१.८९ अंकले बढ्यो सेयर बजार

१.८९ अंकले बढ्यो सेयर बजार

काठमाडौं-आज बुधबार सेयर बजार १.८९ अंकले बढेर बन्द भएको छ ।

आज सेयर बजार मापक परिसूचक‘नेप्से’ १.८९ अंकले बढेर २७३५.०१ विन्दुमा उक्लिएको हो ।

अघिल्लो दिनभन्दा आज ठुला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने घटेको छ।

सेन्सेटिभ परिसूचक ०.२८ अंकले घटेर ५१५.२० विन्दुमा रोकिएको छ।

सेयर कारोबार आज चार अर्ब २१ करोड ७४ लाख १५ हजार रुपैयाँ बराबरको भएको नेपाल स्टक एक्सचेञ्‍जले जानकारी दिएको छ।

कारोबारमा आएका कूल २२७ कम्पनीका ७४ लाख ४५ हजार २२७ कित्ता सेयर ५४ हजार ७०३ पटक किनबेच भएका थिए।

मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले आज सबैभन्दा धेरै कमाएका छन्।

उक्त कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ९.४७ प्रतिशतका दरले कमाएका छन् ।

गोर्खा फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता २.५५ प्रतिशतका दरले गुमाएका छन्।

आज १३ मध्ये १० उपसमूहको सूचकमा हरियाली देखिएको छ ।

फाइनान्स उपसमूहमा सबैभन्दा बढी वृद्धि देखिएको छ।

नेपाल दूरसञ्चार कम्पनी २६ करोड रुपैयाँभन्दा बढीको कारोबारसहित खरिद-बिक्री रकममा अग्रस्थानमा रहेको छ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आईसीएफसी फाइनान्स र अपी पावर कम्पनी परेका छन्।

बुधबारको बजारमा बिक्रीकर्ता सस्तो मूल्यमा शेयर बेच्न चाहिरहेका थिएनन् भने खरिदकर्ता पनि महंगो मूल्य हाल्न तयार थिएनन्।

यसैकारण बजार पटकपटक नकारात्मक हुँदै पुनः सकारात्मक भएको थियो।

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा यसै साता गर्ने तयारी गरेको छ।

यसै कारण पनि कतिपय लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा देखिन्छन्।

उनीहरु केन्द्रीय बैंकको नीति हेरेर मात्रै बजार प्रवेश गर्ने तयारीमा छन्।

१.८९ अंकले बढ्यो सेयर बजार

आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल

आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल

धनुषा-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताउनुभएको छ ।

धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको झण्डालाई बुलन्द गर्दै अघि बढिरहेकाले आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले हाम्रो पार्टी दक्षिणपन्थी भासमा भासिएको छैन्, क्रान्तिकारी सोचका साथअघि बढे्को छ भन्नुभयो ।

“पूर्वमेचीदेखि महाकालीसम्म आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको छ”, उहाँले भन्नुभयो, “सात प्रदेशमध्ये दुई प्रदेशमा हाम्रै पार्टी नेतृत्वको सरकार छ । प्रदेश नं २ मा पनि हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली छौं । यो कुरा सबैलाई थाहा छ ।”

अध्यक्ष नेपालले नेकपा (एमाले) भन्दा आफ्नो पार्टी शक्तिशाली रहेको दाबी गर्दै आगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने विश्वास व्यक्त गर्नुभयो ।

यही मङ्सिर १५ गतेबाट पार्टीले स्टीकर वितरण गर्दै जनताको घर–घरमा पुग्ने अभियान चलाउन लागेको बताउँदै उहाँले पार्टीलाई शक्तिशाली बनाउने गरी जनताको घरमा पुग्ने अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

नेकपा(एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएको उनको भनाइ छ ।

“नेकपा (एस)मा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन् । उनलाई छटपटाहट भइरहेको छ,”

उनले भने, “आगामी चुनावसम्म उनको हालत विचराजस्तो हुन्छ ।”

ओली दक्षिणको इसारामा चलिरहेको उनको आरोप छ ।

यसैगरी अध्यक्ष नेपालले आज बिहान जनकपुरधाम उपमहानगरपालिका–१ किशोरी नगरमा नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रदेश र धनुषा जिल्ला पार्टी कार्यालयको उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले विभिन्न पार्टी परित्याग गरी आएका नेता कार्यकर्तालाई माला, अबिर लगाएर पार्टी प्रवेश गराउनुभयो ।

आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको छः अध्यक्ष नेपाल

कोरिया हिडेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा

कोरिया हिडेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा

काठमाडौँ-कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ठग्ने होटलमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ सहितको टोलीले छापा मारेको छ ।

कोरिया उड्न लागेका ८३ जना नेपालीलाई बाल्टिक होटलले ‘होटल प्याकेज’को नाममा बढी रकम असुलेको सूचनाका आधारमा छापा मारिएको बताईएको छ ।

‘बुधवार बिहान होटलमा छापा मार्न पुगेका मन्त्री श्रेष्ठले त्यहाँ ५ दिनदेखि बसेको ८३ जनासँग सात दिनको पैसा मागेको पाइएको बताएका छन् ।

होटलमा बसेका ८३ जनामध्ये केहीलाई ३० हजार रूपैयाँभन्दा बढी थप रकम असुलेको पाइएको छ ।

करीब १२ हजार मात्रै तिर्न पर्नेमा ३० हजार रूपैयाँभन्दा बढी असुलेको पाइएको हो ।

कोरिया जान लागेका नागरिकलाई अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भन्दै ‘दलाल’ अजय सोडारीले बढी पैसा तिराउन लगाएको पाईएको छ ।

मन्त्री श्रेष्ठले होटल सञ्चालकलाई बढी लिएको पैसा तत्कालै फिर्ता गर्न निर्देशन दिएका छन् ।

सोडारीलाई गौशाला प्रहरीले पक्राउ गरेको छ ।

यसअघि कोरिया रोजगारी खुलाउनुपर्छ भन्दै अभियान चलाउने संघर्ष समितिमा समेत सोडारी सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ ।

कोरिया हिडेका ८३ युवालाई ठग्ने होटलमा श्रममन्त्रीको छापा

पुर्व पश्चिम राजमार्ग रोकेर एमाले महाधिवेशन

पुर्व पश्चिम राजमार्ग रोकेर एमाले महाधिवेशन

चितवन-नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारीसाधन चल्न रोक लाग्ने भएको छ ।

मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस ट्रमिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रका सडकमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको हो ।

बिहान ९ देखि साँझ ५ः३० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ ।

मानिसको चाप धेरै भएको ठाउँमा सवारीसाधनसमेत चले दुर्घटना हुन सक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उहाँले बताउनुभयो ।

आयोजकले २० स्थानमा डिस्प्ले बोर्ड राख्ने भएकाले सहभागीले गाडी रोकिने ठाउँ आसपासका बोर्डबाट समेत कार्यक्रम हेर्न पाउनेछन् ।

तामाङले भन्नुभयो, “यसले गर्दा कार्यक्रमस्थलको भीड कम हुन्छ ।”

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सो दिन सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ ।

गाडी रोकिने नाकाहरुमा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् ।

महाधिवेशनको उद्घाटन स्थल नारायणी नदी किनारमा बनाइएको छ ।

उद्घाटनमा पाँच लाख सहभागी गराउने सो पार्टीले जनाउँदै आएको छ ।

पुर्व पश्चिम राजमार्ग रोकेर एमाले महाधिवेशन

ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल

ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल

जनकपुरधाम-नेकपा(एमाले)को चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

बुधबार जनकपुरधामस्थित एकीकृत समाजवादीको प्रदेश पार्टी कार्यालय उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

“सूर्यको धाक नदेखाए हुन्छ । सूर्यमा ग्रहण लागिसकेको छ,” उनले भने, “अब कलम चम्किरहेको छ ।”

एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा ग्रहण लागेको उनको टिप्पणी थियो ।

नेकपा(एकीकृत समाजवादी)मा जनताको आकर्षण देखेर ओली आत्तिएको उनको भनाइ छ ।

“नेकपा (एस)मा किसान, मजदुर, युवाको आकर्षण देखेर ओली आत्तिएका छन् । उनलाई छटपटाहट भइरहेको छ,”

उनले भने, “आगामी चुनावसम्म उनको हालत विचराजस्तो हुन्छ ।”

ओली दक्षिणको इसारामा चलिरहेको उनको आरोप छ ।

ओलीका कारण सूर्यमा ग्रहण लागिसक्यो: माधव नेपाल

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

काठमाडौँ-कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् ।

यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ ।

अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै शुल्क तिर्न पर्ने छैन

नगरपालिकाको स्थायी बासिन्दा भएको प्रमाणित सरकारी कागजात (नागरिकता, मतदाता परिचय–पत्र ई) को प्रतिलिपिका आधारमा निःशुल्क रगतको सेवा उपलव्ध गराइने व्यवस्था गरिएको छ ।

काठमाडौँ उपत्यकामा स्थानीयवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कीर्तिपुर पहिलो पालिका भएको छ ।

यही मङ्सिर ७ गतेदेखि लागूहुने गरी नगरप्रमुख रमेश महर्जन र नेरेसोका अध्यक्ष नेत्रप्रसाद तिम्सिना बीच सो सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।

सम्झौतामा नगरपालिकाको तर्फबाट उपप्रमुख सरस्वती रिजाल खड्का र प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटा तथा सोसाइटीका तर्फबाट कार्यकारी निर्देशक उमेश ढकाल र केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले पनि हस्ताक्षर गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सापकोटाले नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने र नगरपालिकाबाट केन्द्रीय रक्तसञ्चार सेवामा रगत सङ्कलन कार्यमा सहयोग गर्ने ध्येयले सम्झौता गरिएकोे जानकारी दिनुभयो ।

नेरेसोका कार्यकारी निर्देशक ढकालले मानवीय सेवाका लागि नेरेसोले आफ्ना गतिविधि केन्द्रीत गरेको जानकारी दिँदै रक्त सञ्चार सेवालाई चुस्त बनाइने बताउनुभयो ।

उहाँले भन्नुभयो “रक्तदानका बारेमा थप सचेतना आवश्यक छ । यसका लागि पालिकाहरुको अहं भूमिका हुन्छ । ”

केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पौडेलले भन्नुभयो “सुलभ र निःशुल्क रगत उपलव्ध गराउन यो सम्झौता एउटा महत्वपूर्ण सुरुआत हो । अन्य स्थानीय निकायसँग पनि सहकार्य बढाउँदै लगिने छ ।”

रगत परीक्षण तथा रक्तथैलीका लागि १० लाख बिनियोजन

रगत परीक्षण र सेवाशुल्कको लागि नगरपालिकाले रु १० लाख बिनियोजन गरेको जनाइएको छ ।

सम्झौतामा रगतको आपूर्ति बमोजिम केन्द्रीय रक्तसञ्चार सेवालाई शोधभर्ना दिइने उल्लेख छ ।

त्यस्तै नगरपालिकाका हरेक वडाले वर्षका कम्तिमा दुइपटक रक्तदान कार्यक्रम आयोजना गरी केन्द्रीय रक्तसञ्चार सेवामा रगत आपूर्ति बढाउन सहयोग गर्नेछन् ।

कार्यक्रममा रक्तदानको महत्व र अवस्थाका बारेमा नेरेसोका उपनिर्देशक डा प्रकाश यादवले जानकारी दिनुभएको थियो ।

सो कार्यक्रममा नेरेसोका उपाध्यक्षद्वय शर्मिला कार्की र डा विश्वकेशर मास्के, कोषाध्यक्ष सीताराम कोइराला, उपकोषाध्यक्ष होम पाठक तथा विभिन्न वडाका वडाध्यक्षको सहभागितो थियो ।

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म

पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्म

धनगढी-नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी तीनै तहको निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने दाबी गरेका छन् ।

आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको बताउदै प्रचण्डले काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैनुभन्ने गरेको बताएका छन् ।

बुधबार धनगढीमा पत्रकारसँगको कुराकानिमा नेता दाहालले उक्त कुरा बताएका हुन् ।

प्रचण्डले भने,‘काँग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका प्रचण्डले भने, ‘तर भित्री रुपमा गठबन्धन नगरी हुँदैन भन्ने ती नेताले पनि राम्ररी बुझेका छन्, त्यसैले तीनै तहको निर्वाचन सम्म गठबन्धन हुन्छ, त्यसका लागि अहिले सवै दलबीच राम्रो समझदारी बनेको छ ।’

पाँच दलीय गठबन्धनलाई थप बलियो बनाउन राजनीतिक संयन्त्र बनेको उनले बताए ।

प्रचण्डले राष्ट्रिय सभाको रिक्त पदमा पाँच दलीय गठबन्धनले तालमेल गर्ने बताए ।

‘राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलले संयुक्त उम्मेदवार बनाउने पक्का भएको छ,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो तालमेल आगामी अन्य चुनावका लागि बलियो आधारसमेत बन्ने छ ।’

भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल

भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल

चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ ।

जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो ।

महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार कङ्कालसँगै लप्सीको रुखको हाँगामा जुटको डोरी चुँडिएको अवस्थामा भेटिएको छ ।

घटनास्थलमा रहेको झोलामा बाँसको चोया काट्ने चक्कु, चेकसर्ट र झोलाका आधारमा प्रहरीले कङ्काल पहिचानको प्रयास गरिरहेको गिरीले जानकारी दिनुभयो ।

कङ्काल परीक्षण गर्न काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको छ । घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भक्तपुरको सामुदायिक वनमा मानव कङ्काल

तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त: नेता नेपाल

तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त: नेता नेपाल

जनकपुर-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने बताएका छन् ।

मंगलबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।

चरण चरणमा निर्वाचन गर्दा मुलुकमा आर्थिक भार पर्ने भएकाले तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त हुने उनको धारण रहेको थियो ।

उनले राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनाइने समेत जनाएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सत्तारुढ गठबन्धनबीच लामो सहकार्य हुने र उपनिर्वाचनमा पनि साझा उम्मेदवार बनाइने बताएका हुन् ।

उनले भने, “एउटा प्रदेशमा एकै दिन तीनै तहको निर्वाचन, पुनः अर्को प्रदेशमा अर्को एकैदिन तीनै तहको निर्वाचन गर्दा राम्रो हुन्छ ।”

त्यसो गर्दा देशलाई पनि आर्थिक भार कम पर्ने र उम्मेदवारको पनि खर्च कम हुने उनको सुझाव थियो ।

अध्यक्ष नेपालले अगामी निर्वाचनसम्म पाँच दलीय गठबन्धन कायम रहने विश्वास व्यक्त गर्दै आसन्न राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भइसकेको बताए ।

न्यायपालिकामा देखिएको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा उनको जोड थियो ।

न्यायपालिकाभित्र देखिएको द्वन्द्वको समाधान छलफल तथा आपसमा समझदारी गरेरै निकाल्नुपर्ने नेता नेपालले बताए ।

“हरेक समस्याको समाधान गर्ने उपयुक्त विधि वार्ता र संवाद नै हो, अरू कुनै विधि नै छैन, त्यसैले वार्ता र संवादकै माध्यमबाट अहिले न्यायालयभित्र देखिएको विवाद समाधान गर्नुपर्छ ।”उनले भने,

समस्या समाधानमा ढिलाइ हुँदा आम जनतामा नकारात्मक सन्देश गइरहेकाले न्यायालयभित्रको विवाद समाधान हुने गरी संवाद अघि बढाउन प्रधानमन्त्रीसँग छलफल भइसकेको र छिट्टै नै समस्या समाधान हुने उनले विश्वास व्यक्त गरे ।

तीनै तहको निर्वाचन एकै पटक गर्दा उपयुक्त: नेता नेपाल

भीम रावलको उम्मेदवारीले झस्किए ओली: खीमलाललाई पठाए समर्थन जुटाउन

भीम रावलको उम्मेदवारीले झस्किए ओली: खीमलाललाई पठाए समर्थन जुटाउन

काठमाडौँ-नेकपा एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेसँगै केपी ओली झस्किएका छन् ।

रावलको घोषणाले झस्किएका ओलीले केन्द्रीय सदस्य एवं राष्ट्रिय सभामा प्रतिपक्षी दलका मुख्य सचेतक खीमलाल भट्टराईलाई उम्मेदवारी फिर्ता गराउन परिचालन गरेको स्रोतले बताएको छ ।

ओलीद्वारा परिचालित भट्टराईले उपाध्यक्ष भीम रावललाई भेटेर एमाले अध्यक्षका लागि गरेको उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका छन् ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा मंगलवार भएको भेटमा भट्टराईले कम्तीमा पदाधिकारीमा सहमति गरेर अघि बढ्न आग्रह गरेका हुन् ।

‘आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा नेतृत्वको सर्वसम्मतिको निम्ति भूमिका खेल्न कमरेड भीम रावललाई अनुरोध गरियो ।

घोषित आफ्नो उम्मेदवारी फिर्ता लिएर कमरेड केपी ओलीलाई समर्थन गर्दै अन्य पदाधिकारीमा आफूलाई अगाडि सारेर सहमतिको भूमिका खेल्न आग्रह गरियो,’ भट्टराईले फेसबुकमा लेखेका छन् ।

त्यसक्रममा रावलले सहमतिको बाधक आफू नहुने बताएको भट्टराईले लेखेका छन् । रावलले एमाले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

मंगलवार एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले रावलको उम्मेदवारीलाई सकारात्मक रुपमा लिएको बताएका थिए ।

भीम रावलको उम्मेदवारीले झस्किए ओली: खीमलाललाई पठाए समर्थन जुटाउन

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

काठमाडौँ-नेपाल र भारतबीच कोरोना भाइरस विरुद्धको खोप प्रमाणपत्रको पारस्परिक मान्यता दिनेबारेमा सहमति भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यताको लागि समझदारीपत्र आदानप्रदान भएको हो ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको उपस्थितिमा स्वास्थ्य सचिव डा रोशन पोखरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सो सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सहमतिनुसार नेपालमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई भारतले र भारतमा खोप लगाएका व्यक्तिको खोपको प्रमाणपत्रलाई नेपालले मान्यता दिने छन् ।

यी दुईमध्ये एक देशमा खोप लगाएको प्रमाणपत्र देखाएमा एक अर्का देशमा आवतजावत गर्न पाइने भएकोे हो ।

सो कार्यक्रममा सचिव डा पोखरेलले एक अर्का देशले खोप लगाएको प्रमाणपत्रको मान्यता दिएसँगै आवतजावतमा सहज हुने बताउनुभयो ।

नेपाल र भारतबीच खोप प्रमाणपत्रको मान्यता प्रदान

१९ करोड तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएन

१९ करोड तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएन

काठमाडौं-सर्वोच्च अदालतले गरेको फैसला अनुसार विगो तिरेपनि नेपाल बैंक लिमिटेडले आफ्नो सम्पत्ति फिर्ता नगरेको भन्दै व्यवसायी मोहन साहनीले ध्यानाकर्षण गराएका छन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर साहनीले अदालतको आदेश अनुसार आफूले बिगो तिरेको तर बैंकले सम्पत्ति फिर्ता नगरेको बताएका हुन् ।

उनले जतिसक्दो छिटो सर्वोच्च अदालतको फैसला कार्यान्वयनको माग गरे । साहनीले भने,‘सर्वोच्च अदालतको फैसला बमोजिमको भुक्तानी भइ सकेकाले धितो फिर्ता पाउन अनुरोध गर्दछु ।’

बैंकमा धितो राखिएको करोडौंको सम्पत्तिको विगो तिरिसकेकोले फिर्ता पाउनुपर्ने उनले माग राखे ।

साहनीले २०७८ साल असोज १५ गते २६ करोड रुपैयाँ बिगो बैंकमा तिरेको बताए ।

‘सर्वोच्च अदालतले गरेको फैसला अनुसार १९ करोड बिगो सहित जम्मा २६ लाख तिरे, तर आज सम्म बैंकले मेरो ९९ रोपनी जग्गा फिर्ता गरको छैन्,’ उनले भने ।

साहनी समूह अन्तर्गत उनले १९ करोड विगो तिरेपछि बैंकले सम्पत्ति फिर्ता गर्नुपर्नेमा सम्पत्ति विक्री गरिसकेको खुलाए ।

तर, उनले कुनै हालतमा अदालतको आदेश अनुसार हुनुपर्ने बताए ।

‘तर नेपाल बैंकले त्यो सम्पत्ति विक्रि गरीसकेको हुनाले सम्पत्ति लगानी गरेको बताइरहेको छ,’ साहनीले भने ।

आफूजस्तै बैंक पीडितको समूह धेरै रहेको भन्दै सम्पत्ति फिर्ता गर्न आलटाल गरे, समस्या समाधान नगरे सबै मिलेर बैंक घेराउ हाल्ने चेतावनी पनि दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त सुर्यनाथ उपाध्यायको अनुसन्धानको टोलीले कमसल धितो ओभर भ्यालुएसन गराएर साहनी समुहको ९९ रोपनी जग्गालाई जिरो भ्यालू बनाएको समेत आरोप लगाए ।

‘नेपाल बैंकका बोर्ड अध्यक्ष लोकभक्त राणा, बोर्ड सचिव अमर खड्का, जिएम भवानी उपाध्याय र असुलीको किरण कुमार श्रेष्ठ भएको पनि उनले बताए ।

उनीहरुको पालामा कर्जा छानबिनमा परेको बताए ।

२०५८ सालमा १ अर्ब ८ करोड ६३ लाखको कर्जा काण्ड बनाएर अख्तियारमा उजुरी दर्ता गर्ने प्रमुख सुर्यनाथ उपाध्यायको अनुसन्धानको टोलीले मुद्दा कमसल धितो ओभर भ्यालुएसन बनाएर शाहनी समुहलाई ९९ रोपनी जग्गा जिरो भ्यालु गरिएको र नेपाल बैंकको नाममा दृष्टि बन्धक रोक्का राखियो,’ साहनीले भने ।

बैंकले सम्पत्ति हिनामिना गरेको जिकिर

२०५८ सालमा मुद्दा दर्ता भएको मुद्धा अदालतमा विचाराधिन रहेको अवस्था तुरुन्त बिक्रि गरेको आरोप लगाउँदै उनले बैंकले सम्पत्ति हिनामिना गरेको जिकिर गरे ।

अदालतमै मुद्दा हुँदै गर्दा बैंकले जग्गा बेच्न नपाउने उनको तर्क थियो ।

साहनीले नेपाल बैंक राष्ट्रको सम्पत्ति हो भन्दै त्यहाँको कर्मचारीहरुको दोष हो भन्दै कर्मचारीहरुलार्ई कारवाही गर्न माग गरे ।

सर्वोच्चले फैसला गरे अनुसार आफ्नो सम्पत्ति फिर्ता पाउनुपर्ने उनको माग छ ।

अदालतले गरेको निर्णय अनुसार आफ्नो सम्पत्ति फिर्ता गरेर न्याय दिन उनले आग्रह गरे ।

उनले आफुले २२ वर्ष अगाडी साढे ९ करोड सावा लिएको भन्दै सावाको ब्याजसहित १९ करोड विगो तिरेको उल्लेख गरे ।

उनले २०६२ देखि २०६४ सम्ममा बैंकले आफ्नो सम्पत्ति बिक्रि गरीसकेको बताए ।

तर, अदालतको आदेश कार्यान्वयन भई जग्गा फिर्ता दिन माग गरे ।

१९ करोड तिर्दासमेत नेपाल बैंकले सम्पत्ति फिर्ता दिएन

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

काठमाडौं-शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेशन आवेदन फाराम खुला गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीका लागि फाराम खुला गराएको हो ।

आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम बुझाइ सक्नुपर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिएका छन् ।

बोर्डले ४ सय फाराम शुल्क तोकेको छ भने समयमा फाराम बुझाउन नसक्नेका लागी दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सक्ने जनाएको छ ।

यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ ।

कक्षा ११ को नयाँ पाठ्यक्रम अनुसारको विषय समूह, विषय कोड अनुरुप एक समूहबाट एक विषयमात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन बोर्डले निर्देशन दिएको छ ।

रजिष्ट्रेशन आवेदन फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।

कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला

नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान

एजेन्सी-सिरियामा तैनाथ राष्ट्रसंघीय हतियाररहित पर्यवेक्षक बल (यूएनडीओएफ) मा सहभागी हुन १ सय ९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ ।

यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसंघको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प्रस्थान गरेको हो ।

राष्ट्रसंघीय सुरक्षा परिषद्ले सन् १९७४ मा इजरायल र सिरियाबीचको युद्धविराम भंग हुन नदिन, इजरायली, सिरियाली सेना हातहतियाररहित भएको सुनिश्चित गर्न तथा दुई देशबीच छुट्याइएका सीमा क्षेत्र र सीमितताको पर्यवेक्षण गर्न यूएनडीओएफ स्थापना गरेको हो ।

यूएनडीओएफको स्थापनाकालदेखि नै नेपाली सेनाले उक्त ‘मिसन’मा शान्ति सेनामा योगदान पुर्‍याउँदै आएको छ ।

गौर नगरपालिकामा अख्तियार टोलीको छापा

गौर नगरपालिकामा अख्तियार टोलीको छापा

काठमाडौँ-रौतहटको सदरमुकाम गौर नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन गरेको छ ।

आयोगको बर्दिबासको टोलीले गौर नगरपालिकाको केही आवश्यक कागजातहरू चेकजाँच गरेको हो ।

गौर नगरपालिकाका योजनाहरूमा व्यापक अनियमितता भएको उजुरी को आधारमा अख्तियार दुरुपयोग आयोग बर्दिबासको टोलीले झण्डै एक घण्टासम्म नगरपालिकामा फाइलहरू जाँच गरेको थियो ।

गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना लगायतका विषयमा आयोगमा परेको उजुरीको अनुसन्धानका लागि बर्दिबासको टोली गौर पुगेको हो ।

गौर नगरपालिकामा अख्तियार टोलीको छापा