प्रदेश १ मुख्यमन्त्रीको दिनगन्ती सुरु: आइतबार विश्वासको मतदान हुदै

काठमाडौँ- प्रदेश १ का मुख्यमन्त्रीको दिनगन्ती सुरु भएको छ ।

प्रदेश १ का मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान हुने भएको हो ।

प्रस्ट रुपमा अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि आइतबार मतदान प्रक्रिया सुरु हुने भएको हो ।

मुख्यमन्त्री आचार्यले प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी थप प्रक्रिया आइतबार बस्ने बैठकमा हुने जानकारी गराए ।

उनले आइतबार दिउँसो १२ः ३० बजे बस्ने बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल तथा मत विभाजनसम्बन्धी प्रक्रिया सुरु हुने भन्दै बैठक स्थगित गरिएको जानकारी गराए ।

भारतमा १५ हजार नयाँ सङ्क्रमित थपिए

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट थप १५ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ७८६ जना नयाँ सङ्क्रमित थपिएका हुन ।

नयाँ सङ्क्रमित मध्ये आठ हजार ७३३ जना केरला प्रदेशका मात्रै रहेको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

सोही अवधिमा भारतमा १८ हजार ६४१ जना सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिले नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो ।

भारतमा अहिले एक लाख ७५ हजार ७४५ जना सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या २३२ दिनपछिकै सवैभन्दा कम भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ ।

भारतमा अहिलेसम्म कुल तीन करोड ३५ लाख १४ हजार ४४९ जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण थप २३१ जनाको मृत्यु भएको छ । ती मध्ये केरलाका मात्रै ११८ जना रहेका छन् ।

चीनमा फेरि कोरोना प्रकोप: उडान स्थगितसँगै स्कुल पनि बन्द

ऐजेन्सी-चीनमा फेरि कोरोना भाइरसको प्रकोप देखिएको छ ।

चीनमा पाँचौँ दिन सम्म लगातार नयाँ संक्रमित बढेसँगै व्यापक रूपमा कोरोना परीक्षण सुरु गरिएको छ।

चीन सरकारले संक्रमिण बढ्न नदिन सयौँ उडान स्थगित गरेको छ भने स्कुल पनि बन्द गराएको छ ।

उत्तरी र उत्तर पश्चिमी क्षेत्रमा संक्रमितको संख्या बढेकोमा चीन सरकारले पर्यटकलाई यस्को मुख्य कारणको रुपमा औल्याएको छ ।

राजधानी पेकिङसहित नौ प्रान्त र क्षेत्रमा कोरोना भाइरसको अधिक प्रभाव देखापरेसँगै त्याहाका स्थानीय सरकारले परीक्षण सुरु गरेका छन्।

स्यान‚ कान्सु र इनर मंगोलिया प्रान्तमा प्रभावित क्षेत्रमा स्कुल‚ मनोरञ्जन स्थल र पर्यटकीय स्थल सबै बन्द गरिएका छन् ।

केही क्षेत्रका घरमा लकडाउन लगाइएको छ। अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन भनिएको छ ।

४० लाख जनसंख्या भएको लानचाउ नगरमा घरभित्रै बस्न आग्रह गरिएको छ।​

जन हप्किन्स विश्वविद्यालयका अनुसार विश्वमा २४ करोड ३३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४९ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ।

सरकारले आफ्नो काममा गति पक्रन सकेन: गगन थापा

सरकारले आफ्नो काममा गति पक्रन सकेन: गगन थापा

काठमाडौं-सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका युवा नेता गगन थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको जनाएका छन् ।

सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउदै पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले आफ्नो काममा गति पक्रन नसकेको बताएका हुन् ।

उनले दुई छिमेकी मुलुक भारत र चीनबाट फाईदा लिने मौका नचुकाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।

‘यो सरकारले जुन गति पक्रनुपर्ने हो, त्यो गति हामीले पक्रन सकेका छैनौं । जसरी हामीले २००७ सालपछिको समय खेर फाल्यौँ ।

फेरी हामीले अब अर्को मौका खेर फाल्दै छौ कि भन्ने डर लाग्न थालेको छ ।’ उनले भने, ‘यो बेला सम्हालिनु पर्नेछ। हाम्रा अगाडी केही मौकाहरु अहिले पनि छन्।’

कांग्रेस नेता थापाले विद्युत खपत बढाउने विषयमा सोच्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।

उनले विद्युत खपत बढाउने बेला आएको र त्यसका लागि सरकारले योजनावद्ध सोच अगाडी ल्याउन ढिलाई गर्न नहुने बताए।

नेता थापाले नेपाल विद्युत प्राधिकरणले आर्जन गरेको प्रतिष्ठा जोगाउने गरी काम गर्न प्राधिकरणका कर्मचारीलाई आग्रह पनि गरे।

सरकारले आफ्नो काममा गति पक्रन सकेन: गगन थापा

नेपालमा १५ प्रतिशत बढी वर्षा: जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ?

काठमाडौँ- गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो ।

नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश ठाउँमा राम्रै घाम लाग्यो । मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने अनुमान थिएन ।
त्यसैले पनि कात्तिकमा महिना (बेमौसम) मा यति धेरै वर्षा हुने कुरा अनुमानभन्दा बाहिरको हो ।

यद्यपि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मध्य दसैँमा असोज ३१ गतेको मिति तोकेर विभिन्न प्रणाली विकसित भएकाले भारी वर्षाको सम्भावना रहेको हुँदा सार्वधानीको चेतावनी दिएको थियो । असोज २८ मा पहिलो र असोज ३० गते दोस्रो विशेष बुलेटिन नै सार्वजनिक गरी सावधानीको अनुरोध गरिएको वरिष्ठ मौसमविद् वरुण पौडेल सुनाउनुहुन्छ ।

टन्टलापुर घाम लागिरहेका बेला उक्त चेतावनीलाई कतिपयले खासै वास्ता नगरेको पनि हुनसक्छ । विडम्बना असोजको अन्तिम दिनबाट मुलुकका विभिन्न जिल्लामा भारी वर्षा सुरु भयो ।

पूर्णिमासम्म दसैँको टीका लगाउने चलनअनुसार मानिस आफन्तकोमा टीका थाप्दै थिए भने घर गएका कार्य क्षेत्रमा फर्किनसमेत भ्याएका थिएनन् ।

लगातारको भारी वर्षा (मनसुनी वर्षाझैँ) का कारण कात्तिकको पहिलो दिनबाट भने मानवीय र भौतिक क्षतिका घटना सार्वजनिक हुन थाल्यो ।

असोज १, २, ३ गतेको तीन दिनको अवधिमा १०१ जनाले बाढी, पहिरो र डुबानमा परेर ज्यान गुमाउन पुगे । अझै ४१ जना हराइरहेका छन् । सयौँ परिवार विस्थापित भएका छन् भने झण्डै २० जिल्लामा भौतिक संरचना, सडक, पुल, विद्युत्, टेलिफोन सेवा नराम्ररी प्रभावित भएको छ ।

अझै क्षतिको यकिन विवरण भने आइसकेको छैन । कात्तिकमा यति ठूलो वर्षा भएर मुलुक नै प्रभावित हुने गरी ठूलो जनधनको क्षति गराउने कुरा अप्रत्यासित र अकल्पनीय नै हो । जलवायु परिवर्तनको असर हो की भैपरी आउने घटना यसमा आआफ्नै धारणा मानिसमा छ ।

जलवायु परिवर्तन विज्ञ तथा नेपाल पानी सदुपयोग फाउन्डेसनका अध्यक्ष डा ङमिन्द्र दाहाल अक्टोबरको दोस्रो हप्तामा थोरै पानी पर्ने गरे पनि यती धेरै नपर्ने विगतको अनुभव सुनाउनुहुन्छ । “वर्षा सकिएपछि यसरी ठूलो पानी पर्नु जलवायु परिवर्तनको असर हो, परिवर्तन आयो भन्ने कुरा अहिलेको वर्षाबाट हामीले बुझ्नुपर्छ”, दाहालले भन्नुभयो ।

उहाँका अनुसार कतिपय स्थानमा मनसुन भरी पर्ने पानीभन्दा धेरै यो तीन÷तीन दिनमा परेको उहाँको भनाइ छ । यसले राम्रो सङ्केत गर्दैन, जलवायु परिवर्तन भनेको यही हो, कतिबेला के हुन्छ थाहा हुन्न, ३०-४० वर्षको तथ्याङ्क चाहिन्छ, भनिन्छ त्यो एक ठाउँमा होला तर अदलीबदली चाहिँ डरलाग्दो हिसाबले भइरहेको छ, यसलाई हामीले मनन गर्नुपर्छ”, उहाँले थपनुभयो । सुदूरपश्चिममा केही ठाउँमा त मनसुन कै रेकर्ड तोडेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार यस्ता घटना हरेक ५० देखि १०० वर्षमा एक पटक देखिने हो । डा दाहाल अब यस्ता घटना बाक्लिने दावी गर्नुहुन्छ । यसले अब तीन-चार महिना लामो खडेरी हुने सङ्केत दिएको पनि उहाँले जिकिर गर्नुभयो ।

“त्यसको सङ्केत प्रशान्त महासागरका गतिविधिले देखाइरहेको छ, लान्दिनाको प्रणाली अलि सक्रिय देखिएको छ, त्यसले खडेर निम्त्यिाउने उहाँको विष्लेषण छ ।

उहाँले यही प्रकृतिको घटना नदोहोरिए पनि अर्काे नयाँ स्वरुपका घटना देखिन सक्ने चेतावनी दिनुभएको छ । एकै चोटी पानी खनिनु पनि जलवायु परिवर्तनको सङ्केत भएको अध्यक्ष डा दाहालको जिकिर छ ।

गत वर्ष पर्वतमा होस् या सिन्धुपाल्चोकको जुगलमा एकै ठाउँमा धेरै वर्षा हुँदा भेल पहिरो गएर ठुलो जनधनको क्षति भएको थियो । यही साल मनसुनका बेला (असार १ र १६ गतेको वर्षा) मा सिन्धुपाल्चोकको हेलम्बुमा मेलम्ची खोलाको शिरदेखि अकल्पनीय बाढी पहिरो जाँदा हेलम्बु र मेलम्चीमा घरका चार तला माथिसम्म बाढी पुगेको थियो ।

सयौँ घरको निशाना फेला पार्न सकिने अवस्थाको छैन । औषतभन्दा बढी वर्षा भएर यही अक्टोबर ११ बाट मनसुन बाहिरिएको एक हप्तामै झण्डै-झण्डै मनसुन अवधि कै क्षतिको अङ्क पछ्याउँदै बाढी, पहिरो र डुबानले वितण्डा मञ्चायो । प्राप्त विवरणअनुसार मनसुन अवधिमा १३६ जनाको मृत्यु भएको थियो भने ४५ जना मानिस हराइरहेका छन् ।

अहिलेको (असोज ३१ देखि कात्तिक ३) को अवधिमा भारी वर्षापछिको बाढी पहिरो र डुबानमा परेर १०१ को मृत्यु भएको छ भने ४१ जना हराइरहेका छन् ।

खेतबाट भित्र्याउन ठिक्क पारिएको अर्बाैंको धान नष्ट भएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यसपटक मनसुन सकेलगत्तै पश्चिमबाट आउने प्रणाली र बङ्गालको खाडीबाट आएको न्युन चापीय प्रणाली मिसिएर भारी वर्षा भएको हो ।

मौसमविद् पौडेलले भन्नुभयो, “कहिलेकाहीँ यस्ता घटना हुन्छ, यो दुर्लभ घटना हो, विगतमा पनि अक्टोबर महिनामा यस्ता घटना भएको पाइन्छ, भारतको केदारनाथमा पनि मनसुनसँगै यसैगरी दुई प्रणाली मिसिएको थियो ।”

मनसुन बाहिरिँदै गर्दा बङ्गालको खाडीमा एक खालको न्यून चापीय प्रणाली विकसित भएको र त्यसमा अर्काे पश्चिमी वायु पनि सक्रिय भई दुवै प्रणालीको प्रभावले भारी वर्षा हुन पुगेको मौसमविद्को भनाइ छ तर त्यो जलवायु परिवर्तनसँग जोडिने विज्ञहरु बताउँछन् ।

मौसम विज्ञान विभागको जलवायु विष्लेषण शाखा प्रमुख, वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेल यसपालि मनसुन अवधिभर भइराख्ने भन्दा १५ प्रतिशत बढी वर्षा भएको थियो ।

पोष्ट–मनसुनमा पनि यसपाली निक्कै धेरै वर्षा भएको उहाँ बताउनुहुन्छ । मनसुन सकिएपछिको यो वर्षा तीस वर्षको औषत वर्षाभन्दा बढी भएको उहाँको भनाइ छ ।

यस वर्षको मनसुन जुन ११ मा सुरु भएर अक्टोबर ११ मा बाहिरिएको थियो । मौसमविद् डा कँडेल अक्टोबर १ देखि २१ (बिहीबार)सम्म मुलुकका २० वर्षा मापन केन्द्रमा २५३ मिलिमिटर औषत पानी पर्ने बताउनुहुन्छ तर त्यहाँ सरदरमा ३४२ प्रतिशत पानी परेको छ ।

जुन उक्त अवधिमा पर्ने पानीभन्दा १८७ मिलिलिमटर बढी हो । त्यसलाई विष्लेषण गर्दा उक्त अवधिमा २४२ प्रतिशत बढी पानी परेको डा कँडेलले बताउनुभयो ।

गएको सेप्टेम्बरमा दक्षिण एसियाली जलवायु आँकलन मञ्चको बैठकले प्रदेशको १ को दक्षिणी भाग, प्रदेश २, बागमती, लुम्बिनीको दक्षिणी भेगमा अक्टोबरमा बढी वर्षा हुने आँकलन गरेको थियो तर उक्त मोडलले सुदूरपश्चिम र कर्णालीमा कति पानी पर्छ भनेर यकिन गर्न सकेको थिएन ।

“उक्त मोडलले देखाएअनुसार नेपालको पूर्वमा मिल्न आयो सुदूरपश्चिममा भने त्यो सिग्नल देखाएन, बढी पर्न पनि सक्छ नपर्न पनि सक्छ भन्ने थियो, तर त्यस क्षेत्रमा पनि पानी ठुलो पर्‍यो”, डा कँडेलले रासससँग भन्नुभयो ।

गत वर्ष नेपालमा एकदम बढी सुक्खा थियो, त्यसले विभिन्न क्षेत्रमा डडेढोको सामना गर्नुप¥यो । आगो निभाउन हेलिकोप्टर नै प्रयोग गर्नुपरेको थियो ।

उक्त मञ्चले अक्टोबर, नोभेम्बर, डिसेम्बरमा केही बढी पानी पर्छ भन्ने सङ्केत दिए पनि नेपालमा पूर्वानुमान गर्ने प्रविधि राम्रो छैन । कँडेलका अनुसार यस्ता घटना कुनै पनि बेला हुनसक्छ भन्ने नै हो ।

सामान्यतया विगतमा १० वर्षयता जुन १० मा मनसुन भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिन्थ्यो । यस वर्षदेखि मनसुन भित्रिने दिन जुन १३ थियो ।

त्यसको दुई दिनअघि नै मनसुन भित्रिएको थियो भने आठ दिनपछि बहिर्गमन भएको थियो । नेपालमा सरदर वर्षाको आँकडा विष्लेषण गरेर मनसुनको मिति तय गरिनेछ ।

कहिलेकाहीँ केही दिन ढिला र केही दिन चाँडो पनि मनसुन भित्रिने र बाहिरिने हुन्छ । यसपालि पनि त्यही भएको मौसमविद्को भनाइ छ ।

कुनै पनि हालतमा एमसिसी पास हुन्छ: प्रम देउवा

काठमाडौँ-प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा पास हुने बताएका छन्।

बाढी र पहिरोले पुर्‍याएको क्षति अवलोकन गर्न गृह प्रदेश सुदूरपश्चिम पुगेकावेला देउवाले यस्तो बताएका हुन्।

परियोजना पास हुनुपर्ने बताउँदै आएका देउवाले धनगढीमा आज (शुक्रबार) प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् ।

एमसिसी अनुदान परियोजना भएको र परियोजना लागू भएपनि नेपालको कानुनमातहत नै हुने दाबी प्रधानमन्त्री देउवाको रहेको छ ।

उनले भने, ‘एमसिसी पास हुन्छ। यसमा संशोधन आवश्यक छैन। परियोजनाबारे केही झुठा प्रचार गरिएको छ। एमसीसी परियोजना अनुदान हो। यसमा नेपालकै कानून लागू हुन्छ।’ अनुदान परियोजनाका बारेमा अनावश्यक धेरै होहल्ला गरेको देउवाको भनाइ छ।

नेपाली कांग्रेसको आसन्न महाधिवेशन सर्ने अथवा निर्धारित समयमै हुन्छ कि हुँदैन भन्नेबारे सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री तथा पार्टी सभापतिसमेत रहेका देउवाले निर्वाचन समितिलाई सबै जिम्मेबारी दिइएको बताएका छन्।

‘निर्वाचन आयोग भनेजस्तै हाम्रो पार्टीभित्र पनि निर्वाचन समिति छ। त्यो स्वायत्त समिति हो। उहाँहरूको निर्णय सबैले मान्ने हो। उहाँहरूले निर्धारित मितिमै गर्नुभयो भने हुन्छ। सार्ने निर्णय गर्नुभयो भने सर्छ,’ उनले भने।

यता, अर्ली इलेक्सनका सवालमा भने देउवाले गठबन्धनको चाहनाअनुरूप नै यस्ता निर्णय हुने बताउँदै सरकार गठबन्धनले जे भन्छ त्यही हुने बताएका छन्।

बाढी र पहिरोको क्षति अवलोकन गर्न प्रधानमन्त्री गृहप्रदेश सुदूरपश्चिम पुगेका हुन् । देउवा आजै काठमाडौं फर्किने कार्यक्रम रहेको बताइएको छ।

विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरा, डुबानजस्ता प्राकृतिक विपत्तिबाट पीडित नागरिकलाई राहत दिन तत्कालीन र दीर्घकालीन योजना बनाएर सरकार अघि बढ्ने बताउनुभएको छ ।

बेमौसमी वर्षासँगै आएको बाढीपहिरा, डुबान र नदी कटानले पुर्‍याएको मानवीय तथा भौतिक क्षतिको बिहीबार सुदूरपश्चिम प्रदेशमा स्थलगत निरीक्षण अवलोकन गर्नुभएका उहाँले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा विपत्तिबाट पीडितलाई राहत उपलब्ध गराइने र क्षति न्यूनीकरणका लागि तत्कालीन तथा दीर्घकालीन समाधानका उपाय खोजिने बताउनुभएको हो ।

“बेमौसमी वर्षासँगै उत्पन्न विपत्तिले देशभर नै क्षति पुर्‍याएको छ”, उहाँले भन्नुभयो, “ यो वर्षाले सुदूरपश्चिम प्रदेशमा ठूलो क्षति भएको छ, धानबालीमा समेत क्षति पुगेको छ ।”

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्को आकस्मिक बैठकले बाढीपहिरा, डुबानको समस्याबाट पीडित नागरिकलाई राहत दिने निर्णय गरिसकेको उल्लेख गर्दै यस विषयमा काठमाडौँ फर्केपछि पुनः छलफल गरिने बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कोरोनाविरुद्धको खोप लगाउनमा नेपालले पाएको सफलतालाई विश्व स्वास्थ्य सङ्गठनले धन्यवाद दिएको उल्लेख गर्दै नेपालमा कोरोना रोकथाम हुँदै जाँदा बेलायतलगायत अन्य देशले ‘भिसा’ खुला गरेको बताउनुभयो ।

अर्को एक प्रश्नको जवाफमा प्रधानमन्त्री देउवाले अमेरिकी अनुदान सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० नेपालको कानूनभन्दा माथि नरहेको तर यसबारे झुठा प्रचार गरिएको बताउनुभयो ।

पार्टीको महाधिवेशनका सन्दर्भमा सोधिएको प्रश्नमा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “पार्टीको महाधिवेशन प्रक्रिया सुरु भइसकेको छ, निर्वाचन समतिले निष्पक्ष भएर चुनाव गराउने भएकाले यो काममा पार्टी सभापतिको भूमिका हुँदैन ।”

उहाँ वर्षासँगै उत्पन्न बाढीपहिरो, डुबान, नदी कटानबाट डोटी, बझाङ, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्लामा भएको क्षतिको बिहीबार स्थलगत निरीक्षण अवलोकन गरेर आज काठमाडौँ फर्किनुभएको छ ।

प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्रीहरु एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर सहभागी हुनुहुन्थ्यो ।

यही असोज ३१ गतेदेखि तीन दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरा र डुबानका कारण सुदूरपश्चिम प्रदेशमा आजसम्म ३१ को मृत्यु भइसकेको छ भने २३ जना बेपत्ता भएका छन् ।

१७ घरमा पूर्ण क्षति पुगेको छ । तराई क्षेत्रका कैलाली र कञ्चनपुर जिल्लामा भएको डुबानले हजारौँ परिवार विस्थापित भएका छन् भने ठूलो क्षेत्रफलको जग्गामा रोपिएको बर्खे धानबाली नष्ट भएको छ ।

खेतमै उम्रियो धान

भिजेको धान खेतमै उम्रियो

निरन्तर परेको पानीले भिजेर कैलालीको गोदावरी नगरपालिकाको मझगाउँका किसान भोजराज बडूको खेतमै उम्रिएको धान । तीन दिनसम्म परेको पानीले जिल्लामा ठूलो क्षेत्रफलको जग्गामा गरिएको धानबाली भिजेर नष्ट भएको छ । तस्बिरः सिद्धराज भट्ट-रासस

Paddy grown in the field of Bhojraj Badu, a farmer of Mazhagaun in Godavari Municipality of Kailali. The rain that fell for three days has soaked the paddy crop in a large area of ​​land in the district. Photo: Siddharraj Bhatt-Rastriya Samachar Samiti

खेतमै उम्रियो धान

लालझाडी गाउँपालिकाको बल्मीकास्थित खेतमा काटेर सुकाइएको अवस्थामा पानीले भिजेर उम्रेको धान । निरन्तर परेको पानीले काटेको धान भिजेपछि किसानले ठूलो नोक्सानी व्यहोर्नु परेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु-रासस

Paddy grown after soaking and drying in a field in Balmika of Laljhadi village. Farmers have to bear huge losses after the paddy was soaked by the continuous rains. Photo: Rajendra Prasad Paneru- Rastriya Samachar Samiti

न्यादी हाइड्रोपावरको शेयर बाँडफाँट २ लाख ९ हजार २ सय ५० जनाले पाए १० कित्ता

काठमाडौँ-न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ ।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो ।

कम्पनीले निष्काशन गरेको आइपिओमा कूल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये दुई लाख नौ हजार २५० आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरका २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।

निष्काशित शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल लमजुङको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

आयोजना निर्माणको कूल अनुमानित लागत रु छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने कम्पनीले जनाएको छ ।

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको बेवसाइट (मेरो शेयर)मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मागिन विश्वासको मत

काठमाडौं-मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती प्रदेशसभाको बैठकमा विश्वासको मत मागेकी छन् ।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मतमागेसँगै प्रस्तावमाथि छलफल सुरु भएको छ ।

बैठकमा विश्वासको मत माग्दै मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतीबारे बताइन् ।

एमाले विभाजन भएर एकीकृत समाजबादी गठन भएसगै बागमती प्रदेश सरकार अल्पमतमा परेको हो ।

कांग्रेस सुधारको बाटोमा बढ्न खोजेको आभाष हुन थालेको छ: नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस सुधारको बाटोमा अगाडि बढेको बताउनुभएको छ ।

नेपाली कांग्रेस भिमाद नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले कांग्रेस सुधारको बाटोमा अगाडि बढ्न खोजेको आभाष हुन थालेको बताउनुभयो ।

“कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत देशभर महाअभियान चलिरहेको छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कांग्रेसमा लहर आएको छ, यसले नेपालमा लोकतन्त्रको भविष्य सुनिश्चित छ भन्ने आभाष हुन थालेको छ ।” उहाँले तल्लो तहबाटै कांग्रेसमा आकर्षण बढेको उल्लेख गर्दै कांग्रेसलाई सुधार र सिद्धान्तको बाटोमा अगाडि बढाउने सङ्कल्प देखा परेको छ भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले भन्नुभयो, “सुदूरपश्चिमदेखि पूर्वसम्म, हिमालदेखि तराईसम्म कांग्रेसमा नयाँ जागरण देखा परेको छ । यसले निश्चय नै नेपालको राजनीति, लोकतान्त्रिक मान्यता र परिवर्तनलाई संस्थागत गर्न सहयोग पुग्छ ।” उहाँले दुई तिहाई मत प्राप्त कम्युनिष्ट पार्टी विभाजित भए पनि कांग्रेस त्यत्तिकै ढुक्क हुने अवस्था नरहेको बताउनुभयो ।

“कांग्रेसको प्रमुख विपक्षी कम्युनिष्ट पार्टी हो”, उहाँले भन्नुभयो, “अरु फुटे भनेर हामी रमाउने होइन, हामीले आफ्नो सङ्गठन बलियो बनाउनुपर्छ । हामी आफैमा सजग र प्रतिबद्ध भएर अगाडि बढ्नुपर्छ ।”

तनहुँका दशवटै पालिकाबाट विजयी भएर आएका सबै नेता तथा कार्यकर्तामा आफ्नो अनुहार देखेको भन्दै वरिष्ठ नेता पौडेलले यो वा त्यो भनेर कित्ता छुट्याउन नहुनेमा जोड दिनुभयो ।

“कांग्रेसलाई लोकतान्त्रिकरण र रुपान्तरण गर्ने उत्साह लिएर निर्वाचित भएर आएका सबैमा मैले मेरो अनुहार देखेको छु,” उहाँले भन्नुभयो ।

राजनीतिलाई व्यवस्थित गर्ने अभियानमा लाग्नुपर्नेमा नेपाली कांग्रेस तनहुँका सभापति बैकुण्ठ न्यौपानेले जोड दिनुभयो ।

विचार र प्रेरणाको स्रोत बिपी कोइरालापछि रामचन्द्र पौडेल भएको दाबी गर्दै नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले कार्यकर्ताले नेता छान्दा मूल्याङ्कन गर्नुपर्ने र १४औंँ महाधिवेशनमा सही नेतृत्व छनोट गर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेस भिमाद नगरसमितिका सभापति अरविन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति किसान गुरुङ, राष्ट्रियसभा सदस्य प्रकाश पन्थ लगायतले सम्बोधन गर्नुभएको थियो ।

३८ घण्टापछि पुनः सञ्चालनमा दुहबी सबस्टेशन

अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर आज बिहानदेखि सञ्चालनमा ल्याइएको हो ।

“हाम्रो टिमको रातदिनको खटाइ, स्थानीय तह, प्रशासन, सुरक्षाकर्मी, स्थानीय बासिन्दालगायतको सहयोगबाट सबस्टेशनभित्र पसेको पानी फालेर चार्ज गर्न सफल भएका छौँ”, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भन्नुभयो, “अब दुहबी सबस्टेशनबाट निकालिएका लाइनको क्रमशः चार्ज गर्दै त्यस क्षेत्रमा विद्युत् आपूर्ति गरिरहेका छौँ ।”

प्रदेश नं १ का जिल्लामा विद्युत् आपूर्ति गर्ने मुख्य दुहबी सबस्टेशन डुबानमा परेपछि मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुरलगायतका जिल्लामा विद्युत् आपूर्ति बन्द भएको थियो ।

सबस्टेशन सञ्चालनमा आएसँगै अहिले अधिकांश ठाउँको विद्युत् आपूर्ति सुरु भइसकेको छ । उपकरणमा ठूलो क्षति नपुगेकाले आवश्यक सुरक्षात्मक उपाय अपनाएर सबस्टेसन चार्ज गर्न सफल भएको प्राधिकरण दुहबी ग्रिड शाखा प्रमुख राजेश रेग्मीले जानकारी दिनुभयो ।

सबस्टेशनमा रहेका चारवटा पावर ट्रान्सफर्मरको क्षमता २१९ एमभिए छ । यसैगरी वर्षाका कारण विभिन्न स्थानमा रुख ढल्दा बन्द भएको अत्तरिया (कैलाली)–चमेलिया (दार्चुला) १३२ केभी प्रसारण लाइन पनि सञ्चालनमा आएको छ ।

अवरोधलाई हटाएर आजदेखि प्रसारण लाइन सञ्चालनमा आएको छ । प्रसारण लाइन सञ्चालनमा आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लामापर्ने अधिकांश भागमा विद्युत् आपूर्ति पुनः सुरु भएको छ ।

मनाङमा बलिउड चलचित्र ‘उचाइ’ छायाङ्कन

नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ ।

काठमाडौँमा दुई दिनको छायाङ्कन सकाएपछि टोली यहाँ आएको जनाइएको छ ।

चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ ।

सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ ।

नेपालमा अमिताभ बच्चन भने आउनुभएको छैन । स्वास्थ्यले साथ नदिएका कारणले उहाँ आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताउनुभयो ।

छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिनुभएको छ ।

चार जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ ।

अमिताभको नक्कल ९डुप्लिकेट०को भूमिका राजा चौधरीले निभाइरहनुभएको बताइएको छ ।

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ ।

नेपालमा ४० देखि ४५ दिन छायाङ्कन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारीदिनुभयो ।

चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहनुभएको छ ।

हिमाली भेगमा छायाङ्कनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहनुभएको पर्यटन व्यवसायी विनोद गुरुङले जानकारी दिनुभयो ।

कोभिड–१९ र गत असार १ मा आएको बाढीपहिराका कारण आवतजावत ठप्प रहेको जिल्लामा विश्वकै सिने जगतमा ठूलो मानिने बलिउड चलचित्र छायाङ्कन भइरहेको छ ।

माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गरिने जनाएको उहाँले बताउनुभयो ।

जिल्लामा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थान भए-नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरुको टोली आएका थिए ।

यस चलचित्र छायाङ्कनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने अनुमान गरिएको छ ।

राष्ट्र बैंकको हस्तक्षेले बैंक तथा वित्तीय संस्थाहरूको व्याजदर घटन सुरू

काठमाडौं-अप्रत्यासित रूपमा मुद्दती तथा बचतको व्याजदर बढाएका बैंक तथा वित्तीय संस्थाहरूले व्याजदर घटाउन सुरू गरेका छन् ।

नेपाल राष्ट्र बैंकको हस्तक्षेपपश्चात १४ बाणिज्य बैंक, वित्तीय संस्था र फाइनान्स कम्पनीले ब्याजदर घटाउन सुरू गरेका हुन् ।

ब्याजदर करिब १२ प्रतिशतसम्म पुर्‍याएपछि नेपाल राष्ट्र बैंकले मंगलबार साँझ एकीकृत निर्देशन २०७७ संशोधन गर्दै ब्याजदर वृद्धिको सीमा निर्धारण गरेको थियो ।

आक्रमकरूपमा ब्याजदर बढाएर निक्षेप खोसाखोसमा उत्रिएका बैंक तथा वित्तीय संस्थाको उद्देश्यमाथि राष्ट्र बैंकको निर्देशनले धक्का दिएको छ ।

असोजको ब्याजदरलाई आधार मानेर बढीमा १० प्रतिशत ब्याजदर वृद्धि गरी कात्तिकका लागि बैंक वित्तीय संस्थाले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।

संस्थागत मुद्दतीमा दिने ब्याजदर भन्दा सर्वसाधारणलाई मुद्दतीमा दिने ब्याजदरको अन्तर १ प्रतिशतमात्रै राखेर ब्याजदर परिमार्जन गरेका छन् ।

सानिमा र सिद्धार्थ बैंकले असोज महिनाका लागि सबैभन्दा धेरै ब्याजदर बढाएर ब्याजदर युद्दको सुरूआत गरेका थिए ।

असोजमा पर्याप्त मात्रामा निक्षेप संकलन भएपछि कात्तिकमा ब्याज घटाए ।

राष्ट्र बैंकको निर्देशनपछि ती बैंकहरूले ब्याजदरमा पुनस् समायोजन गरेका छन् ।

सानिमा बैंकले ३ महिने मुद्दतीमा सर्वसाधारणलाई ७।०६ प्रतिशत ६ महिनाभन्दा माथिको मुद्दतीमा ९।०६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

संस्थागत मुद्दतीको ब्याजदर ८.०६ प्रतिशत कायम गरेको छ भने संस्थागत बोलकबोलमार्फत दिने ब्याजदर ७.७७ प्रतिशत निर्धारण गरेको छ । सानिमा बैंकले साधारणतर्फ ४.५ प्रतिशत ब्याजदर दिने भएको छ ।

सिद्धार्थ बैंकले साधारण बचततर्फ ४.४५ देखि ५.४५ सम्म ब्याजदर कायम गरेको छ भने मुद्दतीमा सर्वसाधारणका लागि ९.३६ र संस्थागत निक्षेपकर्ताका लागि ८.३६ प्रतिशत पुर्याएको छ ।

यसअघि सानिमा र सिदार्थ बैंकले ब्याजदर बढाएर मुद्दतीको ब्याजदर १० प्रतिशतभन्दा माथि पुर्‍याएका थिए ।

सानिमा र सिद्धार्थ बैंकको ब्याजदर वृद्धिको असर सबैभन्दा धेरै हिमालयन बैंक र एनआईसी एसिया बैंकलाई पर्‍यो ।

ती बैंकको निक्षेप खोसिएपछि हिमालयन बैंकले कात्तिकका लागि सबैभन्दा धेरै संस्थागत निक्षेपको ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म पुर्‍यायो भने एनआईसी एसियाले सबै प्रकारको मुद्दतीको ब्याजदर ११.१० प्रतिशत घोषणा गरेको थियो ।

एनआईसीले साधारण बचतको ब्यादजर समेत बढाएर ६.१० प्रतिशत पुर्‍यायो । कोभिड १९ का बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहँदा यस बैंकले साधारण बचतको ब्याजदर घटाएर करिब १.५ प्रतिशतमा पुर्‍याएको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनपछि यस बैंकले ब्याजदर घटाएको छ । साधारण बचतको ब्याजदर ५ देखि ७ प्रतिशत पुर्‍याएको छ भने सबैप्रकारको मुद्दतीको ब्याजदर घटाएर ९.३६ प्रतिशत कायम गरेको छ ।

यसैगरी हिमालय बैंकले नयाँ ब्याजदरको विवरण आफ्नो वेवसाइटमा हालसम्म प्रकाशन गरेको छैन ।

नेपाल राष्ट्र बैंकको निर्देशनका कारण १४ वटा ब्याजदर बढाएका वाणिज्य बैंकहरूले आजैबाट लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गर्दैछन् ।

यसैगरी ग्लोबल आईएमई बैंकले साधारण बचततर्फ ४.५० ब्याजदर निर्धारण गरेको छ । मुद्दतीतर्फ ९.३६ प्रतिशत र संस्थागततर्फ बोलकबोलसहितको ब्याजजर ८.३६ प्रतिशत निर्धारण गरेको छ ।

बाणिज्य बैंकको सिको गर्दै ब्यादजर बढाउने विकास बैंक तथा फाइनान्स कम्पनीले पनि ब्याजदर घटाएका छन् ।

रिलायन्स फाइनान्स कम्पनी, सम्बृद्धि फाइनान्स कम्पनी, सांग्रिला बिकास बैंकले केन्द्रीय बैंकको निर्देशनअनुसार ब्याजदर घटाएका छन् ।

सामलिङ पावरको सात लाख ३० हजार कित्ता आइपिओ बिक्री खुला

सामलिङ पावर कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता रु एकसय अङ्कित मूल्यमा रु सात करोड ३० लाख मूल्य बराबरको सात लाख ३० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को शेयर बिक्री खुल्ला गरेको हो ।

निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड र दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।

बाँकी रहेको छ लाख ७८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आजदेखि आवेदन दिन पाउने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले यही कात्तिक ८ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए कात्तिक १८ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।

कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माइखोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

उक्त आयोजना निर्माणको कूल अनुमानित लागत रु दुई अर्ब हुने र प्रतिमेगावाट लागत रु २१ करोड तीन लाख पाँचहजार हुने जनाइएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा ईक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आईआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङ अनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ ।
–––