विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

विसं २०७९ का लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले १४ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको छ ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि र खप्तड तारानाथ पञ्चाङ्ग गरी १४ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेदेखि बजारमा आउनेछन् ।

विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग) प्रकाशन भइसक्थ्यो ।

गत वर्षदेखि कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले काममा ढिलाइ भएर प्रकाशन ढिला हुन थालेको हो ।

विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो ।

त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो ।

गठन आदेशअनुसार समितिले स्वीकृति दिएका पात्रो मात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ ।

पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेरसमेत पात्रोमा राखिने गरेको छ ।

पात्रोलाई अझै सुधार गर्नुपर्ने माग

पात्रोलाई अझै सुधार गर्नुपर्ने माग पनि उठ्ने गरेको छ ।

गत वर्षदेखि नै समितिले भित्तेपात्रोलाई व्यवस्थित गर्ने भनिए पनि ठोस काम हुन सकेको छैन ।

समितिको स्वीकृतिमा पात्रो निस्किएपछि त्यही सारेर भित्तेपात्रो प्रकाशन हुने गरेकाले त्यसलाई व्यवस्थित गर्न लागिएको हो ।

यस वर्ष भित्तेपात्रोलाई व्यवस्थित गर्न स्वीकृति लिन आउनु भनी समितिले सूचना प्रकाशन गरेको थियो ।

तर भित्तेपात्रो प्रकाशन गर्नेहरुले समितिसँग समन्वय गरेका छैनन् ।

सूचना तथा प्रसारण विभागले मात्र समितिको स्वीकृतिमा भित्तेपात्रो प्रकाशन गर्ने गरेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

`अन्य भित्तेपात्रो भने विभाग र समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) सारेर प्रकाशन हुने गरेकाले प्रतिलिपि अधिकारसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने विषयमा पनि छलफल सुरु भएको समितिले जनाएको छ ।

विसं २०७९ का लागि १४ पात्रोलाई स्वीकृति

प्रहरीका २२ अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

प्रहरीका २२ अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाडौँ-नेपाल प्रहरीका विभिन्न पदमा बढुवा भएका २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले विभिन्न पदमा बढुवा भएका २४ प्रहरी अधिकृतमध्ये २२ प्रहरी अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

गृह मन्त्रालयको निर्णयअनुसार २४ प्रहरी अधिकृत विभिन्न पदमा बढुवा भएका थिए ।

पदोन्नतिसँगै उहाँहरुको जिम्मेवारी पनि थपिएको भन्दै महानिरीक्षक थापाले इमानदार र क्रियाशील भएर कर्तव्य पालन गर्न उल्लेख गरे ।

उनले कोभिड–१९ को बढ्दो सङ्क्रमणप्रति संवेदनशील एवं चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतलाई निर्देशन दिए ।

समाजमा हुनसक्ने सुरक्षा चुनौतीप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशील हुनुपर्ने उनको भनाइ थियो ।

पदोन्नति भएका अधिकृतको तर्फबाट बोल्दै प्रहरी नायब महानिरीक्षक पूजा सिंहले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई सङ्गठनको गरिमा र महत्त्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आआफ्नो स्थानबाट निष्ठापूर्वक र इमानदारीसाथ खटिने प्रतिबद्धता व्यक्त गरिन् ।

दर्ज्यानी चिह्नबाट सुशोभित हुनेमा प्रहरी नायब महानिरीक्षक सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक इन्जिनियर रामकुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायब उपरीक्षक र १४ प्राविधिक प्रहरी निरीक्षक रहेका थिए ।

प्रहरीका २२ अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

काठमाडौँ-प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक सुरुभएको छ ।

बैठक मंगलबार (आज)बिहान ९ बजे बस्ने तय भएको भएता पनि केही ढिलोगरी सुरुभएको हो ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटमा बैठक तय भएको हो ।

आजको बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रिय सभा निर्वाचन, संसद्को गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ ।

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी

सरकारी विद्यालय सुधारिएको छ

सरकारी विद्यालय सुधारिएको छ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगर क्षेत्रका सबै सरकारी विद्यालयलाई सुधार गरी पठनपाठनको राम्रो वातावरण तयार भएको बताउनुभएको छ ।

उहाँले कतिपय विद्यालयका पूर्वाधार जीर्ण भई शिक्षाको क्षेत्रमा नराम्रो प्रभाव परेको थियो, त्यस्ता विद्यालयलाई आफू नगरप्रमुख भइसकेपछि सुधार गरी अहिले नगर क्षेत्रको शैक्षिक क्षेत्रमा धेरै प्रगति भएकामा खुशी व्यक्त गर्नुभयो ।

सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले नगर क्षेत्रमा अहिलेसम्म १५० किमी बाटोमा कालोपत्र भइसकेको छ भने प्रायः सबै वडा कार्यालयको भवन निर्माण गरी नगरपालिकाले वितरण गर्ने सेवामा लाभग्राहीलाई सहज भएको बताउनुभयो ।

विराटनगर क्षेत्रमा रहेका वीरेन्द्र सभागृहलाई अत्याधुनिक बनाउन सुरु गरिएको काममा ७० प्रतिशत प्रगति भएको बताउँदै नगरप्रमुख पराजुलीले विराटनगरको महेन्द्र चोकबाट पूर्वको बाटो र विमानस्थलमार्गलाई पनि इभिनिङ स्ट्रिट बनाई त्यसक्षेत्रका होटल, पसल एवं रेस्टुरेन्ट रातभरि सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिनुभयो ।

पुरानो गुद्री बजारमा अत्याधुनिक व्यापारिक भवन

धेरै जना प्रधानमन्त्री भएको इतिहास बोकेको विराटनगरमा निकट भविष्यमै प्रधानमन्त्री उद्यान बनाउने, बजरङ्गी मन्दिर क्षेत्रलाई सौन्दर्यकरण गर्ने, पुरानो गुद्री बजारमा अत्याधुनिक व्यापारिक भवन बनाउने योजना अघि बढिसकेको जानकारी दिँदै उहाँले विराटनगर क्षेत्रमा फोहरको समस्या हुन नदिन र आम नागरिकलाई सुशासनको अनुभूति दिलाउने किसिमका काममा जोड दिएको बतानुभया ।

‘धार्मिक महत्व बोकेको विराट राजाको दरवारलाई व्यवस्थित एवं धार्मिक पर्यटकीयस्थल निर्माण गर्न प्रदेश र सङ्घीय सरकारको साथ र सहयोगबाट निर्माण गर्ने योजना अघि बढेको छ’ भन्दै प्रमुख पराजुलीले राजवंशी चोकलाई सौन्दर्यकरण गरिने र घोगाको बाटोलाई सेफजोन बनाइ विकासका योजना अघि सारेको जानकारी दिनुभयो ।

उहाँले रु २० लाखको योजना वडास्तरबाटै निर्माण सुरु गराउने अधिकार दिइसकेको भन्दै निकट भविष्यमै जापानी जाइका नामक संस्थाले विराटनगरमा बृहत् खानेपानीको योजना सुरु गर्ने बताउनुभयो ।

उहाँले जनप्रनिधि भएपछि हरेक पल र समय जनताकै निम्ति खर्च गरिरहेको भन्दै विराटनगरमा एक व्यवस्थित बधशाला पनि निर्माण हुने र यसबाट उपभोक्तालाई स्वस्थ्यकर मासु खान सहज हुने बताउनुभयो ।

प्रमुख पराजुलीले विराटनगरको विकासका निम्ति भएका कमी–कमजोरीलाई सञ्चारकर्मीले औँल्याइदिन आग्रह गर्दै आफ्नो कम समय भए पनि अत्यधिक समय नगरको विकासमै केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारी विद्यालय सुधारिएको छ

प्रदेश नंं. २ अब मधेस प्रदेश

प्रदेश नंं. २ अब मधेस प्रदेश

काठमाडौं-प्रदेश नंं. २ को नाम दुई तिहाई मतका साथ मधेस कायम भएको छ ।

प्रदेश नं. २ प्रदेशसभाको आज बसेको बैठकले प्रदेश २ को नाम तिहाई मतका साथ मधेस कायम गरेको हो ।

प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि भएको मतदानमा ९९ जना प्रदेश सदस्य सहभागी थिए ।

जसमा ८० मत ‘मधेस’ प्रदेशमा खसको थियो । प्रदेशको नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्दछ । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् ।

यसअघि ‘मधेस’ नाममा कांग्रेस र एमालेको असहमति रहँदै आएको थियो ।

तर, वर्तमान सत्ता गढबन्धनका आधारमा कांग्रेसले पनि ‘मधेस’ कै पक्षमा मतदान गरेको बुझिएको छ ।

प्रदेश नंं. २ अब मधेस प्रदेश

नयाँ रक्षा सचिव शर्माको पद बहाली

नयाँ रक्षा सचिव किरणराज शर्माले सिंहदरबास्थित रक्षा मन्त्रालयमा आज पदबहाली गर्नुभएको छ ।

मन्त्रालयमा उहाँलाई सहसचिव बाबुराम अधिकारीलगायत कर्मचारीले स्वागत गर्नुभयो ।

सरकारले केही दिनअघि उहाँलाई बागमती प्रदेशको प्रमुख सचिवबाट रक्षा मन्त्रालयको सचिवमा सरुवा गरेको हो ।

यसअघिका रक्षा सचिव वेगेन्द्रराज शर्मा पौड्याल पुस १४ गतेदखि सेवा निवृत्त भएपछि मन्त्रालयमा सचिव पद खाली थियो ।

यसबीचमा सहसचिव अधिकारीले निमित्त सचिवका रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।

यसैबीच, प्रधानसेनापति प्रभुराम शर्माले नयाँ रक्षा सचिव शर्मालाई आजै भेटेर बधाई ज्ञापन गर्नुभएको छ ।

प्रदेश २ को राजधानी जनकपुरधाम: नामका लागि गोप्य मतदान जारी

प्रदेश २ को राजधानी जनकपुरधाम: नामका लागि गोप्य मतदान जारी

काठमाडौं-प्रदेश नम्बर २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम गर्ने प्रस्ताब दुइतिहाई मतबाट पारित भएको छ ।

लामो समयको रस्साकस्सी पछी आजको प्रदेशसभाको बैठकले दुइतिहाई मतसहित प्रदेशको स्थायी राजधानी ‘जनकपुरधाम’ चयन गरेको हो ।

प्रदेशको राजधानी जनकपुरधाम तोक्ने प्रस्तावका सम्बन्धमा प्रदेशसभामा मतदान हुँदा ९९ जना सांसद सहभागी भएका थिए ।

जसमध्ये ७८ जना सांसदले राजधानी जनकपुरधाम तोक्ने प्रस्तावको पक्षमा मतदान गरेका थिए ।

प्रस्ताव अन्तर्गत प्रदेशको राजधानी धनुषा जिल्लाको उत्तरमा ढल्केवर पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सीमाना र पश्चिममा मिथिला माध्यमिकी परिक्रमाभित्रको सम्पूर्ण भूभाग समेटिएको जनकपुरधाम रहने उल्लेख छ ।

प्रदेश २ को राजधानी टुंगो लागेसँगै अहिले प्रदेश नम्बर २ को नामका लागि गोप्य मतदान शुरु भएको छ ।

प्रदेश २ को राजधानी जनकपुरधाम: नामका लागि गोप्य मतदान जारी

मेडिकल कलेजका सञ्चालकमाथि विद्यार्थीले सिंहदरबारमै दले कालोमोसो

मेडिकल कलेजका सञ्चालकमाथि विद्यार्थीले सिंहदरबारमै दले कालोमोसो

काठमाडौं-मेडिकल कलेजका मालिक सुनिल शर्मामाथि विद्यार्थीले सिंहदरबारमै कालोमोसो दलेका छन् ।

नेकपा (एकिकृत समाजवादी) निकट अनेरास्ववियूका उपमहासचिव महेश श्रेष्ठ नेतृत्वको टोलीले शर्मामाथी कालोमोसो दलेको हो ।

शिक्षा मन्त्रालयमा विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिएकोबारे सर्वपक्षिय बैठक सकेर निस्कने क्रममा शर्मामाथि मन्त्रालयको मुल गेटमै कालोमोसो दलिएको हो ।

अनेरास्ववियूका उप महासचिव श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुन लगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

ग्लोबल र केएमसीसहित आधा दर्जन बढी मेडिकल कजेजहरुमा लगानी रहेको शर्माको मेडिकल कलेजहरुले विद्यार्थीहरुसँग अतिरिक्त शुल्क लिँदै आएको छ ।

मेडिकल कलेजका सञ्चालकमाथि विद्यार्थीले सिंहदरबारमै दले कालोमोसो

अध्यक्ष नेपालद्वारा शुभकामना

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले थारु समुदायको चाड माघी, मगरलगायत अन्य समुदायले मनाउने मकर सङ्क्रान्तिको अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

पार्टी अध्यक्ष नेपालले जारी गर्नुभएको सन्देशमा विविधताले सम्पन्न नेपाली संस्कृतिभित्र महत्वपूर्ण रहेको मकर सङ्क्रान्ति तथा माघीपर्वले सबै नेपालीबीच शान्ति, एकता, सद्भाव र सहिष्णुता कायम गर्दै समुन्नत समाजवादी मुलुक निर्माणमा एकताबद्ध हुन प्रेरणा मिलोस् भनिएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले सम्पन्न नेपालका विभिन्न जातजाति र धर्मावलम्बीका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक चाडपर्व रहेको उल्लेख गरिएको सन्देशमा मुलुकमा मनाइने यस्ता चाडपर्व र संस्कृतिले आपसमा एकता तथा भाइचारा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने हुँदा तीनको संरक्षण तथा सम्बद्र्धन गर्नु हामी सबैको दायित्व हो भनिएको छ ।

अहिले महामारीको रुपमा फैलिएको कोभिड–१९ सङ्कटको समयमा स्वास्थ्य सुरक्षा उपाय अपनाएर चाडपर्व मनाउन आग्रहसमेत सन्देशमा गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द

त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द

काठमाडौँ-त्रिभुवन विश्वविद्यालय माघ १० गतेसम्म बन्द हुने भएको छ ।

कोरोना संक्रमण बढेको भन्दै विश्वविद्यालय अन्तर्गतका सबै विभाग र आंगिक क्याम्पसहरु माघ १० गतेसम्म विदा दिने भएको हो ।

विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयले एक सूचना जारी गरी हिउँदे वा वर्षे विदाबाट कट्टा गर्ने गरी अहिले बन्द गर्ने निर्णय भएको हो ।

सूचना विश्वविद्यालय माघ १० गतेसम्म बन्द हुने भनिएता पनि हाल चलिरहेको परीक्षा भने यथावत सञ्चालन गर्ने उल्लेख छ ।

परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने बताईएको छ।

परीक्षा हुने तथा पठन पाठन अनिवार्य देखिएका विषय तथा कार्यक्रममा भने अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

माघ १० पछि भने स्थानीय तहसँग समन्वय गरी विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न सकिने भए सञ्चालन गर्ने र नसक्ने भएमा अनलाइन माध्यमबाट पठन पाठन गराउन भनिएको छ ।

सहसचिव खरेल सचिवमा बढुवा

सहसचिव खरेल सचिवमा बढुवा

काठमाडौँ-सहसचिव शंकरप्रसाद खरेल सचिवमा बढुवा भएका छन् ।

मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

शुक्रवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयले उनी सचिवमा बढुवा भएका हुन् ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले सचिव बढुवाका लागि सहसचिव रामेश्वर दंगाल, मुकुन्दप्रसाद निरौला र शंकरप्रसाद खरेलको नाम सिफारिस गरेको थियो ।

५८ वर्षे सेवा अवधिका कारण खरेल माघ ४ गते अनिवार्य अवकाशमा जाँदै छन् ।

सहसचिव खरेल सचिवमा बढुवा

घ्यू चाँकू दलेर माघे सङ्क्रान्ति मेला

घ्यू चाँकू दलेर माघे सङ्क्रान्ति मेला

माघे सङ्क्रान्तिको अवसरमा आज भक्तपुरको विभिन्न ठाउँमा मेला लागेको छ ।

घ्यू चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन आज भक्तपुरको तौमढीस्थित तिलमाधव नारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ ।

यी मन्दिरमा रहेका देवताको शरीरमा घ्यू र चाकु लगाइदिने गरिन्छ ।

नेवारी भाषामा घ्यू, चाकु सल्हुँ भनिने आजको दिन भक्तपुरको चाँगुनारायण, सिपाडोलस्थित आशापुरी महादेव, डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ ।

हरेक वर्ष माघे सङ्क्रान्तिका दिन यी मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

आज नुहाइधुवाइ गरी जीउमा तेल घसेर घ्यू, चाकु तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने हृष्टपुष्ट हुने धार्मिक मान्यता रहिआएको छ ।

आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ ।

यसैगरी आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ ।

गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले विशेष पूजा गरी विभिन्न परिकार चढाई पूजा गरी माघे सङ्क्रान्ति मनाइने तलेजु मन्दिरका नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

घ्यू चाँकू दलेर माघे सङ्क्रान्ति मेला

भोलिदेखि कोरोनाविरुद्ध बुस्टर मात्राको खोप दिइने

सरकारले भोलिदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ मात्रा खोप दिने भएको छ ।

अग्रपङ्क्तिमा काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि र ६० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिक र खोपको पूर्ण मात्रा लगाएको ६ महिना पूरा भएका व्यक्तिलाई माघ १४ गतेदेखि ‘बुस्टर’ मात्राको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

‘बुस्टर’ डोजका लागि मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र ७७ वटै स्वास्थ्य कार्यालयलाई निर्देशन दिइसकेको छ ।

‘बुस्टर’ डोज कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छ महिना पूरा भएका व्यक्ति,अग्रपङ्क्ति र ६० वर्षभन्दा माथिका तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई दिइने मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीमा सक्रिय क्यान्सर रोगी, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामी, उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधि सेवन गरेका बिरामी पर्दछन् ।

कोरोना भाइरस सङ्क्रमण बढेसँगै सरकारले ‘बुस्टर’ डोज दिन थालेको हो ।

हिजो पुस ३० गते पाँच हजार ८७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो ।

‘बुस्टर’ डोजमा पहिले जुन खोप लगाएको हो सोही खोप लगाउनुपर्ने हुन्छ ।

कोभिड–१९ खोप सल्लाहाकार समितिले ‘बुस्टर’ डोज खोप लगाउन सरकारलाई सुझाव दिइसकेको छ ।

पुनः श्रम स्वीकृति अब अनलाइन प्रणालीबाट मात्र

काठमाडौँ-अबदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने भएको छ ।

वैदेशिक रोजगार कार्यालयले आइतबारदेखि नै लागुहुने गरी पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्र दिने भएको हो ।

भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा भौतिक उपस्थितिको माध्यमबाट दिईने पुनः श्रम स्वीकृतिको काम बन्द हुने भएको हो ।

२०७७ पुसदेखि भौतिक उपस्थिति र अनलाइन दुबै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुदै आएको थियो ।

अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने भएसँगै वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई ‘पेपरलेस’ बनाइ सहजरूपमा सेवा प्रदान गर्न व्यवस्था मिलाउने मन्त्रालयका सचिव एकनारायण अर्यालले जिम्मेवारी सम्हाले लगत्तै बताएका थिए ।

श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताएका छन् ।

यस्तो छ पुनः श्रम स्वीकृति लिने प्रक्रिया

वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत पुनः श्रम स्वीकृतिको लागी आवश्यक कागजातसहित फाराम भर्नुपर्नेछ ।

सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ ।

श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं र इमेल ठेगाना अनिवार्यरुपमा भर्नुपर्नेछ ।

युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ ।

उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।

पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ ।

त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।

कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन ।

वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

‘ओके छ त’ सार्वजनिक

गायक विजय शङ्खरको ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ ।

यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ ।

युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो ।

दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीतमा कुशल सिंहले सङ्गीत संयोजन गर्नुभएको छ ।

ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको उक्त गीतमा स्रव्यदृश्य उत्तम हुमागाईंले, सम्पादन शिलन लम्सालले,कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गर्नुभएको छ ।

गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको थियो ।