८५ सहसचिवको सरुवा नामावलीसहिते

प्रशासन सिँहदरवार ब्युरो
२९ भाद्र २०७८, मंगलबारकाठमाडौँ । सरकारले ८५ जना सहसचिवको सरुवा गरेको छ ।

प्रशासन सिंहदरवार उच्च स्रोतका अनुसार नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा, र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा भएको हो ।

प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री शेरबहादुर देउवाले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार कामकाजका लागि खटाउने निर्णय गरेका हुन् ।

प्रदेशको बसाई पुगेका र सङ्घबाट ती ठाउँमा जानु पर्ने गरी करिब दुई दर्जन सहसचिवबाट सुरु भएको सूची निर्णय हुँदासम्म ८५ जना पुगेको छ ।
सम्बन्धित समाचार स् दुई दर्जन बढी सहसचिवको सरुवा सूची तयार

पछिल्लो समय त्यो सूची बढेर ५८ जनामा पुगेको थियो । उक्त सूचीमा समावेश भएका मध्ये केही सहसचिवहरूको फेरबदल भएको छ ।

सम्बन्धित समाचार स् ५८ सहसचिवको सरुवा हुँदै, यी हुन् केही नामावली

यस पटकको सरुवामा शक्तिकेन्द्रबाट निकै धेरै दबाब आयो । जसका कारण कैयन पटक सूची परिवर्तन गर्नु पर्‍यो । केही सहसचिवहरूले रोजाइको ठाउँमा जान सत्ता गठबन्धनका नेताहरू कहाँ निकै धाए । जसले गर्दा पनि निर्णयमा असर पुग्न गयो र सहसचिवको सरुवा गर्न नै महिनौँ लाग्यो ।

सम्बन्धित समाचार स् सरुवाका लागि शक्तिकेन्द्रमा सहसचिवको फन्को १

सरुवा गरिएका सहसचिवकोहरुको पत्र तयारी अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

सडक ढलान गरिँदै

ललितपुरको वाग्मती गाउँपालिका अन्र्तगत छबेलीदेखि भट्टेडाडाँसम्मको मुख्य सडक ढलान गर्न थालिएको छ । वाग्मती प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय ललितपुरको आर्थिक सहयोगमा एक हजार ६०० मिटर सडक ढलान गर्ने काम अघि बढेको गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरेले बताएका छन् ।

कूल रु छ करोडमा साँढे पाँच मिटर चौडाइको सडक ढलान हुँदैछ । सडक ढलान कार्य एक वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । सो सडक भएर गाउँपालिकाको खानीखोला हाइड्रोपावर तथा भट्टेडाँडा आधारभूत विद्यालयका साथै भट्टेडाँडा स्वास्थ्य चौकीसम्म पुग्न सहज हुनेछ ।

वाग्मतीले चालू आव २०७८÷७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मानवीय र भौतिक पूर्वाधारः समुन्नति र दिगो विकासको आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकाका सडकको वर्गीकरण गरी व्यवस्थितरुपमा विकास गरिएको छ । सङ्घ तथा प्रदेश सरकार र सोअन्तर्गतका निकायसँग समन्वय गरी कालोपत्र गरिने योजना गाउँपालिकाले यसअघि सार्वजनिक गरेको थियो ।

बाघको आक्रमणबाट एक भारतीय नागरिकको मृत्यु

बाँके राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी सोमबार एक भारतीय नागरिकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँँपालिका–१ गाभरगाउँस्थित निकुञ्जभित्र पर्ने जङ्गल क्षेत्रमा बाघले आक्रमण गर्दा ५५ वर्षीया पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेको नाम, थर खुल्न नसेकको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहको भनाइ छ । उनको शवलाई बाँके राष्ट्रिय निकुञ्जमा ल्याएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताएका छन् ।

बाघको आक्रमणमा परेर मृत्यु भएको थाहा हुनासाथ निकुञ्जका कर्मचारी, नेपाली सेना र प्रहरी घटनास्थालमा पुगेको थियो । मृतक गाँभरगाउँको एक होटममा भाडा माझ्ने काम गर्दै आएको तर उनको नाम, थर पहिचान अझै प्रहरीले गर्न नसकेको प्रमुख साहको भनाइ छ ।

बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु, २४ घाइते

कावासोती, २९ भदौ (रासस) पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २४ घाइते भएका छन् ।काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र ना६ख ७१२६ नंको ट्रक नवलपुरको गैँडाकोट–१० , २३ स्मृति पुल नजिक एकआपसमा आज विहान ठोक्किएको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बस सडकबाट १० मिटर तल खस्दा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । मृतकको अझै पहिचान खुलेको छैन । उनको भनाई अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

बसमा चालकसहित २६ जना सवार रहेका बताइएको छ । तीमध्ये तीन जना घाइतेको अवस्था गम्भीर छ । यसैगरी ट्रकका चालकसमेत घाइते भएका छन् । घाइतेकोे नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको प्रनाउ गिरीले बताएका छन्।

राष्ट्रिय जनगणनको तयारी

यहाँस्थित जिल्ला जनगणना कार्यालयले ‘राष्ट्रिय जनगणना २०७८’ को तयारी तीव्र बनाउँदै सुपरीवेक्षकको तालिम सम्पन्न गरेको छ ।स्थानीय तहमा जनगणना कार्यालय स्थापनको काम सम्पन्न भइसकेको छ भने सात पालिकामा सुपरीवेक्षक बुधबारदेखि खटिँदैछन् । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार यही भदौ ३० देखि असोज १८ गतेसम्म सुपरीवेक्षकले स्थलगतरूपमा सूचीकरण गर्नेछन् ।

यसका लागि भरतपुर महानगरपालिकामा १०७, रत्ननगरमा ३०, खैरहनीमा १९, राप्तीमा १७, कालिकामा १५, माडीमा १३ र इच्छाकामना गाउँपालिकामा नौ सुपरीवेक्षक खटिने छन् । सुपरीवेक्षकले सूचीकरणको समयमा स्थानीय तहका वडामा सामुदायिक प्रश्नावली भर्नेसम्मका काम गर्नुपर्ने छ ।

आगामी असोज १० गते जिल्लामा जनगणनका लागि ८५७ गणकको नतिजा सार्वजनिक हुने छ । गणकको नियुक्तिपछि एक सुपरीवेक्षकले चार गणकलाई परिचालन गरी गणना गर्नेछन् । गणकका लागि आगामी कात्तिकमा तालिम दिइने छ । गणकले कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणना गर्ने उनले जानकारी दिएका छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा रहेको जनगणना समन्वय समिति गठन गरी काम अघि बढाइएको हो ।

सङ्घीयतापछिको पहिलो जनगणना भएकाले गणकले कृषि गणनासमेत गर्ने उनले जानकारी दिए । गणकले गणना गरी ल्याएको तथ्याङ्कका आधारमा कार्यालयले मङ्सिर मसान्तसम्ममा काम सम्पन्न गर्ने छ । विसं २०६८ को जनगणनाअनुसार पाँच लाख ७९ हजार ९८४ जिल्लाको जनसङ्ख्या छ ।

कोरोना सङ्क्रमित घटेपछि हलेसी मन्दिर खुलाइयो

खोटाङ, २९ भदौ (रासस) चार महिनादेखि बन्द गरिएको त्रिधार्मिकधाम हलेसी मन्दिर सोमबारदेखि खुला गरिइएको छ । जिल्लामा कोभिड–१९ को सङ्क्रमणदर घट्दै गएको तथा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत न्यून रहेको पाइएपछि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र डिसीसिएमसीको आइतबार बसेको बैठकले मन्दिर खुला गराउने निर्णय गरेको थियो ।

गत वैशाख १५ गतेदेखि बन्द मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पूजाआजा गर्न मिल्ने गरी खुला गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक समरबहादुर भुजेलले जानकारी दिएका छन् । महामारी फैलिन थालेसँगै दैनिक बिहान र बेलुका हुँदै आएको नित्य÷नैनित्य पूजालाई मात्र निरन्तरता दिने गरी बन्द गरिएको थियो । बिहान र बेलुकाको नित्य÷नैनित्य पूजाका क्रममा पुजारी र बाजा बजाउने नगर्चीलाई मात्र हलेसी मन्दिर प्रवेश गर्न अनुमति दिइएको थियो ।

ताला लगाएका अवस्थामा हलेसी दर्शनमा आएका दर्शनार्थी एवं तीर्थयात्रीले ढोका बाहिरबाटै दर्शन र पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो । कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउने उद्देश्यले हलेसी प्रवेशमा रोक लगाइएको यो दोस्रोपटक भएको हलेसी विकास समितिले जनाएको छ ।

हलेसीसँगै जिल्लाका सबै मठमन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चलगायतमा दैनिकरूपमा गरिने नित्य÷नैनित्य पूजा, प्रार्थनासहित पूजा, प्रार्थना, भजनकीर्तन, कलशयात्रा, बलिपूजाजस्ता धार्मिक कार्य खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिएका छन् । “सबै क्षेत्रमा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्ने निर्णय गरिएको छ”, उनले भने, “स्वास्थ्य सुरक्षा मापदण्ड कार्यान्वयन भए÷नभएको विषयमा आनुगमन गर्न प्रहरी परिचालन गरिएको छ ।”

दश स्थानीय तह रहेको जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ मात्र रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए । गत वैशाखयता दोस्रो भेरियन्टसहितको कोरोना सङ्क्रमण दुई हजार ९२६ मा देखिएको जिल्लामा १५ जनाको निधन भएको छ ।

सङ्क्रमितको सङ्ख्या धेरै भए पनि हालसम्म निषेधाज्ञा लागू नगरिएका जिल्लामा ३९ हजार ९८६ जनालाई पहिलो तथा २० हजार १७४ लाई दोस्रो खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । हरेक नागरिकलाई खोप उपलब्ध गराउने सरकारको नीतिअनुसार जिल्लाका १० वटै स्थानीय तहमा खोप लगाउने व्यवस्था मिलाइएको खोप समन्वय समितिका संयोजकसमेत रहनुभएका प्रजिअ शर्माले जानकारी दिएका छन् ।

लमजुङमा पाँचवर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३र७४ देखि २०७७र७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएका थिए । कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए । गतएक वर्षका अवधिमा २० बालबालिका हराएका थिए । तीमध्ये तीन बालक, १७ बालिका छन् । अझै दुई बालिका भेटिएका छैन्न् ।

सचेतनाका लागि प्रहरीले सामुदायिक तथा आमा समूह लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताएका छन् ।

भाइरल ज्वरोका बिरामी बढे, बालबालिका बढी प्रभावित

जिल्लामा केही दिनदेखि भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी बताएका छन् ।

केही दिनदेखि जिल्लामा वर्षासँगै अत्यधिक गर्मी बढेको र वातावरणमा आएको परिवर्तनले बिरामीको सङ्ख्या बढेकोे स्वास्थ्य सस्थाले जनाएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले अस्पतालमा दैनिक १० देखि १५ ज्वरोका बिरामी उपचारका लागि आउने गरेकोे जानकारी दिएका छन्।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा कृष्ण जोशीले भने, “अस्पतालमा अन्य रोगभन्दा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ, दैनिक आउने ज्वरोका बिरामीका कारण उपचार गर्नमा निकै समस्या हुँदै आएको छ ।”

निजीस्तरका अस्पतालमा उपचार गराउन आएका बिरामीमध्ये ३०÷४० प्रतिशत भाइरल ज्वरोको समस्या हुने गरेको शैलेश्वरी अस्पताल दिपायलका डा ललित लिम्बूले बताए । यहाँका निजी मेडिकल तथा पोलिक्लिनिकमा समेत उक्त रोगका बिरामी बढ्दै गएको महाकाली पोलिक्लिनिक दिपायल राजपुरका स्वास्थ्यकर्मी पदमसिंह महराले जानकारी दिएका छन् ।

पछिल्लो केही दिनयता यहाँका गाउँघरमा समेत भाइरल ज्वरोका बिरामी देखिन थालेको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोबिन्द विष्टले बताए । यहाँका निजी मेडिकलमा उच्च जोडका औषधि दिने तथा ज्वरो चाँडै निको हुने भएकाले पनि उक्त रोगका बिरामी सरकारी अस्पतालभन्दा निजी मेडिकलप्रति बढी आकर्षित हुने गरेको केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी चेतराज भट्टले जानकारी दिएका ।
छन् ।

मौसम परिवर्तनका कारण मानिसको शरीरमा अत्यधिक गर्मी भएको र शरीर तातो नै रहेको बेला अचानक पानीमा भिज्नु वा चिसो पदार्थ पिउनाले शरीरले तापक्रम अनुकूलरूपमा मिलाउन नसक्दा ‘इन्फेक्सन’ भएर भाइरल ज्वरो आउने गरेको शैलेश्वरी अस्पतालका निर्देशक आइजंग कुँवरले बताएका छन् ।

यस्ता बिरामीलाई झोल पदार्थ बढी खान, सफा पानी बढी पिउन, खानपिन र सरसफाइलगायतका जनस्वास्थ्यको मापदण्डमा ध्यान दिन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

बारा र तनँहुका सीडीओ परिर्वतन

काठमाडौं । गृहमन्त्रालयले दुई सीडीओको सरुवा गरेको छ । बारा र तनँहुका सिडिओलाई गृहमन्त्रालयमा जगेडामा तान्दै दुवै जिल्लामा नयाँ सीडीओ गृहले सोमवार पठाएको हो ।

जसअनुसार तनहुँमा विश्व अर्याल र बारामा कृष्णबहादुर कटवाल नयाँ सिडियो बनेका छन् । अर्याल विपद् प्राधिकरण र कटवाल सुनसरी कारागार झुम्कामा थिए ।

यसअघि तनहुँमा सीडीओ रहेका सागर आचार्य र बारामा सिडिओ रहेका सुरेन्द्र पौडेललाई मन्त्रालयमा जगेडामा तानिएको छ ।

अर्याललाई कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको सिफारिसमा तनँहु सीडीओ बनाएर पठाइएको गृह स्रोतले जानकारी दिएको छ ।

एमबिबिएस छात्रवृत्ति तथा विदेशी म्याचिङ सिटमा पूर्व मनोनयन सूची प्रकाशित

काठमाडौँ । स्नातक तह(एमबिबिएस)मा प्राथमिकताका आधारमा छात्रवृत्ति र विदेशीतर्फको म्याचिङ हुने सिटमा पूर्व मनोनयन सूची प्रकाशित भएको छ ।

चिकित्सा शिक्षा आयोगले सम्पूर्ण विश्वविद्यालय र अन्तर्गतका शिक्षण संस्था तथा प्रतिष्ठानहरूमा यो शैक्षिक सत्रको लागि सञ्चालित एकीकृत प्रवेश परीक्षाको योग्यता क्रम तथा विद्यार्थीको छनोटका आधारमा सूची प्रकाशन गरेको हो ।

आयोगले सोमबार सूची प्रकाशित गर्दै पूर्व मनोनयनको सूचीमा सूचीकृत भएका उम्मेदवारले ३१ गते ५ बजे भित्र आफू पूर्व मनोनयनमा परेको सिटमा अध्ययन गर्न सहमत वा असहमत भए सो को जानकारी पठाउन आग्रह गरेको छ ।

विद्यार्थीले अनिवार्य आयोगमा आफ्नो प्रोफाइल अनलाइन मार्फत दिनुपर्ने र कुनै एक सिटमा मात्र पूर्व मनोनयन भएको उम्मेदवारले तोकिएको समयावधिभित्र कुनै जानकारी नगराएमा पूर्व मनोनयन स्वतः स्वीकार गरेको मानिने सूचनामा उल्लेख छ । एक भन्दा बढी शैक्षिक कार्यक्रममा पूर्व मनोनयन भएको अवस्थामा कुनै एक कार्यक्रममा मात्र सहमति जनाउनुपर्नेछ । अन्यथा कुनै पनि सिटमा मनोनयन गर्न नसकिने समेत जनाइएको छ ।

पूर्व मनोनयनको सूचिमा परेको उम्मेदवारले अध्ययन नगर्ने भनी तोकिएको समय भित्रै विथड्र गरेमा सो समूह बाहेक सशुल्क वा अन्य शैक्षिक कार्यक्रमको अवसर प्राप्त हुने हुँदा आगामी ३१ गते ५ बजे भित्र असहमति जनाउनुपर्नेछ ।

सशुल्क तथा अन्य शैक्षिक कार्यक्रमको पनि उम्मेदवार भएको अवस्थामा म्याचिङमा समावेश हुन सक्नेछ । असहमति नजनाउने र मनोनयन भएको सिटमा भर्ना पनि नगर्ने उम्मेदवारले यसपछि प्राप्त हुने कुनै पनि छात्रवृत्ति (विदेशी समेत) कोटा र सशुल्क समूहमा समेत समावेश हुन नपाउने सूचनामा उल्लेख गरिएको छ ।

एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको उप–नेतामा खनाल, प्रमुख सचेतकमा सिग्देल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेशको बैठकले संसदीय दलको उपनेतामा कृष्णप्रसाद खनाललाई चयन गरेको छ । एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको सोमबार हेटौँडामा बसेको बैठकले खनाललाई संसदीय दलको उपनेता चयन गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईं चयन गरेको छ ।

आइतबार बसेको एकीकृत समाजवादी बागमती प्रदेशको बैठकले राजेन्द्र पाण्डेलाई संसदीय दलको नेता चयन गरेका थियो ।

नेकपा एमाले विभाजनल भएपछि १३ सांसदले एकीकृत समाजवादी रोजेका छन् । ५५ मध्ये १३ सांसदले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद ४२ मात्र भएको छ ।

२०७८ भदौ २८ गते प्रकाशित

साल्ट्र ट्रेडिङको ५९औं बार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशनले आइतबार वार्षिकोत्सब सम्पन्न गरेको छ । कर्पाेरेसनले आफ्नो ५९औं बार्षिकोत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको संरक्षणमा सक्रिय संस्थाहरूलाई बालहितकारी पुरस्कार, उत्कृष्ट सेवा दिने कर्मचारीलाई प्रशंसापत्र र एसईई परीषामा उत्कृष्ट अंक ल्याउने कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान समेत प्रदान गरेको छ ।

संस्थानका अध्यक्ष लक्ष्मीदास मानन्दरले उनीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै उनले बजारमा उपभोग्य वस्तुको अभाव हुन नदिन र आपूर्ति व्यवस्था सहज बनाउन साल्ट ट्रेडिङले हरप्रयास गर्दै आएको बताए ।

संस्थानकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम जनतालाई सुपथ र सहजरुपमा गुणस्तरीय उपभोग्य वस्तुहरू उपलब्ध गराउँँदै आएको बताए । कर्पोरेशनले आपूर्ति र विवरण क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उनको दावी छ । श्रेष्ठले कोभिड र निषेधाज्ञाको समयमा पनि आफूहरूले उपभोक्ताको घरदैलोमा अत्यावश्यक वस्तु पुर्याएको बताईन् ।

२०७८ भदौ २८ गते प्रकाशित

अर्थ मन्त्रालयका सहसचिव मैनाली सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रमा सरुवा, महाशाखाका प्रमुखमा केसी

काठमाडौँ । सरकारले अर्थ मन्त्रालयका सहसचिव दीर्घ राज मैनालीको सरुवा गरेको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरुवा गरेका हुन् । साथै उनको ठाउँमा रमेश केसीलाई ल्याएका हुन् ।

तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएसँगै रिक्त स्थानमा मैनालीलाई पठाइएको हो ।

अनाधिकृत सेवा सुविधा लिने गाविस सचिवसहित ६ जना विरुद्ध मुद्दा दायर

काठमाडौँ । तनहुँको घाँसीकुवा गाविसका तत्कालीन गाविस सचिव रामराज न्यौपानेसहित ६ जना विरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनाधिकृत रूपमा विभिन्न सेवा सुविधा लिएको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

दसैँ खर्च परिषद् तयारी खर्च भनी अनाधिकृत सुविधा लिएको, परिषद्को निर्णय बिना नै आर्थिक सहायता दिएको र परामर्शदाता नियुक्तिपछि पहिल्यै देखिको सम्झौता बनाई रकम भुक्तानी गरेको पाइएपछि गाविस सचिव न्यौपाने विरुद्ध रु एक लाख ४७ हजार ३६४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यस्तै, आयोगले तत्कालीन इन्जिनियर शुकदेव अधिकारी विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन योजना अधिकृत गणेश घिमिरे विरुद्ध रु ६३ हजार ७५०, तत्कालीन इन्जिनियर तीर्थराज ढुङ्गाना विरुद्ध रु ७२ हजार २५० बराबरको बिगो दाबी गरिएको छ । यस्तै, लेखा परीक्षक नरहरि पण्डित र श्रीभद्र खनाललाई भने कानुनअनुसार कारबाहीको माग गरिएको छ ।

नदीजन्य पदार्थको उत्खनन तथा निकासीको ठेक्कामा राजश्व छली गरेको अभियोगमा नवलपरासी (बर्दघाट पश्चिम) मा कार्यरत एसआरडी कन्ट्रक्सन प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसी विरुद्ध रु ७५ लाख ८० हजार ६४९ बराबरको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । उनीहरूले फर्जी बिल प्रयोग गरी राजश्व छली गरेको पाइएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

एक सातामा एक हजार ७३४ सङ्क्रमण मुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो एक सातामा एक हजार ७३४ जना कोरोना सङक्रमण मुक्त भएका छन् ।

यस अवधिमा एक हजार ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६६ जना सङ्क्रमण मुक्त भएको र १९२ जना थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस अवधिमा पर्वतको फलेवास नगरपालिका–२ का २६ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए ।

उनका अनुसार निजमा भदौ १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या एक हजार ३३२ पुगेको छ । प्रदेशमा हाल एक हजार ५२१ जना होम आइसोलेशनमा छन् ।