पुल निर्माण अलपत्र

सर्लाहीको लालबन्दी र ईश्वरपुर जोड्ने फुलजोर खोलाको पुल निर्माण अलपत्र परेको छ । डेढ महिनाअघि बाढीले क्षति पु¥याएको सो पुलको निर्माण कार्य अहिले अलपत्र परेको हो । लालबन्दी नगरपालिका–३ जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्ने फुलजोर खोलाको निर्माणाधीन पुल ढलान भएको दुई सातामै सामान्य पानी पर्दा क्षति भएको डेढ महिना पुगिसक्दा पनि निर्माणको काम अघि बढ्न सकेको छैन ।

ठेकेदारले बेलैमा काम नगरेका कारण बाढीले पुलमा क्षति गरेको र पुनःनिर्माणमा ठेकेदार कम्पनी मौन देखिएको ईश्वरपुर नगरपालिका–८ का वडाध्यक्ष श्यामबहादुर थापाले बताएका छन् । असार १५ मा परेको सामान्य पानीका कारण २०० मिटर लामो पुलमध्ये करिब ४० मिटरमा क्षति पुगेको छ । सम्झौताअनुसार गत असार मसान्तमै पुल निर्माण सकेर हस्तान्तरण गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले निर्माण सुस्त गरेका कारण पुलको निर्माण समयमै सम्पन्न हुन नसकेको लालबन्दी नगरपालिका–३ का वडाध्यक्ष रामनारायण चौधरीले बताएका छन् ।

पुल निर्माणको काम पूरा नहुँदा लालबन्दी र ईश्वरपुर नगरपालिकासहित अन्य छिमेकी स्थानीय तहबाट हाटबजार गर्न र किनमेल गर्न लालबन्दी आउनेलाई समस्या परेको छ । ठेकेदार कम्पनीले लापरवाही ढङ्गले काम गरेको र समयमै कामदारको भुक्तानी नगरेका कारण पुल निर्माणमा ढिलाइ भएको ईश्वरपुर नगरपालिकाका नगरप्रमुख मनोजकुमार देवकोटाले बताएका छन् ।

पुल निर्माणका लागि पप्पु शिवशङ्कर जेभीले रु १२ करोडमा ठेक्का लिएको हो । सङ्घीय सरकारको सहयोगमा आव २०७५÷७६ बाटै पुल निर्माण सुरु भएको हो । बर्खायाममा काम नहुने नभएकाले अब कात्तिक लागेपछि मात्रै पुलको बाँकी काम सुरु हुने निर्माण कम्पनीका प्रतिनिधि मनोजकुमार साहले बताएका छन् ।

पुलको ढलान वर्षा सुरु भएपछि भएको र स्प्रिङ तान्ने समयमा परेको सामान्य पानीले गर्दा खोलाको बालुवा धसिँदा पुलको सेटिङमा क्षति पुगी पुलको करिब ४० मिटर क्षेत्र भासिएको थियो । सो क्षेत्रमा अहिले सेटिङ खोल्ने काम भइरहेको छ

करेन्ट लागेर बालकको मृत्यु

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० रञ्जितपुरका पवन यादवको छोरा नौ वर्षीय अर्जुनकुमार यादवको मङ्गलबार राति करेन्ट लागेर मृत्यु भएको छ ।

गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्युपछि शव फर्काएर घरमा ल्याई राखिएको प्राप्त सूचनाका आधारमा गएको प्रहरी टोलीले शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।

आगलागी हुँदा आठ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ ।

अन्नपात, फर्निचर, ओढ्नेओछ्याउने कपडा, महत्वपूर्ण कागजपत्र, र गहना सबै जलेर नष्ट भएको वडाध्यक्ष बाले रानाले जानकारी दिएका छन्। “टुकी बालेर घरपरिवारका सदस्य अन्यत्र गएका बेला टुकी पल्टिँदा आगलागी भएको जानकारी पाएका छौँ”, उनले भने, “घर पूरै जलेर क्षति भएको छ ।”

नगरपालिकाको दमकल आगो निभेपछि मात्रै आइपुगेको स्थानीयवासीले गुनासो गरे । घर पूरै जलेपछि पीडित परिवारसँग शरीरमा लगाएको एकसरो लुगा मात्रै बचेको छ भने उनीहरू अहिले आफन्तको शरणमा बसेका छन् । आगलागी पीडित रामप्रसादले सबैसँग सहयोग गर्न आग्रह गरेका छन् ।

कोरोनाका मारमा परे पुस्तकालय

बागलुङ, १६ भदौ ९रासस० स् यसै त पाठक पाउन छाडेका पुस्तकालय कोरोना महामारीका कारण थप सङ्कट झेल्न बाध्य छन् । मङ्गलबार परेको १४औँ राष्ट्रिय पुस्तकालय दिवससमेत नमनाई बित्यो । ज्ञानको भण्डार पुस्तकालयका ढोकामा महिनौँदेखि ताल्चा झुण्डिएका छन् । पाठकको आउजाउ छैन । सङ्क्रमणको जोखिम हुन नदिन पुस्तकालय खोल्न स्थानीय प्रशासनले रोक लगाएको छ ।

पुस्तकालय मात्र होइन, सबैखाले शैक्षिक संस्था सञ्चालनमा बन्देज छ । विसं २००३ मा खुलेको यहाँको प्रतिष्ठित विद्यामन्दिर पुस्तकालय अहिले सुनसान छ । महामारी भित्रिएदेखि नै यसको सेवा प्रभावित बनेको हो । पहिलो लहर मत्थर भएपछि बीचमा केही समय खुले पनि दोस्रो लहर सुरु भएसँगै गत वैशाखयता पुनः बन्द गर्नुपरेको पुस्तकालयका अध्यक्ष रामप्रसाद शर्माले बताएका छन् ।

“निषेधाज्ञाका कारण पुस्तकालय नियमित खोल्न सकिएको छैन, स्थिति सहज हुँदासाथ सञ्चालनमा आउँछ”, उनले भने । मानिस भेला हुन नपाइने भएपछि पुस्तकालय दिवसलाई पनि औपचारिकता मात्रै दिइएको उनले बताएका छन् ।

कोरोनाअघि सप्ताहव्यापी कार्यक्रमसहित पुस्तकालय दिवस मनाउने चलन थियो । पाठक घटिरहेको र पठन संस्कृतिमा पनि ह्रास आइरहेका बेला पुस्तकालय नै बन्द गर्नुपर्ने दुःखद् अवस्था निम्तिएको उनको भनाइ छ । सदरमुकाममै रहेको ज्ञानोदाय भगवती पुस्तकालयले लामो सङ्कट व्यहोरेपछि गत वर्षदेखि तङ्ग्रिँदै थियो । स्थानीयवासीले दुरवस्थामा पुगेको पुरानो पुस्तकालयको साख फर्काएका थिए । भवनको जीर्णोदार र नयाँ व्यवस्थापनपछि नियमित सञ्चालनमा आउन थालेको उक्त पुस्तकालय पनि कोरोनाका मारमा परेको छ ।

पुस्तकालयका सचिव लोकेन्द्र केसीले निषेधाज्ञाका कारण बन्द गर्नुपरेको बताएका हुन् । “पुस्तकालयले नयाँ स्वरुप लिएको छ, व्यवस्थित बनाएका छौँ, तर खोल्न पाइएको छैन”, उनले भने “प्रशासनले अनुमति दिएपछि पुस्तकालय नियमित खुल्छ ।” विसं २०२१ मा स्थापित उक्त पुस्तकालय संरक्षण अभावमा जीर्ण स्थितिमा पुगेको थियो । पुस्तकालय अधोगतितिर लागेपछि पुस्तकालयप्रेमी र समुदाय मिलेर पुनःनिर्माणसँगै व्यवस्थापनमा जुटेका थिए । स्थानीय तहसहित सरकारका निकायले आर्थिक सहायता दिएपछि पुस्तकालय जोगिएको छ ।

यी दुई सदरमुकामस्थित नाम चलेका सार्वजनिक पुस्तकालय हुन् । यहाँका अन्य क्षेत्रमा रहेका पुस्तकालय पनि अहिले बन्द छन् । ती कहिले खुल्छन् ठेगान छैन । कतिपय पुस्तकालय शैक्षिक संस्थामातहत छन् । शैक्षिक क्षेत्र निर्वाधरूपमा नखुलेसम्म पुस्तकालय सञ्चालनमा आउने छाँटकाँट छैन ।

यही स्थिति अझै लम्बिँदै जाँदा पाठकले पुस्तकालय नै बिर्सने हुन् कि भन्ने चिन्ता छ । पुस्तकालय बन्द हुँदा व्यवस्थापनले नयाँ पुस्तकलगायत ज्ञानवद्र्धक सामग्री थप्न पाएका छैनन् । रेखदेख र सरसफाइ नहुँदा पुस्तकालय भवन नै बिरुप देखिन थालेका छन् । कोरोनाको दोस्रो लहर चलेपछि गत वैशाख २१ गतेयता यहाँ निषेधाज्ञा छ । पछिल्लो समय निषेधाज्ञा खुकुलो पारिए पनि कतिपय क्षेत्रमा भने प्रतिबन्ध कायमै छ । सङ्क्रमणदर घट्दै गएकाले क्रमशः सबै क्षेत्र चलायमान हुनेमा आशा जागेको छ ।

पहिराले रसुवाका अधिकांश ग्रामीण सडक अवरुद्ध

रसुवा, १६ भदौ (रासस) निरन्तरको वर्षाका कारण पहिरो जाँदा जिल्लाका अधिकांश ग्रामीण सडक अवरूद्व भएका छन् । सवारी साधनको आवतजावत बन्द भएपछि उत्तरी क्षेत्रका वृद्विम, खाम्जिङ, थुमन र ठूलोस्याफ्रुका बासिन्दा पैदल हिँड्न बाध्य भएका छन् ।

यसरी नै दक्षिणी क्षेत्रका डाडागाउँ, ठूलोगाउँ, ठूलोभोर्ले–पारच्याङ, लाङ्वु, सरमथली पाटीखर्कलगायतका स्थानमा जाने ग्रामीण सडकसमेत अवरूद्व भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दैनिक उपभोग्य वस्तु तथा निर्माण सामग्री भरियाद्वारा ढुवानी गराउन स्थानीय बासिन्दा बाध्य भएका छन् ।

बिरामीलाई डोको तथा थुन्छेमा बाकेर स्वास्थ्य सस्थामा लेजानुपरेको जनाइएको छ । के–कति किलोमिटर सडक क्षति भयो भन्न एकीन जानकारी भएको छैन ।

यस वर्षको वर्षाबाट अत्यधिक पहिरो गएको र स्याउबारीबाट रसुवागढीसम्मको राजमार्ग भने निरन्तर सञ्चालन गराउन सफल भएको जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले जानकारी दिएका छन्। गत हप्ता धुञ्चेपारिको खोपाङ भिरको राजमार्गमा गएको पहिरो खुलाउन २४ घण्टा लागेको र राजमार्गको अन्य स्थानमा हुने गरेका अवरोध भने सकभर आजको आजै हटाई भन्सार कार्यालयबाट जाँचपास भएका मालबाहक सवारी सहजरूपमा गन्तव्यतर्फ पठाउन सुरक्षा निकायले सहजीकरण गर्दै आएको छ ।

स्याउबारीबाट रसुवागढीसम्म करिब ५० किलोमिटर राजमार्गको क्षेत्र बढी भिरपाखा भएका कारण अधिकांश भागमा साना–ठूला पहिरो जाने गरेको र गत असारदेखि हालसम्म १५० भन्दा बढी पहिरो पन्छाइएको प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।

मेलम्चीमा आएको बाढीका कारण सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापार व्यवसाय सहज पार्ने एक मात्र रसुवागढी नाका रहेको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले अवरुद्ध सडक सुचारु गर्न उच्च प्राथमिकताका साथ काम भइरहेको जानकारी दिएका छन् ।

स्याफ्रुबेँसीदेखि रसुवागढी खण्डको १६ किमी क्षेत्रमा भने दिनहुँ सडकमार्ग अवरूद्व हुने समस्या बढेको छ ।

हिमाली क्षेत्र खुकुलो माटो, गहिरो खोंच भएको स्थानमा निर्माणाधीन १११ मेगावाट रसुवागढी एवं १२० मेगावाट लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाका साथै अन्य स्थानमा सडक विभागको उपकरणले पहिरो पन्छाउने कार्य हुँदै आएको छ ।

पहिरामा पुरिएर एकको मृत्यु, तीन घाइते

पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ ।