बाढीले बगायो म्याग्दीको विद्युत्गृह

म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङमा रहेको दरखोला दोस्रो लघु जलविद्युत् परियोजनाको विद्युतगृह बाढीले बगाएको छ । गएराति अविरल वर्षासँगै आएको बाढीले ४५ किलोवाट क्षमताको लघु जलविद्युत्को विद्युतगृह बगाएको हो ।

वर्षासँगै नदीको तटीय क्षेत्रमा गएको पहिरो र बाढीका कारण लघु जलविद्युत् परियोजना बगाउँदा करिब रु एक करोड ५० लाख बढीको क्षति भएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए । उनका भनाइ अनुसार दुई वर्षअघि पुनःनिर्माण गरिएको उक्त परियोजनाबाट ३७८ घरधुरीले विद्युत् सेवा उपभोग गर्दै आएका थिए ।

मध्यरातमा अविरल वर्षासँगै आएको बाढीले विद्युत्गृहको भवनलगायतका महत्वपूर्ण सामान बगाएको छ । बाढीले परियोजनाको बाँध र नहरमा समेत ठूलो क्षति पु¥याएको छ । बाढीले तटीय क्षेत्रको जमिन र बस्तीमा समेत क्षति पु¥याएको छ । लघु जलविद्युत्को विद्युत्गृह बगाएपछि स्थानीय बस्ती अन्धकार बनेको र स्थानीयवासीको जनजीवनमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको स्थानीय लुलाङ आधारभूत विद्यालयका प्रधानाध्यापक नागेन्द्र ठाकुरले जानकारी दिएका छन् ।

यहाँ केन्द्रीय प्रसारणको पहुँच छैन, लघु जलविद्युत् बगाएपछि मोबाइल चार्ज र साँझमा बालबालिकालाई अध्ययनमा समेत समस्या हुने भएको छ”, प्रअ ठाकुरले भने बाढीले लघु जलविद्युत्मा पु¥याएको क्षतिको अवस्थाबारे अहिले स्थानीय जनप्रतिनिधि, युवा क्लबलगायत प्रतिनिधिको टोली निरीक्षण गर्न खटिएको गाउँपालिकाले जनाएको छ ।

विसं २०७२ साउनमा जुगेपानीमा आएको पहिराले विद्यु्तगृह र नहर बगाएर बन्द भएको दरखोला दोस्रो लघुजलविद्युत् परियोजना दुई वर्षअघि रु एक करोड ५२ लाखको लागतमा पुनःनिर्माण गरिएको थियो । लुलाङ, खोरीया, मेरनी र लमसुङका स्थानीयवासीले यस परियोजनाबाट लाभान्वित भएका थिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले रु ८५ लाख र धवलागिरि गाउँपालिकाले रु ५० लाख सहयोगमा स्थानीयवासीले जनश्रमदानसमेत गरेर यस परियोजनाको क्षमता बढाएर पुनःनिर्माण गरेका थिए ।

पहिराले सडक रोकिँदा इन्धनको अभाव

पहिराका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध हुँदा साविकको धौलागिरिका चार जिल्लामा इन्धन र उपभोग्य वस्तुको अभाव हुन थालेको छ । लामो समय ढुवानी रोकिँदा पेट्रोलियम पदार्थ, फलफुल तथा तरकारीलगायतका सामग्रीको अभाव हुन थालेको हो ।

वैकल्पिक मार्ग नभएका कारण गत शुक्रबारदेखि डिजेल र पेट्रोल बोकेका ट्यांकर पर्वतको मोदी गाउँपालिका–५ पातीचौरमा रोकिएका छन् । लामो समयका लागि सञ्चित गर्ने व्यवस्था नहुने र बाहिरबाट ल्याउन रोकिँदा भएको सञ्चितीले नधान्ने व्यवसायी बताउँ छन् । “अझै १÷२ दिन डिजेल मिलाएर वितरण गरे पुग्ला तर पेट्रोल सकियो”, गण्डकी धौलागिरि पेट्रोलियम डिलर एसोसियसनका सदस्य हरिबाबु सापकोटाले भने, “एकै पटक धेरै राख्दा पेट्रोलियम पदार्थ टिक्दैन, स्टोर नभएका कारण अभाव हुने देखिएको हो ।”

खाद्यान्नलगायतका अन्य सामग्रीमा भने समस्या नरहेको व्यवसायीहरुले बताएका छन् । सडक अवरुद्ध हुँदा उपचारका लागि पोखरा पुग्ने र अन्य काम विशेषले जानेहरु पर्वतको कार्कीनेटा हुँदै स्याङ्जाको बाटो आउजाउ गर्न थालेका छन् । बागलुङमा फलफुल र तरकारी बजारमा ठूलो मार परेको छ । पोखराबाट ल्याइने फलफुल र तरकारी सडकका कारण ढुवानी गर्न नसकिएको व्यवसायी मधु केसीले बताए । “तीज नजिकिँदै तर मौज्दात छैन”, केसीले भन्नुभयो, “बजारमा स्याउ, केरा फाटफुटमात्रै देखिन थालेको छ ।”

स्थानीय उत्पादन कम हुने सिजन भएकाले धौलागिरिका बजार क्षेत्रमा तरकारीसमेत पोखराबाट आउने गरेको छ । सडक बन्द हुँदा स्थानीय उत्पादनले बजारको माग धान्न गाह्रो रहेको व्यवसायी कृष्णप्रसाद भट्टराईले बताए । “पोखराबाट आउने बाटो धेरै दिन बन्द हुने देखियो, विकल्प छैन”, उनले भने“बुटवलबाट गलकोट हुँदै बागलुङ बजारमा फलफुल ल्याउने तयारीमा छौं ।”

घुमाउरो बाटोबाट ल्याइएका फलफुल तथा तरकारीबाट उपभोक्ता भने मारमा पर्ने छन् । अहिले बजारमा चलेको मूल्यभन्दा फलफुल तरकारीको मूल्य ढुवानीका कारण वृद्धि हुने उनले बताए । चाडपर्वका बेला फलफुलको खोजी धेरै हुने भएकाले घुमाउरो बाटो भए पनि ढुवानी थालेको उनले जानकारी दिएका छन् ।

निर्यातमा पनि समस्या पहिराका कारण सडक अवरुद्ध हुँदा बागलुङ, पर्वतलगायतका जिल्लाबाट उपभोग्य वस्तुको निर्यातमा समस्या भएको छ । मुस्ताङको आलु, बागलुङ ताराखोलाको आलु, खसीबोका र दूधको ढुवानीसमेत रोकिएको हो । बागलुङको दक्षिण क्षेत्रमा उत्पादन हुने दूध पोखरा पुग्थ्यो । पर्वतको फलेवास र कुश्मा नगरपालिकाका केही गाउँबाट समेत पोखरा निर्यात हुने दुध शुक्रबारदेखि रोकिएको छ । लामो समय उत्पादित वस्तु बजार पठाउन नपाउँदा किसान मर्कामा छन् ।

हेलम्बु राजमार्ग अवरुद्ध

अविरल वर्षाले मेलम्ची नगरपालिका १२ र १३ को विभिन्न ठाउँमा पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । मेलम्ची–१२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडकखण्डस्थित फटकशिलामा गए रातिदेखि पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो । सिन्धुखोलामा विद्युत्को पोल ढल्दा मेलम्ची बजारलगायत ठाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईले जानकारी दिए ।

वर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउ सकिने र निकै जोखिम रहेकाले अहिले वैकल्पिक सडक प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।

मालपोतमा आलोपालो हट्यो

मालपोत कार्यालय सिन्धुपाल्चोकले आलोपालो प्रणाली हटाएको छ । कोरोना महामारीको कारण भीडभाड कम गर्न कार्यालयले सो प्रणाली कार्यान्वयनमा ल्याएको थियो । प्रमुख मालपोत अधिकृत चण्डीप्रसाल कोइरालाद्वारा आइतबार जारी विज्ञप्तिमा आलोपालो प्रणाली हटाएको जनाइएको छ ।

पहिरोले विद्यालयमा क्षति

वर्षासँगै खसेको पहिराले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ ।शनिबार राति पहिरा जाँदा विसं २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत बनेको भूकम्प प्रतिरोधी भवन क्षतिग्रस्त बनेको हो । एउटा कोठा कामै नलाग्ने गरी जगैदेखि भत्किएको र अर्को कोठामा आंशिक क्षति पुगेको विद्यालयका प्रधानाध्यापक मनोजकुमार विकले जानकारी दिएका छन्।

उक्त भवनमा कक्षा ७ र ८ सञ्चालित थियो । भवन भत्किएपछि तत्कालै कक्षाकोठाको अभाव भएको प्रअ विकको भनाइ छ । “वडा कार्यालयमा क्षतिबारे जानकारी गराएका छौँ, विद्यालय पुनःनिर्माणमा पहल हुनेमा आशावादी छौँ”, प्रअ विकले भने । उनले दरबन्दी अभावलगायतका समस्या झेलिरहेको विद्यालयमा प्राकृतिक विपद्को मार थपिएको बताए।

विसं २०६७ मा स्थापना भएको विद्यालयमा चार शिक्षकको मात्र दरबन्दी छ भने बाँकी शिक्षक स्थानीय स्रोतबाट राखिएका छन् । विद्यालयले तल्लो तहदेखि नै अङ्ग्रेजी माध्यममा पठनपाठन गराउँदै आएको छ । विद्यालयमा १०७ विद्यार्थी अध्ययनरत छन् । कोरोना महामारीका बेला पनि टोलशिक्षालगायतका वैकल्पिक विधिमार्फत बालबालिकाको सिकाइ सहजीकरणलाई निरन्तरता दिइएको विद्यालयले जनाएको छ ।

उपत्यकाका विभिन्न स्थानमा डुबान

गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए ।

काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उनले बताए । विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ । अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ ।

गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबान अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ । मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले राससलाई दिए । गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो ।

पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ । जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ । अधिकांश भित्री सडक जलमग्न भएको छ । गोकर्णमुनिको वाग्मती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ । यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन् । आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

मानव ओसारपसार हुने नाकाको अनुगमन

राष्ट्रिय महिला आयोगको एक टोलीले मानव बेचबिखन नियन्त्रण तथा रोकथाम गर्न झापा र मोरङका विभिन्न सीमानाकाको अनुगमन गरेको छ ।

आयोगका सदस्य कृष्णकुमारी पौडेल खतिवडाको नेतृत्वको टोलीले भ्रदपुर र जोगवनी नाकामा अनुगमन गरेको हो । अनुगमनका क्रममा नेपाल प्रहरीले रोकथाम गर्ने प्रयास गरे पनि सजिलैसँग सीमानाका वारपार गर्ने गरेको पाइएको सदस्य खतिवडाले जानकारी दिए ।

अनुगमनका क्रममा टोलीले प्रहरी प्रशासन र सम्बन्धित सङ्घ संस्थालाई स्थानीय निकायसँग सहकार्य गरेर सीमामा मानव बेचबिखनलाई कडाइ गर्न पनि आग्रह गरेको छ । आयोगले मानव बेचबिखनबारे सीमा वारी र पारी सूचना आदानप्रदान गर्न, कागजातको सुरक्षा र नियन्त्रण गर्न, कागजातको कानूनी मान्यता र परीक्षण गर्न तथा पीडितको संरक्षण गर्नसमेत सम्बन्धित निकायसँग अनुरोध गरेको छ ।

आयोगको टोलीले विर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, माइती नेपालका जिल्ला प्रतिनिधि, सेफ हाउसका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेनाका प्रमुख जिम्मेवार निकायका प्रमुखलगायतसँग मानव बेचबिखन नियन्त्रणबारे छलफल गरेको आयोगले जनाएको छ ।

अनुगमनका क्रममा आफन्तकै जालझेलमा परेर, आर्थिक अवस्था कमजोर भएका कारण, बालविवाह र पारिवारिक बेमेलका कारण पनि मानव ओसारपसार हुने गरेको पाइएको छ ।

बालविवाह न्यूनीकरणमा स्थानीय तहको ध्यान गएन

एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तह रहेको जुम्लामा बालविवाहप्रति ध्यान गएको छैन । बालविवाह न्यूनीकरण कार्य स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको यहाँका स्थानीयवासी बताउँछन् । बालविवाहका बारेमा स्थानीय तह जागरुक भएका छैनन् । स्थानीय तहले कानुन बनाएर बालविवाह रोक्ने अभ्यास नै गरेका छैनन् । झनै स्थानीय तहका जनप्रतिनिधिले बालविवाह भइरहेको भोजभतेरमा सहभागी भएर ऊर्जा दिने कार्य भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

अधिवक्ता अनिता तिमल्सेना स्थानीय तह बालविवाह रोक्ने विषयमा मौन देखिएको बताए । “बालविवाह स्थानीय तहको प्राथमिकतामा परेको देखिँदैन, बालविवाह रोक्न कुनै योजना बनेको पनि देखिँदैन, जनप्रतिनिधिसमेत बालविवाहबारे अनभिज्ञ देखिन्छन्, यो राम्रो सन्देश होइन”, उनले भने “गाउँका न्यायिक समिति बालविवाहप्रति बेखबर छन्, घर नजिकै स्थानीय सरकार पनि मौन देखिन्छन्, गाउँमा बालविवाह भइरहेका छन्, जिल्लामा सबैजसो स्थानीय तहमा बालविवाह भइरहेका छन्, तर बालविवाहको तथ्याङ्क कतै पाइँदैन ।”

बीस वर्षमुनिका बालिका गर्भ चेक गराउन आउँदा मात्र बालविवाह गरेको पहिचान हुने गरेका जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताए । कानुनी ज्ञान नहुँदा अलमलमा परेका स्थानीयवासी पछिल्लो समयमा कानुनी ज्ञान लिन अदालतमा आउन गरेको अधिवक्ता तिमल्सेनाले बताएका छन् । उनका भनाइ अनुसार बालविवाह सचेतना, विवाह दर्ता गर्न अभिप्रेरित गर्दै समस्याबारे सम्बोधन गर्ने र दाइजो होइन छोरीलाई शिक्षा दिउँ भन्ने मान्यता स्थापित गर्नु आजको समयको माग छ ।

बालविवाह गर्दा हुने समस्या र कानुनी जटिलताबारे जनप्रतिनिधि बेखबर हुने देखिएको अधिवक्ता तिमल्सेनाले बताएका टज् । सर्वप्रथम यहाँका जनप्रतिनिधिलाई बालविवाहको कानुनी प्रक्रियाबारे जानकारी दिन आवश्यक रहेको यहाँका सरोकारवाला बताउँछन् ।

बालविवाहविरुद्ध सञ्चार अभियान

नेपाल पत्रकार महासङ्घसहित क्रियाशील पत्रकार र सञ्चारमाध्यमको उपस्थितिमा बालविवाहको अवस्था, न्यूनीकरण र कानूनी व्यवस्थालगायतका विषयमा अन्तरक्रिया गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्याड नेपाल जुम्लाको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले समाजमा व्याप्त बालविवाह र बालअधिकारका घटना बाहिरिएकाले पत्रकारले विशेष सञ्चार महाअभियान अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

बालविवाहले बहुविवाह, अपहरण र हत्या बढेकाले समाजमा भइरहेका गतिविधि उजागर गरी सरोकारवालालाई दबाब दिने मिडियाको भूमिका पहिलो भएकाले यस विषयमा महासङ्घ प्रतिबद्ध भएको अध्यक्ष शाहीको भनाइ छ । क्याड नेपालका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईंले पत्रकार महासङ्घसँग सहकार्य गरेर बालविवाह रोकथाम गर्न पत्रकार र गैरसरकारी संस्थाको पनि विशेष भूमिका रहेकोे बताएका छन् ।

मित्रराष्ट्रको प्रतिष्ठामा आँच आउने गतिविधिप्रति गृह मन्त्रालयको आपत्ति

गृह मन्त्रालयले मित्रराष्ट्रको सम्बन्धमा आँच आउने गतिविधि भएकोप्रति आपत्ति प्रकट गरेको छ ।

मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी विगत केही दिनदेखि छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नारावाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिवधिप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्ता उच्छृङ्खल गतिविधिप्रति आपत्ति जनाएको हो ।

“नेपाल सरकार सबै मित्रराष्ट्रसँग पारस्परिक सम्बन्ध अझै प्रगाढ गर्न चाहन्छ, नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा मन्त्रालय कटिबद्ध छ, मित्रराष्ट्रको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ”, मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले छिमेकी मुलुकसँगको उत्पन्न समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गरिँदै आएको जानकारी गराउँदै भविष्यमा पनि त्यस्ता समस्या वार्ता, संवाद र कूटनीतिक माध्यामबाटै समाधान गरिने विज्ञप्तिमा उल्लेख गरेको छ । मन्त्रालयले मित्रराष्ट्रविरुद्ध लक्षित गतिविधि नियन्त्रणका लागि त्यस्ता गतिविधिमा संलग्न भई कानून हातमा लिनेलाई कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि शुक्रबार पनि मन्त्रालयले विज्ञपित जारी गरी मित्रराष्ट्रको सम्बन्धमा आँच आउने कुनै पनि गतिविधि नगर्न अनुरोध गरेको छ । मित्रराष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र उनीहरुका सम्पतिलाई लक्षित गरी प्रत्यक्ष वा परोक्ष रुपमा सञ्चार माध्याम÷सामाजिक सञ्जालमार्फत नकारात्मक टिप्पणी तथा धम्कीपूर्ण अभिव्यक्ति दिने जस्ता गतिविधि भएकोप्रति ध्यानाकर्षण भएको जनाएको थियो ।

विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा मित्रराष्ट्रसँगको सम्बन्धमा नै आँच आउने खालका कुनै पनि गतिविधि नगर्न र नगराउन विज्ञप्तिमा भनेको थियो ।

शेयर कारोबार ४० मिनेट बन्द भएर पुनः सुरु

उच्च अङ्कले धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेपछि नेपाल स्टक एक्सचेञ्जले केही समय कारोबार रोक्यो ।

नेप्सेले ४० मिनेटका लागि कारोबार रोकेको हो । कारोबार शुरु भएको दुई घण्टामै नेप्सेमा पाँच प्रतिशतको गिरावट देखिएपछि कारोबार रोकिएको हो ।

नेप्से १४७।३१ बिन्दुले अर्थात् ५।०३ बिन्दुले ओरोलो लागेर दुई हजार ७७९।६८ मा रोकिएको थियो ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक २६।९३ अङ्कले ओरालो लागेर ५१४ं८४ मा सीमित भएको छ । कूल २१५ कम्पनीको एक करोड ४८ लाख ३१ हजार ७३८ कित्ता शेयर रु सात अर्ब १९ करोड ९० लाख ३५ हजार ६७१ मूल्यमा खरिदबिक्री भएका थिए ।

सर्किट ब्रेकको नियमअनुसार कारोबार सुरु भएको पहिलो घन्टामा ४ प्रतिशतले सूचक बढे या घटे २० मिनेट कारोबार स्थगित गरिन्छ भने दोस्रो घन्टामा सूचक पाँच प्रतिशतले बढे या घटे ४० मिनेट स्थगित गरिन्छ । त्यस्तै तेस्रो घन्टापछिको समयमा सूचक छ प्रतिशतले बढेमा वा घटेमा बाँकी समयको कारोबार स्थगित गर्ने गरिन्छ ।

उठ्न थाल्यो बनेपाको फोहर

बनेपा बजारमा करिब डेढमहिनादेखि थुप्रिएको फोहर उठ्न थालिइएको छ ।

फोहर व्यवस्थापनका लागि नगरपालिकासँग ठेक्का सम्झौता गरेको ग्रिनपिस इन्भारोमेन्ट प्रालिले अरु ठाउँमा व्यवस्थापन गर्ने गरी शनिबारदेखि फोहर उठाउन थालेको हो ।

“नगरपालिकासँग सम्झौता गरिएको संस्थाले सिसडोलका अलावा अन्य ठाउँमा व्यवस्थापन गर्ने गरी काम थालेकाले अब बनेपा बजारको सबै फोहर उठ्छ”, नगरपालिका–७ का वडाध्यक्ष वर्ण शाक्यले भन्नुभयो, “शनिबारबाट फोहर उठाउन थालिसकेको छ ।” फोहर व्यवस्थापनको जिम्मा पाएको संस्थाले शनिबार बनेपाको चार दोबाटो चोकस्थित अरनिको राजमार्ग छेउमा थुपारेको फोहर उठाएको हो ।

ग्रिापिस इन्भारोमेन्ट प्रालिका उत्तर सिं लामाले अब बनेपा नगरपालिकाभित्रका सबै फोहर उठाउन थालिएको जानकारी दिए। पहिलादेखि उठाएको फोहर व्यवस्थापन गर्न जिम्मा लिएको संस्थाले नुवाकोटको सिसडोलमा लगेर फाल्ने गर्दै आएकोमा पछिल्लो समयमा त्यहाँ जाने बाटो अवरुद्ध भएपछि समस्या आएको थियो । अब अर्को संस्थालाई आफूले व्यवस्थापनको जिम्मा दिएकाले फोहर उठ्न थालेको उनको भनाइ छ ।

“बनेपाको चार दोबाटो चोकको फोहर उठाइसकिएको छ”, उनले भने, “आजबाट बनेपा नगरपालिका पछाडी रहेको बसपार्कमा थुपारेको फोहर उठाउने काम भइरहेको छ ।” अहिले फोहर उठाउनका लागि दैनिक ७÷८ वटा गाडी प्रयोग भइरहेको जनाइएको छ । यहाँबाट उठाएको फोहर यसअघि सिसडोलस्थित ल्याण्ड फिल साइडमा लगेर फाल्ने गरेकोमा अब वैकल्पिक रुपमा काठमाडौँको मूलपानीमा रहेको नेपाल स्वच्छ वातावरण नामक संस्थासँग सात वर्षका लागि सम्झौता गरेर दिने सहमति भएपछि फोहर उठाउन थालेको लामाले बताए ।

सिसोडलमा लान नसकेपनि मूलपानीमा रहेको फोहर प्रशोधन कम्पनीले नियमित रुपमा फोहर लिने भएपछि अब कुनै पनि समस्या नआउने उनको भनाइ छ । उनले भने, “बनेपाका विभिन्न स्थानमा थुपारिएको फोहर एक हप्ताभित्रमा उठाइसक्छौं ।”

बनेपा नगरपालिकाले दीर्घकालीन रुपमा फोहर व्यवस्थापनको योजना नबनाउँदा ल्याण्डफिल साइडमा लगेर फाल्न नपाउने समस्या आउने गरेको छ । यसले अरनिको राजमार्गको बनेपास्थित मुख्य चोक चार दोबाटाको सडक छेउमा नै फोहरको डङ्गुर थुपार्ने गरेकाले समस्या आउने गरेका छन् ।

पछिल्ला समयमा नुवाकोटको सिसडोलमा रहेको ल्याण्डफिल साइडमा जाने बाटो अवरुद्ध हुँदा करिब डेढमहिना भन्दा बढी समयदेखि बनेपा बजारको फोहर उठेको थिएन । फोहर नउँठाएदा बनेपा बजार क्षेत्र दुर्गन्धित बनेको थियो ।

उन्नत जातको ओखरखेती शुरु

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा वर्षको एक बाली अन्नबाहेक अरु उत्पादन हुन नसकी अधिकांश जग्गा बाँझै रहन थालेपछि विकल्पका रुपमा उच्च गुणस्तरको ओखरखेती सुरु गरिएको छ ।

बिरुवा रोपेको छोटो समयमा राम्रो आम्दानी हुने देखिएको र युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्ने उद्देश्यले टर्कीबाट बिरुवा झिकाइएको च्यान्दलर जातको ओखरखेती सुरु गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताएका छन् ।

यस जातको ओखर अरूको तुलनामा वयस्क अवस्थामा पनि बोट होचो हुनाका साथै दाना पनि ठूलो र हातैले फुटाउन सकिने विशेषता छ । बढी उत्पादन हुने स्वादिष्ट र प्रोटिनयुक्त भएकोले गर्भवती महिला तथा बालबालिकाको मस्तिष्क विकासका लागि ज्यादै उपयुक्त मानिएको पालिकाका कृषि शाखा प्रमुख नायब प्राविधिक सहायक ममता विकले जानकारी दिए ।

झिकाइएको प्रति बिरुवाको मूल्य रु एक हजार ५० रहेको छ । हाल ५० रोपनी जमिनमा एक हजार बिरुवा गत फागुनमा रोपिएको थियो । पकेट क्षेत्र घोषणा गरिएको यस कार्यलाई क्रमशः वृद्धि गर्दै लगिने कार्यक्रम छ । रोपिएका बिरुवाबाट दुई–तीन महिनामा नै फल फल्न सुरु गरे पनि बिरुवालाई स्वस्थ राख्न सबै फल टिपेर फालिएको थियो । एक पटक रोपेपछि ७०÷८० वर्षसम्म आयु रहेको हाइब्रिड जातको उक्त ओखर दोस्रो वर्षमा फलेको फल खानयोग्य हुनेछ ।

तेस्रो वर्षमा भने व्यावसायिक रुपमै उत्पादन भई बिक्रीयोग्य हुनेछ । प्रतिकिलो रु ७०० मा बोटमै आएर बिक्री हुने कृषि शाखा प्रमुख विकले बताए । समुद्री सतहबाट एक हजार २०० देखि दुई हजार ९०० मिटरको उचाइसम्म यसको खेती राम्रो मानिन्छ । रोपिएका बिरुवालाई जनावरबाट जोगाउन तारबार तथा थप बिरुवाका लागि पालिकाले चालू वर्षमा रु पाँच लाख छुट्ट्याएको छ ।

त्यस्तै सङ्घीय सरकारबाट रू पाँच लाख अनुदान प्राप्त भएको छ । त्यसका लागि किसानले पनि ५० प्रतिशत लगानी गरेका छन् । चीनसँग सिमाना जोडिएको फुल्पिङकट्टी र सेलाङकट्टीमा विकल्पका रुपमा चिया, कफी तथा अलैँचीखेतीसमेत विगतमा वर्षौदेखि नै सुरु गरिएको थियो । त्यहाँका प्रत्येक घरबाट दुई÷तीन जना युवायुवती रोजगारीका लागि विदेश गएकाले वृद्धवृद्धा र केटाकेटी मात्र घरमा छन् । उनीहरु खाडी राष्ट्रका साथै युरोप अमेरिका पुगेकाले विगत ५÷७ वर्षदेखि करिब ४५ प्रतिशत जमिन बाँझो रहेको वडा नं ४ का वडा सदस्य आङछिरिङ शेर्पाले बताएका छन् ।

उक्त पालिका गौरीशङ्कर संरक्षण क्षेत्रभित्र पर्दछ । जङ्गल नजिकै भएकाले लगाएको अन्नबालीलाई बँदेल, मृग, बाँदरलगायतका जनावरले खाएर नष्ट गर्ने कारणले पनि किसानले जमिन बाँझो राख्न थालेका हुन् । उच्च भू–भाग रहेका कारण असोजमा लगाएको गहुँ जेठमा मात्र पाक्ने हुँदा जीविकोपार्जन गर्नसमेत कठिन हुन थालेपछि युवा जनशक्ति विदेश पलायन हुन थालेको वडासदस्य शेर्पाले बताए ।

खाद्यान्न अभाव भए पनि त्यहाँका बासिन्दा खासा व्यापारबाट घरव्यवहार चलाउन सक्षम थिए । विसं २०७२ को भूकम्प र कोभिड–१९ महामारीले तातोपानी नाकाको भविष्य राम्रो नदेखिएपछि युवा जनशक्ति वैदेशिक रोजगारप्रति आकर्षित हुन थालेको बताइएको छ । यस कार्यक्रमलाई पालिकाले युवा लक्षित भने पनि विदेशप्रतिको मोहले गर्दा युवा जनशक्ति रोकिने सम्भावना कमै देखिएको वडासदस्य शेर्पाले बताएका छन्

भौतिक उपस्थितिमै विद्यालय सञ्चालन

कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठनपाठन सञ्चालन गर्न थालेका हुन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालनमा ल्याइसकेको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए । सो गाउँपालिकाभित्र नौ मावि, १० आधारभुत र ३० प्रावि सञ्चलनमा छन् । शिक्षक सङ्ख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन शुरु गरिएको उनले बताए ।

“शिक्षक र विद्यार्थी सङ्ख्या न्यून भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ८ सम्मको पठनपाठन बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, गाउँपालिका प्रमुख राईले भने, “कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० को पठनपाठन भने विद्यालयको अनूकुलमा हप्तामा तीन दिन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।”

विद्यार्थी सिकाइ निरन्तरताका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै÷गराउँदै पठनपाठन सञ्चालन गर्न सिफारिस गरेको थियो । गाउँ शिक्षा समितिको सोही सिफारिसलाई भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठनपाठनलाई सुरु गराइएको गाउँपालिकाले जनाएको छ ।

हरेक बेञ्चमा दुईमात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र सिकाइ सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । गाउँपालिकाले विद्यालयका प्रध्यानाध्यापकलाई दैनिक कक्षा निरीक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भएमा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबीचमा अन्तक्र्रिया गर्ने, हरेक हप्ता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिनेलगायतका विषयमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकबीचमा अन्तक्र्रिया गर्ने व्यवस्था गरेको जनाएको छ ।

गाउँपालिकाको निर्देशनअनुसार विद्यार्थी सिकाइ सहजीकरणका लागि हरेक वडा शिक्षा समितिले यही भदौ १५ गते बैठक राखेको थियो । बैठकले गाउँमा कोही बिरामी भएको सूचना विद्यार्थीमार्फत लिने, कोभिड–१९ को सङक्रमणबाट बच्न र बचाउन विद्यालयमा सचेतता अपनाउनेलगायतका निर्णय गरेको जनाएको छ ।

खोटेहाङ गाउँपालिकामा ४९ सामुदायिक विद्यालयबाहेक खोटाङ क्याम्पस र सिमपानी क्याम्पस, चार स्वअध्ययन केन्द्र तथा दुईसंस्थागत विद्यालय छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकाले पाँच माविमा अनलाइन कक्षा सुरु गरेको छ ।

गत साउन ३१ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार यही भदौ पहिलो साताबाट दुर्छिम मावि दुर्छिम, महेन्द्रोद्वय मावि हलेसी, सरस्वती मावि अर्खौले, बुलापन्थे मावि धितुङ र जनता मावि सल्लेमा अनलाइन कक्षा सुरु गरिएको नगर शिक्षा शाखाका संयोजक पदम कार्कीले बताउनुभयो । अनलाइन कक्षा सञ्चालन गरिरहेका विद्यालयका ६० प्रतिशत विद्यार्थी अनलाइन कक्षामा समेटिएको दाबी गरिएको छ ।

नगरका अन्य विद्यालयलाई अनलाइन कक्षा सञ्चालनबारे तालिम दिइए पनि कक्षा सुरु गर्न भने बाँकी रहेको संयोजक कार्कीले बताए। एघार वडा रहेको नगरपालिकामा १२ मावि, १३ आधारभूत, ६४ प्रावि, चार संस्थागत र दुईवटा सार्वजनिक शैक्षिक गुठी सञ्चालनमा छन् ।

यस्तै जन्तेढुङ्गा गाउँपालिकाले आगामी भदौ २७ गतेदेखि पठनपाठन सञ्चालन गर्ने तयारी गरेको छ । कोभिड–१९ को सङ्क्रमणदर केही कम भएको निष्कर्षसहित भदौ १७ गते बसेको गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रमा पर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भने अहिलेसम्म विद्यालय खोल्नेसम्बन्धी कुनै निर्णय गरेको छैन । सबैभन्दा बढी कोरोना सङ्क्रमित देखिएको यस नगरपालिकामा सञ्चालित दुई संस्थागत विद्यालयले भने अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् ।

कोरोनाले रोकियो ऐतिहासिक रामलीला मञ्चन

नेपालगञ्जको रामलीला मैदानमा १५२ वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला मञ्चन यस वर्ष पनि रोकिने भएको छ । विजयादशमीका अवसरमा मञ्चन हुने नेपालगञ्जको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चन कोरोना भाइरस महामारी सङ्क्रमणका कारण स्थगन गर्नुपरेको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिएका छन् ।

उनका भनाई अनुसार कोरोना भाइरस महामारी सङ्क्रमणको जोखिम र स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै यसपटकको रामलीला मञ्चन नगर्ने निर्णय गरिएको हो । एक सय ५३औँ वर्ष प्रवेश गरेको ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला मञ्चनलाई गत वर्ष पनि कोरोना महामारीका कारण सार्वजनिकरूपमा स्थगन गरिएको थियो ।

नेपालगञ्जको रामलीला मञ्चन यस वर्ष १५४औँ वर्षमा प्रवेश गर्दैछ । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई प्रतिकात्मकरूपमा भने केही कार्यक्रम गरिने तयारी गरिएको छ । शनिबार बसेको रामलीला सञ्चालक समितिको बैठकले के–कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्नेबारे निक्र्योल गर्न उपसमितिसमेत निर्माण गरेकोे छ ।

रामलीला सञ्चालन गर्न नसकिए पनि मैदानमा अखण्ड रामायण पाठ, राम, सीतासहितको झाँकी प्रदर्शनलगायतका कार्यक्रम गर्नेबारेमा छलफल गरिएको अध्यक्ष कनौडियाले जानकारी दिए । नेपालगञ्ज उपमहानगरपालिका–९ स्थित रामलीला मैदानमा हरेक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीला भव्यरूपमा मनाउने गरिन्थ्यो ।

रामलीलामा भारत तथा नेपालका कलाकारले मञ्चन गर्दै आएका थिए । यस क्षेत्रको परिचय बनेको रामलीला मञ्चनले नेपाल तथा भारतमा नेपालगञ्जलाई चिनाएको रामलीला सञ्चालक समितिका अध्यक्ष कनौडियाको भनाइ छ । रामायणमा आधारित लीला प्रत्येक दिन राति ८ः०० बजेदेखि रामको राज्याभिषेक गरुञ्जेलसम्म जारी रहन्थ्यो । भारतको वृन्दावनबाट आउने कलाकारको टोलीले रामलिला मञ्चन गर्ने परम्परा थियो ।

यस वर्ष कोरोना महामारीका कारण रामलिला मञ्चन नहुने भए पनि पुर्खाले जोगाउँदै आएको रामलीलालाई अहिलेको पुस्ताले निरन्तरता दिएर जोगाउन आवश्यक रहेको रामलीला सञ्चालक समिति सदस्य एवं नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नन्दलाल वैश्यले उल्लेख गरेबा छन् ।

सन् १९२५ देखि नेपालगञ्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हँदै आएको यो कला नेपालीभन्दा बढी सीमावर्ती भारतीयबीच लोकप्रिय छ । विगतमा भारतको उत्तरप्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यले बताएका छन् ।
–––

आजदेखि ‘लाइसेन्स’ परीक्षा

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्र ९लाइसेन्स०को परीक्षा आजदेखि पुन सञ्चालन गर्दैछ । गत वैशाख १५ गतेदेखि कोरोना जोखिमका कारण लिखित तथा प्रयोगात्मक ट्रायल परीक्षा स्थगन गरिएका थिए । मन्त्रालयद्वारा यही भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा ट्रायल संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८’ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा करिब आठ लाख सेवाग्राही समस्यामा परेका जनाइएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने जानकारी दिए।

हालै जारी सो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ । यसैगरी परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने उल्लेख छ ।

तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ । परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने भनिएको छ ।

कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७’ अनुसार परीक्षा हुने बताइएको छ । यसैबीच नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरिएको हो । लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार÷चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने जनाएको छ । त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।

भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा प्रयोगात्मक परीक्षा

यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ । नेपालको सबैभन्दा ठूलो र सुविधासम्पन्न सो एकेडेमी ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ । सो एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने एकेडेमीका अध्यक्ष राजेश घिमिरेले जानकारी दिएका छन् ।

उनले भने, “प्रयोगात्मक परीक्षार्थीका लागि सामाजिक दूरी अनिवार्य कायम गरिएको छ । ज्वरो मापन, स्यानिटाइजर तथा मास्क अनिवार्य गरिएको छ ।” सरकारले अवलम्बन गरेको सहकारी, सार्वजनिक र निजी क्षेत्र सहभागी तीनखम्बे अर्थनीतिअनुसार विसं २०७३ मा एकेडेमी स्थापना भएको थियो । ऐकेडेमीमा दुई पाङ्ग्रे, चारपाङ्ग्रे तथा ठूला सबै प्रकारका सवारीको प्रयोगात्मक परीक्षा दिन तथा प्रशिक्षण व्यवस्था रहेको एकेडेमीका प्रबन्ध निर्देशक माधव अधिकारीले बताए । उनले भने, “न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइरहेका छौँ । निर्धारित स्वास्थ्य मापदण्ड पूरा गरी सबै प्रकारका यातायातका साधनको लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा आजदेखि सञ्चालनमा ल्याएका छौँ । गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता हो ।”

कोरोना भाइरसका जोखिमका कारण लामो समयसम्म बन्दाबन्दी हुँदा एकेडेमी सञ्चालनमा समेत आर्थिक सङ्कट परेको जनाइएको छ । सरकारले जग्गा भाडा छुट तथा अन्य सुविधा नदिँदा एकेडेमी चरम आर्थिक समस्यामा परेको हो । “सरकारको आग्रह, सेवाग्राही माग र चाहनालाई ध्यान दिएर मात्र एकेडेमी सञ्चालन गरेका हौँ । हामी चरम आर्थिक सङ्कट छौँ, सरकार तथा स्थानीय निकायबाट समेत कुनै सुविधा पाएका छैनौँ”, एकेडेमीका सञ्चालक रामनारायण घिमिरेले भनेका छन् ।

एकेडेमीले सामाजिक दायित्वअन्तर्गत बन्दाबन्दीका समयमा गर्भवती, मिर्गौला, मुटु, क्यान्सर, फोक्साका बिरामीलाई आफ्ना सवारी साधनमार्फत अस्पताल जान र आउन निःशुल्क यातायातको व्यवस्था गरेको थियो । यसैगरी नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा रु एक लाख आर्थिक सहयोगसमेत गरेको थियो । एकेडेमीले दक्ष चालकद्वारा सवारी सिक्न चाहनेका लागि विशेष सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण सञ्चालन गर्दै आएको छ । स्वास्थ्य मापदण्ड पालन गर्दै प्रशिक्षण सञ्चालनमा ल्याइएको स्थानीय समाजसेवीसमेत रहनुभएका उहाँले जानकारी दिए ।

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् ।

अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट तरकारी पु¥याएर सदरमुकाम खाँदबारीतर्फ आउँदै गरेको प्रदेश१–०२–००१ख ८०८३ नंको मिनीट्रक चिचिला–१ पात्लेमा गए राति दुर्घटना हुँदा चालक धनकुटा महालक्ष्मी नगरपालिका–६ लेगुवाका २९ वर्षीय जनक पाण्डेको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार घाइते भएका १० मजदुरमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइत हुनेहरुमा खाँदबारी नगरपालिका–७ का २९ वर्षीय बब्लु मगर, भारतका आसामका ३२ वर्षीय राहुल मालाकार र रक्की कुमारलाई बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रनाउ सुवेदीले जानकारी दिए ।

चालक पाण्डेको शव ट्रकले किचेको अवस्थामा आज बिहान निकालेर परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइँदैछ । घाइते १० मध्ये आठ जना अरुण आयोजनामा काम गर्ने भारतीय नागरिक हुन् । घाइते हुने भारतीय नागरिक २४ वर्षीय मौतुन राय, विशाल कुमार, शैलेश कुमार, २७ वर्षीय सङ्कज कुमार, ३० वर्षीय राभेन वैश्णव र २१ वर्षीय अरविन्द्र कुमार छन् । दुर्घटनामा खाँदबारी नगरपालिका–८ पिप्लेका १८ वर्षीय सविन विक पनि घाइते भएका छन् । घाइतेमध्ये तीन जना सामान्य उपचारपछि घर फर्किएका छन् ।