प्रदेश १ मा समाजवादीका राजेन्द्र राई नयाँ मुख्यमन्त्री पक्का

प्रदेश १ मा समाजवादीका राजेन्द्र राई नयाँ मुख्यमन्त्री पक्का भएको छ ।

गठबन्धनले नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको हुदा राई नयाँ मुख्यमन्त्रीमा पक्का भएको हो ।

अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज प्रदेश सभामा विश्वासको मत लिँदै पदमुक्त्त हुने पक्का छ।

आज दिउँसो साढे १२ बजे प्रदेश सभा बैठक बस्दै छ ।

बैठकमा शुक्रबार प्रस्तुत भएको विश्वासको मत लिने प्रस्तावमा दलहरूले छलफल सकेपछि मतविभाजन हुनेछ।

शेरधन राईले राजीनामा दिएपछि १० भदौमा भीमप्रसाद आचार्य मुख्यमन्त्रीमा नियुक्त्त भएका थिए ।

मुख्यमन्त्री बन्नकै लागी आचार्यले माधब नेपालको साथ छाडेर ओली तर्फ लागेका थिए ।

पदमा नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिइसक्नुपर्ने भए पनि उनले २५ असोजमा मात्र प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव दर्ता गराएका थिए ।

उक्त्त प्रस्ताव दसैँपछि ५ कात्तिकमा प्रदेश सभामा प्रस्तुत भएको थियो।

प्रदेश १ मा सभामुख र उपसभामुखसहित कुल ९२ सांसद छन् ।

सत्ताधारी दल एमालेमा सभामुखसहित जम्मा ४१ जना छन् ।

विपक्षी दल कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादीका ३ , राप्रपाका १ र संघीय लोकतान्त्रिक मञ्चमा १ जना सांसद छन्।

राप्रपाबाहेक सबै विपक्षीहरू गठबन्धनमा भएकोले उनीहरूको कुल ५० मत छ c

यता एमालेका एकजना सांसद गुलेफन मियाँ फौजदारी अभियोगमा फरार भएको र सभामुखले निर्णायक मत मात्र दिन पाउने भएकोले ३९ मत मात्र बाँकी छ। उनलाई विश्वासको मत पुर्‍याउन ४७ जना सांसद आवश्यक पर्छ तर राप्रपाले उनलाई समर्थन गरेमा उनले कुल ४० मत मात्र पाउनेछन् ।

राप्रपाले उनलाई समर्थन नगरेमा उनले ३९ मतमात्र पाउने अंकगणितले देखाउछ ।

बाढी पीडितको विद्यालयमा बसोबास

टीकापुर-कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ ।

कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका छन् ।

बाढीमा घर मिसिएकाहरु यतिखेर विभिन्न विद्यालयमा आश्रय लिएर बसिरहेका छन् ।

विद्यालयमा आश्रय लिएर बसिरहेकाहरु घर कहिले फर्कने, कसले घर बनाइदिने भन्ने अन्योलमा छन् ।

जानकी गाउँपालिका–३ मुक्तकमैया बस्तीका चन्टु थारूको घर अहिले छैन ।

हालै भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बस्ती डुबानमा परेपछि चौधरीको घर त्यही बाढीमा मिसियो ।

बाढीमा घर गुमाएका चौधरीको घरमा रहेका अन्नपात, लुगाकपडासहित सबै सम्पत्ति बग्यो ।

जीवनभरि कमाएको सबै पानीमा बगेपछि चौधरीसहित त्यहाँका केही मुक्तकमैया बालमुक्ति आधारभूत विद्यालयमा बसोबास गरिरहेका छन् ।

विद्यालयमा बसिरहनुभएका चौधरी नजिकै रहेको घरतिर फर्केर हेर्दा निकै भक्कानिनुहुन्छ ।

“घरतिर हेर्छु, घर नै छैन, दुःख गरेर जोडेको सबै सामान बग्यो”, उहाँ भन्नुहुन्छ, “छ दिन भयो विद्यालयमा बसेको ।

यसरी बसेर कति दिन टर्छ । घर बचेकाहरु घर सफा गर्न थालेका छन् ।

स्थानीय सरकारले राहत दिने भनेको छ । घर भएकाहरु त फर्केलान, हामी कहाँ जाउला ?”

चन्टुजस्तै सुस्मिता थारूको घर पनि बाढीले भत्काएर पूर्णरूपमा नष्ट भएको छ । उहाँ पनि घर नै नरहेपछि अब कहाँ बस्ने भन्ने चिन्तामा हुनुहुन्छ ।

“आँखै अगाडि बाढीले सबै बगायो, घरभित्रका केही सामान पनि सार्न सकिएन”, सुस्मिताले भन्नुभयो, “दैव पनि हामीजस्ता गरिबलाई नै विपत्तिमा पार्ने रहेछ ।

गरिबीमा बाँचेका हामी अब घरै नरहे कहाँ बसौँला ?”

बाढीले बस्तीमा १८ परिवारका घर रहेनन् ।

ती परिवारले आँखा अगाडि घर बाढीमा मिसिएको देखिरहे तर आफ्नो केही सामान पनि जोगाउन पाएनन् ।

यसरी विद्यालयमा बसेका सयौँ नागरिकलाई पालिकाले साँझ बिहान दुई छाक खाना खुवाइरहेका छन् ।

जिल्लामा बाढीका कारण सयौँ परिवारले घर गुमाएका छन् भने हजारौँ परिवार विस्थापित भएका छन् ।

टीकापुर, भजनी नगरपालिका र जानकी गाउँपालिकाका उच्च स्थानमा रहेका विद्यालय यतिखेर बाढी प्रभावितले भरिएका छन् ।

पालिका र सङ्घसंस्थाले सहकार्य गरेर विद्यालयमा आश्रय लिइरहेकालाई खाना खुवाइरहेका छन् । टीकापुरमा सयौँ परिवार विद्यालयमा बसिरहेका छन् ।

टीकापुरको तटीय क्षेत्र वडा नं ८ मा बाढीले बढी क्षति पु¥याएको छ । वडा नं ८ पूरै प्रभावित भएकाले त्यहाँका विस्थापित परिवारलाई राहत तथा उद्धारका कार्यमा पालिका जुटेको विपद् व्यवस्थापन शाखाका प्रमुख निर्मला चौधरीले बताउनुभयो ।

“हामीले विपद् व्यवस्थापन समितिको बैठक बसेर मापदण्ड बनाएर राहतका कार्यक्रम ल्याउँदैछौँ”, उहाँले भन्नुभयो, “बाढीले ठूलो क्षति पुर्‍याएकाले राहत तथा उद्धारका कार्यमा सबै मिलेर काम थालिएको छ ।”

सङ्घसंस्थाको सहयोगमा पानी, चिउरा र चाउचाउ वितरण भइरहेका छन् ।

जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी पालिकाले तथ्याङ्क सङ्कलन र क्षतिको विवरण सङ्कलन गरिरहेकाले केही दिनमै राहतका कार्यक्रम ल्याइने बताउनुभयो ।

“सरकार साथमा छ भोकै कसैले बस्नु नपरोस् भन्ने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हामीले सहयोगी सङ्घसंस्थालाई समेत सहकार्य गर्न आग्रह गरेका छौँ । क्षति हेरेर सहयोग हुनेछ ।”

सुदूरपश्चिममा बाढीपहिराबाट २३ अझै बेपत्ता

सुदूरपश्चिममा बाढीपहिराबाट २३ अझै बेपत्ता छन् । बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक-एक छन् ।

बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ ।

गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस प्रदेशमा ३५ जनाको मृत्यु भएको हो ।

बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ । डोटीमा १६ जनाको मृत्यु भएको छ ।

बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एकरएक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन् ।

बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक-एक छन् ।

यस्तै विपद्मा परी १७ जना घाइते छन् ।

डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एकरएक जना घाइते भएका हुन् ।

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् ।

पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ ।

बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ ।

हिउँमा फसेर १२ पदयात्रीको मृत्यु

हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको छ ।

भारतकाे हिमाञ्चल प्रदेश र उत्तराखण्डको बीचमा हिउँमा फसेर दुई छुट्टाछुट्टै टोलीका कम्तीमा १२ पदयात्रीको मृत्यु भएको अधिकारीहरूले बताएका हुन् । उद्धार टोलीले शव निकालेर बेपत्ताहरुको खोजी कार्य तीब्र पारेको छ ।

हिमाञ्चल प्रदेशको आपत्कालीन उद्धार केन्द्रका एक अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएअनुसार बिहीबार हराएका पर्यटकहरूक बारेमा प्राप्त जानकारीअनुसार हिमाञ्चल प्रदेशबाट दुई शव र उत्तराखण्डबाट पाँच शव र दुई घाइतेलाई बाहिर निकालिएको छ भने अन्य दुई जना अझै बेपत्ता छन् ।

यसैबीच, उत्तराखण्ड राज्य प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरूले त्यहाँको माथिल्लो भागमा बेपत्ता पारिएका अर्को समूहबाट पाँच जनाको शव निकालिएको जानकारी दिएका छन् । मृत्यु हुनेमा भारतीय नागरिक रहेको बताइएको छ ।

नेपाली सेनाको रिक्त पदहरुमा दरखास्त आह्वान

काठमाडाैँ-नेपाली सेनाको रिक्त पदहरुमा दरखास्त आह्वान गरेकाे छ ।

नेपाली सेनाले आफू मातहतका अस्पताल, विद्यालय, पेट्रोलपम्प लगायतमा रिक्त रहेका पदहरुमा पदपूर्तिका लागि आवेदन माग गरेको हाे ।

करार सेवामा पदपूर्ति गर्नेगरी सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित विभिन्न निकायहरुमा दरखास्त आह्वान भएको सैनिक कल्याणकारी महानिर्देशनालयले जनाएको छ ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र महानिर्देशनालय, जंगी अड्डा र सम्बन्धित महाविद्यालय तथा विद्यालयका साथै सैनिक अस्पतालहरुमा दरखास्त दिन सक्नेछ ।

आइतबार सेनाले निकालेको सूचनाअनुसार दरखास्त आह्वान भएका पदहरुमा खुला प्रतिस्पर्धाद्वारा नियुक्ति गरिनेछ ।

गजुरीमा गुडिरहेको बसमा आगलागी

पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरीबजारमा गुडिरहेका बसमा आज बिहान आगलागी भएको छ ।

सुर्खेतबाट काठमाडौँतर्फ आउँदै गरेको ना६ख १४७१ नंको यात्रुबसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

छत्तीस जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल रहेको र बसमा रहेको सामान भने जलेर नष्ट भएको छ ।

बसको इन्जिनबाट धुँवा निस्किनेबित्तिकै बस रोकेर यात्रुलाई बाहिर निकालेका कारण मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

राजमार्ग क्षेत्रमा रहेको दमकल र स्थानीयवासीले आगो नियन्त्रणमा लिइएका थिए ।

संविधान र कम्युनिष्ट आन्दाेलन वचाउनका लागि विद्राेह गरियाे: परमानन्द भट्ट

बैतडी-नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय पाेलिटव्युराे सदस्य परमानन्द भट्टले संविधान र कम्युनिष्ट आन्दाेलन वचाउनका लागि विद्राेह गरेकाे बताएका छन्।

हिजाेदेखि बैतडी सदरमुकाममा जारी जिल्ला कमिटीकाे बैठक शनिवार सम्पन्न भएपछि एकीकृत समाजवादी पार्टीको जिल्ला कमिटीले आयाेजना गरेकाे पत्रकार सम्मेलनमा प्रथम बैठकले गरेका निर्णय सार्वजनिक गर्नेक्रममा भट्टले उक्त कुरा वताएका हुन ।

उनले भने दुईतिहाई सरकार काे नेतृत्वकाे गरिरहेका केपी वलीले संविधानमाथी प्रहार गरेपछि नेपाली काग्रेस लगायत पाँच दलिय गठबन्धन ले प्रतगमनलाई परास्त गरेकाे बताएका हुन्।

सैद्वान्तिक कुरामा एकमत नभएपनि संविधान र देशकाे रक्षाका लागि नेपाली काग्रेससित ०४६ ०६२/६३ काे जनअान्दाेलनमा नेपाली काग्रेस लगायत लाेकतान्त्रिक दलहरूसित सहकार्य गरिएकाे वताउदै पछिल्लाे समय केपी वलीले संविधानमाथिनै प्रहार गरेपछि पाँच दलिय गठबन्धनले उनलाई परास्त गरेकाे वताए ।

“कपी वलिले पटक पटक संविधानमाथी प्रहार र पार्टीमा विधि र पद्वती मिचेकै कारण संविधान र कम्युनिष्ट अान्दाेलन वचाउन विद्राेह गरेका हाैं”, उनले भने।

नेकपा (एस) ले आज जिल्ला सदरमुकाम बैतडीमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत बैठकका निर्णयहरु समेत सार्वजनिक गरिएकाे हाे ।

बैठकले बाढी पहिरो पीडितका लागि राहात, पुर्नस्थापनाका लागि सरकारलाई दबाव दिने, स्थानीय सरकारहरुमा भईरहेको भ्रष्टाचार लगायत सार्वजनिक मुद्दामा बहस गर्ने, विकास निर्माणमा हुने कामको ढीलाईका बारेमा स्पष्ट नीति तथा कार्यान्वयन पक्षलाई जिम्मेवार बनाउन दबाव दिने, पार्टी संगठन विस्तारका काममा सिंगो कार्यकर्ता परिचालन गर्ने लगायतका निर्णयहरु गरिएको वताईएकाेछ।

अबको तीन महिनामा पार्टी संगठन विस्तारको कामलाई तिब्रता दिनुका साथै विभिन्न जनवर्गिय संगठनहरुको निर्माण समेत गर्ने निर्णय भएको पाेलिटव्युराे सदस्य एवम् जिल्ला ईन्चार्ज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी अब पार्टी संगठन विस्तारको कामलाई तिब्रता दिनुका साथै आम जनताका साना देखि ठुला मुद्दाहरुमा केन्द्रत हुन्छौँ ।’ भट्टका अनुसार प्रत्येक वडाहरुमा एक हजार संगठित सदस्य बनाउने लक्ष नेकपा (एस) ले दिएको छ ।

पत्रकार सम्मेलनमा उपस्थित नेकपा (एस) का प्रदेश सहसचिव एंव सुदूरपश्चिम प्रदेशका पुर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले आफ्नो पार्टी अहिले पनि सरकारमा भएकाले जनजिविकाका सवालहरुमा सरकारलाई सुझाव सल्लाह दिने वताउनुभयाे ।

पार्टी संगठन निर्माणका कामलाई पनि आफुहरुले तिब्रता दिएको उहाँको भनाई छ ।

कार्यक्रममा उपस्थित नेकपा (एस) का जिल्ला अध्यक्ष महादेव भट्टले विगतमा भएका गल्ति कमजोरीहरुलाई सुधार्दै नेकपा (एस) पार्टी अब बलियो पार्टीका रुपमा स्थापित हुने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो ‘अबको हम्रो काम जनतासंगै सहभागि भएर विकास, समृद्धि र शुसासनका लागि हुन्छ ।’ उहाँका अनुसार आम जनतालाई केन्द्रमा राखेरमात्रै पार्टीले विभिन्न निर्णय तथा कामहरु गर्ने छ ।

बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

पाँचथरमा बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो ।

यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो सङ्ख्यामा स्थानीयवासीको ज्यान गएको हो ।

बाढीले बगाएर बेपत्ता फिदिम नगरपालिका–६ की २२ वर्षीया सम्पदा आले मगर र पहिराले पुरिएर बेपत्ता फाल्गुनन्द गाउँपालिका–४ चिलिङदिनका आठ वर्षीय बालक मिक्तोक चेम्जोङको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बाढी र पहिरामा परी मृत्यु भएका २८ जनाको यसअघि नै पहिचान भइसकेको छ । त्यसमध्ये २१ जना मिक्लाजुङ गाउँपालिकाका छन् ।

जिल्लामा अझै फिदिमका एक र मिक्लाजुङका तीन गरी चार जना बाढी तथा पहिरामा परी बेपत्ता छन् ।

बेपत्ता हुनेमा दुई स्वास्थ्यकर्मीसमेत छन् । इलामको माङ्सेबुङ गाउँपालिकामा कार्यरत उनीहरु पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारमा आएका थिए ।

पहिरो झरेपछि भाग्ने क्रममा पहिराले पुर्दा बेपत्ता भएका उनीहरु अझैसम्म फेला पर्न नसकेको मिक्लाजुङका अध्यक्ष अमरराज माखिमले जानकारी दिनुभयो ।

बाढी र पहिरामा परी बेपत्ताको खोजी तीव्र पार्न तथा क्षतिको विवरण सङ्कलन गर्न जिल्ला विपत् व्यवस्थापन समितिले सुरक्षा निकाय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

सुरक्षा निकायले स्थानीयवासीसमेतको सहयोगमा खोजी कार्य गर्दै आएको तथा स्थानीय त

मदन भण्डारी हत्याको प्रमाण केपी ओलीले लुकाएको खुलासा

झापा – मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुकाएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले खुलासा गरेका छन्।

नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको बताउदै प्रमाण ओलीले लुकाएको बताएका छन् ।

उनले केपी ओलीले मदन भण्डारीको हत्याको प्रमाण लुकाएको र प्रतिवेदन सार्वजनिक नगरेको खुलासा गरेका छन्।

झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त कुराकाे खुलासा गरेका हुन् ।

आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भन्ने केपी ओलीले आफू दुईतिहाइको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदासमेत हत्याराको खोजी नगर्नुले ओलीले प्रमाण नियाेजित रूपमा लुकाएकाे बताएका छन् ।

खतिवडाले नेकपा एमालेले अहिले मदन भण्डारीको नाममात्रै बेचिरहेको समेत बताए । उनले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै गएको र राष्ट्र तथा राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गर्दै गएकोले एमालेमा बसेर सच्चा कम्युनिष्ट हुन नसक्ने ठहर गर्दै आफूहरू अलग भएको जिकिर गरेका छन्।

एसियन भैँसी सम्मेलन आयोजना हुँदै

दसौँ एसियन भैँसी सम्मेलन भर्चुअल माध्यमबाट हुने भएको छ ।

भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायत बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्‍याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो ।

अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् ।

दसौँं एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिनुभयो ।

यहाँ आज आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विश्वविद्यालयले उक्त जानकारी दिएको हो ।

अध्यक्ष देवकोटाका अनुसार भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सम्मेलनमा तीन सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ ।

भैँसीपालन, व्यवस्थापन, स्वास्थ, बजारीकरण एवम् उपयोगिताबारे भएका नवीनतम् खोज, अनुसन्धानबारे गहन छलफल हुने देवकोटाले जानकारी दिनुभयो ।

सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैँसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आएको छ ।

बेमौसमी प्रजनन् प्रविधिबाट करिब ४७ प्रतिशत उत्पादन क्षमता भएको पाइएको छ । बेमौसमी प्रजनन कार्य किसानको गोठमा पु¥याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ ।

विश्वविद्यालयले भैँसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्ने देवकोटाले बताउनुभयो ।

सम्मेलनको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले भर्चुअल माध्यमबाटै गर्ने कार्यक्रम छ ।

पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई उचाइ दिन यो सम्मेलन सफल हुने बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरका वैज्ञानिक सम्मेलनले पशुपालन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भैँसीलाई कालो सुनका रुपमा लिइने भएकाले नयाँ प्रविधि र खोजअनुसन्धान प्रयोगमा ल्याउन सके अर्थतन्त्रमा सहयोग पुग्ने बताउनुभयो ।

नेपालमा दुग्ध उत्पादनमा भैँसीको करिब ६५ प्रतिशत र मासु उत्पादनमा ५५ प्रतिशत हिस्सा ओगटेको तथ्याङ्क छ ।

सन् २०१७ मा नेपालमा भएको सम्मेलनपछि नै विश्वविद्यालय भैँसी अनुसन्धानमा दीर्घकालीन योजना निर्माणमा लागिपरेको छ ।

यसका लागि भैँसी अनुसन्धान केन्द्र स्थापना गर्न लागिएको सो अवसरमा जानकारी दिइयो ।

सम्मेलनकै कारण वैज्ञानिकबीचको सञ्जालमार्फत ज्ञान, सीप आदानप्रदान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालमा करिब ५२ लाख भैँसीको सङ्ख्या रहेको तथ्याङ्क छ ।

स्थानीय जातमा पहाडतिर लिमे, पारकोटे, गड्डी र तराईतिर तराई जात र मुर्रा जातका भैँसीपालन हुँदै आएका छन् ।

नेपालमा पछिल्लो समय आयातीत हाइब्रिड जातका भैँसीपालनसमेत बढ्दो क्रममा रहेको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

दूध दिन छाडेपछि पनि मासु र छाला उपयोग हुने भएकाले भैँसीलाई बहुउपयोगी जनावर मानिन्छ ।

लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्छ: नेता केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीलाई बलियो बनाउन पार्टीभित्रको गुटलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसीले विजयादशमी, दीपावली तथा छठ पर्वका अवसरमा आज यहाँ आयोजना गर्नुभएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता केसीले कांग्रेस भित्रको विवाद आपसमा मिलेरै समाधान गर्नुपर्ने बताउनुभयो ।

“नेताभन्दा नीति र व्यक्तिभन्दा विचार ठूलो हुन्छ”, उहाँले भन्नुभयो । महाधिवेशनमा आफ्नो मतको सही सदुपयोग गर्न केसीले आग्रह गर्नुभयो ।

लोकतन्त्र र पार्टीको आदर्श तथा सिद्धान्तलाई आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा नेता केसीले जोड दिनुभयो ।

कांग्रेसभित्र हार्नेले जित्नेको सम्मान गर्ने वातावरण निर्माण गरे मात्र पार्टी बलियो हुने उहाँको भनाइ थियो ।

कांग्रेस नुवाकोटका सभापति केसीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई आम निर्वाचनमा देखाउन नहुने बताउनुभयो ।

पार्टीलाई बचाउने जिम्मा आम कार्यकर्ताको भएको उहाँको भनाइ थियो ।

सभापति केसीले पार्टीलाई एकजुट भएर अगाडि बढाउनुपर्ने कुरमा जोड दिँदै निर्वाचनमा सक्षम व्यक्तिलाई टिकट उपलब्ध गराउनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गुप्ताको निधन

सिरहाका पुराना पत्रकार तथा नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष रामानन्द गुप्ताको निधन भएको छ ।

लामोसमयदेखि रक्तचापको दीर्घरोगी रहनुभएका गुप्ताको ५८ वर्षको उमेरमा उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

गत बुधबार हृदयघात भएपछि पत्रकार गुप्तालाई अस्पताल भर्ना गरिएको थियो ।

सिरहा नगरपालिका–१ घर भई लहान नगरपालिका बस्दै आउनुभएका गुप्ता हिमालय टाइम्सलगायत पत्रपत्रिका तथा टेलिभिजनमा कार्य गर्दै आउनुभएको थियो ।

गुप्ताको पार्थिव शरीरमाथि नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले झण्डा ओढाएर सम्मान प्रकट गरेको छ ।

नेपाल वायुसेवा निगमले सुदूर पहाडमा उडान भर्ने

नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो ।

बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।” वर्षात्का कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातयात सेवाका लागि निकै सास्ती हुँदै आएको छ ।

बाढी, पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुग्नुभएका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिराले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उहाँले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिनुभएको हो ।

मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्लामा सहुलियत भाडा दर कायम गरी हवाइ उडान गर्ने योजना रहेको वायुसेवा निगमको कार्यालयले जनाएको छ । मन्त्री आलेकै निर्देशनमा नेपाल वायुसेवा निगमले आइतबारदेखि धनगढी–काठमाडौँ पनि उडान गर्ने भएको छ ।

यसैबीच मन्त्री आलेले आजै कैलालीको धनगढीमा रहेको गेटा विमानस्थलकोसमेत निरीक्षण गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । विमानस्थलको निरीक्षण गर्दै मन्त्री आलेले गेटा विमानस्थललाई राष्ट्रियस्तरको विमानस्थलमा बिस्तार गर्नुपर्ने बताउनुभएको थियो ।

कूल ८३ बिघा क्षेत्रफल रहेको विमानस्थललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन बजेट विनियोजन गर्नेसमेत मन्त्री आलेले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेता योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौँ-नेकपा एमालेका नेता योगेश भट्टराई अस्पताल भर्ना भएका छन् ।

विगत तीन दिनदेखि आएको ज्वरो नघटेपछि नेता भट्टराईलाई अस्पताल भर्ना गर्नुपरेको भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिएका छन् ।

ज्वरो आएपछि केही दिन घरमै बसेर सामान्य उपचार गरेका भट्टराई ज्वरो कम नभएपछि शुक्रवार दिउँसो वीर अस्पतालमा भर्ना भएका हुन् ।

आज नेपालमा ७ सय ८ जनामा कोरोना पुष्टि: ११ जनाको मृत्यु

काठमाडौं-नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार ९ हजार ३७६ जनाले कोरोना परीक्षण गराएकोमा ७ सय ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २ सय ५३ जनामा पिसिआर तथा २ हजार १ सय २३ जनामा एन्टिजेन परीक्षण गरिएको थियो ।

साथै आज ९ सय ३२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

साथै आज कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो सँगै मृत्यु हुनेको संख्या ११ हजार ३३७ पुगेको छ ।

हाल नेपालमा रहेका सक्रिय संक्रमितको संख्या १० हजार ९ सय ४६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।