९५ जना डिएसपीको सरूवा

९५ जना डिएसपीको सरूवा

काठमाडौँ-प्रहरी प्रधान कार्यालयले प्रहरीका ९५ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।

बिहीबार प्रहरी प्रधान कार्यालयले ९५ जना डिएसपीको सरूवा गरेको हो ।

मंसिर महिनाको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको निर्णय अनुसार सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, डोटीका अंगुर जिसीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा मकवानपुर अन्वेषण योजना शाखामा सरूवा भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा, टंगालका अनन्त राम शर्माको सिंहदरबार सुरक्षा गणमा सरूवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुपम श्रेष्ठको प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरूवा भएको छ ।

इलाका प्रहरी कार्यालय ईटहरीका अर्जुन केसीको काभ्रेस्थित मानवस्रोत व्यवस्थापन शाखामा सरूवा भएको छ ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी अपिलराज बोहराको प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय महाराजगन्जमा सरूवा भएको छ।

उनको सट्टामा केन्द्रीय अनुसन्धान ब्युरोका अनिल घिमिरेलाई पठाइएको छ।

प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालका कृष्णराज ओझाको केन्द्रीय अनुसन्धान ब्युरो पिलर २ आर्थिक अपराध अनुसन्धान शाखामा सरूवा भएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका इन्द्रबहादुर मल्लको नेपाल प्रहरी विशेष सुरक्षा गण, सुर्खेतमा सरूवा गरिएको हो ।

सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप

काठमाडौं-सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप भएको छ ।

वकिल र प्रहरीबीच भएको झडपमा ६ जना वकिल घाइते भएका छन् ।

नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएको बताइएको छ ।

प्रहरीको लाठ्ठी चार्जबाट वकिलहरु घाइते भएका हुन् ।कानूनी व्यवसायीहरुले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको राजीनामा माग्दै प्रदर्शन गरिरहेका छन् ।

मूल ढोकामा विरोध प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।

त्यसपछि अदालत परिसरमा वकिल र प्रहरीबीच घम्साघम्सी भइरहेको छ ।

भिड नियन्त्रणका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले सशस्त्र प्रहरी बलको टोली पनि परिचालन गर्न आदेश दिएका छन् ।

पूर्वमन्त्री ढकालद्वारा विश्व चर्चित गुरु रवि शंकरसंग भेट

बैंगलौर- पूर्वमन्त्री ढकालले विश्व चर्चित गुरु रवि शंकरसंग भेट गर्नु भएको छ । भारतको भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले विश्व चर्चित गुरु रवि शंकर सँग भेट गर्नु भएको छ ।

बैंगलौर स्थित गुरु रवि शंकर को आर्ट अफ लिभिङ्ग आश्रममा भएको भेटमा ढकालले गुरु रवि शंकरले विश्वमा मध्यात्मीक जागरण, मानव कल्याण र शान्तिको लागि पुर्याउनु भएको अतुलनीय योगदानको प्रंशसा गरे ।

अध्यक्ष ढकालल गुरु रबि शंकरको शिक्षाले नेपालका पनि लाखौ नागरिक लाभान्वीत भएकोमा नेपाली जनताको तर्फबाट धन्यवाद ज्ञापन गरे ।

विश्व शिखर सम्मेलनको विशेष दुतसमेत रहेका ढकालले गुरु रवि शंकरलाई विश्व शान्ति सम्मेलनमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्न आयोजकको तर्फ बाट आमन्त्रण पत्र हस्तान्तरण गर्नु गरे।

गुरु रवि शंकरले नेपालका चचित युवा नेतालाई आफ्नो आश्रममा स्वागत गर्न पाउदा खुशी व्यक्त गर्दै सम्पूर्ण नेपाली हरुमा र विश्वशान्ती अभियानका सदस्यहरुमा सुख शान्ति र समृद्धि होस भनी कामना गरे ।

करीब ३० मिनेट भएको भेटघाटमा नेपाल भारत बिचको पारस्परिक सम्बन्ध लाई थप सुदृढ बनाउने विषय देखी दक्षिण एशिया र सिङ्गो एशिया प्रशान्त क्षेत्रको शान्ति र स्थायित्वको बारेमा पनि छलफल भएको थियो ।

गुरु रवि शंकरले यूनिभर्सल पिस फेडरेशनका संस्थापक महामहिम डा .सन म्योङ्ग मून र श्रीमती डा. हाक जा हान मुनको विश्व शान्तिको अथक प्रयासको उच्च प्रशंसा गर्दै मदर मूनको सुस्वास्थ्य दिर्घायुको कामना गरे ।

गुरु रवि शंकरलाई भेट्न पूर्व मन्त्री ढकाल, परिवार दलका प्रवक्ता संतोष कुमार पौडेल र दक्षिण एसियाली मामीलाका संयोजक कृष्ण अधिकारी सहभागि थिए ।

विश्वका १५५ राष्ट्रमा करिब ३७ करोड भक्त भएका गुरु रबि शंकर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पनि अति निकट व्यक्तित्व हुन् ।

पूर्वमन्त्री ढकाल ले केहिदिन अघिमात्र बिहार स्थित नालन्दा विश्वविद्यालयमा आयोजित विशेष सभामा सम्बोधन गर्नुको साथै बिहारका मुख्य मन्त्री नितेश कुमार लगायतका नेताहरुसँग भलाकुसारी समेत गर्नुभएको थियो ।

सर्वोच्च अदालतमा आज पनि तोकियो सबै खालका मुद्दामा पेसी

काठमाडौँ-प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।

प्रधानन्यायाधीश राणाले नौ इजलासमा पेसी तोक्नुभएको छ ।

तीमध्ये एउटा पूर्ण इजलास, पाँच संयुक्त र तीन एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।

यही कात्तिक ७ गतेदेखि प्रधानन्यायाधीश राणामाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो ।

सर्वोच्च अदालतमा कात्तिक ८ गतेयता मुद्दाको सुनुवाइ हुन सकेको छैन । बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानुनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको उल्लेख गर्दै न्यायाधीशलाई पनि संविधान र कानुनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्नुभएको छ ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । बेन्च बस्न नसक्दा न्यायको पर्खाइमा बसेका सेवाग्राहीहरू मर्कामा परेका छन् ।

१०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्छ : सचिव ज्ञवाली

नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ ।

आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत हुन्छ ।

केन्द्रीय सदस्यमा धेरै साथीहरू आकाङ्क्षी भएकाले मतदान हुन्छ ।” केन्द्रीय सदस्य र अन्य कुनै एक-दुई पदबाहेक अन्य पद सर्वसम्मतमै टुङ्गिने उहाँको भनाइ थियो ।

महाधिवेशनका लागि तयारी तीव्र पारिएकाले आज केन्द्रीय पदाधिकारी महाधिवेशन उद्घाटनस्थल र बन्द सत्रस्थलसमेत अनुगमन गर्न आएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम कात्तिक २७ गते हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “२७ गते देशभरि र प्रवासमा समेत प्रतिनिधि छनोट गरिने छ ।”

महाधिवेशनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पाहुनालाई निम्ता गर्ने काम सकिएको सचिव ज्ञवालीले जानकारी दिनुभयो ।

पार्टीभित्र अहिले देखिएका केही समस्या समाधान गरेर अघि बढ्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “पालिका र जिल्लामा त्यस्तो समस्या छैन ।

केही साथीको कार्यविभाजनमा असन्तुष्टि रहेको छ । यो समाधान हुँदै जान्छ ।” पार्टी आज एकताको मनोविज्ञान र १० बुँदे पछि जोडिएका साथीहरूको मनोविज्ञानका आधारमा अघि बढ्ने जानकारी दिँदै उहाँले बताउनुभयो, “१०औँ महाधिवेशन अध्यक्ष ओलीको नेतृत्वमा सर्वसम्मत अघि बढ्छ ।”

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो ।

चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अघ्र्य दिएपछि यो पर्व सम्पन्न भएको हो ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् ।

विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वका साथ मनाउन थालियो ।

भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनःनिर्माणपछि भने यहाँ छठ मनाउन रोक लगाइएको छ ।

बेहुलीझैँ सिँगारी राजधानीका गौरीघाट गुह्येश्वरी क्षेत्र, कमलपोखरीलगायत स्थानमा छठ मनाइएको छ ।

यी स्थानमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ सम्पन्न भयो । बर्तालुले जलाशयमा डुबी सूर्यदेवसहित नदीको पूजा आराधना गरी उदाउँदो सूर्यलाई अघ्र्य दिइएको हो ।

बुधबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिन पनि हजारौँ व्रतालुको भीड लागेको थियो ।

कमलपोखरीमा भने यस वर्ष काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा छठ पर्व सम्पन्न गरिएको छ ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।

सूर्यको दर्शन गर्दा भक्तहरु लुगा सहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ््ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

सूर्यषष्ठीसमेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उहाँले जानकारी दिनुभयो ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वरबधु प्राप्तिको कामनाका लागि गर्छन् ।

सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ । सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ ।

महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रह“दा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको भन्ने भनाई छ ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् ।

फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास समेत गरिन्छ ।

गुह्येश्वरी गौरीघाट क्षेत्रमा ६७५ वटा छठ घाटअर्थात् पूजास्थल निर्माण गरिएको थियो ।

तीमध्ये ३० वटा विपन्न वर्गलाई पर्व मनाउन निःशुल्क दिइएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंहले जानकारी दिनुभयो ।

अरु पूजास्थल रु एक हजार १०० शुल्क लिई व्रतालुलाई दिइएको थियो ।

महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै

किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ ।

महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ ।

जन्मजयन्तीका अवसरमा धार्मिक प्रवचन, माङहिम (मन्दिर)मा पूजा अर्चना, फाल्गुनन्दका शालिक तथा प्रतिमामा माल्र्यापण, महागुरु फाल्गुनन्दले दिनुभएका उपदेश तथा सत्यधर्म मुचुल्काको परिचर्चा, लिम्बू समुदायको सांस्कृतिक, धार्मिक, भाषिक पहिचानको जगेर्ना र सम्वद्र्धनलगायतका विषयमा छलफल तथा विमर्श हुने गरेका छन् ।

प्रत्येक वर्ष पूर्वी नेपालको एक स्थानमा जन्मजयन्तीको मूल कार्यक्रम आयोजना हुने गरेको छ ।

किराँत धर्म तथा साहित्य उत्थान सङ्घसहित विभिन्न सङ्घ संस्थाको आयोजनामा मूल कार्यक्रम आयोजना गर्ने गरिएको छ ।

यस वर्ष मोरङको केराबारीमा मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द लिङदेन मिङ्सो माङहिमको उद्घाटन एवं महागुरु फाल्गुनन्दको पूर्णकदको सालिक अनावरण गर्ने कार्यक्रम रहेको किराँत धर्म तथा साहित्य उत्थान सङ्घले जनाएको छ ।

उक्त कार्यक्रममा महागुरु फाल्गुनन्दका उत्तराधिकारी धर्मगुरु आत्मानन्द लिङदेन सेइङ तथा गुरुआमा साँवा पवित्रहाङमा लिङदेनबाट धार्मिक प्रवचनको कार्यक्रमसमेत राखिएको छ ।

जन्मजयन्तीको समारोह हुने स्थानमा प्रत्येक वर्ष कात्तिक २३ गते गालीश्राम बगाउने र २४ गते सेवा पूजा गर्ने प्रचलन रहेको फाल्गुनन्दको तपोभूमि लब्रेकुटी क्षेत्र र किराँत धर्मका क्षेत्रका क्रियाशील युवा सुवास तुम्बापोको भनाइ छ ।

विसं १९४२ कात्तिक २५ गते हाल इलामको माङसेबुङ गाउँपालिका वडा नं २ पर्ने इभाङको चुक्चिनाम्वामा आमा हंशमति र बुबा जगनबाज लिम्बूको कोखबाट साहिला सन्तान उहाँको जन्म भएको थियो । जन्मको नरध्वज लिङ्देन रहनुभएका उहाँ कर्मले फाल्गुनन्द भएर उदाउनुभएको पाइन्छ ।

१६ वर्षमा वर्मामा सैनिकको रुपमा काम गर्न थाल्नुभएका फाल्गुनन्द १९१४ को पहिलो विश्वयुद्धमा समेत सामेल हुनुभएको थियो ।

तर मानव–मानव बीचको लडाइँ र मारामारबाट शान्ति नहुने बुझेर सैनिक जागीर त्यागी नेपाल फर्केर हाल पाँचथरको फिदिम नगरपालिका–३ चोकमागूमा पर्ने लब्रेकुटीमा आई साधना र तपस्यामा तल्लीन हुनुभएको थियो ।

तत्कालीन अवस्थामा धर्म, संस्कार र संस्कृतिमा देखिएका विकृति, विसङ्गति र कुरीतिलाई हटाई मौलिक धर्मसंस्कृतिको सम्वद्र्धनका लागि विसं १९८८ वैशाख २५ गते तत्कालीन १० लिम्बुवान १७ थुमका जिम्मेवार अगुवाको भेला गराई १० बुँदे सत्य धर्म मुचुल्का लागू गराई आजीवन किराँत धर्मको प्रचारमा लाग्नु भएपछि फाल्गुनन्द महागुरुका रुपमा चर्चित हुनुभएको थियो ।

लिम्बू समुदायले फक्ताङलुङ भन्ने गरेको ताप्लेजुङमा रहेको कुम्भकर्ण हिमशृङ्खला किराँतीको मोक्षस्थल रहेको परिभाषित एवं प्रचारित गरेर उहाँले मोक्षप्राप्तिको मार्गसमेत देखाउनुभएको थियो ।

किराँतीको मौलिक धर्म र संस्कृतिको प्रचार गर्दै नेपालका विभिन्न जिल्लासहित भारत, तत्कालीन सिक्किम र भुटानमा समेत पुग्नुभएपछि राणा शासकले उहाँलाई देशद्रोहीको मुद्दा समेत लगाएका थिए ।

फाल्गुनन्दको विसं २००५ मा हाल पाँचथरको फाल्गुनन्द गाउँपालिकामा पर्ने इम्वुङको हाङयक भन्ने स्थानमा देहवसान भएको थियो ।

उहाँको समाधिस्थल फाल्गुनन्द र फिदिमको सिमानामा पर्ने सिलौटीमा रहेको छ ।

फाल्गुनन्दलाई सरकारले २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो ।

उहाँको स्मृतिमा २०५० सालमा सरकारबाट रु १५ को हुलाक टिकटसमेत प्रकाशित छ ।

उहाँको जन्मजयन्तीमा प्रदेश नं १ मा सार्वजनिक बिदा हुन थालेको छ ।

आफ्नो मौलिकता बिर्सन नहुने, धर्म, संस्कार र संस्कृतिका नाममा तडकभडक गर्न नहुने, आफ्नो गच्छे (क्षमता)अनुसार धर्म, संस्कार र संस्कृति मनाउनुपर्ने, मदिरा सेवन गरी आर्थिक र सामाजिक रुपले भ्रष्ट हुन नहुने, पशु बलि गर्न नहुने, नैवेद्य तथा फलफूल चढाए तागेरानिङ्वाभुमाङ (परमेश्वर भगवान) खुशी हुने, छोरी चेलीको विवाह गर्दा रित लिन नहुने, सिरिजङ्गा लिपिको प्रयोग, मातृभाषाको प्रयोग र संरक्षण गर्नुपर्ने, स्वदेशी कपडाको प्रयोग गर्नुपर्नेजस्ता मौलिक सामाजिक परम्पराका लागि महागुरु फाल्गुनन्दले अभियान चलाउनुभएको किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्रसिं थेगिमको भनाइ छ ।

उहाँलाई किराँत धर्मका पथ प्रदर्शक, अहिंसाका पूजारी, मानव कल्याण र विश्व शान्तिका पक्षधर साधक तथा दार्शनिक भन्ने गरिन्छ ।

महागुरु फाल्गुनन्द किराँत धर्मका महान गुरु तथा समाज सुधारक हुनुहुन्थ्यो ।

फाल्गुनन्दलाई किराँत भाषामा ‘मुहिगुम आङसिमाङ’ भनिन्छ ।

उहाँले नारी जातिलाई पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर लैङ्गिक समानताको वकालत गर्नुभएको थियो ।

इलामको माङसेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गर्नुभएको माङहिम अहिले किरात धार्मिकस्थलको रुपमा प्रसिद्ध छ भने पाँचथरका लबे्रकुटी, सिलौटीलगायत स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको लब्रेकुटी क्षेत्र तथा किराँत धर्मको संरक्षणमा सक्रिय ध्रुवकुमार तुम्बापोको भनाइ छ ।

तराई र पहाडलाई जोड्दै छठ

चितवन- तराई र पहाडलाई जोड्दै छठ तराईमूलका बासिन्दाको पर्वको रुपमा रहेको छठले पछिल्लो समय तराई र पहाडलाई जोडने काम गरेको छ ।

छठ पूजामा पहाडीमूलका समुदायको सहभागिता बढ्दै गएपछि यसले सेतुको काम गरेको हो ।

जिल्लाको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं २०२२ मा सात–आठजना मात्रै भक्तजन हुने गर्दथे ।

अहिले उक्त स्थानमा हजारौं भक्तजनले छठपूजा गर्ने गरेको जानकार बताउँछन् ।

सुरुआती समयमा तराईमूलका समुदायले मात्र मनाउँदै आएको यो पर्व पछिल्लो समयमा अन्य मूलका समुदायले पनि मनाउन थालेपछि भक्तजनको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

विषेशगरी पहाडी मूलका समुदायको यसपर्वतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।

विसं २०२२ मा सात–आठ परिवार मात्रै पूजा गर्नुहुने गरेको सम्झदै राजकुमार गुप्ताले भन्नुभयो, “अहिले यसको महत्व बढ्दै गएकाले भक्तजनको चाप पनि बढ्दै गएको छ ।”

त्यो समयमा छठ पर्वको महत्व के हो भन्ने बारेमा बुझ्न नसक्दा यसपर्व मान्ने मानिस तराई समुदायको मात्रै हुने गरेको भए पनि अहिले आएर सबै मूलका समुदायले छठपर्व मनाउन थालेका छन् ।

तराईबाट यहाँ बसोबास गर्नेको चाप बढ्नु र अन्य समुदायले पनि यो पर्वलाई महत्व दिन थालेको उहाँले बताउनुभयो ।

न्य धर्म मान्नेलेसमेत छठको पूजा गर्न थाले

हिन्दू धर्मालम्बी भन्दापनि अन्य धर्म मान्नेलेसमेत छठको पूजा गर्न थालेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “छठीमाताको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ ।” यस पर्वमा पूजा गर्नाले रोग निको हुने जनविश्वास रहँदै आएको छ ।

छठ पर्वको दिन दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गर्ने र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने गर्दछन् ।

छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कितन गर्ने गर्दछन् ।

अन्य भने साँझमा अघ्र्य चढाउने र बिहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यो पर्ब मनाउने गर्दछन् ।

गुप्ताले भन्नुभयो, “अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अघ्र्य चढाउँदा स्वास्थ्य राम्रो हुने जनविश्वास छ ।”

भरतपुर महानगरपालिका–१८ निवासी पहाडीमूलकी ७० वर्षीया पुजनदेवी घिमिरेले विगत १० वर्षदेखि हरेक वर्ष छठको पूजा गर्दै आउनुभएको छ ।

१० वर्षअघि गरेको भाकल पूरा भएपछि सधैँ पूजा गर्दै आएको उहाँले बताउनुभयो ।

अहिले मेला व्यवस्थापनका लागि तराई सामुदायिक सेवा समितिका पूर्वअध्यक्ष कृष्णराज गुप्ताको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको छ ।

समितिका सदस्य राजकुमार कानुका अनुसार मेला व्यवस्थापनको काम भइरहेको छ ।

उहाँले पछिल्लो समयमा पहाडिया समुदायका व्यक्ति पनि छठपूजा गर्न आउन थालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले छठपूजाका लागि पहाडिया समुदायबाट १० प्रतिशत आउने गरेका छन् ।”

विस्तारै प्रचारप्रसार र विश्वासका कारण यसको महत्व बढ्दै गएको उहाँले बताउनुभयो ।

छठपर्वका लागि यहाँको नारायणी नदी किनार सिँगारिएको छ ।

नदी किनारमा टेन्ट टाँङ्गर्ने, पूजाआजाका लागि स्थान बनाउने, नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको छ ।

समितिका सल्लाहाकार राजकुमार गुप्ताले विगत वर्ष कोरोनाका कारण सबैले घरघर मनाएको छठपर्व यसवर्ष कोरोना सङ्क्रमण कम भएकाले स्वास्थ्य मापदण्डको पालना गरी नदी किनारमा मनाउन लागिएको हो ।

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया

काठमाडौँ सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।

नेपाल र गणतन्त्र कोरियाबीच बुधबार यहाँ सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठकमा सरकारले परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान अनुरोध गरेको हो ।

साथै सरकारले इपिएसअन्तर्गत नेपालका लागि कोटा सङ्ख्या बढाउन आग्रह पनि गरेको छ ।

बैठकमा दुई पक्षबीच कोभिड–१९ विरुद्ध प्रतिकार्य र पुनरुत्थान, व्यापार, लगानी, रोजगारी, ऊर्जा, प्रविधि, शिक्षा, पर्यटन, संस्कृति र जनस्तरको सम्बन्धका क्षेत्रमा सहकार्यलाई थप प्रवद्र्धन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर थापाले बताउनुभयो ।

“दुवै देशको अर्थतन्त्रमा कोरियामा रहेका नेपाली कामदारको योगदान महत्वपूर्ण रहेको स्वीकार गर्दै दुवै पक्षले रोजगार इपिएससम्बन्धी समझदारी पत्रलाई चाँडोभन्दा चाँडो नवीकरण गर्नुपर्नेमा सहमति जनाएका छन्,” परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं नेपाली प्रतिनिधिमण्डलका नेता थापाले भन्नुभयो ।

बैठकमा नेपाल–कोरिया सम्बन्धको समग्र पक्षबारे विचारविमर्श हुनाका साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवद्र्धन गर्न उच्चस्तरीय भ्रमण आदानप्रदान र संलग्नतामा जोड दिइएको थियो ।

छलफलका क्रममा दुवै पक्षले संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०लगायत क्षेत्रीय तथा बहुपक्षीय तहमा पारस्परिक लाभका क्षेत्रमा सम्भावित सहयोगबारे पनि विचार आदान प्रदान गरेका थिए ।

थापा नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाल सरकारका विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीको सहभागिता थियो भने र कोरियाली प्रतिनिधिमण्डलमा दक्षिण एसियाली तथा प्रशान्त मामिला ब्यूरोका महानिर्देशक सङ्ग्र्योल लीसहित कोरियाली परराष्ट्र मन्त्रालय, यहाँंस्थित कोरियाली दूतावासका अधिकारी, कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) नेपाल कार्यालयका देशीय निर्देशक र प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

बुधबार नै परराष्ट्र सचिव भरतराज पौड्यालसँग महानिर्देशक सङ्ग्र्योल ली लीले शिष्टाचार भेट गर्नुभयो । भेटमा आपसी हितका विविध विषयमा छलफल भएको थियो ।

भोलिदेखि जनगणनाः सम्पूर्ण तयारी पूरा

काठमाडौँ-हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक १५ गतेबाट सुरु हुँदैछ ।

यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो ।

जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ ।

सूचीकृत भइसकेका र कुनै कारणले छुटेकासमेत सबै परिवारमा गणक पुगी १५ दिनभित्र सबै व्यक्तिको विस्तृत विवरण सङ्कलन गर्न करिब ४० हजार गणक र आठ हजार ५०० सुपरीवेक्षक परिचालन गर्न लागिएको सो अवसरमा जानकारी दिइयो ।

जनगणना सफल बनाउन केन्द्रदेखि वडा तहसम्म विभिन्न जनगणना समन्वय तथा सहजीकरण समिति गठन गरिएको विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार जनगणना सञ्चालन गर्न सात प्रदेशमा जनगणना कार्यालयसहित ८७ जिल्ला जनगणना कार्यालय र त्यसअन्र्तगत ३४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् ।

८० वटा प्रश्नावली

जनगणनाको फाराममा ८० वटा प्रश्नावली रहेका छन् । एक परिवारलाई प्रश्नावली भर्नाका लागि औसतमा २० मिनेट समय लाग्ने बताइएको छ ।

यस क्रममा देशभरका छ हजार ७४३ वडाबाट आधारभूत आर्थिक, सामाजिक, सेवा, सुविधा, पूर्वाधार र विपद् अवस्थाको समेत जानकारी सङ्कलन गरी सामुदायिक प्रश्नावली भरिने र यसबाट सम्पूर्ण वडाको वास्तविक जानकारी पाउन सकिने महानिर्देशक श्रेष्ठले बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग कूटनीतिक तबरबाट पहल भइरहेको र स्याटलाइट प्रविधिबाट घरधुरी गणना गरी त्यसका आधारमा पनि जनगणना गर्न सकिने उहाँले जानकारी दिनुभयो ।

यसपटकको जनगणनामा काठमाडौँ महानगरपालिकासमेत काठमाडौँ जिल्लाका छ नगरपालिकामा डिजिटल पद्दतिमा आधारित क्यापीविधि प्रयोग गरी ट्याब्लेटबाट विवरण सङ्कलन गरिने र देशभरका अन्य स्थानमा कागजी प्रश्नावली प्रयोग हुनेछ ।

यसपटक विदेशस्थित नेपाली कूटनीतिक नियोगहरुमा इ–सेन्ससविधि अपनाई वेबसाइट एप्लिकेशनबाट नेपाली कर्मचारी तथा आश्रित व्यक्तिको विवरण सङ्कलन गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

महानिर्देशक श्रेष्ठका अनुसार घरपरिवार सूचीकरणका आधारमा यसपटकको जनगणनामा नेपालको जनसङ्ख्या तीन करोड नपुग्ने अनुमान गरिएको छ ।

तीन महिनाभित्र जनगणनाको प्रारम्भिक प्रतिवेदन ल्याइने र पूर्ण विवरण आउन दुई वर्षको समय लाग्ने बताइएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले हरेक दश वर्षको अन्तरालमा गरिने जनगणनाले राष्ट्रिय र स्थानीयस्तरमा आधारभूत जनसङ्ख्याको तथ्याङ्क तयार गरी आवधिक विकास लक्ष्य तथा दिगो विकास लक्ष्यका अनुगमन र मूल्याङ्कनसँग सम्बन्धित सामाजिक, जनसाङ्ख्यिक र आर्थिक सूचकको लागिसमेत सूचना प्रदान गर्न सकिने बताउनुभयो ।

तरलता व्यवस्थाका निम्ति बैंकिङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै

काठमाडौँ-नेपाल राष्ट्र बैंकले बिहीबार रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ ।

बैंकले आगामी मङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागेको हो ।

बजारमा लगानीयोग्य रकमको अभाव रहेकाले तरलता व्यवस्थापनका निम्ति केन्द्रीय बैंकले केही समयअघिदेखि निरन्तर रिपो जारी गर्दै आएको छ ।

बैंकले यसअघि यही महिनामा दुईपटक रिपो जारी गरिसकेको छ ।

बिहीबार जारी हुने रिपोसहित अब रु ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ ।

तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाको कर्जा तथा निक्षेप लगानीमा चाप परेको छ ।

केही बैंक थप ऋण दिनसमेत नसक्ने अवस्थामा पुगेका छन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकको कर्जा निक्षेप अनुपात ९० प्रतिशत हुनुपर्ने व्यवस्था गरेसँगै यसको व्यवस्थापनमा समेत बैंकहरूलाई कठिन परेको छ ।

औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव ८७ प्रतिशत

केन्द्रीय बैंकको पछिल्लो विवरणअनुसार औषत कर्जा निक्षेप अनुपात ८९ दशमलव ८७ प्रतिशत छ ।

चालु आर्थिक वर्षको सुरुआतमा सोचेअनुरुप विप्रेषण प्रवाह नहुनु, आयात बढ्दा बाह्य क्षेत्रमा दबाब पर्नु तथा समयमै सरकारी खर्च नहुँदा वित्त प्रणालीमा तरलताको चाप परेको हो ।

नेपाल बैंकर्स सङ्घको ३५औँ साधारणसभामा मङ्गलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकलाई संयमित भएर ऋण विस्तार र ब्याज समायोजन गर्न आग्रह गर्नुभएको थियो ।

कोरोना महामारीपछि बैंकमा कर्जाको माग बढेको र त्यसलाई सम्बोधन गर्दै अल्पकालीन नाफा लिन खोज्दा तरलतामा चाप परेको वास्तविकतालाई नबिर्सन र ‘बैंकरहरू’मा अनुशासन कायम हुन जरुरी भएको उहाँले अभिव्यक्ति दिनुभएको थियो ।

आफ्नो संस्थाको निक्षेप बढाउन र त्यसलाई अन्य बैंक तथा वित्तीय संस्थामा जान नदिन बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नै निक्षेपमा दुई अङ्कको ब्याजदर तोकेका थिए ।

आफ्नो निक्षेपको सुरक्षा तथा केन्द्रीय बैंकले तोकेबमोजिमको कर्जा निक्षेप अनुपात कायम गर्न बैंकहरूले निक्षेपको ब्याज बढाएको स्वयम् बैंकरहरू नै स्वीकार गर्छन् ।

बैंक तथा वित्तीय संस्थाले ब्याजदरमा असाधारण प्रतिस्पर्धा गरेको भन्दै व्यवस्थित गर्न राष्ट्र बैंकले तीनबुँदे निर्देशन नै जारी गर्नु परेको थियो ।

गभर्नर अधिकारीले ब्याजदर स्वतन्त्र रहोस् भन्ने केन्द्रीय बैंकको चाहना भए पनि परिस्थितिका कारण हस्तक्षेप गर्नु परेको बताउनुभएको थियो ।

हाल तरलता व्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आएका छन् ।

केन्द्रीय बैंकका अनुसार अन्तरबैंक सापटीको दर चार दशमलव ९६ प्रतिशत पुगेको छ ।

त्यस्तै चालु आवमा मङ्गलबारसम्म बैंक तथा वित्तीय संस्थाले रु १३ खर्ब ६२ अर्ब ८८ करोड अस्थायी तरलता सुविधाको प्रयोग गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले यस्ता उपकरणको निरन्तर प्रयोग गरे पनि तरलता व्यवस्थापन भने सहज हुन सकेको छैन ।

प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दज्रयानी

भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दज्रयानी चिह्न प्रदान गर्नुभएको छ ।

नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज आयोजित समारोहमा प्रधानसेनापति शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीबाट सुशोभन गरिएको हो ।

नेपाल–भारतबीच एक–अर्का मुलुकका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने अनुपम परम्परा छ ।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा उहाँ भारतको चार दिवसीय औपचारिक भ्रमणका लागि मङ्गलबार नयाँ दिल्ली जानुभएको थियो ।

भ्रमणका क्रममा महारथी शर्माले विभिन्न भारतीय उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्नुहुने छ ।

महारथी शर्मा भारत भ्रमण सकेर यही कात्तिक २६ गते स्वदेश फर्कनु हुनेछ ।

काठमाडौँ उपत्यकामा छठ (फोटो फिचर)

काठमाडौँ-धार्मिक आस्था, श्रद्धा एवं विश्वासका साथै शुद्धता र सामाजिक सद्भावको उत्कृष्ट पर्व छठअन्तर्गत आज (बुधबार) अस्ताउँदो सूर्यलाई अर्घ दिइदैछ।

अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवहरुप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने छठअन्तर्गत आज ‘सझुका अर्घ’ दिइने भएको हो ।

पछिल्लो समयमा छठ तराई मधेश मात्र नभइ देशकै महत्वपूर्ण पर्वको रुपमा परिचित हुँदै राजधानी काठमाडौंमा समेत भव्यतापूर्वक मनाइदैछ ।

काठमाडौँ गौरीघाटस्थित छठको पूजाको तयारी फोटोमा ।

छठ पूजाको पूर्व सन्ध्यामा सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी

छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी । षष्ठी तिथिका दिन छठको मुख्य दिन मानिन्छ । आज साँझ ब्रतालु नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुग्छन् । निर्जल र निराहार व्रत बसेका उनीहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । तस्बिर:सफल खतिवडा

नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि तीन जनाको निवेदन

काठमाडौँ-नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि मागिएको आवेदनमा तीन जनाले निवेदन दिएका छन् ।

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखाका अनुसार मंगलबार बेलुकीसम्म तीन जनाले निवेदन दिएका हुन्।

अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन महाशाखा प्रमुख सह सचिव रमेश कुमार केसीले मंगलबार बेलुकीसम्म तीन जानको निवेदन परेको जानकारी दिएका छन्।

निवेदन दिनेहरूमा नीरज गिरी, डा. नवराज अधिकारी र अनिल पौडेल रहेका छन् ।

निवेदन दिने गिरी नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।

पूँजी बजारमा लामो समयको अनुभव बोकेका गिरी यस अघि अन्तिम तीनबाट फालिएका थिए।

त्यस्तै निवेदन दिने डा. अधिकारी बोर्डकै उपकार्यकारी निर्देशक हुन् । उनले पनि बोर्डमा निकै लामो अनुभव बोकेका छन्।

त्यस्तै निवेदन दिने अनिल पौडेलले भने आफ्नो बारेमा केही खुलाएका छैनन् ।

निवेदन दिँदा समेत शिलबन्दी पर्ने भएकोले उनी को हुन् भन्ने कुरा अझै नखुलेको मन्त्रालय स्रोतको भनाइ छ।

बोर्ड अध्यक्षमा बिहीबारसम्म निवेदन दिन सकिन्छ। बुधवार सार्वजनिक बिदा परेकोले बाँकीले बिहीबार नै निवेदन दिने बताएका छन् ।

बिहीबार निवेदन दिने तयारीमा रहेकामा नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी गोपाल भट्ट, बीमा समितिका निवर्तमान अध्यक्ष चिरन्जिवी चापाँगाइ,चार्टड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्य,नेपाल स्टक एक्सचेन्जका पूर्व कार्यकारी अधिकृत सीताराम थपलिया लगायत छन्।