जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई बारको आग्रह

काठमाडौँ–नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत आग्रह गरेको छ ।

नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई समेत अनुरोध गरेका हुन् ।

मंगलबार सर्वोच्च अदालतको प्राङ्ग‌णमा एक घण्टे धर्ना कार्यक्रमपछि आयोजित कोणसभामा बोल्दै उनले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनलाई सशक्त बनाउन यही कार्तिक २५ गते बिहीबारदेखि काठमाडौँ उपत्यकाभित्रका सबै अदालतहरुमा २ घण्टा इजलास नबस्ने घोषणा गरे।

उनले बिहान १० बजेदेखि १२ बजेसम्म काठमाडौँ उपत्यकाभित्रको उच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, न्यायाधिकरणमा इजलास नबस्ने निर्णय गरिएको जानकारी दिए ।

अध्यक्ष श्रेष्ठले बारले आह्वान गरेअनुसार सो इजलासमा नबस्न न्यायाधीशहरु, अदालतका कर्मचारीहरुलाई पनि आग्रह गरे ।

उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनीसमेत दिए ।

अध्यक्ष श्रेष्ठले भने, ‘प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूखुसी पेशी तोक्ने काम गरेका छन् ।

न न्यायाधीशको विश्वास जित्न सकेका छन् न बारको विश्वास लिन सकेका छन् ।

उनले आफ्नो प्रोटेक्सनको लागि मिडियामा गएर मेरो फैसला ठीक छ, मैले संवैधानिक परिषदमा ल्याप्चे लगाउने गएको होइन, मैले भाग लिनकै लागि भएको हो भन्ने कुरा जो गर्नुभएको छ, त्यसले न्याय पालिकालाई ठीक ठाउँमा राखेको छैन।’

उनले थपे,‘सेवाग्राहीहरुलाई पनि म विनम्र अनुरोध गर्न चाहन्छु–वर्षौँदेखि तपाईंहरु विचौलियाबाट ध्वस्त हुनुहुन्छ ।

यो विचौलियालाई तोड्नका लागि विचौलियाका जड, विचौलियाका नाइके चोलेन्द्र शमशेर जबरालाई हटाउनका लागि तपाईं सेवाग्राहीहरुको पनि हामीलाई साथ चाहिएको छ। आजसम्म हामीले एक घण्टाको धर्ना कार्यक्रम गरेका छौँ।’

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रधानन्यायाधीशविरुद्धको आन्दोलनलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ गठबन्धनविरुद्ध पनि आन्दोलन गर्न नेपाल बारलाई सुझाव दिए।

प्रधानमन्त्री देउवा र सत्तारुढ गठबन्धनले अहिलेका प्रधानन्यायाधीशलाई भागबण्डा दिएकाले उनीहरुविरुद्धको आन्दोलनलाई पनि बारले अघि बढाउनुपर्ने उनको तर्क थियो।

कानुन व्यवसायीहरुले राजनीतिक दलहरुलाई न्यायालय बचाउने हो भने प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउन सरकार र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुलाई आग्रह पनि गरेका छन्।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले न्यायालय डुब्न लागेको बेला टुलुटुलु हेरेर बस्ने काम नगर्न सचेत गराउँदै सांसद र सरकारलाई संसदमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग लगाउन आग्रह गरे।

सनराइज बैंकद्वारा ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख ४४ हजार ४९९ रुपैयाँ ३९ पैसा रहेको छ ।

६.६५ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड ८८ लाख ९२ हजार ८०८ रुपैयाँ पुग्नेछ।

चीनद्वारा पाकिस्तानलाई अत्याधुनिक युद्धपोत उपहार

एजेन्सी-चीनले पाकिस्तानलाई अहिलेसम्मको सबैभन्दा ठुलो र उन्नत युद्धपोत उपहार स्वरुप प्रदान गरेको छ ।

यसलाई चीन र पाकिस्तानको गहिरिँदो सैन्य सहयोगको उदाहरणको रूपमा हेरिएको छ ।

चिनियाँ सरकारी मिडियाले पनि यसलाई दुई देशबीचको सम्बन्धमा एउटा ठुलो उपलब्धी भएको बताएको छ ।

सो युद्धपोतको निर्माण चीनको स्टेट सिप बिल्डिङ कर्पोरेशनले लिमिटेड (सीएसएससी ) ले गरेको हो ।

कम्पनीले आफ्नो विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शंघाई सहरमा आयोजित एक समारोहबीच पाकिस्तानको नौसेनालाई हस्तान्तरण गरिएको जनाएको छ ।

पाकिस्तानी नौसेनाले चीनको सरकारी अखबार ग्लोबल टाइम्ससँग कुरा गर्दै सो टाइप ०५४ ए.पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको बताएको छ ।

चीनले यस्तै अन्य चारवटा युद्धपोत पाकिस्तानी नौसेनाको लागि तयार गरिरहेको छ ।

यो जहाजलाई प्राविधिकरुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ ।

यस युद्धपोतमा निगरानीको व्यापक क्षमताका साथै जमिनदेखि जमिन, जमिनदेखि आकाश र पानीभित्र मिसाइल हान्न सक्ने क्षमता रहेको बताइएको छ ।

एकीकृत समाजवादी प्रेस सङ्गठनको घोषणा कात्तिक २७ गते काठमाडौँमा

एकीकृत समाजवादी प्रेस सङ्गठनको घोषणा कात्तिक २७ गते काठमाडौँमा

काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही कात्तिक २७ गते काठमाडौँमा घोषणासभा गर्ने भएको छ ।

संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम सार्वजनिक गरिने उक्त सभामा सङ्गठनलाई व्यवस्थित तथा थप व्यावसायिक बनाउन आवश्यक छलफल गरी रणनीति तय गरिने सङ्गठनका नेता विश्वमणि सुवेदीले जानकारी दिए ।

सङ्गठनले हालै जिम्मेवारी प्रदान गरेका प्रदेश इन्चार्ज, सहइन्चार्ज, संयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित सङ्गठनको केन्द्रीय संस्थापकसहित तोकिएका नेताले जिल्ला संयोजकको नाम टुङ्गो लगाइ केन्द्रीय कार्यालयलाई नाम पठाउनुपर्ने छ ।

सोही प्रकारको संरचनाबाट चाँडो प्रदेश कमिटीलाई पूर्णता दिइने छ । त्यसैगरी राष्ट्रिय भेला आगामी पुस ५ गते गरिने भएको छ ।

काठमाडौँ उपत्यका बाहिर गरिने सो भेला मकवानपुर तथा चितवनमा गर्न प्रस्तावित गरिएकाले स्थान भने निश्चित भइसकेको छैन ।

एकीकृत समाजवादी प्रेस सङ्गठनको घोषणा कात्तिक २७ गते काठमाडौँमा

‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

काठमाडौं- रोहित सेट्टीले निर्देशन गरेको बलिउड चलचित्र ‘सूर्यवंशी’ले तीन दिनमा ७७ करोड कमाएको छ ।

भारतीय मिडियाका अनुसार उक्त फिल्मले प्रदर्शन भएकै दिन २६ करोड उठाएको थियो भने दोस्रो दिन २३ करोड र तेस्रो दिन ७७ करोड कमाएको हो ।

शुक्रबारबाट प्रदर्शनमा आएको उक्त फिल्म नेपालमा पनि धेरैले रुचाएका छन्।

कोरोना महामारीपछि पहिलोपटक प्रदर्शनमा आएको सूर्यवंशीले तीन दिनमा ८० करोडको आसपासमा आउने बताइएको छ ।

महामारीपछि उक्त फिल्मले १०० करोड कमाउने पहिलो बलिउड फिल्म बन्ने अनुमान गरिएको छ।

फिल्ममा अक्षयकुमार र कट्रिना कैफको प्रमुख भूमिका रहेको छ। फिल्ममा अजय देवगण, रणवीर सिंहको पनि अभिनय छ।

कोरोनापछि चर्चित फिल्मको रुपमा उक्त फिल्म रहेको देखिन्छ।

‘सूर्यवंशी’ले तीन दिनमा कमायो ७७ करोड

भारतीय सेनाको मानार्थ महारथी दर्ज्यानी चिह्नबाट सुशोभित हुन् प्रधानसेनापति शर्मा दिल्ली प्रस्थान

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा चार दिने औपचारिक भ्रमणका क्रममा दिल्ली प्रस्थान गरेका छन् ।

भारतका स्थल सेनाध्यक्ष जनरल एमएम नरवणेको औपचारिक निमन्त्रणामा शर्मा मानार्थ प्रधान सेनापतिको पदवी ग्रहण गर्न त्यसतर्फ लागेका हुन् ।

शर्माको भ्रमणमा श्रीमती सुनिता शर्मासहित ९ सदस्यीय भ्रमण टोली रहेको छ ।

नेपाली सेनाको मध्य एयर बेश, गौचरमा शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले बिदाई गरेका थिए ।

भारत प्रस्थान गर्नुपूर्व प्रधान सेनापति महारथी शर्मालाई जंगी अड्डामा सम्मान गारत अर्पण गरिएको थियो । उक्त औपचारिक विदाई कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्रा र अन्य राष्ट्रका सैनिक सहचरीहरुको पनि उपस्थिति थियो ।

प्रधानसेनापतिको नियुक्तिपछिको पहिलो विदेश भ्रमणको रुपमा हुन लागेको यस भ्रमणका क्रममा शर्मालाई मंसिर २४ गते भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शर्माले दिल्लीमा आजै भारतीय रक्षा सचिव अजय कुमार, भारतीय चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावत, भारतीय सेनाध्यक्ष जनरल एमएम नरवणे र भारतीय वायु सेनाध्यक्ष एयर चिफ मार्शल भीआर चौधरीसँग भेटघाट गर्नेछन् ।

प्रधानसेनापति महारथी शर्माको भारत भ्रमणको अवधिभर बलाधिकृत रथी बालकृष्ण कार्कीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

मिथिलाञ्चलमा सामा चकेवा पर्व आजदेखि

धनुषा-मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ ।

यसपर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११आँै दिन पूर्णिमाको रात सामा चकेवालाई विसर्जन गरी पर्व समापन गरिन्छ ।

दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् ।

आज बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर दाजुभाइका हातबाट खनेर ल्याएकोे माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामा चकेवा बनाउन थालेका छन् ।

सामा चकेवा बेलुका सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङले रङ्गीचङ्गी बनाइन्छ ।

रङ्गिसकेको सामा चकेवालाई राति रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कुल, धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर १० दिनसम्म गीतसहितको नृत्य गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने गर्दछन् ।

समूहगतरूपमा चेलीबेटी तथा छोरीबुहारीले यसरी गीत गाउने गर्दछन्–

‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हातदश पोखरी खुनाइ दिए, चम्पा फूल लगाइ दिए
सामचको सामचको ऐहा हो,
ऐहा हो,
गुँढ खेतमे भसिया हो’

(अर्थात् गाउँको अधिकारी मेरो दाजु, दश हातको पोखरी खनाइदिनुस्, चम्पा फूल लगाइदिनुस्, सामचको आउनु, उखु खेतमा भासिनु)

दश दिनसम्म यस्तै गीत गाएर सामा चकेवा खेल्दै समूहमै सबैले सबैको दाजुभाइका दीर्घायुको कामना गर्ने गर्दछन् ।

एघारौँ दिन बिहानै सामा चकेवालाई पुनः रङरोगन गरी दिनभर सुकाएर बेलुका दही चिउरा खुवाएर दाजुभाइको फार भराउनाका साथै दाजुभाइबाट सामा चकेवालाई फुटाउन लगाएर बाजागाजाका साथ दिदीबहिनीले वनमा वा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।

संस्कृतिविद् रामभरोस कापडी मानवीय संवेदनाका गहकिला पक्ष समेट्दै मौखिक परम्परामा जीवन्त रहँदै आजसम्म जीवन्त प्रस्तुति भइरहेको यो पर्व विशिष्ट सांस्कृतिक सम्पदा भएको बताउनुहुन्छ ।

उहाँका अनुसार दाजुभाइ, दिदीबहिनीको प्रेमको मुख्य आधार भएको यो पर्वले भाइ–बहिनी र पति–पत्नीको अमर प्रेम, समर्पण, उत्सर्ग र श्रद्धा प्रदर्शन गर्दछ ।

मिथिलाञ्चलका हरेक दिदीबहिनीले सामा चकेवा पर्वलाई निकै मन पराउने र माइतीमै गएर पर्व मनाउने इच्छा गर्ने भएकाले टाढा–टाढाबाट दिदीबहिनी सामा चकेवा खेल्न माइत जाने गर्दछन् ।

जनकपुरधाम–२ की नितु मिश्र भन्नुहुन्छ, “मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामा चकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निकै महत्वपूर्ण हुन्छ ।”

दाजुभाइ तथा दिदीबहिनी नहुनेहरुले पनि टोल–छिमेकका दाजुभाइ तथा दिदीबहिनीसँग मिलेर पनि यो पर्व मनाउने गरेको उहाँ बताउनुहुन्छ ।

यसबाट दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वास रहेको मिश्रको भनाइ छ ।

तराईको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा पनि यो पर्व लोकप्रिय रहेको छ ।

मिथिलाञ्चलमा छठपर्व खरनाको दिनदेखि सामा चकेवा पर्व आगमन हुन्छ भने छठको तयारीसँगै यो पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् ।

यसरी सुरु भयो सामा चकेवा

पद्म पुराणमा उल्लेख भएअनुसार श्यामा र बृन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन् । राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन् ।

तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्वका सम्बन्धमा झुटा कुरा लगाइदिन्छ ।

त्यसपछि कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शङ्का गरी चरी बन्ने सराप दिन्छन् ।

वीरह व्यथा भएका चारुबक्य र श्यामाले महादेवको तपस्या गरेर चकेवा चखेवी बन्न पुग्छ र दुवै प्रेमी चकेवा–चकेवीका रूपमा वृन्दावनमा बस्न थाल्दछन् ।

त्यसैबेला राज्यको भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन् ।

श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिएको र सबैले चुगलाको मुख झोस्नेछन् भनी दिएपछि रिसाएका चूडकले वृन्दावनमै आगो लगाइदिन्छ ।

आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ । आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ ।

यसपछि भगवान् विष्णु साम्वाप्रति खुशी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन् ।

यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रहिआएको छ । यस पर्वमा श्यामा र चारुबक्यको चरारूपमै पूजा गर्ने गरिन्छ ।

भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चकेवा नाम प्रचलित हुन गएको बताइन्छ ।

यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ ।

मन्त्री खतिवडाद्वारा समवेदना प्रकट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले हेटौँडा उपमहानगर कमिटी सचिव तथा अनेरास्ववियुका केन्द्रीय सदस्य गिरिजा अधिकारीको निधनमा समवेदना प्रकट गर्नुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का स्थायी समिति सदस्यसमेत रहनुभएका उहाँले एक शोक शन्देश जारी गर्दै समवेदना प्रकट गर्नुभएको हो ।

अठ्ठाइस वर्षीय अधिकारीको सोमबार करेन्ट लागेर हेटौँडामा निधन भएको थियो ।

मकवानपुर जिल्लाबाट राम्रो सम्भावना बोकेर समाजवादी आन्दोलनमा होमिएका एक सशक्त युवाको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको शन्देशमा उल्लेख गरिएको छ ।

विपरीत गुणका सूर्य र पानीको आराधना गरिने पर्व छठ

काठमाडौँ-विपरीत गुणका सूर्य र पानीको पूजा आराधना गरी मनाइने चार दिने छठ पर्व सुरु भएको छ ।

मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ आज बिहान स्नान गरेसँगै सुुरु भएको हो ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ ।

कार्तिक शुक्ल चतुर्थीका दिन आज बिहान व्रतालुले स्नान गरेसँगै यो पर्वको विधि सुरु हुन्छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।

यस दिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ ।

केही व्रतालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै तामसी खाद्य परिकार नखाई शुद्ध खानपीन गर्छन् ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा विशेषगरी महिलाले छठमा कठोर व्रत गर्छन् ।

तराईमा उत्साहका साथ मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो ।

सूर्य उपासनाको पर्व भएकाले पहाडी समुदाय पनि यसप्रति आकर्षित भएका छन् ।

विसं २०६३ पछि भने काठमाडौँको थापाथली, गुह्येश्वरी, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्व एवं साज सज्जाका साथ यो पर्व मनाउन थालिएको हो ।

यसअघिदेखि नै वाग्मती र विष्णुमती नदी किनारमा छठ मनाउने संस्कृति सुरु भएको थियो ।

कार्तिक शुक्ल चतुर्थीका दिन छठ स्थलमा सरसफाइ एवं स्नान गरेका व्रतालु पञ्चमीका दिनमा निर्जल उपवास बस्छन् ।

यस दिन बेलुकी घरमा खीर बनाई चन्द्रमालाई अर्पण गरी एक छाक खाने गरिन्छ ।

यसलाई खरना भन्ने गरिएको काठमाडौँमा छठ मनाउँदै आउनुभएका गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य अनिल सिंह बताउनुहुन्छ ।

षष्ठीका दिन व्रतालुले ठेकुवा, फलफूल, मिठाइ, रोटी सूर्य एवं छठी मातालाई चढाउने गर्छन् । रोटीमा सूर्यको रथका पाङ्ग्रा अङ्कित गरिन्छ ।

षष्ठीका दिन पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर माथिबाट कपडाले छोपिन्छ ।

साँझपख बत्ती बालेर माटाको घडाको साथ गीत गाउँदै नदी वा तलाउका किनारमा गइन्छ । डुब्न लागेका सूर्यलाई अघ्र्य दिइ प्रणाम गरिन्छ ।

अघ्र्य दिएपछि तीनपटक पानीमा डुबुल्की मारी मनोरञ्जन गर्दै त्यहीँ रात बिताइन्छ ।

सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ ।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिइ सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ ।

सूर्यको दर्शन गर्दा भक्त लुगासहित कम्मरसम्म पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको हो ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा भई इच्छाएको फल प्राप्त हुने उल्लेख शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ ।

सूर्यको उपासना गर्ने र शुद्धताको प्रतीक भएकाले तराईबाट सुरु भई हाल पहाड र हिमाली क्षेत्रसम्म पनि छठ मनाउन थालिएको छ ।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहित केटा केटीले सुयोग्य वर बधु प्राप्तिको कामना गर्छन् ।

सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ ।

यो पर्वमा मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीकोसमेतको सहभागिता रहने गरेको विसं २०६८ देखि कमलपोखरीमा छठ पूजाको नेतृत्व गर्दै आउनुभएका कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले बताउनुभयो ।

गुह्येश्वरीमा विसं २०७६ को छठसम्म मुस्लिमका पाँच परिवारले छठ पूजा गर्थे ।

कोरोना महामारीका कारण गत वर्ष छठ रोकिएपछि ती परिवार वीरगञ्ज गएर छठ मनाउन थालेको समिति सदस्य सिंहले सुनाउनुभयो ।

सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुसी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ ।

महाभारतकालमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तबास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए ।

पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन सुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ ।

छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको सुरुआत भएको अनुयायीको भनाइ छ ।

यस वर्ष कार्तिक शुक्ल षष्ठी अर्थात् कात्तिक २४ गते बुधबार बेलुकी अस्ताउँदो र सप्तमी अर्थात् कात्तिक गते बिहीबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइन्छ ।

यसैगरी कमलपोखरीमा यस वर्ष काठमाडौँ महानगरपालिकाकै संयोजनमा छठ पर्व मनाइने भएको छ । रानीपोखरीमा भने छठ पूजा नहुने जनाइएको छ ।

नेपालसँगको छलफलपछी देउवाले बोलाए पाँच दलीय गठबन्धनको बैठक

काठमाडौँ-आज बिहान प्रधानमन्त्री शेर बहादुर देउवाले पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीकाका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।

नेता नेपालसँगको छलफलपछी देउवाले आज साझ ५ बजेलाई पाँच दलीय सत्ता गठबन्धनको बैठक बोलाइएका छन् ।

सोमबार साँझ ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको समाजवादीका एक नेताले जानकारी दिएका छन् ।

आज बस्ने बैठकमा सरकारलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने बताईएको छ ।

गठबन्धनमा रहेका काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी सरकारमा रहेपनि राष्ट्रिय जनमोर्चा सरकार बाहिरै बसेर सहयोग गरिरहेको छ ।

बैठकमा सरकार सञ्चालनमा सहयोग गर्न पाँच वटै दलका नेताहरु सम्मिलित संयन्त्र बनाएर अगाडी बढ्ने विषयमा छलफल हुने बताईएको छ ।

संयन्त्र बनाउने बिषयमा माओवादी केन्द्रले निकै बल गरेकाले आजको बैठकमा त्यस बिषयमा निर्णय हुने बताईएको छ।

त्यस बाहेक हालै फिर्ता बोलाइएका राजदुतहरुको ठाउमा गरिने अर्को नियुक्तीकोबारे पनि छलफल हुने स्रोतको दावी रहेको छ ।

न्युरोडमा जग्गाको मुल्य प्रतिआना ३६ लाख

काठमाडौं-न्युरोड काठमाडौको मुटुको रुपमा चिनिन्छ । देशकै सबैभन्दा ठुलो ब्यापारिक हवको रुपमा न्युरोड स्थापित भएको छ ।

काठमाडौं महानगरपालिकाले उक्त न्युरोड क्षेत्रको जग्गाको मुल्य निर्धारण गरेको छ ।

सम्पत्ति कर प्रयोजनका लागि महानगरपालिकाले न्युरोडको जग्गाको मूल्य निर्माण गरेको हो ।

काठमाडौं महानगरपालिका क्षेत्र भित्रका प्रमुख सडक एवं सडकको दायाँ बायाँका जग्गाहरुको सम्पत्ति कर मूल्याङ्कन प्रयोजनको लागि मूल्य निर्धारण गरेको काठमाडौ महानगरपालिकाले जनाएको छ।

महानगरले अनुसार नयाँ सडक गेटबाट उत्तर हुँदै महाबौद्ध बाट गणेशस्थानसम्म सडकसँग जोडिएका दायाँ बायाँका जग्गाहरुमूल्य ३६ लाख रुपैयाँ निर्धारण गरेको छ ।

यस्तै महाबौद्ध देखि इन्द्रचोकसम्म ओटु मार्ग सडकसँग जोडिएका दायाँ बायाँका जग्गा, दुगमबहिल भौंसीको दोबाटोबाट पश्चिम साविकको रंजनाहलको गेटसम्म, फसिकेव मार्ग र नयाँ सडक पिपलबोट दोबाटोदेखि उत्तर साविकको रंजनासिनेमा हलसम्म सडकसंग जोडिएका दायाँ बायाँका जग्गाको मूल्य प्रतिआना ३६ लाख रुपैयाँ रहेको छ ।

यो दररेट महानगरपालिकाले आगामी आवको बजेट भाषणाको क्रममा सार्वजनिक गरेको भएपनि चलेको दर रेट भने यो भन्दा निकै महंगो रहेको छ । महानगरले राजस्वको लागि उक्त दररेट सार्वजनिक गरेको हो ।

उक्त क्षेत्रको जग्गाको मूल्य सरकारले भनेको भन्दा पनि अहिले खरिद बिक्री गर्ने बिचौलीयाको हातमा रहेको पाइन्छ । उक्त उक्त क्षेत्रको जग्गा प्रतिआना ३६ लाख रुपैयाँ पाउन भने सम्भव छैन ।

प्रधानन्यायाधीशको पक्षमा देखिए चुडाल: बसे इजलासमा

काठमाडौं-सर्वोच्च अदालतका न्यायाधीश कुमार चुँडाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएका छन् ।

अन्य न्यायाधीशले इजलास बहिष्कार गरिरहेको अबस्थामा न्यायाधीश कुमार चुँडालले भने सोमबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नोमा समेत पेसी तोकेपछि अन्य न्यायाधीशले बहिष्कार गरेको अवस्थामा चुँडालले भने बन्दी प्रत्यक्षीकरणको एउटा रिटमाथि सुनुवाइ गरेका हुन् ।

उनले बन्दी प्रत्यक्षीकरणसम्बन्धी एउटा मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन् ।

अन्य न्यायाधीश भने प्रधानन्यायाधीश जबराले आफ्नोमा पनि पेसी तोकेको भन्दै सुनुवाइमा सहभागी भएका छैनन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा सोमबारका लागि ६ वटा इजलास तोकेका छन्।

प्रधानन्यायाधीश जबराले २ एकल इजलास र ४ संयुक्त इजलास तोकेका थिए। पेसी तोकिएमा सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।

प्रधानन्याायधीशले सोमबार आफ्नो पनि इजलास तोकेका छन्। प्रधानन्यायाधीशको राजीनामा माग गर्दै न्यायाधीशहरूले पनि मार्गप्रशस्त गर्न आग्रह गर्दै आएका छन्।

तर, प्रधानन्यायाधीश जबरा भने राजीनामा दिने मुडमा छैनन् ।

उनले आफू संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीश नियुक्त भएको भन्दै कसैले राजीनामा दे भन्दैमा आफूले नदिने बताएका छन् ।

मेरो गणना : मेरो सहभागिता : राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा

काठमाडौँ-केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ ।

यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ ।

सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ ।

यस पटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५ र पहिलो पटक सामुदायिक प्रश्नावलीसहित ८० वटा प्रश्न समवेश गरिएको छ ।

विभागले घर तथा घरपरिवार लगत सूचीकरण कार्य सम्पन्न गरेको छ । एक गणकले करिब एक सय पचास घरसम्म पुग्नुपर्ने दायित्व दिइएको विभागले जनाएको छ ।

जो मानिस जहाँ बढी (अक्सर) बसोबास गर्छ, त्यहीबाट उसको गणना हुनेछ ।

राष्ट्रिय योजना आयोग मातहतको सो विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठ संविधानमा विभिन्न जाति, भाषा, लिङ्ग, धर्म, वर्ग, क्षेत्र, अपाङ्गता भएका लगायत सबै पक्षको अधिकार सुनिश्चित गरिएकाले जनगणनाले त्यसै प्रकारको तथ्याङ्क ल्याउन तयारी पूरा भएको जनाउनुभयो ।

काठमाडौँलगायत सहरी क्षेत्रमा गणनाको कार्य चुनौतीपूर्ण हुने भएकाले त्यसमा सबैको सहयोग गर्न आग्रह गर्दै उहाँले मागेको तथ्याङ्क नदिने कार्य कानूनविपरीत हुने भएकाले त्यसतर्फ पनि सचेत गराउनुभयो ।

गणनाका विवरण गोप्य हुने जनाउँदै महानिर्देशक श्रेष्ठले जनगणना सम्पन्न भएपछि राष्ट्रिय कृषि गणना गरिने जनाउनुभयो ।

नयाँ संविधानपछिको पहिलो जनगणना हुन लागेको भए पनि तथ्याङ्क ऐन २०१५ भने हालसम्म पुरानै कायम रहेको छ ।

यो जनगणनाले दिगो विकास लक्ष्य, समृद्धि र सुशासनका आधारका लागि खण्डीकृत तथ्याङ्क तयार गर्नेछ ।

संविधानमा राष्ट्रिय जनगणनाको तथ्याङ्कलाई विकास निर्माणसँग जोड्नुपर्ने व्यवस्था गरिएको छ ।

विभागले मुख्य प्रश्नावलीमा आर्थिक काम, पेशा, वस्तु वा सेवाको उत्पादन अनुसारको विवरण, परिवारमा खानेपानी, इन्धन, सञ्चारसाधन, महिलाका नाममा सम्पति, घरेलु व्यवसाय, मातृमुत्यु दरको आँकलन, विदेशमा रहेका व्यक्ति आदिबारे सोध्ने गरी प्रबन्ध गरेको छ ।

जनगणना सकिएको तीन महिनामा प्रारम्भिक नतिजा आउनेछ ।

विभागका निर्देशक ढुण्डिराज लामिछाने संविधानमा स्थानीय तहले सबै मन्त्रालयसँग सम्बन्धित कामको अभ्याससमेत गर्ने व्यवस्था गरिएकाले तथ्याङ्क व्यवस्थापनका सन्दर्भमा विकासका लागि विविधतायुक्त तथ्याङ्कलाई स्वचालित सूचना प्रणालीमा अद्यावधिक गराउनु स्थानीय तहको पनि दायित्व भएको बताउनुभयो ।

उहाँले पहिलो पटक देशभरकै घर तथा संरचनाको तथ्याङ्क सूचीकरण हुन लागेकाले भूकम्पलगायत विपद्का अवस्थामा राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि योजना बनाउन सघाउने बताउनुभयो ।

राष्ट्रिय जनगणना २०७८ का सन्दर्भमा मिडिया एक्सन नेपाल (म्यान) ले आज आयोजना गरेको सञ्चार अभिमुखीकरण कार्यक्रममा युएनएफपिए नेपाल कार्यालयका अधिकृत इञ्चार्ज डा हसिना बेगमले कोभिड– १९ को चुनौतीका बीच जनगणना हुने तयारी भएकाले यस विषयसँग सम्बन्धित मुद्दालाई सञ्चारमाध्यमले उचित स्थान दिने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले राज्यले अघि बढाएका महत्वपूर्ण कार्यक्रममा नागरिकलाई सहभागी गराउन सञ्चार क्षेत्रले प्राथमिकताका साथ समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै जनगणनालाई दायित्वका रुपमा लिएर अभियानकै रुपमा सही तथ्याङ्क सङ्कलनका लागि सम्बन्धित निकायलाई खबरदारी गर्न आग्रह गर्नुभयो ।

वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले सत्यतथ्यका आधारमा पत्रकारले जनतालाई सूसुचित गराउनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार नम्रता शर्माले खोजी पत्रकारिताकोसमेत प्रयोगबाट जनगणना जस्ता विषयलाई यथार्थपरकरुपमा सम्पन्न गराउन पत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो ।

म्यानका अध्यक्ष लक्ष्मणदत्त पन्तले जनगणनाको पूर्वसन्ध्यामा सातै प्रदेशका करिब दुई सय पत्रकारलाई विषयवस्तुमा अभिमुखीकरण गराइएको जानकारी दिनुभयो ।

नेपालमा हरेक १०-१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ ।

मुलुकमा पहिलो जनगणना एक सय ९ वर्षअघि विसं १९६८ मा चन्द्रशम्शेर राणा प्रधानमन्त्री भएका बेला थालनी भएको थियो ।

सर्वोच्च अदालतमा आज बन्दीका मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र सुनुवाइका लागि पेसी तोक्नु भएको छ ।

बन्दीप्रत्यक्षीकरणका छ वटा इजलास पेसी तोकिएकोे हो । तीमध्ये चारवटा संयुक्त र दुईवटा एकल इजलास रहेका छन् ।

संयुक्त इजलासमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडाल, न्यायाधीश तेजबहादुर केसी र नहकुल सुवेदी, न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मी, न्यायाधीश विश्म्भरप्रसाद श्रेष्ठ र डा मनोजकुमार शर्मा रहनुभएको छ ।

एकल इजालसमा न्यायाधीश बमकुमार श्रेष्ठ र न्यायाधीश डा कुमार चुँडाल रहनुभएको छ । सबै पेसीमा बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्र रहेका छन् ।

यही कात्तिक ७ गते आइतबार मध्यान्हदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्नुभएको थियो ।

सर्वोच्च अदालतको यही कात्तिक ८ गतेदेखि तोकिएको मुद्दाको सुनुवाइ हुन नसके पनि बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरुलाई पनि संविधान र कानून बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गर्नुभएको थियो ।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन नसकेकाले न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् ।

जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग

काठमाडौं- नेपाली सेनालाई मित्रराष्ट्र चीनको जनमुक्ति सेनाले सहयोगस्वरूप भेरोसेल खोप तथा विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छी (Hou Yanqi) ले प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई हस्तान्तरण गरेकी हुन्।

हस्तान्तरण गरिएका सामग्रीहरूमा १० थान भेन्टिलेटर र १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित ३,००,००० (तीन लाख) डोज कोभिड-१९ विरुद्धको खोप रहेको नेपाली सेनाले जनाएको छ।

प्रधान सेनापति महारथी शर्माले यस सहयोगको लागि मित्रराष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थिति थियो

यस किसिमको सहयोगबाट महामारी विरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी भएर जनताको सेवामा लाग्न सक्षम हुने तथा दुई देशका सेनाबीच रहेको सम्बन्ध थप मजबुद हुने विश्वास लिइएको छ।