माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

निर्वाचन आयोगले सङ्घ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग राष्ट्रियसभा निर्वाचन, मतदाता नामावली सङ्कलन र स्थानीय तह निर्वाचनका विषयमा परामर्श गरेको छ ।

राजनीतिक दलहरुका निर्वाचन हेर्ने प्रतिनिधिलाई बोलाएर आयोगले राष्ट्रियसभा निर्वाचनका लागि भइरहेको तयारी, मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम र स्थानीय निर्वाचनका विषयमा दलगत धारणा मागेको हो ।

राजनीतिक दलका प्रतिनिधिलाई आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था, पदाधिकारीको कार्यकाल गणना, निर्वाचनको मिति तोक्ने सम्बन्धी व्यवस्था, निर्वाचनका लागि आयोगको तयारी र निर्वाचन नभएमा पर्ने प्रभावका बारेमा जानकारी गराएको छ ।

स्थानीय तहका पदाधिकारीकोे पाँच वर्षे पदावधि आगामी २०७९ साल जेठ ५ गते समाप्त हुने र स्थानीय तहको निर्वाचन सम्पन्न गर्न कम्तीमा ५३ वटा काम गर्नुपर्ने भएकाले कानूनतः १२० दिन आवश्यक पर्ने आयोगले बताएको छ ।

आयोगले आगामी माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति नतोकिएमा प्राविधिक, व्यवस्थापकीय एवम् व्यवहारिक दृष्टिले निर्वाचन गर्न कठिन हुने हुँदा राजनीतिक दलहरु र सरोकारवालाको ध्यानाकर्षण गराएको थियो ।

आज आयोजित सो सर्वदलीय बैठकमा राजनीतिक दलका प्रतिनिधिले निर्वाचनका लागि भइरहेको तयारी सान्दर्भिक रहेको जनाउँदै मतदाता नामावलीमा सूचिकृत हुन चाहने नागरिकको मागलाई सम्वोधन गर्नेलगायत निर्वाचनका सबै प्रक्रियालाई आयोगले नेतृत्व गर्न सुझाव पनि दिनुभयो ।

उहाँहरुले स्थानीय तहको निर्वाचन यथाशीघ्र तोक्न, निर्वाचनलाई कुनै बहाना बनाएर नटार्न, ‘थ्रेस होल्ड’का विषयमा पुनः विचार गर्न, वैदेशिक रोजगार र प्रवासमा रहेका नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन आयोगलाई सुझाव दिनुभयो ।

परामर्शका क्रममा केही राजनीतिक दलका तर्फबाट सङघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गरेपनि थ्रेस होल्डका कारण राष्ट्रिय दलको मान्यता नपाउँदा स्थानीय तहमा दल विशेषको चुनाव चिह्न प्राप्त नहुने भएकाले कानून संशोधन तथा विगतका निर्वाचनमा आचार संहिता उल्लङ्घनका घटना भएकाले निर्वाचनलाई स्वतन्त्र र स्वच्छ तुल्याउन सुझाव दिइयो ।

परामर्शका क्रममा साना दलले विधिवतरुपमा दर्ता भएका दलले चुनाव चिह्न पाउँदैनन् भने किन दल दर्ता गर्नुप¥यो भनी प्रश्न गर्दै आयोगको तयारी सही दिशामा रहेको बताउनुभयो ।

सङ्घीय संसदबाट नागरिकता विधेयक पारित नभएका कारण उम्मेर पुगेका कतिपय नागरिक मतदान गर्नबाट बञ्चित रहेकाले उनीहरुलाई मतदात सूचिमा सूचिकृत गर्ने व्यवस्था मिलाउन तथा आगामी निर्वाचनलाई मितव्ययी, स्वच्छ र स्वतन्त्र तुल्याउन विद्युतीय भोटिङ मेसिनको प्रयोगका पक्षमा ध्यान पुर्‍याउन आयोगलाई सुझाव दिइयो ।

केही राजनीतिक दलका प्रतिनिधिले भने हालको निर्वाचनको विधिलाई नै पुनर्विचार गरी भ्रष्टाचार रोक्न र निर्वाचन खर्च घटाउन तीन तहकै निर्वाचन एकै पटक गर्न उपयुक्त हुने सुझाव पनि त्यस अवसरमा प्रस्तुत भयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वास्थ्यका सबै मापदण्डको पालना गर्दै राष्ट्रियसभाको आसन्न निर्वाचनको तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सबैतिरबाट सकारात्मक जवाफ आएकाले सरकारसँग औपचारिकरुपमा स्थानीय तहको निर्वाचनको प्रस्ताव गर्नुअघि परामर्शका लागि आजको बैठक बोलाइएको हो । यस विषयमा आयोगले केही दिनभित्रै सरकारलाई परामर्श दिनेछ ।’’

प्रमुख निर्वाचन आयुक्त थपलियाले थ्रेस होल्डसम्बन्धी कानूनी व्यवस्थाका कारण राष्ट्रिय मान्यता प्राप्त नभएकालाई विगतका स्थानीय तहमा दलको चुनाव चिह्न चाहेर पनि दिन नसकिएको बताउँदै आयोगले आगामी ऐनको मस्यौदा तर्जूमा गर्दा यो विषयलाई समेट्ने विश्वास पनि दिलाउनुभयो ।

छलफलमा नेपाल कम्प्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्प्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल सङ्घीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल कम्प्युनिष्ट पार्टी (माले), जनता समाजवादी पार्टी, नेपाली जनता दल, नेपाल परिवार दल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजनीतिक दलका प्रतिनिधि सहभागि हुनुहुन्थ्यो ।

माघको पहिलो हप्ताभित्रै निर्वाचनको मिति तोक्नुपर्छ : निर्वाचन आयोग

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

काठमाडाैँ-प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत कोभिड–१९ महामारी नियन्त्रणका लागि अवलम्बन गरेका हालसम्मका प्रयास प्रभावकारी देखिए पनि कोभिड–१९ को नयाँ स्वरूपले अझै जोखिम बढाएकाले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गर्नुभएको छ ।

थारु समुदायमा माघी र अन्य समुदायमा माघे सङ्क्रान्ति नामले चिनिने यो पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको पर्वका रूपमा मनाइँदै आएको छ ।

हाम्रा संस्कृति र संस्कारमा आफ्ना विशेषता रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले विविधताभित्र एकता र सामाजिक सदभाव हाम्रा सांस्कृतिक विशेषताका उदाहरण भएको बताउनुभएको छ ।

यही सदभाव र एकतालाई प्रवद्र्धन गर्ने उदाहरणीय पर्वमध्ये माघे सङ्क्रान्ति अर्थात माघी पनि एक हो ।

यो पर्वले समस्त नेपालीबीच आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उहाँले विश्वास लिनुभएको छ ।

प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सदभाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस भन्ने कामना गर्नुभएको छ ।

नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागी बेलायतसँग छलफल सुरु

काठमाडौं-नेपाली नर्सलाई बेलायतमा रोजगारीको अवसर दिनेबारे बेलायत र नेपालबीच औपचारिक वार्ता हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अग्रसरतामा बेलायत सरकारलाई दुबै पक्षबाट कार्यदल बनाएर वार्ता अघि बढाउन भएको प्रस्तावको प्रतिफल स्वरुप वार्ता अगाडी बढन् लागेको हो ।

भोलि शुक्रबारदेखि दुबै पक्षबाट बनेको कार्यदल मार्फत वार्ता सुरुहुन लागेको हो ।

नेपाल र बेलायत सरकारले गठन गरेको वार्ता टोलीले शुक्रबारदेखि औपचारिक रुपमा नर्स बेलायत लैजानेबारे छलफल गर्न लागेका हुन् ।

बेलायतले नेपालस्थित दूताबासका एक अधिकारीको नेतृत्वमा वार्ता टोली बनाएको र नेपाली वार्ता टोलीको नेतृत्व मन्त्रालयका सहसचिव राजीव पोखरेलले गर्ने मन्त्रालयले बताएको छ ।

यो टोलीले द्विपक्षीय रुपमा गर्ने छलफलबाट नेपाली नर्सलाई बेलायतमा मिल्ने अवसर र भर्ति प्रक्रियाबारे सबै तय हुने बताईएको छ । ‘

यस वार्ता टोलीमार्फत सबै छलफल भएर समझदारी भएमा समझदारीदारी पत्र समेत यही टोलीले तयार गरेर प्रक्रिया अगाडी बढने बताईएको छ ।

अहिलेको छलफलमा करार अवधि, श्रमिकको हित, सुविधा र छनोट विधि तथा प्रक्रिया बारेमा छलफल हुने एजेन्डा रहेको मन्त्रालयले बताएको छ ।

वार्ता सफल भएमा बेलायतले नेपालबाट चरणवद्ध रुपमा नर्सहरु लैजाने छ ।

बेलायतले अनौपचारिक छलफलमा आफ्ना नर्सहरूले बेलायतमा मासिक ४ हजार पाउन्ड स्टर्लिङसम्म पाइरहेकाले त्यसैअनुसार तलब दिने प्रस्ताव गरेको थियो । बेलायत सरकारले औपचारिक पत्र काटेरै नेपाली नर्सलाई आफ्नो ‘नेसनल हेल्थ प्रोग्राम’अन्तर्गत अवसर दिन चाहेको बताएको थियो ।

बेलायतले विभिन्न देशमा गरेर एक लाख नर्स लैजान खाजेको बुझिएको छ ।

नेपालबाट कति नर्स, कहिलेसम्म, कुन मापदण्ड, विधि, प्रक्रियाबाट लैजाने भन्ने कुरा अहिलेको छलफलबाट तयहुने बताईएको छ ।

अनौपचारिक रुपमा बेलायत सरकारले नेपालबाट १० हजार जना नर्सलाई रोजगारी दिनसक्ने बताएको श्रममनत्री कृष्णकुमार श्रेष्ठले बताएका छन् ।

सरकारीस्तरमै सम्झौता गरेर नर्स लैजान चाहेकाले सरकारीस्तरमा (जीटुजी) समझदारी गर्न अहिले दुवै देशका श्रम अधिकारीहरू नियमित वार्तामा जुट्न लागेका हुन् ।

छनोट भएर जाने नर्सले वार्षिक ४८ हजार पाउन्ड स्टर्लिङ (मासिक ४ हजार पाउन्ड) अर्थात् करीब ७५ लाख रुपैयाँसम्म तलब पाउनसक्ने चर्चा छ ।

पाँच महिनामा तीन खर्ब ८८ अर्ब विप्रेषण भित्रियो

पाँच महिनामा तीन खर्ब ८८ अर्ब विप्रेषण भित्रियो

प्रमुख श्रम गन्तव्यमा देखिएका अनेकन अवरोधका कारण विप्रेषण आप्रवाहमा गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको पाँच महिनाको विवरणमा विप्रेषण आप्रवाह ६.८ प्रतिशतले घटेको छ ।

सो अवधिमा कूल रु तीन खर्ब ८८ अर्ब ५८ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.० प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको छ ।

अघिल्लो वर्ष यस्तो आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।

सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भई एक लाख ३१ हजार ८२ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९२.७ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनःश्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९ हजार ५८० पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७७.३ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु ४३३ अर्ब ९२ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।

पाँच महिनामा तीन खर्ब ८८ अर्ब विप्रेषण भित्रियो

वीर अस्पतालमा सरुवा भएका प्रमुख डा लोहनीलाई कर्मचारीले हाजिर गर्न रोके

काठमाडौँ-सरकारले वीर अस्पतालको प्रमुख पदमा डा गुणराज लोहनीलाई पठाउने निर्णय गरे पनि वीर अस्पतालका एक कर्मचारीको समूहले प्रधानमन्त्री शेर बहादुर देउवा सँगको भेटपछि सरुवा रोकिने भएको छ।

वीर र स्वास्थ बिभागका केही कर्मचारीले बालुवाटारमा कुरा पुर्याएपछी मन्त्री बिरोध खतिवडालाई धर्म संकट परेको छ।

लामो समय लाभ लिइरहेका स्वास्थ क्षेत्रका माफियाका कारण स्वास्थ क्षेत्रमा जनमुखी काम हुन सकेको छैन ।

नयाँ मन्त्री आएपछि केही सुधार होला कि भन्ने झिनो आसामा रहेकाहरु आफैले गरेका सरुवा कायम गराउन नसक्ने अवस्था पुगेका मन्त्री खतिवडाको निरिहपन नियालिरहेकाले स्वास्थ मन्त्रालय थप भद्रगोल तिर गएको टिप्पणी गरेका छन् ।

प्रमुख विशेषज्ञ १२ औँ तहको दरबन्दी रहेको वीर अस्पतालमा १२ औँ तहकै डा लोहनीलाई पठाउने निर्णय भएको हो ।

तर भर्खरै बढुवा भएका वीर अस्पतालको प्रमुख पदमा यसअघि निमित्त प्रमुख डा भुपेन्द्रकुमार बस्नेतले कार्य गर्दै आएका थिए उनी एघारौं तहका हुन ।

आज वीरमा नयाँ जिम्मेवारी समाल्न जाने तयारीमा रहेका डा लोहनी बिरकै केही कर्मचारीले गेटमा प्ले कार्ड लिएर हाजिर गर्न दिदैनौ भनेपछी जान सकेनन।

यसैगरी सरकारले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रकाश साहलाई कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा पठाएको छ ।

साथै कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा रवीन खडकालाई वीर अस्पतालमा ल्याईएको छ ।

यस्तै लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा राजेन्द्र खनाललाई पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

त्यहाँ सचिव रहेका डा विकास देवकोटालाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ल्याउने गरी मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको मन्त्रालय श्रोत ले बतायो।

प्रधानमन्त्री मन्त्री तहबाट सरुवा बदर गराउन दबाब परेपछि स्वास्थ मन्त्री तनावमा रहेको बुझिएको छ।

प्रहरीको नियमावली संशोधन:२० हजार प्रहरीको एकैपटक बढुवा हुने

काठमाडौं-नेपाल प्रहरीको नियमावली संशोधन प्रस्ताव पारित भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले नियमावली संशोधन प्रस्ताव पारित गरेको हो ।

नियमावली संशोधन प्रस्ताव पारित भएसँगै जवानको दरबन्दीबाट ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुने छन् ।

३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरणहुदा करिब २० हजार प्रहरीको एकैपटक बढुवा हुने भएको छ ।

पारित नियमावलीमा प्रहरीमा वरिष्ठ सइ, वरिष्ठ हवल्दार र सहायक हवल्दार पद थप्ने प्रावधान छ जसअनुसार एकैपटक करिब २० हजार प्रहरीको बढुवा हुनेछ ।

जसअनुसार ४६ हजार दुई सय २९ जवानमध्ये १५ हजार चार सय दुईजना सहायक हवल्दार हुनेछन् ।

तीन हजार सात सय ४७ जना हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार ७४ जना सइ वरिष्ठ सइमा बढुवा हुनेछन् ।

गत महिना सो प्रस्ताव स्वीकृत गरी मन्त्रिपरिषद्कै बिधेयक समितिमा पठाइएको थियो ।

समितिले अन्तिम रुप दिएपछि बुधबार नियमावली पारित भएको हो।

नियमावली राजपत्रमा प्रकाशित भएसँगै प्रहरीमा त्यो नियमावली लागू हुने गृह मन्त्रालयले जनाएको छ ।

प्रहरीको तल्लो तहमा देखिएको बढुवा जामको समस्या हल गर्न नयाँ पद श्रृजना गरिएको हो ।

अबको नियमावली अनुसार ज्येष्ठताक्रमअनुसार नै बढुवा हुने भएकाले यसमा चलखेल नहुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै, प्रहरी बढुवाबाट विभूषणको नम्बर हटाउने प्रस्ताव पनि स्वीकृत भएको छ ।

विभूषणको नम्बरले बढुवामा चलखेल गर्ने ठाउँ दिएको भन्दै हटाइएको हो ।

हालको प्रहरी नियमावलीअनुसार कसैले विभूषण पाएको अवस्थामा बढुवा हुँदा त्यसको दुई नम्बर जोडिन्छ ।

विभूषणको नम्बर हटाएर ज्येष्ठता नम्बरमा जोड्न लागिएको हो ।

प्रहरी बढुवामा एक सय पूर्णांकमा मूल्यांकन हुन्छ ।

जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरूको बढुवा सिफारिस हुन्छ ।

एक सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ । अब ज्येष्ठताबापत २२ नम्बर हुनेछ ।

त्यस्तै, भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा आठ, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७।५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच र बढुवा समितिले दिने ७।५ अंक हुन्छ । विभूषणको नम्बर ज्येष्ठतामा जोडेपछि यसले बढुवालाई थोरै भए पनि पारदर्शी र निष्पक्ष बनाउन सहयोग पुग्ने एक प्रहरी अधिकारीले बताए ।

नियमावली संशोधनमा डिएसपीसम्मका प्रहरीले अनिवार्य अवकाश पाउँदा अन्तिम पदको पदावधि आठ वर्ष अवधि पुगेकामा एक तह स्वतः बढुवा हुने प्रस्ताव पनि स्वीकृत भएको छ ।

त्यसैगरी, प्रहरीका कार्यालय सहयोगीको पहिलोपटक पाँच तह कायम हुने भएको छ ।

हाल भर्नादेखि अवकाशसम्म कार्यालय सहयोगीको कहिल्यै बढुवा हुने गरेको छैन ।

नेपाल प्रहरीका कर्मचारीको न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव भने सरकारले अस्वीकार गरेको छ ।

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

शिक्षकलाई एक लाख प्रोत्साहन भत्ता

तानसेन नगरपालिकाले स्वेच्छिक अवकाश गर्ने शिक्षकलाई रु एक लाख प्रोत्साहन भत्ता प्रदान गर्न थालेको छ ।

शिक्षक दरबन्दी मिलानमा समस्या देखिएपछि नगरपालिकाले प्रावि तहका १० शिक्षकलाई प्रोत्साहन सुविधा प्रदान गर्न थालेको हो ।

राजीनामा स्वीकृत भएपछि अवकाश गर्ने शिक्षकले रु एक लाख प्रोत्साहन भत्ता पाउने भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले बालविकास सहजकर्तालाई मासिक रु हजार पारिश्रमिक उपलब्ध गराउन थालेको छ ।

यसैबीच विद्यालयका सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालकको न्यूनतम पाश्रिमिक मासिक रु १५ हजार उपलब्ध गराउन थालिएको नगर प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

यसअघि बालविकास सहजकर्ताको पारिश्रमिक रु छ हजार ५०० रहेको थियो ।

न्यूनतम पारिश्रमिकमा दिनभर ससाना बालबालिकालाई पठनपाठन गराउनुपर्ने बाध्यता रहेको थियो ।

बालविकास सहजकर्ताको तलब पुनरावलोकन समितिको गत कात्तिक १५ गतेको बैठकको निर्णयअनुसार नगरपालिकाले पारिश्रमिक बढाएको हो ।

नगरपालिकाले रु ९४ लाख ५१ हजार थप गर्ने निर्णय गरेको हो ।

नपुग रकम कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चबाट भुक्तानी गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र सहयोगी, सहायक कर्मचारी, बालविकास सहजकर्ता र सामुदायिक सिकाइ केन्द्रमा कार्यरत परिचालक ११८ र बालविकास सहजकर्ता ४६ जना रहेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा कर्मचारी तथा बालविकास सहजकर्ताका लागि वार्षिक रु एक करोड १८ लाख बराबर खर्च भएको थियो ।

माघीमा तीन दिन सार्वजनिक बिदाको माग

शुक्लाफाँटा नगरपालिकाका थारु समुदायले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिनुपर्ने माग अघि सारेका छन् ।

उनीहरुले सार्वजनिक बिदाको माग गर्दै नगरपालिका कार्यालय पुगेर नगर प्रमुखलगायतको ध्यानाकर्षण गराएका हुन् ।

आदिवासी जनजाति सङ्घ र नेपाल आदिवासी जनजाति महासङ्घमा आबद्ध पदाधिकारीले यही पुस ३०, आगामी माघ १ र २ गते बिदा दिन माग गरेका छन् ।

“बुधबार नगर प्रमुख लगायतलाई भेटेरै माघी पर्व एवंं थारु समुदायको नयाँ वर्ष थारु सम्वत् २६४५ को अवसरमा बिदा दिनुपर्ने लिखितरुपमै माग गरेका छौँ”, आदिवासी जनजाति सङ्घका सभापति हवलदार चौधरीले भन्नुभयो, “नगर प्रमुखले यसबारे सकारात्मक जफाव दिनुभएको छ ।”

नगर प्रमुख दिलबहादुर ऐरले थारु समुदायको महान पर्व माघीका अवसरमा नगरपालिकाभित्र बिदा दिने सम्बन्धमा कार्यपालिका सदस्यसँग छलफल गरी निष्कर्षमा पुगिने बताउनुभयो ।

नगरपालिकामा बहुसङ्ख्यक थारु जनजातिको बसोबास रहेको छ ।

थारु समुदायले माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउने गर्दछन् ।

यसै अवसरमा शुभकार्यको शुभारम्भ गर्ने गरिन्छ ।

मेडिकल काउन्सिलको नियमित सेवामा ढिलाइ हुने

मेडिकल काउन्सिलको नियमित सेवामा ढिलाइ हुने

काठमाडौँ-नेपाल मेडिकल काउन्सिलले आफ्ना नियमित सेवामा केही ढिलाई हुने बताउदै बिज्ञप्ती जारी गरेको छ ।

काउन्सिलका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै नियमित सेवामा प्रभाव पर्ने देखिएको हो ।

मेडिकल काउन्सिलले जारी गरेको बिज्ञप्ती अनुसार अधिकांश कर्मचारीका साथै पदाधिकारीहरुमा पनि कोरोना पोजेटिभ देखिएको छ ।

आज एक सूचना जारी गर्दे काउन्सिलले आगामी १० दिनसम्मका लागि काउन्सिलले प्रदान गर्ने नियमित सेवामा केही ढिलाइ हुने जनाएको छ ।

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण

काठमाडौँ-कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्टभन्दा बढी सङ्क्रामक रहेको बताइएको छ ।

ओमिक्रोन भेरियन्टले मानिसको स्वास्थ्यमा जटिलता कम गराए पनि सङ्क्रामक दर गुणात्मक रुपमा फैलिने बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ओमिक्रोन भेरियन्टको अन्य भेरियन्ट जस्तै मानिसमा लक्षण हुने गरेको बताउनुभयो ।

“अहिले गरिरहेका अणुवांशिक अध्ययन (जीन सिक्वेन्सिङ)ले ओमिक्रोन भेरियन्ट बढ्दै गएको देखाएको छ, यो भेरियन्टमा अरु भेरियन्टका तुलनामा जटिलता कम भए पनि सङ्क्रामण गुणात्मक रुपमा धेरै हुने भएकाले जटिल हुने अनुपात बढेर जान्छ”, उहाँले भन्नुभयो ।

अन्य भेरियन्टको तुलनामा यो भेरियन्ट तीव्र दरमा फैलिने गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्राले ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण हुने बताउनुभयो ।

“अन्य भेरियन्टले तल्लो श्वासप्रश्वास नली वा फोक्सोमा सङ्क्रमण हुने गर्दथ्यो”, उहाँले भन्नुभयो ।

ओमिक्रोनले पार्ने असरका बारेमा थप अध्ययन अनुसन्धान भइरहेको उहाँको भनाइ छ ।

पछिल्लो एक हप्तामा कोरोना सङ्क्रमण विश्वभर एक करोडमा पुष्टि भएको छ ।

यति धेरै सङ्क्रमण हुनुको कारण ओमिक्रोन भेरियन्ट नै रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

ओमिक्रोनले कोरोना खोप लगाएका/नलगाएका दुवैलाई सङ्क्रमण हुन सक्दछ ।

सङ्क्रमित भएकामध्ये खोप नलगाएकालाई धेरै गा¥हो बनाउन सक्ने अहिलेसम्मको अध्ययनले देखाएको छ ।

खोप नलगाएका व्यक्तिको ज्यान जाने पनि खतरासमेत रहेको छ ।

जनस्वास्थ्यविद् डा सागरराज भण्डारीले ओमिक्रोन भेरियन्टले मानिसको घाँटीमा सङ्क्रमण गराउने बताउनुभयो ।

उहाँले घाँटी खसखस हुने, चिलाउने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिने जानकारी दिनुभयो ।

यस्तै ओमिक्रोन भेरियन्टले मानिसमा बढी हाछिउँ आउने, हल्का ज्वरो आउने, धेरै रुघा लाग्ने जस्तो लक्षण पनि देखिने गर्दछ ।

बच्ने उपाय

यसबाट बच्नका लागि कोरोना भाइरसको पूर्ण मात्रा खोप लगाउनाका साथै जनस्वास्थ्य मापदण्ड अर्थात भीडभाड नगर्ने, सेनिटाइजरको प्रयोग र हात साबुनपानीले पटक पटक धुनु पर्दछ ।

सही तरिकाले मास्कको प्रयोग गर्न र एक व्यक्ति तथा अर्को व्यक्तिबीचको भौतिक दूरी एक मिटर कायम गर्नुपर्दछ ।

यस्तै सङ्क्रमणबाट बच्नका लागि सरकारले १२ वर्षदेखि माथिका सबैलाई कोरोनाविरुद्धको खोप एक वर्षअघिदेखि नै लगाउन थालेको छ ।

अहिलेसम्म नेपालमा लक्षित जनसङ्ख्याको ७६.५ प्रतिशतले पहिलो मात्रा र ५६.९ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

यस्तै कूल जनसङ्ख्याको ५०.२ प्रतिशतले पहिलो मात्रा र ३७.३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् ।

सरकारले कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि आगामी माघ १५ गतेसम्म बन्द गर्नुका साथै २५ जनाभन्दा बढीको उपस्थिति हुने सभा, गोष्ठी जस्ता कार्यक्रम बन्द गरेको छ ।

सङ्क्रमण दरको प्रवृति बढ्दै

सङ्क्रमण दरको प्रवृत्ति पनि वृद्धि भएको छ ।

यही पुस १९ गते २.६ प्रतिशतमा रहेको सङ्क्रमण दर पुस २७ गते १८.६ प्रतिशत पुगेको छ ।

यस्तै पुस २६ गते १२.७ प्रतिशत, पुस २५ गते ९.२ प्रतिशतमा मात्र सङ्क्रमण दर रहेको थियो ।

पुस २० गते ४.२ प्रतिशत, पुस २१ गते ४.३ प्रतिशत, पुस २२ गते ४.५ प्रतिशत, पुस २३ गते ६.५ प्रतिशत र पुस २४ गते ७.१ प्रतिशत कूल सङ्क्रमण दर रहेको थियो ।

१५ हजार ३३ जनाको परीक्षणमा दुई हजार ४४४ मा पुस २७ गते सङ्क्रमण देखिएको थियो ।

एक हजार ४४६ सङ्क्रमति र सात हजार ८५५ सक्रिय सङ्क्रमति पुस २६ गते तथा सङ्क्रमित एक हजार १६७ पुगेको र सक्रिय सङ्क्रमित छ हजार ७५५ पुस २५ गते देखिएका छन् ।

ओमिक्रोन भेरियन्ट रोकथामको तयारी

सरकारले पहिलेको अनुभवबाट पाठ सिकेर अहिले सम्भावित तेस्रो लहरको जोमिख हुन नदिन अस्पताललाई तयारी अवस्थामा राखेको छ ।

मन्त्रालयका प्रवक्ता डा मिश्राका अनुसार ओमिक्रोन भेरियन्टको सम्भावित जोखिम रोक्न अस्पताललाई आवश्यक पर्ने अक्सिजन, सघन उपचार कक्ष (आइसियु), हाई डिपेडेन्सी युनिट (एचडियु), भेन्टिलेटर, आइसोलेशन र स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा राखेको छ ।

उहाँका अनुसार आइसियु दुई हजार ७९७, भेन्टिलेटर एक हजार आठ र एचडियु तीन हजार ८४६ रहेका छन् ।

यस्तै अक्सिजन सिलिण्डर १३ हजार ९३९ र अक्सिजन कन्सट्रेटर ६९३ रहेका छन् ।

यसैगरी २५ अक्सिजन टयाङ्कमा १९ वटा र १०७ मध्ये ८७ अक्जिसन प्लान्ट सञ्चालनमा आइसकेका छन् ।

उपत्यकामा दुई हजार ४९४ आइसोलेशन शय्या, ३२४ एचडियु, ४४५ सघन उपचार कक्ष र २५४ भेन्टिलेटर रहेका छन् ।

मन्त्रालयले समुदायमा ओमिक्रोन भेरियन्ट पत्ता लगाउनका लागि बढीभन्दा बढी एन्टिजेन किटबाट नै परीक्षण बढाउनुका साथै निगरानी बढाएको उहाँको भनाइ छ ।

“पोजेटिभ सङ्क्रमण देखिएकामध्येबाट ओमिक्रोन पत्ता लगाउन अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) गरिरहेका छौँ”, मन्त्रालयका प्रवक्ता डा. मिश्राले भन्नुभयो ।

केही दिनअघि एक हजार १४६ पोजेटिभ नमूनाको एस–जिन स्क्रिनिङ गर्दा २५० नमूनामा एस–जिन नेगेटिभ देखिएकाका र ती नेगेटिभ देखिएकाको अणु वांशिक अध्ययन (जीन सिक्वेन्सिङ) २४ मा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो ।

हालसम्म २७ ओमिक्रोन भेरियन्ट भएको पत्ता लागेको छ । “एस–जिन नेगेटिभ बढ्नु भनेको ओमिक्रोन भेरियन्ट बढ्नु हो”, उहाँले भन्नुभयो, “एस–जिन नेगेटिभ पत्ता लागेका सबै सङ्क्रमितको कन्याक्ट्र ट्रेसिङ गरिरहेका छौ ।”

यस्तै सीमा नाकामा एक हजार क्षमताका नौ वटा होल्डिङ सेन्टरसमेत बनाउन थालिएको छ ।

ओमिक्रोनले माथिल्लो श्वासप्रश्वास नलीमा सङ्क्रमण

आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ ।

विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरिएको छ ।

महामारीबाट बच्न खोप लगाउने जनसङ्ख्यामा बढोत्तरीसँगै कृषि उत्पादकत्वमा हुने वृद्धि र सेवा क्षेत्रमा देखिएका केही सुधारका आधारमा बैंकले चालु आवमा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतमा सङ्कुचित हुने प्रक्षेपण गरेको हो ।

कोभिड–१९ को महामारीले निम्त्याएको नयाँ जोखिम, मुद्रास्फीति, ऋण र असमानतामा वृद्धिबीच दक्षिण एशियाका उदीयमान र विकासशील अर्थतन्त्र पुनः मन्दितर्फ उन्मुख भएका प्रतिवेदनले औँल्याएको छ ।

महामारीभन्दा अघिको अवस्थामा फर्कने क्रममा रहेका केही दक्षिण एशियाली देशको अर्थतन्त्र कोभिड–१९ को अर्को लहरले प्रभावित हुने जोखिम बढाएको जनाइएको छ ।

सन् २०२१ को मध्यतिर कोभिडको दोस्रो ठूलो लहरले विश्वअर्थतन्त्रमा विशाल आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रतिवेदनमा सन् २०२३ सम्म नै विश्वअर्थतन्त्र शिथिल रहने प्रक्षेपण गरिएको छ ।

आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने

तरुलले राम्रो मूल्य पाएपछि किसान दङग

तरुलले राम्रो मूल्य पाएपछि किसान दङग

सर्लाही-उत्पादनको मुख्य समयमा तरुलले राम्रो मूल्य पाएपछि सर्लाहीका किसान दङ्ग छन् ।

तरुलको मूल्य माघे सङ्क्रान्ति नजिकिएसँगै राम्रो पाएपछि जिल्लाका किसान दङ्ग भएका हुन् ।

तरुल बिक्री माघे सङ्क्रान्तिमा ह्वातै बढेको र मूल्य पनि राम्रो पाउन थालेपछि यहाँका किसानको तरुलखेतीतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।

माघे सङ्क्रान्तिका दिन फलाहारको रुपमा प्रयोग हुने तरुल खनेर निकाल्न जिल्लाको वाग्मती र बरहथना नगरपालिका क्षेत्रका किसानलाई भ्याइनभ्याइ छ ।

ती क्षेत्रका खेतभरी तरुल खनिरहेको दृष्य बग्रेल्ती देखिन्छ ।

विगतका वर्षको तुलनामा तरुलले दोब्बर बढी मूल्य पाएपछि किसान दङ्ग छन् ।

तरुल यो वर्ष प्रतिकिलो रु ५० देखि ८० मा

गतवर्ष प्रतिकिलो रु ३५ देखि ४० मा बिक्री भएको तरुल यो वर्ष प्रतिकिलो रु ५० देखि ८० मा बिक्री भइरहेको छ ।

लामो समयदेखि व्यावसायिक रुपमा तरुल खेती गर्दै आएका वाग्मती नगरपालिका–५ राजघाटका किसान यमकुमार मगरले भन्नुभयो, “यसवर्ष निकै राम्रो मूल्य पाएका छौं, अन्य वर्षको तुलनामा धेरै व्यापारी तरुल किन्न आइरहेका छन् ।

यसरी मूल्य पाउने हो भने किसानलाई लागत र परिश्रमअनुसार राम्रो फाइदा हुनेछ ।”

उहाँका अनुसार माघे सङ्क्रान्ति नजिकिएसँगै किसानले उत्पादन गरेको तरुल लिन ठेकेदार खेतबारीमै पुगेका छन् ।

यसवर्ष १० कठ्ठा जमिनमा तरुलखेती गरेको र तरुलले राम्रो मूल्य पाएपछि आफूलाई खुसी लागेको वाग्मती नगरपालिका–८ शङ्करपुरका किसान जगबहादुर महतोको भनाइ छ ।

उहाँले प्रतिकठ्ठा रु २५ हजारमा खेतबाटै व्यापारीले तरुल लैजाने गरेको बताउनुभयो ।

सबै खर्च कटाएर तरुलखेतीबाट प्रतिकठ्ठा रु १८ देखि २० हजार आम्दानी हुने गरेको किसानको भनाइ छ ।

माघे सङ्क्रान्तिमा विशेष फलहारको रुपमा प्रयोग गरिने तरुल अन्य समयमा तरकारीको रुपमासमेत प्रयोग गर्न लैजाने गरेको किसानले बताउनुभययो ।

वैशाखमा रोपेको तरुल तीन दिनयता महतो आफैँले मजदुर लगाएर खनाइरहेका छन् ।

“व्यापारीले उचित मूल्य दिए भने यहीं बेच्छु, नत्र ट्रकमा हालेर काठमाडौं लैजान्छु”, उहाँले भन्नुभयो, “काठमाडौंसम्म पुर्‍याउन सके अझ राम्रो मूल्य पाइन्छ ।”

तरुलको फलाइ अनि जात हेरेर व्यापारीले मूल्य दिन्छन् उहाँले भन्नुभयो, “पाताले तरुलको बढी मूल्य पाइन्छ भने आकासे तरुलको कम मूल्य आउँछ ।”

व्यापारीले सर्लाहीको तरुल काठमाडौं, पोखरा, धनगढी, वीरगञ्ज, इटहरीलगायत मुलुकका प्रमुख सहरसम्म पुर्‍याउने गरेका छन् ।

फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने

फागुनदेखि जेठसम्म रोपिने तरुल पुसदेखि फागुनसम्म खन्ने गरिन्छ ।

तरुलखेती गर्दा जमिन हेरेर बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गर्दा रु सात हजारदेखि १० हजार प्रतिकठ्ठा लगानी हुने गरेको किसानको भनाइ छ ।

यो मौसममा तरुल प्रतिकठ्ठा रु २८ हजारदेखि ३० हजारसम्म आम्दानी हुने किसानको अपेक्षा छ ।

राम्रो उत्पादन हुँदा तरुल प्रतिकठ्ठा ८ देखि १० क्विन्टलसम्म उत्पादन हुने कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीका कार्यालय प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो ।

उहाँका अनुसार यस क्षेत्रमा झुसे(पाताले)र रातो तरुलको खेती हुँदै आएको छ ।

जिल्लामा मात्र यसवर्ष करिब २८५ हेक्टर क्षेत्रफलमा तरुलखेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवा सर्लाहीले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लामा प्रत्येक वर्ष करिब ५०० टन तरुल उत्पादन हुने गरेको छ ।

यसवर्ष बढी वर्षात् भएका कारण तरुल उत्पादनमा कमी आउने हो कि भन्ने किसानलाई चिन्ता रहेको थियो ।

तर कम उत्पादन भए पनि मूल्य राम्रो पाउँदा आफूहरुलाई घाटा नहुने किसानले बताएका छन् ।

तरुलले राम्रो मूल्य पाएपछि किसान दङग

हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकामा चिन्ता व्यक्त

हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकामा चिन्ता व्यक्त

पर्वतारोहणमा जाने आरोहीहरुले प्रयोग गर्ने प्लास्टिकजन्य वस्तुहरु र छिमेकी मुलुकहरुबाट हावाले उडाएर ल्याएका प्लास्टिकका कणहरुले गर्दा हिमाली क्षेत्रका हिउँ तथा पानीका स्रोतहरुमा माइक्रो प्लास्टिकका कणहरु पाइएबाट त्यसले जलवायु परिवर्तनको असर बढाउन मद्दत गरेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सिफिेड), डोको रिसाइक्लियरर्स र ब्लु वेष्ट टू भ्यालु नामक संस्थाद्वारा संयुक्त रुपमा यहाँ आयोजित कार्यक्रमका वक्ताहरुले केही वर्षयता नेपालमा प्लास्टिकजन्य सामग्रीको आयात तथा उत्पादनमा वृद्धि भएसँगै यसले वातावरणमा पारेका नकारात्मक असरका बारेमा अध्ययन अनुसन्धान गरी समाधानका उपयुक्त विकल्पहरुका बारेमा राज्यले उपयुक्त नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिएका थिए ।

प्लास्टिकजन्य प्रदूषणको समस्या विश्वव्यापीरुपमै बढ्दै गएको सन्दर्भमा आगामी फागुन १६ देखि १८ गतेसम्म केन्याको नैरोवीमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घीय वातावरण सम्मेलनमा छलफलका लागि प्रस्तुत हुने संयुक्त राष्ट्रसङ्घीय प्लास्टिक प्रदूषण महासन्धिको मस्यौदामा नेपालले हिमाली क्षेत्रमा प्लास्टिकको बढ्दो प्रदूषणको विषयलाई जोडदार रुपमा उठाउन पनि विज्ञहरुले सुझाव दिएका छन् ।

हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरु

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुले केही वर्षअघि सगरमाथाबाट सङ्कलन गरेको हिउँ र पानीको नमूनाको अध्ययनमा माइक्रो प्लास्टिकका कणहरु पाइएको तथ्यहरुले हिमाली क्षेत्रमा जलवायु परिवर्तनको समस्या बढ्दै जानुको एक मुख्य कारण औँल्याएको थियो ।

सो अवसरमा वन तथा वातावरणमन्त्री रामसहाय यादवले नेपालमा प्लास्टिकजन्य प्रदूषण बढ्दै गएकाले यसको रोकथाम, न्यूनीकरण एवं नियन्त्रणका कार्यहरुको प्रभावकारी कार्यान्वयनका लागि एक कार्ययोजना तयार पारी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको जानकारी गराउनुभयो ।

उहाँले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण हुन नदिन हाम्रो आन्तरिक प्रयाससँगसँगै यस समस्यालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठनका प्रविधि अन्वेषण शाखाप्रमुख वैज्ञानिक डा रवीन्द्र ढकालले हिमाली क्षेत्रको प्रदूषणको अध्ययन अनुसन्धान गरी त्यसको कारण पहिल्याउन आवश्यक रहेको बताउँदै प्लास्टिकजन्य प्रदूषणको समस्याको समाधान विश्वव्यापी रुपमै खोजी हुनु आवश्यक छ भन्नुभयो ।

साना तथा मझौला उद्योग महासङ्घका उपाध्यक्ष मोहन कटुवालले प्लास्टिकहरुको प्रयोगबाट हुने वातावरणीय प्रदूषण र स्वास्थ्यजन्य नकारात्मक असरलाई कम गर्न प्लास्टिकको आयात, उत्पादन, बिक्रीवितरण, प्रयोगकर्ता एवं फोहर सङ्कलन, ओसारपसार र पुनः प्रयोगमा संलग्न व्यक्ति, सङ्घसंस्था, निजी क्षेत्रबीच सहकार्य र साझा दृष्टिकोण बन्नु जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा सिफेडका कार्यकारी निर्देशक प्लास्टिक रामचरित्र साहले नेपालमा प्लास्टिक प्रदूषणको सवाल र प्रभाव, ब्लु वेष्ट टू भ्यालुका नवीन विकास महर्जनले हिमाली क्षेत्रमा प्लास्टिक प्रदूषण र सफाइ अभियान, डोको रिसाइक्लियरर्सका पङ्कज पञ्जियारले नेपालमा प्लास्टिक रिसाइक्लिङको अवस्था र समस्या र वन तथा वातावरण मन्त्रालयका केशवराज जोशीले नेपालमा प्लास्टिक प्रदूषण व्यवस्थापनसम्बन्धी सरकारको भूमिका उत्तरदायित्व तथा पहलका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

हिमाली क्षेत्रमा प्लास्टिकजन्य प्रदूषण बढेकामा चिन्ता व्यक्त

मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन

मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ ।

बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो ।

समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार मन्त्रिपरिषद् बैठकले स्वास्थ्य क्षेत्रमा करारमा कार्यरत ४७९ प्राविधिक कर्मचारीको सेवाअवधि ६ महिना थप गरेको छ ।

अघिल्लो वर्ष कोभिड–१९ महामारी चर्किएको बेला ४७९ प्राविधिक कर्मचारी राखिएकामा उनीहरुको म्याद यही पुस मसान्तसम्म मात्र सकिँदै थियो ।

उनीहरुको करार अवधि थप गर्ने निर्णय भएको मन्त्री खनालले जानकारी दिनुभयो ।

बैठकले प्रदेशमा दर्ता भएका एफएम रेडियो तथा टेलिभिजनलाई कोभिड महामारीले पारेको प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले नवीकरण शुल्क पूरै मिनाहा गर्ने र दुई प्रतिशत कर लिँदै आएकामा ५० प्रतिशत छुट गरी अब एक प्रतिशतमात्र कर तिरे पुग्ने व्यवस्था गरेको छ ।

माघ मसान्तसम्म कर बुझाउन सकिने व्यवस्था गरिएको छ ।

यसैगरी चितवनको भरतपुरमा यातायात व्यवस्था कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाउने निर्णयसमेत गरिएको छ ।

सो कार्यालय स्थापना गर्न आवश्यक जग्गा प्राप्तिका लागि सङ्घीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री खनालले बताउनुभयो ।

मुख्यमन्त्रीको अध्यक्षतामा कोभिड–१९ व्यवस्थापन समिति गठन

स्वास्थ्य मन्त्रालयमा महत्वपुर्ण जिम्मेवारी हेरफेर

स्वास्थ्य मन्त्रालयमा महत्वपुर्ण जिम्मेवारी हेरफेर

काठमाडौँ-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महत्वपुर्ण जिम्मेवारीमा रहेका प्रशासकको जिम्मेवारी हेरफेर गरेको छ ।

मन्त्रालयले केही उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई कोभिड-१९ युनिफाइड(वीर अस्पताल)को जिम्मेवारी दिइएको छ ।

नयाँ सङ्गठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औँ तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ ।

यस्तै औषधि व्यवस्था विभागका नारायण ढकाललाई औषधि प्रयोगशालामा पठाएर त्यहाँको महानिर्देशकमा भरत भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा.राजेन्द्र खनाललाई सिफारिस गरिएको छ ।

कर्णालीमा स्वास्थ्य निर्देशक रहेका डा.रविन खड्कालाई वीरमा सरुवा गरिएको छ ।

राष्ट्रिय एचआइभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने एचआइभी एड्स नियन्त्रण केन्द्रमा डा.सञ्जय ठाकुरलाई जिम्मेवारी दिइएको छ ।

राष्ट्रिय क्षयरोग केन्द्रको निर्देशक डा.प्रकाश शाहलाई कर्णाली प्रदेशमा सरुवा गरेर त्यहाँको जिम्मेवारी डा.श्रीराम तिवारीलाई दिइएको छ ।

मंगलबार स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्री स्तरीय निर्णय गर्दै ती अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयमा महत्वपुर्ण जिम्मेवारी हेरफेर