चार जलविद्युत् आयोजना बन्द

प्रशारण लाइनको टावर ढलेपछि म्याग्दी, मुस्ताङ र पर्वतमा सञ्चालित चार जलविद्युत् आयोजनाका उत्पादन बन्द भएका छन् । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा प्रसारण लाइनको टावर ढालेर म्याग्दीका दुई, पर्वत र मुस्ताङका एक÷एक आयोजनाको ७०।६ मेगावाट विद्युत् प्रसारण प्रणालीबाट विच्छेद भएको हो ।

मोदीखोला–१ जलविद्युत् आयोजनाको विद्युत्गृहदेखि मोदी सबस्टेशन जोड्ने १३२ केभी क्षमताको प्रशारण लाइनको चार नम्बरको टावर गत शुक्रबार राति बाढीपहिराका कारण ढलेको थियो ।

दश मेगावाट क्षमताको मोदी–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड मोदीका प्रबन्ध निर्देशक उपेन्द्र गौतमले मोदी सबस्टेशन भएर राष्ट्रिय प्रशारण लाइनमा जोडिने अन्य आयोजना पनि प्रभावित भएका जानकारी दिएका छन् पाँचसय मिटर नहरमा माटो थुप्रिएको मोदी–१ को बाँधमा पनि क्षति पुगेको छ । मोदी–१ का साथै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको ४२ मेगावाट क्षमताको म्रिस्तीखोला, ५ मेगावाट क्षमताको घलेम्दीखोला र मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेमा रहेको १३।६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले डाइभर्सन बैकल्पिक टावर बनाउन र ढलेको टावर मर्मतमा ढिलाई गर्दा करोडौ मुल्यको नोक्सानी भएको माउन्टेन इनर्जी नेपाल प्रर्बद्धक रहेको म्रिस्तीखोला जलविद्युत् आयोजनाका प्रतिनिधि चुडामणि निरौलाले बताए। “विद्युत् प्राधिकरणले खपत गर्न नसक्दा ३० देखि ३५ मेगावाटको हाराहारीमा उत्पादन गरिरहेका थियाँ”, उनले भने, “सञ्चालनमा आएको दुई महिनामै उत्पादन बन्द गर्नुपर्दा थप घाटा व्यहोर्नुपर्ने भयो ।” कालीगण्डकी कोरिडोर प्रसारण लाइनको २२० केभी क्षमताको दाना सबस्टेसनमा जोडिएका मिस्त्री खोला, थापाखोला र घलेम्दीको विद्युत् कुस्माको खुर्कोट सबस्टेसन हुँदै मोदी–१ को १३२ केभी प्रसारण लाइनमार्फत मोदी सबस्टेसनमा पुग्छ । मोदी सबस्टेसनसम्म पुग्ने विद्युत् स्थानीय क्षेत्रमा वितरण हुँदै आएको छ ।

बढी भएको विद्युत् मोदीबाट लेखनाथ सबस्टेसनसम्म पु¥याउने गरिएको छ । प्राधिकरणले टावर मर्मतको काम तत्काल सुरु गर्न र विद्युत् आपूर्तिलाई सुचारु गर्न वितरण तथा ग्राहक सेवा गण्डकी प्रादेशिक कार्यालय पोखराका प्रमुख केदार सिलवाल, पोखरा ग्रिड प्रमुख माधव पौडेललगायत टोलीलाई खटाएको जनाएको छ । मुस्ताङ, पर्वत, म्यादी र बागलुङ जिल्लाको विद्युत् सेवालाई शनिबार साँझदेखि नै सञ्चालनमा ल्याएको प्राधिकरणको टोलीले प्रसारण लाइन मर्मतमा प्राथमिकताका साथ निरन्तर खटिएको जनाइएको छ ।

यसपालिको वर्षा सुरु भएयता गण्डकी प्रदेशका विद्युत् पूर्वाधारमा रु १० अर्बभन्दा बढीको क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल इपानले जनाएको छ । बाढीपहिराले निर्माणाधीन तथा निर्माण पूरा भई सञ्चालनमा आएका जलविद्युत् आयोजना एवं प्रशारण र वितरण लाइनका संरचना क्षतिग्रस्त हुँदा ऊर्जा क्षेत्रका लागि ठूलो आर्थिक नोक्सानी भएको इपानका प्रदेश सदस्य शंकर बस्यालले बताएका छन्।

अझै मनसुनी गतिविधि बढ्ने

अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त वायु प्रवेश भएसँगै आगामी दुई दिन मनसुनी गतिविधि बढ्न सक्ने सम्भावना छ ।

हाल देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश नं १, बागमती तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको औँल्याएको छ ।

राति देशभर सामान्य बदली र गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १६ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३५ दशमलव पाँच डिग्री सेल्सियस छ ।

सडक हिलाम्मे हुँदा आवतजावतमा सास्ती

नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत बाँकेको मानपुर खण्ड हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ ।

जानकी गाउँपालिका–३ मानपुरमा पर्ने उक्त सडकमा पानी जमेर हिलाम्मे हुँदा साना सवारी साधन र नागरिकलाई आवतजावतमा कठिनाइ भएको छ । उक्त स्थानमा दुर्घटनाको जोखिम बढेको स्थानीय अब्बाद अहमद सिद्दीकीले बताएका छन् । उनको भनाइ अनुसार हिलाम्मे सडकमा साना दुईपाङ्ग्रे सवारी दैनिकरूपमा दुर्घटना हुने गरेका छन् । नेपालगञ्ज–गुलरिया मुख्य सडकमै महिना दिनदेखि यो समस्या भए पनि सरोकारवाला निकायले समाधानका लागि चासो दिएका छैनन् ।

मानपुर मोडमा पानी निकासका लागि नाली नहुँदा सडकमा पानी जमेको हो । निरन्तरको वर्षाका कारण उक्त खण्डको ३० मिटर सडक पानीले डुबेको छ । मोडमै रहेको घर भत्काएपछि फराकिलो बनेको सडकमै पानी जमेका कारण सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ ।

सडकमा पानी जमेर हिलाम्मे भएपछि तत्कालका लागि आवतजावतमा सहज बनाउन गाउँपालिकाबाट ग्राभेल हालेर मर्मत गर्ने प्रयास गरिए पनि पानीको निकास नभएकाले समस्या समाधान हुन नसकेको जानकी गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए।

“तत्काल आवतजावत सहज बनाउनका लागि ग्राभेल हालिएको छ । दीर्घकालीन समस्या निकासका लागि सडक विभागसँग दुवै साइडमा पानी निकासका लागि सानो नाली बनाउने पहल भइरहेकोे छ”, धितालले भने, “समस्या समाधानका लागि आवश्यक सहयोग र समन्वय गर्न गाउँपालिका कार्यालय तयार छ ।”

नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउने योजना अगाडि बढे पनि यो वर्ष भने सर्वसाधारणले कठिनाइ व्यहोर्नुपर्ने भएको छ । नेपालगञ्जदेखि बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक नै विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर र बर्दियामा गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गरी चार लेन सडक बनाउने काम भइरहेको छ ।

यो आर्थिक वर्षमा नेपालगञ्जको धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको छ । धम्बोझीबाट मैनापोखरसम्मको २० किलोमिटर चार लेन सडक निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले रु १३ करोड बजेट छुट्याइसकेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिएका छन् ।

उनको भनाइ अनुसार नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत नेपालगञ्जको धम्बोझीचोकबाट बर्दियाको बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय भएको छ । चारलेन सडक निर्माण योजना बहुवर्षीय हो । योजना कार्यान्वयनसँगै अहिले हिलाम्मे भएको मानपुर खण्डको समस्या पनि समाधान हुनेछ ।

अफर दिँदै सौराहाका होटल

गत वर्षको चैतयता कोभिड–१९ का कारण व्यवसाय गर्न नपाएका सौराहाका होटल व्यवसायीले नेपाली पर्यटक लक्षित प्याकेजहरू सार्वजनिक गर्न थालेका छन् । ठूलो नोक्सान व्यहोरिसकेका व्यवसायी अब पर्यटक आउनेमा आशावादी भएका छन् ।

आन्तरिक पर्यटकलाई लक्ष्य गरी सस्तो मूल्यमा प्याकेज सार्वजनिक गर्न थालिएको हो । होटल नचल्दासमेत कोठा सरसफाइ गरिरहनुपर्ने हुन्छ । सौराहाका युवा व्यवसायी सुमन घिमिरेले कोभिडका समयमा ‘पे नाउ, गो लेटर’ प्याकेजमार्फत ३०० जनाभन्दा बढीको बुकिङ गराएका थिए । यी पाहुना यस वर्ष आउनेछन् । उनले भने, “गएको असारमा मलाई बैंकको ब्याज, किस्ता र अन्य खर्चमा समस्या भएन ।” उनका पाहुनाले असारअघि नै रकम जम्मा गरिसकेका छन् । यस वर्ष उनीहरू भ्रमणमा आउनेछन् ।

जङ्गल सफारी लजका सञ्चालक घिमिरेले यसपालिको दशैँ–तिहार सौराहा अफर सार्वजनिक गरेका छन् । दुई रात तीन दिनको यो प्याकेजमा एउटा लञ्च, दुईवटा डिनर र दुईवटा ब्रेकफास्टसँगै पर्यटकलाई थारू संस्कृति, थारू म्युजियम र हात्ती प्रजनन केन्द्र घुमाइने छ । होटल एशोसिएशन नेपालका सदस्य ज्ञानेन्द्रकुमार विष्टको रेन फरेष्टमा पनि यो प्याकेज घोषणा गरिएको छ । विष्टले भने, “हामीले दशैँ–तिहारलक्षित प्याकेज सार्वजनिक गरेका छौँ ।” उनको प्याकेजमा एक रात दुई दिनको रु चार हजार ४४४ पर्दछ । जसमा एक–एकवटा लञ्च, डिनर र ब्रेकफाष्ट पर्दछन् । यससँगै जीप वा हात्ती सफारीमध्ये एक र कल्चरल डान्स प्याकेजमा पर्दछ ।

होटल सेभेनस्टारले दशैँ–तिहार अफर ४० प्रतिशत छुट गरेको छ । कोठामा यो छुट गरिएको हो । होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले खानामा पनि १० प्रतिशत छुट गरिएको बताए । कर्पोरेट कार्यक्रममा पनि विशेष छुट दिइएको उनले जानकारी दिएका छन् । छुटसँगै कार्यक्रम आइरहेका दुवाडी बताए । उनले भने, “कर्पोरेट कार्यक्रम, विवाहसँगै कोठा बुकिङ हुन थालेका छन् ।” भारतीय र मारवाडी समुदायको विवाहको बुकिङ भएको दुवाडीको भनाइ छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया धेरै होटलले केही सस्तोमा नेपाली पर्यटक लक्षित प्याकेज सार्वजनिक गर्न थालेको बताए । उनले भने, “अब पर्यटक आउँछन् भन्नेमा हामी आशावादी रहेका छौँ ।” राष्ट्रियरूपमा नै सौराहामा अन्य समयको तुलनामा अफरमार्फत आन्तरिक पर्यटकलाई छुटको व्यवस्था भएको सन्देश पु¥याइदिन उनको आग्रह छ । आन्तरिक पर्यटक भित्र्याउन सकेमा होटल टिक्ने उनले बताए । सौराहामा ११० होटल र १०० हाराहारी रेष्टुरेराँ रहेका छन् ।

रेष्टुरेन्ट एण्ड बार एशोसिएशन रेवानका अध्यक्ष दीपेन्द्र खतिवडाले अब रेष्टुरेन्ट साँझ अबेरसम्म चल्न पाउने भएसँगै छुटका अफर ल्याउने विषयमा छलफल थालिएको बताएका छन् । कोभिड घटेको र चाडपर्व आएकाले अब पर्यटक आउनेमा आफूहरू आशावादी भएको खतिवडाको भनाइ छ । उनले भने, “जे–जति नोक्सान हामीले व्यहो¥यौँ अब नहोलाजस्तो लाग्छ ।” आन्तरिक पर्यटकलाई लक्षित गरी नेपाली परिकारको गुणस्तर विकास गर्नेतर्फ व्यवसायी लागेको उनले जानकारी दिएका हुन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष दीपक भट्टराई अधिकांश होटलले आन्तरिक पर्यटक लक्षित गरेर प्याकेज सार्वजनिक गरेको बताए छन् । कतिपयले प्याकेज बनाएका छन् भने कतिपयले एकमुष्ट छुट दिएको उनको भनाइ छ ।

गत वर्षको चैतयता होटल बन्द हुँदा ठूलो नोक्सान व्यहोरेका व्यवसायीले अब होटल खुल्दै गर्दा आन्तरिक पर्यटकलाई आकर्षित बनाएर व्यवसाय क्रमशः पूर्ववत् अवस्थामा फर्काउन लागिरहेको उनले बताएका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र जीप सफारीबाहेकका सबै गतिविधि सञ्चालनमा रहेका छन् । निकुञ्जमा दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् । निकुञ्जको मुख्य प्रवेशद्धार सौराहा हो । यो देशकै पर्यटकीय गन्तव्य हो ।

बेनीको क्याम्पसचोक पहिरोको उच्च जोखिममा

बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । गणेशटोल सुधार समितिका संयोजक ठाकुरप्रसाद शर्माले पहिराको फेदीमा रहेको बजारमा बाढी आउने खतरा रहेको बताए ।

“करिब ५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ क्षेत्रफल भएको पाखो चिराचिरा परेर बग्न तयार भएर बसेको छ”, उनले भने, “यो पहिराले चारवटा टोल र म्याग्दी बहुमुखी क्याम्पस जोखिममा परेको छ ।” करिब ३०० घर पहिरो र बाढीको जोखिममा रहेका शर्माले बताएका छन् ।

क्याम्पसचोकबाट करिब ८०० मिटरमाथिको पाखोमा दुईवटा पहिरो छन् । पहिराको फेदीदेखि क्याम्पसचोक हँुदै कालीपुलको मोटरेबल पुलसम्म नहर बनाएर खोल्साको पानी र बाढी व्यवस्थापन गरिएको छ । पहिराले साबिकको ठाउँभन्दा करिब तीन मिटर तल जमिन लच्किएको क्याम्पसचोकका बासिन्दा यामबहादुर बानियाँले बताए ।

बलौटे माटो भएको पाखोमा सल्लाको रुखको जङ्गल छ । “जमिन धाँजा फाटेर डेढ सयभन्दा बढी सल्लाका रुख ढलेका छन्”, बानियाँले भने, “पहिरो गएको छेउछाउमा टेक्दा जमिन खुट्टा गाडिन्छ । ठूलो वर्षात् हुँदा ढलेका रुख, ढुङ्गा र माटोसहित बाढीले क्याम्पसचोकमा क्षति पुग्ने जोखिम छ ।”

पहिरोका कारण सामान्य वर्षात् हुँदासमेत क्याम्पसचोक र कालीपुल क्षेत्रमा बाढी आउन थालेको छ । गत असारमा यो ठाउँमा सुरु भएको पहिरो चल्न अझै रोकिएको छैन । क्याम्पसचोक क्षेत्रमा बाढीको निकासका लागि बेनी नगरपालिकाले घर खरिद गरेर नाली बनाएको छ । तर सो नालीको क्षमताभन्दा ठूलो बाढी आउने गरी नयाँ पहिरो सिर्जना भएपछि क्याम्पसचोकवासी चिन्तित भएका स्थानीय रेमबहादुर विश्वकर्माले बताएका छन् । उनले बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने आँपको रुखदेखि सार्कीटोल जोड्ने सडकका कारण पहिरो सिर्जना भएको बताए ।

सडक खन्दा डोजरले पाखोमा फालेको माटो बगेर सिर्जना भएको पहिराले ठूलो रूप लिन थालेको विश्वकर्माको भनाइ छ । सल्लाको जङ्गलको बीचमा खनिएको सडकको तल र माथि दुवैतर्फ पहिराले जमिन भासिएको छ । क्याम्पसचोकका बासिन्दासमेत रहनुभएका बेनी नगर कार्यपालिकाको सदस्य कृष्णकुमार विश्वकर्माले जोखिमयुक्त ठाउँको स्थलगत निरीक्षण गरेर थप क्षति हुन नदिन र पहिरो नियन्त्रण गर्न पहल गर्ने बताएका छन्।

बेनीको क्याम्पसचोक पहिराको उच्च जोखिममा

बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको वडा नं ८ मा पर्ने क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । गणेशटोल सुधार समितिका संयोजक ठाकुरप्रसाद शर्माले पहिराको फेदीमा रहेको बजारमा बाढी आउने खतरा रहेको बताए ।

“करिब ५०० मिटर लम्बाइ र ५०० मिटर चौडाइ क्षेत्रफल भएको पाखो चिराचिरा परेर बग्न तयार भएर बसेको छ”, उनले भने, “यो पहिराले चारवटा टोल र म्याग्दी बहुमुखी क्याम्पस जोखिममा परेको छ ।” करिब ३०० घर पहिरो र बाढीको जोखिममा रहेका शर्माले बताएका छन् ।

क्याम्पसचोकबाट करिब ८०० मिटरमाथिको पाखोमा दुईवटा पहिरो छन् । पहिराको फेदीदेखि क्याम्पसचोक हँुदै कालीपुलको मोटरेबल पुलसम्म नहर बनाएर खोल्साको पानी र बाढी व्यवस्थापन गरिएको छ । पहिराले साबिकको ठाउँभन्दा करिब तीन मिटर तल जमिन लच्किएको क्याम्पसचोकका बासिन्दा यामबहादुर बानियाँले बताए ।

बलौटे माटो भएको पाखोमा सल्लाको रुखको जङ्गल छ । “जमिन धाँजा फाटेर डेढ सयभन्दा बढी सल्लाका रुख ढलेका छन्”, बानियाँले भने, “पहिरो गएको छेउछाउमा टेक्दा जमिन खुट्टा गाडिन्छ । ठूलो वर्षात् हुँदा ढलेका रुख, ढुङ्गा र माटोसहित बाढीले क्याम्पसचोकमा क्षति पुग्ने जोखिम छ ।”

पहिरोका कारण सामान्य वर्षात् हुँदासमेत क्याम्पसचोक र कालीपुल क्षेत्रमा बाढी आउन थालेको छ । गत असारमा यो ठाउँमा सुरु भएको पहिरो चल्न अझै रोकिएको छैन । क्याम्पसचोक क्षेत्रमा बाढीको निकासका लागि बेनी नगरपालिकाले घर खरिद गरेर नाली बनाएको छ । तर सो नालीको क्षमताभन्दा ठूलो बाढी आउने गरी नयाँ पहिरो सिर्जना भएपछि क्याम्पसचोकवासी चिन्तित भएका स्थानीय रेमबहादुर विश्वकर्माले बताएका छन् । उनले बेनी नगरपालिकाको वडा नं ६ मा पर्ने आँपको रुखदेखि सार्कीटोल जोड्ने सडकका कारण पहिरो सिर्जना भएको बताए ।

सडक खन्दा डोजरले पाखोमा फालेको माटो बगेर सिर्जना भएको पहिराले ठूलो रूप लिन थालेको विश्वकर्माको भनाइ छ । सल्लाको जङ्गलको बीचमा खनिएको सडकको तल र माथि दुवैतर्फ पहिराले जमिन भासिएको छ । क्याम्पसचोकका बासिन्दासमेत रहनुभएका बेनी नगर कार्यपालिकाको सदस्य कृष्णकुमार विश्वकर्माले जोखिमयुक्त ठाउँको स्थलगत निरीक्षण गरेर थप क्षति हुन नदिन र पहिरो नियन्त्रण गर्न पहल गर्ने बताएका छन्।

रेल्वे कम्पनीका कर्मचारी हटाइए

तलको बक्समा प्रीति फन्टका अक्षरहरु लेख्नुहोस् वा पेस्ट गर्नुहोस्स्
नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न बताएका छन् ।

कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ । तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको छ । कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

जुम्लाको हिमा गाउँपालिकामा पठनपाठन शुरु

जुम्लाको हिमा गाउँपालिकाका विद्यालयहरुमा पठनपाठन शुरु भएको छ । गाउँपालिकाले यही भदौ १५ गतेदेखि विद्यालय सञ्चालनका लागि अनुमति दिएको हो ।

गाउँपालिकाको कालिका माध्यमिक विद्यालयमा अध्ययनरत ८२ विद्यार्थीको कोरोना परीक्षण गरेर पठनपाठन शुरु गरिएको शिक्षक खम्बा शाहीले जानकारी दिएका छन्। “विद्यार्थीको कोरोना परीक्षण नतिजा नेगेटिभ आएपछि पठनपाठन शुरु गरेका हौँ,” उनले भने । स्वास्थ्य मापदण्ड पालन गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा पठनपाठन सञ्चालन गर्न अनुमति दिइएको शिक्षा शाखा प्रमुख शङ्कर धितालले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहका शिक्षा शाखा प्रमुखसितको छलफल पछि विद्यालय सञ्चालनको निर्णय गरिएको धितालको भनाइ छ । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले शिक्षा शाखालाई एक साताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउन निर्देशन दिएको बताए । “कोरोनाले विद्यालय बन्द हुँदा विद्यार्थी मेला, पर्व र अन्य काममा जान थालेका छन् । त्यहाँभन्दा विद्यालयमै उनीहरु सुरक्षित हुने सुझाव प्राप्त भएको छ,” उनले भने सरकारले पछल्लो समयमा ‘स्मार्ट लकडाउन’ कार्यविधिसमेत बनाएको छ । स्वास्थ्यको मापदण्डअनुसार हरेक साता कोरोना परीक्षण गरेर १०० जनामा परीक्षण गरेमा पाँच जनाभन्दामुनि नतिजा पोजेटिभ आएमा मात्रै विद्यालय सञ्चालन गर्न पाइने मापदण्ड बनाइएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक राजीव शाहले जानकारी दिएका छन् ।

यस्तै चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाले आठ विद्यालयमा कोरोना परीक्षण गरेको स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए । तिला गाउँपालिकाले पनि कार्यपालिको बैठक राखेर छिट्टै विद्यालय खुलाउने तयारी गरेको सो गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।

बङ्गलादेशी महिला फुटबल टोली नेपालमा

नेपालसँगको मैत्रीपूर्ण खेल खेल्नका लागि बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली आज नेपाल आइपुगेको छ ।

यही भदौ २४ र २७ गते हुने दुई मैत्रीपूर्ण खेलका लागि बङ्गलादेशी महिला फुटबल टोली नेपाल आइपुगेको हो । टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका उपाध्यक्ष शिक्षित पराजुली, एन्फा महिला कमिटिका पदाधिकारीलगायतले स्वागत गरेका छन्। उक्त मैत्रीपूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

उज्वेकिस्तानमा आयोजना हुने एएफसी महिला एशियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । एशियन कप छनोटमा नेपाल समूह एफमा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् । नेपालले फिलिपिन्ससँग खेल्दै एशियन कप छनोटको सुरुवात गर्नेछ । नेपाल र फिलिपिन्सबीचको खेल आगामी असोज २ गते हुनेछ ।

यस्तै नेपालले आफ्नो दोस्रो खेल असोज ५ गते हङकङसँग सामना गर्नेछ भने फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एशियन कप खेल्नेछ ।

जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालन गरे

जुम्लाका स्थानीय तहले विद्यालय सञ्चालनको तयारी गरेका छन् । यहाँको हिमा गाउँपालिकाले विद्यालयमा पठनपाठन शुरु गरेको छ । गाउँपालिकाले यही भदौ १५ गतेबाट विद्यालय सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख शङ्कर धितालका अनुसार गाउँपालिकाको दुई क्षेत्रमा गरी ८२ विद्यार्थीको कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएकाले कार्यपालिको बैठकको निर्णयअनुसार विद्यालय स्वास्थ मापदण्ड पालना गर्ने गरी गाउँपालिकाभित्रका सबै विद्यालय खुलाइएको शिक्षा शाखा प्रमुख धितालले बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले यहाँका स्थानीय तहका शिक्षा शाखा प्रमुखको उपस्थितिमा विद्यालय सञ्चालन गर्ने आधारको विषयमा आयोजना गरिएको बैठकबाट विद्यालय सञ्चालन गरिएको शाखा प्रमुख धितालले जानकारी दिए । स्थानीय तहको निर्णयअनुसार भदौ १५ गतेदेखि विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाइएको कालिका माध्यमिक विद्यालयका शिक्षक खम्बा शाहीले बताए ।

यसैगरी जिल्लाका स्थानीय तहका शिक्षा शाखा प्रमुखले कोरोना महामारीका बिचमा शिक्षा क्षेत्रमा भइरहेका गतिविधि र विद्यालय सञ्चालन गर्ने विषयको छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले शिक्षा शाखाले एक हप्ताभित्र शिक्षा क्षेत्रको जोखिम प्रतिकार्य योजना ल्याउने निर्णय गरेको बताए । उनले भने, “यसअघि जिल्ला कोभिड व्यवस्थापन समितिले निर्णय गरे पनि शिक्षा शाखालाई जिम्मेवारी दिएर एक सातामा जोखिम कार्ययोजनासहितको प्रतिवेदन पेश गर्ने निर्देशन गरिएको हो ।”

बैठकमा शिक्षा शाखा प्रमुखले शिक्षा क्षेत्र धरापमा परिसकेकाले स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुलाउनुपर्नेमा जोड दिएका छन् । कोभिडले गर्दा विद्यालय बन्द हुदाँ यहाँका धेरैजसो विद्यार्थी मेला, पर्व र अन्य काममा जाने भएकाले त्यहाँ भन्दा विद्यालयमै सुरक्षित हुनेमा सुझाव आएको प्रजिअ प्र्रसाईले बताएका छन् ।

दश घण्टापछि खुल्योे अरनिको राजमार्ग

पुन्यमाता खोलामा आएको बाढीका कारण डुबानमा परेर अवरुद्ध भएको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा पुलबजार खण्डमा पानीको बहाव घटेपछि करिब दश घण्टापछि यातायात सञ्चालनमा आएको छ ।

पुलबजार डुबानमा परेको कारण आज बिहान २ः०० बजेदेखि अवरुद्ध भएको सडकखण्ड खोलामा पानीको बहावसँगै केअस्बेर पहिलेदेखि यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ । आइतबार रातिदेखि परेको भारी वर्षाका कारण नालाहुँदै बनेपा–पनौती भएर बग्ने पुण्यमाता खोलामा आएको बाढीका कारण बनेपा पुलबजार क्षेत्र डुबानमा परेपछि बिहान २ बजेदेखि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत बनेपा खण्डमा यातायात ठप्प भएको थियो ।

खोलामा आएको बाढीले बनेपा नगरपालिका– ९ र १० को सिमानामा पर्ने पुलबजार क्षेत्रको पुललगायत बजार क्षेत्र नै पूरै डुबानमा परेका कारण चल्न नसकेको यातायातका साधन अहिले सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पहिराबाट घर पुरिँदा दुईको मृत्यु

रोल्पामा पहिराबाट घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा गए राति पूर्णबहादुर थापाको घर पहिराबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिए । पहिरामा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएकाृे बताएका छन् ।

उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।

यसैगरी सुनिल स्मृति गाउँपालिका–४ सुलिचौरमा पार्किङ गरेर राखिएको रा १ ख २०६८ नं को सनलाइट बोर्डिङ स्कुलको बस फगाम खोलाले बगाएको छ । सो बस उक्त ठाउँमा मर्मतका लागि राखिएको थियो ।

वर्षाले डुबे उपत्यकाका सडक

आइतबार रातभर वर्षा भएसँगै सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भए । काठमाडौँमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक खुलाउन लागिएको छ ।

उपत्यकामा अरु धेरै ठाउँमा जमेको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र सम्बन्धित पालिकाले खुलाइरहेका छन् । भारी वर्षाका कारण खोला बढेकाले करिडोर जलमग्न भएको लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बतार्ए । सडक विभागले सडक बनाउँदा छेउमा बनाउने ‘साइड ड्रेन’ सानो हुँदा सडकमै पानी जम्मा भएको पाइन्छ । उनले भने, “त्यसलाई पानी जान सक्ने गरी बनाउँदा सडक डुब्न पाउँदैन ।”

उपत्यकामा एकै दिन मात्रै वर्षा हुँदा पनि सडक जलमग्न हुने गरेको छ । सडकमा एक दुई फिटसम्म पानी हुँदा सवारी चालक र यात्रुलाई आवतजावत गर्न गाह्रो हुने गरेको छ । उपत्यकाका मुख्य र सहायक सडकमा कतिपय घर र पसलभित्रै पानी पसेको छ ।

उपत्यकामा सुन्धारा, बालुवाटार, कुमारीपाटी, तीनकुनेलगायतका स्थानमा सवारीसाधन नै डुबिरहेको देख्न सकिन्छ । वाग्मती, विष्णुमती धोबीखोलालगायत नदीको बहाव बढ्दा करिडोरमा पानी जम्ने गरेको छ ।

उपत्यकामा रहेको ढल साँघुरो र नियमित मर्मतका अभावमा यस्तो समस्या देखिरहेको छ । भौतिक संरचना निर्माणको जिम्मेवारीको कुन निकायको हो भनी स्पष्ट भए पनि मर्मतको जिम्मेवारी कसको हो भनी अन्र्यौल हुँदा बर्सेनि यो समस्या दोहोरिरहेको हो । ढल प्रणाली पुरानो भएको तथा पुरानो र नकुहिने वस्तु पस्दा पानी ढलमा नगएर सडकमै जम्मा हुने र त्यसले सडक पानीले भरिने गरेको छ ।

ढल जाम हुनेलगायत समस्या आउँदा केयुकेएलले नै उपकरण लगेर ढल खुलाउने काम गरिरहेको छ । त्यसबाहेक सम्बन्धित महानगरपालिका र नगरपालिकाहरुले पनि आ–आफुसँग भएका उपकरणमार्फत सडक खुलाउने गर्छन् । कतिपय स्थानमा खोलाको क्षेत्र कम छाडेर संरचना बनाउँदा पनि खोला सडक र बस्तीसम्म पुग्ने गरेको छ ।

काठमाडौँ महानगरपालिकामा भीमसेनस्थान जाने पुलमा विष्णुमति थुनिएर खोला बाहिर बगेको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । सो करिडोरको निर्माण महानगरपालिकाले गरिरहेको भए पनि कल्भर्ट पुल पहिले सडक विभागले बनाएको थियो । भीमसेनस्थानमा एक फिट माथिसम्म पनि खोलाको लेदो सडक र पेटीहरुमा रहेको छ ।

उनले भने, “महानगरपालिकाले त्यो पन्छाउन पहल गरिरहेको छ ।”ढल निर्माणको मुख्य जिम्मेवारी खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको हो । विभागले खासगरी सङ्घीय सडकमा र स्थानीय सडकमा सम्बन्धित पालिकाहरुले ढल निर्माण गर्छन् । तीन तहका सरकार कसले ढल बनाएको छ भन्ने अर्कोलाई थाहा नहुँदा र ढलहरुबीचको जडानमा समस्या हुँदा सडक पानीले भरिने गरेको छ ।

स्थानीयवासी पनि कुन निकायलाई उजूरी गर्ने भन्नेमा अन्योलमा छन् । ललितपुर, इमाडोलका रमेश श्रेष्ठ यस क्षेत्रमा बर्षेनि पानी जम्ने गरे पनि त्यसतर्फ कसैको ध्यान नगएको बताएका छन् । पानी पसलभित्र पस्दा धेरै क्षति हुने गरेको छ । उनले भने, “तत्काल पानी हटाउने मात्रैभन्दा दीर्घकालीन रुपमा समस्या समाधान गर्न खाँचो छ ।”
कुन सडकमा कसले ढल निर्माण गर्ने भन्ने नै स्पष्ट छैन । सडकका विषयमा आठ मिटर वा त्योभन्दा बढी चौडा सङ्घीय सरकारले र त्यसभन्दा कम चौडाइको स्थानीय सरकारले निर्माण गर्ने जनाइएको छ ।

कुन सडकमा कसले ढल निर्माण गर्ने भनी टुङ्गे नभएको पालिकाले बताउँदै आएका छन् । सामान्यतया ठूला चौडाइका सडकमा सङ्घीय सरकार र कम चौडाइमा स्थानीय सरकारले ढल निर्माणको काम गर्दै आएका छन् । स्थानीय तहले ढल निर्माण गरेका स्थानमा पनि मर्मतमा भने ध्यान दिएको पाइँदैन ।

ढलको समस्या काठमाडौँ उपत्यकाका नगर क्षेत्रसँगै नयाँ बनेका नगरपालिकामा समेत देखिरहेको छ । ग्रामीण बस्तीमा शहरीकरणसँगै फोहरपानीको व्यवस्थापनको समस्या देखिरहेको हो । पानीको उचित निकास नहुँदा वर्षाका समयमा काठमाडौँ उपत्यकाका धेरै सडक डुबानमा पर्ने र स्थानीयवासीको घरभित्रै पानी छिर्ने समस्या हुने गरेको छ ।

मेलम्ची खानेपानी आयोजना, कार्यान्वयन निर्देशनालयले मुख्य नदीमा पानी प्रशोधन केन्द्र र खोला नजिकै ढल निर्माण गरिरहेको छ । मेलम्चीको पानीले ढलको समस्या अझै बढ्नसक्ने भएकाले खोला छेउमा जस्तै ढल निर्माण उपत्यकाका मुख्य र सहायक सडकमा पनि गर्न आवश्यक छ । फोहरपानीको व्यवस्थापनका लागि निर्देशनालयले चार स्थानमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ । गुह्श्वरी, सूर्यविनायक, बालकुमारी र सुन्दरीघाटमा फोहरपानी प्रशोधन केन्द्र निर्माण गर्न लागिएको हो ।

मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्यामा वृद्धि

मकवानपुरमा स्वास्थ्य बिमा गराउनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ । हेटौँडालगायत ग्रामीण क्षेत्रमा हालसम्म एक लाख ३८ हजार ५५५ भन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेका छन् । सोमध्ये ७१ हजार १८४ महिला र ६७ हजार ३६७ पुरुषले २०७७÷०७८ सम्ममा स्वास्थ्य बिमा गरेको एक तथ्याङ्कले जनाएको छ ।

साथै स्वास्थ्य बिमा गर्नेमध्येमा गत आर्थिक वर्षमा ३२ हजार ९६६ व्यक्तिले बिमा नवीकरण गरेका छन् भने बिमा गर्ने ३३ हजार ९६६ नयाँ सदस्य थपिएका स्वास्थ्य बिमा बोर्ड मकवानपुरले जनाएको छ । कोरोना महामारीको कठिन परिस्थितिमा समेत ८७ प्रतिशतले गत आर्थिक वर्षमा बिमा नवीकरण गराएका छन् । सो सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा अत्यधिक रहेको छ । बिमा गर्नेमा ३९ हजार २५० ले पूर्ण शुल्कमा बिमा गरेका छन् भने छ हजार १३२ ज्येष्ठ नागरिकले निःशुल्करुपमा स्वास्थ्य बिमा गरेका सो बोर्डद्वारा उपलब्ध तथ्याङ्कमा उल्लेख गरिएको छ ।

यसैगरी ८७२ पूर्ण अपाङ्गता भएका रहेकाले निःशुल्क बिमा सेवा लिइरहेको बताइएको छ । त्यस्तै एचआइभी सङ्क्रमित भएका २३७ ले समेत निःशुल्क बिमा सेवा प्राप्त गरेका छन् भने क्षयरोग भएका एक जनालाई निःशुल्क सेवा दिइएको जनाइएको छ । महिला स्वास्थ्य स्वम्सेविकाका परिवारलाई ५० प्रतिशत छुट दिइ ५२४ को स्वास्थ्य बिमा गरिएको बताइएको छ । स्वास्थ्य बिमा गर्ने स्थानीय तहमा हेटौँडा उपमहानगरपालिकामा सबैभन्दा धेरै सङ्ख्या रहेको छ । वाग्मती गाउँपालिकाको सङ्ख्या सबैभन्दा कम रहेको सो बोर्डका दर्ता अधिकारी नरबहादुर खड्काले जानकारी दिएका छन् ।

सरकारले गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहँुच सुनिश्चित गर्न स्वास्थ्य बिमा ल्याएको र बिमा कार्यक्रम सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिद्वारा २०७२ चैत २५ गतेदेखि कैलालीबाट सर्वप्रथम सुरु गरिएको थियो । मकवानपुरमा विसं २०७४ असार १५ गतेदेखि सुरु भएको बिमा कार्यक्रमले सोही वर्षको भदौ १ गतेदेखि सेवा सञ्चालन गरेको थियो । मकवानपुरमा सुरुआतको वर्षमा ५५ हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गरेको थियो ।

सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या

सङ्खुवासभामा एउटै परिवारका ६ जनाको हत्या भएको छ । अज्ञात समूहले मादी नगरपालिका–१ खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यहरुको हत्या गरेको हो ।

प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार ५८ वर्षीय कार्की, ८४ वर्षीया आमा पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र पाँच वर्षीया नातिनी गोमाको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । आज बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको स्थानीय शिक्षक योगेन्द्र ओझाले जानकारी दिएका छन् ।

सदरमुकामबाट प्रहरी नायब उपरीक्षक सुवेदीसहितको टोली घटनास्थलतर्फ गएको छ । यस्तै इलाका प्रहरी कार्यालय चैनपुरबाट समेत प्रहरी टोली खोला गाउँ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।