सरकारी काम : ४० पटक पत्राचार गर्दा पनि निकास शून्य

सरकारी काम : ४० पटक पत्राचार गर्दा पनि निकास शून्य

काठमाडौँ-नेपालमा सरकारी काम कस्तो ढङ्गबाट चल्छ भन्ने एउटा उदाहरण वीरगञ्ज सुख्खा बन्दरगाहमा डेढ वर्षदेखि असरल्ल परेको रासायनिक मलको घटनालाई लिन सकिन्छ ।

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरेको सात हजार ५९१ मेट्रिक टन वीरगञ्ज सिर्सिया सुख्खा बन्दरगाहमा समयमै उचित व्यवस्थापन हुन नसक्दा अझै अलरल्ल र बेवारिसे अवस्थामा छ ।

अर्थ र कृषि तथा पशुपक्षी मन्त्रालयबीच मलका सम्बन्धमा ४० पटकभन्दा बढी पत्रचार भए पनि आवश्यक सहयोग र समन्वय नहुँदा मल डेढ वर्षदेखि वातावरण नै प्रदूषित हुने गरी अलपत्र अवस्थामा फ्याँकिएको हो ।

सुख्खा बन्दरगाहमा रहेका मलका बोराले दुई बर्खा खुला आकाश व्यहोरिसकेको छ ।

सङ्घीय संसद्को प्रत्यायोजित व्यवस्थापन र सरकारी आवश्वासन समितिको अग्रसरतामा पछिल्लो समय उक्त मलको उचित व्यवस्थापनका लागि सरोकारवालासँग पटकपटक छलफल र निर्देशन भए पनि हालसम्म ठोस प्रगति भएको देखिन्न ।

बन्दरगाह क्षेत्रमा अलपत्र अवस्थामा रहेको डिएपी मलको व्यवस्थापनका सन्दर्भमा प्रत्यायोजित समितिले कृषि, वाणिज्य र अर्थ मन्त्रालयका सचिव तथा कृषि सामग्री र साल्ट ट्रेडिङका पदाधिकारीसँगको छलफलपछि मलको प्रयोग वा वैकल्पिक उपयोग गर्न निर्देशन दिएको थियो ।

अर्थ मन्त्रालयद्वारा एक महिनाअघि कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय त भएको छ तर यसबीचमा प्रभावकारी पहल भएको देखिएन ।

लामो समयसम्म झुलाएर समयमा निर्णय नदिएर बेवास्ता गरेको भन्दै कृषि मन्त्रालयले अर्थको पछिल्लो हस्तान्तरणसम्बन्धी निर्णयलाई सहज स्वीकार गरेको पाइएन ।

४० पटकभन्दा बढी पत्राचार

उक्त मलका सम्बन्धमा कृषि र अर्थमन्त्रालयबीच ४० पटकभन्दा बढी पत्राचार भएको कृषि मन्त्रालयका पदाधिकारीले संसदीय समितिलाई जानकारी गराए पनि निकाश भने शून्य रह्यो ।

संयुक्त अरब इमिरेट्स(युएई) स्थित स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेज प्राइभेट लिमिटेडले साल्ट ट्रेडिङ र कृषि सामग्री संस्थानका लागि बोलपत्रमार्फत ल्याएको मल विसं २०७७ जेठमा बंगालको खाडीमा आएको आम्फून समुन्द्री आँधीका कारण भिजेर गुणस्तर खच्किएको थियो ।

भन्सारले जाँच पास गर्ने क्रममा आयात गरेको २५ हजार टन मध्ये सात हजार ५९१ मेट्रिक टन अर्थात् करिब डेढ लाख बोरामा गुणस्तरको प्रश्न उठाइएपछि मल बेवारिसे बन्न पुगेको हो ।

भन्सार कार्यालयका अनुसार यसबीचमा टेण्डर पाएको कम्पनी र आयात गर्ने दुवै संस्थाले मलका लागि समयभित्रै आवश्यक चासो नदिएका कारण मल अलपत्र पर्न गएको हो ।

अहिले अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य तीन गुणासम्म बढेको छ ।

मल उत्पादन गर्ने प्राय देशले आन्तरिक खपत देखाउँदै निर्यात गर्न नचाहेको अवस्थामा भन्सार परिसरभित्र अलरल्ल परेको अवस्थामा रहेको मल गुणस्तर केही खस्किएको भए पनि प्रयोग गर्न सकिने विज्ञको मत छ ।

सुरुआती दिनमा कृषि मन्त्रालय र दुवै आयातकर्ता संस्थानले समस्याको निकासका लागि जोड बल गरेको पाइयो तर अर्थ मन्त्रालयले हस्तान्तरण गर्ने भनेपछि पछिल्लो समय गुणस्तर, सङ्कलन, व्यवस्थापन र वितरणमा आउन सक्ने झन्झटलाई देखाएर कृषि मन्त्रालय पञ्छन खोजेको देखिएको छ ।

मल अलपत्ररुपमा भन्सार परिसरमा छोडिँदा वातावरणमा प्रतिकूल असर

यसअघि मल अलपत्ररुपमा भन्सार परिसरमा छोडिँदा वातावरणमा प्रतिकूल असर पर्ने, मानवबस्ती र खेतीपातीमा नोक्सान पुग्ने, असरका कारण वरपरका रुख बिरुवा सुक्ने भएकाले समितिले अर्थ मन्त्रालयलाई आवश्यक र उचित निर्णय गर्न निर्देशन दिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसबीचमा मल आयातमा गुणस्तरको प्रश्न उठाएर कृषि सामग्रीका केही पदाधिकारीमाथि मुद्दा चलाएपछि यो विषय झन ओझेलमा परेको छ ।

दुवै संस्थानका पदाधिकारी सुख्खा बन्दरगाहमा रहेको मलको जिम्मेवारी लिँदा फेरी अप्ठ्यारोमा परिने हो कि भनी हच्किएको देखिन्छ ।

मुलुकमा किसान मल नपाएर पिरोलिएका बेला अन्तर मन्त्रालयबीच समन्वय र सहयोग नहुँदा करिब रु एक अर्ब मूल्य बराबरको मल लामो समयदेखि प्रयोग हुन नसकेर असरल्ल रहनुले सरकारी काम-कारबाहीलाई गिज्याइ रहेको छ ।

मलको शीघ्र व्यवस्थापन नभए गुणस्तर अझ खस्कदै जानेछ । यसअघि उक्त मल भन्सारले जफत गरेर नष्ट गर्ने निर्णय गरेको भए पनि स्थान र खर्च अभावले रोकिएको थियो ।

समिति सभापति रामनारायण बिडारी भन्नुहुन्छ, “मल भन्सार आइपुग्दा नै भिजेर आएकाले भन्सार छुटाउने विषयमा विवाद भएछ, पछि ल्याउने र मगाउने दुवै पक्ष सम्पर्क नगरेपछि बेवारिस अवस्थामा रहेको करिब डेढ लाख बोरा मल भन्सारले पनि पन्छाउने क्रममा अलपत्र अवस्थामा देखियो ।”

संसदीय समितिले गत कात्तिकमा वीरगञ्ज सुक्खा बन्दरगाहको निरिक्षणका क्रममा छरिवरी अवस्थामा देखेको मलका बोरा अहिले पनि सोही अवस्थामा छ ।

वर्षाद्मा मल भिजेर बग्दा त्यस क्षेत्रका रुख, बिरुवा र बाली सुकेर गएका हुनाका साथै गाउँबस्तीमा वातावरणीय असर पुगेको छ ।

सुक्खा बन्दरगाहका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले पछिल्लो समय अर्थ मन्त्रालयको निर्देशनमा मल कृषि मन्त्रालयलाई हस्तान्तरण गर्न पत्राचार भइ सकेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “मल भिजेर गुणस्तरमा प्रश्न उठेकाले ऐनअनुरुप नष्ट गर्नेबाहेक अन्य उपाय थिएन, त्यसैले रोकिएको हो, अहिले कृषिलाई हस्तान्तरण गर्ने निर्देशन भएअनुसार पत्रचार गरिएको छ, तर अहिलेसम्म कुनै प्रगति भएको छैन, मल उही अवस्थामा छ ।”

यसबीचमा आयतकर्ता कम्पनीले मलको गुणस्तर परीक्षण गरेका छन् ।

परीक्षणमा प्रयोगमा ल्याउन सकिने नतिजा प्राप्त भएको जानकारी दिइएको छ ।

साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेडका सहायक कार्यकारी निर्देशक पङ्कज जोशीले मलको गुणस्तरमा केही कमी भएता पनि प्रयोग गर्न सकिने प्रतिक्रिया दिनुभयो ।

जोशीले भन्नुभयो, “सबै सरोकारवाला मन्त्रालय र निकायको सहयोग, समन्वय र सङ्लग्नता समयमै ठीकठीक निर्णय भएमा मलको सदुपयोग गर्न सकिन्छ ।”

सरकारी काम : ४० पटक पत्राचार गर्दा पनि निकास शून्य

राष्ट्र बैंकले अघि सार्‍याे बैंकर्स अस्पतालकाे अवधारणा

राष्ट्र बैंकले अघि सार्‍याे बैंकर्स अस्पतालकाे अवधारणा

काठमाडौं-अब बैंकर्सहरुले पनि सैनिक, प्रहरी, निजामति अस्पताल जस्तै बैंकर्स अस्पताल बनाउन पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी निर्दैशिकामा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व (सीएसआर)को पैसाले त्यस्ता अस्पताल सञ्चालन गर्ने गरी खर्च गर्न पाउने अवधारणा अघि सारेको हो ।

सीएसआरको पैसा वित्तीय क्षेत्रका कर्मचारी, कर्मचारीका परिवार एवं सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल सञ्चालन गर्ने काममा खर्च गर्न पाउने केन्द्रीय बैंकले तयार पारेको बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०७८ को मस्यौदामा उल्लेख गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा भएको रकमबाट बैंक तथा वित्तीय संस्थाले शिक्षा, स्वास्थ्य, मानवीय सहयोग तथा राहत, विश्व सम्पदा, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य प्राप्त हुने वा अन्य क्षेत्रमा खर्च गर्न पाउँने प्रावधान रहदै आएको छ ।

सबै बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा बैंकर्स हस्पिटल बनाउनुपर्ने बैंकर तथा वित्तीय क्षेत्रका कर्मचारीको माग रहिआएको थियो ।

यसबारे नेपाल बैंकर्स संघ र नेपाल वित्तीय संस्था कर्मचारी संघले पनि आवाज उठाउँदै आएको थियो ।

राष्ट्रबैकले सैनिक, प्रहरी, निजामति अस्पताल जस्तै संरचना बनाउन नपाउने भनेर यस अघि कहिकतै उल्लेख गरेर उक्त कुरा रोकिएको भने होईन् ।

तर हालै केन्द्रीय बैंकले तयार पारेको बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०७८ मा बनाउन पाउने भनेर प्रस्ट उल्लेख गरेको हो ।

बैंकर्स संघले तत्कालीन उपाध्यक्ष तथा अहिलेका अध्यक्ष अनिलकुमार उपाध्यायको नेतृत्वमा बैंकर्स अस्पतालबारे अध्ययन गर्न समिति नै बनाएको थियो ।

उनीहरूले सीएसआरको पैसाबाट प्रभावकारी समाजसेवा गर्न सकिनेमा आशावादी रहेका छन् ।

सैनिक, प्रहरी, निजामति कर्मचारी जस्तै बैंकर्स अस्पताल बन्दा निजामति सेवा झैं धेरै कर्मचारी रहेकाे क्षेत्र बैंकिङ पनि हाे ।

बैंकर्स संघकाे अहिलेका अध्यक्ष अनिलकुमार उपाध्यायको नेतृत्वमा बैंकर्स अस्पतालबारे अध्ययन भएकाे थियाे र स‌याेगवस उपाध्यायकै नेतृत्वमा अब बैंकर्स अस्पताल निर्माणकाे काम प्रारम्भ हुने वातावरण श्रुजना भएकाे छ ।

राष्ट्र बैंकले अघि सार्‍याे बैंकर्स अस्पतालकाे अवधारणा

१३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

१३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौँ-नेपाल प्रहरीले १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका र गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्रहरी प्रधान कार्यालय नक्शालले सोमबार सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट हटाउने चेतावनी दिएको हो ।

१३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ

भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ

भक्तपुर-भक्तपुरमा जिल्लामा कोरोना सङ्क्रमितको ‘ग्राफ’ उकालो लागेको छ ।

पछिल्लो सयम जिल्लामा दैनिक ५०० भन्दा धेरै सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा आइतबार २५८ पुरुष र २७२ महिला गरी ५३० जना नयाँ सङ्क्रमित थपिए ।

त्यस्तै यही माघ ८ गते शनिबार ९६८, ७ गते ६२७, ६ गते ५६४ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालयमा प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।

सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्यासमेत ह्वात्तै बढेको छ । जिल्लामा आइतबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार नजिक पुगेको छ ।

कूल सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ९९८ पुगेको छ । तीमध्ये पुरुष दुई हजार ७० र महिला एक हजार ९२८ छन् ।

जिल्लामा चार नगरपालिकामध्ये सबैभन्दा धेरै मध्यपुरथिमिमा एक हजार १४७ सक्रिय सङ्क्रमित छन् ।

तीमध्ये ५८९ पुरुष र ५५८ महिला छन् । मध्यपुरथिमिमा आइतबार मात्रै २०२ सङ्क्रमित थपिएका थिए ।

त्यस्तै सूर्यविनायकमा एक हजार ६२, भक्तपुरमा ७६५ र चाँगुनारायण नगरपालिकामा ४६१ र अन्य २७४ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये ३१ संस्थागत आइसोलेसन तथा अस्पतालमा र २३ जना सामान्य आइसोलेसनमा उपचाररत छन् ।

त्यस्तै एचडियूमा चार , आइसियुमा तीन र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

जिल्लाका विभिन्न अस्पतालमा सामान्य आइसोलेसन २५६ शय्या, एचडियु ११७ शय्या, आइसियु ३५ र भेन्टिलेटर १६ छन् ।

यसैगरी जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको छ ।

यही माघ ८ गते एक सङ्क्रमितको मृत्युसँगै जिल्लामा कोरोना सङ्क्रमणका मृत्यु हुनेको सङ्ख्या ३६० पुगेको हो ।

भक्तपुरमा उकालो लाग्दै कोरोना ग्राफ

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कोरोना सङ्क्रमण नियन्त्रण, खोप अभियान र उपचारका विषयमा प्रदेश सरकारका प्रयासका बारेमा जानकारी लिनुभएको छ ।

उहाँले कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि प्रदेश सरकार र सरकारी निकायले नियन्त्रणमा गरेका प्रयासका बारेमा जानकारी लिनुभएको हो ।

उहाँले आइतबार प्रदेश प्रमुखको कार्यालयमा आयोजना गर्नुभएको छलफलमा मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, प्रदेशका मन्त्री, स्वास्थ्य सचिव, सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग जानकारी लिनुभएको हो ।

प्रदेश प्रमुख शेरचनले कोरोना महामारी नियन्त्रणको लागि प्रदेशले अभियाननै सञ्चालन गरेर अन्य प्रदेशले पनि सिको गर्ने कामगर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो“पर्याप्त मात्रामा पीसीआर परीक्षण नभएको, सिरिञ्ज अभाव र आर्थिक अभावले क्वारेन्टिन सञ्चालन हुन नसकेको मिडियाबाट आफूले जानकारी पाएको छु ।

तत्काल तीनै तहका सरकार मिलेर कोरोना सङ्क्रमण नियन्त्रण तथा बिरामीको उपचारमा लाग्न म आग्रह गर्दछु ।”

सरकारको पहिलो दायित्व नागरिकको जीवन रक्षा भएको प्रमुख जनाउँदै प्रमुख शेरचनले विकास निर्माणका काम स्थगित गरेर भएपनि नागरिकको जीवन सुरक्षा गर्नको लागि ध्यान दिन आग्रह गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री केसीले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारको लागि प्रदेशका मन्त्रीको अनुगमन समिति बनाएर प्रभावकारी उपचार भए नभएको बारेमा अनुगमनमा जोड दिइएको जानकारी दिनुभयो ।

उहाँले संघीय सरकार र नेपाली सेनाको प्रयासमा प्रदेशमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरी तीनवटा होल्डिङ सेन्टरको निर्माणको काम भईरहेको र बनिसकेका सेन्टरको सञ्चालन गरिने जानकारी दिनुभयो ।

रुपन्देहीमा जग्गा प्राप्त हुन नसक्दा होल्डिङ सेन्टर नबनेको र कपिलवस्तु र बाँकेमा निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो ।

सङ्क्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको ५ हजार ५२८ सङ्क्रमित

प्रदेशका स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा विकाश देवकोटाले अहिले प्रदेशमा कोरोना परीक्षण भएका करिब ६० प्रतिशतमा कोरोना पोजेटिभ देखिने गरेको जानकारी दिनुभयो ।

उहाँले नयाँ भेरियन्टसँगै सङ्क्रमण फैलिएपछि प्रदेशमा ११ जनाको मृत्यु भएको ५ हजार ५२८ सङ्क्रमित भएको र पाँच हजार ३६ होम आइसोलेसन, ५० जना संस्थागत आइसोलेसन, ३३ जना आइसियू र एक जना भेन्टिलेटरमा रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेशमा लुम्बिनी प्रादेशिक, भीम अस्पताल, भेरी र राप्ती अस्पताललाई कोरोना डेडिकेटेट अस्पताल बनाएर तयारी अवस्थामा राखिएको प्रदेशका विभिन्न अस्पतालमा ६२४ एचडियू २५३ आइसियू र ६२ भेन्टिलेटर तयारी अवस्थामा राखिएकोे छ ।

अहिलेसम्म प्रदेशमा लक्षित जनसङ्ख्यामध्ये ८३ प्रतिशतलाई पहिलो र ६५ प्रतिशतलाई दोस्रो मात्राको कोरोनाविरुद्धको खोप लगाइएको र प्रदेशमा अझै पनि १८ लाख ६२ हजारभन्दा बढी डोज आवश्यकता रहेको सो अवसरमा जानकारी दिइएको थियो छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भारतबाट आएका यात्रुका नाकामा कोरोना परीक्षण गर्दै आएको र सङ्क्रमण पोजेटिभ देखिएकाका व्यवस्थापमा समस्या रहेको जानकारी दिनुभयो ।

उहाँले बेलहिया नाकाबाट देशका विभिन्न ठाउँमा जाने यात्रु आउने र उनीहरुलाई गन्तव्यसम्म पु¥याउने चुनौती रहेको बताउनुभयो ।

नेपाली प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारीले प्रहरीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि नागरिकमा सुरक्षा सचेतना फैलाउने अभियान चलाएको जानकारी दिनुुभयो ।

महासेनानी मचिन्द्र थापाले प्रदेशको रुपन्देही, बाँके र कपिलवस्तुमा अहिले होल्डिङ सेन्टर निर्माणको काम भइरहेको र कपिलवस्तुमा ८२ प्रतिशत भौंतिक र ५५ प्रतिशत आर्थिक प्रगति भएको जानकारी दिनुभयो ।

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ गैरकानुनी,कारोबारीलाई कारबाहीकाे चेतावनी

काठमाडौँ-नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सीको रुपमा रहेको क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ कारोबार नगर्न निर्देशन जारी गरेको छ ।

पछिल्लो समय केही व्यक्तिले नेपालभित्र गैरकानूनी रहेको क्रिप्टोकरेन्सी, भर्चुअल करेन्सीसँग सम्बन्धित हाइपड फन्डजस्ता कोषमा लगानी गर्ने र जोसिअल, क्राउड १, सोलम्याक्स ग्लोबलजस्ता पिरामिडमा आधारित नेटवर्क मार्केटिङमा आबद्ध भएर कारोबार गर्नेको संख्यामा वृद्धि भएपछि राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।

नेपाल राष्ट्र बैंकले भर्चुअल करेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

राष्ट्र बैंकको निर्देशन भनिएको छ –‘हालका दिनहरुमा छोटो अबधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी। क्रिप्टो करेन्सीहरुको कारोबार प्रयोग गर्न तथा त्यससँग सम्बन्धित हाईपर फण्डजस्ता कोषमा लगानी गर्न र जोसिकल क्राउड १, सोलीम्याक्स ग्लोवलजस्ता पिरामिडमा आधारित नेटवर्किङमा आवद्ध हुन प्रोत्साहन गर्ने गराउने गरेको जानकारी प्राप्त हुन आएकोले सो सम्बन्धमा यस बैंकको गम्भिर ध्यानाकर्षण भएको छ,’ सूचना अगाडिमा भनिएको छ, ‘विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टो करेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिइ स्वदेशी पुँजी पलायन हुने भएकाले यस्ता कारोबारमा संलग्न नहुन नेपालभित्रका स्वदेशी तथा विदेशी नागरिक एवम विदेशमा बस्ने नेपालीहरुलाई समेत जानकारीको लागि सूचना प्रकाशित गरिएको छ ।’

क्रिप्टोकरेन्सी र नेटवर्क मार्केटिङ अन्तर्गतको कारोबार तथा व्यवसायले नेपालमा कानूनी मान्यता नभएको राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

‘हालका दिनमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सी÷क्रिप्टोकरेन्सीहरुको कारोबार गर्न तथा त्यस सम्बन्धी हाइपर फण्ड जस्ता कोषमा लगानी भएको जानकारी प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

पछिल्लो समय अत्यधिक आयातको कारण वैदेशिक मुद्रा सञ्चितिमा निरन्तर दबाब परिरहेको छ ।

५ महिनाको तथ्यांक अनुसार ६।८ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने मात्रै मुद्रा सञ्चिति रहे पछि अनधिकृत रुपमा पुँजी पलायनलाई रोक्न यस्तो निर्देशन दिएको केन्द्रीय बैंकले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा रहेका एवम् नेपाल बाहिर रहेका अन्य नेपालीहरुले समेत कमाएको रकम नेपालमा रेमिट्यान्सको रुपमा नपठाएर उतै क्रिप्टोकरेन्सीलगायतमा कारोबार गर्ने गरेको बताइन्छ । साथै पछिल्लो समय नेपालबाटै पनि धेरैजसो नेपालीहरुले भर्चुअल करेन्सी तथा हाइपर फण्डमा लगानी गर्न थालेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

नेपालमा विदेशी विनियम वा मुद्राको रुपमा भर्जुअल करेन्सी÷क्रिप्टोकरेन्सीले कानुनी मान्यता पाएको छैन ।

यस्तोमा गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुने खतरा छ ।

२४ घण्टामा कोभिडबाट चारजनाको मृत्यु

बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल १७ हजार ४३७ जनाको परीक्षण गर्दा छ हजार ४६२ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयले आज गरेको नियमित ‘प्रेस ब्रिफिङ’ सहायक प्रवक्ता डा समीर अधिकारीले २४ घण्टामा एक हजार ४१६ जना सङ्क्रमणमुक्त भएका तथा चारजनाको आइतबार मृत्यु भएको बताउनुभयो । हाल देशभर ७७ हजार ४० सक्रिय सङ्क्रमित छन् ।

यसैबीच, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५० बढी चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएका बताउँदै यही माघ १० देखि १६ गतेसम्म खोप अभियान स्थगन भएको जनाएको छ ।

प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम

प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम

प्रदेश लोकसेवा आयोगले निष्पक्ष रुपमा कार्यसम्पादन गर्दा जनतामा यसले विश्वसनीयता कायम गरेको प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङले बताउनुभएको छ ।

उहाँले प्रदेश लोक आयोगको दोस्रो वार्षिकात्सवको उपलक्ष्यमा आयोजित कार्यक्रमको आज यहाँ उद्घाटन गर्दैनिष्पक्ष, दक्ष, इमान्दार, समक्ष कर्मचारी उत्पादन गरेमा सार्वजनिक प्रशासनमा सबैको विश्वास आर्जन सफल हुने बताउनुभयो ।

प्रदेश सरकारले आगामी दिनमा आयोगको आन्तरिक कार्य सञ्चालनमा रहेको समस्या समाधान गर्न सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

आयोगले आफ्नो कार्य समस्यारहित ढङ्गले छिटो छरितोरुपमा सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आयोगलाई जनमुखी, विश्वसनीय र समक्ष बनाउन आवश्यक सहयोग गर्ने बताउनुभयो ।

उहाँले जनशक्ति, कानुन र पूर्वाधार अभावबीच आफ्नो दायित्व सफलतापूर्वक सम्पन्न गरकोमा आयोग धन्यवादको पात्र रहेको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री राईले आयोगले विवादरहित ढङ्गले दत्तचित्त भएर कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्यलगाय अन्य आवश्यक जनशक्ति नियुक्त गर्ने सम्बन्धमा बाधा फुकाउन सरकारले अध्ययन गरिरहको जानकारी गराउनुभयो ।

उहाँले सङ्घको निजामती ऐन जारी नभए पनि प्रदेश निजामती ऐनमार्फत के कसरी आवश्यक कर्मचारी पदपूर्ति गर्ने सम्बन्धमा आवश्यक सुझाव दिन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री राईले सङ्घीय सरकारले अनुदानको बजेट रकम अत्यन्त कम, राजस्व सङ्कलन सीमित दायराको कारणले सरकारले अपेक्षित रुपमा आफ्नो दायित्व पूरा गर्न नसकेकामा गुनासो व्यक्त गर्नुभयो ।

सङ्घीय सरकारको समायोजन ऐनलाई टेकेर खाली भएका माग अनुसार कर्मचारी पदपूर्ति गर्न सकिने प्रदेश लोकसेवा आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले धारणा राख्नुभयो ।

भौगोलिक दूरीका कारण आयोग उत्तीर्णहरुले नियुक्ति लिन नआएकालाई प्राथमिकता दिनुपर्ने, परीक्षामा अनियमितता गर्नेलाई कालो सूचीमा राखी सबै प्रदेशको आयोगको परीक्षामा रोक लगाउनुपर्ने र प्रदेशका स्थानीय निकायले लोकसेवा आयोग तयारी कक्षा सञ्चालन गर्नुपर्ने जस्ता सुझाव प्रदेश लोकसेवा आयोगका सचिव यज्ञराज कोइराला र सदस्य सजना दाहालले दिनुभयो ।

प्रदेश लोकसेवा आयोगको निष्पक्ष कार्यले विश्वनियता कायम

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसङ्घका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ ।

दुईपटक राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वसंस्थाका महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर भने पाएको छ ।

मानवअधिकार परिषद्, महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिइडीएडब्ल्यू), लागुऔषध नियन्त्रणसम्बन्धी आयोग, जनसङ्ख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगको सदस्यमा निर्वाचित नेपालले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने अवसर पाएको छ ।

सिइडीएडब्ल्यको आगामी तीन वर्ष, मानवअधिकार परिषद् र लागुऔषध नियन्त्रण आयोगको आगामी दुई वर्ष, जनसङ्ख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगमा सदस्यका रुपमा नेपालले यो वर्षभरि विश्वसमुदायसँग नेतृत्व तहमा रहेर काम गर्ने अवसर पाएको छ ।

सन् २०२१ सम्म नेपालले लैङ्गिक समानता तथा सशक्तीकरणका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (युएन वुमन), राष्ट्रसङ्घीय महासभाको आर्थिक तथा वित्तीय समितिको अध्यक्ष र कानुन समितिको उपाध्यक्षका रुपमा काम गरिसकेको छ ।

नेपालले आफ्नो बहुपक्षीय संलग्नतामा उक्त विश्व संस्थालाई सुधार गर्न र त्यसलाई अझ सक्रिय, प्रभावकारी र सक्षम बनाउनुपर्नेमा जोड दिँदै आएको छ ।

नेपाल राष्ट्रसङ्घमा शान्ति सेना परिचालन गर्ने चौथो ठूलो राष्ट्र

साथै राष्ट्रसङ्घको बडापत्रलाई आफ्नो परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्तका रुपमा अँगालेको छ भने उक्त संस्थालाई बहुपक्षवादको केन्द्रबिन्दु मानेको छ ।

राष्ट्रसङ्घसँग नेपालको सहकार्यले शान्ति, सुरक्षा, विकास र मानवअधिकार जस्ता राष्ट्रसङ्घीय प्रणालीका तीनवटै स्तम्भलाई सुदृढ तुल्याउन योगदान पुगेको छ ।

नेपालले विश्वका जटिल समस्यालाई सम्बोधन गर्ने उपयुक्त संस्था संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका द्वन्द्वग्रस्त विषम भूगोल र प्रतिकूल मौसम भएका स्थानमा सेना र प्रहरी पठाएर योगदान गर्ने नेपाल राष्ट्रसङ्घमा शान्ति सेना परिचालन गर्ने चौथो ठूलो राष्ट्र भएको छ । यसबाट विश्वशान्ति स्थापनाका कार्यमा नेपालको प्रतिबद्धता झल्कन्छ ।

नेपाली शान्ति सैनिकले कोभिड–१९ महामारीको दोहोरो चुनौतीसँग लड्न र दिगो शान्ति कायम गर्न द्वन्द्वको चपेटामा परेका देशहरूलाई मद्दत गरेका छन् ।

स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने नेपालले आफ्नो राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर प्रभावकारी कूटनीति सञ्चालन गर्दै आएको छ ।

आर्थिक–सामाजिक रुपान्तरणको राष्ट्रिय आवश्यकतामा सघाउन, प्राथमिकताका क्षेत्रमा विदेशबाट आर्थिक सहायता परिचालन गर्न आर्थिक कूटनीतिलाई पनि प्रभावकारीरुपमा सञ्चालन गरिएको परराष्ट्र मन्त्रालयले गत हप्ता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रसङ्घीय पाँच निकायको नेतृत्व तहमा नेपाल

त्रिविका सबै कक्षा र परिक्षा अनलाइन बाटै

त्रिविका सबै कक्षा र परिक्षा अनलाइन बाटै

काठमाण्डौ–त्रिभुवन विश्वविद्यालयले आफु मातहतका सबै क्याम्पसलाई माघ ११ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्नुपर्ने निर्णय त्रिवि कार्यकारी परिषद्ले गरेको हो ।

यसका लागि भोलि सोमवार १० गते अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउन समेत त्रिविले निर्देशन दिएको छ ।

परिषद्को बैठकले अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न समेत निर्देश गरेको छ ।

त्रिवि कार्यकारी परिषद्को बैठकले सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी अबश्यक निर्णय गरेर कोभिडको समयमा पठन पाठन सुचारु गर्न सुझाएको छ ।

परिषद्ले भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने बताएको छ ।

अनलाइन कक्षा व्यवस्थित भए नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति पनि बन्ने त्रिविले जनाएको छ ।

यस्तै अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेस गर्नुपर्नेछ ।

अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनबाटै हुने भएको छ ।

चिकित्साशास्त्र अध्ययन संस्थानका अन्तर्गतका परीक्षा स्वास्थ्यको मापदण्ड पालना गरेर अध्ययन संस्थानबाटै निर्णय गरेर सञ्चालन गर्ने, विद्यार्थीको आन्तरिक मूल्याङ्कन अनलाइनको माध्यमबाट गराउने तथा सबै संकाय र संस्थानले अनलाइनबाट परीक्षा लिने ढाँचा र कार्यविधि तयार गर्ने र कार्यविधिमा आन्तरिक मूल्याङ्कन र अन्तिम परीक्षाको सम्बन्धमा आवश्यक व्यवस्था गर्न पनि त्रिविले निर्देशन दिएको छ ।

त्रिविले सबै क्याम्पसलाई प्रशासनिक सेवा बन्द नगर्न र सकभर घरबाटै काम गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएको छ ।

त्रिविका सबै कक्षा र परिक्षा अनलाइन बाटै

मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा

मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा

काठमाडौँ-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा रहेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् ।

गृहमन्त्री खाणले मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सिके राउतको हत्या गर्ने आशयको चेतावनी दिएपछियस्तो बताएका हुन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको कुरा हामी सबैले नोटिसमा राखेको गृहमन्त्री खाणले बताएका हुन्।

उनले हामीहरुले संविधान र विधिको पालनाप्रति गम्भीर बन्नुपर्ने बताएका छन् ।

सबैभन्दा पहिला संविधान र विधिको पालना सरकारले नै गर्नुपर्ने उनको भनाइ छ ।

‘त्यसकारण मन्त्रीको अभिव्यक्ति कानुन र विधिसम्मत हुनुपर्छ ।

गृहमन्त्री खाणले विधि र कानुन सम्मत अभिव्यक्ति राख्दा राम्रो हुने बताए ।

मन्त्री रेणु यादवको अभिव्यक्ति सरकारको नोटिसमा

प्रचण्ड पत्नी आईसीयूमा

प्रचण्ड पत्नी आईसीयूमा

काठमाडौं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल आईसीयूमा भर्ना भएकी छिन् ।

सीता दाहाल लाई कोरोना संक्रमण पुष्टि भएसँगै मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिएको छ ।

पारिवारिक स्रोतका अनुसार दाहाल तीन दिनदेखि अस्पतालमा भर्ना भएकी हुन् ।

कोरोना संक्रमणसँगै उनमा निमोनियासमेत देखिएपछी उनलाई आईसीयूमा भर्ना गरेर उपचार गरिएको हो ।

अहिले उनको स्वास्थ्य स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।

सीता दाहाल एक जटिल प्रकारको मनोबैज्ञानिक तथा मानसिक रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट लामो समयदेखि पीडित छिन् ।

प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी राेगले बिस्तारै मस्तिष्कमा क्षय गर्दै जान्छ र शरीर काम्ने, हिँडडुल गर्न गाह्रो हुने र अन्ततः विस्मृति हुने जस्ता समस्या देखिन्छन्।

हाल उपलब्ध उपचारपद्धतिले लक्षण व्यवस्थापन गर्न मात्र सक्छ । मस्तिष्कका कोष मर्दै जाँदा रोगीको स्थिति झन् गम्भीर हुँदै जान्छ ।

हाल सम्म याे राेग निकाे पार्ने औषधि कुनै बैज्ञानिकले बनाउन सकेका छैनन् ।

प्रचण्ड पत्नी आईसीयूमा

सर्प देखाएर पैसा माग्दै

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् । तस्वीर: राजेन्द्रप्रसाद पनेरु

महिलामाथि सामूहिक बलात्कार: दुई आरोपी फरार

महिलामाथि सामूहिक बलात्कार: दुई आरोपी फरार

इटहरी- एक महिलामाथि सामूहिक बलात्कार भएको छ ।

मोरङको सुन्दरहरैचा–४ बलियामा ३० वर्षीया महिलामाथि सामूहिक बलात्कार भएको हो ।

घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ भने दुई जना फरार रहेको प्रहरीले जनाएको छ ।

इटहरीबाट बहिनीको घर जाँदै गरेकी महिलामाथि श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगेर सामूहिक बलात्कार गरिएकाे प्रहरीले बताएकाे छ ।

प्रहरीका अनुसार बेलबारी नगरपालिका–४ की ३० वर्षीया महिलाले शुक्रबार इटहरीमाकाम सकेर साँझ इटहरीबाट बस चढेर ६ बजे गछियासम्म पुगिन् ।

तर, बहिनीको घरसम्म पुग्ने बाटो बर्सिएपछि बाटो सोध्दा रामबहादुर नेपालीले बहिनीको घरसम्म पुर्‍याइदिने भन्दै प्रदेश २–०१–००१ च २२७ नम्बरको गाडीमा चढाएको बताइएको छ ।

प्रहरीका अनुसार तर उनले गाडी घुमाउँदै सुन्दरहरैचा–४ बलियामा रहेको श्रेष्ठ होटल एण्ड फेमिली लजमा लगे ।

सोही लजमा ती महिलामाथि रातभर सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ ।

बलात्कृत महिलाको अत्यधिक रक्तश्राव भएका कारण अवस्था गम्भीर छ ।

उनलाई कोसी अस्पताल विराटनगरमा भर्ना गरेर उपचार जारी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङ अनुसार घटनामा संलग्न भएका होटल सन्चालक ३६ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परेका छन् ।

सोही होटलमा काम गर्ने आरती श्रेष्ठलाई पनि नियन्त्रणमा लिइएको छ ।

बलात्कारको घटनामा संलग्न भएको भनिएका २७ वर्षीय मनोज श्रेष्ठ र झापा घर भएका रामबहादुर नेपाली फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

पीडित महिलाका ४ वर्ष र १७ महिनाका दुई जना छोरी छन् । पीडित महिला सपरिवार खोटाङबाट गत असोजमा मोरङको बेलबारी बसाइँ सरेर आएका थिए ।

शुक्रबार रातभर सम्पर्कविहीन भएकी महिलाले शनिबार बिहान साढे ८ बजे बहिनीलाई घटना बारेमा जानकारी गराएकी थिइन् ।

बहिनीलाई उद्धृत गर्दै प्रहरीले जनाएअनुसार बलात्कृत भएको कोठा रगताम्य थियो ।

उनलाई अस्पताल ल्याउन प्रयोग गरिएको गाडीको सिट समेत रगताम्य देखिएको प्रहरीले बताएको छ ।

महिलामाथि सामूहिक बलात्कार: दुई आरोपी फरार

खेलकुदमा अब निजी क्षेत्रसँग सहकार्य

खेलकुदमा अब निजी क्षेत्रसँग सहकार्य

काठमाडौँ-सरकारले खेलकुद क्षेत्रमा निजी क्षेत्रसँगको सहकार्य बढाउने सोच अघि सारेको छ ।

निजी क्षेत्रको सहभागिता र सहकार्यले नेपालको खेलकुदको विकास र विस्तारका लागि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मुलुकको खेलक्षेत्रको विकास मन्त्रालयको मूल प्राथमिकतामा रहेता पनि निजी क्षेत्रसँग पनि सहकार्य अघि बढाउने सोच बनाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आगामी बर्षको बजेटमा खेलकुदको विकासमा निजी क्षेत्रको सहकार्य प्रवद्र्धन गर्ने कार्यक्रम ल्याउने सोच बनाएका छौँ ।”

निजी क्षेत्रका बैंक तथा वित्तीय सङ्घसंस्थाले अहिले नै पनि खेलाडी उत्पादन र विभिन्न खेलकुद प्रतियोगितामा प्रायोजन गरी खेलकुद क्षेत्रको विकास र विस्तारमा योगदान पुर्‍याउँदै आएका छन् ।

निजी क्षेत्रबाट खेल पूर्वाधार तयार निर्माण र खेलाडी उत्पादनमार्फत देशको खेल क्षेत्रको नतिजा अब्बल तुल्याउन अझै योगदान हुने आशा गरिएको छ ।

सचिव डा रेग्मी भन्नुहुन्छ, “सरकारी क्षेत्रबाट मात्रै खेल क्षेत्रका विकास गर्छुभन्दा अधुरो र अपूरो हुन्छ ।

निजी क्षेत्र हरक्षेत्रमा प्रखर र प्रवल साझेदारका रूपमा रहिआएको छ । खेल क्षेत्रमा पनि निजी क्षेत्रबाट वित्तीय र अरु सङ्घसंस्थाका माध्यमद्वारा सहयोग हुँदै आएको छ ।”

खेल पूर्वाधार र मैदान निर्माणमा पनि निजी क्षेत्रको सहभागिता बढ्दै

पछिल्लो समय राजधानीलगायतका देशका मुख्य सहरमा निजी क्षेत्रका माध्यमद्वारा फुटसलको ह्वात्तै विस्तार भएको छ ।

फुटसल विस्तारले पनि खेल क्षेत्रमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको पुष्ट्याइँ गरेको छ ।

खेल पूर्वाधार र मैदान निर्माणमा पनि निजी क्षेत्रको सहभागिता बढ्दै गएको पाइएको छ ।

मानव जीवनलाई स्वस्थ्य, अनुशासित एवं सक्रिय तुल्याउने भरपर्दो माध्यमका रूपमा रहेको खेलकुदले राष्ट्रिय एकता सुदृढ र भाइचारा अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याउँछ ।

स्वस्थ्य, सक्षम र अनुशासित नागरिक तयार गर्न खेलकुद तथा खेलाडीमा योेजनाबद्ध लगानी गर्ने र खेलकुदलाई राष्ट्रिय एकता सुदृढ गर्ने एवं अन्तर्राष्ट्रिय क्षेत्रमा राष्ट्रिय सम्मान अभिवृद्धि गर्ने माध्यमका रूपमा विकास गर्ने नीति सरकारले लिएको छ ।

देशमा खेलकुदको विकासका लागि मुख्यरूपमा खेलाडी उत्पादन, खेल पूर्वाधार र प्रतिस्पर्धी क्षमता प्रवद्र्धन गर्न प्रतियोगिता आवश्यक पर्छ ।

खेल क्षेत्रको विकासका लागि सरकारी संयन्त्रका रूपमा मन्त्रालय, खेलकुद परिषद्, प्रदेशमा सामाजिक विकास मन्त्रालय तथा स्थानीय तहमा शिक्षा, युवा तथा खेलकुद शाखासहितको संरचना सरकारले स्वीकृत गरेको छ ।

ती संयन्त्र सरकारी नीति, नियम, वार्षिक कार्यक्रम र वार्षिक बजेटअनुसार परिचालित हुँदै आएका छन् ।

भौगोलिक र हावापानीको विविधताका कारण नेपालका जुनसुकै क्षेत्रमा पनि खेलकुदको सम्भावना प्रवल छ ।

मुलुकको ठूलो हिस्सा पहाड र पवर्त रहेकाले नेपालमा सहासिक पर्वतीय खेलकुदको सम्भावना प्रशस्त छ ।

पर्वतीय खेललाई प्रोत्साहन गर्न यहीँ अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्छ भन्ने पछिल्लो समय व्यापक आवाज उठेको छ ।

यसमा पनि निजी क्षेत्रको सहभागिता बढाउने सकिनेछ ।

विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमण जोखिम कम हुनासाथ निजी क्षेत्रसँग खेलकुदको विकासमा सहकार्यका लागि मन्त्रालयले छलफल गर्ने सचिव रेग्मीले बताउनुभयो ।

उक्त छलफलपछि मन्त्रालयले खेलकुदमा निजी क्षेत्रको संलग्नता बढाउन कार्यदल बनाएर काम गर्नेछ ।

हालकै नीति र नियमभित्रै सम्बोधन गर्न सकिने सम्भावनालाई तत्कालै सम्बोधन गरेर अघि बढ्ने मन्त्रालयले सोच अघि बढाएको छ ।

छिमेकी मुलुकमा खेलकुदको विकासमा निजी क्षेत्रको ठूलो योगदान रहेकाले नेपालमा पनि निजी क्षेत्र प्रवल सहयोगी र साझेदार बन्न सक्छ भन्ने मन्त्रालयको बुझाइ छ ।

खेलकुदमा अब निजी क्षेत्रसँग सहकार्य