रामचन्द्रले बोलाएको बैठक प्रकाशमानद्वारा वहिस्कार

रामचन्द्रले बोलाएको बैठक प्रकाशमानद्वारा वहिस्कार

काठमाडौं-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले बोलाएको बैठक पूर्व महामन्त्री प्रकाशमान सिंहले वहिस्कार गरेका छन् ।

यस अघि पौडेल समूहसँग लगातार छलफल गरिरहेका सभापतिका आकांक्षी सिंह पछिल्लो समय पौडेल समूहसँग असन्तुष्ट बनेका छन् ।

असन्तुष्ट सिंहले आज दिउसो २ बजेका लागि पौडेल समूहले बोलाएको बैठकमा आफू उपस्थित नहुने जानकारी गराएका छन्।

वरिष्ठ नेता पौडेल गठबन्धन दलको समन्वय समितिको संयोजक बनेपछि सभापति शेरबहादुर देउवाको कार्यकर्ता भएको टिप्पणी गरेका थिए।

सरकारका कामकाजमा सहज बनाउन भन्दै सत्तारुढ दलहरुले कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति बनाएपछि नेता सिंहको यस्तो किसिमको धारणा आउनुलाई धेरैले महाधिवेशनसग जोडेर हेरेका छन् ।

सिंहले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा बनाईएको राजनीतिक समन्वय समितिको विरोध समेत गरेका छन् ।

सिंहलाई उद्धृत गर्दै एक नेताले पौडेलको कुनै समूह नरहेको र देउवाको विकल्पमा आफूले कांग्रेस सुदृढीकरण अभियान चलाउने बताएको जानकारी दिए।

सिंहले पौडेल समूहमा पछिल्लो समय सामूहिक छलफल नहुने र एकलौटी हुने गरेको पनि आरोप लगाएका छन्।

पार्टीको १३ औं महाधिवेशनमा पौडेल सभापति लड्दा प्रस्तावक रहेका सिंह १४ औं महाधिवेशनमा भने पौडेलको साथ छोडेर आफ्नो छुट्टै समूह बनाउने योजनामा रहेको ति नेताले बताए।

पछिल्लो समय पौडेल र सिंहका बीच दूरी बढ्दै गएको छ। आफूले सभापतिमा सघाए पनि पौडेलले अहिले सहयोग नगरेको सिंहको गुनासो छ।

पछिल्ला केही सार्वजनिक कार्यक्रमहरुमा सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेल दुवैले पार्टी हाँक्न नसक्ने टिप्पणी गर्दै आएका छन्।

रामचन्द्रले बोलाएको बैठक प्रकाशमानद्वारा वहिस्कार

राष्ट्रिय सभाको चुनावमा एमाले ‘क्लिन स्वीप’: माधवकुमार नेपाल

राष्ट्रिय सभाको चुनावमा एमाले ‘क्लिन स्वीप’: माधवकुमार नेपाल

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभा तथा रिक्त रहेको पदको चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ पार्ने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चार कर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले नै ओलीलाई ठेगान लगाइसकेको समेत बताएका छन् ।

गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर एमालेलाई ‘क्लिन स्वीप’ पार्ने नेता नेपालले बताएका हुन् ।

साथै उनले उच्च स्तरीय राजनीति संयन्त्र काम गर्नका लागि बनाइएको बताएका छन् ।

न्यायलयको सन्द्रभमा सञ्चारकर्मीले राखेको प्रश्नमा नेता नेपालले प्रधानन्यायाधीश र न्यायाधीशको राजीनामा माग्नु ‘वाहियात’ कुरा भएको र रिस पोख्नु बाहेक केही नभएको प्रतिक्रिया दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना निर्णय गर्ने पाँच जना न्यायाधीशको राजीनामा दिनु पर्छ भन्दै प्रतिपक्षी एमालेले विरोध गरिरहेको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले राम्रो नदेख्ने संस्कार भएकाले विरोध गर्ने गरेको प्रतिक्रिया दिएका छन् ।

उनले भने ‘गठबन्धन फुट्छ भन्ने हल्ला फिँजाइएको छ,’। ‘ उच्च स्तरीय राजनीति संयन्त्रले त्यसलाई पनि दरिलो बनाउँछ ।’

आफ्नो पाटीको लहर देखेर अरू शक्ति आत्तिएको समेत उनले बताएका छन् ।

विप्लव तथा वैद्यसँग बाम एकता गर्ने विषयमा छलफल भइरहेको तथ्य नेता नेपालले उजागर गरेका छन् ।

बिचार मिल्नेहरूसँग एकता गर्न सकिने उनको भनाइ रहेको थियो ।

राष्ट्रिय सभाको चुनावमा एमाले ‘क्लिन स्वीप’: माधवकुमार नेपाल

दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

काठमाडौँ-बढ्दो ऊर्जाको मागलाई सम्बोधन गर्ने लक्ष्यका साथ सरकारले उच्च क्षमताका प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको छ ।

नेपाल विद्युत् प्राधिकरणले १३२ केभी क्षमताको प्रसारण लाइनलाई वितरण लाइन बनाउने घोषणा गरिसकेकाले उच्च क्षमताका प्रसारण लाइन अत्यावश्यक बन्न पुगेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २३ वटा ४०० केभी क्षमताका प्रसारण लाइन अध्ययनको विभिन्न चरणमा रहेको जानकारी दिएको छ ।

नेपाल र भारतबीच विद्युत् आदान प्रदानका लागि अन्तरदेशीय प्रसारण लाइनदेखि देशभित्रै उत्तर दक्षिण करिडोर जोड्ने गरी विभिन्न आयोजना अगाडि बढाइएको छ ।

त्यस्तै पूर्वदेखि पश्चिमसम्म बिजुली आदान प्रदानका लागि पनि उच्च क्षमताका आयोजना निर्माणका लागि आवश्यक तयारी गरिएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालय मातहतको विद्युत् विकास विभागमा ४०० केभी क्षमतामा प्रसारण लाइन निर्माणका लागि परेको आवेदन हेर्दा पनि एउटा सकारात्मक सन्देश दिएको छ ।

प्राधिकरण, राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी क्षेत्रले पनि ठूला क्षमताका प्रसारण लाइन निर्माण गर्ने प्रस्ताव गरेका छन् ।

प्रसारण ग्रीड कम्पनीले इन्डो नेपाल बोर्डर ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणको अध्ययन गरिरहेको छ ।

कैलालीको नेपाल–भारत सीमा क्षेत्रमा कूल २७ किलोमिटर लामो उक्त प्रसारण लाइन निर्माण हुनेछ ।

सो प्रसारण लाइनले दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रसारण गर्नेछ ।

यस्तै अरुण करिडोरमा सोही कम्पनीले ३५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ ।

सो प्रसारण लाइनले दुई हजार २६० मेगावाट बिजुली प्रसारण गर्नेछ ।

सरकारी स्वामित्वको सो कम्पनीले भेरी करिडोरमा नलगाड–मैनताडा ७५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि अध्ययन गरिरहेको छ ।

सो प्रसारण लाइनले दुई हजार ४०० मेगावाट बिजुली प्रवाह गर्दछ ।

छिन्चुदेखि बुटवलसम्म कूल २१६ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन एससी पावर कम्पनीले अध्ययन गरिरहेको छ ।

सो प्रसारण लाइनले ८६० मेगावाट बिजुली प्रवाह गर्नेछ ।

प्राधिकरणले दुधकोशी जलाशयको बिजुली प्रवाहका लागि ९१ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

सो प्रसारण लाइनले ६०० मेगावाट बिजुली प्रवाह गर्नेछ ।

नेपाल र चीनबीच विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण प्रसारण लाइनको अध्ययन अन्तिम चरणमा

उत्तरी छिमेकी देशसँग नेपालको प्रसारण प्रणाली जोड्ने गरी प्रस्ताव गरिएको ८० किलोमिटर लामो रातमाटे–रसुवागढी ४०० केभी क्षमताको प्रसारण लाइनको अध्ययन अन्तिम चरणमा पुगेको छ ।

नेपाल र चीनबीच विद्युत् आदान प्रदानका लागि महत्वपूर्ण मानिएको सो प्रसारण लाइनको अध्ययनको काम अन्तिम चरणमा पुगेको सम्बन्धित आयोजनाले जनाएको छ ।

प्राधिकरणले नै बुढीगण्डकी करिडोरमा ८५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रस्ताव गर्दै अध्ययन गरिरहेको छ ।

तिङ्ला हबदेखि ढल्केबरसम्म १५५ किलोमिटर, दमौली, कुश्मा बुर्तीबाङ हुँदै रुकुमको बाफीकोटसम्म २०५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइनको अध्ययन भइरहेको छ ।

यी सबै प्रसारण लाइनले दुई हजार ५०० मेगावाटका दरले बिजुली प्रसारण गर्नेछन् ।

प्राधिकरणले नै अध्ययनको काम गरिरहेको अन्य आयोजनामा न्यू बुटवल कोहलपुर १५० किलोमिटर र दोधारा–दैजी ९३ किलोमिटर लामो प्रसारण लाइन छन् ।

ती आयोजनाले एक हजार ९३३ मेगावाट बिजुली बोक्नेछन् ।

सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले फुकोट कर्णाली र किमाथाङ्का अरुणमा ४०० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्रस्ताव गरेको छ ।

प्राधिकरणको सहायक कम्पनीमार्फत अगाडि बढाइएको माथिल्लो अरुणको विद्युत्गृहदेखि ६.५ किलोमिटर लामो प्रसारण लाइन निर्माणको पनि अध्ययन भइरहेको छ ।

प्राधिकरणले नै लमही–छिन्चु ९४ किलोमिटर, सितलपाटी–इनरुवा १३० किलोमिटर तथा अरुण हबदेखि दुधकोशी ११५ किलोमिटर लामो प्रसारण लाइन निर्माणका लागि आवश्यक प्राविधिक अध्ययन गरिरहेको छ ।

ती प्रसारण लाइनले चार हजार ४०० मेगावाटसम्म बिजुली प्रसारण गर्नेछन् ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले बझाङ पश्चिम सेती ७२ किलोमिटर र पश्चिम सेती–धारा १५५ किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माण गर्ने भएको छ ।

ती आयोजना पनि अध्ययनका विभिन्न चरणमा छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार उत्तर दक्षिण करिडोरमा उच्च क्षमताका प्रसारण लाइन निर्माणको कामलाई रणनीतिकरूपमा अगाडि बढाइएको छ ।

काठमाडौँको नाङ्लेभारेदखि नुवाकोट रातमाटे हुँदै बुटवल पुग्ने ३१२ किलोमिटर लामो प्रसारण लाइन निर्माणमा जटिलता उत्पन्न भएको छ ।

सो परियोजनामा अमेरिकी सहयोग रहनेछ । एमसिसीको सहयोगमा अगाडि बढाउन लागिएको आयोजना राजनीतिक चक्रव्यूहमा फसेको छ ।

तीमध्ये केही उच्च क्षमताका प्रसारण लाइन अध्ययन सकिन लागेका छन् भने केहीको प्रारम्भिक अध्ययनको क्रममा छन् ।

नेपालमा प्रसारण लाइन निर्माण गर्नु आफैँमा सबैभन्दा चुनौतीपूर्ण काम हो ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको भनाइमा हरेक प्रसारण लाइनको एउटा टावर निर्माण गर्नु नै एउटा आयोजना बराबर हो ।

नेपालमा विशेषगरी वन क्षेत्रको जग्गा प्रयोग, सरकारी तथा निजी जग्गा प्राप्ति, प्राविधिक तथा अन्य स्थानीय समस्याको जञ्जालमा आयोजनाहरु फसेका छन् ।

लामो समयदेखि निर्माण सुरु भएका आयोजनाहरु रुग्ण बनिरहेका छन् ।

काठमाडौँ उपत्यकामा नै जग्गा प्राप्तिमा समस्या भएपछि विगत लामो समयदेखि काम हुन नसकेको अवस्था छ ।

अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि त्यसको प्रभाव नेपालमा पनि परेको छ ।

देशभित्रै उत्पादन भएको बिजुली खपत गर्नका लागि पनि ठूलादेखि मझौला प्रसारण लाइन निर्माण जरुरी छ ।

सहयोग उपलब्ध नहुने अवस्थाका कारण प्रसारण लाइन आयोजनाहरु एक पछि अर्को गर्दै समस्यामा फसिरहे

तर, समस्या यति धेरै छ कि, भनिसाध्ये छैन ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)का अध्यक्ष कृष्णप्रसाद आचार्यका अनुसार सरकारले सहजीकरण गर्नु त परै जाओस् कुनै पनि सहयोग उपलब्ध नहुने अवस्थाका कारण प्रसारण लाइन आयोजनाहरु एक पछि अर्को गर्दै समस्यामा फसिरहेका छन् ।

विभिन्न सात मन्त्रालय, २३ विभागमा धाउनुपर्ने अवस्थाका कारण आयोजना समयमै सम्पन्न हुन सकेका छैनन् ।

प्राधिकरणले नै निर्माण गरिरहेका आयोजना समस्यामा फसेका छन् ।

जलविद्युत् आयोजना निर्माण सम्पन्न भई बिजुली उत्पादन गरिसकेको भए पनि प्रसारण लाइन नहुँदा खेर गइरहेको छ ।

रामेछापको गज्र्याङ–खिम्तीमा अवस्था यस्तै देखिएको छ ।

लामो प्रयासपछि बल्ल सोलु करिडोर प्रसारण लाइन निर्माण प्रक्रिया अगाडि बढेको छ ।

तर, भरतपुर बर्दघाट खण्डमा दुई वटा टावर निर्माण हुन नसक्दा पूर्वको बिजुली पश्चिम नेपाल पठाउन समस्या भइरहेको प्राधिकरणको भनाइ छ ।

ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल प्रसारण लाइन निर्माणमा देखिएको जटिलतालाई समग्रतामा सम्बोधन गर्ने गरी प्रयास भइरहेको बताउनुहुन्छ ।

सरकारले अत्यावश्यक प्रसारण लाइन निर्माणमा देखिएको जटिलता फुकाउन शीघ्र निर्णय गर्नुपर्ने ऊर्जा उद्यमीको माग छ ।

दुई दर्जन उच्च क्षमताका प्रसारण लाइन निर्माण हुँदै

निगमका महाप्रबन्धक विरुद्ध नाराबाजी गर्दै निगम घेराउ

निगमका महाप्रबन्धक विरुद्ध नाराबाजी गर्दै निगम घेराउ

काठमाडौँ-सत्तारुढ दल निकट ६ विद्यार्थी संगठनले आयल निगमको कार्यालय घेराउ गरेका छन्।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा उनिहरुले कार्यलय घेराउ गरेका हुन्।

विद्यार्थीहरुले आयल निगमको केन्द्रीय कार्यालय टेकु पुगेर कार्यालय घेराउ गरेका हुन्।

आयल निगमका महाप्रबन्धक सुरेन्द्र पौडेलविरुद्ध नाराबाजी गर्दै विद्यार्थी निगमको कार्यालय घेर्न पुगेका छन्।

उनीहरुले तत्काल पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका छन्।

निगमका महाप्रबन्धक विरुद्ध नाराबाजी गर्दै निगम घेराउ

आज पनि सबै खालका मुद्दामा पेसी

आज पनि सबै खालका मुद्दामा पेसी

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।

उहाँले आठवटा इजलासमा पेसी तोक्नुभएकामा सातवटा संयुक्त र एउटा एकल इजलास रहेको छ ।

पेसी तोकिए पनि सुनुवाइ भने प्रारम्भ भएको छैन ।

प्रधानन्यायाधीशले मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्दै आउनुभएको थियो ।

सर्वोच्चमा यही कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ नभए पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफूसक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।

सर्वोच्चमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ नभएर न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

अदालत परिसरमा नेपाल बार एशोसिएशनको धर्नाका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आज पनि सबै खालका मुद्दामा पेसी

समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दै

समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ-नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्ने तय भएको छ ​।

आज दिउँसो २ बजे पार्टीको आठौं स्थायी कमिटीको बैठक बस्ने तय भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।

आज कात्तिक २७ र २८ गते बस्ने केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकका प्रस्तावहरु अनुमोदन गर्ने उद्देश्यले स्थायी कमिटी बैठक बस्न लागेको उनले बताए ।

बैठकले एमालेसहितका विभिन्न कम्युनिष्ट पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका, प्रवेश गर्ने तयारीमा रहेकाहरुको जिम्मेवारी र भूमिकाबारे निश्चित मापदण्ड निर्धारण गर्ने प्रवक्ता खतिवडाले बताएका छन् ।

स्थायी कमिटीले निर्धारण गर्ने उक्त मापदण्ड केन्द्रीय कमिटी बैठकमा पेश गरिने उनले जानकारी दिएका छन् ।

उनका अनुसार बैठक काठमाडौँको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने तय भएको छ ।

समाजवादी पार्टीको स्थायी कमिटी बैठक आज बस्दै

प्रम देउवा र कानुनमन्त्री बडूबिच न्यायालयको बिषयमा छलफल

प्रम देउवा र कानुनमन्त्री बडूबिच न्यायालयको बिषयमा छलफल

काठमाडौँ-न्यायालयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्री दिलेन्द्र बडूबिच बालुवाटारमा छलफल भएको छ ।

शुक्रबार विहान देउवाले कानुनमन्त्री बडूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

विहीबार वरिष्ठ अधिवक्ताहरूलाई कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि देउवाले बडूलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

विहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता, राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्व अध्यक्ष प्रेम खड्का र महान्यायधीवक्ता खमबहादुर खाती, पूर्णमान शाक्य लगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।

उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए ।

तर बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकारले अगाडि बढ्ने बताएका थिए ।

न्यायालयमा देखिएको विवादलाई नजिकबाट नियालिरहेको भन्दै जनता न्याय पाउनबाट बन्चित भएकोमा सरकारको ध्यानाकर्षण भएको बताएका थिए ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई शुक्रबार सर्वोच्च अदालतमा प्रवेश गर्न नदिने घोषणाका साथ धर्ना दिइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भने वकिलहरूको अवरोध छिचोल्दै सर्वोच्च अदालत प्रवेश गरेका छन् ।

उनी सर्वोच्च अदालतको १ नम्बर गेट हुँदै १० बजेर ५२ मिनेट जाँदा अदालत प्रवेश गरेका हुन् ।

नेपाल बार एसोसिएसनका वकिलहरूले सर्वोच्चको मुख्य गेटमा धर्ना दिँदै उनलाई प्रवेश गर्न नदिएपछि उनी चोरबाटो हुँदै अदालत प्रवेश गरेका हुन् ।

बार एशोसिएशनको आन्दोलनकै कारण प्रधानन्यायाधीश जबराले शुक्रबार आफूलाई इजलासमा राखेका छैनन् ।

बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सबै इजलास बहिष्कार गर्ने घोषणा गरेको छ ।

बिहीबार सर्वोच्च परिसरमा प्रहरीले कानुन व्यवसायीमाथि गरेको हस्तक्षेपको विरोधमा शुक्रबार बार एशोसिएसनले बन्दी प्रत्यक्षीकरणसहित सबै मुद्दाका बहसमा सहभागी नहुने घोषणा गरेको हो ।

प्रम देउवा र कानुनमन्त्री बडूबिच न्यायालयको बिषयमा छलफल

नेकपा समाजवादी काठमाण्डौको अध्यक्ष कुसुम कुमार कार्की

नेकपा समाजवादी काठमाण्डौको अध्यक्ष कुसुम कुमार कार्की

नेकपा एकीकृत समाजवादी काठमाण्डौ जिल्ला कमिटीको अध्यक्षमा कुसुम कुमार कार्की चयन भएका छन ।

बिहिवार बसेको नेकपा एकीकृत समाजवादीकाठमाण्डौ जिल्ला कमिटीको विस्तारित बैठकले कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

नेकपा एसका केन्द्रीय अध्यक्ष माधव कुमार नेपालले अध्यक्ष कार्की सहित नया कमिटीलाई सपथ ग्रहण गरेका छन ।

काठमाण्डौ महानगरपालिका वडा नं ७ मा भएको भेलाले कार्कीलाई अध्यक्षमा चयन गरेको हो।

यस अघि अध्यक्ष रहेका बसन्त मानन्धर पोलिट न्युरो सदस्य बनेपछि सचिव रहेका कार्की अध्यक्ष बनेका हुन् ।

नेकपा समाजवादी काठमाण्डौको अध्यक्ष कुसुम कुमार कार्की

संसद् बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

संसद् बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

काठमाडौँ-मुलुकको कानुन बनाउने प्रमुख जिम्मेवारी संसद्को भएता पनि नेपालमा भने ८० प्रतिशतभन्दा बढी कानुन अझै पनि कार्यपालिका मातहतका निकायले बनाउने गरेको पाइएको छ ।

कुन प्रयोजनका लागि ती कानुन कहाँ बनाइएको, कहाँ दर्ता हुन्छ, त्यसको ठिक सदुपयोग भए-नभएको भन्ने पनि यकिन लेखाजोखा नै पाइन्न ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिका सभापति रामनारायण बिडारीले कानुन निर्माण गर्ने मुख्य जिम्मेवारी रहेको संसद्ले २० प्रतिशत मात्र कानुन बनाउँदै आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशमा अहिले करिब ३५० ऐन र ३०० जति नियमावली अभ्यासमा छन् तर हजारौँका सङ्ख्यामा रहेका निर्देशिका, मापदण्डजस्ता सहायक कानुन संसद् बाहिर बनाइन्छ, यसमा सुधार नल्याउने हो भने सुशासनविरुद्धका गतिविधि, अराजकता र भ्रष्टाचार यहीबाट हुरु हुन्छ ।”

संवैधानिक निकाय हुन् वा कार्यपालिका मातहतका मन्त्रालय, विभाग र कार्यालयले बनाएका ती कानुनको के–कस्तो सदुपयोग वा दुरुपयोग भएको छ भन्नेबारे संसद् बेखबर छ ।

नेपालमा प्रत्यायोजित अधिकारअनुरुप बनाइएका त्यस्ता नियमावली, निर्देशिका, कार्यविधि, मापदण्ड, व्यवस्थापन, परिपत्रलगायतका कानुन संसद् वा संसदीय समितिबाट अनुमति लिएर लागू गर्ने वा अडिट गराउने अभ्यास छैन ।

उहाँ भन्नुहुन्छ, “प्रत्येक मन्त्रालयले निर्देशिका बनाउने आफैँले काम गर्ने कस्तो अचम्म ! निर्देशिकाकै भरमा अनुदान र सहयोगका नाममा राज्यकोषबाट अर्बाै खर्च गरिएको छ ।”

राज्यको ढुकुटी दुरुपयोग गर्ने ढङ्गबाट निर्देशिकाजस्ता त्यस्ता कति सहायक कानुन बनेको भन्ने अत्तोपतो नभएपछि संसदीय समितिले मन्त्रालयसहित सम्पूर्ण निकायसँग बनेका त्यस्ता सहायक कानुनको विवरण १५ दिनभित्र उपलब्ध गराउन पत्रचार गरिसकेको छ ।

पछिल्ला दिनमा त्यस्ता निकायले पठाएका पुराना ऐनले समितिका दराज भरिएको जानकारी दिएको छ ।

विकासभन्दा भ्रष्टचार मौलाएको तथा बजेट र ऐन कार्यान्वयन नभएको सम्बन्धमा गरिएको अध्ययनमा सहायक कानुन पनि ठूलो बाधक देखिएको जानकारी दिइएको छ ।

सभापति बिडारी भन्नुहुन्छ, “नीहित स्वार्थका लागि मन्त्री र सचिव नै पिच्छे निर्देशिका बनाउने गलत प्रवृत्तिलाई रोक्न अब सहायक कानुन किन, कसले र कहिले बनाउन पाउँछ भनेर नयाँ ऐन ल्याउन गृहकार्य भइरहेको छ ।”

संसद्ले अधिकार दिएपछि मात्र अरुले कानुन बनाउन सक्ने भएकाले दिएको अधिकार सदुपयोग गरे कि दुरुपयोग भनेर सदनले नै हेर्नुपर्छ, तर त्यो अभ्यास भने नेपालमा अझै छैन ।

प्रजातन्त्र अभ्यासमा जननी मानिएको बेलायतले मात्र होइन अष्ट्रेलिया र क्यानाडाको सदनले सहायक कानुन परीक्षण गर्दै आएका छन् ।

सदनले सबैभन्दा बढी नियमावली र निर्देशिकाजस्ता सहायक कानुन बनाउने राष्ट्र बैंक, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई सहायक कानुन निर्माण गर्न अधिकार प्रत्यायोजित गरेता पनि सदुपयोग भए÷नभएकोबारे अध्ययन सुरु गरिसकेको छ ।

त्यसका लागि संसदीय समितिले कतिपय ऐनमै देखिएका कमीकमजोरी सच्याउन तथा भए-गरेका अभ्यासबारे अध्ययन गरी विज्ञसँगको राय परामर्शसमेत अघि बढाएको छ । केही निकायमा अध्ययनका क्रममा समितिले प्रत्यायोजित अधिकारको दुरुपयोगको आशङ्कासमेत गरेको छ ।

राज्यकोषबाट रकम खर्च गर्ने र कसुरको दण्ड सजाय तोक्ने विषय पनि निर्देशिका र मापदण्डजस्ता सहायक कानुनका आधारमा भएका घटनाप्रति समितिले असहमति प्रकट गरेको छ ।

कसुरको सजाय पनि सहायक कानुनबाटै गरिए मानवअधिकार र मौलिक हकविपरीत हुनेछ । कसैलाई सजाय दिने र कर लिने विषय संसद्बाट बनाएको कानुनबाट मात्रै हुन्छ ।

अप्रकाशित अवस्थामै कानुन लागू गर्न पाइन्नँ

नेपाल कानुन आयोगका पूर्वअध्यक्ष माधव पौडेल भन्नुहुन्छ, “जनतालाई लागू गर्ने कानुन अप्रकाशित अवस्थामै कार्यान्वयन गर्न पाइन्नँ, जनताले हेर्न पाउनुपर्छ, प्रायः निर्देशिका र विनियमावली अप्रकाशित छन ।”

प्रत्यायोजित विधायन ऐनको दायराभित्र असल नियतले प्रयोग होस् भन्नेमा सबैको एउटै मत हुन आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “ऐनले नदेखेको कुरामा हात नहालोस् ।

संसद्लाई जानकारी नदिई लागू नहोस्, जनतासगँ सम्बन्धित कानुन सरोकारवालालाई जानकारी गराइयोस् ।”

नेपाल कानुन समाजका अध्यक्ष तीर्थमान शाक्यले जनप्रतिनिधिका रूपमा रहेका सांसदले सदनमा मुख्य जिम्मेवारीको विषयमा केन्द्रित भई पर्याप्त समय दिएमा बाहिर सहायक कानुन निर्माण स्वतः कम हुँदै जाने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “ऐनमात्र होइन नियमावली, निर्देशन, मापदण्ड र कार्यविधि बनाउने विषयमा पनि सासदले पर्याप्त समय र चासो दिनुपर्छ, बनेका कानुनको अडिट गर्नुपर्छ ।”

संसद् बाहिर बनेका ८० प्रतिशत कानुनबारे सदन बेखबर

जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह

जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनगणनालाई सफल बनाउन राज्य, सरकार र नागरिक संवेदनशील हुनुपर्ने बताउनुभएको छ ।

उहाँले आज जारी गर्नुभएको सन्देशमा यस राष्ट्रिय अभियानमा सत्यतथ्य सूचना उपलब्ध गराएर सहयोग गर्न सबैको कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।

आगामी दिनमा मुलुकमा विकास तथा निर्माणका साथै नागरिकलाई सामाजिक सेवा सुरक्षा र सुविधाको व्यवस्था गर्नका लागि आवश्यक आधारभूत तथ्याङ्क सङ्कलन गर्न जनगणना महत्वपूर्ण माध्यम रहेको केसीद्वारा जारी सन्देशमा उल्लेख छ ।

सन्देशमा निर्वाचन क्षेत्रको निर्धारण गर्न र पुनःसंरचना गर्न जनगणना एउटा महत्वपूर्ण माध्यम भएको भनिएको छ ।

एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने विश्वास गरिएको जनगणना संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि केसीले सफलताको कामना गर्नुभएको छ ।

प्रत्येक १० वर्षमा गर्ने गरिएको जनगणना आजदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने छ । विसं १९६८ देखि यसको सुरुआत भएको हो ।

जनगणनालाई सफल बनाउन अध्यक्ष केसीको आग्रह

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ ।

बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।

बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६(१)ख मा भएको व्यवस्थानुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ ।

बैंकको मङ्गलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

प्रभु बैंकको शेयर कारोबार रोक्का : नेप्सेले सोध्यो स्पष्टीकरण

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं-नवनियुक्त प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको सपथ खुवाएकी छन् ।

प्रदेश नम्बर १ का परशुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले बिहीबार राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशमा प्रमुख फेर्ने निर्णय गरेको थियो । नेपालको संविधान धारा १६७ बमोजिम उनीहरुले सपथ लिएका हुन् ।

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार

वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार

काठमाडौँ-यस हप्ता वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सामान्य सुधार देखिएको नेपाल बैंकर्स संघको रिपोर्टले देखाएको छ ।

गत हप्ता अर्थात् कात्तिक ५ गतेदेखि १२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ४२ खर्ब ४७ अर्ब निक्षेप संकलन गरेकामा यस हप्ता थप एक अर्ब रुपैयाँ बढी निक्षेप संकलन गरेका हुन् ।

नेपाल बैंकर्स संघले बिहीबार जारी गरेको रिपोर्ट अनुसार गत कात्तिक १२ गतेदेखि कात्तिक १७ गतेसम्ममा कुल ४२ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।

तर, सोही अवधिमा कर्जा मागमा भने बढेको संघले जनाएको छ । समीक्षा अवधिमा एक अर्बले निक्षेप बढ्दै गर्दा अधिकतम ७ अर्बले बढी कर्जा माग आएको संघले बताएको छ ।

अघिल्लो हप्ता कुल ४० खर्ब १८ अर्ब कर्जा लगानी गरेका बैंकहरुले यस हप्ता ४० अर्ब २५ करोड लगानी गरेका छन् । यसले अझैपनि बजारमा तरलता अभावको समस्या रहिरहने संकेत गरेको छ ।

बाँडफाँटको आधा घण्टामै आइपिओ रिजल्ट हेर्न पाइने

बाँडफाँटको आधा घण्टामै आइपिओ रिजल्ट हेर्न पाइने

काठमाडौँ-अब आइपिओ शेयर बाँडफाँट भएको आधा घण्टामै रिजल्ट हेर्न पाइने भएको छ ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससि)ले आफ्नो सिस्टम स्तरोन्नति गरेकाले आइपिओ शेयर बाँडफाँट भएको आधा घण्टामै रिजल्ट हेर्न पाइने भएको हो।

सिडिएससिका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले आधा घण्टामै नतिजा हेर्न मिल्ने गरी व्यवस्थापन गरिएको जानकारी दिएका छन् ।

उनले अब आइपिओको रिजल्ट हेर्न घण्टौँ कुर्नु नपर्ने बताएका हुन्। पछिल्लो समय सिस्टम अपग्रेड गर्दै उक्त सुविधा उपलब्ध गराउन लागिएको आधा घण्टामै नतिजा हेर्न पाइने जानकारी उनले दिएका छन् ।

सिडिएससिले स्तरोन्नति गरेको सिस्टमको परीक्षण मध्ये भोटेकोसीको शेयर बाँडफाँटमै गरिसकेको जानकारी पनि उनले दिएका छन् ।

पछिल्लो समय एकै पटक जति मानिसले नतिजा हेर्ने गरेका थिए त्यसभन्दा बढीले हेर्ने गरी त्यसको क्षमताको विकास गरिएको उनले बताएका छन् ।

पहिले आइपिओ शेयर बाँडफाँट भएको घण्टौ सम्म कुर्नु पर्ने स्थिती रहेको थियो ।

बाँडफाँटको आधा घण्टामै आइपिओ रिजल्ट हेर्न पाइने

प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण

प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण

काठमाडौँ-नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीशकै निर्देशनमा कानुन व्यवसायीमाथि आक्रमण भएको बताएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले यस्तो बताएको हो ।

आज सर्वोच्च परिसरमा शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीमाथि प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएसनका पूर्व उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, उपाध्यक्ष एवं अधिवक्ता रक्षा वस्याल, महासचिव एवं अधिवक्ता लीलामणि पौडेल, पूर्व केन्द्रीय सदस्य रमणकुमार कर्ण, अधिवक्ता मुकुन्द भट्टराई लगायतका कानुन व्यवसायी घाइते भएका थिए ।

‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरी लोकतन्त्रप्रेमी, न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलीमा विभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधानन्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालतभित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गरेको’ बार एशोसिएशनले ठहर गरेको छ ।

‘विज्ञप्ति जारी गर्दै बार एशोसिएसनले प्रधानन्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भर्त्सना गर्दछ भनिएको छ । एशोसिएसनले ‘यस्तो हर्कत भविष्यमा नदोहोर्याउन चेतावनीसमेत दिएको छ ।

आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै बहिष्कृत प्रधानन्यायाधीशको विरोधमा नेपाल बार एशोसिएशन र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ ।

बार एशोसिएसनले शुक्रबार सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्धामा बहस पैरवी नगर्ने, बेन्च बहिष्कार गर्ने र न्यायाधीशलाई समेत प्रधानन्यायाधीशले तोक्ने वा तोकेका इजलासमा नबस्न अपिल गरेको छ ।