हमाल कांग्रेसका पुराना नेता:नाता पर्न जानु स्वभाविक

हमाल कांग्रेसका पुराना नेता:नाता पर्न जानु स्वभाविक

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिनुभएको स्पष्ट पार्नुभयो ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्री रेग्मीले भन्नुभयो, “हमालजी हाम्रो पार्टीको पुरानो नेता हो । उहाँले अवसर पाउनुभएको थिएन । कसैको नाता पर्न जानु अस्वभाविक होइन । उहाँँले पार्टीलाई पुर्‍याउनुभएको योगदानको कदर गर्दै मन्त्रीको जिम्मेवारी दिइएको हो ।”

मन्त्री रेग्मीले वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व उल्लेखनीयरुपमा हुनु सकारात्मक भएको उल्लेख गर्दै हरेक ठाउँमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सकिएमा नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्नसक्ने सम्भावना रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो देशमा महिला राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश हुनुभयो । अब प्रधानमन्त्री हुन पनि महिला सक्षम छन् ।” उहाँले पार्टीको आगामी १४औँ महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मुलुकमा बढ्दो महिला हिंसाका घटनाप्रति आफू अत्यन्त गम्भीर रहेको बताउँदै उहाँँले ज्येष्ठ नागरिकले घरमा ससम्मान बाँच्नसक्ने तुल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विदेशमा अपाङ्गता भएका व्यक्तिको जिम्मा राज्यले लिएको उल्लेख गर्दै मन्त्री रेग्मीले नेपालमा पनि उनीहरुको अधिकार प्राप्तिका लागि ध्यान दिनेछु भन्नुभयो ।

उहाँले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर १८ वर्षमुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोपको सुनिश्चितका लागि खोपको व्यवस्था गर्ने कार्यलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।

अहिले पनि देशका दूरदराजमा रहेका बालबालिका कुपोषणबाट ग्रसित रहेको उल्लेख गर्दै उनीहरुको जीवनरक्षा र पढ्न पाउनुपर्ने अधिकारको रक्षाका लागि पनि विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

हमाल कांग्रेसका पुराना नेता:नाता पर्न जानु स्वभाविक

समय आएपछि मात्र निर्वाचन: अध्यक्ष दाहाल

समय आएपछि मात्र निर्वाचन: अध्यक्ष दाहाल

काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समय आएपछि मात्रै निर्वाचन हुने बताउनुभएको छ ।

उद्योग सङ्घ चितवन शाखाको ३०औँ साधारणसभा एवं १६औँ अधिवेशन आज उद्घाटन गर्दै उहाँले अहिलेको सरकारले पूर्ण अवधि काम गर्ने बताउनुभएको हो ।

“सरकारले हिजो मात्रै पूर्णता पाएको छ ।

सरकारले पूर्णता नपाउँदै कुनै दुर्घटना हुन्छ कि भन्ने मानिसमा शङ्का थियो ।

हिजोदेखि दुर्घटना टर्‍यो,” पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “अब समय अगावै निर्वाचन नहुने भएकाले ढुक्क रहन सबैलाई आग्रह गर्छु ।

सबै मिलेर काममा लाग्ने समय आएको छ । शङ्का हटाएर काममा जुटौँ ।”

देशमा आर्थिक विकासले गति लिने वा नलिने भन्ने कुरा आर्थिक, औद्योगिक र राज्यका नीति कस्ता हुन्छन् भन्नेमा भरपर्ने भन्दै उहाँले जोड दिनुभयोे, “नीतिमध्येको राजा भनिन्छ राजनीतिलाई, राजनीति सङ्लियो भने सबै सङ्लिँदै जान्छ ।

राजनीति बेथितितिर गयो भने सबै बेथितिमै जान्छ ।”

अध्यक्ष दाहालले भन्नुभयो, “तपाईहरुले देख्नुभएको छ, अहिले हामीले राजनीतिलाई सम्हाल्ने र त्यसलाई सङ्लो पार्नेतिर नै मेहनत गरिरहेका छौँ ।

यसको तात्पर्य देशमा आर्थिक विकासको एउटा आधार तयार पार्ने नै हो ।”

निजी, सार्वजनिक र सहकारीका बीचमा राम्रो सहकार्य गरेर तीब्र आर्थिक विकास गर्नुपर्ने भन्दै उहाँले नेपालको आर्थिक विकासको आधार कृषि भएकामा जोड दिनुभयो ।

कृषिमा आधारित उद्योगले मात्रै हामीलाई आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न सहयोग पुग्ने अध्यक्ष दाहालको भनाइ थियो ।

उहाँले उद्योग सङ्घले निर्माण गरेको प्रदर्शनी केन्द्रका लार्गि रु पाँच करोड बजेट उपलब्ध गराउन सुनिश्चित गरेर आफू यहाँ आएको बताउनुभयो ।

उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष श्याम गिरी र उद्योग वाणिज्य सङ्घका जिल्लाअध्यक्ष राजु श्रेष्ठले निजी क्षेत्रको समस्याका बारेमा अवगत गराउनुभएको थियो।

प्रदेशसभा सदस्य कृष्ण खनाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी अश्मान तामाङ लगायतले समसामयिक विषयमा चर्चा गर्नुभएको थियो ।

सङ्घको आजै नयाँ नेतृत्व चयन हुँदैछ ।

समय आएपछि मात्र निर्वाचन: अध्यक्ष दाहाल

सुर्यविनायकमा एकिकृत समाजवादीको नगर स्तरिय कमिटी गठन

सुर्यविनायकमा एकिकृत समाजवादीको नगर स्तरिय कमिटी गठन

काठमाडौँ-भक्तपुर सुर्यविनायक नगरपालिकामा नेकपा एकिकृत समाजवादी पार्टीको नगर स्तरिय कमिटी गठन भएको छ ।

आज बिहान नगरपालिकामा आयोजना भएको एक भेलाले नगर स्तरिय कमिटी गठन गरेको छ ।

श्रीकृष्ण बाशुको अध्यक्षतामा १७ सदस्य नगर कमिटी गठन भएको हो ।

कमिटीको उपाध्यक्ष्मा प्रभुराम थापा, सचिवमा सत्यराम सुवाल, उप-सचिवमा शोभा श्रेष्ठ लगायतका नेतृत्व कमिटीमा सर्वसम्मत चयन भएका छन् ।

सोही भेलाले ५ नम्वर वडा स्तरिय वडा कमिटी पनि गठन गरेको छ ।

५ नम्वर वडा स्तरिय कमिटीको नेतृत्व शिव गुमान्जुले गरेका छन् ।

वडा ५ का उपाध्यक्ष्मा प्रेम कसपाल सचिवमा नवराज खेजु लगायतका १५ सदस्य वडा कमिटी गठन गरिएको छ ।

कार्यक्रममा प्रदेशसभा सभासद डा राजेन्द्रमान श्रेष्ठले नव निर्वाचित जिम्मेवारी प्राप्त नगर र वडा स्तरिय पदाधिकारी सहितको नेतृत्वलाई सपथ खुवाउदै बधाई दिनु भएको थियो ।

त्यसैगरी कार्यक्रममा भक्तपुर जिल्लाका नेताहरु दिपक थापा, धुर्वराज विष्ट तथा जिल्ला अध्यक्ष श्याम बस्नेतले दशैको शुभकामना दिदै नव निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्नु भएको थियो ।

उहाले पदाधिकारीलाई अबको दिनमा संगठन बिस्तारमा दत्तचित्त भएर लाग्न आग्रह समेत गर्नु भएको थियो ।

सुर्यविनायकमा एकिकृत समाजवादीको नगर स्तरिय कमिटी गठन

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय: रक्षामन्त्री रिजाल

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय होः रक्षामन्त्री डा रिजाल

रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले राष्ट्रिय सुरक्षा मस्यौदा समितिमा विगतमा मैले पनि काम गरिसकेको हुँदा राष्ट्रिय सुरक्षा नीति राष्ट्रको हितमा रहन्छ भन्नुभयो ।

मन्त्री डा रिजालले नेपाली सेनाको सम्मान र मर्यादा विश्वसामु उच्च रहेको बताउँदै राष्ट्रिय विपत्तिमा नेपाली सेनाले अग्रभागमा रहेर उच्चकोटीको काम गरेको जानकारी दिनुभयो ।

नेपाली सेनाको कामबाट विश्वसमुदाय सन्तुष्ट रहेको उल्लेख गर्दै उहाँले नेपाली सेनाको गौरव बढाउन सरकार कहिले पनि पछि नपर्ने दृढता व्यक्त गर्नुभयो ।

मन्त्री डा रिजालले नेपालको संविधानले वाक र प्रेस स्वतन्त्रता दिएकाले कसले के कुरा गर्छ र लेख्छभन्दा पनि सरकार भर्खरै विस्तार भएको छ र यसले आफ्ना काममा गति लिन्छ भन्नुभयो ।

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय: रक्षामन्त्री रिजाल

सहकारी देश निर्माणमा सामुदायिक प्रतिनिधित्व: अर्थमन्त्री शर्मा

सहकारी देश निर्माणमा सामुदायिक प्रतिनिधित्व: अर्थमन्त्री शर्मा

काठमाडौँ । सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्छ ।

त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहन्छ । सरकारले लगानी गर्दैन, व्यवस्थापन गर्छ ।

संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो । संविधानमा व्यवस्था गरिएको कुराहरू अहिले लागू गर्न कठिन भइरहेको छ ।

समग्रमा समुदायलाई उत्पादनसँग जोड्नुपर्छ । समुदायलाई नै जोडेर विकास र प्रगतिको बाटोमा जानुपर्छ ।

सरकार, समुदाय र निजी क्षेत्र यी तीन वटा कुरालाई जोडेर जाने हो । यसमा समुदाय मुख्य हो ।

समुदायले नै सबैलाई नेतृत्व गरिरहेको हुन्छ । यसरी हामी जान सक्यो भने छोटो समयमा समृद्ध हासिल गर्न सकिन्छ ।

हरेक वडामा सहकारी संस्थाले उत्पादन गरोस् ।

सरकारका कार्यक्रमहरूलाई सहयोग गरेर रोजगारी सिर्जना गरोस् ।

यसरी सरकार र सहकारीको तालमेल मिलाउँदै गयौँ भने रोजगारीको संकट समाधान हुन्छ ।

सहकारी प्राचीन संस्कृतिकै रूप हो

नेपालको विकासक्रमलाई हेर्ने हो भने सामुदायिक रूपमा रहेको देखिन्छ ।

मुलुकका ठूलाठूला भवनहरू, दरबारहरू समुदायले सहकार्यमार्फत् निर्माण गरेको हामी बुझ्छौँ ।

त्यो बेला जोसुकैले बनाउन निर्देश गरेको भएपनि ठूला निर्माणहरू समुदाय स्तरबाटै भएको देखिन्छ ।

अहिले समुदाय केन्द्रित भएर समग्र राष्ट्रको विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।

हिजो जसरी सहकार्य मार्फत् सामुदायिक स्तरबाट ठूला निर्माण भएका थिए, त्यसरी नै आज सहकारी मार्फत् ठूला योजनाहरू गर्न सक्छौँ ।

हिजोको प्राचीन अभ्यास संगठनका रूपमा आज सहकारी रहेको छ ।

सहकारीहरूले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् ।

सहकारीमा सबै क्षेत्र, जाति, लिङ्ग, वर्गको सहभागिता रहेको छ । यहाँ कुनै जाति, वर्ग भनेर भेदभाव छैन । सद्भाव छ ।

यो संस्कृतिलाई कायम गरेर अब समुदाय केन्द्रित रहेको देश विकासमा लाग्नुपर्छ ।

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ

सहकारीहरूले अधिकांश लगानी अनुत्पादक क्षेत्रमा लगाएको तथ्यांकबाट देखिएको छ ।

त्यो लगानी अब उत्पादनमुलक क्षेत्रमा लगाएर समग्र मुलुकको विकास गर्नुपर्छ ।

उत्पादन क्षेत्रमा लगानी गरे सहकारी संस्थाको मात्र उन्नति नभएर समग्र समुदाय र राष्ट्रकै उन्नति हुन्छ ।

यसले हाम्रो परनिर्भरता घट्छ ।

सहकारीले कम्पनी खोलेर लगानी गर्न पाउने

सहकारीहरूले कम्पनी खोलेर पूँजी लगानी गर्न पाउने नीति पारित भएको छ ।

यो सहकारीहरूले लगानी गर्न नपाउने स्थिति भएको भन्ने कुराका आधारमा व्यवस्था गरिएको हो ।

अब जनतासँग भएको पैसा सहकारीहरूले संकलन गरेर लगानी गर्न पाउँछन् ।

यसलाई छिटो कार्यान्वयनको बाटोमा लैजानुपर्छ । यसका लागि कार्यविधि तयार भइरहेको छ ।

यसबाट अरबौँ पैसा उत्पादन क्षेत्रमा लगानी हुनेछ । यसले हाम्रो आर्थिक क्षेत्रमा धेरै ठुलो परिणाम ल्याउनेछ ।

सरकारको पूँजीगत खर्चको थोरै हिस्सा मात्र लगानी भइरहेको अवस्थामा यो व्यवस्था राष्ट्रिय अर्थतन्त्र निर्माणमा एक खम्बाको रूपमा रहनेछ ।

विकेन्द्रित पूँजीलाई केन्द्रित गर्नुपर्छः

हरेक व्यक्तिको खल्तीमा धेरै-थोरै पैसा छ । त्यो निकै ठूलो छ । खरबौँ छ ।

त्यो विकेन्द्रिकृत पूँजीलाई केन्द्रिकृत गरी लगानी लगर्ने वातावरण निर्माण गरौँ ।

खासगरी उत्पादनमूलक क्षेत्रमा त्यो पैसा लगानी गरौँ । त्यसमा सहकारीहरू अग्रपंक्तिमा हुनेछन् ।

ठूला वाणिज्य बैंकहरूले पनि ठूला कुरा गरिरहेका छन् । तर उनीहरू र जनताबीचको दूरी टाढा छ ।

उनीहरूको प्रत्यक्ष संवाद तथा पहुँच हुन सक्दैन । कम छ ।

त्यसैले वाणिज्य बैंकबाट सेवा सुविधा लिने कुरा आम जनताका लागि गाह्रो विषय छ ।

तर सहकारी आफ्नै पूँजी, आफैँ परिचालन गरेर, आफैँ उत्पादन गरेर आफैँ समृद्ध हुने नीति छ ।

यसमा सहकारीसँगै लघुवित्तको पनि महत्वपूर्ण भूमिका रहेको छ ।

हामीलाई रोजगारी चाहिएको छ । हामीलाई स्वरोजगार चाहिएको छ । यसमा सहकारीले महत्वपूर्ण भूमिका खेल्छ ।

सहकारीले रोजगारी सिर्जना गर्छ, यसले स्वरोजगार बनाउँछ ।

त्यसैले नेपाल सरकारले सहकारीलाई अर्थतन्त्रको तेस्रो खम्बाको रूपमा स्वीकार गर्नुको कारण पनि त्यही हो ।

यो खम्बा जति बलियो हुन्छ, त्यति मुलुक आर्थिक रूपमा बलियो हुन्छ ।

यसर्थ यो खम्बा अरूभन्दा बलियो हुन जरुरी छ ।

सहकारीको नियमनकारी निकाय आवश्यकः

अहिले कतिपय सहकारीले अरबौँ पैसा जम्मा गरेर हिनामिना गरेको कुरा आइरहेका छन् ।

गाउँका आमाबुवाको भत्ताको पैसा, अलिअलि जोडेको पैसा लिएर कतिपयले बदमासी गरेको कुरा आएको छ ।

तर त्यस्तो गलत क्रियाकलापलाई निमन गर्ने निकाय खासगरी यहाँ रहेनछ ।

यहाँ सहकारी विभाग त छ, तर ठ्याक्कै यसलाई नियमन गर्ने विशिष्ट निकाय छैन ।

राष्ट्र बैंकलाई पनि मैले सोधेँ, यो क्षेत्र उसको क्षेत्रभित्र पर्दैन भन्ने जवाफ आयो ।

त्यसो भए नियमन कसले गर्ने हो त ?, संस्था छैन । त्यसैले सहकारीलाई नियमन गर्ने संस्थाको आवश्यकता देखिएको छ ।

जुन संस्थाले सहकारीभित्रका विकृतिलाई नियन्त्रण गर्न सकोस् । यो अहिले छलफलको क्रममा रहेको छ ।

आर्थिक विकास भएर मात्र हुँदैन

समाज परिवर्तनका लागि आर्थिक विकास भएर मात्र हुँदैन । सामाजिक सांस्कृति रूपान्तरण पनि हुनुपर्छ ।

सामाजिक सांस्कृति रूपान्तरण भएन भने समाजमा अनेक किसिमका समस्याहरू उत्पन्न हुन्छन् ।

यी दुवै कुरालाई सँगसँगै लैजानुपर्छ । एकातिर सामाजिक सम्बन्ध मजबुत र सौहार्द हुन्छ । त्यहाँ सद्भाव हुन्छ ।

अनि संस्कृति पनि राम्रो बन्दै जान्छ । अनि अर्कोतिर हाम्रो आर्थिक रूपले हाम्रो जीवनस्तर पनि माथि उठ्दै जान्छ ।

यो सामूहिक सहकार्यमा मात्रै सम्भव छ । त्यसैले यसमा हामी सबै लागौँ ।

सहकारी देश निर्माणमा सामुदायिक प्रतिनिधित्व: अर्थमन्त्री शर्मा

(अर्थमन्त्री जनार्दन शर्माले बिहीबार राजधानीस्थित स्यूचाटार बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिकोत्सव तथा साधारण सभालाई गरेको सम्बोधनको सम्पादित अंश)

२०७८ असोज २२ गते प्रकाशित

केएल टावरको“रमाइलो दशैँ तिहार योजना”उपहारै उपहार

केएल टावरको“रमाइलो दशैँ तिहार योजना”उपहारै उपहार

काठमाडौँ । केएल टावरले दशैं तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दशैं तिहार’ हरेक हप्ता उपहारै उपहार योजना सुरु गरेको छ ।

योजना अन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरु पाउने छन् ।

केएल टावरका अनुसार दैनिक उपहार योजना अन्तरगत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, एक हजार रुपैंया बराबरको शपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरु उपलब्ध गराइने छ ।

१ हजार रुपैयाँ वा सो भन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रुपमा सिजी ब्राण्डका होम अप्लाइन्सेज, टिभि, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेशिन, आईरन, हिटर, भ्याकुम क्लिनर लगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।

बम्पर प्राइजमा एक जनालाई टिभिएस अपाचे आरटिआर १६० २भि वितरण गरिने उपहार योजनाका संयोजक हीरामणी तिमिल्सिनाले बताए ।

चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्धेश्यका साथ टावरले उपहार योजना सुरु गरेको उनले बताए ।

असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए ।

उपहार योजनामा सहभागि हुनका लागि कम्तीमा एक हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ ।

हजार वा सोभन्दा बढीको सामान खरिद गरे पछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ ।

सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।

साथै केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरु समेत खुलेका छन् ।

सिनेमा हलहरु खुलेको र दशैँ लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरुको चहलपहल समेत बढेको छ ।

कोभिडका कारण लामो समयदेखि बन्द जस्तै अवस्थामा रहेका सपिङ्ग मलहरु दशैं नजिकिएसँगै विभिन्न अफरका साथ संचालनमा आउन थालेका छन् ।

टावरमा पचास वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युव सिनेमा हल, सञ्चालनमा छन् ।

साथै बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुम लगायतका पसल सञ्चालनमा छन् ।

केएल टावरको“रमाइलो दशैँ तिहार योजना”उपहारै उपहार

आज दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै

आज दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै

काठमाडौं-आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरी नेपालीहरुको महान चाड बडादशैंको दोस्रो दिन मनाइँदै छ।

बडादशैं अथार्त नवरात्रीको दोस्रो दिन देवी दुर्गाको स्वरुपमध्ये ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम् पाठ गरिन्छ । नवरात्रीको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआराधना गरिन्छ।

यसअघि हिजो घरघरमा देवी दुर्गाको प्रतिमा स्थापना गरी घटस्थापना गरिएको थियो । देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजा गर्ने गरिन्छ।

महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजा गर्ने हिन्दु पराम्परा रहेको छ।

यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गर्छ।

आज दसैंको दोस्रो दिन ब्रह्मचारिणी देवीको पूजा आराधना गरी मनाइँदै

सरकार गठन भएको तीन महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउदै

सरकार गठन भएको तीन महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउदै

काठमाडैँ-आज मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । सरकार गठन भएको तीन महिनापछि मन्त्रिपरिषदले पूर्णता पाउन लागेको हो ।

बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा भएको सहमति अनुसार आज मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको प्रधानमन्त्रिका प्रेस सल्लाहकार भानु देउवाले जानकारी दिएका छन् ।

विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लगाएसँगै आज मन्त्रिपरिषदलाई पूर्णता दिइन लागिएको उनले बताए । सहमतिअनुसार नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने भएको छ ।

माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले ४–४ मन्त्रालय पाएका छन् ।

सरकार गठन भएको तीन महिनापछि आज मन्त्रिपरिषदले पूर्णता पाउदै

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

काठमाडौँ-नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक नगर्ने भएको छ ।

नेपाली कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारले खोपको व्यापक प्रबन्ध गरेपछि महामारीको त्रास र आकार घट्दै गए पनि जोखिमलाई नजरअन्दाज गर्न नमिल्ने भन्दै चियापान कार्यक्रम नगर्ने निश्चित गरेको जनाउनुभएको छ ।

विज्ञप्तिमा खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवनरक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य भएको उल्लेख छ ।

पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि पनि अपिल गरिएको छ ।

महामारीमाथि विजय हासिल गर्न चाँडै नै सफल हुने विश्वास व्यक्त गर्दै कांग्रेसले स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा बडादसैँ, तिहार, नेपाल संवत् र छठपर्वको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

महाशाखाबाट विभाग महानिर्देशकको जिम्मेवारीमा अधिकारी

काठमाडौँ-सह-सचिव तारानाथ अधिकारी पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् ।

मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख रहेका अधिकारीलाई विभागको महानिर्देशकमा पठाएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङको प्रदेश मन्त्रालयमा सरुवा भएसँगै उक्त पद रिक्त रहेको थियो ।

अधिकारीलाई मन्त्रालयकै प्रशासन तथा योजना महाशाखा प्रमुख पदमा रहेका थिए ।

सात वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौँ-हालसम्म सात वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

आज बिहानसम्म हिमालय, माछापुच्छ्रे, कुमारी, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चार्टर्ड, सानिमा र सिटिजन्स बैंक इन्टरनेशनलले लाभांशको प्रस्ताव गरेका हुन् । बैंकहरुले प्रस्ताव गरेको लाभांश स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले केही बैंकको लाभांश स्वीकृत गरिसकेको छ भने केहीको स्वीकृत हुन बाँकी छ ।

लाभांश प्रस्ताव गरेका सात वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै लाभांश हिमालयन बैंकको छ । बैंकले शेयरधनीलाई कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ भने सबैभन्दा कम कुमारी बैंकले ८ दशमलव ६७ प्रतिशत लाभांश बाड्ने प्रस्ताव गरेको छ ।

बैंकहरुको लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीको हातमा लाभांश पर्नेछ । बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दसैँपछाडी मात्र लाभांश पाउने भएका छन् ।

विगतका वर्षमा केही वाणिज्य बैंकले दसैँअघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।

कुन बैंकको कति ?

गत आर्थिक वर्षको नाफाबाट हिमालयन बैंक लिमिटेडले शेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २१ दशमलव ३६ प्रतिशत बोनस शेयर र ४ दशमलव ६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

यस्तै, सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई १७.८९प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले १६ प्रतिशत र सिटिजन्स बैंक इन्टरनेसनलले १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।

गत आवको नाफाबाट माछापुच्छ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो बैंकले कात्तिक २६ गतेका लागि साधारणसभा पनि बोलाइसकेको छ ।

यस्तैगरी, कुमारी बैंकले शेयरधनीलाई ८ दशमलव ६७ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले १३.०६ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

दसैँमा लाभांश नपाउने

बैंकहरुले लाभांश घोषणा गर्न थालेपनि शेयरधनीले भने दसैँपछाडी मात्र लाभांश पाउने भएका छन् । विगतका वर्षमा केही वाणिज्य बैंकहरुले दसैँ अघि नै वार्षिक साधारणसभा बोलाएर शेयरधनीलाई लाभांश वितरण गर्ने गरेको भए पनि यो वर्ष भने शेयरधनीले दसैँ अगाडि लाभांश नपाउने भएका हुन् ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष भुवन दाहालका अनुसार यस वर्ष बैंकहरुले ढिलो गरेर वित्तीय विवरण सार्वजनिक गरेकोले अन्य प्रक्रियामा समेत ढिलाइ हुँदा लाभांश वितरणमा ढिलाइ भएको हो ।

“यसवर्ष वित्तीय विवरण सार्वजनिकमा ढिलाइ भयो”, उहाँले भन्नुभयो, “नेपाल राष्ट्र बैंकले भदौसम्मको आम्दानीलाई जोड्न पाउने व्यवस्था पनि गर्‍यो । यी व्यवस्थाले बैंकहरुले समय पनि पाए, त्यसैले पनि यसवर्ष दसैँ आगाडि शेयरधनीलाई लाभांश दिन सकिएन ।”

दिपावली आसपासमा शेयरधनीले लाभांश पाउन सक्ने उहाँको भनाइ छ ।

हाल केही बैंकले साधारणसभा पनि बोलाइसकेका छन् । साधारणसभाले लाभांश पारित गरेपछि मात्र बैंकका शेयरधनीले लाभांश पाउनेछन् ।

विकास बैंकमा कामना पहिलो

सात वाणिज्य बैंकले लाभांश घोषणा गरे तापनि विकास बैंकमा लाभांश घोषणा गर्ने पहिलो बैंकमा कामना सेवा विकास बैंक भएको छ । बैंकले गत आर्थिक वर्ष २०७७-७८ को नाफाबाट १९.४७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यही असोज ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १८.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांशसमेत गरी १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित १९.४७ प्रतिशत लाभांश गत चार वर्षयताकै उच्च हो ।

पर्यटन बोर्डद्वारा पनौतीको पर्यटन प्रवद्र्धन

काभ्रेपलाञ्चोक-नेपाल पर्यटन बोर्डले विश्व सम्पदा सूचीमा सूचीकृतको प्रक्रियामा रहेको पनौतीको ऐतिहासिक एवं पर्यटकीय क्षेत्र प्रवद्र्धनार्थ घुम्ने स्थान र गर्न पाइने गतिविधि प्रचारमा ल्याएको छ ।

यसका लागि बोर्डले पनौती नगरभित्रका ऐतिहासिक सम्पदा एवं पर्यटकीयस्थललाई मान्यता दिँदै पर्चासमेत सार्वजनिक गरेको छ ।

नगर क्षेत्रका मनोरम पहाड, खेत, हिम–शृङ्खलाको दृष्यावलोकनले आन्तरिक एवं बाह्य पर्यटकलाई आनन्द प्रदान गर्ने मनोरम स्थान रहेको बोर्डले निष्कर्ष निकालेको छ ।

यस्तै साहसिक पर्यटनका लागि पनौती उपयुक्त स्थान रहेको जनाउँदै नगरमा मनोरञ्जनात्मक कार्य गर्न प्याराग्लाइडिङ, रक–क्लाइमिङजस्ता खेल रहेको बोर्डले जनाएको छ ।

पनौती–कमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दुम–महाभारत पदयात्रा, माउण्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृष्यावलोकन), योग रिट्रिट, सामुदायिक र निजी घरबास, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्नुपर्ने जनाइएको छ ।

पनौती पर्यटन समितिको सक्रियतामा बोर्डले पनौतीको ऐतिहासिक एवं पर्यटकीयस्थललाई प्राथमिकीकरण गरी प्रचारमा ल्याएको नगरका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।

यसैबीच संयुक्त राष्ट्रसङ्घीय शैक्षिक तथा बैज्ञानिक निकाय (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रे पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने भएको छ ।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीलाई नेपालस्थित मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने जनाइएको छ । सूचीकृतको कामले यो वर्ष तीव्रता पाएको समेत नगरले जनाएको छ ।

नगर प्रमुख भीमप्रसाद न्यौपानेले भन्नुभयो, “मन्त्रिपरिषद् बैठकको निर्णयलगत्तै पनौतीलाई युनेस्कोले सूचीकृत गर्नेछ ।”

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गतसाल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विकलगायत सम्पदाको अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा उहाँले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको छ ।

“हामी बाह्रवर्षे मकर मेला अर्थात् आउँदो माघ महिनाअगावै विश्व सम्पदा सूचीमा सूचीकृत हुने तयारीमा छौँ, चालु आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो ।

उहाँका अनुसार नगरले चालु आवमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ ।

पनौतीलाई सरकारले प्राचिन स्मारक संरक्षण ऐन २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ ।

सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयको आधारमा युनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ ।”

मन्त्रिपरिषद्को निर्णयपछि युनेस्को फ्रान्सको पुरातत्व विज्ञ टिमले पुनः पनौतीको अनुगमन निरीक्षण गर्नेछ ।

हाल मन्त्रिपरिषद्को कार्यसूचीमा प्राथमिकतामा नपरेका कारण प्रक्रिया लम्बिनसक्ने बताइन्छ । सूचीकृतको यस प्रक्रियामा पनौतीमा ७२ वटा मौलिक नेपाली घर निर्माणको काम धमाधम भइरहेको छ ।

नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालिम, घरबास सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरिसकेको छ ।

पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ ।

युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ ।

जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।

युनेस्कोको नेपालस्थित कार्यालयले विसं २०५२ मै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो ।

यसपछि सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताउनुभयो । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ ।

पनौती नपाको वडा नं ५, ६ र ७ मा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् ।

फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ ।

जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भुनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

नेपालले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये पनौती विश्व सम्पदामा सूचीकृत पहिलो हुने देखिएको छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरुपले बहेकी ब्रम्हायणी मन्दिरको मुनिबाट दूध बग्ने नदीपद्यमावती मानिँदै आइएको छ ।

पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको व्यापारिक नगर बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ ।

राजा प्रताप मल्लले विसं १७२७ मा रानीपोखरी बनाइसकेपछि विभिन्न तिर्थस्थलको जलराख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् ।

तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरूपमा बहिरहेको मान्यता छ ।

इन्डोनेसियद्वारा जैविक इन्धनको प्रयोग गरी सफल उडान परीक्षण

इन्डोनेसियाले जैविक इन्धन (बायोभ्टुर जे २.४) को प्रयोग गरी मध्यम दुरीको जुम्ल्याहा इन्जिन भएको विमानको सफलतापूर्वक उडान परीक्षण गरेको छ।

बायोभ्टुर जे २.४ एक मिश्रित इन्धन हो जुन २.४ प्रतिशत परिष्कृत पाम तेलबाट बनेको हुन्छ ।

उक्त परीक्षण उडानका क्रममा ऊर्जा तथा खनिज स्रोत मन्त्री अरिफिन तस्रिफले आफूहरूले नयाँ इतिहास रच्न लागेको र त्यो समयको पर्खाइमा रहेको समेत बताउनुभएको छ।

उहाँका अनुसार पाम तेलमा आधारित बायोडीजल मिश्रण इन्धन भू-यातायातमा प्रयोग गरिएको छ अब त्यसलाई हवाई यातायातमा पनि प्रयोग गरिनेछ।

उडान परीक्षण १०,००० र १,६००० फिट को उचाइ मा उडान गर्ने विमानसँगै गरिएको थियो। उक्त परीक्षणबाट जेट A1 ईन्धन र J 2.4 को उपयोग गर्ने विमान र यसमा समानता पाइएको छ।

यातायातमन्त्री बुडी कार्यासुमादी यो परीक्षणको सफलता देश भित्रको मात्र नभएर अन्तरराष्ट्रिय रूपमै भएको बताउँनुभएको छ।

पिण्ड सेलाउन नदीमा जाँदा डुबेर बेपत्ता भएका पुरुषको शव फेला

गोरखा-श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

बुधबार दिउँसो करिब ३ः३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले बगाएर उनी बेपत्ता भएका थिए ।

घटनालगत्तै प्रहरी र स्थानीयवासीले खोजी गरेको भए पनि फेला नपरेपछि कुरिनटारस्थित विपद् सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालयबाट गोताखोरको टोली झिकाएर खोजी गर्ने क्रममा आज बिहान शव फेला परेको जनाइएको छ ।

बेपत्ता भएको स्थलदेखि केही तलबाट उहाँको शव फेला परेको प्रहरी नायब उपरीक्षक दाहालको भनाइ छ ।

बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक

काठमाडौँ-बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ ।

सरकार गठनका विषयमा छलफल गर्न बिहीबार दिउँसो १ बजेबाट सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् ।

बैठकमा भागबण्डा अनुसार दलहरुले पाउने मन्त्रालयलाई पनि बैठकले अन्तिम रुप दिने बताइएको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।
यसअघि मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रालय भागबण्डाबारे छलफल भएर मोटामोटी सहमति भएको थियो ।