एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

काठमाडौँ-केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नेकपा एमालेका अध्यक्ष ओलीलाई कोरोना संक्रमण पुष्टि भएको हाे ।

कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो ।

ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पीसीआर गरिएको थियो ।

ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।

एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण

सुत्केरीपछि आमा र नवजात शिशुको मृत्यु

हुम्ला-जिल्ला अस्पताल हुम्लामा सुत्केरी पछि आमा र नवजात शिशु दुवैको मृत्यु भएको छ ।

सिमकोट गाउँपालिका–५ की २१ वर्षीया टीका सार्कीको यही माघ ७ र नवजात शिशुको माघ ५ अकालमा मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनीको शल्यक्रिया गरेर सुत्केरी गराइएको थियो ।

टीकाका ससुरा धनसिंह सार्की अनुसार सुत्केरी व्यथाले च्यापेपछि उनीलाई जिल्ला अस्पतालमा लगिएको थियो ।

यसपछि शल्याक्रिया गरेर बच्चा जन्माइएको थियो ।

शल्यक्रिया गरेको दुई दिनसम्म टीकाका स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ ।

जिल्ला अस्पतालले उद्धारका लागि तत्काल हेलिकोप्टरको व्यवस्था गरेको भए पनि उनीको सोही राति नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

जुम्लाको नच्दनाथ नगरपालिका–८ कोटीला माइत भएकी टीकाले एक वर्ष अगाडि हुम्लामा विवाह गर्नुभएको थियो ।

माइती पक्षले टीकाको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै राखिएको छ ।

माइती पक्षले के–कति कारणले आफ्नो छोरीको मृत्यु भएको हो जानकारी नहुँदासम्म शव उठाउन नदिएपछि टीकाका परिवारले शव बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।

अस्पतालको प्रसूतिगृहमा शल्यक्रियाद्वारा बच्चा जन्माएका सुत्केरीको मृत्यु भएको भने यो पहिलोपटक हो ।

यहाँका महिलाले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनुपरेको छ ।

जिल्लामा स्वास्थ्यकर्मी नियमित नबस्नु, औषधि उपकरणलगायतको अभावले ज्यान गुमाउने गरेका हो ।

हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन ।

यस्तै गत पुस ३० गते जिल्लाको दक्षिण भेगको अदानचुली गाउँपालिका वडा ६ का गौगरा छत्यालको सुत्केरी भएको पाँच मिनेटपछि मृत्यु भएको थियो ।

बर्दिबासका भूमिहीन भन्दछन्-लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ

बर्दिबासका भूमिहीन भन्दछन्-लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ

महोत्तरी-वर्षौँवर्षदेखि बसोबास गर्दै आएका महोत्तरीको बर्दिबास नगरपालिकाका भूमिहीन सुकुम्बासीले अब आफ्नो घरजग्गाको जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) पाउने आश जागेको छ ।

नगर क्षेत्रका एक हजार ८०० भन्दा बढी सङ्ख्याका भूमिहीन सुकुम्बासी बसोबास गर्दै आएका घर जग्गाको लालपुर्जा प्राप्तिको प्रक्रिया अघि बढेपछि अहिले उनीहरु खुशी हुन थालेका हुन् ।

यसअघि पूर्ववर्ती सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर अघि बढाएको कामलाई वर्तमान सरकारले स्वामित्व लिएपछि यो वातावरण बनेको बर्दिबास नगर कार्यपालिकाले जनाएको छ ।

“यसअघिको सरकारले गठन गरेको आयोग वर्तमान सरकारले खारेज गरे पनि त्यसबेला भएका कामको स्वामित्व लिएपछि अब लालपुर्जा वितरण गर्ने गरी काम बढेको छ”,

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले भन्नुभयो, “अब नगर क्षेत्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै आफ्नो घरजग्गाको लालपुर्जा पाउनेछन् ।”

यसअघि लगत सङ्कलन र जग्गा नापको काम सम्पन्न भएको र अहिले लालपुर्जा र नक्सा बन्ने काम अघि बढेको हुँदा अब चाँडै वितरण गरिने उहाँको भनाइ छ ।

“विसं २०७७ मङ्सिर २४ गते भूमिसम्बन्धी समस्या समाधान आयोग ताहचाल काठमाडौँ र बर्दिबास नगर कार्यपालिकाबीच समझदारीपत्रमा हस्ताक्षर गरिएलगत्तै काम अघि बढेको थियो”,

उहाँ भन्नुहुन्छ, “यसलगत्तै हामीले भूमिसम्बन्धी स्थितिको आधारभूत अध्ययन गरेर सम्बन्धित प्लटप्लटमै पुगेर जग्गा नापजाँच गर्‍यौँ, ती कामलाई अहिलेको सरकारले स्वामित्व ग्रहण गरिदियो, अब काम बढ्यो ।”

चाँडै लालपुर्जा वितरण गरिने गरी काम अघि बढेको कार्यकारी अधिकृत पराजुलीको भनाइ छ ।

अहिले लालपुर्जा वितरण गरिने गरी काम बढेको सुनेपछि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमामा नयाँ आशाको सञ्चार भएको छ ।

“हामी त गत असारमा सरकार फेरिएपछि अब लालपुर्जा पाउने काम फेरि अड्कियो भनेर निराश भएका थियौँ”, बर्दिबास–३ गौरीडाँडामा वर्षौँदेखि घर बनाएर बस्नुभएकी अव्यवस्थित बसोबासी गीता खतिवडाले भन्नुभयो, “तर अहिलेको सरकारले पनि पहिले भएका कामलाई निरन्तरता दिएछ, हाम्रो नगर नेतृत्वले समन्वय गरेछ, अब लालपुर्जा पाइन्छ भन्ने सुनियो ।”

लालपुर्जा पाएर अब घर भएको जग्गा मेरै नाममा छ भन्ने दिन नजिक आएको कुराले खुलदुली झन् बढाएको खतिवडा बताउनुहुन्छ ।

अब चाँडै लालपुर्जा वितरण गरिन्छ

नगरपालिकाले नवगठित भूमि आयोग (केन्द्रीय)सँग भर्खरै गत पुस २४ गते फेरि सम्झौता गरेर पूर्वसरकारको पालामा भएका काम अघि बढाउन आवश्यक कार्यविधि स्वीकृत गराएपछि बल्ल लालपुर्जा वितरणको चरणमा प्रवेश गरेको हो ।

अब चाँडै लालपुर्जा वितरण गरिन्छ”, बर्दिबास नगरप्रमुख विदुरकुमार कार्कीले भन्नुभयो ।

यसअघि पूर्ववर्ती सरकारले जिल्लामा राजेन्द्र साह नेतृत्वमा जिल्लास्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएर काम अघि बढाएको थियो ।

तत्कालीन समयमा भएका कामलाई वर्तमान भूमि आयोगले स्वामित्व ग्रहण गरेर निरन्तरता दिएपछि चाँडै लालपुर्जा वितरणको चरणमा प्रवेश गर्न सकेको हो ।

“हामीले आधारभूत काम सकेका थियौँ, लगत सङ्कलनदेखि जग्गा नापजाँचको काम सम्पन्न भएको थियो”, तत्कालीन भूमि आयोगका अध्यक्ष साहले भन्नुभयो,

“सरकार फेरिएर आयोग खारेज भएसँगै गरेको काम के होला भन्ने अन्योल थियो, तर खुशीको कुरा वर्तमान सरकारले ती कामलाई अघि बढाएछ ।”

अब बर्दिबास नगरभित्रका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले चाँडै जग्गाधनी प्रमाणपुर्जा पाउने कुराले खुशी र उत्साही बनाएको साहको भनाइ छ ।

आफ्नै घर भएको जग्गा पनि आफ्नो भन्न नपाएका भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी कौतूहलतापूर्वक लालपुर्जा पाउने दिनको प्रतिक्षामा छन् ।

“लालपुर्जा पाएको दिन कस्तो होला भन्ने छ ?” बर्दिबास–२ का भूमिहीन श्याम घले भन्नुहुन्छ, “हामी गरिबलाई त त्यो खास पर्वकै दिन हुनेछ ।”

लालपुर्जा पाएपछि त्यो आफ्नो सम्पत्ति हुने र यसका आधारमा स–साना व्यवसाय गर्न ऋण कर्जा पाइने भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको भनाइ छ ।

बर्दिबासका भूमिहीन भन्दछन्-लालपुर्जा पाएको दिन पर्वकै दिन हुनेछ

वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि सचेन रहन आग्रह गर्दै वर्षा र हिमपातका कारण चिसो अझै बढ्ने क्रम रहेकाले त्यसबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

काठमाडौँको आकाशमा बिहानैदेखि बाक्लो तुवाँलो लागेकाले केही चिसो महसुस गरिएको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनअनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानका साथै गण्डकी, बागमती र प्रदेश १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमालीूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आइतबार पनि देशभर सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहने जनाइएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका साथै गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज काठमाडौँको न्यूनकतम तापक्रम चार र अधिकतम तापक्रम १६ डिग्रि सेल्सियस रहेको महाशाखाले जनाएको छ ।

मन्त्री रेणु यादवको अभिव्यक्तिप्रति महामन्त्री शर्माको आपत्ति

काठमाडौँ-काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवको गौर नरसंहार दोहोर्‍याउने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

राज्यको जिम्मेवारी पदमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी जिम्मेवार हुनुपर्ने महाममन्त्री शर्माले बताएका हुन् ।

कोरोना संक्रमणसँगै आइसोलेसनमै रहेका उनले हिंसा भड्काउने अभिव्यक्ति जोसुकैबाट आए पनि स्वीकार्य नहुने बताएका हुन् ।

उनले मन्त्री यादवको विवादित अभिव्यक्तिका बारेमा तीन विकल्प दिएका छन् ।

मन्त्री यादवले भूल स्वीकार गरी क्षमायाचना गर्नुपर्ने, सम्बन्धित दलले पहलकदमी लिएर राजीनामा गराउनुपर्ने, अथवा पदीय मर्यादाविपरीत अभिव्यक्ति दिएको ठहर गर्दै प्रधानमन्त्रीले पदमुक्त गर्नुपर्ने महामन्त्री शर्माको भनाइ छ ।

यातायात व्यवस्था कार्यालयको सेवाहरू स्थगित

यातायात व्यवस्था कार्यालयको सेवाहरू स्थगित

काठमाडौँ-यातायात व्यवस्था कार्यालयले आफ्ना सेवाहरू स्थगित गरेको जानकारी दिएको छ ।

कोरोना महामारीको तेस्रो लहरका कारण कर्मचारीमा कोरोना सङ्क्रमण देखिइसँगै सेवा स्थगित गरिएको हो ।

अर्को सूचना जारी नभएसम्म चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा, पुनः प्रयोगात्मक परीक्षा र नवीकरणबाहेकका सेवा बन्द गरेको कार्यालय प्रवक्ता सुनिता भट्टराईले जानकारी दिएकी छिन्।

स्थगित नगरिएका सेवाहरुकालागी कार्यालयले दैनिक एक सय वटा टोकनको व्यवस्था गर्ने बताईएको छ ।

यातायात व्यवस्था कार्यालयको सेवाहरू स्थगित

तीन सातामा २६८ स्वास्थ्यकर्मी सङ्क्रमित

पछिल्लो समय देशभर कोरोना सङ्क्रमित थपिँदै जाँदा महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित हुने क्रम बढेको छ ।

कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा तीन साताको अवधिमा चिकित्सक, स्टाफ नर्सलगायत २६८ स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि यही माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा सो सङ्ख्यामा स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् ।

प्रदेशको राजधानी सहर पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएको निर्देशनालय मातहतको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार कास्कीमा सबैभन्दा बढी १३८ स्वास्थ्यकर्मी सङ्क्रमित हुनुहुन्छ ।

उहाँले भन्नुभयो, “पछिल्लो कोरोना लहरमा स्वास्थ्यकर्मी पनि तीव्ररुपमा सङ्क्रमित हुने क्रम बढ्दो छ, कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पताल र म्याग्दीको बेनी अस्पतालका स्वास्थ्यकर्मी बढी सङ्क्रमित हुनुभएको छ ।”

स्वास्थ्यकर्मी नै सङ्क्रमित भएपछि स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न केही कठिनाइ भए पनि सेवानै रोकिने अवस्था हालसम्म नरहेको बताइन्छ ।

यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपरासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखा छ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएका छैनन् ।

निर्देशनालयले सङ्क्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र अवस्था सामान्य रहेको जनाएको छ ।

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको महागढीमाई नगरपालिका–६ निवासी ५० वर्षीय पुरुष रहेको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना सङ्क्रमणको तेस्रो लहरमा पर्साको यो नै पहिलो मृत्युको घटना हो ।

सङ्क्रमित पुरुष वीरगञ्जकै एक निजी अस्पतालमा उपचारका लागि पुगेका थिए ।

सङ्क्रमणको लक्षण देखा परेपछि यही माघ ६ गते गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो ।

कोरोना सङ्क्रमण पुष्टि भएपछि निजी अस्पतालले उपचारका लागि सङ्क्रमितलाई नारायणी अस्पतालमा रेफर गरेको थियो ।

मधुमेह, कोभिड र निमोनियासहित अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको र उनले कोरोनाको खोप पनि नलगाएको पाइएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक

खाडी राष्ट्र र मलेसिया भ्रमणमा रोक

काठमाडौँ-सरकारले खाडी राष्ट्र र मलेसिया भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको छ ।

गृह मन्त्रालयले शुक्रवार विज्ञप्ति जारी गर्दै खाडी राष्ट्र र मलेसियामा माघ १० गतेदेखि भिजिट भिसामा भ्रमणमा जान रोक लगाएको हाे ।

गृह मन्त्रालयले कोरोना सङ्क्रमणको तेस्रो लहर ओमिक्रोन विश्वभर फैलिँदै गएको र खाडी र मलेसियामा गएकाहरू बिचल्लीमा पर्ने गरेको गुनासो र समाचार आएपछि भिजिट भिसामा भ्रमणमा जान रोक लगाउने निर्णय गरेको बताएकाे छ ।

अर्को आदेश जारी नहुन्जेलसम्मको लागि माग १० गते देखि भिजिट भिसामा भ्रमणमा जान राेक लाग्ने गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

ब्रूकलिन कलेजमा स्वागत तथा बधाई कार्यक्रम

ब्रूकलिन कलेजमा स्वागत तथा बधाई कार्यक्रम

काठमाडौंकाे सुकेधारास्थित ब्रूकलिन कलेजले स्वागत,बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

माईती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरोबाट सम्मानित अनुराधा कोईरालाको प्रमुख आतिथ्यतामा तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा परीक्षा नियन्त्रक पुष्पराज जोशीको बिशेष आतिथ्यतामा विशाल कार्यक्रम आयोजना गरि ब्रूकलिन कलेजले नयाँ विद्यार्थी लाई स्वागत गर्दै उत्तीर्ण विद्यार्थीहरुलाई बधाई अर्पण गरेको हाे ।

कलेजले कक्षा ११ का नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गर्दै कक्षा १२ उत्तीर्ण तथा ब्याचलर ग्र्याजुयशन गरेका विद्यार्थीहरुलाई बधाई दिइएको थियाे ।

वरिष्ठ सञ्चारकर्मी तथा शिक्षासेवी अशोक पाण्डेद्वारा संचालित उच्चस्तरको कार्यक्रममा कलेजका अध्यक्ष तथा प्राचार्य खिलानाथ सापकोटाले उपस्थित सम्पूर्ण विद्यार्थी लगायत अतिथिहरुलाई मन्तव्यमार्फत स्वागत गरेका थिए ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै अध्यक्ष सापकोटाले कलेजको बृहत्तर प्रगतिमा अहोरात्र खटिने प्राध्यापक लगायत कर्मचारीलाई धन्यवाद दिएका छन् ।

कलेजको बारेमा उनको भनाइ यस्तो थियो “आजको कार्यक्रमको प्रमुख अतिथि अनुराधा कोईरालाद्वारा स्थापित यो कलेजमा जोडिएर अध्यक्ष भइ कलेज संचालन गर्न अत्यन्तै गर्व लागेको छ।”

ब्रूकलिन कलेजको नामाकरणको बिषयमा पनि सापकोटाले प्रष्ट्याएका थिए ।

कार्यक्रम भएको स्थल जमिन नै कलेजले खरिद गरिसकेको र छिट्टै सम्पूर्ण सुविधायुक्त भवन निर्माण गरि कलेज संचालन गरिने पनि उनले बताए ।

कलेजबाट मुनाफा आर्जन गर्ने भन्दा पनि शिक्षामा हरेक नेपालका नागरिकको पहुँच होस् भन्ने अभिप्रायले अनुराधा कोईरालाले स्थापना गरेको कलेजमा सबैले सर्वसुलभ रूपमा शिक्षा आर्जन गर्न सकुन भन्ने लक्ष्य लिईएको सापकोटाले बताए।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई सम्मान लगायतलाई सम्मान गरिएको थियोे भने अनुराधा कोईरालालाई अभिनन्दन गरिएको थियो ।

लोक गायक चन्द्र शर्मा र त्यसै कलेजकी पूर्व विद्यार्थी तथा चर्चित लोक गायिका कल्पना दाहालले लोक भाकामा र झ्याउरे भाकामा गीत प्रस्तुत गरेर मनोरञ्जन गराएका थिए ।

उनीहरुले गीत प्रस्तुत गरिरहँदा वातावरण पूर्ण सांगेतिक भएको थियो । कार्यक्रममा कलेजका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

ब्रूकलिन कलेजमा स्वागत तथा बधाई कार्यक्रम

साताको दुई पटक एन्टिजेन परीक्षण अनिवार्य

साताको दुई पटक एन्टिजेन परीक्षण अनिवार्य

काठमाडौं-सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने सम्पुर्ण कर्मचारीले सातामा दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने बाध्यकारी नियम लागु गरेकाे छ ।

सरकारले लागु गरेकाे उक्त नियमले सरकार तथा निजी दुबै क्षेत्रमा अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीमा लागु हुने जनाएकाे छ ।

सरकारले लागु गरेकाे उक्त नियम काठमाडौं उपत्यकामा लागु हुने भएको हाे ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्को आदेश जारी नभएसम्म लागु हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’ भनिएको छ ।

योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

साताको दुई पटक एन्टिजेन परीक्षण अनिवार्य

वैदेशिक रोजगार कार्यालय सुनसान

वैदेशिक रोजगार कार्यालय सुनसान

काठमाडाैँ-वैदेशिक रोजगारसँग सम्बन्धित सेवा अनलाइनबाट प्रवाह गर्न थालिएसँगै काठमाडौँको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसर सुनसान हुन थालेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि कार्यालयमा जानै पर्ने बाध्यतालाई हटाउँदै सरकारले श्रम स्वीकृति र पुनः श्रम स्वीकृति अनलाइनबाट दिन थालेपछि कार्यालयमा हुने भीड हटेको हो ।

कार्यालयले गत वर्षदेखि नयाँ श्रम स्वीकृति अनलाइनबाट जारी गर्दै आएकामा यही माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाटै दिन थालेको हो ।

पहिलो दिन नै ८५५ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएका थिए ।

हाल दैनिक एक हजारको हाराहारीमा सेवाग्राहीले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालयले जनाएको छ ।

कोरोना सङ्क्रमण जोखिमको बेला अनलाइनबाट श्रम स्वीकृति दिने विषय प्रभावकारी बनेको कार्यालयका निर्देशक हरिराम नागिलाले बताउनुभयो ।

“कुनै बेला निकै भीडभाड हुने कार्यालय अनलाइनबाट सेवा प्रवाह शुरु भएसँगै सुनसान भएको छ”, उहाँले भन्नुभयो ।

यसअघि दैनिक एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवा प्रवाह गर्दा कोरोना सङ्क्रमण बढ्ने, कर्मचारी र सेवाग्राहीबीच अनुचित आर्थिक लेनदेन हुने गुनासो आउने गरेको थियो । त्यस्तै सेवाग्राहीको चाप बढी हुँदा कर्मचारीले रातिसम्म काम गर्नुपर्ने बाध्यता थियो ।

प्रतिदिन एक हजार ५६५ को अन्तिम श्रम स्वीकृति जारी

कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गर्दै आएकोे छ ।

कार्यालयबाट औसत प्रतिदिन एक हजार ५६५ को अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले श्रम स्वीकृतिलाई ‘पेपरलेस’ बनाउन निर्देशन दिएसँगै छिटो, छरितो र पारदर्शी र गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको काम सुरु भएको थियो ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने तथा कहिलेकाहीँ इन्टरनेट वा सर्भरको समस्या हुनसक्ने भएकाले कार्यालयले श्रम स्वीकृतिका लागि तीन दिन अगाडि अनलाइन फाराम भर्न आग्रह गरेको छ ।

सेवाग्राहीले सही विवरण भरेमा सोही दिन नै श्रम स्वीकृति दिन सकिने कार्यालय प्रमुख अर्यालले बताउनुभयो ।

पुनः श्रम स्वीकृतिको लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायक संस्थामार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

म्यादी जीवन बीमाको शुल्क उमेरअनुसार लाग्नेछ ।

कल्याणकारी कोषमा प्रत्येक श्रमिकले रु एक हजार ५०० बुझाउनुपर्छ ।

जीवन बीमा र कल्याणकारी शुल्क ३५ वर्षसम्मका लागि रु पाँच हजार २०८, ३६ देखि ५० वर्षसम्मका लागि रु छ हजार ४३१ र ५१ वर्षदेखि माथिका लागि रु १० हजार ९६३ तिर्नुपर्छ ।

कार्यालयले बीमा र कल्याणकारी शुल्कबाहेक अतिरिक्त रकम नबुझाउन सेवाग्राहीमा अनुरोध गरेको छ ।

वैदेशिक रोजगार कार्यालय सुनसान

सूर्यविनायकका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित

सूर्यविनायकका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित

भक्तपुर-सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस सङ्क्रमण भएपछि सेवा प्रभावित बनेको छ ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखसहितलाई कोरोना सङ्क्रमण भएपछि कार्यालयले नियमितरुपमा दिँदै आएको सेवा प्रभावित भएको हो ।

नगरपालिका कार्यालय मात्रै नभई विभिन्न वडाका वडाध्यक्षसहित कर्मचारीलाई कोरोना भएपछि केही वडा कार्यालयसमेत बन्द भएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद कँडेल, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहितका कर्मचारी, शिक्षा शाखाका सबै कर्मचारी, नक्सा शाखाका सबै कर्मचारी, योजना शाखाका सबै कर्मचारी र नगर प्रहरी नौ जनामा कोरोना सङ्क्रमण भएको नगरपालिकाका पूर्वाधार विकास समितिका संयोजक एवं वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिनुभयो ।

सङ्क्रमित कर्मचारी होम आइसोलेसनमा छन् । कार्यालय खुला नै रहेको नगर प्रमुख वासुदेव थापाले जानकारी दिनुभयो ।

“कोरोना भएपछि कर्मचारी होम आइसोलेसनमा छन्, अत्यावश्यक बाहेक अरु सेवा दिन सकिएको छैन”, उहाँले भन्नुभयो ।

नगरपालिकामा सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको छ ।

सूर्यविनायक नगरपालिका–१ का वडाध्यक्ष सानुकाजी कायस्थसहित कर्मचारीलाई सङ्क्रमण भएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।

कर्मचारीलाई सङ्क्रमण देखिएपछि केही समयका लागि आलोपालो प्रणालीमा सेवा सञ्चालन गर्नेबारे छलफल भएको उहाँले बताउनुभयो ।

मध्यपुरथिमि र चाँगुनारायण नगरपालिकामा पनि अत्यावश्यक बाहेकका सेवा प्रभावित भएका छन् ।

मध्यपुरथिमिका नगर प्रमुख मदनसुन्दर श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्ण मिजारका अनुसार अहिले जिल्लामा एक हजार १०० पुरुष र ९५१ महिला सक्रिय कोरोना सङ्क्रमित छन् ।

सूर्यविनायकका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित

पाटन अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. युवराज शर्मा

पाटन अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. युवराज शर्मा

काठमाडौँ-डा.युवराज शर्मालाई पाटन अस्पतालको निर्देशकको जिम्मेवारी दिईएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. शर्मालाई निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो ।

पाटन अस्पताल डा. रवि शाक्य निर्देशकको रुपमा कार्यरत रहेकामा उनको स्वास्थ्यमा समस्या देखिएको तथा सेवा अवधि सकिन लागेकोले शर्मालाई जिम्मेवारी दिइएको जनाइएको छ ।

डा.युवराज शर्माले पाटन अस्पतालको मेडिकल विभाग प्रमुख तथा कोरोना फोकल पर्सनको जिम्मेवारी पुरा गर्दै आएका थिए ।

प्रतिष्ठानले निर्देशक तोकेको पत्र डा.शर्माले आज बुझेका छन् ।

पाटन अस्पतालको निर्देशकको जिम्मेवारीमा डा. युवराज शर्मा

मोहन वैद्यको सहित तीन दलको दर्ता खारेज

मोहन वैद्यको सहित तीन दलको दर्ता खारेज

काठमाडौं-तीन राजनीतिक दलको दर्ता निर्वाचन आयोगले खारेज गरेको छ ।

निर्वाचन आयोगले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा सहित नेपाल युवा किसान पार्टी र नेपाल शान्ति क्षेत्र परिषदको दर्ता खारेज गरेको हो ।

आयोगका अनुसार यी तीन दलले लेखा परीक्षण प्रतिवेदन आयोगमा बुझाएका थिएनन् ।

प्रतिवेदन नबुझाएपछि गत साउन २० गते सार्वजनिक सूचना गरेर आयोगले ३० दिनभित्र २० हजार रुपैयाँ जरिवाना बुझाउन भनिएपनि नबुझाएपछि ती दलको दर्ता खारेज गरिएको आयोगले जनाएको छ ।

नेपाल युवा किसान पार्टी २०७३ मंसिर ३० गते, ३३ दलीय मोर्चा २०७४ असार २८ गते र नेपाल शान्ति क्षेत्र परिषद २०७४ असार ३० गते आयोगमा दर्ता भएका थिए ।

मोहन वैद्यको सहित तीन दलको दर्ता खारेज