसम्म ९०१ सवारी दुर्घटना भएका छन् । गत वर्षको साउनदेखि पुस मसान्तसम्म ७७३ दुर्घटना भएका थिए । सवारी दुर्घटना बढे पनि मानिसको मृत्यु भने कम भएको छ । पछिल्लो छ महिनामा २५६ को मृत्यु भएको छ भने अघिल्लो वर्षको छ महिनामा २७६ को मृत्यु भएको थियो । प्रहरीले सडक सुरक्षा र जनचेतनाका लागि सडकमा डमी ट्राफिक प्रहरीको प्रयोगसमेत गरेको छ । बुटवल, भैरहवा र कपिलवस्तुको बुद्धभूमि चोकमा गरी १० डमी ट्राफिक प्रहरी प्रयोग गरिएको हो ।

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना नियन्त्रणका लागि प्रहरीले अघि सारेका कार्यक्रममा सबैको सहयोग र सहकार्य आवश्यक रहेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

असुरक्षित बन्दै काँक्रेविहारका जनावर

काठमाडौँ । सुर्खेतको बुलबुले तालमा आइतबार बिहान घाइते अवस्थामा जरायो फेला प¥यो । वीरेन्द्रनगर–९ स्थित काँक्रेविहार वन क्षेत्रमा बासस्थान रहेको जरायो तालमा फसेको सूचना पाउने बित्तिकै डिभिजन वन कार्यालयबाट खटिएको टोलीले जीवित अवस्थामै उद्धार गर्न त सफल भयो तर जरायो बाँचेन । उपचारकै क्रममा सोमबार साँझ उक्त जरायोको मृत्यु भयो ।

पछिल्लो यो घटना मात्र होइन, काँक्रेविहार क्षेत्रका जरायोहरु मृत वा घाइते अवस्थामा भेटिनु सामान्यजस्तै बनेको छ । यस वर्ष वैशाखयता एक मृत र चार जरायो घाइते अवस्थामा फेला परिसकेका छन् । वीरेन्द्रनगर–९ लाटीकोइलीका स्थानीय केशव कोइरालाले दुर्लभ जनावर जरायो दैनिक आक्रमणमा परिरहँदा सम्बन्धित निकायले संरक्षणमा बेवास्ता गरेको आरोप लगाए। “काँक्रेविहारजस्तो संरक्षित वन क्षेत्रभित्रै जरायो, मृगलगायतका जनावर असुरक्षित बन्नुपर्ने अवस्थाप्रति सम्बन्धित निकायले कानमा तेल हालेर बसेका छन्”, उनले भने, “डिभिजन वन कार्यालयले यसको संरक्षणमा बेवास्ता गर्दा चोरी शिकारी बढ्यो, वन क्षेत्रमा पर्याप्त चरिचरनको व्यवस्था गरिएन ।”

एक सय ७५ हेक्टर क्षेत्रफलमा फैलिएको काँक्रेविहार नेपालकै पहिलो संरक्षित वन क्षेत्रमा पर्दछ । यहाँ जरायो, मृग, बँदेललगायतका दुर्लभ वन्यजन्तुको बसोवास छ । चारैतिर बस्तीले घेरिएको काँक्रेविहार वन क्षेत्रमा अचेल काठ तस्करदेखि वन्यजन्तुको शिकारी गर्नेहरुको नजर पर्ने गरेको स्थानीय बताउँछन् । स्थानीयवासीका अनुसार सङ्गठित भएर चोरी शिकारी गर्नेले कुकुरसम्म प्रयोग गरेर जरायोलाई मार्ने गरेको पाइएको छ । जरायो वन क्षेत्र बाहिर निस्किँदा शिकार गर्ने समूहको नियन्त्रणमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी टेकबहादुर रावलले वन क्षेत्रभित्र चरिचरनको कमी, खानेपानी नपाउनुजस्ता कारणले जरायो आफँै बस्तीमा निस्कने गरेको बताए। “काँक्रेविहार वन क्षेत्रमा पानीका पोखरी छैनन्, पानी नपाउँदा प्यास मेट्न जनावर पानी खोज्दै बस्तीमा प्रवेश गर्छन्, त्यस्तो अवस्थामा स्थानीयवासीको आक्रमणमा पर्ने गरेको देखिएको छ”, उनले भने, “वन क्षेत्रमा क्षमताभन्दा बढी जनावर हुँदा चरिचरन क्षेत्रको कमी हुनपुग्यो, पानीपोखरी नहुँदा वन क्षेत्र बाहिर निस्कनुपर्ने बाध्यता आएको हो ।”

लाटीकोइलीका युवाहरुले गत साउनमा व्यक्तिगत लगानीमा वन्यजन्तुको चरिचरनका लागि घाँस रोपेका थिए । स्थानीयवासी लालबहादुर चौधरीले चरिचरन क्षेत्र बढाउनुपर्ने, पोखरीको व्यवस्था गनुपर्ने, आसपासमा वनरक्षकले गस्ती बढाउनुपर्ने बताए । साथै वन कार्यालयले पनि काँक्रेविहार संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

काँक्रेविहार क्षेत्रको संरक्षण तथा सुरक्षाका लागि प्रहरीको अस्थायी बिट र वन कार्यालयको आरक्ष केन्द्र स्थापना भए पनि वन्यजन्तु सुरक्षित हुनसकेका छैनन् । डिभिजन वन कार्यालयले भने नियमित गस्ती गर्नुका साथै घाइते जनावरका उद्धार तथा उपचारमा कुनै कमी हुन नदिएको दाबी गरेको छ । कार्यालयले पानीपोखरी निर्माण, तारबारलगायतका योजना अघि बढाउने कार्यक्रम रहेको जनाएको छ ।

आजदेखि पेट्रोल र डिजेलको भाउ बढ्यो

काठमाडौँ । पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढेको छ । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रुपैयाँका दरले इन्धनको मूल्य बढाइएको हो ।

समायोजित मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११० रुपैयाँ कायम हुनेछ। डिजेल र मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ कायम हुनेछ।

मूल्य समायोजनपछि पनि पेट्रोलमा ५ रुपैयाँ ३४ पैसा, डिजेलमा दुई रुपैयाँ ९६ पैसा प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ। एलपी ग्यासमा प्रतिसिलिन्डर १३४ रुपैयाँ ७२ पैसा घाटा रहेको जनाइएको छ।

अनलाइन सञ्चारमाध्यम नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वाेच्चमा रिट दर्ता

काठमाडौँ । अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नु पर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध रिट दायर गरेका हुन् ।

अधिवक्ताद्वयले नेपालको संविधान तथा सञ्चारसम्बन्धी कानुनले पत्रपत्रिकाको दर्ता कहिल्यै खारेज नहुने व्यवस्था गरेको अवस्थामा सूचना तथा प्रसारण विभागले दर्ता गरेर सञ्चालन अनुमति दिएका अनलाइन पत्रपत्रिकालाई भने हरेक आर्थिक वर्ष सकिएपछि नवीकरण गर्नै पर्ने बाध्यकारी व्यवस्था गरेर संविधानसँग बाझिने व्यवस्था गरिएकाले उक्त प्रावधान खारेजीको माग गरिएको छ । सो रिटको पेशी बुधवार तोकिएको सर्वोच्चले जनाएको छ ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन(पहिलो संशोधन) निर्देशिका २०७४ मा अनलाइन सञ्चारमाध्यम दर्ता भएपछि नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । एक पटक दर्ता भइसकेका अनलाइन समयमा नवीकरण नगरे सूचना तथा प्रसारण विभागले दर्ता खारेज गर्ने व्यवस्था गरेको छ ।

नेपालको संविधान २०७२ ले समेत प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छ । संविधानको धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक, धारा १९, धारा २७ ले सूचनाको हक प्रदान गरेको छ । रिट निवेदक अधिवक्ता गिरीले संविधानले प्रदान गरेको अधिकारलाई कानुन बनाएर व्यवस्थित गर्न सकिने बताए तर कानुनमै नभएको कुरा निर्देशिका जारी गरेर अङ्कुश लगाउन नहुने उनको भनाइ छ ।

खिम्ती आयोजना स्वामित्व हस्तान्तरण प्रकरण : थपिएको म्याद सिद्धिन लाग्दा पनि अन्योल कायमै

काठमाडौं । वैदशिक लगानीमा बनेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व सरकारलाई हस्तान्तरणका लागि थप गरिएको म्याद सकिनै लागे पनि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावर बीच ठोस सहमति जुट्न सकेको छैन । निजीक्षेत्रबाट सरकारलाई हस्तान्तरण हुन लागेको यो पहिलो जलविद्युत् आयोजना पनि हो ।

पूर्वनिर्धारित समयमा स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिएपछि दुवै पक्षबीच अन्तरिम सम्झौता भई आयोजना सञ्चालन भइरहेको छ । अन्तरिम सम्झौताको अवधि माघ मसान्तसम्म रहेको छ । तर, माघ मसान्त नजिकिँदै गर्दा पनि दुवै पक्षबीच स्वामित्व हस्तान्तरणका लागि ठोस सहमति नभएको पाइएको छ ।

नेपाल सरकार र प्रवर्द्धक कम्पनीबीच भएको सम्झौताअनुसार आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व गत असार २७ गतेदेखि प्राधिकरणमा आउनुपर्ने थियो । तर, निर्धारित मितिमा त्यो काम नभएपछि माघ मसान्तभित्र गर्नेगरी दुवै पक्षबीच अन्तरिम सम्झौता भएको थियो । अन्तरिम सम्झौताको म्याद सकिन लाग्दा पनि स्वामित्व हस्तान्तरणको आवश्यक प्रक्रिया अझैअगाडि बढ्न सकेको छैन ।

पछिल्लो अवस्थाअनुसार थप म्यादमा पनि स्वामित्व हस्तान्तरणको प्रक्रिया नटुंगिने निश्चितजस्तै देखिएको छ । प्राधिकरणका निर्देशक प्रबल अधिकारीले हाल यस विषयमा छलफल भइरहेको बताए । माघभित्र नै यसको प्रक्रिया पूरा असम्भव नै रहेको उनको भनाइ छ ।

हिमाल पावरले सन् २००० जुलाईदेखि सञ्चालनमा ल्याएको यो आयोजना निजीक्षेत्रको लगानीमा निर्माण गरिएको पहिलो जलविद्युत् आयोजना हो । तत्कालीन सरकार र कम्पनीबीच उत्पादन शुरू भएको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व प्राधिकरणको हुने गरी सम्झौता गरिएको थियो । आयोजनाबाट विद्युत् उत्पादन हुन लागेको गत असार २७ गते नै २० वर्ष पुगेको हो ।

सम्झौताअनुसार अबको ३० वर्षपछि सो आयोजनाको शतप्रतिशत स्वामित्व प्राधिकरणको हुनेछ । यसमा बुटवल पावर कम्पनी लिमिटेड, नर्वेको स्ट्याटक्राप्mट एसएफ, आलस्थम पावर एसलगायत कम्पनीको लगानी छ ।

स्वामित्व हस्तान्तरण प्रक्रिया टुंगो लगाउन प्राधिकरण र प्रवर्द्धक कम्पनी दुवैको स्वामित्व हुने गरी संयुक्त कम्पनी स्थापना गर्नुपर्ने हुन्छ । त्यसपछि सोही कम्पनीले नै प्राधिकरणसँग विद्युत किनबेच दर सम्झौता (पीपीए) गर्नुपर्ने हुन्छ । तर, अझै पनि संयुक्त कम्पनी स्थापना भएको छैन । साथै, पीपीएको विषयमा पनि ठोस सहमति नजुटेको बताइएको छ ।

हाल संयुक्त कम्पनी स्थापना गर्ने, पीपीएलगायत विषयमा छलफल भइरहेको बताइएको छ । तर, ठोस सहमति भने भएको छैन । अबको पीपीए भने नेपाली रुपैयाँमा नै हुने गरी दुवै पक्ष सहमत भने भएका छन् ।

आयोजनाको पीपीए अमेरिकी डलरमा भएको थियो । अन्तरिम सम्झौता अवधिका लागि भने प्रतियुनिट २ रुपैयाँमा विद्युत् किनबेच भइरहेको छ ।

हिमाल पावरका प्रतिनिधिहरू नेपालमा नहुँदा स्वामित्व हस्तान्तरणको प्रक्रिया प्रभावकारी रूपमा अगाडि नबढेको प्राधिकरणका नायब कार्यकारी निर्देशक (डीएमडी) रामजी भण्डारीले बताए । हिमाल पावरका उच्च पदस्थ अधिकारी हाल नर्वेमा छन् । कोरोना त्रासका कारण उनीहरू अझै नेपाल आउन सकेका छैनन् । पछिल्लो समय यस विषयमा भएको सबै छलफल भर्चुअल माध्यमबाट भएका हुन् । भर्चुअल माध्यमबाट छलफल गर्दा त्यति प्रभावकारी नभएको उनको भनाइ छ ।

स्वामित्व हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन तत्कालीन ऊर्जा सहसचिव प्रवीणराज अर्याललाई नेतृत्व दिइएको थियो । तर, उनी १ महीनाअघि नै सेवाबाट अवकाश भइसकेको छन् । उनको जिम्मेवारी अरू कसैलाई पनि तोकिएको छैन । त्यसको कारणले पनि यससम्बन्धी प्रक्रिया प्रभावकारी रूपमा अगाडि नबढेको उनको भनाइ छ ।

उक्त आयोजनाको विषयमा संसदीय समितिले गर्ने भनेको अध्ययन पनि हुन सकेको छैन ।

निर्धारित समयमा नै स्वामित्व हस्तान्तरण नभएपछि संघीय संसद्अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले उक्त आयोजनाको अध्ययन गर्ने भनेको थियो । प्रतिनिधिसभा विघटन भएपछि त्यो विषय थप अन्योल बनेको छ ।

समितिले गत साउनमा नै विद्युत् किनबेच दर सम्झौता (पीपीए) र आयोजना विकास सम्झौता ९पीडीए०लगायत दस्तावेज मगाएको थियो । यस विषयमा ऊर्जा पूर्वसहसचिव केशवध्वज अधिकारीलाई विज्ञका रूपमा बोलाएर छलफल पनि भएको थियो । तर, त्यसबाहेक थप प्रक्रिया अगाडि नबढेको बताइएको छ ।

संसदीय समितिका उपसचिव उदय भण्डारीले पछिल्लो समय उक्त विषयमा केही प्रगति नभएको बताए । यस सम्बन्धमा जानकारी विज्ञहरूको अभावका कारण पनि अध्ययनको काम समयमा शुरू गर्न नसकिएको उपसचिव भण्डारीले बताए । ‘समितिमा रहेका सांसद्हरूलाई यस विषयमा बुझाउन कठिन भयो । विज्ञहरू पनि सहज रूपमा पाउन सकिएन,’ उनले भने ।

तोकिएको समयमा नै स्वामित्व हस्तान्तरण नभएपछि कारण पत्ता लगाउन उद्देश्यसहित समितिले अध्ययन अगाडि बढाएको थियो । (आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले गर्नुभएको रिपोटिङ)

भगवान् गणेशको दर्शन गरेर आज मंगलबारको राशिफल हेर्नुहोस्

आज श्री शाके १९४२ बि.स.२०७७ साल माघ ६ गते मंगलबार इश्वी सन २०२१ जनवरी १९ तारीख पौष शुक्लपक्ष षष्ठी तिथी उत्तरभाद्रपदा नक्षत्र पश्चात रेवती नक्षत्र शिव योग गर करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा सिद्धि योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण शिशिर ऋतु (ज्यो प सरोज घिमिरे)

मेषः देश बिदेशको यात्राको सम्भाबना रहेकोछ । शत्रुपक्ष सवल रहनाले कार्य सम्पादनमा बिषेश सावधानी अपनाउनु पर्नेछ । परीवारका सदस्यहरुबाटँ टाढा भएको अनुभव रहनेछ । आर्थिक क्षेत्रमा सामान्य कठिनाई आइपर्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ ।

बृषः अध्यन अध्यापनका निम्ती समय उत्तम रहनेछ । मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सवल रहनेछ । कार्यक्षेत्रमा पदोन्नतीको समय रहेकोछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिनेछ । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ ।

मीथुनः भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । सभा सम्मेलनमा सरीक हुने अवसर प्राप्त हुनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ ।

कर्कटः साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । साथि भाई हरुको खराब संगतका कारण सामान्य अपजस आई पर्नेछ । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ ।

सिंहः मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । सञ्चित रकम खर्च हुने योग रहेको छ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । सामान्य चोट पटकको सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ ।

कन्याः भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रको लापरबाहिले सामान्य झन्झट आईपर्ला । प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ ।

तुलाः प्रतिपक्षीहरु सबलरहनाले कार्यक्षेत्रमा साबधानिरहनु होला । परोपकारको क्षेत्रमा समय ब्यतित रहनेछ । कुराकाट्ने ब्यक्तिको कमि नरहला । बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला ।

बृश्चिकः नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । सामान्य चुनौति पस्चात आम्दानि राम्रो रहनेछ । बौधिक ब्यतित्व हरुको साथ प्राप्त हुनेछ । बिद्या प्राप्ति योग रहेको छ । सन्तान सम्बन्धि समस्याले सताउने छ । सामान्य यात्रा हुन सक्छ । चाढो क्रोधको सिकार भईनेछ सजग रहनु होला । पारीवारिक समस्याले सताउन सक्छ ।

धनुः परीस्थीति सगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । सभा सम्मेलनमा समय ब्यतित हुने योग रहेको छ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । आय मुलक कार्यको थालनि हुनेछ । निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ ।

मकरः सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । परीवारमा बिताएको समय फाईदा जनक रहला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

कुम्भः नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ ।

मिनः साझेदारी कार्यको क्षेत्रमा अघि नबढेको नै राम्रो हुनेछ । निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । अरुको कार्य सम्पादन मा प्रेरणाको स्रोत बन्न सकिएला ।

सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँँ । काठमाडौँ महानगरपालिका–१४ रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आज विद्युत् चुहावट हुँदा आगलागी भएको छ । महानगरीय प्रहरी परिसरका अनुसार आज दिउँसो २ बजे लागेको आगो करीब ३ बजे नियन्त्रणमा आएको थियो । विद्युत् चुहिएर अपार्टमेन्टको तेस्रो तलाबाट आगलागी भएको परिसरका प्रवक्ता प्रमेश बिष्टले जानकारी दिए ।

सो क्रममा प्रहरीले २३ जनालाई उद्धार गरेको र केही घाइते रहेको जनाइएको छ । घाइतेमध्ये दुई जनाको अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँ, ललितपुर र भक्तपुरबाट आएका दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयवासीले आगो निभाएका थिए । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।

नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छल्ने बाराका अमिरी ठाकुर विरुद्द मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले बाराका अमिरी ठाकुर विरुद्द मुद्दा दर्ता गरेको छ । विभागले नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेको आरोपमा ठाकुरविरुद्ध मुद्दा दर्ता गरको हो । विभागले ठाकुर विरुद्ध बिगो र कैद सजाय माग राखेर ६ करोड ५२ लाख रुपैयाँ सहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो ।

ठाकुरले शुलभ ट्रेड कन्सर्नको नामबाट नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेको खुल्न आएपछि विभागले मुद्दा दर्ता गरेको जनाएको छ । उनले आर्थिक वर्ष २०६८–८९ देखि २०७३–७४ सम्म नक्कली भ्याटबिल प्रयोग गरेर राजस्व छलेका थिए ।

आन्तरिक राजस्व विभागको विवरण हेर्दा ठाकुरको कम्पनी २०७०÷७१ देखि आयकरमा तथा भ्याटमा २०७१÷७२ देखि ननफाइलर रहदै आएको छ ।

चितवन निकुञ्जमा नयाँ दुई प्रजातिका चरा भेटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा नयाँ दुई प्रजातिका चरा भेटिएका छन् । ती चराहरु अघिल्ला वर्षहरुमा भेटिएका थिएनन् ।

बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष वासु बिडारीका अनुसार यस वर्ष भेटिएका चरामा डोनलिन र नर्थेन ल्याकुन रहेका छन् । डोनलिन माडीको रिउ खोला र ल्याकुन दिव्यनगरको फार्मल्याण्डमा भेटिएको उनले जानकारी दिए । गत वर्ष देखिएका चार प्रजातिका चरा भने यस वर्ष देखिएनन् । यस वर्ष नयाँ दुईसहित ५३ प्रजातिका पानी चरा भेटिएका हुन् । गत वर्ष ५७ प्रजातिका चरा भेटिएका थिए ।

यस्तै गत वर्ष भेटिएका एभोसेट, हुग्लिगल, उटस्यान्ट पाइपर, ग्रेल्याकुम, प्यासिफिक गल्डेन प्लोओर र ब्ल्याक हेडेड इडिस भने यस वर्ष नभेटिएको बिडारीले बताए । यस क्षेत्रमा १६० प्रजातिका पानी चरा भेटिने गरेको तथ्याङ्क छ । हाल भेटिएका नयाँ चरा पनि अघिल्ला वर्षहरुमा भेटिएका चरामा पर्दछन् । नेपालमा पानी र बाहिर क्षेत्रमा गरी कूल ८८७ प्रजातिका चरा पाइन्छन् । तीमध्ये चितवन मात्रै ६४१ प्रजातिका चरा पाइन्छन् ।

नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि यहाँ १० तारिखबाट मात्र चरा गणना गरिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत विभिन्न ठाउँमा चरा गणना गरिएको थियो ।

दुई लाख ३८ हजारले डाउनलोड गरे ‘नागरिक एप’

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ शुक्रबार सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । शुक्रबार साँझ सार्वजनिक गरेको सो एपमा सोमबार उपराह्न ४ बजेसम्म दुई लाख ३८ हजार ८०६ जना प्रयोगकर्ताले डाउनलोड गरेको पाइएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउनलोड गर्नेमध्येबाट हालसम्म ६३ हजार ५८० जना प्रयोगकर्ताले एप सञ्चालन गरिसकेका ९खाता खोल्न सफल भएको० छन् । धेरै सङ्ख्यामा नागरिक एप डाउनलोड भएता पनि विभिन्न कारणले गर्दा एक लाख ७५ हजार २२७ जना प्रयोगकर्ताको विवरण प्रमाणीकरण हुन नसकेको केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै प्रयोगकर्ताको आफ्नै नाममा सिमकार्ड नहुनु तथा गृह मन्त्रालयको तथ्याङ्कअनुसार नागरिकता नम्बर र राहदानी नम्बर फरक हुँदा विवरण प्रमाणीकरण हुन नसकेको हो ।

परीक्षणको क्रममा रहेको उक्त एपमा प्रयोकर्ताको आकर्षण देखिएता पनि विभिन्न कारणले एप सञ्चालनमा कठिनाइ देखिएको पोखरेल बताउनुहुन्छ । नागरिकता, राहदानी वा मतदाता परिचयपत्रमा रहेको विवरण गृह मन्त्रालयमा रहेको डाटामा मेल नखाएको तथा अर्काको नामको सिमकार्ड प्रयोग गर्दा प्रमाणीकरण हुन नसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका अधिकारीहरु बताउँछन् ।

केन्द्रको तथ्याङ्कअनुसार प्रमाणीकरण भएका ६३ हजार बढी प्रयोगकर्तामध्ये सबैभन्दा धेरै प्रयोगकर्ताले नागरिकता नम्बर प्रमाणीकरण गरेका छन् । हालसम्म ४६ हजार प्रयोगकर्ताले नागरिकता प्रमाणीकरण गरेको, २३ हजार ३२२ जनाले राहदानी, १९ हजार ८८० जनाले मतदाता नामावली र २८ हजार ६३४ जनाले प्यान नम्बर प्रमाणीकरण गरेका छन् ।

यसैगरी १४ हजार १८८ जनाले एसएलसीको प्रमाणपत्र र छ हजार १११ जनाले उच्च शिक्षाको प्रमाणपत्र प्रमाणीकरण गरिसकेका छन् । तीन जनाले लोकसेवा, दुई हजार ७७३ जनाले सञ्चयकोष प्रमाणीकरण गरेका छन् । यस एपमध्येमा हालसम्म नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषमा प्रमाणीकरण भएका छैनन् ।

नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसिमका सेवालाई डिजिटल गरी एकीकृत प्लेटफर्मबाट सेवा प्रवाह गर्ने भन्दै शुक्रबारबाट नागरिक एप सञ्चालनमा ल्याइएको हो । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी यस एप्समा नागरिकको डिजिटल परिचय स्थापित गरिएको छ । आगामी दिनमा राष्ट्रिय परिचयपत्रलाई जोड्ने योजना सरकारको छ ।

भारत–अस्ट्रेलिया टेस्ट क्रिकेट, जितका लागि भारतसामु ३२८ रनको चुनौती

काठमाडौँ । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८ रनको कठिन चुनौती दिएको छ ।

ब्रिस्बेनको गाब्बामा भइरहेको यस खेलको चौथो दिनको अन्तिम सत्र वर्षाले प्रभावित पारेपछि खेल अबरुद्ध भएको थियो । भारतले विनाकुनै क्षति ४ रन बनाएको छ ।

यसअघि अस्ट्रेलियाको दोस्रो इनिङ २९४ रनमै समेटिएको थियो । अस्ट्रेलियाका खेलाडी स्टिभेन स्मिथले सर्वाधिक ५५ रनको योगदान दिएका थिए । भारतीय बलर मोहम्मद सिराजले पाँच विकेट लिएका थिए भने शार्दुल ठाकुरले ४ तथा वासिङटन सुन्दरले एक विकेट लिएका थिए ।

पाँचौं दिन भारतसामु कठिन लक्ष्य हुनेछ, किनभने गाब्बाको खेल मैदानमा पछिल्ला वर्षहरुमा २५० रन भन्दा बढी बनाउन निकै मुश्किल पर्ने गरेको इतिहास छ ।

यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा ३६९ तथा भारतले पहिलो इनिङमा ३३६ रन बनाएका थिए । भारतीय टीमका अनुभवी केही खेलाडीहरु चोटग्रस्त भएपछि युवा तथा अनुभव कम भएका खेलाडीलाई पनि मौका दिइएको छ । तर उनीहरुको प्रदर्शन निकै दर्शनीय रहेको छ ।

रुसी विपक्षी नेता नाभाल्नी रिहा गर्न जर्मनी, अमेरिका र ईयुको माग

काठमाडौँ । रुसले विपक्षी नेता अलेक्सी नाभाल्नी तत्काल रिहा गर्नु पर्ने जर्मनीका विदेश मन्त्री हैको माआजले सोमबार आग्रह गर्नु भएको छ । जर्मनीमा उपचारपछि स्वदेश फर्किनुभएका नाभाल्नीलाई राजधानी मस्कोको विमानस्थलमा पक्राउ गरिएको विषयमा पश्चिमा देशहरुले रुसको आलोचना गरेपछि विदेश मन्त्रीको सो आग्रह आएको हो ।

अमेरिकाका राष्ट्रपति निर्वाचित जो बाइडेनको टोलीले नाभाल्नीलाई तुरुन्त रिहा गर्न माग गरेको छ । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नाभाल्नीलाई पक्राउ गरिएकोमा ट्विटरमार्फत टिप्पणी गर्नु भएको छ । नाभाल्नीको रिहाको युरोपियन युनियन (इयु) द्धारा पनि माग भएको छ ।

क्रेमलिनका आलोचक ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रण कक्षबाट प्रहरीले हिरासतमा लिएका थिए । उनलाई अभिवादन गर्न मस्कोको नुकोभो विमानस्थलमा भिड जम्मा भएपछि उनको विमान अन्यत्रै ओरालिएको थियो ।

गत अगष्टमा रूसकै ओम्स्कबाट मस्को जाने विमानमा रहेका समय विमानमा नै अकस्मात विरामी परेका नाभाल्नीलाई आकश्मिक अवतरण गराई स्थानीय एक अस्पतालमा उपचार गरिएको थियो । फ्रान्सेली र स्वेडिस प्रयोगशालामा गरिएको परीक्षणमा नाभाल्नीलाई बेहोस बनाउने सोभियतकालीन रसायन ‘नोभिचोक’ खानामा मिसाएर खुवाइएको पनि जर्मनीले बताएको छ ।

उहाँलाई जर्मनीको अनुरोधमा आन्तरिक विमानमार्फत् उपचारका लागि बर्लिन लगिएको थियो । जर्मनीमा डाक्टरहरूले नाभाल्नीलाई विष दिइएको कुराको पुष्टि गरेका थिए । उहाँलाई अस्पतालबाट सेप्टेम्बरमा डिस्चार्ज गरिएको थियो तर चिकित्सकको सल्लाहअनुसार त्यहीँ आराम गरिरहनुभएको थियो ।

रूसी प्रशासनले उहाँलाई स्वदेश फर्किएपछि पक्राउ गर्नसक्ने चेतावनीबीच उहाँ राजधानी मस्को जानुभएको हो । क्रेमलिनको कट्टर आलोचक विपक्षी नेता नाभाल्नीले आफू निर्दोष रहेको र देशका लागि काम गरिरहेको बताउँदै यसक्रममा आफूलाई पक्राउ गर्ने भनी आएका समाचारबाट आफू स्वदेश फिर्ता हुन नडराएकोे बताउनुभएको थियो ।

उहाँ आइतबार ग्रीनवीच समयानुसार साँझ ४ः२० मा बर्लिनबाट मस्कोका लागि जानुभएको हो । मस्कोको भेनुकोभो विमानस्थलमा उहाँ चढेको विमान अवतरण हुने बताइएको छ । रूसी प्रशासनले उहाँलाई जेलबाट छुट्दा गरेको प्रतिवद्धता उल्लङ्घनको आरोपमा पुनः पक्राउ गरी छानविन हुनसक्ने बताएको छ ।

थप ३२२ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्‍यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३२२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३७४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ। गत २४ घन्टामा ४ हजार ३ सय ६ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ६५ पुगेको छ।