बेलायतका राजदूतमा रेग्मी नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यका लागि नेपाली राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मीलाई नियुक्त गरे ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा उनलाई नेपालका लागि आवासीय बेलायती राजदूतमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्ति मार्फत जानकारी दिएका छन् ।

‘‘दि भ्वाइस अफ नेपाल ३’को जजबाट निस्केपछि आस्थाको प्रतिकृया

काठमाडाँै । रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल ३’को जज परिवर्तन भएपछि सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणीहरु चल्न थालेका छन्। भ्वाइसको दोस्रो सिजनमा जजको भुमिका निभाएकी आस्था राउत सिजन ३ मा नआउने भएपछि दर्शकहरुको मनमा कौतुहलता छाएको छ। सांगितिक माहोलमा हुर्किएकी आस्थाले राम्रो जजको भुमिका निभाएको भन्दै हटाइएकोमा आजोजकप्रति शंका उत्पन्न गराएको चर्चा पनि सामाजिक सञ्जालमा देखिएको छ।

गायिका आस्था राउतले कामका चापले गर्दा आफुले भ्वाइस अफ नेपालको टिमबाट बाहिरिनु परेको बताएकी छन्।उनले व्यत्तिगत काम ब्यस्त भएको कारण, भ्वाइसको सल्लाहमा नै बाहिरिएको बताएकी छन्। उनले भनिन्, ‘म भ्वाइसबाट बाहिरिदा यसमा कुनै पनि शंका छैन। लकडाउनका कारण मेरा धेरै कामहरु रोकिएका छन्। पर्सनल कामहरु देखि अन्य कामहरु पेन्डिङ भएका कारण भ्वाइसलाई समय दिन नसक्ने भए । त्यसैले म बाहिरिएको हो।’

हक्कि स्वभावकी आस्थाले कुनै मन मुटावका कारण आफुले भ्वाइस नछोडेको बताईन । उनले भनिन् ‘भ्वाइसको मिटिङमा मेरो व्यत्तिगत तथा अन्य काम भएका कारण यो सिजनमा काम गर्न कठिनाई भएको प्रस्ताव राखेको हो। उहाँहरुले निकै समयको डिसिजन पछि बिदा दिनुभएको हो। ’

उनले आफ्नै सल्लाह बमोजिम नयाँ कोचका रुपमा तृष्णा गुरुङलाई भित्राएको बताईन् । उनले भनिन्‘ टिमसँगको सल्लाहमा युथको लागि आकर्षण गर्न सक्ने को कोच हुन सक्ला भन्ने विषयमा छलफल हुँदा मैले केहिको नाम दिएको थिए। उनीहरुले मैले नाम चुज गरेकै केहिबाट जजका रुपमा गायिका तृष्णा गुरुङलाई राख्नुभएको छ। मैले प्रस्ताव गरेकै मान्छे जजका रुपमा पाउँदा अत्यन्तै खुसी रहेको छु ।’

बाँदरबाट सुन्तला जोगाउन सास्ती

काठमाडौँ । बोटमा पाकेर पहेँलपुर सुन्तलाका दाना जोगाउन किसानलाई सास्ती भएको छ । पाल्पामा यस वर्ष कम उत्पादन भएको सुन्तलाको दाना बाँदरबाट जोगाउन मुस्किल भएपछि किसान चिन्तित बनेका छन् ।

पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङमा बाँदरले पाकेको सुन्तलालाई नोक्सानी गर्न थालेपछि बोटका दाना जोगाउन समस्या भएको हो । उचित मूल्य र सुरक्षाका लागि सुन्तला अझै टिपिएको त छैन तर बाँदरबाट सुरक्षित राख्न किसानलाई चुनौती भएको छ । सुन्तला बगानमा बाँदर पसेर नोक्सानी गरेपछि यहाँका किसान चिन्तित बनेका छन् ।
बाँदरले सुन्तलामा नोक्सानी गरेपछि हरियो सुन्तला बिक्री गरिएको गुनासो वडाध्यक्ष तथा किसान हुमानसिंह कार्की थियो । झण्डै ४०० किलो सुन्तला बाँदरका कारण छिटो टिपेर बेच्न बाध्य भएको उनले बताए । “घरदेखि तल्लोबारीमा तलबाट बाँदर आएर नोक्सानी गरेको थाहा हुँदैन, त्यसैले त्यो बारीको सुन्तला हरियोमा नै बिक्री गरियो”, उनले भने ।

गत वर्ष झण्डै रु चार लाखको सुन्तला बिक्री भएको बताउने कार्की यसपालि रु एक लाखको हाराहारी बिक्री हुने अवस्था रहेको बताउनुभयो । बाँदरको समस्या र यसपालिका सुन्तला उत्पादनमा समेत कमी आएको हो । स्थानीय बासिन्दा डिलमाया गाहाका अनुसार वन क्षेत्रबाट बाँदर आएर सुन्तला खेतीमा क्षति गर्न थालेपछि समस्या हुँदै आएको छ । मकै बाली उत्पादन गर्न छाडेर सुन्तला खेतीमा मात्र व्यस्त भएका गाहाको प्रमुख आम्दानीको स्रोत सुन्तला खेती हो । पहेँलपुर सुन्तला बगानमा नै बाँदर पसेर खाने र नोक्सानी गर्ने समस्या बढेको गाहा बताए ।

पछिल्लो समय गाउँमा बाँदरको बिगबिगी भए पनि स्थानीय सरकारले बाँदर व्यवस्थापनमा चासो नदेखाएको किसानको गुनासो छ । जिल्लाका अधिकांश स्थानमा व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आए पनि बाँदरबाट किसान चिन्तित बनेका छन् । पाल्पाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिका सुन्तला खेतीका लागि उपयुक्त रहेको विज्ञको भनाइ छ । अहिले रैनादेवी छहरा गाउँपालिकोको मुझुङ, छहरा, सोमादी, रिब्दीकोटको मैनादी, कुखुमखोला, खस्यौली क्षेत्रमा व्यावसायिकरूपमा सुन्तला खेती हुँदै आएको छ । अन्नबालीमा बाँदरले नोक्सानी गरेपछि किसान सुन्तला खेतीप्रति आकर्षित बनेका थिए ।

स्थानीयवासी जङगबहादुर आलेका अनुसार वनबाट बस्तीमा आएका बाँदर धपाउन मुस्किल भएको छ । उहाँले बाँदर धपाउन अहिले एक्लै सकिने अवस्था नरहेको बताए। महिला तथा बालबालिकालाई बाँदरले आक्रमण गर्ने र जिस्काउन थालेपछि उनी त्रसित बनेका छन् । पूर्वखोला गाउँपालिका–१ सिलुवामा बाँदरले अन्नबाली सखाप पारेपछि बस्तीबाट नै स्थानीय बासिन्दा विस्थापित भएका छन् । पाँच÷सात वर्षको अवधिमा १०÷१२ घर गाउँबाट विस्थापित हुन थालेको गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष कँडेलले बताए ।

जिल्लाका अधिकांश स्थानमा बाँदर धपाउनका बन्दुक प्रयोग गरे पनि बाँदर भागेको छैन । बाँदरले बस्ती नजिक आएर किसानले उत्पादन गरेका अन्नबाली, तरकारी, घरभित्र राखिएका वस्तु क्षति गर्न थालेपछि किसान चिन्तित छन् । सामुदायिक वन संरक्षण गर्न थालेपछि बाँदर, मृग, दुम्सी बँदेल र पक्षीको सङ्ख्या बढ्दो छ ।

दुःख गरी अन्नबाली उत्पादन गरे पनि पाकेपछि भित्र्याउने बेला वन्यजन्तुले नष्ट गरेपछि समस्यामा परेको किसानको गुनासो छ । बाँदरले खाँदासम्म खान्छ, बाँकी नखाने, क्षति गर्ने गर्छ, मृग र दुम्सीले अहिले खेतीमा प्रवेश गरी नोक्सानी गर्न थालेका छन् । पहिला बाँदर, मृग, दुम्सी र बँदेल बस्ती नजिक देखिएका थिएनन् । अहिले खेतबारीमा नै देखिन थालेको स्थानीय बासिन्दा राधाकृष्ण आलेले बताए ।

भारतले लगायो पाम आयलमा प्रतिबन्ध

वीरगञ्ज । छिमेकी मुलुक भारतले पाम आयलमा प्रतिबन्ध लगाएपछि पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग धरासायी हुँदै गएको छ ।

भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि यहाँका अधिकांश तेल उद्योग धरासायी भएको हो । पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि व्यावसायीहरुको ठूलो लगानी जोखिममा परेको छ । पाम आयलको माग भारतमा उच्च छ ।

नेपालबाट निकास हुने प्रमुख वस्तुमध्ये एक पाम तेल नै हो । आर्थिक वर्ष २०७६–७७ मा निकासीको सूचीमा रहेको प्रशोधित पाम आयल चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म निकासीको सूचीबाट हटेको छ । पाम आयल उत्पादन गरी भारतमा निकासी हुने मुख्य २० वस्तुको सूचीबाट पाम आयल हटेका कारण यस क्षेत्रका उद्योग आर्थिक मारमा पर्दै गएको छ ।

इण्डोनेसिया, क्यानाडालगायत तेस्रो मुलुकबाट भारतको बाटो गरी आयात भई नेपाल भित्रिने तथा नेपालमा प्रशोधन गरी पुनः भारतीय बजारमा जाँदा भारतीय उद्योग प्रभावित हुने गरेकाले भारत सरकारले पाम आयलमा प्रतिबन्ध लगाएको हो ।

नेपाल चामल, दाल, तेल उद्योग सङ्घका अध्यक्ष सुवोधकुमार गुप्ताले भने, ‘पाम आयलको आयातमा भारतले एकपक्षीयरूपमा प्रतिबन्ध लगाउँदा यसले पर्सा, बारामा रहेका ९० प्रतिशत तेल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । वीरगञ्ज भन्सार नाका हुँदै अघिल्लो वर्ष नेपालबाट भारततर्फ रु १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएको थियो । पर्सा, बारामा रहेको १४ यस्ता उद्योगले वीरगञ्ज भन्सार नाकाबाट मात्रै रु ११ अर्ब ७२ करोड मूल्य बराबरको एक लाख ६० हजार मेट्रिक टन पाम आयल भारत निकासी गरेको थियो । तर भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि गत वैशाखदेखि यसको निकासी हुन नसकेको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत रमेश सुकमनीले बताए ।

भारतमा पाम आयल निर्यात गर्न नपाएर अहिले उद्योगी सोयाबिनको प्रशोधित तेल निकासी गरिरहेको जानकारी दिँदै ओसिबी फुड्सका सञ्चालक सुरेश रुगङ्टाले भने, “’पाम आयल निकासी गर्ने भनेर यो क्षेत्रका अधिकांश उद्योग आफ्नो क्षमता विस्तार गरेका थिए तर पाम आयल निर्यातमा भारतले एकाएक प्रतिबन्ध लगाएपछि उद्योगमा गरिएको लगानी डुब्ने डरले उद्योगी बाध्य भएर सोयाबिन तेल निकासीमा जोड दिएका छन् ।’

नेपालबाट प्रशोधित भई भारत जाने पाम आयलले ८० प्रतिशत भारतीय बजारमा आफ्नो कब्जा जमाएकाले त्यहाँबाट विदेशी मुद्रा नेपाल आउँदा यहाँको उद्योग फस्टाउँदै गरेको थियो । तर भारतले केही महिनायता पाम आयलको आयातमा प्रतिबन्ध लगाएपछि ती उद्योगको व्यापार घाटा उच्च भएपछि उद्योगीले आफ्ना उद्योगलाई रुग्ण हुनबाट जोगाउन पाम आयलको ठाउँमा भटमासको तेल प्रशोधन गरी निर्यात गर्न थालेको अर्का उद्योगपति सन्दीप गाडियाले बताए ।

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा रु नौ अर्ब १० करोड मूल्य बराबरको ६३ हजार १०१ मेट्रिक टन भटमासको प्रशोधित तेल भारततर्फ निर्यात भएको छ । निर्यातको शीर्षस्थानमा भटमासको तेल रहेको छ । अघिल्लो वर्षको समीक्षा अवधिमा करिब रु दुई अर्बकोे १४ हजार ९२४ मेट्रिक टन यस्तो तेल निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपाली उत्पादन भारतमा जाँदा भारतीय उद्योग प्रभावित हुन थालेपछि भारत सरकारले यस्तो कदम चालेको उद्योगी बताउँछन् ।

मनकामना मन्दिरको दर्शन गर्दै, वि.सं.२०७७ माघ ०४ गते आईतबारको राशिफल हेर्नुहोस्

वि.सं.२०७७ साल माघ ०४ गते । आईतबार । ईश्वी सन् २०२१ जनवरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । पौष शुक्लपक्ष । तिथि–चतुर्थी,०५ घडी ५८ पला,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त पंचमी । नक्षत्र–शतभिषा,०१ घडी ५३ पला,बिहान ०७ बजेर ४३ मिनेट उप्रान्त पूर्वाभाद्रपदा ।

योग–वरियान,३३ घडी ३५ पला,बेलुकी ०८ बजेर २३ मिनेट उप्रान्त परिध । करण– भद्रा,बिहान ०९ बजेर २१ मिनेट उप्रान्त बव,बेलुकी ०९ बजेर ४७ मिनेट उप्रान्त बालव । आनन्दादिमा–राक्षस योग । चन्द्रराशि–कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ३० मिनेट । दिनमान २६ घडी २३ पला ।

मेष(च,चे,चो,ला,लि,लू,ले,लो,अ)ः बिभिन्न अवसरले पछ्याउँने तथा रोजगारि पाउने समय रहेकोछ भने परिवारजनको आवस्यक्ताहरु पुरा गर्न सकिने हुँदा मन प्रशन्न रहनेछ । व्यापार व्यावसायबाट मनग्ने आम्दानि हुने तथा आम्दानिका नयाँ नयाँ स्रोतहरु पहिल्याउन सकिनेछ । बुवा तथा आफन्तबाट तपाईले थालनि गर्नुभएको काममा सहयोग तथा समर्थन पाईने हुँनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । भोगबिलासका सामानहरु प्राप्त हुनेछन् भने ईच्छित कामनाहरु पुरा हुँने समय रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)ः नयाँ काम पाउँने तथा बढुवा हुँने योग रहेको छ । राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ । समाजको मन जित्ने काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । निर्णय क्षमतामा बृद्धि भएर जाने तथा कार्यालयमा तपाईको निर्णय क्षमताको उच्च कदर हुनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)ः धार्मिक तथा शैक्षिक यात्रा गर्ने पर्याप्त सम्भावना भएपनि बिभिन्न कारणले स्थगित हुनेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरतिर यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्ने समय रहेकोछ । आफन्त तथा स्टमित्र सँग सन्तुलित व्यावहार गर्नुहोला घरायसि कुरामा राय बाजिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आई दैनिक कामहरु प्रभावित पर्नेछन् । खोज तथा अनुशन्धानको क्षेत्रमा तपाईको फितलो उपश्थितिले गर्दा अरुभन्दा पछाडि परिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)ः आफन्त तथा शुभचिन्तकहरुको सल्लाह तथा शुझाबलाई बेवास्ता गर्दा दुख पाईनेछ । व्यापार व्यावसायमा मन्दि आउने हुनाले आर्थिक रुपमा पछाडि परिनेछ । स्थाई सम्पतीमा बिवाद आउने योग रहेकोछ भने भौतिक सम्पति तथा अन्य साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । दिदि बहिनी तथा आफन्त सँग अनाबस्यक बिवाद हुन सक्छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)ः पढाई लेखाईमा थोरै समय दिदापनि प्रतिस्पर्धिहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा हात लाग्नेछ । जीवन साथिको सहयोेगले आर्थिक व्यावस्थापनका मुद्दाहरु हलगर्दै सम्बृद्धिको बाटोमा लम्कन सकिनेछ । मायाप्रेममा गर्ने जोडिहरुले आफ्नो सम्बन्धलाई बिबाहमा रुपान्तरण गरि अगाडि बढ्ने सहमती जुट्नेछ । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्नसकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)ः तपाईको वरिपरि भएका प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ भने बिवादित बिषयहरुको निर्णय तपाईकै पक्षमा आउँनेछ । अध्ययन तथा अध्यापनमा थोरै समय दिदा पनि राम्रो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरुबाट थप हौसला प्राप्त हुनेछ । व्यापार व्यावसायमा सदाभन्दा आम्दानि बढिनै हुनेछ भने माया प्रेमको गाठो कसिलो भएर जानेछ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)ः पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । प्रेम प्रसङगमा एक अर्काबिच भावना साटासाट गरि समय ब्यातित गर्न सकिनेछ । स्वास्थ्य सम्बन्धि समस्या आउँने हुँदा दैनिक कामकाज गर्न गाह्रो महशुष हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)ः आफ्नो भन्दा अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाति रहनेछन् । सामाजिक तथा राजनितिक बिषयहरुको उठान आज नगर्नु नै उचित हुनेछ किनकि त्यस्ता बिषयसँग सम्बन्धित मुद्दाहरु आज किनारा लाग्ने छैनन् । घरजग्गा तथा सवारि साधनको खरिद बिक्रिबाट सन्तोषजनक नाफा कमाउँन सकिनेछ । आधुनिक कृषि प्रणालि तथा पशुपालन व्यावसायमा लगानि गर्न सके आम्दानि बढाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)ः मुद्दा मामिला तथा न्यालयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)ः अध्ययन तथा अनुशन्धानको क्षेत्रमाा दिईएको समयबाट भनेजस्तो नतिजा नआउने हुँदा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय दिनु पर्दा दैनिक कामहरु प्रभावित हुनेछन् । व्यापार व्यावसायमा प्रशस्त समय दिएपनि आम्दानि कम हुनेछ भने उठ्नु पर्ने रकम नउठ्नाले नयाँ काम गर्ने अवसरबाट टरेर जानेछ । अप्रिय समाचारले निरास बनाउनेछ भने माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)ः लामो समयदेखि भेट नभएका मित्र आफन्त सँग मिलान हुनेहुनाले मन प्रशन्न रहनेछ । वन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृड हुनेछ । राजनितिमा सबैको सहयोग तथा समर्थन पाईने हुनाले पद प्राप्तीको गतिलो योग रहेकोछ । पढाई लेखाईमा मन जानेछ भने नतिजा तपाई आफ्नै पक्षमा पार्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग पाईने योग रहेकोछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)ः स्वास्थ्यमा सुधार भएर जाने तथा पुरानो रोगहरु केहि भए अलि बिसेक हुनेछ । आफन्त तथा अग्रजहरुको सुझाब तथा सल्लाहलाई अध्ययन गरि अगाडि बढ्दा राम्रो रहेको छ । घर परिवार तथा आफन्तबाट बाट छुट्टिएर लामो दुरिको यात्रा गर्नु पर्दा नरामाईलो लाग्नेछ । व्यापार व्यावसायमा नाफा कमाउँन निकै समय खर्चनु पर्नेछ भने बिदेशि भाषा तथा बिदेशि सस्थासँग सम्बन्धित कामहरु बाट मनग्गे रुपैया पैसा कमाउँन सकिनेछ ।

मिठू शेर्पाको ‘फूल बनि…’ को भिडियो सार्वजनिक(भिडियो सहित)

काठमाडौँ । गायिका मिठू शेर्पाको आवाजमा रेकर्ड भएको गीत ‘फूल बनि बस्यौ मनमा…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित युट्युब च्यानल बुढासुब्बा म्युजिक मार्फत् भर्खरै सार्वजनिक भएको उक्त भिडियोको यो गीतमा पदम साधना कुलुङको शब्द तथा सुनिल राईको संगीत रहेको छ ।

केही दिन अघि छायांकन भएको उक्त गीतको म्युजिक भिडियोलाई दर्जनौं म्युजिक भिडियो तथा टेलिचलचित्रको लेखन, निर्देशन गरिसकेका युवा निर्देशक अनुपम पौडेलले निर्देशन गरेका हुन् । जहाँ उनले त्रिकोणात्मक प्रेम प्रसंगलाई कथानकको रुपमा प्रस्तुत गरेका छन । फूललाई सुगन्ध भरेझैं गीतको भावमा अन्जु श्रेष्ठ, करण गिरी, दीपा गेलाल पासाङ तामाङ लगायत कलाकारले आफ्नो अभिनय मार्फत् जिवन्तता दिएका छन् ।

यसैगरी उक्त सांगीतिक भिडियोको सम्पादन पछिल्लो समय निकै व्यस्त रहेका मेहनती, कुशल एवं दक्ष छायाँकार तथा दृष्य सम्पादक रविन्द्र लम्सालले गरेका हुन् । रमेश लम्सालको छायांकन रहेको उक्त म्युजिक भिडियोमा अभिनित सम्पूर्ण कलाकारहरूलाई आफ्नो सौन्दर्य कला मार्फत् सिंगार्ने काम कुशल मेकअप आर्टिष्ट रविना लम्सालले गरेकी छिन् ।

होमस्टे पूर्वाधार विकासको लागि तीन घरवासलाई २४ लाख अनुदान

काठमाडौँ । गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमका लागि यस वर्ष जिल्लाका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गलकोट नगरपालिका–६ भुजुङ्गेस्थित ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’, काठेखोला गाउँपालिका–३ को ‘बेलढुङ्गा सामुदायिक होमस्टे’ र जैमिनी नगरपालिका–१० स्थित ‘हाँडीकोट सामुदायिक होमस्टे’ छनोटमा परेका हुन् ।

ती घरवासका सञ्चालक परियोजना कार्यान्वयनका लागि मन्त्रालयसँग सम्झौताको तयारीमा छन् । प्रत्येक घरवासलाई रु आठ लाखका दरले अनुदानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । अनुदान रकम पूर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनको काममा खर्च गरिनेछ । ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’का अध्यक्ष कमला श्रीसले यस वर्ष पदमार्ग निर्माणको योजना रहेको जानकारी दिए ।

“गाउँभित्रै एक घरदेखि अर्को घर जोड्ने गरी पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउँदैछौँ”, उनले भने। गत वर्ष पनि प्रदेश सरकारको रु १० लाख बजेटबाट सामुदायिक भवन निर्माण गरिएको थियो । उक्त भवन अहिले घरवासमा आउने पाहुनाको स्वागत र सांस्कृतिक कार्यक्रमका लागि प्रयोगमा ल्याइएको छ ।

भुजुङ्गेका सात घरमा घरवास सञ्चालित छ । मगर बाहुल्य उक्त गाउँमा पर्यटक भित्र्याउने उद्देश्यले घरवास खोलिएको हो । घरवास सञ्चालनमा आएपछि ढुङ्गेनी गाउँ (स्टोन भिलेज) ले चिनिने भुजुङ्गेले नयाँ चिनारी पाएको छ । पारिवारिक आतिथ्यता, स्थानीय परिकार, रहनसहन, संस्कृति र घुमफिर घरवासका आकर्षण हुन् ।

घरवासमा कोदो, फापर, जौँ, मकै, गहुँ, आलु, सिस्नो, सिन्की, भट्टलगायत घरेलु उत्पादनका परिकार तयार पारिन्छ । भुजुङ्गेको समग्र पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवदेनमार्फत काम भइरहेको घरवास सञ्चालक समितिका सल्लाहकार फणिन्द्र थापामगरले बताए ।

काठेखोलाको बेलढुङ्गा र जैमिनीको हाँडीकोट सामुदायिक घरवासले पनि पूर्वाधार निर्माणको योजना बनाएका छन् । पछिल्लो समय घरवासप्रति पर्यटकको आकर्षण बढेपछि सञ्चालक उत्साहित छन् । राज्यका निकायले पनि घरवास प्रवद्र्धनका लागि लगानी बढाइरहेका छन् । ग्रामीण पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले हाल बागलुङमा २८ घरवास सञ्चालित छन् ।

लमजुङ सम्म पुग्यो स्वास्थ्य बीमा

काठमाडौँ । लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम शुरुआत भएको छ । हालसम्म सो कार्यक्रम देशका ६३ जिल्लामा कार्यान्वयनमा आइसकेको छ ।
स्वास्थ्य बीमा बोर्ड काठमाडौँले बेँसीशहर नगरपालिका वडा नं ७ मा आयोजना गरेको स्वास्थ्य बीमा सदस्यता दर्ताको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरे । उनले तत्कालीन संविधानसभा सदस्य जमीन्द्रमान घलेलाई स्वास्थ्य बीमा सदस्यता प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् । मुख्यमन्त्री गुरुङले प्रदेशमा स्वास्थ्य क्षेत्रलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने काम गर्दै आइरहेको बताए । स्वास्थ्य क्षेत्रमा सबै नागरिकको पहुँच पु¥याउनका लागि प्रदेश सरकारले करौडौँ लगानी गरिरहेको उनको भनाइ छ ।

उनले भने, “स्वास्थ्य बीमा कार्यक्रम एकदम महत्वपूर्ण कुरा रहेको र यो ख्यालठट्टाको कुरा होइन, यस्तै–यस्तै कार्यक्रम र अभियानले नै सरकारले लिएको सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा पु¥याउने लक्ष्य पूरा हुनेछ ।”
गण्डकी प्रदेशभरि पाँच लाख ७८ हजार घरधुरी रहेका र यी सबै घरमा पाँच वर्षभित्र स्वास्थ्य बीमा पु¥याउने लक्ष्य राखिएको छ ।
प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि बीमालाई प्रचारप्रसार गर्दै जनतासामु पु¥याउन सबै लाग्नुपर्ने बताए । शुरुआतमा बीमा गर्ने र पछि नवीकरण नगर्ने परिपाटीसमेत धेरै रहेकाले सबैलाई स्वास्थ्य बीमाको बारेमा बुझाउँदै नवीकरण गराएर स्वास्थ्यको पहुँचमा सबै नागरिकलाई ल्याउनुपर्ने उनको भनाइ छ ।

बोर्ड सदस्य चन्द्र थापाले तीन वर्षभित्र नेपालको सबै नागरिकलाई स्वास्थ्य बीमा गराउने लक्ष्यका साथ बोर्ड अघि बढिरहेको बताए। उनले भन, “नेपालभरि हालसम्म ३१ लाख बढी नागरिकलाई स्वास्थ्य बीमामा समेटिसकेको र छ लाख घरधुरीको बीमा भएको छ । कूल ५६ लाख घरधुरी रहेको र सबै घरमा स्वास्थ्य बीमा पु¥याउने लक्ष्य रहेको छ । ”

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्याल, स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीलगायतले स्वास्थ्य बीमा गर्नलाई आग्रह गरे । बोर्डका गण्डकी प्रदेश संयोजक जीबलाल खरेलले पाँच जना सदस्यसम्म भएका परिवारले रु तीन हजार ५०० तिरेर बीमा गर्न सक्ने र सो भन्दा बढी भएमा प्रतिव्यक्ति रु ७०० थप हुने बताए । त्यस्तै पाँचभन्दा कम भएका परिवारले रु एक लाख बराबर र सो भन्दा बढी १० जनाका परिवारले रु दुई लाखसम्मको निःशुल्क उपचार उनले जानकारी दिए ।

बीमा कार्यक्रमका लागि जिल्लाको आठवटै स्थानीय तहको प्रत्येक वडाबाट एक–एक जना छनोट गरी ७५ जना दर्ता सहयोगी व्यक्तिलाई तालिम दिएर विहीबारदेखि सबै घरघरमा खटाउन लागिएको छ । जिल्ला अस्पताल, सुन्दरबजार अस्पताल, गौडा प्राथमिक स्वास्थ्य केन्द्र र चन्द्रेश्वार प्राथमिक स्वास्थ्य केन्द्रमा उक्त सेवा उपलब्ध हुने भएको छ । त्यस्तै यस प्रदेशको ११ जिल्लामध्ये पूर्वी नवलपारासी, मनाङ र मुस्ताङ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुन बाँकी रहेको छ । यस प्रदेशमा विसं २०७३ असार १५ गते बाग्लुङ जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको थियो ।

हालसम्म चार लाख ६० हजार जनाको बीमा भइसकेको छ । यीमध्ये ६१ ज्येष्ठ नागरिक, गरिब बागलुङ, गोरख र तनुहँमा पहिचान भएका छ हजार ८९२ घरपरिवार र अतिअशक्त रातो कार्ड प्राप्त गरेका अपाङ्गता भएका ६७९ घरपरिवारको निःशुल्क बीमा भएको प्रदेश बोर्डका संयोजक खरेल जानकारी दिए । बोर्डका कार्यकारी निर्देशक दामोदर बस्यौलाले सबै जिल्लामा आगामी चैतसम्म बीमा कार्यक्रम कार्यन्वयन हुने जानकारी दिए।

लोकतन्त्रमा सबै समुदाय र वर्गका सम्मान स्थापित हुन्छः मुख्यमन्त्री पोखरेल

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले संविधानले सबै जाति, समुदायका उत्थान र विकासमा जोड दिएको बताए ।

माघीपर्वको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले लोकतन्त्रमा नै सबै समुदाय र वर्गका नागरिकको सम्मान स्थापित हुने भएकाले यही मान्यतालाई संवैधानिकरूपमा व्यवस्था गरेर लोकतान्त्रिक प्रणालीको जग बलियो र फराकिलो पारिएको उल्लेख गरे ।

उनले शुभकामना सन्देशमा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा माघीपर्वले पारिवारिक मिलन, बन्धुत्व, एकता, सद्भाव र सहिष्णुता बढाउँदै आएको छ भने ।

उनले मकर सङ्क्रान्ति तथा माघीपर्व विविधतायुक्त नेपाली समाजमा ठूलो पर्वको रूपमा मनाउने गरिएको उल्लेख गरे । माघीपर्वलाई थारू, मगर, छन्त्याल लगायत अन्य समुदायले निकै महत्वका साथ मनाउँदै आएकाले पर्वको निकै महत्व रहेको उनले बताए ।

सन्देशमा भनिएको छ “मुलुक संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा अघि बढिरहेको अवस्थामा संविधानको सफल कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले व्यवहारिकरूपमा प्राप्त अधिकारको उपभोग गर्ने अवसर छ । संविधानको कार्यान्वयनको रूपमा अल्पसङ्ख्यक, आदिवासी, जनजाति र पछाडि पारिएका जाति तथा समुदायको उत्थानका लागि संवैधानिकरूपमै आयोग गठन गर्ने व्यवस्था गरेर सबैप्रति सम्मान व्यक्त भएको छ । ”
उहाँले सरकार सञ्चालनका लागि अनेक अप्ठ्यारा भएपछि बहुमतप्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय लिनु स्वाभाविक रहेको जनाउँदै लोकतन्त्रमा चुनाव अनिवार्य शर्त रहेको बताउए ।
उनले प्रतिनिधिसभा विघटन भई मुलुक चुनावी अभियानमा अघि बढेकोले घोषित चुनावलाई सफल बनाउन मिलेर अघि बढ्न आह्वान समेत गरेका छन् ।

काठमाडौँका सडकमा आधुनिक बत्ती जडान हुँदै

काठमाडौँ । काडमाडौँ महानगरपालिकाले उज्यालो काठमाडौँ कार्यक्रमअन्तर्गत करिब ६० किलोमिटर सडक क्षेत्रमा आधुनिक बत्ती जडान गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ ।

यसअन्तर्गत करिब ८० स्थानमा उच्च मात्रामा प्रकाश दिने बत्ती (हाइमास्ट लाइट) जडान गर्नेलगायतका केही महत्वपूर्ण कामलाई दु्रतगतिमा अघि बढाइएको छ । यातायात व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्न, सामाजिक सुरक्षालगायतका सेवा सुविधालाई चुस्तदुरुस्त राख्न र शहरी सौन्दर्य अभिवृद्धि गर्न मुख्य–मुख्य सडकमा करिब एक हजार ७५० आधुनिक बत्ती जडान गर्ने काम बोलपत्र आह्वानको चरणमा पुगिसकेको कामपाले जनाएको छ ।

महानगरपालिका क्षेत्रभित्रका मुख्य–मुख्य सडकमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा कामपा र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी रहने छ । औपचारिकरूपमा गरिएको सहमतिअनुसार सडक बत्ती जडानमा कामपाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहनेछ ।

गत मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहमतिपत्रमा हस्ताक्षर गरेसँगै महानगरपालिकाले यो प्रक्रिया अघि बढेको जनाइएको छ। महानगरलाई रातमा पनि उज्यालो र झिलीमिली बनाएर उज्यालो सङ्घीय राजधानीको चिनारी दिन ‘मेयर उज्यालो अभियान’अन्तर्गत आधुनिक सडक बत्ती जडान कार्य अघि बढाइएको हो ।

कामपा शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाका अनुसार पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्रिपुरेश्वर हुँदै कलङ्कीसम्म, त्रिपुरेश्वरबाट महाराजगञ्जसम्म र सिंहदरबार वरिपरि आधुनिक सडक बत्ती जडान गरिनेछ । पुतली सडकबाट बालुवाटारसम्म र त्रिभुवन विमानस्थलबाट हायात होटलसम्मको सडकखण्ड पनि पहिलो चरणमा समेटिएको छ । यस चरणमा करिब ६० किलोमिटर सडकखण्डमा करिब एक हजार ७५० बत्ती जडान गर्ने तयारी भएको थापाले जानकारी दिए । यसका लागि पहिलो चरणमा करिब रु ११ करोड लागत लाग्ने अनुमान गरिएको छ ।

चालु आवमा बत्ती जडानमा प्राधिकरणको भागमा पर्ने ४० प्रतिशत लगानी महानगरले नै गरिदिनेछ । यो रकम दोस्रो चरणको बत्ती जडान योजनामा समायोजन हुनेछ । यस क्रममा नयाँ पोल थप्नका लागि स्थानको स्वीकृति दिने, नयाँ बत्ती जडानका क्रममा बिग्रिएका फुटपाथलगायतका संरचनाको निर्माण गर्ने काम सडक विभागले गर्नेछ ।

विविधतायुक्त धार्मिक तथा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता बलियो हुन्छः मुख्यमन्त्री गुरुङ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक पर्व माघे,माघी र मकर सङ्क्रान्तिका अवसरमा सबै नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन्।

उनले आज एक शुभकामना सन्देश जारी गरी स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, सुस्वास्थ्य, आपसी सद्भाव, एकता र समृद्धिको शुभकामना व्यक्त गरे । देश संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवं मौलिक सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै बलियो बनाउन महत्वपूर्ण योगदान दिँदै आएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“माघे÷माघी÷मकर सङ्क्रान्ति पर्वले सबै नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाइ सामाजिक न्यायसहितको समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि भावनात्मक एकताका साथ आ–आफ्नो ठाउँमा जुट्न हामी सबैमा प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु”, मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ ।

पाँच महीनापछि चालू खाता फेरि घाटामा

काठमाडौं । लगातार ४ महीनासम्म बचतमा रहेको चालू खाता चालू आर्थिक वर्षको पाँचौं महीनामा घाटामा गएको छ । गत साउन, भदौ, असोज र कात्तिक महीनामा चालू खाता निरन्तर बचतमा थियो । तर, अहिले आयात बढेसँगै नेपालको मुद्रा बाहिरिएकाले चालू खाता घाटामा गएको हो ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनले चालू आर्थिक वर्ष (आव) २०७७–७८ को मङ्सिर महीनामा चालू खाता रू.२५ अर्ब ४१ करोडले घाटामा रहेको छ । अमेरिकी डलरमा १८ करोड २४ लाखले घाटामा रहेको छ । गत आवको सोही अवधिमा चालू खाता ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । यसअघि विगतका ४ आवसम्म लगातार घाटामा रहेको चालू खाता गत साउनमा भने बचतमा देखिएको थियो । चालू आव २०७७–७८ को साउन महीनामा चालू खाता २५ अर्ब ४१ करोडले बचतमा रहेको थियो ।

चालू खाता घाटामा गए पनि शोधनान्तर भने निरन्तर बचतमा छ । देशबाट बाहिरिने रकमभन्दा भित्रिने रकम बढी हुँदा मङ्सिरमा शोधनान्तर स्थिति रू। १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेको थियो ।

आर्थिक वर्षको शुरूमा आयात कम भएको र अहिले आयातमा सुधार भएकाले चालू खाता घाटामा जानु स्वाभाविक भएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्ट बताउँछन् । विप्रेषण आय बढे पनि आयात बढिरहेको र पर्यटन आय नभएका कारण चालू खाता घाटामा देखिएको उनको भनाइ छ । मङ्सिरसम्ममा विप्रेषण १० दशमलव ९ प्रतिशतले वृद्धि भई रू।४ खर्ब १६ अर्ब ८१ करोड पुगेको छ । गतआवको सोही अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव २ प्रतिशतले घटेको थियो ।

कोरोनाको त्रास घट्दै गएपछि बिस्तारै आर्थिक गतिविधि विस्तार हुन थालेको छ । केन्द्रीय बैंकले गरेको सर्वेक्षण प्रतिवेदनले पनि आधाभन्दा बढी उद्योग तथा व्यवसाय पूर्ण सञ्चालनमा आएको देखाएको छ । ‘उद्योगहरूको क्रमशः सञ्चालन हुन थालेपछि आयात पनि सोहीअनुसार बढ्दै जान्छ । यसको प्रभाव चालू खातामा देखिन्छ,’ डा. भट्टले भने ।

आयातमा सुधार आई चालू खाता घाटामा गएको देखिए पनि मङ्सिरसम्ममा कुल वस्तु आयात ९ दशमलव ६ प्रतिशतले घटेर रू.५२५ अर्ब ५० करोड कायम भएको छ । आयात वृद्धिदर गत महीनाको भन्दा मङ्सिरमा कम रहेको छ । गत कात्तिकसम्ममा कुल वस्तु आयात १० दशमलव ६ प्रतिशतले घटेको थियो ।

गत आवको मङ्सिरमा आयात ४ दशमलव २ प्रतिशतले घटेको थियो । मङ्सिरमा वस्तुगत आधारमा कच्चा सोयाविन तेल, चामल, एमएस बिलेट, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, कोइलालगायत वस्तुको आयात बढेको छ । तर, पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधनलगायत वस्तुको आयात घटेको छ ।

समग्रमा आयात घटे पनि चालू आवको ५ महीनामा कुल वस्तु निर्यात ५ दशमलव १ प्रतिशतले वृद्धि भई ५० अर्ब ६ करोड पुगेको छ ।

गत आवको यही अवधिमा निर्यात २७ प्रतिशतले वृद्धि भएको थियो । यसबीच अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), चाउचाउ, पश्मिनालगायत वस्तुको निर्यात बढेको छ । तर, पाम तेल, दाल, जस्तापाता, उनी गलैंचा, लत्ताकपडालगायत वस्तुको निर्यात भने घटेको छ ।

समग्र मूल्यवृद्धि नियन्त्रणमा, खाद्यान्नको मूल्य उच्च
कोभिडका कारण बढ्न थालेको तरकारी, फलफूल तथा गेडागुडीजस्ता खाद्यवस्तुको महँगी नियन्त्रणमा आउन सकेको छैन । तर, लत्ताकपडा, फनिचर जस्ता गैरखाद्यवस्तुको भने बजारमा माग कम भएसँगै मूल्यमा पनि नियन्त्रण आएकाले समग्रमा उपभोक्ता मूल्यवृद्धि घटेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार २०७७ मङ्सिरमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २ दशमलव ९३ प्रतिशत रहेको छ । गत आवको सोही महीनामा यस्तो मुद्रास्फीति ६ दशमलव ५५ प्रतिशत रहेको थियो । समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव २३ प्रतिशत र गैरखाद्य तथा सेवासमूहको मुद्रास्फीति १ दशमलव १६ प्रतिशत रहेको छ ।

समग्रमा मूल्यवृद्धि कम देखिए पनि दाल, गेडागुडीको मूल्य धेरै बढेको छ । लत्ताकपडा, फर्निचरजस्ता गैरखाद्य समूहको मूल्यवृद्धि एकदमै कम भएकाले समग्रमा मूल्यवृद्धि घटेको हो । यसअवधिमा गैरखाद्यको मूल्यवृद्धि १ दशमलव १६ प्रतिशत मात्र छ । ‘यो भनेको समग्र माग घटेको हो,’ राष्ट्र बैंकका प्रवक्ता भट्टको विश्लेषण छ ।

‘अहिले भाडामा गएका कतिपय घर खाली रहेका छन् । सर्भिसिङका सामानहरू, यातायात, सञ्चार, शिक्षाको क्षेत्रमा माग कम भएकाले मूल्यवृद्धि भएन,’ उनले भने, ‘विद्यालयको शुल्क आधामात्र तिरिएको छ । यस्ता गैरखाद्य समूहमा माग कम हुँदा समग्र मूल्यवृद्धिमा कमी देखिएको हो । ’

सञ्चिति घट्यो
चालू आवको पाँचौं महीनामा चालू खातामात्र होइन, विदेशी विनियम सञ्चितिसमेत मङ्सिर महीनामा घटेको छ । कात्तिकमा १५ खर्ब ६ अर्ब सञ्चितिमा रहेको विदेशी विनिमय मङ्सिरमा भने घटेको देखिन्छ । गत असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिकमा १५ खर्ब ६ अर्ब पुगेको थियो । तर, मङ्सिर मसान्तमा भने १४ खर्ब ७४ अर्ब ३४ करोडमा झरेको छ ।

आव २०७७–७८ को पाँच महीनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलव ४ महीनाको वस्तु आयात र १३ महीनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७७ मङ्सिर मसान्तमा ७ दशमलव ७ प्रतिशतले वृद्धि भई १२ अर्ब ५४ करोड पुगेको छ ।(आर्थिक अभियान दैनिकबाट साभार)

माघे संक्रान्तिको चहलपहल, तरुलको मूल्य बढ्यो

काठमाडौं । माघे संक्रान्तिको लागि तरुल किन्नेहरुको तरकारी बजारमा भिड देखियो । माघे संक्रान्तिमा देशैभर अत्यधिक तरुल खपत हुन्छ ।

काठमाडौं उपत्यकालगायतका तरकारी बजारमा सिमल तरुल, हात्तीपाइले तरुल, वन तरुल, घर तरुल, पानी तरुलको माग बाढी भएको थियो । तर, मागअनुसार तरुल आएन । जति तरुल उपत्यकामा भित्रिएको छ, व्यापारीले धमाधम बेचिरहेका छन् ।कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुल किन्नको भिड लाग्यो । बौद्धकी कुसुम तामाङले तरुल किन्न लाइन बस्नुपरेको बताइन् । उनी भन्छिन्, ‘माघे संक्रान्ति पो हो त, जति महँगो भए पनि संक्रान्ति मनाउनै पर्छ पो । तरुल बजारमा सकिएला कि भन्ने डरले हतार–हतार बजार जानुपरेको छ ।’’

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तरुल काठमाडौंमा गत वर्षको तुलनामा दोब्बर महँगो भएको छ । राजधानीमा मागभन्दा कम तरुल आएको हुनाले दोब्बर महँगिएको हो ।

समितिका अनुसार तरुल गत वर्ष प्रतिकेजी ४० देखि १२० रुपैयाँसम्ममा किनबेच भएको थियो । तर, यो वर्ष भने प्रतिकेजी ८० देखि १८० रुपैयाँमा किनबेच भइरहेको छ ।

समितिका उपनिर्देशक विनय श्रेष्ठले गत वर्ष माघे संक्रान्तिको समयमा एक हजार २९३ टन तरुल भित्रिएकोमा यस वर्ष भने भन्डै ९६३ टन मात्रै तरुल भित्रिएको जानकारी दिए । ‘‘आयात गत वर्षभन्दा घटेकाले बजारमा भाउ बढेको हो,’’ उनले भने ।

कालीमाटीका थोक व्यापारी मोतिलाल तामाङले यो वर्ष काठमाडौंबासीको मागअनुसार तरुल नआएकाले गत वर्षभन्दा महँगो भएको बताए । तरुलको भाउ व्यापारीले भन्दा पनि किसानबाट ल्याउँदा नै महँगो भएको उनको भनाइ छ ।

सिन्धुलीबाट तरुल ल्याएर बौद्धको तरकारी बजारमा तरुल बेच्दै गरेका विक्रम तामाङले थोक बजारमा सामान्य तरुल प्रतिकेजी ८० रुपैयाँ, वन तरुल १२०, हात्तीपाइले १३० र सिमल तरुल प्रतिकेजी १८० रुपैयाँमा किनबेच भइरहेको बताए ।

काठमाडौं उपत्यकामा माघे संक्रान्तिका लागि विभिन्न जिल्लाबाट तरुल भित्रिएको छ । सिन्धुली, रामेछाप, सर्लाही, सुनसरी, मकवानपुर, चितवन, धादिङलगायतबाट तरुल भित्रियो । पिँडालु २३१ टन, सखरखण्ड २५४ टन भित्रिएको जनाइएको छ ।

कालीमाटीमा भित्रिएको तरुलमा ४३ प्रतिशत सर्लाही, १४ प्रतिशत मकवानपुर, १३ प्रतिशत धादिङबाट आएको छ । ४ प्रतिशत भारतबाट आयो । बाँकी २६ प्रतिशत अरु जिल्लाबाट भित्रिएको समितिले जनाएको छ ।

पहिलेका वर्षहरुमा भारतबाट धेरै तरुल भित्रिने गरेको थियो । तर, अहिले स्वदेशी तरुल नै बढी भित्रिएको छ । नेपालमा तरुलको व्यावसायिक खेती सुरु भइसकेको समितिले जनाएको छ ।

ग्लोबल आईएमई बैंकद्धारा १६ प्रतिशत लाभांश पारित, सञ्चालक समितिको अध्यक्षमा ढकाल निर्विरोध निर्वाचित

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको १४औँ वार्षिक साधारणसभा २०७७ साल पौष २९ गते बुधबार बैंकको कर्पोरेट भवन कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७६÷७७ को कुल मुनाफाबाट आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १४ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश दिने निर्णयलाई पारित गर्दै बैंकको १४औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बैंकले गत आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन मुनाफा ४ अर्ब १७ करोड रुपैयाँ र कर पछिको मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६३ करोड रुपैयाँ पुग्नेछ ।
साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताउनुभयो ।
उहाँले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको बताउनुभयो ।
साबिकको जनता बैंक नेपालसँग मर्जरपछि ग्लोबल आइएमई बैंक देशकै सबै भन्दा ठूलो र सबल बैंक बनेको बताउँदै, उहाँले शेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले बैंकले सदाझँै आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताउँदै कोरोना भाईरस महामारीले अर्थतन्त्रमा पारेको प्रतिकुल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पु¥याउने बताउनुभयो ।
आर्थिक वर्ष २०७६÷७७ मा बैंकको व्याज आम्दानी तर्फ गत वर्ष भन्दा ६ अर्ब ९६ करोड रुपैयाँले वृद्धि भएको छ । आम्दानीमा वृद्धि भए पनि यसै अवधिमा कोरोना भाईरसको कारणले बैंकको कर्जा लगानी रकममा १ अर्ब ९५ करोड रुपैयाँसम्मको जोखिम व्यवस्थापन वापत रकम छुट्याउनु परेकोले बैंकको खुद मुनाफामा ५.३१ प्रतिशतले मात्र वृद्धि भई २ अर्व ९१ करोड रुपैयाँ मात्र कायम हुन सकेको छ ।
हाल बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
त्यस्तै, सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यकासाथ बैंकले ७३ जिल्लामा २६४ शाखा सञ्जाल सहित करिब ८०० सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । बैंकले करिब २२ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

सञ्चालक समितिको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

साथै आजै सम्पन्न १४औँ वार्षिक साधारणसभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।
अन्य सञ्चालक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ (संस्थापक), रामबहादुर भण्डारी (संस्थापक), सुदर्शन कृष्ण श्रेष्ठ (सर्वसाधारण), कृष्णप्रसाद शर्मा (सर्वसाधारण) र दिपक शर्मा पोखरेल (सर्वसाधारण) रहनुभएको छ ।
नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई आजै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहणसमेत गराउनुभएको छ ।
प्रत्यक्ष र भर्चुअल माध्यमबाट गरी सञ्चालन गरिएको बैंकको १४औैैैँ साधारण सभामा बैंकका शेयर सदस्यहरु, कर्मचारी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिदै, नयाँ सहकारी बैंक दर्ताको तयारी

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ । मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैक स्थापना गर्न प्रकृया अघि बढाइएको हो । देशभरी कै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी बैंक स्थापनाको तयारी भईरहेको छ । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ ।
प्रारम्भीक भेला संगै विभागमा दर्ता प्रकृया गर्ने र राष्ट्रबैकबाट स्वीकृत लिने प्रकृया अघि बढाईने भएको छ । नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले बताए । उनका अनुसार भेला लगत्तै प्रकृया अघि बढ्ने र मुलुक कै सहकारी क्षेत्रको सबैभन्दा ठुलो बैक हुने छ ।
संस्था दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । ती मध्य हालसम्म करिब एक हजार संस्था दर्ता प्रकृयामा सहभागि हुने तयारी भैरहेको छ । बैकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ । बैंक स्थापना हुन आवश्यक भन्दा बढीनै फाइल संकलन भैसकेको भण्डारीले बताए ।
‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, उनले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं’ प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी ३ अर्ब रुपैयाँ हुने छ ।

सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक संचालनमा छ । तथ्याङक अनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने ब्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नया बैक स्थापना प्रकृया अघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बैकले नेपाल राष्ट बैकबाट बैकिंङ अनुमति पाएको छैन ।
राजधानीको कार्की बैङक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएकाछन् । सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैकको विषयमा ब्याख्या गरिएको छ ।
त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीनअर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पूँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ ।

सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । बैक दर्ता प्रकृया शुरु गर्न प्रारम्भीक भेलाका निर्णय, व्यावसायीक कार्ययोजना, शेयर पुजी तथा शुल्क वापत संकलित रकमको भरपाई, स्वघोषणापत्र, विभागले तोके बमोजिम एक दिवसीय पुर्व सहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ । हाल सञ्चालनमा रहेको सहकारी बैकले सबै सहकारीलाई समेट्न नसकेको जनाउदै ऐन अनुसार नया बैक दर्ता प्रकृया शुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए ।