प्रधानमन्त्रीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौँ । आज एकैपटक प्रधानमन्त्री केपी शर्मा ओलीले१६५ सडकको शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रु ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
१६५ निर्वाचन क्षेत्रमा एक÷एक वटा सडकका दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्न उक्ता समारोह मार्फत आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो म प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको छ । उहाँका अनुसार ६२८ वटा सडक पुल (झोलुङ्गे) पुलबाहेक निर्माण भएका छन् ।
कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिनुभयो । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उहाँले जानकारी गराउनुभयो ।
पूर्वपश्चिम राजमार्गलाई चारदेखि छ लेनसम्म विस्तार गर्न थालिएको समेत उहाँले बताउनुभयो । उहाँका अनुसार प्रतिदिन ६.५ किलोमिटर बाटो निर्माण सङ्घीय सरकारले गरिरहेको छ ।

काँग्रेसले सरकार गठनको पहल गर्ने

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्न उत्सुकता देखयको छ । संसध बिघटन भयपश्चात पनी खासै आफ्नो सरकार ल्यउन खासै जागर नदेखायको काँग्रसले फेरी आफ्नो नेतृ्रत्वको सरकार ल्यउने गरी अग्रसरताको पहल लिने निर्णय गरेको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको नेताहरुले जानकारि दिनुभएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेकपा (एमाले)का अध्यक्षसमेत रहनुभएका काँग्रेसको नेतृत्वमा सरकार गठनको पहल र प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय भएको जानकारी दिनुभयो । साँझ अबेरसम्म बसेको बैठकमा १० जना नेताले आफ्नो धारणा राखेको बताउनु भयो ।

प्रधानमन्त्रीका लागि देउवा नभए अर्को व्यक्ति अघि सार्नुपर्ने पौड‍ेलको प्रस्ताव, सुरु हुन सकेन कांग्रेस केन्द्रीय समिती बैठक

काठमाडौँ । शुक्रबार दिउँसो २ बजेका लागि बोलाइएको नेपाली कांग्रेस केन्द्रीय समितीको बैठक साँझसम्म पनि अझै सुरु हुन सकको छैन । पार्टी कार्यालय सानेपामा सबै नेताहरु जम्मा भएपनि उनिहरु अनौपचारिक छलफलमै व्यस्त छन्। पार्टी सभापती शेरबहादुर देउवाको कार्यकक्षामा बसेर अनौपचारिक छलफल चलिरहेको छ।

एक नेताका अनुसार छलफलमा पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेलले सरकारमा पार्टी जानुपर्नेमा जोड दिएका छन्। पौडेलले पार्टी सभापती देउवा प्रधानमन्त्री नबन्ने भए अर्को व्यक्ति अघि सार्नुपर्ने धारणा राखेका छन्।

पार्टीको क्रियाशिल सदस्यता टुङग्याउने अवधी थप्नेलगायत विषयमा छलफल गर्न केन्द्रीय समिती बैठक बोलाइएको थियो।

ताइवान रेल दुर्घटनामा दर्जनौंको मृत्यु

काठमाडौँ । ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा केही दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।
प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको छ भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ । अधिकारीहरुले तटीय शहर हुलियान नजिकको सुरुङ नजिक एउटा मर्मत कार्यमा प्रयोग गरिएको सवारी साधनले तिब्र गतिमा दौडिरहेको रेललाई ठक्कर दिएको अनुमान गरेका छन् ।
हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटना भएको बताए ।
स्थानीय संचार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्वीर प्रकाशन गरेका छन् ।
उक्त दुर्घटना स्थानीय समय अनुसार बिहान ९.३० बजे भएको थियो ।

कंगोमा विद्रोहीद्धारा २९ जना गाउँलेको हत्या

काठमाडौँ । उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो । त्यस आक्रमणमा परेर कम्तीमा पनि २९ जना सर्वसाधारण नागरिकको ज्यान गएको समाचारमा जनाइएको छ । बेनीको नगरपालिका प्रशासनले सो क्षेत्रमा कम्तीमा पनि २५ जना सर्वसाधारणको शव भेटिएको जानकारी गराएको छ ।

ती नागरिकहरु सो क्षेत्रका स्थानीय रहेका पनि समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार यहाँका एक गाउँमा भएको सो हमलामा स्थानीय नागरिकहरुकै हत्या भएको पाइएको छ ।
त्यसमा परेर अरु चार जना विद्रोही पनि मारिएका छन् । ती विद्रोहीहरु गाउँलेले प्रतिकार गर्ने क्रममा ज्यान गएको समाचारमा जनाइएको छ ।

सो क्षेत्रमा अरु कम्तीमा पनि ५० जना सर्वसाधारण हराएका छन् । उनीहरुलाई ती विद्रोहीहरुले अपहरण गरेर लगेका यहाँको सैनिक स्रोतले जनाएको छ । हत्याको कारण खुल्न सकेको छैन । यहाँको सैनिकले ती हत्याराहरुको खोजी जारी रहेको पनि बताएको छ ।

मेलम्ची पानी वितरणको औपचारीक उद्घाटनमा राष्ट्रपतिको सम्बोधन, के के भनिन्? (पूर्णपाठ)

काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्चीको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छिन् । राष्ट्रपति भण्डारीले पानीको उद्घाटन पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई सम्झदै गरेकी हुन् । यद्यपि, मेलम्ची आयोजनाको परिकल्पना पाँच दशक अगाडि नै भएको उनले स्मरण गराईन् ।


भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराका टुटी खोल्दै राष्ट्रपति भण्डारीले आयोजनाको उद्घाटन गरेकी हुन् । धारा उद्घाटनपछि राष्ट्रपतिले गरेको सम्बोधन यस्तो छः

सम्माननीय प्रधानमन्त्री,
माननीय मन्त्रीहरू,
माननीय सदस्यहरू,
राष्ट्रसेवकहरू,
भद्रमहिला तथा सज्जनवृन्द ।

हाम्रो देशको राष्ट्रिय गौरवको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको प्रथमचरणको निर्माण कार्य सम्पन्नप्रायः भई घरघरमा पानी वितरणको शुभारम्भ भएकोमा खुशी व्यक्त गर्दछु ।
यसको सफल कार्यान्वयनसहित दिगो संरक्षणको शुभकामना प्रकट गर्दछु ।
आजको यस अवसरमा आयोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सुरुवातदेखि नै संलग्न हुने राजनीतिज्ञ, योजनाविद, प्राविधिक, दातृ निकाय तथा राष्ट्रसेवकहरूको योगदानको स्मरण गर्दै आभार व्यक्त गर्दछु ।
बढ्दो जनसंख्यासँगै काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्तिमा देखिएको समस्यालाई दिगो रूपमा समाधान गर्नका लागि पानीको स्रोत खोजी गर्ने सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा अवस्थित मेलम्ची नदीको पानी आर्थिक, सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट उपयुक्त देखिएपछि दुई दशकअघि नै मेलम्ची खानेपानी आयोजनाको निर्माण सुरु गरिएको थियो ।
मेलम्ची खानेपानी आयोजनाको परिकल्पना पाँच दशक पहिले नै गरिएको भएता पनि करीब तीन दशकअघि तत्कालिन सरकारले विस्तृत सम्भाव्यता अध्ययनपछि यस आयोजनाको प्रारुप तयार गरेको थियो ।
यस अवसरमा मेलम्ची आयोजनाका परिकल्पनाकारलाई धन्यवाद दिन चाहन्छु ।
मुलुकमा प्रजातन्त्रको पुनस्र्थापनापछि तत्कालीन प्रधानमन्त्री श्री कृष्णप्रसाद भट्टराईले सार्वजनिक रूपमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा ल्याई वितरण गर्ने सर्वजनिक प्रतिबद्धता जाहेर गरेपछि यस आयोजनाले थप महत्व र प्रचार पायो ।
यसबाट मुलुकको नेतृत्व तहलाई यो आयोजना कार्यान्वयन गर्नका लागि प्रेरणा मिल्यो ।
परियोजनाको निर्माण कार्य ठोस रूपमा कार्यान्वयन हुन त्यसपछि पनि झण्डै एक दशक प्रतीक्षा गर्नु परेको थियो ।
त्यसपछिका सरकारहरूले विभिन्न चरणमा निर्माण कार्य अघि बढाए ।

श्री केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा रहेको वर्तमान सरकारको दृढ इच्छा शक्ति र तत्परताका कारण यो आयोजना सम्पन्न भएको छ ।
नयाँ वर्ष २०७८ को पूर्वसन्ध्यामा नेपालको प्राचीन सांस्कृतिक शहर र राजधानी काठमाडौँका लागि यो आयोजना एक उपहार बन्न पुगेको छ ।
यसबाट यहाँका जनताको खुसी बढेको छ ।
पानी र जीवन बिच अभिन्न सम्बन्ध रहेको छ ।
पानीविना जीवनको अस्तित्व असम्भव भएकाले पानीका स्रोतहरूको संरक्षण तथा सम्वद्र्धन गर्नु हामी सबैको साझा दायित्व हो ।
जलवायु परिवर्तन, जनसंख्या वृद्धि, पानी वितरण व्यवस्थापनमा कमजोरी, जमिनमुनिको पानीको अत्यधिक दोहन जस्ता कारणले पानीका स्रोतहरू प्रदुषित र संकटग्रस्त बनेको परिवेशमा मेलम्चीको शुद्ध पानी ल्याउन नेपाल सफल भएको छ ।
यसबाट काठमाडौँ उपत्यकाका जलाधार क्षेत्रको प्रदुषण न्यूनीकरणका साथै जमीनमुनिको पानीको अत्यधिक दोहनलाई कम गर्न समेत मद्दत पुग्ने अपेक्षा लिएको छु ।
यस प्रसंगमा, खुल्ला आकाशमुनि हामीले प्राणवायु लिनु पर्ने शास्वत सत्यलाई ध्यानमा राखी वायु प्रदुषण न्यूनीकरण गर्नु पनि हामी सबैको दायित्व भएको कुरा पुनः स्मरण गराउन चाहन्छु ।
पानीका स्रोतहरूको संरक्षण एवं सम्बद्र्धन गर्ने सन्दर्भमा नै वातावरण प्रदुषण समेत नियन्त्रण गर्न सकिन्छ ।
नेपालका ठूला विकास आयोजनामध्ये चर्चित मेलम्ची खानेपानी आयोजना कार्यान्वयनका सन्दर्भमा हासिल भएका सकारात्मक र नकारात्मक दुवै किसिमका सिकाईबाट शिक्षा लिदै आगामी दिनमा यस प्रकारका ठूला पूर्वाधार आयोजनाको तर्जुमा तथा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्ष सचेत बन्नुपर्ने आवश्यकता महसुस गरेको छु ।
मुलुक समृद्धिको यात्रामा अघि बढिरहेको छ ।

यस अभियानलाई सार्थक तुल्याउन निर्बाह भएका भूमिकाको प्रशंसा गर्दछु ।
विकास निर्माण कार्यमा यदाकदा अवरोध सिर्जना गर्ने कार्य हुनु चिन्ताको विषय हो ।
मेलम्ची खानेपानी आयोजनाबाट उपलब्ध हुने पानीले काठमाडौँ उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन गर्न धेरैहदसम्म सहज हुने नै छ ।
यस प्रकारका आयोजना विस्तार र सुदृढीकरण गर्न समयमै सम्बन्धित निकायले ध्यान पुर्‍याउने विश्वास लिएको छु ।
एकातिर, हजारौँ नदी, तालतलैया, पोखरी, लाखौँ हेक्टर भूभागमा फैलिएको सिमसार क्षेत्रका साथै ठूलो मात्रामा भूमिगत पानीका स्रोतहरू विद्यमान रहेको भएता पनि केहि जनसंख्या अझै पनि स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेकोछ ।
अर्कोतिर, प्राकृतिक प्रकोप, डढेलो, बाढी पहिरोले पानीका स्रोत र मुहानहरूमा प्रतिकूल प्रभाव पारिरहेको छ ।
यसका लागि हरियाली प्रवद्र्धन तथा पानीको दिगो उपयोग गर्दै जमिनको पानी पुनर्भरण गर्नुपर्ने आवश्यकता समेत महसुस गरेको छु ।
पानीको स्रोत संरक्षण तथा संवद्र्धनमा त्रिभुवन विश्व विद्यालयसहित अन्य प्राज्ञिक संस्थाहरुले समेत अध्ययन अनुसन्धानमा अग्रसरता लिनु पर्दछ ।
अन्तमा, मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नका लागि सिन्धुपाल्चोकका स्थानीय समुदायको योगदानको सराहना गर्दछु ।
त्यस क्षेत्रको सामाजिक आर्थिक उत्थान गर्न सम्बद्ध सबै पक्षको ध्यान पुग्ने विश्वास लिएको छु ।
धन्यवाद ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१’ हुँदै, विजेतालाई दुई लाख रुपैयाँ पुरस्कार

दोहा । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेन्ड जेनेरेशन – २०२१’ को पहिलो सिजन आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ को आयोजना गर्न लागेको हो ।

एनआरएनए मध्यपूर्व युवा विभागका संयोजक राज रेग्मीका अनुसार एनआरएनए दोस्रो पुस्ताको यो अभियानमा ४० वर्षसम्मका नवोदित गायक–गायिका भर्चुअलमार्फत् सहभागी हुनसक्ने छन् । ‘सार्क मुलुक बाहेकका, गैरआवासीय नेपाली संघ गठन भएका भएका सबै राष्ट्रबाट प्रतियोगीहरुलाई सहभागी गराइने छ,’ रेग्मीले भने, ‘विश्वभरका ६ वटा क्षेत्रीय समितिको सहभागिता रहनेछ, प्रत्येक क्षेत्रीय समितिबाट कम्तिमा १२ जना प्रतियोगीहरू सहभागी हुन पाउनेछन्, ६ वटाभन्दा धेरै राष्ट्रसहितको क्षेत्रीय समिति छ, प्रत्येक राष्ट्रबाट १ प्रतियोगी थपिने छन् ।’

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना गरिन लागेको उक्त कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायक भूमिकामा रहेका छन् । विवेक खतिवडाले उद्घोषण गर्ने छन् । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार होस्ट कन्ट्रीको भूमिकामा रहेको छ।

मध्यपूर्व युवा संयोजक राज रेग्मी, अध्यक्ष कुमार पन्त र मध्यपूर्व संयोजक प्रवीण गुरुङ ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन – २०२१’ मुख्य सहयोगीको भूमिकामा रहेका मध्यपूर्व संयोजक प्रवीण गुरुङले नेपाली संगीतकर्मीहरूले प्रवासमा रहँदा पनि आफ्नो क्षमतालाई प्रष्फुटन गर्ने अवसर सिर्जना गर्नकै लागि कार्यक्रम आयोजना गरिएको बताए । ‘नेपाल आइडल, भ्वोइस अफ नेपाल, बुकी–वुकी जस्ता फ्रेन्चाइज रियालिटी शोको ग्रान्ड फिनालेलाई कतारमा सम्पन्न गर्नका लागि मैले व्यवस्थापन हेर्ने जिम्मा पाएको थिएँ, यही अनुभवका कारण मध्यपूर्व यूवा विभागले गर्न लागेको कार्यक्रमलाई सहजीकरण गर्न सजिलो भएको हो,’ गुरुङले भने ।

‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेशन – २०२१’ यो पहिलो सिजन रहने छ । हरेक कार्यकाल अर्थात् प्रत्येक २ वर्षमा एक पटक यो कार्यक्रम हुने रेग्मीले जानकारी दिए । ‘हामीले यस प्रकारको कार्यक्रम सुरुआत गरेका छौं, यसलाई निरन्तरता दिन जसरी मेरा अग्रज मध्यपूर्व संयोजक प्रविण गुरुङले सहजीकरण गरिरहनु भएको छ, त्यसैगरी अब आउने युवा संयोजकलाई मैले सहजीकरण गर्ने छु,’ रेग्मीले भने ।

कोरोना कहरका कारण यस पटक भर्चुअलमार्फत् गर्नुपर्ने बाध्यता रहे पनि आगामी सिजनमा अन्तर्राष्ट्रियस्तरको स्टेज तयार पारेर अन्तर्राष्ट्रियस्तरकै रियालिटी शो गर्ने योजना रहेको रेग्मीले बताएका छन् । आइडल विजेता प्रतियोगीले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । द्वितीय पुरस्कार एक लाख रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ र चौथो २५ हजार रुपैयाँ रहेको रेग्मीले बताए । ग्राण्ड फिनालेमा प्रवेश पाउने ५ जना प्रतियोगीलाई गीति एल्बम्मा गीत गाउने अवसर प्रदान गरिने जानकारी उनले दिए । आगामी अप्रिल १६ र १७ तारिखमा प्रतियोगिता सञ्चालन गरिने छ।

कार्यक्रममा मध्यपूर्व क्षेत्रीय उपसंयोजकद्वय मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ र राजेन्द्र अर्याल ‘जोन’ एवं मध्यपूर्व क्षेत्रीय महिला संयोजक सुमित्रादेवी पौडेलले विशेष सहकार्यको भूमिका निर्वाह गरेका छन् । संयोजक रेग्मीले यो कार्यक्रमलाई सफल बनाउन साथ र हौसला दिने एनआरएनए अध्यक्ष कुमार पन्त, संघकी युवा तथा महिला विभाग प्रमुख, युवा संयोजक, महिला संयोजक लगायत पदाधिकारीहरू, सल्लाहकार तथा सम्पूर्ण एनआरएनए अभियन्ताहरूप्रति आभार पनि व्यक्त गरेका छन् ।

‘हाम्रो साथमा मध्यपूर्व मात्र होइन, संसारभरका अभियन्ताहरूको भरपुर समर्थन र प्रोत्साहन छ, र आज यो अन्तर्राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्न हामी लागिरहेका छौं, मलाई विश्वास छ, प्रत्येक प्रवासी नेपालीको हामीलाई साथ रहने छ,’ उनले भने ।

कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा एनआरएनए आइसीसीका सल्लाहकार टिबी कार्की, सचिव आरके शर्मा, प्रवक्ता डिबी कार्की, युवा संयोजक हिमाल गुरुङ, महिला संयोजक भोमा लिम्बु, आइसीसी सदस्य यस्मीन सैयद बेगम, एनसीसी कतारका अध्यक्ष मोहमद मोक्तदा लगायतले एनआरएनए आइडलको आयोजनाबाट मध्यपूर्वमा एनआरएनको गरिमा बढ्ने बताए ।

कस्तो हुने छ प्रतियोगी छनौट प्रक्रिया?

कार्यक्रममा ३ चरणमा प्रतिस्पर्धा गराएर विजेता घोषणा गर्ने तयारी गरिएको छ । पहिलो चरणलाई डिजिटल राउन्ड भनिएको छ । ‘डिजिटल राउन्डमा प्रत्येक प्रतियोगीले बढीमा २ मिनेटसम्मको सफा र प्रष्ट अडिसन भिडियो आ–आफ्नो राष्ट्रिय समन्वय परिषदलाई र रेकर्डका लागि आयोजक कमिटीलाई पनि सीसी गरी पठाउनु पर्नेछ ,’ संयोजक रेग्मीले भने ।

‘प्रत्येक राष्ट्रिय समन्वय समितिले उक्त भिडियो हेरेर क्षेत्रीय समितिलाई छनौटका लागि पठाउने छ ।’ प्रत्येक क्षेत्रीय समितिले छनौट गरी कम्तीमा १२ जना प्रतियोगीको भिडियो क्लिप आयोजक कमिटीको इमेल ठेगाना चथअmष्ममभिभबकत२लचलब।यचन, चअmष्ममभिभबकत२लचलब।यचन मा मिति १० अप्रिल २०२१ सम्ममा पठाउनु पर्ने छ ।
रेग्मीका अनुसार आयोजक कमिटीले प्राप्त प्रतियोगीहरूको भिडियो क्लिपलाई निर्णायक मण्डललाई पठाउने र डिजिटल अडिसनको भिडियोलाई निर्णायक मण्डलले मूल्याङ्कन गर्दै पहिलो चरणमा जम्मा प्रतियोगीमध्येबाट ३७ जना प्रतियोगीलाई मात्र छनौैट गरी ओपनिङ राउन्डमा लैजाने छ । छनौट भएका ३७ जना प्रतियोगीहरूको नामावली १३ अप्रिल २०२१ मा प्रकाशन गरी आयोजक समितिले प्रत्येक क्षेत्रीय समितिलाई जानकारी गराउने रेग्मीले बताए । त्यसपछि ओपनिङ राउन्डलाई ३ चरणमा बाँडिने र डिजिटल राउन्डबाट छनौट भएर यस राउन्डमा प्रवेश गरेका ३७ जना प्रतियोगीमध्ये अन्तरा राउन्डबाट १२ जना प्रतियोगी बाहिरिने र २५ जनाले ओपनिङ राउन्डको सारेगम राउन्डमा प्रवेश गराउने नियम तय भएको छ ।

‘ओपनिङ राउन्डको सारेगम राउन्डबाट थप १२ जना प्रतियोगी बाहिरिने र बाँकी १३ जना प्रतियोगीले पियानो राउन्डमा प्रवेश पाउने छन्, ती प्रतियोगी स्वतः फाइनल राउन्डमा सहभागी हुन पाउने छन्,’ रेग्मीले भने ।

फाइनल राउन्डलाई ३ चरणमा विभाजित गरिने छ । जसमा ओपनिङ राउन्डको पियानो राउण्डमा प्रवेश गरेका १३ जना प्रतियोगीमध्ये पहिलो चरणबाट ४ जना प्रतियोगीहरू बाहिरिने छन् । ९ जना प्रतियोगीहरूले दोस्रो चरणमा प्रवेश पाउनेछन् । दोस्रो चरणबाट थप ४ जना प्रतियोगी बाहिरिने र अन्तिममा ५ जना प्रतियोगीले ग्राण्ड फिनालेमा प्रवेश पाउने रेग्मीले बताए । प्रतियोगीले ग्राण्ड फिनालेमा १–१ वटा गीत गाउनेछन्, त्यही गीतका आधारमा १ जना प्रतियोगी बाहिरिने र ४ जनालाई प्रथम, दोस्रो, तेस्रो र चौथो घोषणा गरिनेछ,’ रेग्मीले भने ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौँ । ओखलढुङगा । सिद्धिचरण नगरपालिका–८ सल्लेरी बस्ने दिर्घ कुमारी मगरको घरमा खाना पकाउने क्रममा बुधबार राति आगलागी हुँदा घर, नगद ३ लाख रुपैयाँ, अन्नपात र भाँडावर्तन समेत गरेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु

पाँचथर । फिदिम नगरपालिका–१२ भोटेगाँउस्थित विद्युतको ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर सोही ठाउँ बस्ने १९ वर्षीय राजु ढुंगानाको बिहीबार बिहान मृत्यु भएको छ । करेन्ट लागि गम्भीर घाईते भएका उनको समर्पित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

काठमाडौँ । काठमाडौं महानगरपालिका–१५ ठुलोभर्‍याङस्थित सडकमा बा.१७ च ९२८३ नम्बरको गाडी, बा.१ ज ३८८६ नम्बरको ट्याक्सी र प्रदेश २–०२४ प ४७४२ नम्बरको स्कुटर एक–आपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका–१५ छाउनी बस्ने १९ वर्षीय सुजन बज्राचार्यको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्सी र गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवन, राप्ती नगरपालिका–८ थ्रीग्रुपस्थित सडकमा ना.६ त ९४३१ नम्बरको ट्याक्टरबाट लडेर सोही नगरपालिका–९ बस्ने गोरखा घर भएका २७ वर्षीय बुद्ध गुरुङको बिहीबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त पक्राउ

बर्दिया । हातहतियार तथा खरखजाना मुद्दाका फरार अभियुक्त सुर्खेत बराहताल गाउँपालिका–२ सिस्नेरी बस्ने ३६ वर्षीय रविलाल मन्दिरलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जको गस्ती टोलीले गत माघ १६ गते ३ थान भरुवा बन्दुक, सोको १७ थान गोली र २ सय ग्राम बारुद सहित गणेश बहादुर तिवारी र चक्र बहादुर विष्टलाई तत्काल नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहि फरार भएका रविलाललाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीको लागि आजै जिल्ला अदालत बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तालिम समीक्षा तथा तालिम क्यालेण्डर निर्माण गोष्ठी सम्पन्न

काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सञ्चालित नेपाल प्रहरीको आ.व. २०७७–०७८ मा संचालन भएका तालिमहरुको समीक्षा तथा आ.व. २०७८–०७९ को तालिम योजना सहितको तालिम क्यालेण्डर निर्माण सम्बन्धी गोष्ठी समापन भएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच उक्त गोष्ठीको समापन गरेका छन् ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले यस गोष्ठीका निष्कर्षले प्रशिक्षण प्रदायक केन्द्रहरुमा लिइएको निर्धारित लक्ष्य प्राप्तीका लागि मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे। प्रशिक्षण केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरु रोल मोडलको रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै निर्धारित लक्ष्य प्राप्तीप्रति अत्यन्तै गम्भीरतापूर्वक विश्लेषण गर्दै प्राप्त जिम्मेवारीलाई निष्पक्ष र पारदर्शी रुपमा निर्वाह गर्न उनले निर्देशन दिए।
तालिमको परिमाण भन्दा पनि त्यसको गुणस्तरमा ध्यान केन्द्रीत हुनुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिम प्रदायक निकायहरुबाट प्रशिक्षणमा सिकाइएका ज्ञान, सिप तथा कौशललाई कार्य सम्पादन गर्ने क्रममा प्रहरी कर्मचारीले आफ्नो कार्यक्षेत्रमा कसरी प्रदर्शन गर्‍यो भन्ने विश्लेषण हुनुपर्ने उल्लेख गरे ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्कीले धन्यवाद ज्ञापन गरेको उक्त समारोहमा सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गरेका थिए । साथै कार्यक्रममा प्रतिष्ठानका तालिम शाखा प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले गोष्ठीको सार सङ्क्षेप तथा घुम्ती प्रशिक्षण योजना सहितको प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही लगायत कार्य एवम् अपराध अनुसन्धान विभाग तथा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधिले आ–आफ्नो विभाग सम्बन्धि तालिम आवश्यकता एवं आवश्यक स्रोत व्यवस्थापन सम्बन्धी टिप्पणी तथा सुझावहरु प्रस्तुत गरेका थिए ।

उक्त गोष्ठीमा सांगठनिक आवश्यकता, प्रदेशको जनशक्ति, बजेट, प्रशिक्षण संस्थाको विशिष्टिकृत उद्देश्य, प्रशिक्षण निकायमा उपलब्ध श्रोतसाधन, तालिमको औचित्यता, तालिम प्रहरी नियमावली बमोजिम समूहकृत छ छैन, पाठ्यक्रम लगायतका विषयमा प्रस्तुतीकरण तथा छलफल गरिएको थियो ।
मंगलबारदेखि सुरु भएको उक्त गोष्ठीमा प्रहरी प्रधान कार्यालयस्थित सबै विभाग, निर्देशनालयहरू, ब्यूरोहरू तथा तालिम प्रदायक शाखाका प्रतिनिधि, अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन, प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहा नवलपरासी, सबै प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालय महाराजगंजका प्रमुख तथा तालिम शाखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।
गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

थप १५२ कोरोनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १५२ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ८५१ पुगेको छ।

हाल देशभर १ हजार ५ सय ७९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आज कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३१ पुगेको छ।

आज नेप्से परीसुचक १२.८८ अंकले बढ्यो

काठमाडौं । बिहीबार शेयर बजार कारोबारको अन्तिम दिन (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ ।
बिहीबार परिसूचक ०.४९ प्रतिशत अर्थात १२.८८ अंकले उकालो लाग्दै २६३१.८९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।
आज नेप्से परिसूचक २६१९.०१ को बिन्दुबाट सुरु भएको थियो । अन्तिम समयसम्म १३ उपसमूहमध्ये ४ उपसमूह ओरालो लागेका छन् । होटेल, जीवन बीमा, म्युचुअल फण्ड र लगानी समूह ओरालो लागेका हुन् भने बाँकी ९ उपसमूह बढेका छन् ।
२ सय १८ कम्पनीको कारोबार भएकोमा ९७ कम्पनीको शेयरमुल्य बढेको छ भने ६७ कम्पनीको शेयरमुल्य घटेको हो र बाँकी १६ कम्पनीको शेयर स्थिर रहेको छ ।
आज १ करोड ४३ लाख ९० हजार ४४७ कित्ता शेयर ७४ हजार २०८ पटक खरिद बिक्री हुदाँ ७ अर्ब २५ करोड ९ लाख रुपैंया बराबरको कारोबार भएको छ ।

वायु प्रदुषण बढीरहदा विद्युतीय बस खरिद प्रक्रिया अघि बढ्यो

काठमाडौँ । वायु प्रखुषण अत्याधीक बढीरहेका बेलामा बागमती प्रदेशले विद्युतीय बस खरिद प्रक्रिया अघि बढाएको छ । प्रदेश यातायात संचालन तथा व्यवस्थापन बोर्डमार्फत बस खरिद गरिने भएको हो ।
चालू आर्थिक वर्षमा ३० वटा विद्युतीय बस र १५ वटा चार्जर खरिदको लागि बुधबार अन्तराष्ट्रिय स्तरमा बोलपत्र आह्वान गरिएको छ ।
काठमाडौं, भरतपुर र हेटौंडामा विद्युतीय सवारी चार्ज गर्ने चार्जिङ स्टेशन राख्ने तयारी पनि भइरहेको बोर्डले जनायको छ ।
विद्यतीय बास सञ्चालनमा ल्याउन सकेमा केही हदसम्म सवरि प्रदुषण घटाउन सकीने यातायात संचालन तथा व्यावस्थापन बोर्डले बताउछ ।