पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

काठमाडौँ-कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

कोरोना सङ्क्रमण तेस्रो लहर बढ्न थालेपछि गत माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो

मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीबारसम्म नित्य पूजामात्र हुँदै आएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।

मन्दिर आजदेखि खुलेपनि विशेष पूजा भने शनिबारदेखि सुरु गरिने उहाँले बताउनुभयो ।

करिब २३ दिनपछि खुलेको पशुपतिनाथ मन्दिरमा दर्शनका लागि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

प्रशासनको आदेश अनुसार ५०-५० जना भक्तजनलाई स्वास्थ्य मापदण्डपालना गरी मन्दिर प्रवेश गराइएको छ ।

महाशिवरात्रि नजिकिएपछि पशुपति क्षेत्रमा भक्तजनको चहलपहल पनि बढ्ने गरेको छ ।

यसवर्ष फागुन १७ गते महाशिवरिात्रि पर्व परेको छ ।

पशुपतिनाथ मन्दिर खुलाभएसँगै भक्तजनका भीड

जनमत एमसीसीको विरुद्धमा छ : समर्थन गर्न सकिँदैन-माधव नेपाल

जनमत एमसीसीको विरुद्धमा छ : समर्थन गर्न सकिँदैन-माधव नेपाल

काठमाडौं-नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले जनमत एमसीसीको विरुद्धमा रहेको बताउनु भएको छ ।

वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले उक्त कुरा बताउनु भएको हो ।

एमसीसीबारे जनतालाई स्पष्ट पार्नुपर्ने चुनौति रहेको नेता नेपालले बताएका हुन् ।

उनले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सत्ता गठबन्धनका नेता नेपालले यथास्थितिमा एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘एमसीसीको बारेमा नेपाली जनता र राजनीतिक दल विभाजित छन् ।

त्यसैले एमसीसीमा क्लयरिफिकेसन चाहिन्छ, कतिपय कुरा मिलाउनुपर्ने छ ।

तर जनमत एमसीसीको विरुद्धमा छ । जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ । यो पनि एउटा ठूलो चुनौति छ ।’

सम्झौता मिति पर सार्दा उत्तम हुने उनको भनाई छ । ‘सम्झौता मिति पर सारे राम्रो हुन्थ्यो, छलफल गर्न समय मिल्थ्यो । गहिरोसँग अध्ययन गर्न पाइन्थ्यो । भए नभएको प्रचार भइरहेको छ ।

कतिपय कुरालाई सुधार गर्न मौका मिल्छ,’ उनले भने, ‘यसको अध्ययन गरिरहेका छौं । अन्तिम निष्कर्षमा पुग्न बाँकी छ ।’

सत्ता गठबन्धनका नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने एमसीसी पारित गराउन दौडधुपमा लागेका छन् ।

जनमत एमसीसीको विरुद्धमा छ : समर्थन गर्न सकिँदैन-माधव नेपाल

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

सर्लाही-यहाँका २० मध्ये ११ स्थानीय निकायको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

जिल्लाका मलङ्गवा, लालबन्दी, हरिपुर्वा, बलरा, गोडैता तथा कविलासी नगरपालिका र चक्रघट्टा, रामनगर, विष्णु तथा बसबरिया गाउँपालिकाले भाडाका भवनबाट सेवा प्रदान गरिरहेका छन् ।

स्थानीय तहको निर्वाचन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि नगरपालिका तथा गाउँपालिकामा भौतिक संरचनाकै अभाव छ ।

जिल्लाका २० स्थानीय तहमध्ये केहीले आफ्नै भवन बनाउन थालेको भए पनि केहीको भौतिक संरचना बनाउन जग्गा अभाव रहेकाे छ ।

भवन निर्माणको विवादलगायतका कारण भाडाका संरचनाबाट कार्यालय सञ्चालन गर्दा सेवा प्रवाहमा समस्या भएको जनप्रतिनिधिले गुनासो गरेका छन् ।

जिल्लाका केही स्थानीय निकायले आफ्नै भवन निर्माण गरेर सेवा सुरु गरिसकेका छन् भने केही स्थानीय निकायका भवन निर्माणाधीन अवस्थामा छन् ।

केही स्थानीय निकाय साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

जिल्लाका ईश्वरपुर, हरिपुर, हरिवन, बरहथवा र बागमती नगरपालिका तथा धनकौल, ब्रम्हपुरी, कौडेना र पर्सा गाउँपालिकाले नयाँ भवन निर्माण गरेर तथा साविकका गाविस भवनबाट सेवा प्रवाह गरिरहेका छन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा सेवा प्रवाहमा कुनै न कुनै रूपमा समस्या भइरहेको छ ।

चक्तघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले जग्गा विवादका कारण निर्माणाधीन भवनको काम रोकिएको बताउनुभयो ।

भौतिक संरचनाको अभावका कारण गुणस्तरीय सेवा प्रवाह गर्न नसकिएको मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहले बताउनुभयो ।

लालबन्दीका नगरप्रमुख मानबहादुर खड्काका अनुसार जिल्लाका केही स्थानीय निकायले पहिलाका गाविसका भवनमा कार्यालय राखेर सेवा प्रवाह गरिरहेका छन् ।

पहिला गाविस हुँदा निर्माण भएका भवन पनि पुराना तथा साना भएका छन् ।

सो कारण सेवा प्रवाहमा निकै समस्या भएको जिल्लाका जनप्रतिनिधिले बताएका छन् ।

स्थानीय निकायका आफ्नै भवन नहुँदा भाडामा सञ्चालन गरिएका कार्यालयका लागि स्थानीय निकायले वर्षेनी लाखौँ रकम भाडामै खर्च गर्नुपरेको जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीले बताउनुभयो ।

मौसम सफा रहने

मौसम सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशका पहाडी भू–भागमा आंशिक बदली रहनाका साथै तराईका केही भू–भागमा हुस्सु–कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ ।

शनिबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार पनि देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम लागेकाले केही न्यानो महसुस गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम छ र अधिकतम तापक्रम १९ डिग्री सेल्सियस रहेको छ ।

मौसम सफा रहने

अझै एघार लाख बालबालिका श्रम गर्न बाध्य

काठमाडौँ-नेपालमा पछिल्लो दशकमा बालश्रमको स्थितिमा सुधार त आएको छ तर अहिले पनि इँटाभट्टा, गलैँचा कारखाना र मनोरञ्जन लगायतका क्षेत्रमा ११ लाख बालबालिका बालश्रम गर्न बाध्य छन् ।

राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्याङ्क विभाग र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संयुक्त प्रतिवेदन, २०२१ का अनुसार पाँचदेखि १७ वर्ष उमेर समूहका कूल ७० लाख बालबालिकामध्ये ११ लाख अर्थात् १५ दशमलव तीन प्रतिशत बालबालिका बालश्रमिक छन् । सन् २००८ मा १६ लाख बालबालिका बालश्रमिक रहेका थिए ।

राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बालश्रमिक घट्नुमा सरकारले ल्याएका उचित नीति र बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थालगायत सचेत नेपालीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

कार्यकारी निर्देशक धरेलले बालश्रम निर्मूल पार्न निरन्तर साझा प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव गुरूदत्त सुवेदीले बालश्रम अन्त्यका लागि हरेक क्षेत्र, समाज, परिवारले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो ।

सरकारले बालबालिकाको सवाललाई अझ महत्वका साथ कार्यान्वयन गर्न, गराउन साविक केन्द्रीय बाल कल्याण समितिको अधिकार र कार्यक्षमतालाई थप विस्तार र व्यवस्थित गर्दै राष्ट्रिय बाल अधिकार परिषद्, प्रदेश बाल अधिकार समिति, स्थानीय बाल अधिकार समिति, बाल कल्याण अधिकारी तथा प्रोवेशन अधिकारीको कानुनी व्यवस्था गरेको छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ मा ती प्रबन्ध गरिएका छन् ।

हाल प्राथमिक तहको खुद भर्नादर ६४ प्रतिशतबाट बढेर ९७.१ प्रतिशत पुगेको छ ।

आधारभूत तथा माध्यमिक शिक्षामा छात्रछात्राको अनुपात क्रमशः ०.४३ बाट बढेर ०.९८ र ०.४३ बाट बढेर १.०१ पुगेको छ ।

यसैगरी नवजात शिशु, शिशु तथा बाल मृत्युदरमा उल्लेख्य सुधार भई क्रमशः प्रतिहजारमा ५० बाट १६ मा, १०८ बाट २५ मा, १६२ बाट २८ मा झरेको छ ।

नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७७

परिषद्ले प्रकाशन गरेको ‘नेपालमा बालबालिकाको स्थिति प्रतिवेदन २०७७’ ले सबै बालबालिकाको गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सहज पहुँच नहुनु, मनोरञ्जन, बाल सहभागिता, बालमैत्री वातावरणको कमीमा विकास र संरक्षण हुन नसक्नु, अझै पनि बालश्रम, सडक बालबालिका, बालविवाह, हिंसा, शोषण, यौन दुव्र्यवहार, बलात्कार, हत्या, अनधिकृत ओसारपसारको अवस्था विद्यमान रहनु समस्या रहेको जनाएको छ ।

यस्तै असहाय, अनाथ तथा अपाङ्गता भएका बालबालिकाको संरक्षण तथा उचित व्यवस्थापन हुन नसक्नु, कानुनको विवादजस्ता समस्याको प्रभावकारीरूपमा सम्बोधन हुन नसक्नु तथा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको सरल, सहज र तत्काल व्यवस्थापन गर्न नसक्नुजस्ता समस्या विद्यमान रहेको परिषद्को प्रतिवेदनमा जनाइएको छ ।

नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ (सन् २०१७/१८) अनुसार १७ वर्षमुनिका दुई लाख ८६ हजार बालबालिका आर्थिकलाभको कार्यमा संलग्न भएको देखिएको छ ।

नेपाल सरकारले सडक बालबालिका संरक्षण तथा व्यवस्थापन मार्गदर्शन, २०७२ जारी गरी काठमाडौँ उपत्यकामा ‘बालबालिका सडकमा बस्नु पर्दैन, सडकमा बस्न हुँदैन’ भन्ने उद्घोषका साथ सञ्चालन गरिएको कार्यक्रमले सफलता पाएको थियो ।

त्यही सफलतामा टेकेर सरकारले आर्थिक वर्ष २०७७/७८ भित्र सडक बालबालिकामुक्त राष्ट्र बनाउने उद्देश्य लिएको छ ।

परिषद्ले आव २०७६/७७ मा जम्मा ५७४ सडक बालबालिकाको (बालक ४६५ र बालिका १०९) उद्धार गरी संरक्षण तथा पारिवारिक पुनःमिलन र पुनःस्थापनाको व्यवस्थापन गरेको छ ।

कार्यकारी निर्देशकले धरेलले अनाथ, असहाय, असक्त, बाबुआमाविहीन, जोखिममा रहेका, सडक बालबालिका एवं आधारभूत अधिकारबाट बञ्चित बालबालिकाको उचित संरक्षण र व्यवस्थापन गरी उनीहरूको भविष्य सुनिश्चित गर्नु टड्कारो चुनौती रहेको बताउनुभयो ।

कोभिड–१९ को महामारीबाट बालबालिकाको शिक्षा, स्वास्थ्य तथा संरक्षणमा परेका बहुआयामिक समस्याको उचित सम्बोधन गर्नुपर्ने जिम्मेवारी पनि राज्यलाई बढेको स्थितिमा परिषद्ले मनोसामाजिक परामर्शलगायतका कार्यक्रम सञ्चालन भइरहेको छ ।

०४ मार्फत बालबालिबा खोजतलास केन्द्र

परिषद्ले निःशुल्क टेलिफोन नम्बर १०४ मार्फत बालबालिबा खोजतलास केन्द्र पनि सञ्चालन गर्दै आएको छ ।

मनोपरामर्शका लागि १०९८ मार्फत सेवा दिइरहेको छ ।

स्वतन्त्रता नेपाल अभियानका कार्यकारी सचिव रितु भट्ट (राई)ले बालबालिका बालश्रममा जानबाट रोक्नका लागि बालबालिका आश्रित परिवार सबल हुुनुपर्ने बताउनुभयो ।

अभियानले विश्व शिक्षालगायतका संस्थासँगको सहकार्यमा बालश्रमका विषयमा वकालत गर्दै आएको छ ।

विश्व शिक्षाका राष्ट्रिय निर्देशक हेलेन शेर्पाले कोरोना महामारीका कारण पनि अभिभावक गुमाएका तथा घरको अर्थावस्था कमजोर भएका बालबालिका श्रममा धकेलिने स्थिति देखिएको औँल्याउनुभयो ।

नेपालले संयुक्त राष्ट्रसङ्घको महासभाबाट १९८९ को नोभेम्वर २० मा पारित बाल अधिकारसम्बन्धी महासन्धिलाई अनुमोदन गरेको तीन दशक पूरा भइसकेको छ ।

उक्त महासन्धिलाई नेपालले २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो ।

मन्त्रालयमा कार्यरत ८ जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा

मन्त्रालयमा कार्यरत ८ जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा

काठमाडौँ-मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयमा कार्यरत ८ जना विशिष्ट श्रेणीका सचिवहरूको सरुवा गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले मन्त्रालयमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा रहेका मधुसूदन बुर्लाकोटीलाई सार्वजनिक खरिद अनुगमन कार्यालय पुर्‍याइएको छ भने सार्वजनिक खरिदकी देव कुमारी गुरागाईँलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ९जनसंख्या० मा खटाइएको छ ।

सरकारले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय९प्रविधि०सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेको छ भने खानेपानीकी प्रमीला देवी बज्राचार्यलाई शिक्षा, विज्ञान प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

यसैगरी बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गणेश पाण्डेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य सचिवमा सरुवा भएको छ भने वाणिज्य सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ ।

भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद थपलियालाई पठाइएको छ ।

केही दिनअघि मात्रै प्रधानमन्त्री कार्यालय पुगेकी यमकुमारी खतिवडाको स्वास्थ्य मन्त्रालयमा गरिएको काज फिर्ता गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमै राखिएको छ ।

प्रधानसेनापति र रक्षा सचिव खलङ्गा–तिंकर सडकको निरीक्षणमा

प्रधानसेनापति र रक्षा सचिव खलङ्गा–तिंकर सडकको निरीक्षणमा

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गर्नुभएको छ ।

सुदूरपश्चिमको भ्रमणमा आउनुभएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गर्नुभएको हो ।

उहाँले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

सरकारले गत वर्ष सदरकुकाम खलङ्गा–तिंकर सडकखण्डको आधा काम नेपाली सेनामार्फत गराउने निर्णय गरेको थियो ।

सोहीअनुसार सेनाको विकास दलले व्यास–२ कोठेधारदेखि दुम्लीङसम्मका विभिन्न खण्डमा सडक निर्माणको काम थालनी गरेको छ ।

विसं २०६५/६६ देखि निर्माण सुरु गरिएको यो सडकखण्ड कञ्चनपुरको ब्रह्देवदेखि दार्चुलाको तिंकरसम्म पुग्ने सामरिक महत्वको सडक हो ।

यसअघि नेपाली सेनाले साढे चार मिटर बढी घोरेटो बाटोसमेत यस क्षेत्रमा काटेको छ ।

धनगढीबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत यहाँ आउनुभएका शर्मासँगै रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा पनि हुनुहुन्छ ।

दार्चुलामा रहेको गुरुगोरख गुल्मले महाकाली नगरपालिका–५ खेटबोकेमा थालेको तीन महिने नेपाली सेनाको तालिमको समापन लगत्तै प्रधानसेनापति शर्मा तिंकर सडकको निरीक्षणमा जानुभएको हो ।

प्रधानसेनापति र रक्षा सचिव खलङ्गा–तिंकर सडकको निरीक्षणमा

अकबरेकाे कमाल: करेन्ट चाउचाउकाे चार अर्ब रूपैयाँको कारोबार

अकबरेकाे कमाल: करेन्ट चाउचाउकाे चार अर्ब रूपैयाँको कारोबार

काठमाडौँ-नेपालमा दैनिक ४ लाख प्याकेट चाउचाउको खपत हुने गरेको छ ।

हिसाबनै गर्ने हो भने प्रति मिनेट ३ हजार चाउचाउका प्याकेट नेपालका मानिसले खाने गरेका छन् ।

प्याकेट खोलेर भुजियाको रुपमा, सुप बनाएर, फ्राई गरेर साधेर अथवा हिजोआज त लाफिङ्गमा हालेर समेत चाउचाउ खाने गरिन्छ ।

सुन्दा अच्चम लाग्न सक्छ प्रतिब्यक्ती आयको आधारमा बिश्वमा चाउचाउ खपत गर्ने देसमा नेपाल दक्षिण कोरिया पछी दोस्रो नम्बरमा पर्दछ ।

नेपालमा चाउचाउ उत्पादनको ईतिहास केलाउने हो भने नेपालमा सर्वप्रथम १९८० मा गण्डकी नुडल्स पोखराले पहिलोपटक रारा चाउचाउ बजारमा ल्याएको हो ।

दोस्रो बिश्वयुद्ध ताका बेलायत सैनिकमा गएका नेपालीले मात्र पाएको स्वाद रारा चाउचाउ मार्फत आम नेपालीको जिब्रोमा पुग्यो ।

नेपालका एकमात्र डलर अर्वपती विनोद चौधरीको उद्योगमा प्रवेश वाई वाई चाउचाउको उत्पादन मार्फतनै भएको हो ।

नेपालमा त्यसपछीको होडबाजीमा थुप्रै चाउचाउ उद्योग खुले र बन्द भए । पछि खुलेका निकै कम चाउचाउ उद्योग स्थापित रुपमा आफ्नो उत्पादन तथा कारोवार गर्दै आईरहेका छन् ।

करिव ५ बर्ष अगाडी स्थापना भएको ’यशोदा फुड्स प्राइभेट लिमिटेड’ ले चाउचाउको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल भएको छ ।

लाली ब्रान्डको चाउचाउ उत्पादन गरेर काम सुरु गरेको यशोदा फुड्सले अहिले कोरियन हट एण्ड स्पाईसी चाउलाई टक्कर दिन सक्ने करेन्ट चाउचाउ लन्च गरेसँगै नेपालमा बिक्री हुदै आएका कोरियन चाउचाउ बिस्थापित भएका छन् ।

यशोदा फुड्सका निर्देशक ऋषिराम भण्डारीका अनुसार उनीहरू आफैं बजार विस्तारका लागि विभिन्न स्थान पुग्थे ।

आफ्ना उत्पादनबारे उपभोक्ताको प्रतिक्रिया बुझ्थे। करिब दुई वर्षअघि बजार अध्ययन क्रममा किशोर र युवा उमेरका उपभोक्ताले महँगै भए पनि पिरो कोरियन चाउचाउ मन पराउने गरेको उनीहरूले थाहा पाए ।

कोरियन चाउचाउ बजारबाट बिस्थापित

त्यसै अनुरुप उनीहरुले कोरिएन स्टाइलको तर मात्र ५० रूपैयाँ पर्ने करेन्ट हट एन्ड स्पाइसी बजारमा उतारे जस्ले निकै राम्रो ब्यापार गर्यो ।

करेन्ट हट एन्ड स्पाइसी बजारमा आएसँगै नेपालमा बिक्री हुदै आएका कोरियन चाउचाउ बिस्तारै बिस्तारै गर्दै बजारबाट बिस्थापित भएका छन् ।

करेन्टको पिरो चाउचाउ आएपछि साढे दुई सय रूपैयाँसम्म तिरेर कोरियन चाउचाउ खानेले सस्तोमा त्यो भन्दा राम्रो गुणस्तरको चाउचाउ खान पाएको कम्पनीले दावी गरेको छ ।

करेन्टले कोरियन चाउचाउको आयात कम भएको मात्र होईन अहिले करेन्ट चाउचाउ कोरियामा समेत निर्यातहुन थालेको कम्पनीले बताएको छ ।

उद्योग आफैंले चाउचाउ कोरिया नपठाएको तर विक्रेताहरूले पठाएका कम्पनीेले बताएको छ ।

कम्पनीेले करेन्ट हट एन्ड स्पाइसी भारतको असम, सिलोङ, सिलगुडी, गुवाहाटी लगायत सहरमा धेरै निर्यात भइरहेको जानकारी दिएको छ ।

अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडा, मलेसिया, भुटान, जापान, नेदरल्यान्डस् लगायत देशमा निर्यात भइरहेको कम्पनीले जनाएको छ ।

यशोदा फुड्सले महँगो कोरिएन हट एन्ड स्पाइसी चाउचाउ विस्थापन गरिदिएको कम्पनीको दावी रहेको छ ।

पिरो चाउचाउको माग बढे पनि अरू स्वादको बजारमा असर नपरेको कम्पनीले बताएको छ ।

पिरो चाउचाउ किन्नेमा १५ देखि २५ वर्ष उमेर समूहका धेरै रहेको तथा नयाँ उपभोक्ता थपिएको कम्पनीले बताएको छ ।

उद्योगका अनुसार अहिले मासिक तीन लाख कार्टुन करेन्ट चाउचाउ उत्पादन हुन्छ । प्याकेट हिसाबले दैनिक २ लाख ।

चाउचाउका लागि दैनिक ६० टन मैदा खपत हुन्छ भने हट एन्ड स्पाइसीमा दैनिक चार सय किलो नेपाली डल्ले खुर्सानी प्रयोग हुन्छ ।

अन्य उत्पादनमा भने साधारण खुर्सानी प्रयोग हुन्छ । अकबरे र सामान्य गरी वार्षिक पाँच लाख किलो खुर्सानी प्रयोग भइरहेको छ

चाउचाउ बनाउन प्रयोग हुने ९० प्रतिशतभन्दा बढी कच्चा पदार्थ अर्ग्यानिक रूपमा नेपालमै उत्पादन हुने गरेको कम्पनीको भनाइ छ ।

करेन्टको उत्पादन र बजारसँगै अकबरेको बजार पनि उकासियाे

करेन्टको उत्पादन र बजारसँगै अकबरेको बजार पनि उकासिएको छ ।

पहिले ६०–७० रूपैयाँ किलोमा नबिकेको अकबरे उद्योगले १२ सय रूपैयाँ किलोसम्म किनेको कम्पनीले जानकारी दिएको छ ।

अहिले उद्योगले पहाडी जिल्ला पाल्पा, गुल्मी र अर्घाखाँचीबाट खुर्सानी ल्याइरहेको छ ।

नपुग अकबरे स्याङ्जा, भोजपुर, इलाम, मकवानपुर, काभ्रे लगायतबाट पनि मगाउने गरेको कम्पनीले जनाएको छ ।

खपत बढेपछि पहाडका पाखाबारीमा अहिले अकबरे खेती हुन थालेको छ ।

खेती गर्न चाहने किसानलाई उद्योगले मल र बिउ व्यवस्था उद्योगले नै गरिदिने गरेको कम्पनीले बताएको छ ।

लगानी गर्न नसक्ने कतिपयलाई सहयोग पनि गर्दै आएको छ ।

दैनिक २४ घन्टा सञ्चालन हुने उद्योगमा साढे चार सयभन्दा बढी मानिस काम गर्छन् ।

कम्पनीका अनुसार उत्पादन थपिँदै जाँदा उद्योगको कारोबार पनि बढ्दै गएको छ ।

गत वर्ष चार अर्ब रूपैयाँको कारोबार गर्ने लक्ष्य राखेको कम्पनीले त्योभन्दा बढी काराेबार गरेको कम्पनीले जनाएको छ ।

यशोदा फुड्सले पिरो चाउचाउ करेन्टका कारण चार वर्षमै वार्षिक कारोबार चार अर्ब पुर्‍याउन उद्योग सफल भएको बताएको छ ।

अकबरेकाे कमाल: करेन्ट चाउचाउकाे चार अर्ब रूपैयाँको कारोबार

३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागी सिफारिसमा

३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागी सिफारिसमा

काठमाडौँ-बढुवा सिफारिस समितिले तीस जना शाखा अधिकृतहरूलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरेको छ ।

राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि बढुवा सिफारिस समितिको सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बुधवार बसेको बैठकलेती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।

नेपाल प्रशासन सेवा,सामान्य प्रशासन समूहका अधिकृतहरूलाई कार्यक्षमताको आधारमा हुने बढुवाका लागि सिफारिस गरिएको हो ।

३० जना शाखा अधिकृत उपसचिव बढुवाका लागी सिफारिसमा

त्रिविले फागुन १ बाट पठनपाठन सहित रोकिएका परीक्षा पनि लिने

त्रिविले फागुन १ बाट पठनपाठन सहित रोकिएका परीक्षा पनि लिने

काठमाडौँ-आगामी फागुन १ गतेदेखि त्रिभुवन विश्वविद्यालयले आफ्ना सम्पुर्ण क्रियाकलाप भौतिक उपस्थितिमै सुचारु गर्ने निर्णय गरेको छ ।

त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण कार्य सुचारु गर्ने निर्णय गरेको हो ।

त्रिवि कार्यकारी परिषद्ले स्थानीय निकायसँगको समन्वयमा मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादनको व्यवस्थाका गर्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण जोखिमका कारण त्रिविले गत माघ ९ विभिन्न तहका परीक्षा स्थगित गरेको थियो ।

गत मंगलबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले १ फागुनदेखि पठनपाठन र रोकिएका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

त्रिविले फागुन १ बाट पठनपाठन सहित रोकिएका परीक्षा पनि लिने

हुम्लाबाट ल्याइएकी ‘स्तुति’को भोलि तुलसालयमा हुँदैछ न्वारान

काठमाडौँ-नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले यही माघ १६ गते आफ्नो फेसबुक स्टाटसमा लेख्नुभयो, “हुम्लामा एउटी आमाको छैटौँ छोरीलाई जन्म दिएको पाँच घन्टामा मृत्यु भएको छ ।

सरु सुवेदीजीको तुलसालयले ती छ छोरीमध्ये सबैभन्दा कान्छी तीन छोरीलाई उद्धार गरी लालनपालन गर्ने तयारी गरेको छ ।”

उहाँको स्टाटसमा धेरैको प्रतिक्रिया आएको छ ।

मृतक सुत्केरी आमाप्रति श्रद्धाञ्जलिका शब्द त छँदैछन्, त्यसबाहेक ती १४ दिनकी छोरीलाई सहयोगका सामान्य प्रतिबद्धता पनि त्यहाँ आएका छन् ।

त्योभन्दा पनि यस्तो कार्यका लागि अघि सर्ने तुलसादेवी हरिहर फाउन्डेसन सञ्चालन गरिरहेकी सरु सुवेदीलाई धेरैले धन्यवाद दिएका छन् ।

गणेश पोखरेलले लेख्नुभएको छ, “तुलसालय र सरु सुवेदीका यस्ता महान् कार्यका लागि जति प्रशंसा गरे पनि कम नै हुन्छ”, शान्ता नराल लेख्नुहुन्छ, “सरु बहिनीसँग हाम्रो कुरा भएको थियो, त्यति सानो बच्चा ल्याउन कसरी सम्भव होला भन्ने लागेको थियो । आखिर उहाँले आँट्नु नै भयो, सबैको आमा भनेकै अर्थ यही हो ।”

हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले पुस २९ गते छैटौँ सन्तान छोरी जन्माइन् ।

तर छोरीको मुख पनि राम्रोसँग हेर्न नपाई प्रशव पीडामै आमाको निधन भयो । धर्तीमा ओर्लिएको केही बेरमै आमाले आफूलाई छाडेपछि नवजात शिशुको त बिचल्ली हुने नै भयो ।

अब बिचल्लीका दिन उनका दिदीका पनि सुरु भए । बाबु गोरख छत्याल गरिब परिवारका र त्यसमा पनि दमका बिरामी ।

अब त झन् श्रीमती नै नरहेपछि त्यो नवजात शिशुसहित ६ छोरी कसरी पाल्नु ? त्यसपछि उनका आफन्त र दाजुभाइले नै खोज्नथाले ती बच्चा पाल्ने दाता ।

गोरखका आफन्त बताउने कमल छत्यालले सरु सुवेदीलाई फोनमा ती शिशुबारे जानकारी गराउनुभयो ।

उनी १४ दिनकी मात्र थिइन् । पछि स्थानीय तीर्थ रोकाया र जयराज छत्यालले पनि भनेपछि ती शिशु र उनका ५ र ७ वर्षका दुई दिदीलाई तुलसालयमा ल्याउने निधो सरुले गर्नुभयो ।

“बच्चीको अवस्था सुन्दा जतिसक्यो चाँडै काठमाडौँ ल्याउन मन लागिसक्यो तर दुई हप्ता मात्रकी उनीसहित तीन जना बच्चालाई हुम्लाबाट जहाजमा नेपालगञ्ज हुँदै कसरी यहाँ ल्याउने भनेर मनमा तनाव सुरु भयो । अनि खर्चको समस्या फेरि छँदैछ ।

त्यसपछि ती छोरीहरुलाई यहाँसम्म ल्याउन सहयोगको याचना गरेर फेसबुकमा लेखेँ ।

केही रकम सहयोग आयो र बाँकी आफैँले जुटाएर नेपालगञ्जबाट जहाजमा राखेर काठमाडौँ ल्याएँ”, सरु भन्नुहुन्छ ।

अहिले सरुको ललितपुर नख्खुडोलस्थित तुलसालयमा ती शिशु र उनका ५ र ७ वर्षका दुई दिदी छन् ।

२१ दिनकी बच्चीलाई आफैँले काखमा राखेर ल्याएकी सरु उनको हेरचाहमा आफैँ खट्नुभएको छ ।

अल्पायुमै निधन भएकी आफ्नी आमा तुलसादेवीको स्मृतिमा सरुले सो तुलसालय आश्रम स्थापना गर्नुभएको हो ।

अहिले त्यस आश्रममा यस्तै अनाथ र गरिब परिवारका १८ जना बालबालिका छन् । यहाँ २९ दिनकी ती शिशुदेखि ७२ वर्ष उमेरका ३० जना छन् ।

उहाँले तुलसालय हरिहर फाउन्डेशन स्थापना गरी अनुदान र सहयोगका भरमा ती ३० जनाको लालनपालन गरिरहनुभएको छ ।

आफ्ना जन्मदिन, वैवाहिक वर्षगाँठदेखि अन्य अवसरमा यहाँ मानिस गएर ती अनाथलाई भोजन गराउनेदेखि आर्थिक सहयोग गर्ने गर्दछन् ।

संयोग पनि कस्तो प¥यो भने उहाँकी छोरी हृया २४ वर्ष पुगेकै दिन ती २१ दिनकी शिशु तुलसालय प्रवेश गरेकी छिन् ।

“मलाई त २४ वर्षपछि मेरो अर्काे सन्तान हुम्लामा जन्मिइजस्तो लागेको छ, मेरा लागि यो साक्षात् भगवान् नै हो”, सरु भन्नुहुन्छ ।

जन्मिएदेखि रोइरहेकी उनी सरुको काखमा आएपछि शान्त भइन् ।

सरु भन्नहुन्छ, “कस्तो अचम्म भने नेपालगञ्ज विमानस्थलमा उ मेरो काखमा आएर यसो मेरो मुखमा के हेरेकी थिइ, चुप लागिहाली ।

एकछिन मुखमा टलटल्ती हेरी अनि रोइन् । मलाई त लाग्यो उसले बल्ल आमा पाई । त्यसैले म पनि उसलाई मेरी कान्छी छोरी भनेकी छु ।”

उनको न्वारन भएको छैन । भोलि शुक्रबार ३० दिनका दिन उनको न्वारनको तयारी गर्दै हुनुहुन्छ सरु ।

नख्खुडोलमा साँघुरो भएर भक्तपुरको चाँगुनारायणमा हालै आश्रम सारिएको छ ।

सरुले भन्नुभयो, “भोलि छोरी ३० दिनकी पुग्छे, उसको न्वारन गर्ने र आश्रमको घर सरेको पूजा पनि लगाउने तयारीमा छु” बिहीबार बिहान सरुले सुनाउनुभयो ।

काठमाडौँ ल्याउनका लागि गराइएको जन्मदर्तामा प्रकृति नाम राखिएको रहेछ । तर सरुले उनको नाम स्तुति राख्ने सोच्नुभएको छ । स्तुति नाम किन रोज्नुभयो ?

सरु भन्नुहुन्छ, “तुलसालयको यो कान्छो सन्तानमार्फत् म नेपाली आमाहरुले यसरी छोराकै लागि छ-छ छोरी जन्माउनुपर्ने अवस्था अब नआओस् र कुनै बाबुआमाले पनि यसरी आफ्नो सन्तान पाल्न नसक्ने अवस्था नरहोस् भनेर मैले भगवानलाई स्तुति गरेको छु । त्यसैले उसको नाम स्तुति राख्ने विचार छ ।”

यसपालि धेरै हिमपात भएका समाचार आएका थिए ।

माघ २० गते कर्णाली र मध्यपश्चिमका कैयौँ भागमा भारी हिमपात थियो, कतै विमान नउड्ने, कतै सञ्चार सम्पर्कमै समस्या ।

सरु भन्नुहुन्छ, “नेपालगञ्ज पुगेर बसेँ तर उता हुम्लादेखि त्यहाँ पुग्न कस्तो समस्या । चिसो उस्तै ।

मलाई यस्तो चिसोमा हुम्लादेखि त्यो बच्ची कसरी ल्याइदेलान् र मैले काठमाडौँ पु¥याउँला भन्ने त्रास थियो ।

बच्ची हातमा समातेपछि काठमाडौँबाट लगेका न्यानो कपडाहरु लगाइदिएँ । डाइपर त लगाइदिएका तर कति दिनदेखि दिसा सफा नगरेको । सबै सफा गरेँ ।

मेरो हातमा आएपछि त उ केही क्षण रुन पनि छोडी, अनि केही सहज भयो । काठमाडौँ ल्याएर अहिले उसैको स्याहारमा छु ।

एकछिन काख छोड्यो भने रुन थाल्छे, समात्नै पर्छ । हुनतः आश्रममा १८ छोराछोरी छन् तर उसैको माया बढी लाग्छ । अनि अरु सबैले पनि बहिनी भनेर माया गर्न थालेका छन् ।”

हुम्लादेखि काठमाडौँसम्मको यात्राका लागि सरुलाई केही सहयोग प्राप्त भएको छ ।

हुनतः आश्रममा उहाँका १८ छोराछोरी छन् तर ती तीन दिदीबहिनीको लालनपालनमा उहाँलाई सहयोग आवश्यक छ ।

“इल्या भट्टराई दिदी, दाजु अशेष मल्ल र भाउजु अनि अमेरिकाबाट सरला दिदीले सहयोग र आँट दिनुभएको छ ।

बच्चीलाई वर्षदिनको दूध व्यवस्था भएको छ । भगवानले तँ आँट म पुर्‍याउँछु भन्छन् रे, हेर्दै जाउँ ।

यी लालाबालको भविष्यका लागि सबैको सहयोगबाट म लागि नै रहनेछु”, सरु भन्नुहुन्छ ।

‘‘बाहिर समस्या जेजति भए पनि आश्रमका १८ सन्तानले आमा भनेर बोलाउँदा निकै खुसी लाग्छ, अनि सबै पिरपर्का नै बिर्सन्छु’’, सरु सुनाउनुहुन्छ ।

श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्ति: श्रम कार्यालय सुनसान

श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्ति: श्रम कार्यालय सुनसान

काठमाडौँ-ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय हिजोआज सुनसान भएको छ ।

पहिले त्याहाको भिडभाड देखेका मानिसहरु अजकाल त्यता पुगे भने त्याहाको सुनसान बातावरण देख्दा अच्चममा पर्ने गर्दछन् ।

सोल्टीमोड भित्र रहेको वैदेशिक रोजगार कार्यालय मालपोत तथा यातायातको कार्यालय भन्दा बढी भिडभाड हुने कार्यलय थियो ।

सरकारको कागजमुक्त प्रशासन सेवा नीतिका कारण यो सम्भब भएको हो ।

पहिले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने युवाहरुको विहान ४ बजे देखी भिड लाग्ने गरेको उक्त कार्यलय आजभोली सुनसान भएको हो ।

अहिले संस्थागत श्रम स्विकृतीका लागी म्यानपावरका प्रतिनिधी तथा केही महिला मात्र श्रमस्विकृतीका लागी कार्यलय जाने गरेका छन् ।

सबैकाम अनलाईन मार्फत हुने भएपछी त्याहा कार्यरत ब्यस्त कर्मचारी अहिले फुर्सदिला भएका छन् ।

उनीहरुको कामको तनाब साथै अतिरिक्त आम्दानी समेत घटेको छ ।

विगतमा पाइला पाइलामा भेटिने विचौलियाहरु अहिले उक्त कार्यालयबाट पलाएन भएका छन् ।

युवाहरु बिचैलियाबाट ठगिनुपर्ने बाध्यताबाट मुक्त

साथै श्रमस्विकृति लिन आउने युवाहरु बिचैलियाबाट ठगिनुपर्ने बाध्यताबाट मुक्त भएका छन् ।

उनिहरुले घरमै रहेर अनलाईन मार्फत श्रमस्विकृती प्राप्त गर्ने वातवरण श्रृजना भएको छ ।

वस्तविक रुपमा भन्नुपर्दा श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्तिनै भएको छ ।

एक महिना अघिसम्म श्रम स्वीकृति लिनेको भिड बिहान ४ बजे नै कार्यालयको गेटमा हुन्थ्योे ।

भीड व्यवस्थापन गर्न प्रहरीको ठूलो टोली नै त्यता परिचालन गराउनुपर्ने बाध्यता थियो ।

श्रम स्वीकृति लिन आउनेलाई लक्षित गरी धेरै साना ठूला व्यवसाय त्यसक्षेत्रमा फस्टाएका थिए ।

कार्यालय अगाडि म्यादी बीमा गर्ने, अनलाइन फारम भरिदिने लगायतका बिचैलियाको रजगज थियो ।

वैदेशिक रोजगार कार्यालयले अनलाइन मार्फत श्रमस्विकृती जारी गर्न थालेसँगै युवाहरुले श्रम स्विकृतीकालागी भोग्ने गरेको हैरानीबाट मुक्त भएका छन् ।

श्रम स्विकृतीका लागी युवाहरु गाउबाट २-३ दिन अगाडीनै काठमाडौ आउनुपर्ने बाध्यता समेत हटेको छ ।

कार्यालयले गत वर्षदेखि नयाँ श्रम स्वीकृति अनलाइनबाट जारी गर्दै आएकामा यही माघ २ गतेदेखि पुनः श्रम स्वीकृति पनि अनलाइनबाटै दिन थालेको हो ।

पुनः श्रम स्वीकृति अनलाइनबाटै दिन थालेको पहिलो दिन नै ८५५ जनाले अनलाइनबाट पुनः श्रम स्वीकृति लिएको कार्यलयले जनाएको छ ।

हाल दैनिक एक हजार भन्दा धेरैले अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति लिएको कार्यालयकी निर्देशक मुक्ता बास्कोटाले जानकारी दिइन ।

यसअघि दैनिक एक हजार बढी सेवाग्राहीको भौतिक उपस्थितिमा सेवा प्रवाह गर्दा कोरोना संक्रमण बढ्ने, कर्मचारी र सेवाग्राहीबीच अनुचित आर्थिक लेनदेन हुने गुनासो आउने गरेको थियो ।

त्यस्तै सेवाग्राहीको चाप बढी हुँदा कर्मचारीले रातिसम्म काम गर्नुपर्ने बाध्यता थियो ।

कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिँदै आएको छ ।

कार्यालयबाट औसत प्रतिदिन एक हजार ५६५ को अन्तिम श्रम स्वीकृति जारी हुने गरेको छ ।

अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कार्यालयले श्रम स्वीकृतिका लागि तीन दिन अगाडि अनलाइन फाराम भर्न आग्रह गरेको छ ।

श्रम स्वीकृति लिन कार्यालयमा जानैपर्ने बाध्यता छैन

अहिले श्रम स्वीकृति लिन कार्यालयमा जानैपर्ने बाध्यता भने छैन ।

संस्थागत रुपमा भने म्यानपावरका प्रतिनिधिहरु जाने गरेका छन् ।

कार्यलयले महिलाहरुका हकमा भने कार्यालयले स्वयं व्यक्ति नै उपस्थित हुनुपर्ने नियम बनाएको छ ।

सोझा सिधालाई महिलालाइ ललाई फकाइ विदेशमा बेचिने गरेको घटना सार्वजनिक भएसँगै कार्यलयले कडाइ गरेको हो ।

कतिपय सानो दुधे बच्चा समेत छाडेर विदेश जान खोज्ने हुन्छन् । उमेर नपुगेका तथा सानो बच्चा भएकाहरुलाई भने विभागले श्रम स्वीकृति दिँदैन ।

यसकारण पनि महिलाहरुलाई कार्यालयमै बोलाउनु पर्ने उनी बताउँछिन् । विदेशमा काम गर्ने श्रम स्वीकृति लिन बीमा अनिवार्य गरिएको छ ।

यसअघि बीमा गर्नका लागि कार्यालय अगाडि राखिएका बीमा कम्पनीहरुका सम्पर्क व्यक्तिसँग बीमा गराउने गरिएको थियो ।

यो पनि अब अनलाइन वा आफ्नो नजिकको बीमा कम्पनीमा गएर गर्न सकिनेछ । म्यादी जीवन बीमाको शुल्क उमेरअनुसार लाग्नेछ ।

कल्याणकारी कोषमा प्रत्येक श्रमिकले एक हजार ५०० रुपैयाँ बुझाउनुपर्छ ।

जीवन बीमा र कल्याणकारी शुल्क ३५ वर्षसम्मका लागि पाँच हजार २०८, ३६ देखि ५० वर्षसम्मका लागि ६ हजार ४३१ र ५१ वर्षदेखि माथिका लागि १० हजार ९६३ रुपैयाँ तिर्नुपर्छ ।

कार्यालयले बीमा र कल्याणकारी शुल्कबाहेक अतिरिक्त रकम नबुझाउन सेवाग्राहीमा अनुरोध गरेको छ ।

यसबाहेक केही व्यक्तिगत श्रम स्वीकृति लिनका लागि पनि कार्यालय पुग्ने गरेका छन् ।

निर्देशक बास्कोटाका अनुसार धेरै हतार भएकाहरु दैनिक ३० जना हाराहारीमा कार्यालय पुग्छन् ।

अनलाइनबाट स्वीकृति पाउनका लागि तीन दिन समय लाग्छ ।

भेरिफाइ हुन समय लाग्ने भएकाले तत्कालै उडिहाल्ने टिकट भएकाहरु कार्यालय आउने गरेको कार्यलयले जानकारी दिएको छ ।

श्रमस्विकृतीको क्षेत्रमा प्राविधिक क्रान्ति: श्रम कार्यालय सुनसान

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

राष्ट्रिय परीक्षा बोर्डमा कार्यरत कर्मचारीका संस्थागत र पेशागत माग पूरा गराउन आन्दोलन गर्दै आएको राष्ट्रिय परीक्षा बोर्ड कमर्चारी सङ्घसँग व्यवस्थापनले वार्ता सुरु गरेको छ ।

गत साउन २५ मा सदस्य सचिव दुर्गा अर्यालसमक्ष पेश गरेको मागका सम्बन्धमा बोर्डको नेतृत्वले चासो नदिएपछि कर्मचारी आन्दोलित भएकामा आजदेखि वार्ता सुरु भएको सङ्घका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

सङ्घले माग पूरा गराउन यही माघ २६ गते १२ बजेसम्मको अल्टिमेटम बोर्ड नेतृत्वलाई दिएको थियो ।

त्यो समयसम्ममा पनि माग पूरा नभएपछि कर्मचारी आन्दोलित भएका हुन् ।

सङ्घका कर्मचारीले बुधबारदेखि बोर्डको कार्यालयभित्रै धर्ना सुरू गरेका थिए ।

परीक्षा बोर्ड र आन्दोलित कर्मचारीबीच वार्ता

बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ

बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गर्नुभएको छ ।

“हामीलाई चिनियाँ उक्ति जस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ”, उहाँले भन्नुभयो, “हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुप¥यो, कर्मचारी जो भए पनि हुन्छ ।”

उहाँले कर्मचारीलाई अनावश्यक र अनुचित काम गर्न दबाब नदिन पनि मन्त्रीलाई निर्देशन गर्नुभयो ।

मुख्यमन्त्री राईले योजना कार्यान्वयन क्रममा मन्त्रीलाई असहयोग नगर्न सचिवलाई आग्रह गर्नुभएको छ ।

“यो वा त्यो कानूनको बाहना गरेर मन्त्रीलाई अलमलाउनु भएन”, उहाँले भन्नुभयो, “टार्ने, पन्छिने र पन्छाउने कामले संशय पैदा गर्छ, जे कुरा हो सचिवले पनि मन्त्रीलाई खुला र पारदर्शी ढङ्गले भन्नुपर्‍यो ।”

उहाँले ऐन, कानूनका कारण गाँठो परेका विषय फुकाउन सरकार तत्पर रहेको उल्लेख गर्नुभयो ।

जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने

“अब जहाँ समस्या पर्छ त्यहाँ कानून बनाउँदै जाने हो”, मुख्यमन्त्री राईले भन्नुभयो ।

समीक्षा कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मन्त्रालय विस्तारपछि जनस्तरबाट आलोचना भएको अवस्थामा अब कार्यसम्पदानबाटै जवाफ दिनुपर्ने बताउनुभयो ।

“मन्त्रालय र मन्त्री बढाएर खर्च बढाए भन्ने आरोप छ, अब राम्रो कार्यसम्पादन गरेर परिणाममुखी कामबाटै जवाफ दिनुपर्दछ”, उहाँले भन्नुभयो ।

उहाँले कामको प्रकृति र जिम्मेवारीअनुसार मन्त्रालयको बजेट फरकफरक हुनु स्वाभाविक भएको उल्लेख गर्दै प्राप्त बजेट सञ्चालन र खर्च गर्नमा दक्षता वृद्धि हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उद्योग, श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङ्गामले कर्मचारीलाई स्थीर सरकारको सङ्ज्ञा दिँदै जाडोमा तराई गर्मीमा पहाड बस्न खोज्ने प्रवृत्तिको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सरकारको मुख्य राजस्वको स्रोतलाई वृद्धि गर्न यातायात व्यवस्था कार्यालयको काम कारवाहीलाई थप व्यवस्थित गरिने बताउनुभयो ।

प्रमुख सचिव डा रामप्रसाद घिमिरेले सरकारको कार्यक्रम र भावनाअनुरुप काम गर्नका लागि आवश्यक तादम्यता मिलाउन सचिवलाई निर्देशन दिनुभयो ।

बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ

वैशाख ९ गतेदेखि एसइई परीक्षा हुने: तालिका सार्वजनिक

भक्तपुर-यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गते बिहान ८ बजेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले यस वर्षको एसइई परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर २० गते सम्पन्न गर्ने निर्णय गरेसँगै बोर्डले आज तालिका सार्वजनिक गरेको छ ।

बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो ।

बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षाको पहिलो दिन शुक्रबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

सोही दिन वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुनेछ ।

वैशाख ११ गते आइतबार अनिवार्य गणित, १२ गते सोमबार अनिवार्य नेपाली र गैर नेपाली विद्यार्थीका लागि अङ्ग्रेजीको परीक्षा हुनेछ ।

वैशाख १३ गते आइतबार अनिवार्य विज्ञान र वेदविद्याश्रम अनिवार्य संस्कृत व्याकरण र अनुवादको परीक्षा हुने भएको छ ।

वैशाख १४ गते अनिवार्य सामाजिक अध्ययन तथा प्राविधिकतर्फ फार्म म्यानेजमेन्ट, माकेर्टिङ, इञ्जिनीयरिङ, ड्रइङ, कम्प्युटर परपियरिङ र मेन्टिनेन्स तथा बेसिक म्युजिकको परीक्षा हुने भएको छ ।

यसैगरी वैशाख १५ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, वेदविद्याश्रमतर्फ वेद वा नीतिशास्त्र, प्राविधिकतर्फ ऐच्छिक प्रथमका सबै विषयको परीक्षा हुनेछ भने प्राविधिकतर्फ एग्रिकल्चर, इलेक्ट्रिकल म्यानेजमेन्ट, कम्प्युटर नेटवर्किङ, इञ्जिनीयरिङ सर्भेइङको परीक्षा हुनेछ ।

त्यस्तै वैशाख १६ गते साधारण तथा संस्कृततर्फका ऐच्छिक प्रथमका सबै विषय, संस्कृततर्फ अनिवार्य संस्कृत शिक्षा, वेदविद्याश्रमतर्फ ऐच्छिक विषय र प्राविधिकतर्फ ऐच्छिक गणितको परीक्षा हुनेछ भने वैशाख १७ गते शनिवार साधारण तथा संस्कृततर्फ ऐच्छिक द्वितीयका विषय, वेदविद्याश्रम तर्फ कर्मकाण्ड वा फलित ज्योतिष, प्राविधिकतर्फ भेजिटेबल एण्ड मेडिसिनल प्लाण्ट प्रोडक्सन, डेरी, इलेक्ट्रिकल इनर्जी, डाटावेस म्यानेजमेन्ट सिष्टम, म्युजिक टेक्नोलोजीको परीक्षा हुनेछ ।

वैशाख १८ गते प्राविधिक विषयतर्फ क्रप प्रोडक्सन, स्मल रुमेन्ट प्रोडक्सन एण्ड म्यानेजमेन्ट, इलोक्ट्रिोनिक्स डिभाइस एण्ड सर्किट, वाटर रिसोर्सेस र इञ्जिनीयरिङको परीक्षा हुनेछ ।

वैशाख १९ गते प्राविधिक विषयतर्फ नै एनिमल हेल्थ, इलेक्ट्रिकल मेसिन, माइक्रो प्रोसेस, हाइवे इञ्जिनियरिङ, म्युजिक विजनेश एण्ड प्रोग्राम म्यानेजमेन्टको परीक्षा हुनेछ ।

अन्तिम दिन वैशाख २० गते प्राविधिकतर्फ नै फ्लोरिकल्चर एण्ड नर्सरी म्यानेजमेन्ट, भेटेरनरी ल्याव्रोटरी टेक्निक, इन्ड्रष्ट्रियल इन्स्टलेसन एण्ड मेन्टिनेन्स, अब्जेक्ट खोरेण्टेड प्रोग्रामिङ, इष्टिमेटिङ कस्टिङ एण्ड सुपरभिजन र ऐच्छिक विषयमा गायन, सङ्गीत, वाद्यबादन र नृत्यको परीक्षा हुने भएको छ ।

बोर्डले आउँदो स्थानीय तहको निर्वाचनलाई समेत ध्यानमा राखेर परीक्षाको मिति निर्धारण गरेको उहाँले जानकारी दिनुभयो ।

यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ ।

परीक्षाको तालिका भने बोर्डले भोलि बिहान सार्वजनिक गर्ने भएको छ ।

कोरोना भाइरस सङ्क्रमणका कारण विगत दुई वर्ष एसइईको आन्तरिक मूल्याङ्कन गरेको र त्यसअघिका एसइई परीक्षा चैत महिनामा हुँदै आएकामा यस वर्ष भने कोरोना महामारीका कारण पढाइको कक्षा प्रभावित भएकाले पढाइलाई पूर्णता दिनका लागि बोर्डले नियमित समयभन्दा एक महिना ढिलोगरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।