नेपाल बार एशोसिएसनद्वारा प्रधानन्यायाधीश जबराको राजिनामा माग

काठमाडौं-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजिनामा माग गरेको छ ।

बार एशोसिएसनले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको हो ।

बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेको बताएका छन् ।

उनले भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि बारको औपचारिक निर्णय सार्वजनिक हुने बताएका छन् ।

अध्यक्ष श्रेष्ठले ‘निकास दिने’ शब्दावलीको अर्थ मंगलबार मात्रै स्पष्ट हुनेगरी सार्वजनिक हुने बताएका छन् ।

उनले भने, ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं’ ‘न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि । त्यसैले निकास दिनुपर्छ भनेका हौं । यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ? भन्नै पर्दैन । स्पष्ट छ ।

उनले बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने बताए ।

त्यसपछि निर्णय सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । मंगलबारकै छलफलमा कसरी अघि बढ्ने भन्नेबारे पनि तय हुने उनले बताए ।

स्थानीय तहका पदाधिकारीको कार्यकाल जेठ ५ गते सकिँदै

काठमाडौँ- स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँने बताउदै निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।

स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ ।

२०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा कार्यकाल जेठ ५ गते सकिने देखिएको आयोगको भनाइ छ .

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्नुपर्ने संविधानमा लेखिएपनि निर्वाचनसम्बन्धी कानुनमा म्याद सकिनुभन्दा दुई महिनाअघि चुनाव गर्नुपर्ने भन्ने भएकाले जेठ ५ अघि नै चुनाव गर्नुपर्ने देखिएकाले सोहीअनुसार सिफारिस भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

यसबारे सरकारले उपयुक्त निर्णय गर्ने आश्वासन देउवाले आयोगलाई दिएका छन् ।

यसैबीच स्थानीय तहका रिक्त जनप्रतिनिधिहरुको पदपूर्ति गर्न अब स्थानीय तहको उपनिर्वाचन गर्नु नपर्ने भएको छ ।

स्थानीय तहको कार्यकाल धेरै बाँकी नरहेकाले अब उपनिर्वाचन गर्न नपर्ने आयोगले बताएको हो ।

तर प्रदेश र प्रतिनिधिसभाका रिक्त सांसदको विषयमा उपनिर्वाचन गर्न के गर्ने भन्ने विषयमा भने आयोगले सरकारको धारणा मागेको छ ।

जवाफमा प्रधानमन्त्री देउवाले दलहरूसँग छलफल गरेर यसबारे निर्णय लिइने बताएका छन् ।

यस्तै आयोगले राष्ट्रियसभाको फागुनदेखि रिक्त हुने २० पदमा आगामी माघको पहिलो साता निर्वाचन गर्न प्रस्ताव गरेको छ ।

न्यायलयमा लफडा अनि पेशी बहिष्कार

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा न्यायाधीशहरुको घेराबन्दीमा परेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नै बहिष्कार गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरु इजालासमा नगई सामूहिक छलफलमा जुटेका छन् ।

विवादास्पद बनेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नियमित जस्तै पेशी तोकी आफू बाहेकका न्यायाधीशको इजलास तोकेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको पेशी बहिष्कार गर्दै न्यायाधीशहरु ईजलासमा नगएर सामूहिक छलफलमा जुटेका हुन् ।

प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा नजाने निर्णय गरेको न्यायाधीशहरुले इजलासमा बस्ने नबस्ने बारे बैठकमा छलफल गरिरहेका छन् ।

सोमबार प्रधानन्यायाधीशसहित १३ जना न्यायाधीश सर्वोच्चमा उपस्थित छन् ।

न्यायाधीशहरु इजलासमा नगई बैठकमा बसेपछि वकालतका लागि पुगेका वकिलहरु भने पर्खिरहेका छन् । सोमबार घर बिदामा रहेका कारण न्यायाधीश कुमार चुडाल अदालत उपस्थित छैनन् ।

यस्तै सपना प्रधान मल्ल र अनिलकुमार सिन्हा खप्तड घुमघाममा छन् । न्यायाधीश ईश्वर खतिवडा अमेरिका, तेजबहादुर केसी घर बिदामा र नहकुल सुवेदी बिरामी भएका कारण अदालतमा उपस्थित छैनन् ।

प्रधानमन्त्री देउवाद्वारा मन्त्रिपरिषद बैठक आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

आज सोमबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बोलाइएको हो ।

सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ ।

सरकार सञ्चालनका सन्दर्भमा हुने नियमित काम कारबाहीबारे पनि छलफलको एजेण्डा रहेको उनको भनाइ छ ।

राष्ट्रिय परिचयपत्रका लागि १८ हजार विवरण सङ्कलन

काठमाडौँ भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् ।

जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा १८ हजारले व्यक्तिगत विवरणसहितको फाराम भरेका हुन ।

यसैबीच सूर्यविनायक नगरपालिका–६ देखि १० सम्म सोमबरदेखि अभियान सुरु हुने भएको छ । अभियान अन्तर्गत प्रत्येक वडामा ३ वा ४ केन्द्र रहनेछन् ।

एक केन्द्रमा एक कम्युटर अपरेटर, दुई छानवीन गर्ने अधिकारी र एक जना सहयोगी रहने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

उहाँले छिट्टै भक्तपुर र मध्यपुरथिमि नगरपालिकामा पनि छिट्टै अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

“भक्तपुर नगरपालिकामा एक दुई दिनभित्रै रुजु अधिकारीलाई अभिमुखीकरण गरेर कार्यस्थल खटाइ अभियान सुरु गर्ने तयारी भइरहेको छ । त्यसपछि मध्यपुर थिमिमा अभियान सुरु गर्छौं,” उहाँले भन्नुभयो ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिका व्यक्तिगत र जैविक विवरण प्रविष्ट हुने भएकाले यो बहुउपयोगी भएको र भविष्यमा अनिर्वाय जस्तै हुने भएकाले सबै नागरिकले विवरण भरेर बुझाउन प्रजिअ शर्माले आह्वान गर्नुभयो ।

सूर्यविनायक नगरपालिकामा आइतबार आयोजित रुजु अधिकारीलाई अभिमुखीकरण कार्यक्रममा प्रजिअ शर्माले भन्नुभयो,“राष्ट्रिय परिचयपत्रले भविष्यमा राहदानी, नागरिकतालगायतको कार्य गर्ने भएकाले यसको महत्व धेरै रहेको छ र यो बहुउपयोगी रहेको छ ।

त्यसैले सबै नागरिकले अनिवार्य विवरण बुझाउनुपर्छ ।” अभिमुखीकरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारले राष्ट्रिय परिचयपत्रका विविध पक्षका बारेमा जानकारीसहितको प्रस्तुतिकरण दिँदै विवरण बुझाउँदा गलत विवरण बुझाउन नहुनेमा जोड दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले विवरण सङ्कलन कार्यमा नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, “नागरिकको व्यक्तिगत विवरणलाई व्यवस्थित गर्ने राष्ट्रिय परिचयपत्र अभियानलाई सफल बनाउन स्थानीय तहले आवश्यक सहयोग गर्नेछ ।”

उहाँले हाल विवरण सङ्कलन अभियान जारी रहेको वडामा कर्मचारीको व्यवहारलगायतका गुनासो आएकाले त्यसलाई समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका–२ का वडाध्यक्ष कमलनाथ आचार्यले विवरण सङ्कलनमा खटिएका कर्मचारीको व्यवहार जनमैत्री नभएको गुनासो गर्नुभएको थियो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी स्वदेश फिर्ता

काठमाडाैँ-बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल फर्किएका छन् ।

लन्डनस्थित हिथ्रो विमानस्थलबाट हिजाे अपरान्ह ५ः४० को टर्किस एअर्लाइन्सबाट रेग्मी नेपाल फर्किएका हुन् ।

लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै आज सोमबार स्थानीय समयअनुसार ११ः३० मा काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अबतरण गर्ने छन् ।

राजदूतलाई बिदाइ गर्न दूतावास नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल, सैनिक सहचारी रत्न बहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरु विमानस्थल पुगेका थिए ।

बेलायतका लागि एक्काइसौं राजदूतको रुपमा गत मार्च १ बाट आफ्नो कार्यकाल सम्हाल्दै आएका रेग्मी करिब ८ महिना नपुग्दै नेपाल सरकारको निर्णयअनुसार नेपाल फर्किएका हुन् ।

रेग्मीलाई बेलायती महारानी एलिजावेथ द्वितियाका तर्फबाट शुक्रबार बिदाई गरिएको थियो ।

महारानीको प्रतिनिधिका रुपमा ‘मार्सल अफ डिप्लोम्याटिक कोर्प्स’ विलियम एलिस्टर ह्यारिसन दूतावास आएर राजदूत रेग्मीको बिदाइ गरेका थिए ।​

राजदूत नेपाल फर्किएसँगै नेपाली दूतावास लन्डन राजदूतबिहीन बनेको छ ।

तर, अन्य व्यवस्था नभएसम्म कार्यबाहक राजदूतको रुपमा दूतावासकी नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनालले कार्यभार सम्हाल्ने छिन् ।

नेपाल सरकारको पूर्व मुख्यसचिव रेग्मीले १५ असोजमा मुख्यसचिव पदबाट राजीनामा दिएपछि मन्त्रिपरिषद् बैठकले उनलाई बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

रेग्मीले गृह र अर्थ जस्ता महत्त्वपूर्ण मन्त्रालयका सचिवको जिम्मेवारी सम्हालिसकेका छन् ।

चासोदिन छाडे युवा पुस्ताले फेरी लगाउन

खोटाङ-जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् ।

उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूत-प्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ ।

वर्षको दुई पटक उधौली र उभौलीअर्थात् कात्तिक र चैतमा जोगीले घरघरमा डुलेर रातभर मन्त्र जप्दै शङ्ख (बराँठको सिङ) बजाएर फेरी लगाउने चलन छ ।

धार्मिक आस्थासँग जोडिएको फेरी लगाउने परम्परागत पेसालाई दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका १९ घर जोगी समुदायले लामो समयदेखि निरन्तरता दिँदै आएका छन् ।

फेरी लगाउने जोगीलाई फेरी लगाइएको घरधनीले चामल, धान, बेसार, तरकारी, नुन, तेल, घ्यूलगायत खाद्यान्न तथा पैसासमेत भिक्षा (दान) दिने चलन छ ।

रातका समयमा फेरी लगाउँदै गाउँ, सहर डुल्ने अनि उज्यालो भएपछि तिनै घरबाट अन्न, नुन, तेल र दक्षिणा सङ्कलन गरी जोगी समुदायले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

फेरी लगाएर मन्त्र जाप गर्नाले घरमा सुख, शान्ति तथा समृद्धि छाउने जिल्लावासीमा जनविश्वास छ ।

बतासेका ६३ वर्षीय तीर्थबहादुर जोगी ४४ वर्षदेखि जिल्लाबासीको शान्तिको कामनासहित फेरी लगाउने पेशामा सक्रिय रहनुभएको छ ।

तीर्थबहादुरको दुई छोराहरु पनि यही पेसाअर्थात् फेरी लगाउने काम गर्छन् ।

उनीहरु फेरी लगाउन जिल्लाका विभिन्न स्थानीय तह तथा छिमेकी जिल्ला भोजपुर र उदयपुरको गाईघाट बजारसम्म पुग्ने गरेका छन् ।

तीर्थबहादुर बाउछोरा जस्तै बतासेका अन्य सबै १९ घरका जोगी समुदाय फेरी लगाउने पेसामै आबद्ध छन् ।

बतासेमा ती घरमध्ये भारती, गजुरनती र रिदनती थरका जोगी समुदायको बसोबास छ ।

बतासेका जोगी समुदायले आफूहरुलाई ‘गुरु गोरखनाथ’को चेलाका रूपमा अन्य समुदायलाई चिनाउने गरेका छन् ।

तीर्थबहादुरको जेठा छोरा ३५ वर्षीय कैलाश जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार तथा आसपासका क्षेत्र र कान्छा ३२ वर्षीय शङ्कर जोगी छिमेकी जिल्ला उदयपुरको गाईघाट पुगेर फेरी लगाइरहेका छन् ।

ती समुदायले आफूहरुबीच भूगोलसमेत निर्धारण गरेका छन् ।

आफ्नो वंशले गर्दै आएको क्षेत्रमा सोही वंशका व्यक्तिले मात्र फेरी लगाउने चलन रहेको बतासेका ५० वर्षीय लाखबहादुर जोगीले जानकारी दिनुभयो ।

“विसं २००७ देखि २०३७ सालसम्म ठेक्कामार्फत फेरी लगाउने चलन थियो”, उहाँले भन्नुभयो, “अहिले ठेक्का प्रणालीमार्फत फेरी लगाउने चलन हटेको छ । जोगी समुदायबीचमै आपसी समझदारीमा क्षेत्र निर्धारण गरेर फेरी लगाउने गरिएको छ ।”

फेरी लगाएमा घरको रक्षा हुने, भूतपिचास नआउने जस्ता जनविश्वासका कारण आफूहरुलाई फोनमार्फत समेत स्थानीय बासिन्दाले आफ्नो गाउँ तथा घरमा आउन आग्रह गर्ने गरेको तीर्थबहादुरले बताउनुभएको छ ।

“धार्मिक आस्थासँगै जोडिएको फेरी लगाउने परम्परालाई वर्षौंदेखि हामीले निरन्तरता दिँदै आए पनि अहिलेसम्म राज्यको तर्फबाट भने कुनै संरक्षण तथा प्रवद्र्धनको काम भएको छैन”,

उहाँले भन्नुभयो, “युवा पुस्ताले भने फेरी लगाउने पेसामा त्यति धेरै चासो देखाएका छैनन्

यसलाई संरक्षण र प्रवद्र्धन गर्न सम्बन्धित निकायले चासो दिनुपर्ने अवस्था आएको छ ।”

युवा पुस्ताले चासो नदेखाएका कारण आफूहरुको पालापछि यो परम्परालाई कसले निरन्तरता देला भन्ने बतासेका जोगी समुदायका पुर्खालाई चिन्ता बढेको देखिएको छ ।

पछिल्लो समय युवापुस्ता वैदेशिक रोजगारीमा जान थालेपछि फेरी लगाउने पेसा सङ्कटमा पर्ने सम्भावना बढ्दै गएको पाइएको छ ।

वैदेशिक रोजगारीका कारण युवापुस्ता विदेशिने क्रम बढेसँगै फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगी समुदायको पुख्र्यौली पेशा सङ्कटमा पर्ने खतरा बढेको बतासेका वडाध्यक्ष लोकेन्द्र राईले बताउनुभयो ।

“बतासेका जोगी समुदायलाई राज्यको तर्फबाट अहिलेसम्म केही गर्न सकिएको छैन”,

उहाँले भन्नुभयो, “अहिले बतासेका नौ भाइ युवा विदेशमा छन् । फेरी लगाउँदाभन्दा विदेशमा राम्रो कमाइ हुने भएकाले अन्य युवा पनि विदेशिने सम्भावना बढेको छ ।”

ती समुदायका हरेक पुरुष सदस्यले जीवनमा अनिवार्यरुपमा एक पटक फेरी लगाएर हिँड्नुपर्ने परम्परागत मान्यता रहेको बतासेकै ३१ वर्षीय धनकुमार जोगीले जानकारीदिनुभयो ।

“हाम्रो पुर्खौली पेसा भनेकै ‘फेरी’ लगाउने हो”, उहाँले भन्नुभयो, “आफ्नो परम्परादेखि चल्दै आएको पुर्खौली पेसालाई संरक्षण गर्नकै लागि भए पनि हरेक वर्षको दुई पटक गाउँगाउँमा पुगेर फेरी लगाउने गरेको छु ।”

फेरी लगाउने जोगीले एकपल्टअर्थात् कात्तिक तथा चैत एक महिनामा रु एक लाखसम्म नगद तथा खाद्य सामग्री सङ्कलन गर्ने गरेका छन् ।

रातको समयमा फेरी लगाउनुपर्ने हुँदा उनीहरुमा चिसोले सताउने र रुघाखोकी जस्ता रोगसमेत देखिने गरेको छ ।

फेरी लगाउने परम्परा धार्मिक विश्वाससँग जोडिएको छ ।

फेरी लगाएर मात्रै यो समुदायमाथि उठ्न सक्ने अवस्था नरहेकाले पेसा नै सङ्कटमा पर्ने सम्भावना बढेको गाउँपालिका प्रमुख भूपेन्द्रकुमार राईले बताउनुभयो ।

“फेरी लगाउने जोगी समुदायलाई अन्य माध्यमबाट आर्थिक, सामाजिक र शैक्षिकस्तरमा सबल बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “लोप हुन लागेको जोगी समुदायको फेरी लगाउने पेसालाई संरक्षण तथा प्रवद्र्धन गर्न गाउँपालिकाले विशेष पहल गर्नेछ ।”

राति मात्र फेरी लगाउने जोगीहरु हरेक घरमा पुगेर चार सुर र मूल ढोकामा उभिएर शङ्ख बजाउँदै मन्त्र जाप गर्दछन् ।

फेरी लगाउँदा कसैसँग बोल्दैनन् तर, फेरी लगाई सकेपछि कसै स्थानीय बासिन्दाले ढोका खोली दिएमा उनीहरुको घरभित्रसमेत पसेर मन्त्र जाप गर्दै शङ्ख बजाउने गर्छन् ।

जोगीले धिमाल जातिको घरमा भने फेरी लगाउँदैनन् र भिक्षाअर्थात् दान-दक्षिणासमेत लिँदैनन् ।

धिमाल जाति र जोगीहरुको गोत्र मिल्ने भएकाले फेरी नलगाइएको तीर्थबहादुरले जानकारी दिनुभयो ।

फेरी लगाउने जोगीले दश झोली बोक्ने गरेका छन् ।

बाह्रपन्थे जोगीको १२ झोलीमध्ये एउटा बाहुन र एउटा सन्यासीलाई दिइएकाले आफूहरुसँग दशवटा मात्रै झोली रहेको जोगी समुदायले बताउने गरेका छन् ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका हलेसी, अर्खौले र चिसापानीमा जोगी समुदायको बसोबास छ ।

बतासेबाहेक अन्य ठाउँका जोगी समुदायले फेरी लगाउने पेसा छाडिसकेको स्थानीय बासिन्दाले बताएका छन् ।

बेन्च बहिष्कार गर्ने नेपाल बारको चेतावनी

काठमाडौँ-आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् ।

बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताउदै उनले सञ्चारकर्मीसँगको कुराकानिमा बेन्च बहिष्कारको चेतावनी दिएका हुन् ।

प्रधानन्यायाधीशसँगको आजको छलफलका क्रममा प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्ने धारणा राखेको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

छलफलका क्रममा आफूहरुले संस्थाको सुधार गर्न सकिँदैन भने प्रधानन्यायाधीशले मार्गप्रशस्त गरिदिनुपर्ने कुरा पनि उठाएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

उनले हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको न्यायालय सुधारको प्रतिवेदन अनुसार कार्यान्वयन गरियो भने धेरै समस्या समाधान हुने बताउदै त्यही कुराको माग गरेको उल्लेख गरे।

दुई दिनअघि मात्रै नेपाल बारले कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयनका लागि प्रधानन्यायाधीशलाई १५ दिने अल्टिमेटम दिएको थियो ।

सोही अल्टिमेटम प्रतिबद्धताको माग गर्दै बारका पदाधिकारीले आज प्रधानन्यायाधीशलाई भेटेको थियो ।

विरोध खतिवडाको मन्त्रीस्तरीय निर्णयमा स्वास्थ्य विभागको महानिर्देशकमा डा. दीपेन्द्ररमण सिंह

काठमाडौं-प्रमुख विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरिएको छ ।

विभागको महानिर्देशकमा डा. सिंहलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै लगेका हुन् ।

मन्त्रालयका प्रशासनका सहसचिव इन्द्रमणि पोखरेलले शुक्रबारको मन्त्रीस्तरीय निर्णयबाट डा. सिंहलाई विभागको महानिर्देशक बनाइएको जानकारी दिएका छन् ।

‘उहाँलाई आइतबारदेखि काम गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ,’ पोखरेलले भने ।

डा. सिंह १२ औं तहका स्वास्थ्यका उच्च अधिकारी हुन् । यसअघि पनि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए ।

तर, प्रधानमन्त्री शेरबहादुर देउवापत्नी डा. आरजु राणा देउवाको रुचिमा डा. सिंहलाई मन्त्रालयमा तानेर उनको ठाउँमा जुनियर अधिकारी डा. आरपी बिच्छालाई निमित्त महानिर्देशकका रुपमा विभाग पठाइएको थियो ।

डा. विच्छा ११ औं तहका हुन् । उनले आइतबारदेखि नै सेवाबाट अनिवार्य अवकास पाउने थिए । तर, उनका कार्यकाल २ वर्ष लम्बाइएको छ ।

स्वास्थ्य सेवा विभागको महानिर्देशक १२ औं तहको प्रमुख विशेषज्ञ हुने व्यवस्था छ ।

बिरालोले बच्चा सारे जस्तो पार्टी कार्यलय सार्दै एमाले

काठमाडौँ- एमालेले बिरालोले बच्चा सारे जस्तो फेरी पार्टी कार्यलय सार्ने भएको छ ।

एमालेले आफ्नो पार्टी कार्यलय च्यासलमा सार्ने भएको हो । ललितपुर च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सार्ने गरि आज तुलसीलाल स्मृति प्रतिष्ठानसँग समझदारी भएको एमाले महासचिव ईश्वर पोखरेलले बताएका छन्।

महासचिव पोखरेलले फेसबुकमा लेखेका छन्, ‘नेकपा (एमाले) र तुलसीलाल स्मृति प्रतिष्ठानबीच आज महत्वपूर्ण समझदारी ।

अब केही समय पछि देखि नेकपा (एमाले)ले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम यहीँबाट हुनेछन्।’

२०७२ मा आएको भुकम्पले बल्खु पार्टी कार्यलयमा क्षती पुर्याएपछी एमालेको पार्टी कार्यलय धुम्वाराहीमा सरेको थियो ।

तत् पश्चात प्रधानमन्त्रि बनेका केपी ओलीले अघोषित रुपमा पार्टी कार्यलय बालुवाटार स्थित प्रधानमन्त्री निवासमा सारेका थिए ।

त्यसबेला पार्टीका सम्पुर्ण बैठक तथा कार्यक्रमहरु बालुवाटार बाटै सम्पादित हुने गरेको थियो ।

पछिल्लो समय थापाथली स्थित एक ब्यापारिको घरमा रहेको कार्यलय हाल ठाउ साघुरो भएको भन्दै च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सार्न लागिएको हो ।

‘नेपालमा पोलियोको जोखिम कायमै’

नेपालमा पोलियो रोगको जोखिम कायमै रहेको सरोकारवालाले बताएका छन् ।

विश्व पोलियो दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको कार्यक्रमका वक्ताले पोलियो उन्मूलनमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरुले नेपालको नजिक रहेको पाकिस्तान र अफगानिस्तानमा अझै पनि पोलियो उन्मूलन हुन नसक्दा नेपालमा जोखिम कायमै रहेको बताएका हुन् ।

रोटरी डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन ६ का आठ वटा क्लबको आयोजना गरेको मोटर र्‍यालीपछि आयोजित कार्यक्रममा रोटरी डिष्ट्रिक ३२९२ का पूर्वगभर्नर रविन्द्रकुमार पियाले नेपालमा पोलियो उन्मूलन भए पनि छिमेकी देशमा उन्मूलन हुन नसक्दा जोखिम रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रोटरियन पोलियो रोग उन्मूलनमा लागिराखेका छन् । छिमेकी देशको असर यहाँ नदेखिएला भन्न सकिँदैन ।”

रोटरीको पोलियो विभागका सल्लाहकार शरदगोपाल न्याछ्योले पोलियो रोग उन्मूलनका लागि रोटरीले सन् १९५३ देखि अभियान सुरु गरेको जानकारी दिनुभयो । यो अभियानमा सबै लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा रोटरियन नारायण प्रधान, रोशन पिया, विपिन पोखरेल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रमअघि पूर्वी चितवनको लोथरबाट उद्योग वाणिज्य सङ्घ चितवनको प्राङ्गणसम्म मोटर ¥याली गरिएको थियो ।

जनचेतनामूलक उक्त र्‍यालीमा मोटरसाइकल र कार सहभागी थिए । यसअघि शनिबार नारायणगढबाट सौराहासम्म साइकल ¥याली गरिएको थियो ।

कार्यक्रमका संयोजक विपिन पोखरेलका अनुसार दुई दिन जनचेतना जगाउने उद्देश्यले ¥यालीको आयोजना गरी आज कार्यक्रमको समापन गरिएको हो ।

अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । यस दिन पोलियो उन्मूलनका लागि सचेतना जगाउने गरिन्छ ।

हाल विश्वमा पाकिस्तान, अफगानिस्तान र नाइजेरियाबाहेकका देशमा पोलियो रोग छैन । नेपालमा सन् २०१० यता पोलियो रोगी भेटिएका छैनन् ।

बार पदाधिकारीको प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ-आज (आइतबार) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल बार एसोसिएसनका पदाधिकारीले भेटेर छलफल गरेको छ ।

बारकी उपाध्यक्ष रक्षा बस्यालले अनुसार आइतबार बिहान ११ बजे आफूहरूले प्रधानन्यायाधीशलाई भेटेर छलफल गर्न लागेको बताएकी छन् ।

बारको कात्तिक ५ गते बसेको कार्यसमिति बैठकले प्रधानन्यायाधीश जबरालाई भेटेर छलफल गर्ने निर्णय गरेको थियो ।

कात्तिक ५ गतेको निर्णयबमोजिम भेटघाट हुन लागेको बताइएको छ ।

न्यायपालिका प्रमुख प्रधानन्यायाधीश जबराले कार्यकारी कार्यपालिकासँग संवैधानिक नियुक्ति र मन्त्रिपरिषद्‌मा भागबन्डा लिएको, न्यायालय सुधार अभियानमा अवरोध सिर्जना गरेको, आफ्ना स्वार्थ बाझिने मुद्दाको सुनुवाइबाट अलग हुन अस्वीकार गरेको तथा तिनको सुनुवाइ अनिश्चित बनाएको जस्ता विवादास्पद क्रियाकलापका बारेका छलफल ह्न लागेको बताइएको छ ।

यिनै बिषयलाई लिएर पुर्वप्रधानन्यायाधीसको समुहले जबराको राजिनामा माग गरेको छ ।

आजको छलफलपछी नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीसको पछिल्लो बिवादवारे आफ्नो आधिकारिक धारणा दिने बताईएको छ ।

प्रदेश १ को प्रदेशसभा बैठक रोक्न कांग्रेस र एमालेको माग

विराटनगर – नेपाली कांग्रेसएमालेले आज (आइतबार) बस्ने प्रदेशसभा बैठक रोक्न छुट्टाछुट्टै माग गरेर सभामुखलाई निवेदन दिएका छन्।

बैठक रोक्नका लागि काङ्ग्रेस र एमालेले लिखित निवेदन दिएको छ । तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक रोक्न अस्वीकार गरेका छन्।

त्यस्तै नेकपा एमालेले विभिन्‍न मितिमा रहेको स्थानीय तह अधिवेशन, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक रहेकाले १५ कात्तिकसम्मका लागि सभा बैठक रोक्नका लागि लिखित पत्र पेश गरेको छ।

मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने प्रयोजनका लागि मध्यान्ह प्रदेशसभा बैठक बस्दै छ।

नेपाली काङ्ग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को भ्रमणमा आउन लागेकाले आजको बैठक सार्न माग गरिएको बताए।

शंकर सिंह डोबाल कांग्रेसका वडा उपसभापति एमालेका वडा सचिव

काठमाडौँ-दार्चुलाका शंकर सिंह डोबाल एकै पटक कांग्रेसका वडा उपसभापति तथा एमालेका वडा सचिव भएका छन् ।

कांग्रेसको वडा उपसभापतिमा निर्वाचित शंकर सिंह डोबाल एमालेको वडा सचिवमा चयन भएका छन् ।

गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट उनी महाकाली नगरपालिका–२ को उपसभापतिमा चयन भएका थिए ।

शनिबार गरिएको नेकपा एमालेको वडा अधिवेशनमा डोबाल सचिवमा चयन भएका हुन् ।

कांग्रेस महाकालि नगरपालिकाका प्रवक्ता पदम सिंह महरले डोबाल एमालेमा प्रवेश गरे नगरेकोबारे जानकार नभएको बताएका छन्।

शनिबार सम्पन्न गरिएको वडा अधिवेशनमा वीर सिंह डोबाल अध्यक्ष र शंकर सिंह डोबाल सचिवमा चयन गरिएको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

छतको यात्रा यमलोकको जात्रा

छतभरि यात्रु: के गर्दै छ ट्राफिक प्रहरी

स्याङ्जाको मिर्मिदेखि जिरोमा क्षमताभन्दा बढी यात्रु बोकेर आएको जीप । तस्वीर- कृष्ण दर्नाल-रासस

A jeep carrying more passengers than its capacity from Mirmi in Syangja to Zero. Picture- Krishna Darnal- National News Agency