संयुक्त राष्ट्रसंघको महासभा : विश्वका नेताहरूको आ-आफ्ना मुद्धा

विश्वका नेताहरूले प्रत्येक वर्ष आयोजना हुने संयुक्त राष्ट्रसंघको महासभामा विश्व र आ-आफ्ना क्षेत्रसँग सम्बन्धित विषयलाई जोडतोडका साथ उठाउने गर्दछन् ।

प्रत्येक वर्ष यस्ता केही आवाजहरू हाबी हुने गर्दछन् र विश्व राजनीतिक मञ्चमा तरङ्ग समेत पैदा गर्दछन् । यहाँ एसोसिएटेड प्रेसले केही फरक आवाज र दृष्टिकोणलाई प्रस्तुत गरेको छ।

कोरोना महामारीको लामो सङ्कटले गुज्रिरहेको विश्वको वर्तमान अवस्थामा महासभाको चौथो दिन शनिबार विभिन्न देशका नेतृत्व तहबाट यस्ता अभिव्यक्त विचारहरूले अखबारका पानाहरू रङ्गाएका छन् र नयाँ विचारलाई पस्केका छन् । यस्ता केही प्रतिनिधि विचारहरूलाई यहाँ प्रस्तुत गरिएको छ।

महासभालाई सम्बोधन गर्दै बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले आप्रवासी कामदारको विषयलाई जोडतोडले उठाउनु भएको छ। उहाँ भन्नुहुन्छ “आप्रवासीहरू महामारीको बेला स्वास्थ्य र अन्य आपतकालीन सेवाहरूमा अग्रपंक्तिमा खटिएर सेवा दिइरहेका छन् तर पनि उनीहरू मध्ये धेरैलाई जागिर गुमाउनु परेको छ, तलब कटौती को समस्या बेहोर्नु परेको छ, स्वास्थ्य र अन्य सामाजिक सेवाहरूमा पहुँचको अभाव भएको छ । अनि जबरजस्ती फिर्ताको कारणले कडा चोट बेहोरिरहेका छन्।”

त्यसैगरी माल्टाका प्रधानमन्त्री रोबर्ट अबेलाले द्वन्द्व र यसको बालबालिका माथि पर्ने असरलाई विशेषरूपले उठाउनु भएको छ। “द्वन्द्वले धेरै मानिसहरूको जीवनलाई असर गर्छ जसका कारण हामी हजारौं बच्चाहरूलाई असफलता को बाटोमा डोराइरहेका छौँ। हामी उनीहरूलाई हिंसा, क्रूरता, हानीबाट, र उनीहरुको पूर्ण क्षमता साकार पार्नबाट जोगाउन असफल भएका छौं। हामी उनीहरूको बच्चा हुने अधिकारको समेत रक्षा गर्न असफल भएका छौँ ।”

जर्जियाका प्रधानमन्त्री इराक्ली गरिबाशभिल्ली विश्वभरमा प्रजातन्त्र संकटमा पर्दै गएको विषयलाई उठाउनुभएको छ । उहाँ भन्नुहुन्छ- अन्तिम पटक जब हामी यहाँ संयुक्त राष्ट्र संघमा प्रत्यक्ष भेटेका थियौं, संसारभरिका प्रजातन्त्रहरू दबाबमा परेको अनुभूत गरेका थियौं र आज पनि तर्कहीन र अँध्यारो शक्तिहरू त्यस्मै व्यस्त छन् ।“

लक्जेबर्गका प्रधानमन्त्री जेभियर बेटेलको भने अलिक फरक टिप्पणी छ । उहाँका अनुसार यदि हामीसँग आशा र विश्वास छैन भने जनताले हरेक कुरामाथि विश्वास गर्न छोड्नेछन् । त्यसैगरी बेलिजका प्रधानमन्त्री जाँन ब्रेसिनोले भने अझ कडा टिप्पणी गर्दै भन्नुभएको छ। “हामी सेप्टेम्बर २०२२ मा थप निष्क्रिय हुँदै अर्को वर्ष अरू शोक व्यक्त गर्न यस ठूलो हल मा नफर्कौं। एकपक्षीयता, राष्ट्रवाद, र असफल सामूहिक कारबाहीको विरोध गर्न यस हलमा कदापि नफर्कौं । “

देशभर दुई हजार ७ सय ६० अनलाइन काउन्सिलमा सूचीकरण

काठमाडौँ-मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको छ । प्रेस काउन्सिल नेपालको ५२औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित ४६औँ वार्षिक प्रतिवेदन, २०७७÷७८ सम्मको दर्ता अभिलेखअनुसार, देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या ७४४ रहेको उल्लेख छ ।

प्रतिवेदनमा अर्धसाप्ताहिक ३९, साप्ताहिक दुई हजार ९५६, पाक्षिक ४७६, मासिक दुई हजार ३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिकरुपमा प्रकाशित हुने अखबारको सङ्ख्या ९३ रहेको उल्लेख छ । काउन्सिलका अनुसार, आर्थिक वर्ष २०७७÷७८ सम्ममा दैनिक ७०५, अर्धसाप्ताहिक ३०, साप्ताहिक दुई हजार ८५९, पाक्षिक ३९९, मासिक ५९२, द्वैमासिक ६०, त्रैमासिक १०४ र वार्षिकलगायत अन्य ४० पत्रपत्रिका प्रकाशन भएको अभिलेख छ ।

प्रादेशिकरुपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट बागमती प्रदेश नै पहिलो स्थानमा देखिएको छ । उक्त प्रदेशमा दुई हजार ६५७ पत्रपत्रिका दर्ता भएको पाइएको छ । काउन्सिलका अनुसार, मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् । सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौँ हो ।

आर्थिक वर्ष २०७७-७८ सम्ममा काठमाडौँ जिल्लामा दुई हजार अखबार दर्ता छन् । काठमाडौँपछि पत्रपत्रिका दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो । दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र प्रकाशित मध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनलाई खुच्याएको तथ्याङ्कले देखाएको छ ।

उक्त आर्थिक वर्षसम्म देशभर दुई हजार ७६० अनलाइन काउन्सिलमा सूचीकरण भएका विवरणमा उल्लेख छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै पनि ६२२ अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन् ।

काउन्सिल पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन गर्ने संस्था हो । काउन्सिलले स्वस्थ्य पत्रकारिताको विकास गर्दै यस क्षेत्रलाई उच्च मर्यादामा राख्ने मूलभूत उद्देश्य राखेर काम गर्दैआएको छ ।

उद्योग परिसंघद्वारा दुई नयाँ समिति गठन

नेपाल उद्योग परिसंघले दुई नयाँ समिति गठन गरेको छ ।नेपाल उद्योग परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा पूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा वीरेन्द्रराज पाण्डे कोअर्डिनेटिङ उपाध्यक्ष रहने गरी पूर्वाधार समिति गठन गरेको हो ।

नेपालमा पूर्वाधार विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि समितिले सरोकारवाला निकायसँग मिलेर काम गर्ने बताइएको छ । साथै समितिले आवश्यक नेपालको पूर्वाधार विकासको क्षेत्रको पैरवी पनि गर्नेछ ।

समितिको सदस्यहरूमा मनिष खेमका, निकोलश पाण्डे, रामकृष्ण खतिवडा, सुधीर मित्तल, अमुन थापा, आनन्द सुवेदी, अनुप उप्रेती, कमल पाण्डे, वर्षा श्रेष्ठ, वसन्तबहादुर चन्द, विद्यावारिधि सिग्देल, गणेश कार्की, गुरुप्रसाद न्यौपाने, र ताराप्रसाद पौडेल छन् ।

यसैगरी परिसंघले प्रदेश र जिल्लाहरूमा आफ्नो उपस्थिति बलियो बनाउने र प्रदेश एवं जिल्ला उद्योग परिसंघको भूमिका सक्रिय बनाउने उद्देश्यले राष्ट्रिय परिषद सदस्य लक्ष्मीप्रसाद सुवेदीको नेतृत्वमा प्रदेश एवं जिल्ला समन्वय समिति गठन गरेको छ ।

परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी समितिको कोअर्डिनेटिङ उपाध्यक्ष छन् । समितिको सहसभापितमा एजाज आलम रहेका छन् । समितिले प्रदेश एवं जिल्ला तहमा नीतिगत छलफल एवं अन्तरक्रिया गर्ने, प्रदेशहरूमा उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि कानुन तर्जुमामा पहल गर्ने बताइएको छ ।

समितिको सदस्यहरूमा भीम घिमिरे, नरेश दास, ऋषिराम घिमिरे, विनोदकुमार न्यौपाने, पूर्णप्रसाद आचार्य, हेमविक्रम थापा, ताराप्रसाद पौडेल, सुरजभक्त पौडेल, भेषराज दुवाडी, बाबुराम बोहरा, राजु पौडेल, लेखराज पोखरेल, सुरेशबहादुर श्रेष्ठ र कृष्णप्रसाद शर्मा छन् ।

इजरायल अन्तर्वार्तामा छुटेकाले परीक्षामा सहभागी हुन पाउने

इजरायल अन्तर्वार्तामा छुटेकाले परीक्षामा सहभागी हुन पाउने

काठमाडौं-रोजगारीका लागि इजरायल जान लिखित परीक्षा पास भए पनि अन्तर्वार्तामा छुटेका ५१ जनाले परीक्षामा सहभागी हुन मौका पाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले किरिया तथा सुत्केरीलगायतका कारणले विगतमा अन्तर्वार्तामा छुटेकालाई सहभागी हुने अवसर मिलाएको हो ।

प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिको आज बसेको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले र वैदेशिक रोजगार विभागका महानिर्देशक दीपक काफ्लेले सो जानकारी दिनुभएको हो ।

विभागले लिएको लिखित परीक्षामा छ हजार ३१७ सहभागीमध्ये दुई हजार ३९ लिखित परीक्षामा उत्तीर्ण भएका थिए ।

विभागले यही असोज १ गतेदेखि ३ गतेसम्म उचाइ र तौलको परीक्षा लिएकामा त्यो बीचमा छुटेका व्यक्तिलाई अन्तर्वार्ता अवधिभरलाई अवसर दिइएको छ ।

छुटेका परीक्षार्थी आजसम्म आवेदन लिएर शनिबारसम्म अन्तर्वार्तामा सहभागी हुन पाउने भएका हुन ।

विभागका महानिर्देशक काफ्लेका अनुसार,कुनै कारण विशेषले छुटेकालाई पुनःआवेदन दिएर सहभागी गराइनेछ ।

इजरायल अन्तर्वार्तामा छुटेकाले परीक्षामा सहभागी हुन पाउने

दशैँकाे टीकाकाे साइत बिहान १०:०२ बजे

काठमाडौं : नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँकाे टिकाकाे सहित बिभिन्न कार्यकाे साइत सार्वजनिक गरेको छ।

असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिएका छन् । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ।

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ। पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए। असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ। असोज २६ गते मङ्गलबार फूलपाती परेको छ। फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने अध्यक्ष प्रा अधिकारीले बताए।

फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ। मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ। तुलजा भवानी यात्राको साइत बिहान ७ : ११ बजे रहेको छ। तुलजा भवानीलाई बिहान ८:४४ बजे स्थिरासन गराइन्छ। असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ।

असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ। असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ। घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८: १९ बजे विसर्जन गरिने साइत छ। विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ। टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ। त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ।

विजयादशमीका दिन बिहान ७ : ०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ। तुलजा भवानीलाई बिहान ८: ३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ। खड्गयात्रा पनि यसै दिन गरिने छ। आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते सबै बलि पूर्ति गरिन्छ। त्यसै रात कोजाग्रत पूर्णिमा पर्व मनाइन्छ।

एमाले तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने

एमाले तेस्रो धारका नेताहरुले विधान महाधिवेशनको बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा एमालेको तेस्रो धारका नेताहरुले बैठक बहिस्कार गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले एकता प्रस्तावको अक्षरश: पालना र विधान महाधिवेशनमा प्रतिनिधि छनोटबारे प्रस्ट धारणा नबन्दासम्म तेस्रो धारका नेताहरु बैठकमा नबस्ने भएका हुन् ।

विधान महाधिवेशनको पूर्व तयारीस्वरुप शुक्रबारबाट सुरु भएको एमाले केन्द्रीय समिति बैठकमा उनीहरुले १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयनका लागी दवाब स्वरुप बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

आउँदो आइतवारदेखि काठमाण्डौका विद्यालय भौतिक रुपमा खुल्ने

आउँदो आइतवारदेखि काठमाण्डौका विद्यालय भौतिक रुपमा खुल्ने

काठमाण्डौ-आउँदो आइतवारदेखि काठमाण्डौ महानगरपालिकाले भौतिकरुपमा नै विद्यार्थीको उपस्थिति गराई विद्यालय खोल्ने निर्णय गरेको छ ।

विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कारण गएको वैशाखको दोस्रो हप्तादेखि बन्द रहेका विद्यालय भौतिक रुपमा खोल्ने अनुमति दिने भएको हो ।

महानगरपालिका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसेर अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर महानगरपालिकामा पेस गरेमा मात्र विद्यालय भौतिक रुपमा खोल्ने अनुमति दिने निर्णय भएको जानकारी दिएका छन्।

विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य गरिएको छैन ।

विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसेर आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाएर महानगरको शिक्षा शाखामा पेस गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ ।

शिक्षक, कर्मचारी, चालकले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने जनाएको छ ।

जोखिमकैबीच विद्यालय खुल्न थाले पछि अभिभावकले चिन्ता व्यक्त गर्न गरेका छन् ।

चाडपर्व आएको र कोरोनाको त्रास अझै कायमै रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरुपमा विद्यालय खोल्नु पर्ने अभिभावकको भनाइ छ ।

आउँदो आइतवारदेखि काठमाण्डौका विद्यालय भौतिक रुपमा खुल्ने

‘म राजा हुन आएको’भन्दैश्रीपेच निकाल्न एक युवकले सिसा फुटाए

‘म राजा हुन आएको’भन्दैश्रीपेच निकाल्न एक युवकले सिसा फुटाए

काठमाडौं- नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक युवकलाइ नेपाली सेनाले नियन्त्रणमा लिएकाे छ ।

शुक्रबार बिहान संग्रहालय अवलोकनका लागि पुगेका पश्चिम रुकुमका २५ वर्षीय युवक खिमबहादुर घर्तीले सिसा फुटाएर श्रीपेच निकाल्न खोजेपछि नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको हाे ।

सिसा फुटाउँदा उनको हातसमेत काटिएर रगत बगेकाे छ । उनलाई अहिले सेनाले नियन्त्रणमा राखेर साेधपुछ तथा अनुसन्धान गरेकाे छ ।

महानगरीय प्रहरी वृत दरबारमार्गका प्रमुख रामेश्वर पौडेलका अनुसार ती युवकले ‘म राजा हुन आएको’ भन्दै श्रीपेच निकाल्न सिसाकाे फ्रेम हातैले फुटाएका थिए ।

पक्राउ परेका घर्तीको मानसिक स्वास्थ्य अवस्थाबारे पनि बुझ्ने काम भइरहेको प्रहरीले बताएकाे छ ।

‘म राजा हुन आएको’भन्दैश्रीपेच निकाल्न एक युवकले सिसा फुटाए

समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिदै

समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिदै

काठमाडौं-नेपालभरको गैर सरकारी संस्थाको नियामक निकाय समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिने भएका छन्।

शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी राजीनामाबारे जानकारी दिने परिषदका सदस्य सचिव पुष्कर खातीले जानकारी दिएका छन्।

सदस्य सचिव खातीले परिवर्तित परिस्थितिमा सामूहिक राजीनामा दिने निर्णय गरेको बताए ।

राजीनामा दिनुका कारण र आफ्नो कार्यकालमा गरेका कामबारे पत्रकार सम्मेलनमा जानकारी दिने उनले बताए ।

समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिदै

दशैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोपः मन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताएका छन् ।

बालबालिकाका लागि आवश्यक पर्ने ‘मोडोनारा’ र ‘फाइजर खोप’ ल्याउने तयारी मन्त्रालयले गरिरहेको जनाइएको छ ।

उनले भने, “बालबालिकाका लागि आवश्यक खोपको सुनिश्चितता भइसकेको छ । फाइजर खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

यो खोप अत्यधिक चिसोमा राख्नुपर्ने भएकाले कसरी भण्डारण गर्ने भन्ने विषयमा छलफल हुँदैछ ।”

आगामी चैत महिनाभित्र कोरोना विरुद्धको पूर्ण खोप लगाई सक्ने गरी ल्याइने तयारी गरिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले भने, “अहिले १८ वर्षमाथिका विद्यार्थी र ४५ वर्ष माथिकालाई खोप लगाइएको छ ।”

फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले सरकारले चाँडै नै पूर्णता पाउने बताएका छन् ।

भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र व्यवस्थापन समितिसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजनालाई कार्यान्वयन गरिने उनले जानकारी दिएका छन्।

राष्ट्रकवि घिमिरेको १०३औँ जन्मजयन्ती

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०३ औँ जन्मजयन्तीका अवसरमा बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा ‘व्यक्तित्व चर्चा र रचनावाचन’ कार्यक्रमको आयोजना गरिएको छ ।

विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरेको १०२ वर्षको उमेरमा २०७७ भदौ २ गते निधन भएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले राष्ट्रकवि घिमिरे लोकको भावना बुझेर काव्य सिर्जना गर्ने साधक भएको उल्लेख गर्दै भने, “राष्ट्रकवि घिमिरेका लोकजीवन, राष्ट्र र राष्ट्रियतालाई आत्मसात गरी गरिएका सिर्जनाहरू कालजयी छन् ।”

उप्रेतीले घिमिरेको अन्तिम महाकाव्य ‘ऋतम्भरा’ उहाँका परिवारको अनुमतिप्राप्त भएमा छाप्न तयार भएको बताए।

स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका काव्यशिल्पी कविवर घिमिरे प्रतिष्ठानका संस्थापक सदस्यसमेत रहनुभएका राष्ट्रकवि घिमिरे प्राज्ञ परिषद् सदस्य हुँदै उपकुलपति, कुलपति र आजीवन सदस्यका रूपमा रहेका थिए ।

उपकुलपति डा जगमान गुरुङले राष्ट्रकविलाई आफूले सदैव राष्ट्र र राष्ट्रियताप्रति जिम्मेवार स्रष्टाका रूपमा पाएको उल्लेख गरेका छन् ।

सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले राष्ट्रकविको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै नेपाली राष्ट्रिय भावनालाई मजबुत बनाउनमा राष्ट्रकवि घिमिरेका सिर्जनाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

प्रतिष्ठानका साहित्य पद्यकाव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले राष्ट्रकविको पहिलो स्मृतिसभा भएको उल्लेख गर्दै अब वर्षेनी उनको जन्मतिथिका अवसरमा यस्तो कार्यक्रम आयोजना गरिने बताए ।

प्राज्ञसभा सदस्य तथा नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माले नेपाल प्रज्ञा–प्रतिष्ठानसमक्ष राष्ट्रकवि घिमिरेले आफ्नो जीवनकालमा प्राप्त गरेका मान–सम्मान र पुरस्कारसँग सम्बन्धित सामग्रीको संरक्षण गरिदिन आग्रह गरे ।

उनले राष्ट्रकवि घिमिरेको निवासतर्फ जाने मार्गको नाम ‘राष्ट्रकवि माधवप्रसाद घिमिरे’ नामकरणका लागि सरकारसमक्ष प्रस्ताव राखिदिन अनुरोध गरेका छन् ।

राष्ट्रकवि घिमिरेका कान्छा छोरा इञ्जीनियर राजीव घिमिरेले बुवासँगका केही प्रमुख स्मृति सुनाउँदै अब छिट्टै नै ‘ऋतम्भरा’लाई प्रकाशनमा ल्याइने जनाएका छन् ।

राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित: नेकपा एस

राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित: नेकपा एस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहित अनुकूल नबनाई पारित हुन नदिने भएको छ ।

एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित हुन दिने बताए ।

व्यापक रूपमा छलफल गरेर संशोधन गरी एमसीसीलाई नेपालको पक्षमा पारेर मात्र पास गर्ने आफ्नो पार्टीको निर्णय भएको उनको भनाइ छ ।

एकीकृत समाजवादी सुरुदेखि नै एमसीसीको विपक्षमा उभिएको छ ।

तर, संसदबाट पारित गर्नैपर्ने भएकाले त्यसलाई सुधार गरेर मात्र अघि बढ्नुपर्ने सो पार्टीको धारणा छ ।

राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित: नेकपा एस

टिचिङमा उपचाररत पत्रकार नेपाललाई आर्थिक सहयोग प्रदान

काठमाडौँ । लामो समय टिचिङ अस्पतालमा उपचाररत समाजवादी संगठनका सकृय पत्रकार बालकुमार नेपाललाई उपचारकानिम्ति समाजवादी प्रेस सगठनले आर्थिक सहयोग गरेको छ ।

संगठनको तर्फबाट सम्योजक शम्भु श्रेष्ठले पचास हजार रकम अस्पतालमा पुगि हस्तान्तरण गरेका हुन् ।

साथै नेपाल पत्रकार महासघका सचिब गोबिन्दप्रसाद चौलागाईंले सोही समय प्रेस काउन्सिले सकृय पत्रकारिता पुरस्कार स्वरुप आफुले पाएको रकम सम्योजक श्रेष्ठ मार्फत नै बिरामी पत्रकार नेपाललाई हस्तान्तरण गराएका छन् ।

महासंघका केन्द्रीय सचिव तथा रौतहट टाइम्स साप्ताहिका सम्पादक चौलागाईंले प्रेस काउन्सिलको ५२ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीमार्फत ग्रहण गरेको प्रेस काउसिल सकृय पत्रकारिता पुरस्कार’ बापतको रकम नेपाललाई दिएका हुन् ।

कलेजोको गम्भीर बिरामी भै थलिएका पत्रकार नेपाल बाइसदिन देखी शिक्षण अस्पताल महाराजगन्जको आइसिसियुको तेह्र नम्बर बेडमा उपचाररत छ्न।

बिशुद्द व्यावसायिक पत्रकारिता गर्ने पत्रकार नेपालको उपचार खर्चका निम्ति कठिन हुँदै गएको सूचना पाए लगतै सम्योजक श्रेष्ठ, सचिब चौलागाईं, संगठनका नेताहरू प्रकाश खतिवडा, भवानी कार्की आशिष् गुरागाइ लगायतको टिम अस्पताल पुगि उनको स्वास्थ्य अवस्था बुझी सहयोग गरेका हुन्।

विहीबार मात्रै प्रेस काउन्सिल नेपालको वार्षिकोत्सबको अवसरमा राष्ट्रपति बिद्यादेबि भण्डारी र नेपाल सरकारका प्रवक्ता तथा मन्त्री ज्ञानेद्रबहादुर कार्कीले सयुक्त रूपमा चौलागाईं, भारतदत्त कोइराला, प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद खनाल प्रतिक लगायतलाई पुरस्कार प्रदान गरेका थिए ।

डिआइजी पावर लगाई जागिर लगाइदिने भन्दै ठगी गर्ने एक महिला पक्राउ

रौतहट । प्रहरी विद्यालयमा जागिर लगाइदिने भन्दै डिआइजीको नाममा पैसा उठाएको आरोपमा एक महिला पक्राउ परेकी छिन । रौतहटको गरुडा नगरपालिका विर्तामा रहेको प्रहरी विद्यलायमा शिक्षक पदमा स्थायी जागिर लगाइदिने भन्दै रकम उठाएको आरोपमा सर्लाही जिल्लाको हरिवन नगरपालिका ११ की शुसिला थापा दहाल पक्राउ परेकी हुन ।

पक्राउ परेकी थापाले २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरिक्षक उमेश रंजितकारको नाममा ६ लाख रुपैंया माँग गरेकी थिइन । प्रहरी विद्यालयमा स्थायी जागिर लगाउन डिआइजी तथा विद्यालयका प्रिन्सीपल समेतलाई रकम बाडनु पर्ने भन्दै थापाले पर्सा जिल्लाका उदास कुमार पाण्डेसँग ६ लाख रुपैंया माँग गरेकी थिइन ।

डिआइजीको नाममा पैसा मागेको अडियो रेकर्ड बाहिरिए पछि ईलाका प्रहरी कार्यालय गरुडाले थापालाई पक्राउ गरेको हो । पाण्डेसँगको फोन संवादमा थापाले काम गराइदिने भन्दै बैंक मार्फत रकम पठाउन भनेकी थिइन । प्रदेश प्रहरी प्रमुखले रकम मागेको भन्दै अडियो बाहिरिए पछि थापालाई आज प्रहरी विद्यालयमा बोलाइएको थियो ।

पाण्डेसँगको फोन संवादमा सुनिएको आवाज आफ्नै भएको उनले स्वीकारेकी छिन । इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी भण्डारीले भने “घटनाको छानबिनका लागी उनलाई सर्लाहीबाट प्रहरी विद्यालयमा बोलाएर अहिले नियन्त्रणमा राखिएको छ । फोन रेकर्ड गरेर आफूलाई बार्गेनिङ्ग गरेको पक्राउ परेकी महिलाले जनाएकी छिन ।

यता २ नं. प्रदेश प्रहरी कार्यालयले समेत घटनाका विषयमा ध्यानाकर्षण भएको जनाएको छ । डिआइजीको नाममा घुसा उठाएको बारेमा हिजो केही संचारमाध्यमले खबर सम्प्रेषण गरेकोमा त्यसमा कुनै सत्यता नभएको र पक्राउ परेकी महिला उपर कसुर अनुसारको कानूनी कारवाही हुने २ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
२०७८ असोज ७ गते प्रकाशित

ललितपुरमा नयाँ सिडिओ काम बुझ्न ‘छड्के भ्रमणमा’

ललितपुर । ललितपुरको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा सरुवा भएका घनश्याम उपाध्यायले यस अघिका सिडिओ ढुण्डिराज निरौलासँग भेटघाट गर्दै ललितपुरको बारेमा सक्षिप्त जानकारी लिएका छन् ।

ललितपुरको सिडिओबाट गृहमन्त्रालयमा तानियका निरौलासँग सोमबारबाट सोही कुर्सी सम्हाल्न लागेका नव नियुक्त सिडिओ उपाध्यायले भेटघाट गरेर जानकारी लिएका हुन् ।

सिडिओमा काज सरुवा भएका घनश्याम उपाध्यायले सोमबारबाट कुर्सी सम्हाल्ने भएका छन् ।

प्रजिअ उपाध्यायले आज जिल्ला प्रशासन कार्यालय पुगेर अवलोकन गरेका हुन्।

ललितपुरमा नयाँ सरुवा भएका प्रजिअ उपाध्यायको यो अवलोकनलाई कर्मचारीहरुले ‘छड्के भ्रमण’ को रुपमा लिएका छन् ।

गृह मन्त्रालयबाट दिउँसो १ बजेर ४० मिनेटमा जिल्ला प्रशासन कार्यालय प्रवेश गरेका उपाध्याय ३ बजेर ४५ मिनेटतिर बाहिरिएका थिए ।

सिडिओ उपाध्यायले गृह मन्त्रालय सरुवा भएका ढुण्डिराज निरौलासँग भेटघाट गर्दै ललितपुरको बारेमा सक्षिप्त जानकारी लिए ।

साथै, प्रशासनका वरिष्ठ कर्मचारीहरुसँग अनौपचारिक परिचयसमेत गरे ।

प्रजिअ उपाध्यायले औपचारिक जिम्मेवारी भने सोमबारदेखि शुरु गरिने बताइएको छ।

प्रशासन क्षेत्रमा कुशल प्रशासकको छबि बनाएका उपाध्यायको ललितपुरको जिम्मेवारीसङै ललितपुरमा सुशासनले गतिलिने अपेक्षा गरिएको छ।