चापीनी नदी बगरमा औद्योगिक ग्राम बन्ने

चापीनी नदी बगरमा औद्योगिक ग्राम बन्ने

सर्लाही-हरिवन नगरपालिकाले वडा नम्बर ११ स्थित चापीनी नदी बगरमा औद्योगिक ग्राम बनाउने भएको छ ।

नगर प्रमुख गणेश प्रसाईंले नगर क्षेत्रमा औद्योगिक क्षेत्र प्रवद्र्धन गर्न औद्योगिक ग्राम बनाउन लागिएको जानकारी दिए।

आइतबार सो ग्रामको शिलान्यास गर्दै उहाँले औद्योगिक ग्रामबाट स्थानीय रोजगारी सिर्जना तथा आन्तरिक आयस्रोत समेत बृद्धि हुने जानकारी दिए ।

‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’अन्र्तगत हरिवनमा सो औद्योगिक ग्राम बन्न लागेको हो ।

यसका लागि सङ्घीय सरकारले गत आर्थिक वर्षमा विनियोजित रु एक करोड बिनियोजन समेत गरेको थियो ।

सो रकमबाट जग्गा व्यवस्थापन, पर्खाल लगाउने र खोला नियन्त्रणको काम सकिएको इञ्जिनियर जकी अहमद सिद्दकीले बताए ।

उनका अनुसार अब सो जमिनमा स्थानीय उत्पादनमुखी र स्थानीयलाई रोजगारी सिर्जना हुने खालका व्यापार व्यावसाय गर्न जमिनलाई नगरपालिकाले भाडामा लगाउने छ ।

करिब आठ बिघा क्षेत्रफलमा स्थापना हुन लागेको औद्योगिक ग्राममा यस क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न सहज हुने बताइएको छ ।

साथै हरिवनको आर्थिक विकासमा मद्दत पुग्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खरुदेव चुँडालले बताए ।

एउटै छानामुनि विभिन्न व्यवसाय तथा उद्योग सञ्चालन हुँदा स्थानीलाई आफ्नो उत्पादन कहाँ बिक्री वितरण गर्ने र बजार नपाउने चिन्ता हट्नुको साथै किनमेल गर्न धेरैतिर धाउनुपर्ने बाध्यता हट्ने नगरपालिकाले विश्वास लिएको छ ।

नदीले कटान गरेको जमिनको सदुपयोग गर्दा कृषियोग्य तथा वनको जमिन सुरक्षित रहने मात्र नभई कलकारखाना स्थापनाले बेरोजगारीको समस्यासमेत हल हुने जनाइएको छ ।

सो औद्योगिक ग्राम प्रदेश २ कै नमूना बन्ने विश्वास गरिएको छ ।

चापीनी नदी बगरमा औद्योगिक ग्राम बन्ने

नेप्से दोहोरो अङ्कले ओरालो

नेप्से दोहोरो अङ्कले ओरालो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।

शेयर कारोबार हुने साताको पहिलो दिन नै नेप्से ११.६० अङ्कले घटेर दुई हजार ७५७.५३ मा ओर्लेको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७५ अङ्कले घटेर ५१८.२५ मा पुगेको छ ।

नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ

कूल २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता शेयर रु चार अर्ब ३५ करोड ७३ लाख नौ हजार ३१९ मूल्यमा कारोबार भयो ।

आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७८ अर्ब ४९ करोड ४७ लाख २० हजारको हाराहारीमा सीमित भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर उकालो लागेको छ ।

जलविद्युत् १३.२१ र उत्पादन उपसमूह ९६.१४ अङ्कले बढेको छ ।

यस्तै, बैंकिङ ५.१, व्यापार ५८.५४, होटेल तथा पर्यटन ५०.८८, विकास बैंक ६.८९, वित्त १९.२३, निर्जीवन बीमा ६४.१६, अन्य ३८.८८, लघुवित्त १७.४३, जीवन बीमा १४०.५, सामूहिक लगानी कोष ०.०३ र लगानी ०.७४ अङ्कले घटेको छ ।

हालक्ष्मी विकास बैंक शीर्ष स्थानमा

कारोबारका आधारमा महालक्ष्मी विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ५० करोड ९९ लाख ९२ हजार ३३२ बराबरको कारोबार भयो ।

नेसनल हाइड्रोपावर रु २३ करोड ८४ लाख ५० हजार ४८२, नेपाल दूरसञ्चार कम्पनी रु २२ करोड ६२ लाख ३८ हजार ३३८, हिमाल दोलखा हाइड्रोपावर रु २१ करोड ५० लाख ७५ हजार १०६ र माथिल्लो तामाकोसी रु १५ करोड २५ लाख ३८ हजार ६६८ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ ।

यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ८, हिमाल दोलखा हाइड्रोपावर ६.४० र शिवश्री हाइड्रोपावरका लगानीकर्ताले ४.१९ प्रतिशतले कमाए ।

यसैगरी, तेह्रथुम पावर कम्पनी ४.२१, आइसिएफसी फाइनान्स ३.८९, प्रिमियर इन्सुरेन्स ३.६१, नेसनल माइक्रोफाइनान्स ३.२८ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाए ।

नेप्से दोहोरो अङ्कले ओरालो

रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा: (पत्रको पुर्ण पाठ)

रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा: (पत्रको पुर्ण पाठ)

काठमाडौं-नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको छन् ।

आइतबार काठमाडौंको रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गर्दै उनले यही १० देखि १२ गतेसम्म हुने १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

कार्यक्रममा उनले पार्टीमा १० बुँदे सहमति आफूले सोचेअनुसार कार्यान्वयन नभएको समेत गुनासो गरेका छन् ।

पार्टीले थप क्षति व्यहोर्नु नपरोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको उनको भनाइ थियो ।

अध्यक्ष पदमा मेरो उम्मेदवारी किन रु भन्ने शिर्षकमा ११ पन्नामा उनले उम्मेदवारीको कारण खुलाउदै उम्मेदवारी दिने घोषणा गरेको हुन् ।

रावलद्वारा पार्टी अध्यक्षमा उम्मेदवारीको घोषणा: (पत्रको पुर्ण पाठ)

यस वर्ष पनि रासायनिक मलको अभाव निश्चित

यस वर्ष पनि रासायनिक मलको अभाव निश्चित

काठमाडौँ-गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यसवर्ष पनि मल नपाउने भएका छन् ।

मल खरिद बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो ।

आलु र गहुँका लागि आवश्यकपर्ने मल गत फागुनदेखि नै खरिदको तयारी गर्दा समेत अभाव हुने देखिएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्तर्राष्ट्रियरुपमा नै रासायनिक मलको मूल्यमा वृद्धि हुँदा मल खरिदको जिम्मा पाएका कम्पनीले मल ल्याउन नसक्दा अभाव हुने देखिएको छ ।

अन्तराष्ट्रिय रुपमा गत वर्षको तुलनामा यसवर्ष प्रति मेट्रिकटन ३०० अमेरिकी डलरभन्दा बढीले रासायनिक मलको मूल्यमा वृद्धि भएको छ ।

“कोभिड अगाडि रासायनिक मलको मूल्यमा खासै वृद्धि हुने गरेको थिएन, मूल्य बढ्दै घट्ने गरेको थियो, तर कोभिड पश्चात निरन्तर रुपमा रासायनिक मलको मूल्य बढेको छ, हामीले मल खरिदको बोलपत्र आह्वान गर्दा अन्तर्राष्ट्रिय रुपमा मलको मूल्य कम थियो, तर हाल उच्च भएको छ”, उहाँले भन्नुभयो, “मल खरिद गर्न कम्पनीले रु ४-५ करोड बराबरको धरौटी रकम राखेका हुन्छन्, रु २२-२५ करोड घाटा खाएर रासायनिक मल ल्याउनुभन्दा व्यवसायीले धरौटी रकम नै छाड्ने गरेका छन् ।”

उहाँका अनुसार यसअघि प्रति मेट्रिकटन ६७० डलरमा मल खरिदको ठेक्का हुने गरेकामा हाल ठेक्का रकम बढेर ९४८ डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय रुपमा नै मलको अभाव भएको भन्दै मूल्यमा वृद्धि हुँदा नेपालमा प्रत्यक्ष असर पर्ने गरेको उहाँको भनाइ छ ।

“हाम्रो देशमा रासायनिक मलको उत्पादन छैन, अन्य देशबाट ल्याउनुपर्ने बाध्यताका कारण नेपाली किसानले प्रत्येक वर्ष दुःख पाउने गरेका छन्”, उहाँले भन्नुभयो, “मल उत्पादन गर्ने देशले दिए हामीले पाउने हो, जतिमा दिन्छु भन्छन् त्यतिमा ल्याउनुपर्ने हाम्रो बाध्यता छ, हाम्रो सार्वजनिक खरिद नियमावलीअनुसार कम मूल्यका आधारमा मलको ठेक्का दिइन्छ, सोही कारण पछिल्ला सबै ठेक्का रद्द हुने गरेका छन्, एउटै ठेक्काका लागि २० पटकसम्म बोलपत्र आह्वान गर्नुपरेको बाध्यता छ ।”

यस वर्ष दुई लाख मेट्रिक मात्र मल ल्याइने

नेपालमा रोपाइँ हुने क्षेत्रफलका आधारमा करिब साँढे सात लाखदेखि आठ लाख मेट्रिकटन मल आवश्यक पर्छ ।

त्यसमध्ये साढे पाँच लाख टनआयात गर्न सके किसानले अभाव झेल्नुपर्दैन ।

मूल्य वृद्धिका कारण मागको तुलनामा न्यून मात्रामा रासायनिक मल आउदा प्रत्येक वर्ष किसानले मलबिनै खेती गर्नुपर्ने बाध्यता छ ।

कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले यसवर्ष रु १५ अर्ब रकमबाट दुई लाख मेट्रिकटन मात्र रासायनिक मल ल्याउन सकिने अनुमान गरिएको बताउनुभयो ।

“गतवर्ष हामीले सरकारले दिएको रु एघार अर्ब मध्येबाट चार लाख दुई हजार मेट्रिक टन (कृषि सामाग्री कम्पनी र साल्ट ट्रेनिङ कर्पाेरेशन दुवैले) रासायनिक मल ल्याएका थियौँ, तर यस वर्ष आधा मात्र ल्याउन सकिने हाम्रो अनुमान छ”, उहाँले भन्नुभयो, “यसवर्ष हामीले रु १५ अर्ब (पछि थपिएको रु तीन अर्बसहित) रकममध्येबाट दुई लाख १५ हजार मेट्रिकटन मात्र ल्याउनसक्ने अपेक्षा गरेका छौँ, अहिलेसम्मको मूल्यअनुसार हामीले दुई लाख जति आउँछ भनेका हौँ, अबका दिनमा मूल्यमा फेरबदल हुँदा सङ्कटपूर्ण नै अवस्था छ ।”

कोभिडका कारण रासायनिक मल उत्पादन गर्ने कम्पनी बन्द भएर उत्पादन कम हुँदा विश्वबजारमा मल अभाव देखिएको छ ।

उहाँले बोलपत्रको विधिअनुसार मात्रै मल ल्याउनसक्ने अवस्था नरहेकाले वैकल्पिकविधिको प्रयोग गर्नुपर्ने बताउनुभयो ।

“हामीले पटक÷पटक मन्त्रालयमा बोलपत्रमार्फत मात्रै नभएर सरकार–सरकार (जीटूजी)मार्फत मल ल्याउन पहल गर्नुपर्ने कुरा राख्दै आएका छौँ, तर हालसम्म सुनुवाइ नहुँदा किसानले खोजेको समयमा मल पाएनन्”, उहाँले भन्नुभयो ।

बङ्गलादेशबाट मल ल्याउँदा सवा अर्ब नाफा

गत वर्ष नेपालमा रासायनिक मलको अभाव भएको भन्दै सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिकटन युरिया मल खरिद गरेको थियो ।

सुरुआती चरणमा सापटीमा मल ल्याउने तयारी भए पनि अन्तिम समयमा सरकारले जीटूजीमार्फत मल खरिद गरेको थियो ।

पचास हजार मेट्रिकटन युरिया मल खरिद गर्दा सरकारलाई रु एक अर्ब २२ करोड बराबर नाफा भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध सञ्चालक भण्डारीले बङ्गलादेशबाट जीटुजीमार्फत ३४१ मेट्रिक टन रासायनिक मल ल्याएकामा अहिले ९४८ डलर पुगेको बताउनुभयो ।

हामीले बङ्गलादेशबाट मल ल्याउने सम्झौता गरेपछि मलको मूल्य बढ्न थालेको हो । बङ्गलादेशबाट मल आउन सुरु हुँदा नै प्रति मेट्रिक टन ६७० अमेरिकी डलर पुगेको थियो ।

अहिले पुनः बढेर ९४८ डलर पुगेको छ ।

“सरकारले जुटीजीमार्फत सम्झौता गरेको हुनाले गत वर्ष बङ्गलादेशबाट मल ल्याउँदा रु सवा एक अर्ब नाफा भएको हो”, उहाँले भन्नुभयो ।

साल्ट ट्रेनिङ कर्पाेरेशनले जेठमा डिएपी मल ल्याउन नसक्दा अभाव देखिएको जनाएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय रुपमा नै रासायनिक मलमा भएको मूल्य वृद्धिका कारण मल ल्याउन नसक्दा आलु र गहुँ रोप्ने समयमा मलकोे अभाव देखिएको हो ।

यस वर्ष पनि रासायनिक मलको अभाव निश्चित

सञ्चयकोषद्वारा जग्गा खरिद सापटी सुरु: यस्तो छ प्रकृया

सञ्चयकोषद्वारा जग्गा खरिद सापटी सुरु: यस्तो छ प्रकृया

काठमाडौँ-कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ ।

कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् ।

कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् गर्न जग्गा खरिद सापटी कर्जा सुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

जग्गा खरिद सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमा र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम ५० पचास लाख पाउनेछन् ।

जग्गा खरिदबिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गरिने छ ।

कर्जा चुक्ता अवधि सञ्चयकर्ताको बाँकी नोकरी अवधिमा नबढ्ने गरी अधिकतम दश वर्षको हुनेछ ।

दुई पटक मात्र जग्गा खरिद सापटी लिन सकिने

कोषले यसअघि घर सापटी, घर मर्मत, सापटी र सरल चक्रकर्जा लिएका सञ्चयकर्ताको हकमा सापटी चुक्ता गरेपछि र शैक्षिक सापटी लिएका सञ्चयकर्ताको हकमा कर्जा नियमित गरेको अवस्थामा मात्र सापटी लिन सकिनेछ ।

सञ्चयकर्ताले पहिले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुई पटक मात्र जग्गा खरिद सापटी लिन सक्नेछन् ।

जग्गा खरिद सापटीको धितोको लागि न्यूनतम चार मिटरको बाटो भएको काठमाडौँ उपत्यकाभित्र कम्तीमा तीन आना जग्गा हुनुपर्ने छ । ।

उपत्यका बाहिर कम्तीमा आठ धुर वा पाँच आना क्षेत्रफल र तोकिएको मापदण्ड पूरा भएको जग्गा हुनुपर्ने छ ।

जग्गा खरिद सापटी लगनखेलस्थित कोषको कार्यलयबाट

सञ्चयकर्ताले जग्गा खरिद सापटी लिन काठमाडौँ उपत्यकाको हकमा लगनखेलस्थित कोषको कार्यलयबाट तथा उपत्यका बाहिरको हकमा कोषका शाखा कार्यालयमा आवेदन गर्नुपर्ने छ ।

कोषले यसअघि सञ्चयकर्ताको सामाजिक आवश्यकता पूरा गर्न विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी र सरलचक्र कर्जा जस्ता सापटी प्रदान गर्दै आइरहेको छ, भने औषधोपचार सुविधा, किरियाखर्च र शिशु तथा प्रसूति स्याहार जस्ता सामाजिक सुरक्षासुविधा समेत प्रदान गर्दैआइरहेको छ ।

अर्थ मन्त्रालयको वार्षिक बजेटमा राष्ट्र सेवक कर्मचारीलाई कर्मचारी सञ्चयकोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने उद्देश्य छ ।

कोषको गत कात्तिक मसान्तसम्ममा सञ्चयकर्ताको आवास निर्माणका लागि २०३११ जनालाई रु ३७ अर्ब ७८ करोड ।

शैक्षिक सापटी तर्फ ६६१ जनालाई रु ५९ करोड, घर मर्मत सापटी तर्फ १७७९ जनालाई रु एक अर्ब ८७ करोड ।

सरलचक्र कर्जा तर्फ ३३८५ जनालाई रु ४ अर्ब ९२ करोड गरी धितोमा आधारित कर्जा रु ४५ अर्ब १७ करोड लगानी छ ।

कोभिड– १९ को कारण लकडाउनको अवधिमा कर्जा प्रवाहमा केही कमी आएको कोषले बताएको छ ।

देशको आर्थिक गतिविधिमा सहज वातावरण निर्माण भएसँगै धितो आधारित कर्जा २०७८ श्रावण देखियता चार महिनाको अवधिमा ९१३ जना सञ्चयकर्तालाई रु तीन अर्ब २७ करोड कर्जा प्रवाह भएको छ ।

कोषले धितोमा आधारित कर्जा लिएका सञ्चयकर्तालाई कोभिड– १९ को अवधिमा आव २०७७/७८ मा १५४४२ जना सञ्चयकर्ताले रु ८ करोड ४३ लाख ५७ हजार ब्याजमा छुट सुविधा पाएका छन् ।

गतवर्ष आव २०७६-७७ मा कोभिड– १९ को अवधिमा १५९०३ जना सञ्चयकर्ताले रु ८ करोड ४३ लाख १६ हजार ब्याजमा छुट सुविधा पाएका थिए ।

सञ्चयकोषद्वारा जग्गा खरिद सापटी सुरु: यस्तो छ प्रकृया

एमालेमा ओली बिरुद्ध भीम रावलद्वारा उम्मेदवारी घोषणा

एमालेमा ओली बिरुद्ध भीम रावलद्वारा उम्मेदवारी घोषणा

काठमाडौँ-एमाले पार्टीको अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

रावलले आइतबार राजधानीमा विशेष पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गर्न लागेको रावलका सहयोगी एकिन्द्र कुँवरले बताएका छन् ।

केपी आली बिरुद्ध नेता भिम रावलले टीम बनाएरै चुनाव लड्नेगरी तयारी थालेको स्रोतले बताएको छ ।

वर्तमान उपाध्यक्ष रावलले उम्मेदवारी दिने भएसँगै चितवनमा आगामी मंसिर १०–१२ सम्म हुने महाधिवेशनमा केपी ओलीको सर्वसम्मत अध्यक्ष बन्ने योजनामा धक्का लाग्ने देखिएको छ ।

महाधिवेशनबाट अध्यक्षसहितको पदाधिकारी सर्वसम्मतरुपमा छान्न एमाले संस्थापनले दौडधुप गरिरहेको छ ।

ओलीको क्रियाकलापप्रति बिगतदेखीनै असन्तुष्ट रावललगायतले पार्टी रुपान्तरण हुनुपर्नेमा जोड दिँदै आएका छन् ।

एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालसँग निकट मानिने रावललगायत नेपालले पार्टी फुटाउँदा भने एमालेमै संघर्ष गर्ने भन्दै साथ दिएका थिएनन् ।

रावलले पार्टीभित्र निरन्तर आफ्नो असन्तुष्टि राख्दै आएका छन् ।

एमालेमा ओली बिरुद्ध भीम रावलद्वारा उम्मेदवारी घोषणा

नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौं-नेपाली सेनाले रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ ।

नेपाली सेना र सञ्चार जगतबीचको आपसी समझदारीलाई अभिवृद्धि गर्दै आपसी पेशागत सम्बन्धलाई सकारात्मक एवं प्रभावकारी बनाउने उद्देश्यले सेनाको पाँचदिने अभिमुखिकरण तालिम सुरु गरेको हो।

आइतबार जंगी अड्डामा आयोजित शुभारम्भ कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका २६ जना रक्षा संवाददाताहरू सहभागी रहेका छन्।

सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले कार्यक्रमको शुभारम्भ गर्दै आफ्नो अमूल्य समय दिई सहभागी भएका रक्षा संवाददाताहरुलाई धन्यवाद प्रकट गरे।

उनले नेपाली सेना सेना र सञ्चार माध्यमबीचको आपसी सहकार्य तथा सम्बन्ध विस्तार गर्ने कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले नेपाली सेनाले यस प्रकारको अभिमुखिकरण कार्यक्रम संचालनमा ल्याएको बताए।

अभिमुखीकरण कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चामलन गरिने सेनाले जनाएको छ।

साथै सेनाले चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्र गौरवको आयोजना काठमाडौं (तराई-मधेश) द्रुतमार्गको फिल्ड भिजिटसमेत गराउनेछ।

नेपाली सेनाको रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित

काठमाडौँ-भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्न आज राखिएको सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिको बैठक आवश्यक न्यूनतम् सङ्ख्या नपुगेपछि स्थगित गरिएको छ ।

पन्ध्र सदस्यीय समितिमा हाल १२ सदस्य रहेकामा आज पाँच जना मात्रै उपस्थित रहेकाले आवश्यक सङ्ख्या नपुग्दा बैठक स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो ।

समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरु पार्टीका विभिन्न तहका अधिवेशनमा र प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) का सांसदहरु पनि महाधिवेशनमा व्यस्त रहेका कारण आजको बैठकमा आवश्यक सङ्ख्या नपुगेको उल्लेख गर्दै सभापति कर्णले अर्को बैठक यही मङ्सिर १७ गतेका लागि तय गरिएको पनि जानकारी दिनुभयो ।

समितिको आजै तीन वटा बैठक राखेर पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीकर्तासँग छलफल गर्ने र तेस्रो बैठकमा प्रस्तावित व्यक्तिसँग छलफल गर्ने कार्यसूची रहेको थियो ।

सरकारले केही समयअघि नेपालसँग घनिष्ठ सम्बन्ध रहेका भारतका लागि डा शङ्कर शर्मा,अमेरिकाका लागि प्रा श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूतमा नियुक्ति गर्न सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइका लागि गत कात्तिक १२ गते समितिमा प्रस्ताव आएको थियो । समितिमा प्रस्ताव दर्ता भएको ४५ दिनभित्र सुनुवाइ सक्नुपर्ने कानूनी प्रावधान छ ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ स्थगित

गृहमन्त्रीको राजीनामा माग

गृहमन्त्रीको राजीनामा माग

काठमाडौं-आन्दोलनरत कानून व्यवसायीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामासँगै गृहमन्त्री बालकृष्ण खाँणको समेत राजीनामा मागेका छन् ।

कानून व्यवसायीहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

आइतबारको विरोध प्रदर्शनमा नेपाल बार एशोसिएसनका उपाध्यक्ष ईश्वरी भट्टराईले गृहमन्त्री राजीनामा देऊ भन्दै नारा लगाएपछि सहभागी अरुले पनि त्यही नारा लगाएका छन् ।

प्रहरीले बल प्रयोग गर्दा २ मंसिरको प्रदर्शनमा नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।

कानून व्यवसायीले आइतबार सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् ।

यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बार एशोसिएसनको परिसरमा कोणसभा गर्दै आएका थिए ।

गृहमन्त्रीको राजीनामा माग

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोक्नुभएको छ ।

उहाँले आज १० संयुक्त र एकल इजलासमा ३३४ मुद्दामा पेसी तोक्नुभएको हो । उहाँले आफ्ना लागि भने कुनै पनि पेसी तोक्नुभएको छैन ।

मुद्दामा सुनुवाइका लागि पेसी तोकिएको भए तापनि अहिलेसम्म सुनुवाइ भने प्रारम्भ भएको छैन ।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फूलकोट) ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लाग्नुभएको छ ।

गत कात्तिक ७ गते आइतबार मध्याह्नदेखि न्यायालय सुधारको माग राख्दै न्यायाधीशले इजलासमा बस्न इन्कार गर्नुभएको थियो ।

सर्वोच्चमा गत कात्तिक ८ गतेदेखि मुद्दाको सुनुवाइ हुन सकेको छैन ।

बीचबीचमा बन्दीको मुद्दामा मात्र सुनुवाइ भएको थियो भने गोला प्रणाली लागू गर्ने निर्णय भएपछि न्यायाधीश काममा फर्किनुभएको छ ।

अदालतमा मुद्दाको चापअनुसार नियमितरुपमा बेञ्च बस्न नसक्दा न्यायका पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका थिए ।

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

प्रदेश २: नेकपा एसबाट सहभागी दुई मन्त्रीको शपथ

प्रदेश २: नेकपा एसबाट सहभागी दुई मन्त्रीको शपथ

जनकपुरधाम-प्रदेश २ मा दुई जना नवनियुक्त मन्त्रीले शपथ ग्रहण गरेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा सहभागी भएका शत्रुद्यन महतो र प्रमोद यादवले आइतबार बिहान शपथ ग्रहण गरेका हुन् ।

महतोले उद्योग, पर्यटन, वन तथा वातावरण र यादवले कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय पाएका हुन् ।

आइतबार बिहान जनकपुरधामस्थित मधेश भवनमा आयोजित समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्रले दुवै मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

प्रदेश २: नेकपा एसबाट सहभागी दुई मन्त्रीको शपथ

२२ एसपीको सरुवा

२२ एसपीको सरुवा

काठमाडौँ-नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ ।

प्रहरी माहनिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो ।

यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो ।

यसपटक मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौँका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत होविन्द्र बोगटीलाई प्रहरी प्रधान कार्यालयको कानुन शाखामा सरुवा गरिएको छ ।

प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतलाई प्रदेश प्रहरी कार्यालय पोखराबाट स्याङ्जा, राजेन्द्रप्रसाद धमलालाई सप्तरीबाट मानव बेचविखन अनुसन्धान ब्यूरो, राजेन्द्रबहादुर रेग्मीलाई कैलालीबाट तनहुँ, रामप्रकाश शाहलाई बाँकेबाट नुवाकोट, सन्तोषसिंह राठौरलाई सर्लाहीबाट काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सुरेन्द्रबहादुर गुरुङलाई प्रहरी प्रधान कार्यालयबाट जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सरुवा गरिएको छ ।

यस्तै अबिनारायण काफ्लेलाई अख्तियारबाट सप्तरी, कृष्ण प्रसाईँलाई जनकपुरबाट सर्लाही, टीकाबहादुर केसीलाई काठमाडौँबाट लुम्बिनी प्रदेश सशस्त्र प्रहरी गण, तुलबहादुर कार्कीलाई नुवाकोटबाट २ नं प्रदेश प्रहरी कार्यालय, दिनेशराज मैनाली तनहुँबाट महानगरीय प्रहरी परिसर काठमाडौँ, ध्रुवराज राउतलाई प्रहरी प्रधान कार्यालयबाट अख्तियार र प्रकाश रानाभाटलाई धनुषाबाट पोखरामा सरुवा गरिएको छ ।

यस्तै प्रहरी उपरीक्षक वसन्त रजौरेलाई प्रहरी प्रधान कार्यालयबाट धनुषा, बेलबहादुर पाण्डेलाई पर्साबाट प्रहरी प्रधान कार्यालय, भुवनेश्वर तिवारीलाई सुदूरपश्चिम प्रदेशबाट सुर्खेत, महेन्द्र खड्कालाई धादिङबाट सुदूरपश्चिम प्रदेश, राकेश सिंहलाई सुर्खेतबाट धादिङमा पठाइएको छ ।

२२ एसपीको सरुवा

पत्रकार ऐडीको निधन

हुम्लाको पत्रकार नन्द ऐडीको काठमाडौँको सुमेरुअस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा ऐडीको निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उहाँका श्रीमती बविता बुढाले बताउनुभयो ।

पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो ।

तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक हुनुहुन्थ्यो ।

उहाँकी २४ वर्षकी श्रीमती, दुई छोरी र एक छोरा छन् । आर्थिक अवस्था कमजोर भएका कारण उहाँको उपचारमा आर्थिक समस्या भइरहेको थियो ।

उहाँको निधनबाट हुम्ला जिल्लाले एक युवा पत्रकार गुमाएको छ । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुनुहुन्छ ।

राखेपको सदस्य सचिवमा दरखास्त आह्वान

काठमाडौं-युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

मन्त्रालयले शनिबार सार्वजनिक बिदाकाे दिन विज्ञप्ति जारी गर्दै राखेपको सदस्य सचिव नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।

दरखास्त आह्वानसँगै राखेपको नयाँ सदस्य सचिव नियुक्तिको प्रक्रिया अघि बढेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्य सचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।

सदस्य सचिव बन्न योग्यता पुगेका व्यक्तिले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने मन्त्रालयले जनाएको छ ।

सरकारले गत कात्तिक १ गते रमेशकुमार सिलवाललाई बर्खास्त गरेपछि राखेपको सदस्य सचिव पद खाली भएको हो ।

सिलवाललाई बर्खास्त गरेपछि मन्त्रालयले सदस्य सचिव सिफारिसका लागि समिति गठन गरेको थियो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले सदस्य सचिव सिफारिसका लागि सह-सचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका छन् ।

समितिमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ छन् ।

हाल राखेपको निमित्त सदस्य सचिवमा विष्णु ढकाल छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जादै

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जादै

काठमाडौँ-नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि जनकपुर जाने भएका छन् ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यक्रम गरेर फर्किएलगत्तै अध्यक्ष नेपाल पनि जनकपुर जान लागेका हुन् ।

नेकपा एस प्रदेश २ कमिटीका अनुसार मंसिर ७ गते अध्यक्ष नेपाल जनकपुर आउने कार्यक्रम तय भएको छ ।

अध्यक्ष नेपालले ७ गते तिनकोरियामा पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

८ मंसिरमा लहानको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यतालिका तय भएको नेकपा एस प्रदेश २ का अध्यक्ष धर्मदेव साहले जानकारी दिएका छन् ।

८ गते नै अध्यक्ष नेपाल जनकपुर फर्किएर प्रदेश कमिटीको कार्यालयको औपचारिक उद्घाटन गरेर संघीय राजधानी फर्कने कार्यक्रम रहेको अध्यक्ष साहले बताएका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल जनकपुर जादै