आकाशे पुल बन्ने


काठमाडौँ । विराटनगर महानगरपालिका क्षेत्रमा यातायात साधनको बढ्दो चापलाई ध्यानमा राखी नागरिकलाई सडक वारपार गर्न सजिलोका लागि आज यहाँ तीन आकाशे पुलको संयुक्त रुपमा शिलान्यास गरिएको छ । विराटनगरको बरगाछी, कञ्चनवारी र भट्टीभोडको घाँस चौकमा निर्माण गरिने पुल चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको नगरका इन्जिनीयर अर्जुन थापाले जानकारी दिनुभयो ।
उक्त तीन पुल रु दुई करोड ४७ लाखको लागतमा स्टिल स्ट्रक्चरको आधारमा २५ मिटर लम्वाइ, पाँच दशमलव पाँच मिटर उचाइको हुने छ । एक ठाउँबाट अर्को ठाउँमा सार्ने पुल बरगाछीमा दुई ‘स्टेयर’, घाँस चोक र कञ्चनबारीमा चार ‘स्टेयर’को हुने छ ।
कला विल्डरले बरगाछी र घाँस चोकको र आर के विल्डर्सले कञ्चनबारीको निर्माणको ठेक्का पाएको इञ्जिनीयर थापाले बताउनुभयो । सो अवसरमा आयोजित कार्यक्रममा महानगरका प्रमुख भीम पराजुलीले नगरको यातायात, स्वास्थ्य , शिक्षा र खेलकूदको क्षेत्रमा महानगरले काम गरेको चर्चा गर्दै आगामी दिन नगरको शोभा झल्किने नगर स्वागतद्वार निर्माण गर्ने बताउनुभयो ।
वडा नं ४ का अध्यक्ष देवेन्द्रराज पोखरेलले पुल निर्माणबाट नागरिकले सडक दुर्घटनामा अकालै ज्यान गुमाउने कार्यमा न्यूनीकरण हुने विश्वास व्यक्त गर्नुभयो ।

भारतमा करिब तीन करोडले कोरोना विरुद्ध खोप लगाए

काठमाडौँ । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको थियो । सो समयदेखि हालसम्म देशभरी करिब तीन करोड व्यक्तिले खोप लगाइसकेका छन् । भारतमा गत २४ घण्टामा २६ हजार २९१ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १३ लाख ८५ हजारभन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणको कारण ११८ जनाको मृत्यु भएपछि कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५८ हजार ७२५ जना पुगेको छ । हाल भारतमा दुई लाख १९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । केही दिनयता भारतमा सक्रिय सङ्क्रमितको संख्या बढेको पाइएको छ । यसैबीच कोभिड–९९ को सङ्क्रमण शुरु भएयता भारतमा हालसम्म एक करोड १० लाख ७ हजारभन्दा बढी कोरोना भाइरस मुक्त भएका छन् ।
भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर २२ करोड ७४ लाख सात हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । हिजो आइतबार एकै दिनमा सात लाख ३ हजार ७७२ जनाको कोभिड–१९ परिक्षण भएको पनि समाचारमा जनाइएको छ ।

ब्राजिलमा कोभिडबाट १ करोड १४ लाख भन्दा बढी सङ्क्रमित, २ लाख ७८ हजारको मृत्यु

काठमाडाकौँ । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख ८३ हजार ३७० जना पुगेको छ । यसका साथै यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको बताइएको छ । यहाँ अहिलेसम्म यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या २ लाख ७८ हजार २२९ जनाको ज्यान गएको छ ।

आइतबार दिइएको समाचारअनुसार यो सङ्क्रमणबाट गएको २४ घन्टायता मात्र ४३ हजार जनाभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । त्यसैगरी गएको २४ घन्टामा मात्र यो सङ्क्रमणबाट एक हजार १२७ जनाको ज्यान गएको छ । यसरी यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यो संक्रमण ब्राजिलमा दिन प्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरुमा पछिल्लो समयमा २० देखि ५० वर्षसम्मका नागरिक रहेका पनि बताइएको छ ।

नेपाल समूहको फेरि निर्वाचन आयोगमा दौडधूप


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ ।प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले जिम्मेवारी बाँडफाँडका साथै केन्द्रीय सदस्य मनोनित गरेपछि आइतबार नेपाल समूहले आयोगमा पत्र लेख्दै त्यसलाई कार्यान्वयन नगर्न माग गरेको हो ।
नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले विधानविपरीत अध्यक्ष ओलीले गरेको निर्णय खारेज गर्नुपर्ने निष्कर्ष निकालेको छ । ‘हामी निवेदक नेकपा एमालेको २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट पार्टीको विधानको धारा १४ बमोजिम निर्वाचित पदाधिकारी र सदस्य हौं ।

सोही धाराबमोजिम केन्द्रीय कमिटीको निर्वाचन सम्पन्न भई सोही धाराको उपधारा ३ बमोजिम १० प्रतिशत सदस्यसमेत मनोनित भइसकेको अवस्था भएकोले हाल पार्टी विधानबमोजिम केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान रहेको छैन । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

नेपालमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने

काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापना र सञ्चालन गर्न उपयुक्त देखिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना र सञ्चालन गर्न सकिने सुझाव सहितको प्रतिवेदन तयार पारेको छ ।

सुरु पूँजी लगानी, लगानी फिर्ता अवधि तथा नाफाको दृष्टिकोणबाट प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्न अन्य प्रविधिको तुलनामा उपयुक्त देखिन्छु( प्रतिवेदनमा उल्लेख गरिएको छ।

प्रतिवेदनमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गरेमा मल आपूर्तिको दिगो समाधान हुने र कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि भइ मुलुकको आर्थिक विकासमा योगदान पुग्ने पनि उल्लेख गरिएको छ ।

समितिले विश्वव्यापी रुपमा रासायनिक मल उत्पादनका लागि प्राकृतिक ग्याँस, थर्मोकोल र वाटर इलेक्ट्रोसिस प्रविधि प्रचलनमा रहेको मध्ये तत्कालका लागि नेपालमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित मल कारखाना स्थापना गर्दा सरकारले उपलब्ध गराउनु पर्ने अनुदान रकम बचत हुन सक्ने निष्कर्ष निकालेको छ।

सरकारले कृषकहरुलाई रासायनिक मल खरिदमा अनुदान उपलब्ध गराउनका लागि चालू आर्थिक वर्षमा ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ भने अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५२ अर्ब रुपैयाँ विनियोजन गरी उपलब्ध गराइएको थियो ।

समितिले प्राकृतिक ग्याँस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि सुरु लगानी १ खर्ब ३ अर्ब र वाटर इलेक्ट्रोसिस प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापनाका लागि १ खर्ब ८९ अर्ब रुपैयाँ लाग्ने र थर्मोकोल प्रविधिमा आधारित रासायनिक मल कारखाना स्थापना वातावरणीय लगायतका कारण उपयुक्त नहुने सुझाव तयार पारेको छ ।

सार्वजनिक निजी साझेदारी मोडालिटीमा मल कारखाना स्थापना गर्ने परियोजना सञ्चालन गर्न उपयुक्त हुने पनि समितिको सुझाव छ ।

प्रतिवेदनमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित भइ मल उत्पादनका लागि अवसरका रुपमा वार्षिक करिब १६ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा प्रयोग गरेर रासायनिक मल आयात गर्नु पर्ने बाध्यताको अन्त्य हुने, व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्ने, कृषकहरुले समयमा मल प्राप्त गर्न नसक्ने अवस्थाको अन्त्य हुने लगायत उल्लेख गरिएको छ ।

यस्तै मल कारखाना स्थापना गर्न पूँजीको व्यवस्थापन, लगानीकर्तालाई आकर्षित गर्ने, कारखाना स्थापनाका लागि उपयुक्त स्थानको छनौट, लगानी र पूँजी संरचना निर्माणलाई चुनौतीका रुपमा उल्लेख गरिएको छ ।

समितिका पदाधिकारीहरुले नेपालमा रासायनिक मल कारखाना र स्थापनका सम्बन्धी गरिएको अध्ययन र त्यसको निष्कर्ष आइतबार प्रधानमन्त्री केपीशर्मा ओली समक्ष प्रस्तुत गर्नु भएको थियो ।

प्रधानमन्त्री ओलीले तत्कालका लागि प्रकृतिक ग्याँस प्रविधिमा जान उपयुक्त हुने देखिएपनि कच्चा पदार्थ नेपालमा उपलब्ध हुने भएकाले वाटर इलेक्ट्रोसिस प्रविधिबारे पनि विस्तृत अध्ययन गर्न जरुरी भएको बताए ।

नेपालमा करिब ८ लाख मेट्रिक टन मलको माग रहेको र बालीको विविधिकरणको आधारमा रासायनिक मलको उपयोग विधि र परिणाम समेत बढाउँदा रासायनिक मलको सम्भावित माग अबको केही वर्षमा करिब २० लाख मेट्रिक सम्म हुने अनुमान गरिएको छ ।

गत कार्तिक २४ गते बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले नेपालमा रासायनिक मल कारखाना स्थापनाको प्रारम्भिक अध्ययन गर्नका लागि अर्थमन्त्रीको संयोजकत्वमा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री र कृषि तथा पशुपंक्षी विकास मन्त्री रहेको समिति गठन गरेको थियो ।

अवैध भरुवा बन्दुक सहित पक्राउ

काठमाडौं । स्याङजा, हरिनास गाँउपालिका–४ कुलुङखोला सानिस्वारा जंगलबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकमा प्रयोग हुने १७ वटा छर्रा र ५ ग्राम बारुद सहित २ जनालाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हरिनास गाँउपालिका–४ बस्ने ३६ वर्षीय हेम बहादुर भुजेल र २२ वर्षीय प्रेम भुजेल रहेका छन् । जंगलमा शिकार खेल्न हिँडिरहेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय चिसापानी स्याङ्जाबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर हातहतियार तथा खरखजना सम्बन्धी कसूरमा मुद्दा दर्ता भइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

धादिङ, निलकण्ठ नगरपालिका–१ काउले बस्ने ५० वर्षीय बिनोद बहादुर गुरुङलाई एकनाले भरुवा बन्दुक १ थान सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा अवैध हातहतियार लुकाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी धुवाकोटबाट खटिएको प्रहरीले उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनसुन्धान गरिरहेको छ ।

महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा डा.नबराज लम्साल सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकले मातृभुमी साहित्य समाजसँग समन्वय गरी बार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा मिति २०७७ फाल्गुन २९ गते डा. नबराज लम्साललाई सम्मानित गरेको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलज कुमार अधिकारीले एकाउन्न हजार राशीको उक्त पुरस्कार रकम बराबरको चेकका साथै सम्मानपत्र डा.लम्साल ज्यूलाई हस्तान्तरण गरे । साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पु¥याएको योगदानको कदर स्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो ।
बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कार्यक्रम गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

एमालेमा लागेका पूर्व माओवादी सांसदलाई फर्काउन पत्र पठाउने

काठमाडौं । नेकपा माओवादी (केन्द्र) ले दिएको २४ घण्टे म्यादभित्र नेकपा एमालेमा लागेका कुनै पनि सांसद नफर्किएपछि औपचारिक पत्र पठाउन लागकेो छ ।
स्थायी कमिटी सदस्य गणेश साहले हिजो केन्द्रले सोधेको स्पष्टीकरणको जवाफ नआएकाले औपचारिक पत्र काट्ने निर्णय गरिएको बताए । उनले भने ‘पेरिसडाँडामा केहीबेरअघि सकिएको केन्द्रीय कमिटी बैठकले कारबाही प्रक्रिया अघि बढाउने भनिएपनि कानूनी प्रश्नसमेत उठ्न सक्ने भएकोले विधि पुर्‍याउन औपचारिक पत्र पठाइन लागिएको हो ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताइदिएपछि संघीय संसद र प्रदेशसभाका गरी १३ जना प्रत्यक्ष निर्वाचित सांसद एमालेको केन्द्रीय कमिटी सदस्यमा मनोनीत भएका छन् ।

पुस ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित भएको तत्कालीन नेकपाको ओली पक्षमा लागेका प्रदेश सांसदहरू एमाले, माओवादी ब्युँतिएपछि माओवादीमा फर्किन चाहेनन् । उनीहरूले बरु सांसद पद त्याग्न तयार रहेको तर ओलीलाई छाड्न नसकिने बताउँदै आएका छन् ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाले भन्यो ‘कारवाही स्वरुप मालपोतमा बम विस्फोट गरेका हौँ’

जनकपुरधाम । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) लेसिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो गराइएको विस्फोट आफुले गरेको जानकारी गराएको छ । मार्चाका अध्यक्ष जयकृष्ण गोइतले एक विज्ञप्ति निकालेर बम विस्फोट आफुहरुले गरेको जानकारी गराएका छन् । तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै रहे अझ ‘उच्चस्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनुपर्ने चेतावनी दिइएको छ ।

दिउँसो १ बजे कार्यालयको मोठ फाँटमा गराइएको विस्फोटमा नायब सुब्बासहित ८ जना घाइते भएका थिए । गम्भीर घाइते २ जनालाई थप उपचारका लागि काठमाडौं र विराटनगर पठाइएको छ ।

बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ्ग पार्टनरमा आइएमई पे

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोडल हन्ट नेपाल सिजन ६ को भोटिङ्ग पार्टनर बन्ने भएको छ । गएको १३ फेब्रुअरीबाट शुरु भइ भएको उक्त प्रतियोगिता मार्च २७ मा ग्राण्ड फिनाले भइ समापन हुनेछ । प्रतियोगितामा सहभागी आफुले इच्छा लाएको प्रतिष्पर्धीलाई आइएमई पे मार्फत भोट गर्न सक्नुहुनेछ ।

मोडलिङ क्षेत्रमा आफ्नो भविष्य बनाउन तत्पर कूल ६८ जना युवा युवतीहरु यतिखेर मोडल बन्ने प्रक्रिया अन्तर्गतको विशेष एवं अन्तर्राष्ट्रिय स्तरको ग्रुमिङ परिवेशमा आफ्नो व्यक्तित्वलाई मोडल व्यक्तित्वमा रुपान्तरण गर्न मोडल हन्ट नेपाल सिजन ६ को प्लेटफर्ममा अभ्यस्त रहेका छन् । जस अन्तर्गत उनीहरुले ¥याम्प मोडलिङका विविध आयाम र व्याकरणदेखि स्टेज प्रस्तुतिकरणका तरिका लगायत समग्रमा व्यावसायिक मोडलमा हुनुपर्ने गुण र सीपहरुको विकास गरिरहेका छन् ।

‘आइएमई पे’ को बारेमाः
‘ आइएमई पे ’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे ’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर ९त्तच्० मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ । आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो । पन्ध्र लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘ आइएमई पे ’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार संजाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम रहिआएको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं । कालिकोट, नरहरिनाथ गाउँपालिका–१ घाटीस्थित सल्लेरी सामुदायिक वनमा शुक्रबार दिउँसो आगलागी हुँदा वन नजिकै रहेका ४ वटा घर पूर्ण रुपमा जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै आगलागी नियन्त्रणमा लिने क्रममा घाइते भएका सोही ठाउँ बस्ने ४८ वर्षीय पदम बहादुर बिष्टको प्राथमिक स्वास्थ्य चौकी हुँदै थप उपचारको लागि जिल्ला अस्पताल लगिएको छ ।

धनकुटा, धनकुटा नगरपालिका–४ भोटे चौतारा बस्ने राजकुमार जितपालको घरमा बिद्युतको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ, सुनका विभिन्न गरगहना, अन्नपात, लत्ताकपडा, भाँडावर्तन लगायतका सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
कास्की, पोखरा महानगरपालिका–१५ नयाँगाउँ स्याण्ड म्यारिज स्कुल पछाडी सोही महानगरपालिका–१७ छोरेपाटन बस्ने ३९ वर्षीय लुम बहादुर गुरुङले पार्किङ गरी राखेको ग.७ प ५८५३ नम्बरको पल्सर मोटरसाइकलमा शुक्रबार दिउँसो अपरिचित ब्यक्तिहरुले आगो लगाउँदा मोटरसाइकल पूर्णरुपमा जलेर नष्ट भएको छ ।
दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित हंशमण्डप जंगलमा हाल नाम थर, वतन नखुलेको अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, टोखा नगरपालिका–१ स्थित मालुङ्गबाट साङ्ला जाने बाटोको सडक मुनि रहेको बाँसको झ्याङमा मोरङ बेलबारी घर भएका २५ वर्षीय आशिस लिम्बु शनिबार मृत अवस्थामा फेला परेका छन् ।

ललितपुर, ललितपुर महानगरपालिका–१५ खुमलटार राउत गाउँ बस्ने ४२ वर्षीय कृष्णहरि राउत आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, गोदावरी नगरपालिका–५ गेटास्थित सडकको नालामा कन्चनपुर भिमदत्त नगरपालिका–५ बनगाउँ बस्ने ५२ वर्षीय मोहन चन्द शनिबार मृत अवस्थामा फेला परेका छन् ।
भोजपुर, पौवादुम्मा गाउँपालिका–१ श्यामशिला बस्ने ५० वर्षीय भविन्द्र वहादुर तामाङ सोही ठाउँस्थित उत्तिस बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, राप्ती नगरपालिका–५ स्थित भण्डारा चोकको प्रतिक्षालयमा अन्दाजी ५१ वर्षीय पुरुष शुक्रबार मृत अबस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । मकवानपुर, रुपन्देही, नवलपरासी (पश्चिम) र झापाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
मकवानपुर, मनहरी गाउँपालिका-६ सुनाचुरीमा ना.४ ख ५१४९ नम्बरको बस र ना.६ ख ८९ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भारत घर भएका ४० वर्षीय सुनिल कुमार र ३५ वर्षीय अभयलाल कुश्वाहा तथा बस चालक पर्सा वीरगंज महानगरपालिका–१५ बस्ने ३५ वर्षीय मदन कुमार थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सुनिल र मदनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा तथा अभयलालको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य १० जनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको छ ।

रुपन्देही, तिलोत्तमा नगरपालिका–२ सिताराईस मिलस्थित सडकमा लु.२२ प २७७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका–५ बस्ने ४४ वर्षीय घमन रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
नवलपरासी (पश्चिम), सुनवल नगरपालिका-४ लुम्बिनी चिनी मिल अगाडि सडकमा बिग्रीएर रोकी राखेको लु.२ ख ३८३७ नम्बरको टिपरमा लु. ५८ प २९१७ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–४ तुरिया बस्ने २३ वर्षीय प्रकाश कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, कमल गाउँपालिका–१ बालुबारीस्थित सडकमा ना.१ ख ६१६५ नम्बरको टिपरले मे.३ प ३७४७ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–४ बस्ने २७ वर्षीय सरोज कार्कीको घटनास्थलमै मृत्यु भएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं, दक्षिणकाली नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ५ सय ट्याब्लेट सहित सर्लाही बसवरिया गाउँपालिका–८ बस्ने २१ वर्षीय राधेश्याम यादव र सोही ठाउँ बस्ने २४ वर्षीय रन्जित यादवलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । बा.३७ प ६७६३ नम्बरको मोटरसाइकललाई अस्थायी प्रहरी चेकपोष्ट फर्पिङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालिका–५ रमाइलो चोकबाट नियन्त्रित लागूऔषध नाइट्रोसन १ सय ५१ ट्याब्लेट, स्पास्मो प्रोक्सिभन ६४ ट्याब्लेट र डाइलेक्स डिसी १२ बोतल सहित सोही ठाउँ बस्ने ३३ वर्षीय पेम्वा शेर्पालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरान र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले शेर्पाको घरमा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ बसपार्कबाट ४ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु सहित रोल्पा परिवर्तन गाउँपालिका–२ राङ्सी बस्ने ३४ वर्षीया पूर्णिमा घर्तिमगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । कृष्णनगर बसपार्कदेखि भारततर्फ पैदल जाँदै गरेकी उनलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–१३ बडेराबाट नियन्त्रित लागूऔषध नाइट्राभेट २ सय ७५ ट्याब्लेट, फेन्सिडिल ८६ बोतल र वानरेक्स ५ बोतल सहित पाल्हीनन्दन गाउँपालिका-५ चमनटोल बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । युपि ५६ एएच ७९२३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मोरङ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रतुवामाई नगरपालिका-४ सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मुखियाले ती बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।