आज प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्र पाण्डे विश्वासको मत लिँदै

काठमाडौँ-बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज प्रदेशसभामा विश्वासको मत लिँदै छन् ।

गत कात्तिक ११ गते संविधानको धारा १६८,उपधारा २ बमोजिम गठवन्धन सरकारको मुख्यमन्त्री नियुक्त भएका पाण्डेले विश्वासको मत लिन लागेका हुन् ।

संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो ३ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

विश्वासको मतसम्बन्धी प्रस्ताव कात्तिक १४ गते नै प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

प्रदेशसभा सचिवालयका अनुसार आजै सम्पूर्ण प्रक्रिया टुंग्याएर मत विभाजनमा लैजाने गरी तयारी थालिएको छ ।

एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि चारदलीय गठवन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतासमेत रहेका पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन् ।

उनलाई माओवादी केन्द्र,नेपाली काँग्रेस र जसपाको समर्थन रहेको छ ।

१०९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक हुन्छ ।

मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ जना सांसद रहेकाले उनले विश्वासको मत पाउने निश्चित छ ।

उनलाई माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाका १ सांसदले यसअघि नै समर्थन दिइसकेका छन् ।

पहिलो चरणमा चार सदस्यीय मन्त्रिपरिषद गठन गरेका मुख्यमन्त्री पाण्डेले विश्वासको मत पाएलगत्तै सरकारलाई पूर्णता दिने बताएका थिए ।

सोहीअनुसार कम्तिमा एक सातामा मन्त्रिपरिषद विस्तार गरिने बताइएको छ ।

पाण्डेले आफू मुख्यमन्त्री नियुक्त भएकै दिन सत्ता साझेदार माओवादी केन्द्र,कांग्रेस र समाजवादीबाट एक-एक जना समेटेर मन्त्रिपरिषद गठन गरेका थिए ।

देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु

जनकपुरधाम– देशभर आजदेखि औपचारिक रुपमा छठ पर्व सुरु भएको छ ।

तराई मधेसको सबैभन्दा ठूलो पर्वको रुपमा रहेको छठ आज ‘नहाय खाय’ विधिबाट औपचारिक रुपमा सुरु भएको हो ।

छठको पहिलो दिन ‘नहाय–खाए’ अर्थात आज शरीर शुद्ध गर्न नुहाउने दिन हो ।

आजको दिन छठ पर्वको सुरुवातको रुपमा रहेको छ ।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन जनकपुरधामसहित तराई मधेसका छठ व्रतालुहरु नुहाएर ‘अरबा अरबाइन’ खान्छन्।

आजदेखि ‘मरुवा’ (कोदो), ‘मसुरीको दाल’ लगायत प्याज, लसुन छठ अवधि भरीका लागि बर्जित रहेको छ ।

काठमाडौंको रानी पोखरी र कमल पोखरीमा भने छठ पर्व नमनाईने भएको छ ।

निर्माण कार्यले पूर्णता नपाएकाले कमल पोखरीमा छठ पर्व यस वर्ष मनाईने छैन् ।

तर गहना पोखरी, नाग पोखरी, वाग्मती नदी किनारामा भने छठी माताको पूजा गर्न सरसफाइ गर्न थालिएको छ ।

पोखरी, नदी, कुवालगायतका स्थानलाई मिलाएर साजसज्जाको काममा स्थानीय लागेका हुन् ।

त्यस्तै छठको दोस्रो दिन मंगलबार दिनभर उपवास रही रातमा ‘खीर’ बनाई देउतालाई चढाएर व्रतालुले खान्छन् ।

यस विधिलाई ‘खरना’ भनिन्छ। खरनामा ‘मीठा’ र चामलबाट बनेको खिरलाई चढाइने गरिन्छ।

त्यस्तै छठको मूल दिन बुधबार अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ ।

त्यसको भोलिपल्ट बिहीबार उदाउँदै गरेको सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।

बिहानीको अर्घ दिइसकेपछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् । जसलाई ‘पारन’ भनिन्छ।

पेटीएमले गर्यो भारतको सबैभन्दा ठूलो आईपीओ बिक्री खुल्ला

एजेन्सी-भारतमा आजदेखि अहिलेसम्मकै धेरै साधारण सेयर (आईपीओ) बिक्री खुला भएको छ ।

भारतको डिजिटल वालेट पेटीएमले अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बिक्री खुलाएको हो ।

कम्पनीले आईपीओ बिक्री गरेरै एक खर्ब ८३ अर्ब भारतीय रुपैयाँ (१८ हजार ३०० करोड भारू) जुटाउने योजना बनाएको छ ।

यसअघि, कोल इन्डियाले एक खर्ब ५० अर्ब भारतीय रुपैयाँ (१५ हजार करोड भारू) र रिलायन्स पावरले एक खर्ब २० अर्ब भारू (१२ हजार करोड भारू) को आईपीओ बिक्री गरेको थियो ।

पेटीएम भारतको डिजिटल वालेट कम्पनी हो । भारतीय लगानीकर्ता संस्थापक रहेको यस कम्पनीमा चिनको अलिबाबा समूह र नेदरल्याण्ड्सका लगानीकर्ताको समेत लगानी छ ।

लाखौं युवाहरु हाम्रो पार्टीमा आकर्षित छन् : अध्यक्ष नेपाल

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) रौतहट–काठमाडौ सम्पर्क मञ्चको आयोजनामा आज देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

शुभ दिपावली २०७८ को सुखद अवसरमा राजधानीको कोटेश्वरस्थित पार्टी अध्यक्ष माधवकुमार नेपालकै निवासमा देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको मञ्चले जनाएको छ ।

देउसी भैलो कार्यक्रममा अध्यक्ष नेपालले शुभ दिपावलीको अवसरमा रौतहट जिल्लाबासी लगायत सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो ।


कार्यक्रममा बोल्दै नेता नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीको देशभर तीव्र गतिमा संगठन विस्तार कार्य भईरहेको बताउनुभयो ।

उहाँले विधि, विधान र पद्दतिमा विश्वास गर्ने लाखौं लाख युवाहरु आफ्नो पार्टीमा आकर्षित हुन थालेको दाबी समेत गर्नुभयो ।

उहाँले आफ्नो पार्टीबाट मन्त्री बनेका नेताहरुले सरकारमा सहभागि भएको छोटो समयमै जनताले अनुभूति हुने गरी काम गर्न थालेको बताउनुभयो ।

अध्यक्ष नेपालले पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय र शहरी विकास मन्त्रालय अन्र्तगतका मन्त्रालयहरु चलायमान हुन थालेको जिकिर गर्नुभयो ।

उहाँले निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन समेत सरकारसमक्ष आग्रह गर्दै भन्नुभयो–‘निजगढ विमानस्थल सञ्चालनमा आएमा प्रदेश नं.२ को आर्थिक समृद्धि हुनेछ ।’


देउसी भैलो कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य एवं विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्का, पार्टीका पोलिटव्यूरो सदस्य रामकुमार भट्टराई, वंगलादेशका राजदूत डा. वंशिधर मिश्र, अर्थविद् डा. चन्द्रमणि अधिकारी, पार्टीका केन्द्रीय सदस्य एवं विज्ञान प्रविधि विभागका प्रमुख इ. सरोजकुमार उपाध्याय, वरिष्ठ इन्जिनियर धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघका सचिव गोविन्दप्रसाद चौलागाईं, नेकपा एकीकृत समाजवादी नुवाकोटका उपाध्यक्ष तथा युवा नेता केपी लामिछाने, कर्मचारी ट्रेड युनियनका अध्यक्ष भोला पोखरेललगायत केन्द्रीय सदस्य भिष्म दाहाल र श्याम सापकोटा, प्रदेश नं. २ नेकपा एकीकृत समाजवादीका अध्यक्ष बेदनाथ कोइराला, मञ्चका पूर्व अध्यक्षहरु नवराज तिमल्सिना, गोपाल श्रेष्ठ, गिरिधर मिश्र, चिन कुमारी शिवाकोटी, शंकर विश्वकर्मा, उद्योगपतिहरु लक्ष्मीनारायण चौधरी, प्रमोद चौधरी, वरिष्ठ प्रहरी उपरीक्षक प्रदीपकुमार श्रेष्ठ लगायत बुद्धिजीवि, समाजसेवी, कलाकार, पत्रकार, सम्पर्क मञ्चका अध्यक्ष सचिनकुमार कुइँकेल, रौतहट घर भई राजधानीमा कर्मथलो बनाएका सयौं व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

देउसी भैलो कार्यक्रमबाट संकलित रकम विगत देखि नै रौतहटबाट काठमाडौ आई बसोबास गर्ने विरामी र समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्ने परम्परा रहेकोले यस वर्ष संकलन भएको रकम पनि सोही कार्यमा खर्च गरिने मञ्चका अध्यक्ष कुइँकेलले जानकारी गराउनुभयो ।

यस वर्षको देउसी भैलो कार्यक्रममा झण्डै दुई लाख ५० हजार रुपैँया संकलन भएको मञ्च पदाधिकारी सुधान्ंशुकुमार मिश्रले सम्पत्ति न्यूजलाई बताउनुभयो ।

सिङगामा व्यावसायिक फूलखेती

म्याग्दीको बेनी नगरपालिका–४ सिङगामा व्यावसायिक फूलखेती गरिएको छ ।

तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमलाई लक्षित गरेर हरियाली ग्रुप प्रालिले व्यावसायिक फूल उत्पादन गरेको हो ।

आँगेबगर र सिङ्गामा दुई÷दुई रोपनी क्षेत्रफलमा फूलखेती गरिएको हरियाली ग्रुप प्रालिका सञ्चालक शेरबहादुर केसीले बताउनुभयो ।

बागलुङ, बेनी, कुश्माको बजार र सिङ्गा आसपासका क्षेत्रमा प्रतिकिलो रु तीन सयका दरले फूल बिक्री सुरु गरेका छन् ।

सिङ्गा र वरपरका ठाउँबाट तिहारका लागि फूलको अत्याधिक माग आएको सञ्चालक केसीले बताउनुभयो ।

हरियालीले विगत तीन वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएको छ । यसअघिका वर्षमा उन्नत जातको सयपत्री फूलखेती गरेको थियो ।

यसवर्ष धेरै समय टिक्ने स्थानीय सयपत्री जातको बिरुवा लगाएका छन् । उत्पादन र बिक्री राम्रो भएको सञ्चालक केसीले बताउनुभयो ।

अघिल्ला वर्षमा एकदेखि डेढलाख मूल्य बराबरको फूल बेचेको फार्मले यसपाली अझ बढी बिक्री हुने अनुमान गरेको छ ।

तिहारमा पूजाआजा र माला बनाउन फूलको प्रयोग हुन्छ ।

अन्य समय पूजाआजाका साथै सभा समारोह आयोजना गर्दा पनि अतिथिलाई स्वागत गर्न माला लगाईदिँदा फूल आवश्यक पर्छ ।

बेनी बजार र आसपासका क्षेत्रमा घरायसी प्रयोजनका लागि लगाएको फूलको बोटबाट बढी उत्पादन भएमा मात्र फूल बेच्ने चलन छ ।

केही वर्षयता तिहारमा बजार वरपरका ग्रामीण क्षेत्रका किसानले फूल बेच्न आउन थालेका छन् ।

बैंकर्स संघको अध्यक्षमा अनिल कुमार उपाध्याय निर्विरोध

काठमाडौं-कृषि बिकाश बैँकका सिईओ अनिल कुमार उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यायले नेपाल बैंकर्स संघको अध्यक्षमा कात्तिक १५ गते उम्मेद्वारी दर्ता गराएका थिए ।

अध्यक्षमा अरुकसैले उम्मेद्वारी नदिएसँगै उनि निर्विरोध निर्वाचित हुने भएका छन् ।

कात्तिक २३ गते हुने निर्वाचनको लागि बुधबार २ बजेसम्म मनोनयन गर्ने समय तोकिएको थियो ।

संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले अध्यक्षका लागि उपाध्यायको मात्रै आवेदन परेको जानकारी दिएका छन् ।

संघका अध्यक्ष भुवन दाहालको दुई वर्षे कार्यकाल सकिएसँगै आगामी कार्यकालको लागि उपाध्याय निर्विरोध निर्वाचिन हुने भएका हुन् ।

उनी अहिलेको कार्यकालमा उपाध्यक्ष थिए ।

यो सँगै उपाध्याय संघको दुई वर्षे कार्यकालको लागि निर्विरोध निर्वाचित हुने निश्चित भएको हो ।

मारिब सहर पुनः कब्जा गर्न हुथी विद्रोहीको तयारी

एजेन्सी-यमनमा संघर्ष गरिरहेका हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई पुनः कब्जामा लिने तयारी गरेका छन् ।

ती विद्रोहीहरुले सो सहरका महत्वपूर्ण स्थानहरुको कब्जा गरिसकेपछि फेरि यस सहरलाई पूर्ण रुपमा कब्जामा लिनका लागि सो तयारी गरेको बताएका हुन् ।

सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरका कतिपय महत्वपूर्ण स्थानहरुमा उनीहरुले कब्जा जमाएको बताएका छन् ।

हुथी विद्रोही समूहले यसअघि सो सहर पूरै नियन्त्रणमा लिएको भए पनि पछिल्लो समयमा सरकारी सेनाले फिर्ता गरेका थिए ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार हुथीहरुले सहरका विभिन्न नाकाहरुमा आफ्ना सेना र हातहतियारहरु लगेका छन् भने सहरका बाहिरी नाकाहरुमा उनीहरुका सशस्त्र विद्रोहीहरु तैनाथ गरी राखेका छन् ।

विद्रोहीहरूले नियन्त्रणमा लिएको यस सहरलाई हुथी विद्रोहीहरूले पहिलेदेखि नै दबाबमा राखेका थिए ।

उनीहरुले यो सहर पटक पटक आफ्नो कव्जामा लिने गरेका छन् ।

यो सहरलाई विद्रोहीहरुले रणनीतिक हिसाबले महत्वको ठान्ने गरेका छन् ।

विद्रोहीहरूले मालबोडा पहाडी क्षेत्र नै कब्जा गरेका छन्, देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने सिर्वाहमा झन्डै ४८ घण्टासम्म भएको दोहोरो भिडन्तपछि उनीहरूले कब्जा गरेका हुन्– एक सैन्य अधिकारीले भने ।

इरान समर्थित हुथी समूहले तेल खानी रहेका क्षेत्र भएकाले समेत मारिब क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास लामो समयदेखि गर्दै आएको थियो ।

हुथी विद्रोही समूहले यसअघि सरकारी नियन्त्रणमा रहेको मारिब सहरमा तैनाथ सेनालाई लक्षित गरी दुई वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो ।

यमनको सरकारी सेनालाई भने साउदी अरबको समर्थन र सहयोग रहँदै आएको छ ।

मारिबमा यमनका अन्य क्षेत्रबाट पलायन भएर आएका झन्डै २० लाख मानिस रहेका छन् ।

यमनमा जारी गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने लाखौँ मानिस अन्यत्र विस्थापित भएका छन् ।

संयुक्त राष्ट्रसंघले द्वन्द्वरत पक्षहरूलाई वार्तामा ल्याई युद्धविराम गराउने प्रयास गरे पनि अहिलेसम्म सफलता प्राप्त हुन सकेको छैन ।

यमनमा सन् २०१४ को अन्त्यदेखि गृहयुद्ध जारी छ ।

विद्युत ऊर्जा क्षेत्रमा नेपालको छलाङ्ग: भारतमा विद्युत निर्यात सुरू

काठमाडौँ-केही बर्ष अघि दैनिक १८ देखी २० घण्टा सम्म लोडसेडिङ्ग भोग्दै आएको नेपालले अहिले आएर विद्युत निर्यात गर्न सुरु गर्यो भन्दा अच्चम्म लाग्न सक्छ ।

तर यो बास्तविक्ता हो नेपालले भारतमा विद्युत निर्यात सुरू गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले हिजो १२ बजे रातिदेखि ढल्केबर९मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् निर्यात सुरू गरेको हो।

पहिलो चरणमा ३९ मेगावाट विद्युत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिएका छन्।

उनले भनेका छन् ‘हामी विस्तारै निर्यात बढाउँदै लैजान्छौं । क्रमशः ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी तथा ४५ मेगावाटको माथिल्लो भोटेकोसी विद्युत गृहबाट पनि भारतीय बजारमा बिजुली पठाउने तयारी गरेका छौं,’।

नेपालले भर्खरै भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत् व्यापारका लागि अनुमति पाइसकेको छ ।

भारतीय बजारमा विद्युत निर्यात सुरु भएपछि नेपालमा जलविद्युत विकासमा फड्को मार्ने प्राधिरणको विश्वास छ ।

अब प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म एक्सचेन्ज बजारमा विद्युत् बिक्री हुनेछ ।

रत्नपार्कमा १८ औँ ‘काग सम्मेलन’

काठमाडौँको रत्नपार्कमा १८ औँ काग सम्मेलन गरिएको छ ।

राष्ट्रिय सङ्गीतकर्मी सङ्घले काग तिहारका अवसरमा आज आयोजना गरेको कार्यक्रममा इलामका रमेश दुलाल ‘कागे’ ले काग बोलाएर सम्मेलनको आयोजना गर्नुभएको हो ।

विगत १८ वर्षदेखि काग तिहारको अवसरमा काग सम्मेलन गर्दै आउनुभएका दुलालले आज बिहान ६ बजेदेखि ७ बजेसम्म रत्नपार्कस्थित शान्तिवाटिकामा काग बोलाएर काग सम्मेलन गर्नुभएको हो ।

यमराजको दूतका रूपमा कागलाई मीठामीठा खानेकुरा खान दिएर तिहारको पहिलो दिन काग तिहार मनाइने गरिएको छ ।

काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु भएको छ ।

आजदेखि भाइटीकासम्म नेपालीले दसैँपछिको दोस्रो ठूलो पर्वका रुपमा तिहार मनाउने गर्छन् ।

यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय मान्यता छ ।

यमराजसमक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई मीठामीठा खान दिई खुशी पार्ने गरिएको छ ।

दुलालले १७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्दै आउनुभएको छ ।

मुख्यमन्त्री राजेन्द्र राईले पूर्व सरकारले गरेका निर्णय खारेज गर्ने

मोरङ-प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पूर्वमुख्यमन्त्री भीम आचार्यको सरकारले गरेका निर्णय तथा नियुक्ति खारेजी गर्ने भएको छ।

नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा प्रदेश १ मा नयाँ सरकार गठन भएसँगै बनेको मन्त्रिपरिषद्ले पूर्वसरकार निर्णय खारेजी प्रक्रियामा लाने लगायत विभिन्न ३ वटा निर्णय गरेको हो ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार राती सम्पन्न बैठकले भीम आचार्य नेतृत्वको सरकार गठन भएपछि भएका विभिन्न नियुक्ति, सरुवा तथा निर्णयलाई खारेजीको प्रक्रियामा लैजाने निर्णय गरेको छ।

बैठकले आचार्य नेतृत्वको सरकार गठन असंवैधानिक भएको हुँदा उक्त समयमा गरिएका सबै निर्णय खारेजीतर्फ लैजाने जनाएको छ ।

आचार्य नेतृत्वको सरकारले प्रदेश पर्यटन बोर्ड, प्रदेश श्रम सल्लाहकार, प्रदेश खेलकुद बोर्ड गठन गर्नुका साथै विभिन्न मन्त्रालयमा भएका कर्मचारीहरुको सरुवा, अस्थायी कर्मचारीको म्याद थपलगायतका निर्णय गरेको थियो।

त्यस्तै बैठकले प्रदेशका १३७ स्थानीय तहबाट सिमान्तकृत, दलित र विपन्न तथा अल्पसंख्यकलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ।

लोपोन्मुख संस्कृति संरक्षणको लागि कार्यविधि तर्जुमा गर्ने निर्णयसमेत बैठकले गरेको सामाजिक विकासमन्त्री जयराम यादवले जानकारी दिए।

स्वतन्त्र न्यायलयको पक्षमा उभिन डिएलएको आह्वान

नेपाल डमोक्र्याटिक लयर्स एशोसिएशन (डिएलए) ले जनताको न्याय पाउने हकको पक्षमा र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुुट भएर उभिन आह्वान गरेको छ ।

डिएलएका महासचिव लक्ष्मीदेवी दाहालले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सबै सेचत समुदायलाई संविधानप्रदत्त जनताको न्याय पाउने हक र स्वतन्त्र न्यायपालिकाको रक्षाको पक्षमा एकजुट हुन आह्वान गरिएको छ ।

“अन्तर्राष्ट्रिय तहमा हाम्रो् न्यायलयको साख, विश्वास र प्रतिष्ठाको उचाइ आजपर्यन्त गौरवपूर्णरुपमा छ, सो साख जोगाउँदै यस विषम् परिस्थितिमा सहज निकास खोज्न र यो गतिरोध अन्त्य गरी न्यायपालिकाको स्वर्णीम इतिहासलाई जोगाउन अघि बढौँ”, विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, न्यायपालिकाभित्र रहेको विकृति, विसङ्गति, भ्रष्टाचार समाप्त गर्न विचौलिया नियन्त्रणसम्बन्धी अध्ययन प्रतिवेदनसमेत यथाशीघ्र कार्यान्वयन गरी न्यायपालिकाको गरिमा बढाउने कार्यमा लाग्न सम्बन्धित जिम्मेवार निकायसँग डिएलएले अपिल गरेको छ

एकीकृत समाजवादी दलको नेतामा शाही

एकीकृत समाजवादी दलको नेतामा शाही

नेकपा (एकीकृत समाजवादी)ले कर्णाली प्रदेशसभा संसदीय दलका नेतामा चन्द्रबहादुर शाहीलाई चयन गरेको छ ।

मुगु प्रदेशसभा क्षेत्र (क)बाट प्रत्यक्ष निर्वाचित उहाँ पार्टीको पोलिटब्युरो सदस्य र प्रदेशको सहइञ्चार्ज पनि हुनुहुन्छ ।

संसदीय दलले नेता शाहीका नेतृत्वमा तीन मन्त्रालय लिने गरी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

नेता शाहीले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएर तिहारलगत्तै आफ्नो पार्टी सरकारमा जाने जानकारी दिनुभयो ।

३५ सदस्यीय प्रदेशसभामा एकीकृत समाजवादीका तीन सदस्य छन् ।

एकीकृत समाजवादी दलको नेतामा शाही

प्रधानमन्त्री देउवासँग साइडलाइन बैठक

ग्लास्गो-संयुक्त अधिराज्यको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गत दुई दिने विश्व नेताहरुको शिखर सम्मेलनमा सहभागी हुन आउनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग बेलायतका रक्षामन्त्री बेन वालेसले साइडलाइन बैठक गर्नुभएको छ ।

सम्मेलनको दोस्रो दिन नोभेम्बर २ मा भएको भेटमा रक्षामन्त्री वालेसले प्रधानमन्त्री देउवासँग बेलायती गोर्खा सैनिकको गुनासो र हितका साथै नेपाललाई कोरोना विरुद्धको भ्याक्सिनमा बेलायतको सहयोगका विषयमा पनि छलफल गर्नुभएको भेटमा सहभागी परराष्ट्र सचिव भरतराज पौड्यालले जानकारी दिनुभयो ।

यसअघि प्रधानमन्त्री देउवा बेलायती प्रधानमन्त्री बोरिस जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राज्य र सरकार प्रमुखहरूको स्वागतमा आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको थियो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले वन तथा भूउपयोग व्यवस्थापनसम्बन्धी उच्चस्तरीय कार्यक्रमलाई प्रतिष्ठित प्यानलका रूपमा सम्बोधन गर्दै स्वैच्छिक कार्बन बजार र उत्सर्जन घटाउने वन औंजारमा नेपालको चासो रहेको धारणा व्यक्त गर्नुभएको भेटमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवासँग विश्व बैंक समूहका प्रबन्ध निर्देशक मारी पाङ्गेष्टुले नेपाललाई हरित विकास, जलवायुजन्य असर र कोभिड–१९ रोकथाममा सहयोग गर्नेलगायत विषयमा छलफल गर्नुभएको भेटमा सहभागी अर्थ सचिव मधुकुमार मरासिनीले जानकारी दिनुभयो ।

त्यस्तै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)की डेपुटी सीईओ एलेक्सिया लाटोर्टुले प्रधानमन्त्री देउवासँग भेट गरी नेपाललाई प्रदान गरेको एमसिसी कम्प्याक्ट अनुदानका विषयमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्री देउवाले मङ्गलबार नै आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, श्रीलङ्काका राष्ट्रपति गोटाबय राजपाक्षे र मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुख्दसँग द्विपक्षीय भेटवार्ता भएको थियो ।

अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव किटैक लिमले पनि प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरी समुद्री क्षेत्रमा नेपालीलाई रोजगारीका नयाँ अवसर प्रदान गर्न सकिने सम्बन्धमा सन्दर्भमा कुराकानी गर्नुभएको थियो ।

शिखर सम्मेलनको पहिलो दिन नोभेम्बर १ मा उहाँले नेपालका तर्फबाट राष्ट्रिय सम्बोधन गर्नुभएको थियो ।

सम्मेलनमा ११७ देशका राष्ट्र प्रमुख र सरकार प्रमुखले सम्बोधन गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाले आज नोभेम्बर ३ तारेख स्थानीय समयानुसार बिहान १०ः३० बजे स्कटल्याडको इडिनवर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा उहाँले नेपाली बगैँचामा बिरुवा पनि रोप्नुहनेछ ।

उहाँ नेतृत्वको प्रतिनिधिमण्डल आजै इडिनबर्ग विमानस्थलबाट कतारको दोहाहुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सम्मेलनमा सहभागी हुने सिलसिलामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा शुक्रबार राति संयुक्त अधिराज्य पुग्नुभएको थियो ।

अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

कार्यवाहक प्रधानमन्त्री खाँण सुर्खेतमा

काठमाडौँ-प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँण सुदूरपश्चिम क्षेत्रका डडेल्धुरा, बझाङ र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्ने क्रममा यहाँ आइपुग्नुभएको छ ।

मन्त्री खाँणले ती जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रका स्थानीयवासीसँग क्षति र पुनःनिर्माणका लागि चाल्नुपर्ने कदमबारे अन्तक्रियासमेत गर्नुहुने छ ।

गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म ती जिल्लामा भएका बाढीपहिराको घटनामा परी ठूलो जनधनको क्षति भएको थियो ।

गृहमन्त्रीलाई खाँणलाई कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीलगायतका नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले स्वागत गर्नुभयो ।

गृहमन्त्रीका साथ ती जिल्लाका सांसद्, पूर्वमन्त्री एवं जनप्रतिनिधि र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेललगायत सहभागी हुनुहुन्छ ।

अरुणबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउँछ: अर्थमन्त्री शर्मा

काठमाडौँ-अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने बताउनुभयो ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री शर्माले अरुणबाट उत्पादित विद्युत्ले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताउनुभयो ।

नेपालको अर्थतन्त्र मजबुद बनाउन नेपाल सरकारको लगानीमा माथिल्लो अरुण, किमाथाङ्का अरुण निर्माण गर्न लागिएको सो अवसरमा उहाँले जानकारी दिनुभयो ।

“अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ”, मन्त्री शर्माले भन्नुभयो ।

व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको मन्त्री शर्माको भनाइ थियो ।