चारजना पूर्व प्रधानन्यायाधीशलाई अवहेलना मुद्दामा सफाइ

काठमाडौँ – चारजना पूर्व प्रधानन्यायाधीशलाई सर्वोच्च अदालतले अवहेलना मुद्दामा सफाइ दिएको छ।

गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि चार पूर्वप्रधानन्यायाधीशले अदालतमा विचाराधीन मुद्दामा सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएका थिए ।

विचाराधीन मुद्दामा सार्वजनिक रुपमा संयुक्त वक्तव्य दिएको भन्दै उनीहरु बिरुद्ध अवहेलना मुद्दा परेको थियो ।

अधिवक्ता लोचन भट्टराई र धनजित बस्नेतले दायर गरेको छुट्टाछुट्टै निवेदनमाथि सुनुवाइ गर्दै शुक्रबार प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणा र सपना प्रधान मल्लको इजलासले पूर्व प्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई सफाइ दिइको हो।

विघटनविरुद्ध अदालमा मुद्दा विचाराधीन रहेको अवस्थामा पूर्वप्रधानन्यायाधीशहरुले पुस २४ गते संयुक्त रुपमा विघटनलाई सदर नगर्न सर्वोच्च अदालतमा आह्वान गरेका थिए।

उनीहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको ठहर गर्दै त्यसलाई बदर गर्न माग गरेका थिए। उनीहरुले त्यस्तो विज्ञप्ति जारी गरेपछि अधिवक्ताहरु भट्टराई र बस्नेतले अवहेलना मुद्दा दायर गरेका हुन्।

जवाफ दिँदै चारै जना पूर्वप्रधानन्यायाधीशहरुले विघटनविरुद्ध धारणा सार्वजनिक गर्दा अवहेलना मुद्दा लगाउनु अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने प्रयास भएको बताएका थिए।

उनीहरुले पूर्वप्रधानन्यायाधीशले सार्वजनिक चासो र महत्वका विषयमा बोल्न नहुने भन्ने मान्यता कहीँकतै स्थापित नभएको जिकिर गरेका थिए।

‘नेपालको संविधानले प्रत्याभूत गरेको विचार र अभिव्यक्तिको स्वतन्त्रता लगायतका मौलिक हकहरुको प्रयोग, प्रचलन र संरक्षणमा अन्य नागरिक झै पूर्वन्यायकर्मीको पनि सरोकार रहने कुरा प्रष्ट छ,’ लिखित जवाफमा भनिएको छ।

मोदीद्वारा राष्ट्रपति कोविन्दको ७६ औं जन्मोत्सवको शुभकामना

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गर्नुभएको छ।

शुक्रबार राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्री मोदीले शुभकामना व्यक्त गर्दै राष्ट्रपति कोविन्द गरीब र सीमान्तकृत वर्गको उत्थान र तिनीहरूको सामाजिक मूल प्रवाहीकरणकोका निम्ति उदारहणीय नेता रहनुभएको बताउँनुभएको छ।

प्रधानमन्त्री मोदीले ट्वीटमा लेख्नुभएको छ, ‘राष्ट्रपति कोविन्दको शालीन र भद्र व्यक्तित्वका कारण उहाँ सिङ्गो देशको निम्ति समर्पित हुनहुन्छ।’

राष्ट्रपति कोविन्दले २५ जुलाई २०१७ मा भारतको १४ औं राष्ट्रपतिका रूपमा शपथ ग्रहण लिनु भएको थियो।

‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ मा स्नातकोत्तर

त्रिभुवन विश्वविद्यालयले ‘सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन’ विषयमा स्नातकोत्तर तह सञ्चालनमा ल्याएको छ ।

मानविकी तथा सामाजिक विज्ञान सङ्कायअन्तर्गत उक्त विषयमा भ्रष्टाचारको सिद्धान्त, राजनीति र भ्रष्टाचार, सुशासनका चुनैती, तथ्याङ्क विधि, विकास र भ्रष्टाचार, भ्रष्टाचारविहीन कानुन र संयन्त्र, नैतिकता र भ्रष्टाचार, भ्रष्टाचारको सामाजिक तथा सांस्कृतिक पक्षलगायत पठनपाठन हुनेछ ।

दुई वर्षको समयअवधि तथा चार सेमिष्टर रहने उक्त अध्ययनमा अन्तर्राष्ट्रिय सम्बन्ध र आर्थिक कूटनीतिसमेत पाठ्यक्रममा छ ।

यहाँ आज आयोजित कार्यक्रममा डिन प्राडा कुसुम शाक्यले मुलुकको विकास तथा समृद्धिमा भ्रष्टाचार बाधक तत्वका रुपमा रहेको बताउँदै यसको न्यूनीकरणका लागि यो क्षेत्रको अति आवश्यक रहेको बताउनुभयो ।

सहायक डिन प्रा ताराप्रसाद अर्यालले यसको अध्ययनबाट भ्रष्टाचर निवारणका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक डा योगेश रञ्जितले सुशासन अभिवृद्धि गरी आर्थिक पारदर्शी कायम गर्न सकिने त्यसले भ्रष्टाचर अन्त्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।

साहित्यकार एवं अभियन्ता भरत जङ्गमले यस किसिमको अध्ययन शुरुआत भएकामा खुसी व्यक्त गर्दै आफू विगत पाँच दशकदेखि भ्रष्टाचर निवारणका क्षेत्रमा क्रियाशील रहेको बताउनुभयो ।

एन्टी क्रप्सन ऐकेडेमीका अध्यक्ष अनुप जङ्गमले आफ्नो संस्थाले प्रत्येक सेमिष्टरमा पहिलो हुने विद्यार्थीलाई रु ३६ हजार, दोस्रो र तेस्रोलाई १८-१८ हजार छात्रवृत्ति प्रदान गर्ने जानकारी गराउनुभयो ।

जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते

आज दिउँसो डबल क्याप जिपले ठक्कर दिँदा पाँच छात्रा सख्त घाइते भएका छन् ।

सल्यान रुकुम सडक खण्डअन्तर्गत बरलामा सडक छेउमा बसिरहेका पाँचै जनालाई लु२च ५७०१ नंको जिपले ठक्कर दिँदा शारदा नगरपालिका–६ बरला बस्ने मीना परियार, सोही ठाउँका रेखा बुढाथोकी, सुशिला नेपाली, दीपा बुढाथोकी र सुनिता नेपाली भएकोे जिल्ला इलाका प्रहरी कार्यालय शीतलपाटीले जनाएको छ ।

शिवजन माविमा कक्षा १२ मा अध्ययनरत ती छात्रा सडकको छेउमा बसिरहेका बेला तीव्र गतिमा आएको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ ।

घाइतेहरुको छाती तथा मुखमा चोट लागेको र अवस्था जटिल भएकाले उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

जिपमा सवार चारजना भने सकुशल थिए । जिप सडकभन्दा १० मिटर तल खसेको थियो ।

दुर्घटनापछि जिप चालक शारदा नगरपालिका–४ निवासी टङ्कबहादुर वली फरार रहेकाले उनको खोजी भइरहेको प्रहरी नायब निरीक्षक लीलाराम चन्दले जानकारी दिनुभयो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर पुसमा एकीकृत कारोबार गर्ने गरी बढ्यो

काठमाडौँ-बिचमा आएर भाडिएको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर अन्तत हुने भएको छ ।

यसअघि असोज मसान्तभित्र एकीकृत कारोबार गर्ने गरि सहमति भएपनि विविध कारण मर्जर प्रक्रिया भाडिएको थियो ।

तर, अब भने आवश्यक सबै प्रक्रिया पुरा गरेर अन्तिम चरणमा रहेकाले आगामी पुसको अन्तिमसम्मका एकीकृत कारोबार गर्ने गरी अघि बढेको इन्भेष्टमेन्ट बैंकले जनाएको छ ।

यसअघि गत वैशाख ३० गते हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंकको नामकरण गर्नेगरी दुई बैंकको बीचमा मर्जर सहमति भएको थियो ।

दुईवटै बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा बुझाइसकेका छन् ।

नेपाल राष्ट्र बैंकले वित्तीय विवरणलाई स्वीकृति दिएपछि दुबै बैंकले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने छन् ।

दुवै बैंकले लाभांश स्वीकृतिका लागि हुने वार्षिक साधारणसभामा नै मर्जरमा जाने प्रस्ताव पारित गर्ने तयारी गरेका छन् ।

दुई बैंक मर्ज भएपछि चुक्ता पूँजी सबैभन्दा ठूलो हुने । नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक १ : १ अनुपातमा मर्जर हुन लागेका छन् ।

जसअनुसार मर्जरपछि बन्ने हिमालयन इन्भेष्टमेन्ट बैंकको चुक्ता पूँजी करिब २७ अर्ब हुन्छ ।

जसमा दुई बैंकले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर दिने हुँदा एकीकृत कारोबार हुँदा चुक्ता पूँजी ३० अर्बभन्दा बढी हुन्छ ।

साहस उर्जा आईपीओको प्रि अलटमेन्ट सम्पन्न ६ लाख ४४ हजारले पाउने भए १० कित्ता

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर (आईपीओ) प्रि अलटमेन्ट आज शुक्रबार सम्पन्न भएको छ ।

प्रि अलटमेन्ट अनुसार २४ लाख ६२ हजारले ३ करोड ४३ लाख कित्तामाग गर्दै दिएको आवेदनबाट ६ लाख ४४ हजारले १० कित्ता शेयर पाउने भएका छन् ।

कम्पनीले आईपिओ बाँडफाँड आइतबार गर्ने भएको छ ।

कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपिओ बाँडफाँड असोज १७ गते आईतबार बिक्रि प्रबन्धकको कार्यालय लाजिम्पाट काठमांडौमा बिहान ९ बजे हुनेछ ।

कम्पनीले असोज ६ गतेदेखि असोज १० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्य दरका ७० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो ।

जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा कम्पनीको आईपीओमा २४ लाख ६२ हजार भन्दा बढी आवेदकहरूले ३ करोड ४३ लाख कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणहरूका लागि माग गरिएको भन्दा ५.६२ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिनेछ ।

कुमार पौडेल इन्काउन्टर प्रकरण : वादल र सर्बेन्द्र बिरुद्धको जाहेरी दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं-नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कुमार पौडेलको इन्काउन्टर प्रकरणमा परिवारले दिएको जाहेरी दर्खास्त दर्ता गर्न अदालतले आदेश दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरि फुयाँलको इजलासले पौडेलकी आमा दुर्गादेवीले जिल्ला प्रहरी कार्यालय, सर्लाहीमा दिएको जाहेरी दर्ता गर्न आदेश दिएको हो ।

जाहेरीमा पूर्वगृहमन्त्री थापा र पूर्वमहानिरीक्षक खनालमाथि पनि अनुसन्धान गर्न पनि माग गरिएको थियो ।

अदालतको आदेशसँगै पुर्व गृहमन्त्री राम बहादुर थापा वादल तथा पुर्व आईजिपी सर्बेन्द्र खनाल माथी समेत छानविन सुरु हुनेछ ।

घटना लगतै कुमारकी आमा दुर्गादेवी पौडेलले आफ्ना छोरालाई गैरकानूनी रुपमा हत्या गरिएको भन्दै प्रहरीमार्फत जाहेरी दर्ता प्रक्रिया अघि बढाउन खोजेकी थिइन् ।

हुलाकमार्फत जाहेरीपत्र पाएको सर्लाहीको जिल्ला प्रहरी कार्यालयले विश्वसनियता यकिन गर्न नसकेको भन्दै प्रक्रिया अघि बढाएको थिएन ।

सरकारी वकिलको कार्यालयमा समेत उनले निवेदन दिएकी थिइन् ।

तर सरकारी वकिल कार्यालयले पनि जवाफ नदिएपछि उनी अदालतको शरणमा पुगेकी थिइन् ।

‘यो आदेशको सूचना प्राप्त भएको मितिले सात दिनभित्र आफूसमक्ष प्राप्त भएको निवेदिकाको जाहेरी दर्खास्त जिल्ला सरकारी वकिल कार्यालय, सर्लाहीका जिल्ला न्यायाधिवक्ताको रोहवरमा–निवेदिकाबाट सनाखत गराउने उपयुक्त व्यवस्था मिलाई निवेदिका दुर्गादेवी पौडेललाई भरपाई उपलब्ध गराई यथाशिघ्र यस अदालतलाई जानकारी गराउनू’ आदेशमा भनिएको छ ।

पौडेलले दिएको जाहेरीमा १० सरकारी अधिकारीमाथि अनुसन्धान गर्न भनिएको छ ।

जाहेरीमा कुमारको हत्या भएको दाबी गर्दै राम बहादुर थापा वादल, पुर्व आईजिपी सर्बेन्द्र खनाल, सर्लाहीका तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) गोपाल भट्टराई, प्रदेश नं. २ प्रदेश प्रहरी प्रमुख तत्कालिन डिआईजी हरिबहादुर पाल, ईलाका प्रहरी कार्यालय, लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने, सई सुर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीमा मलगंवामा कार्यरत डा. बीरेन्द्रकुमार मण्डल, प्रहरी प्रधान कार्यालय नक्सालबाट खटिएका प्रहरी हवल्दार सत्य नारायण मिश्र, विनोद शाह, गोली प्रहार गर्ने प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह.र बाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध अनुसन्धान गर्न भनिएको छ ।

विशेष ब्यूरोबाट खटिएको टोलीको गोलीबाट ५ असाज २०७५ मा विप्लव माओवादीका नेता पौडेल मारिएका थिए । प्रहरीले त्यसवेला उनी दोहोरो भिडन्तमा मारिएको दाबी गरेको थियो ।

तर राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानविनबाट उनलाई नियन्त्रणमा लिएर गोली हानेको देखिएको थियो ।

त्यसपछि आयोगले यसमा संलग्न प्रहरी निरीक्षक कृष्णदेव शाह, हवल्दारद्वय विनोद शाह र सत्यनारायण मिश्रलाई तत्काल निलम्बन गरेर फौजदारी अभियोगमा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

साफ च्याम्पियनसिपको खेल आजदेखि

दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ भने दोस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयानुसार राति ९ः४५ बजे सुरुआत हुनेछ । साफ च्याम्पियनसिपमा विभिन्न पाँच राष्ट्रको सहभागिता रहेको छ ।

जसमा आयोजक माल्दिभ्ससहित नेपाल, भारत, बङ्गलादेश र श्रीलङ्का छन् । भुटान कोभिड–१९ का कारणले प्रतियोगितामा सहभागी भएको छैन भने पाकिस्तानले आन्तरिक विवादका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन ।

पाँच टोलीले एकापसमा खेलेपछि शीर्ष दुई टोलीले यही असोज ३० उपाधिका लागि भिड्नेछन् । नेपाली टिम पहिलोपटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स पुगेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्रमुख लक्ष्य साफ च्याम्पियनसिप जित्ने बताउनुभएको छ ।

नेपाली टोलीको गोलकिपरमा किरणकुमार लिम्बू (कप्तान), दीप कार्की र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा दिनेश राजवंशी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल र रोहित चन्द छन् ।

त्यसैगरी मिडफिल्डरमा विशाल राई, सुनिल बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान र कमल थापा छन् भने फरवार्डमा नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा र आसिस लामा छन् ।

खसीबोकाको मूल्य निर्धारण

ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष दाङमा गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको छ ।

बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो ।

बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रु ५६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० निर्धारण गरेको छ ।

त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी रु ५४५ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ ।

गत वर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको रु ५५० र त्योभन्दा माथिकोलाई प्रतिकेजी रु ५३५का दरले खरिद मूल्य निर्धारण गरिएको थियो ।

त्यसैगरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी रु ५५० का दरले कम्पनीले खरिद गरेको थियो । कम्पनीले गत वर्ष दशैँमा ८०१ वटा खसीबोका काठमाडौँ पठाएको थियो ।

यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६०० वटा खसीबोका पठाउन लिखितरुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिनुभयो ।

दशैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोेका खरिद गरि काठमाडौँ पठाइने छ । पहिलो चरणमा ६०० दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उहाँको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौँ पुग्ने गरी पठाउने तयारी भएको छ ।

लिमिटेडले दशैँ, तिहार र छठपर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ ।

योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।

ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाए: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ठूला राजनीतिक दलले राजनीतिलाई व्यापार बनाएको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो“ व्यवस्था परिवर्तन भए पनि ठूला दलको प्रवृत्ति सुध्रिएन । प्रवृत्ति नसुध्रिएका कारण राष्ट्रियता र गणतन्त्र धरापमा परेको छ । ”

प्रगतिशील पत्रकार सङ्घ बागलुङलद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो, “दलका रिसले राजतन्त्र मागिरहेका छन्, हामीले सङ्घर्ष गरी ल्याएका गणतन्त्रमा कसरी धावा बोलिँदैछ ।” दलहरु सत्ता बाहिर रहँदा राष्ट्रियता र गणतन्त्रको पहरेदार बन्ने र सत्तामा पुगेपछि आफू र आफ्नामा केन्द्रित हुँदा अहिलेको अबस्था आएको उहाँले बताउनुभयो ।

अध्यक्ष केसी भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसारनै अहिलेको सरकार बनेको हो । सरकारले ल्याएको अध्यादेश बाध्यताको उपज हो ।” अहिलेका पाँच दलीय गठबन्धन परिस्थितिको उपज भएको जनाउँदै उहाँले गठबन्धन टिक्ने वा टुक्रिने परिस्थितिले नै निर्धारण गर्ने बताउनुभयो ।

हिमालय एअरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री

हिमालय एअरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री

काठमाडौँ-हिमालय एअरलाइन्सले प्रयास नेपाललाई शैशिक सामाग्री प्रदान गरेको छ ।

प्रयास नेपालसँगको सम्बन्धलाई थप सुदृढीकरण गर्दै शिक्षातर्फको सहयोगी प्रयासलाई अघि बढाउँन एयरलाइन्सले वर्षभरि आवश्यक पर्ने शैक्षिक सामग्री प्रदान गरेको छ।

हिमालयले निरन्तर पाँचौँ वर्षका लागि ती सामग्री प्रदान गरेको हो।

आजै सम्पन्न संक्षिप्त अन्तर्क्रियात्मक कार्यक्रमका बीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेसनरी, नोट–बुक्स्, रजिस्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक पाठ्यपुस्तक प्रदान गरेका हुन्।

एअरलाइन्सले कोभिड–१९ विरुद्ध आवश्यक जनचेतना अभिवृद्धि गर्न र त्यस रोगविरुद्ध सुरक्षा मापदण्ड अपनाउन आवश्यक पर्ने विविध शिक्षामूलक पोस्टरहरुसमेत प्रदर्शनार्थ प्रदान गरेको छ।

प्रयास नेपाल, ३ जना फरक क्षमता भएका विद्यार्थीका साथ २६ जना बालबालिकाहरु रहेको एक अनाथालय हो।

विगत केही वर्षदेखि ती विद्यार्थीले शैक्षिक गतिविधिका साथ नृत्य, खेलकुदलगायतका क्षेत्रमा समेत उत्कृष्टता हासिल गर्दै आएका छन्।

भ्रमणका क्रममा हिमालयका पदाधिकारीहरुले विद्यार्थीसँग अन्तर्क्रिया गर्दै उनीहरुलाई कोभिड–१९ विरुद्ध लड्ने र बच्ने उपायहरुबारे प्रशिक्षणसमेत दिएका थिए।

वार्षिक प्रतिबद्धत्ताको निरन्तरता कायम रहने व्यहोरा दोहोर्याउँदै हिमालय एअरलाइन्सका ब्रान्ड तथा सेवा सुधार विभागकी प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीको उज्ज्वल भविष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्नका लागि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्फ हिमालय सदा दृढ रहने बताइन् ।

प्रत्येक विद्यार्थीलाई शिक्षामा पहुँच, समता र सामाजिक सद्भाव कायम राख्दै तिनमा रहेको प्रचुर सम्भाव्यतालाई उजागर गर्दै तिनको सपना र संकल्प साकार पार्नु नै यस्ता कार्यक्रमको प्रमुख उद्देश्य रहेको समेत उनले बताइन्।

कोभिड महामारी जोखिमको अवस्थामा सुधार आएसँगै सरकारले विद्यालयहरु पुनः खोल्ने भएकोले विद्यार्थीहरु भौतिक रुपमै विद्यालयमा उपस्थित भई पठनपाठनमा सहभागी हुन उत्साहित छन्।

नेपालीको महान चाड दसैँको पूर्वसन्ध्यामा हिमालय एअरलाइन्सले प्रयास नेपालका बालबालिकाको मुहारमा खुसियाली ल्याउन उपरोक्त कार्यक्रम गरेको हो।

प्रयास नेपालकी अध्यक्ष मणी जोशीले हिमालय एअरलाइन्स आफ्नो संस्थाको पारिवारिक सदस्यझैँ भएको उल्लेखग गर्दै हिमालयले सन् २०१७ देखि पुर्याउँदै आएको निरन्तर सहयोगप्रति आफू सदा कृतज्ञ रहेको बताइन्।

‘हाम्रा विद्यार्थीका शैक्षिक आवश्यकता परिपूर्ति गर्न उहाँहरुले पुर्याउनु भएको निरन्तर योगदानले हाम्रा विद्यार्थीलाई सदैव अभिप्रेरित गर्दै आउनुभएको छ’, उनले भनिन्।

हिमालय एअरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ-मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै पार्टीको नीति र विधि तय गर्न नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आजदेखि सुरु हुँदैछ ।

पार्टीबाट बाहिरिएर हालै नेता माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेका बेला देशभरका प्रतिनिमूलक कार्यकर्ता बोलाएर प्रमुख प्रतिपक्षी दल एमालेले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइन सम्मेलन केन्द्रमा विधान महाधिवेशन गर्न लागेको हो ।

आगामी मङ्सिरको दोस्रो साता पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन तय गरेको एमालेको विधान महाधिवेशन राजनीतिक क्षेत्रमै पहिलो हो ।

एमालेको विसं २०७१ असारमा नवौँ महाधिवेशन भएको थियो । राष्ट्रिय राजनीति र पार्टी जीवनमा देखापरेका यावत् समस्याबारे विधान महाधिवेशनमा व्यापक छलफल हुनेछ ।

महाधिवेशनको उद्घाटन आज अपराह्न १२ः१५ बजे पार्टीका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भव्य समारोहबीच पानसमा बत्ती बालेर गर्ने कार्यक्रम छ ।

उद्घाटनसत्रपछि महाधिवेशनको बन्दसत्रमा केन्द्रीय कमिटीका तर्फबाट अध्यक्ष ओलीबाट राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलबाट सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव एवं सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलबाट विधान संशोधन प्रस्ताव प्रस्तुत गरिनेछ ।

महाधिवेशनको दोस्रो दिन यही असोज १६ गते समूहगत छलफल र समूह नेताबाट सुझावको प्रस्तुति गरिनेछ ।

तेस्रो दिन असोज १७ गते दस्तावेज प्रस्तोताबाट समूह छलफलबाट आएका सुझाव एवं उठेका विषयलाई स्पष्ट पार्दै सारसंक्षेपीकरण गरिनेछ ।

महाधिवेशनको नारा ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई परास्त गरौँ, जबजको मार्गदशर्नमा समाजवादको आधार निर्माण गरौँ’ भन्ने रहेको छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा संयोजक, शेरबहादुर तामाङ सचिव तथा केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशीला नेपाल र पासाङ शेर्पा सदस्य रहेको मूल व्यवस्थापन समिति गठन गरिएको थियो ।

विधान महाधिवेशनमा सो पार्टीको केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका सङ्घ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसङ्गठन र पेशागत सङ्गठनबाट चुनिनुभएका प्रतिनिधि, भारतलगायत प्रवासका सङ्घ सङ्गठनबाट चुनिएका प्रतिनिधि तथा पार्टी केन्द्रबाट विधानबमोजिम मनोनित सदस्य प्रतिनिधि रहनेछन् ।

यसरी विभिन्न क्षेत्रबाट चुनिएर आएका छ हजारभन्दा बढी प्रतिनिधिको सहभागितामा भव्य र सभ्यरुपमा महाधिवेशन सम्पन्न गर्ने तयारी भएको मूल व्यवस्थापन समितिको प्रचारप्रसार उपसमितिका संयोजक खिमलाल भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधि चयनमा महिला, जनजाति, दलित र अन्य समुदायको उचित प्रतिनिधित्व गराउँदै समावेशी सहभागितामा यथेष्ट ध्यान दिइएको एमालेले जनाएको छ । सम्मेलनस्थलको हलमा प्रतिनिधि र अन्य आवश्यक सिट प्लानिङ व्यवस्थित गरिएको छ ।

मूल सभाहलमा तीन हजार प्रतिनिधि, हलको दायाँ बायाँका खाली हलमा एक/एक हजार प्रतिनिधिका लागि बस्ने प्रबन्ध गरिएको छ । यसरी नै हलको दायाँ बायाँका प्यासेजको माथिल्लो खाली भागमा टेन्ट टाँगेर थप आवश्यक पर्न सक्ने एक/एक हजार क्षमताका हल निर्माण गरिएको छ ।

सम्पूणर्रूपमा सात हजार क्षमताका हल तयार गरिएको छ । समूह छलफलका लागि पनि व्यवस्थित स्थान तय गरिएको एमालेले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, स्वयंसेवक, सुरक्षाकर्मी, गाडीका चालक सबैका लागि बिहानको खाना र दिउँसोको खाजा महाधिवेशनस्थलमै व्यवस्थापन गरिएको छ ।

महाधिवेशन अवधिभर हरेक दिन बिहान ९ः०० देखि ११ः०० बजेसम्म खानाको समय छुट्याइएको छ । सो समयसीमाभित्र सबै प्रतिनिधिले खाना खाएर हलभित्र प्रवेश गरिसक्नुपर्नेछ । दिउँसोका लागि खाजाको प्याकेट प्रबन्ध गरिएको छ । साँझको खाना बसेकै स्थान वा आफ्नै व्यवस्थापनमा खाने व्यवस्था मिलाइएको छ ।

प्रतिनिधिका लागि आवासको प्रबन्ध काठमाडौँमा रहेका प्रदेश तथा जिल्ला सम्पर्क मञ्चको सहयोगमा सम्बन्धित भूगोलका प्रदेश कमिटीले नै गर्ने गरी व्यवस्थापन गरिएको जनाइएको छ । निजी साधन नभएका प्रतिनिधिका लागि ललितपुरस्थित सातदोबाटोमा झण्डासहित बसको व्यवस्था गरिनेछ । ट्राफिक तथा पार्किङको पनि यथासम्भव व्यवस्थापन गरिएको छ ।

महाधिवेशन सम्पन्न गर्न पार्टीनिकट अनेरास्ववियु, युवासङ्घ नेपाल, जिफन्ट र खेलकुद महासङ्घबाट २०० को सङ्ख्यामा स्वयंसेवकको व्यवस्था गरिएको छ ।

कोरोना महामारीकै अवस्था भएकाले त्यसप्रति संवेदनशील हुँदै मास्क, स्यानिटाइजरको प्रयोग र थर्मलगनबाट शरीरको तापमान लिने व्यवस्था मिलाइएको छ ।

महाधिवेशनको प्रचारका लागि वाल पेन्टिड, वाल पोष्टरिडलाई पूणर्तः बन्द गरिएको छ । प्रचारप्रसारको निम्ति मुलतः मिडियाको सहयोग लिइएको छ ।

यसका साथै काठमाडौँ महानगरपालिकाअन्तर्गत सडकका पोलमा रहेका बोर्डमा पोष्टर राखिएको छ । काठमाडौँको दरबारमार्ग, तीनकुने, चावहिल, चुच्चेपाटी, हात्तीसार कमलादी, थापाथलीलगायतका स्थानमा डिजिटल बोर्डका माध्यमबाट प्रचार प्रसारको प्रबन्ध गरिएको जनाइएको छ ।

म्याद गुज्रेका सामान बेच्ने छ व्यापारीमाथि कारबाही

म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको छ ।

चाडपर्व नजिकिएसँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको, अनुज्ञापत्र नलिई सञ्चालन भएको पाइएपछि सप्तरीका पाँच र सिरहाका एक व्यापारीमाथि कारबाही गरिएको हो ।

अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रेका सामान बरामद गरिएको र मूल्यसूचीसमेत नराखिएको पाइएपछि सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित अमेश्वर किराना पसल, दीपा किराना पसल र आशाराम पाउरोटी उद्योगमाथि कारबाहीस्वरुप रु १०-१० हजार जरिवाना गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

अमेश्वर किराना पसलबाट म्याद गुज्रेको आटा २० किलो, परमात्मा तेल पाँच लिटर र सोयाविन १८ प्याकेट, दीपा किराना पसलबाट वियर ११ बोतल, रेडबुल १८ क्यान तथा आशाराम पाउरोटी उद्योगबाट लेबल नभएको १५० प्याकेट वनकुकिज पाउरोटी जफत गरी नष्ट गरेको प्रमुख सिंहले बताउनुभयो ।

त्यस्तै सप्तकोशी–१ स्थित श्रीकृष्ण होटलबाट छ बोतल र गुप्ता किराना पसलबाट सात बोतल म्याद गुज्रेको वियर नियन्त्रणमा लिई नष्ट पारेको जनाइएको छ ।

सप्तरीको खडक नगरपालिका–७ स्थित कल्याणपुर बजारका अनिल ट्रेडर्स एण्ड खरिद बिक्री पसललाई रु पाँच हजार तथा शिव किराना ट्रेडर्सलाई रु २० हजार जरिवानासमेत गरिएको छ ।

अनिल ट्रेडर्सबाट म्याद गुज्रेका खानेतेल, मसाला, ग्लुकोज, पानमसाला लगायतका सामग्री बरामद गरिएको थियो । यस्तै शिव किराना पसलबाट म्याद गुज्रेका वियर, चिसो पेयपदार्थ, मसाला, ग्लुकोज, भुजियालगायतका सामग्री बरामद गरिएको प्रमुख सिंहले बताउनुभयो ।

अनुगमनका क्रममा बजारका अन्य पसलबाट पनि विभिन्न प्रकारका अखाद्य र म्याद गुज्रेका वस्तु जफत गरी तत्कालै नष्ट गरिएको संयुक्त अनुगमन टोलीका नेतृत्वकर्ता सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा निर्मल जल उद्योगद्वारा उत्पादित बिनालेवलका २१ थान पानीका जारसमेत नियन्त्रणमा लिई नष्ट गरिएको छ । त्यस्तै सिरहाको लहानस्थित राकेश कोल्ड स्टोरमाथि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा उक्त कोल्डस्टोरबाट वियर, पेय पदार्थ तथा लेबल नभएका पानीका जार फेला परेपछि कारबाही गरिएको प्रमुख सिंहको भनाइ छ ।

लहानस्थित सुरज खाजाघर, अन्सु कोल्ड स्टोरबाट म्याद गुज्रेका खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरेको प्रमुख सिंहले जानकारी दिनुभयो ।

अनुगमनकै क्रममा अटोरिक्सामा लगिरहेको अवस्थामा लेबल नभएका १८ थान जार पानीसमेत नियन्त्रणमा लिई नष्ट गरेको जनाइएको छ ।

पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट बच्न अपनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था साबुनपानी, स्यानिटाइजर, ग्लोब्सलगायतमा अनुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताउनुभयो ।

अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अविलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्याद गुज्रिएका खाद्यवस्तुलाई नष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चेतावनी दिएको घरेलु तथा साना उद्योग कार्यालय सिरहाका प्रमुख दीपेन्द्रकुमार यादवले जानकारी दिनुभयो । अर्कोपटक अनुगमन गर्दा यस्तो नगरेको पाइएमा थप कडा कारबाही गरिने उहाँको भनाइ थियो ।

यसैबीच चाडपर्वलाई लक्षित गरी सिरहा र सप्तरीका होटलको वर्गीकरण गरेर स्टिकर टाँस्नसमेत सुरु गरिएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले होटलको अनुगमन गरी सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिकास्थित सात होटलमा स्तर निर्धारण गरेर स्टिकर टाँस गरेको हो ।

महुलीस्थित पुरानो चौधरी होटल र मनकामना खाजा तथा पेडा भण्डारमा (ग) वर्ग तथा अन्य पाँचवटा होटलमा सामान्य (घ) वर्गको स्टिकर टाँसिएको प्रमुख सिंहले जानकारी दिनुभयो ।

सप्तरीपछि सिरहाका विभिन्न स्थानमा रहेका होटलमा समेत स्टिकर टाँस गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
–––