प्रधानमन्त्रीसँग अन्तराष्ट्रिय रेडक्रसका महासचिवको भेट

काठमाडाैँ-प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहनुभएका रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईँले भेटवार्ता गर्नुभएको छ ।

भेटमा उहाँहरुबीच मानवीय सेवा र रेडक्रस कानुनका विषयमा कुराकानी भएको बताइएको छ ।

यसैगरी सभामुख अग्निप्रसाद सापकोटा र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीसँग पनि महासचिव चापागाईँले अलग–अलग भेटवार्ता गर्नुभएको थियो ।

ती भेटवार्तामा आफूले नेपालमा रेडक्रस कानुन बनाउन आग्रह गरेको महाचिव चापागाईँले जानकारी दिनुभयो ।

परराष्ट्रमन्त्री डा नारायण खड्कासँग महासचिव चापागाईँले बुधबार भेटवार्ता गर्नुभएको थियो ।

आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वाेच्च परोपकारी संस्था आइएफआरसीका प्रथम नेपाली महासचिव चापागाईँ मङ्गलबार साँझ यहाँ आइपुग्नुभएको हो ।

नेपाल भ्रमणका क्रममा उहाँले यहाँस्थित आइएफआरसी र नेपाल रेडक्रसका गतिविधिका बारेमा जानकारी लिने क्रम जारी राख्नुभएको छ ।

उहाँले भन्नुभयो, “नेपाल रेडक्रसमा देखिएका समस्या मिलेर समाधान खोज्नुपर्छ ।

अगामी दिनमा रेडक्रलाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्न रेडक्रस कानुन जारी गर्नु आवश्यक छ ।

यसका लागि नेपाल सरकारलाई आइएफआरसीले आवश्यक सहयोग पुर्‍याउँछ ।”

विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील ५२ वर्षीय उहाँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

सो जिम्मेवारी सम्हालेपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको बताइएको छ ।

विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् ।

आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उहाँलाई बहुमतद्वारा सो पदमा निर्वाचित गरेको थियो ।

बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् ।

आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी पछिल्ला दिनमा कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्क्तिमा जुटिरहेका छन् ।

आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण तथा पीडितलाई महामारीका बीचमा पनि सहयोग निरन्तर जारी राखेको छ ।

महासचिव चापागाईँले मानवीय सेवाका क्षेत्रमा पुर्‍याउनुभएको काम तथा नेतृत्वले आइएफआरसीका सदस्य देशमा प्रशंसा कमाएको छ ।

नेपाल रेडक्रसका अनुसार आइएफआरसीले कोभिड–१९ को सुरुआती चरणमा कोभिड उपचारका लागि स्वास्थ्य संस्थामा उपकरण तथा स्वास्थ्यकर्मीका क्षमता अभिवृद्धि, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पिपिई, मास्क, स्यानिटाइजर सहयोग गरेको थियो भने पछिल्लो चरणमा अक्सिजन कन्सन्टे«टर, अक्सिमिटर, थर्मलगन, शव व्यवस्थापनका लागि झोलालगायतका सामग्री तथा खोपका लागि समन्वयसमेत गरेको छ ।

घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

बारा-बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव नायब सुब्बा घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

अख्तियारको टोलीले बाराको कोल्हवी नगरपालिका, वडा नं. ११ रामपूर्वाका वडासचिव ना.सु. विनोदप्रसाद साहलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरेको हो।

उनले जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग ३ हजार ५ सय घुस लिएको बताइएको छ।

उनलाई आयोगको हेटौंडा कार्यालयबाट खटिएका टोलीले उनको कार्यालयबाट नियन्त्रणमा लिएको थियो ।

यसबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

घुस लिएको आरोपमा नायब सुब्बा पक्राउ

सिके राउतका कार्यकर्ताद्वारा तेल ट्यांकर तोडफोड

सिराह-जनमत पार्टीले आयोजना गरेको राजमार्ग बन्द कार्यक्रम हिंसात्मक बन्दै गएको छ ।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले किसानका बिभिन्न माग उठाउदै लामो समय देखी बिभिन्न बिरोध कार्यक्रम गर्दै आएको छ ।

यिनै पुर्व निर्धारित कार्यक्रमका बिच आज आयोजना गरिएको राजमार्ग बन्द कार्यक्रममा जनमत पार्टीका कार्यकर्ताले तेल ट्यांकर तोडफोड गरेका छन् ।

बिहीबार मिर्चैयाबाट विराटनगर जाँदै गरेको ना४ख१७९८ नम्बरको ट्यांकर नरहा गाउँपालिकामा जनमत पार्टीका कार्यकर्ताले तोडफोड गरेको हो ।

प्रहरीको अनुसार सडक अवरुद्ध पारी आन्दोलन गरिरहेका जनमत पार्टीका कार्यकर्ताले ढुंगामुढा गर्दा ट्याकंरको अगाडिको सिसा फुटेको छ ।

प्रदर्शनकारीको ढुंगा प्रहारबाट जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी हवल्दार सामान्य घाइते भएका छन् भने ढुंगामुढा गर्ने १३ जना पक्राउ परेका छन् ।

जनमत पार्टीले किसान आन्दोलनको नाममा गरेको आन्दोलनले सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा लामो दुरीको यातायात ठप्प छ ।

प्रहरीले स्कर्टिङ गर्दै मालबाहक सवारीसाधन सहितका गाडीहरु सञ्चालनमा ल्याएका छन् ।

सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास

सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास

नारायण न्यौपाने, काठमाडौँ-संसदीय समितिले सुरक्षित मुद्रणका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश जानबाट रोक्न सुरक्षित मुद्रणसँग सम्बन्धित कानुन छिटो समृद्ध बनाउन भगिरथ प्रयास गरिरहेको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पछिल्ला दिनमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विज्ञसहितको सहभागितामा निरन्तर दफावार छलफल गरिरहेको छ ।

समिति सभापति परशुराम मेघी गुरुङले स्वदेशमै सुक्षित मुद्रणसँग सम्वन्धित काम गर्न सकियोस् भन्ने उद्देश्यले कानुन निर्माणलाई प्राथमिकता दिएर समितिमा भइरहेको छलफल अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बैक नोट, राहदानी, राष्ट्रिय परिचयपत्र, हुलाक टिकट, सवारी चालक अनुमतिपत्र(लाइसेन्स)लगायतका नाममा वार्षिक रु १० अर्बभन्दा बढी रकम विदेश गइरहेको छ, अब यो काम नेपालमै गरौँ भनेर सरकारले ल्याएको सुरक्षित मुद्रण सम्बन्धित कानुनलाई समृद्ध तुल्याउन निरन्तर छलफल भइरहेको छ ।”

सुरक्षित मुद्रण सम्बन्धी कानुन र उपकरणको अभावमा हालसम्म ती कागजात नेपालमा मुद्रण(प्रिन्ट) हुन सकेको छैन ।

ती काजगात छपाइका लागि विदेश गइरहेको रकम नेपालजस्तो मुलुकका लागि ठुलो परिमाण हो ।

उक्त रकम विदेश जानबाट रोक्न मुलुकमै सुरक्षित मुद्रणको व्यवस्था गर्नुपर्छ भनी कानून निर्माण शुरु गरिएको हो ।

यसअघि विकास सम्बन्धी ऐनमा टेकेर मुद्रणको काम हुँदै आएको छ ।

राष्ट्रियसभामा उत्पति भएकोे उक्त विधेयकमाथिको छलफल अन्तिम चरणमा पुगेकाले केही दिनमै प्रतिवेदन तयार हुने जानकारी दिइएको छ ।

सरकारले जति पनि सुरक्षण मुद्रण सम्बन्धी काम गर्छ ती सबै यही कानुनकै आधारमै गर्न सकियोस् अरुको नक्कल नहोस् भन्ने उद्देश्य राखेर ऐन ल्याउन लागिएको सभापति गुरुङले बताउनुभयो ।

सरकारले सुरक्षण मुद्रणका लागि काभ्रेको बनेपामा दुई मेसिन राखेर काम गर्न खोजेको छ ।

सुरक्षण मुद्रणका लागि कानुनलगायतका भौतिकपूर्वाधार दुई वर्षभित्रै सम्पन्न गरी तीन वर्षमा पूर्णरूपमा सञ्चालनमा ल्याउने सरकारले अठोट गरेको छ ।

समितिले विधेयकमाथिको पहिलो चरणको छलफल केही दिनमै पुरा हुने जानकारी दिएको छ ।

सङघीय संसद्: खर्च र जनशक्ति बढी

सुरक्षण मुद्रण राज्यका लागि निकै महत्वपूर्ण र प्राथमिकताको विषय भएकाले छलफल सकिए लगतै चालु हिउँदे अधिवेशनमै सदनमा टेबल गर्नुपर्नेमा सदनको बैठक भने प्रमुख प्रतिपक्षको अवरोधका कारण प्रभावित हुँदै आएको छ ।

नेपालमा विधायकी कार्यका लागि सङ्घीय संसद(प्रतिनिधिसभा र राष्ट्रियसभा)मा मात्रै पनि सभामुख र अध्यक्षसहित ३३४ सांसद् हुनुहुन्छ भने करिब सोही सङ्ख्याका संसद् सचिवालयमा कर्मचारी कार्यरत छन् ।

पछिल्लो समय प्रमुख राजनीतिक दलबीच विभिन्न एजेण्डमा मतभिन्नता रहेका कारण सिङगो संसद्का काम प्रभावित हुँदै आएकामा कोभिड–१९ को सङ्क्रमण जोखिमले पनि थप बल पुर्‍याएको छ ।

सभापति गुरुङ भन्नुहुन्छ, “यो सबै जनशक्ति ऐन बनाउनका लागि हो, व्यवस्थापन गर्न सचिव छ, खर्च ठूलो छ, सङघीय संसद्बाट समयमै कानुन बनाउन नसकेका कारण प्रदेशसमेत प्रभावित हुँदै आएको छ, सरकार र राजनीतिक दलले यो पक्षलाई हेक्का राखेर कानुन बनाउने कार्यलाई निरन्तर बनाउनुपर्छ ।”

सुरक्षण मुद्रणसहित महत्वपूर्ण १० वटा विधेयक समितिले छलफल गरेर टुङ्ग्याए पनि सदनमा पेश हुन सकेका छैनन् ।

मुलुक र जनताका आवश्यकतालाई सम्बोधन गर्न नयाँ कानुन निर्माण गर्ने तथा बनेका पुराना कानुनको परीक्षण(अडिट) गर्न पर्ने जिम्मवारीलाई आफनो मुख्य कर्तव्य सोचेर काम गर्न र वातावरण बनाउन उहाँले सरकार र सबै राजनीतिक दललाई सुझावसमेत दिनुभएको छ ।

सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई समृद्ध तुल्याउन भगिरथ प्रयास

मधेस प्रदेशमा खोप लगाउने बढ्दै: कोरोना ग्राफ घट्दै

मधेस प्रदेशमा खोप लगाउने बढ्दै: कोरोना ग्राफ घट्दै

जनकपुर-कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ ।

यही माघको दोस्रो सातासम्म दैनिक २०० को हाराहारीमा सङ्क्रमित थपिँदै गएको थियाे।

विगत केही दिनदेखि त्यो सङ्ख्या ५० को हाराहारीमा झरेको मधेस प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पछिल्लो समय यस प्रदेशमा सङ्क्रमितको सङ्ख्याभन्दा निको भइ घर फर्किनेको संख्या बढ्दै गएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो दुई दिनका अवधिमा प्रदेशभरि ९७ नयाँ सङ्क्रमित थपिँदा १३२ निको भएर घर फर्किएका छन् ।

बुधबार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ सङ्क्रमित थपिँदा ४४ र मङ्गलवार ५४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बुधबार धनुषा र सर्लाहीमा १५–१५, महोत्तरी र सप्तरीमा चार–चार, रौतहट र बारामा दुई–दुई नयाँ सङ्क्रमित थपिएका छन् ।

साथै मङ्गलवार धनुषामा १६, सिरहामा १४, महोत्तरी र पर्सामा छ–छ , सप्तरीमा पाँच, बारा र रौतहटमा दुई–दुई तथा सर्लाहीमा एक नयाँ सङ्क्रमित थपिएका छन् ।

थपिएका सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु सबै होमआइसोलेशनमा रहेको जनाइएको छ ।

महामारी सुरु भएपछि प्रदेशमा सङ्क्रमणबाट हालसम्म ४१ हजार १२२ सङ्क्रमित हुँदा उपचारपश्चात ३८ हजार २६३ ‘डिस्चार्ज’ भएका छन् ।

साथै एक हजार ५५ जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।

निर्देशनालयका अनुसार सङ्क्रमणका कारण हालसम्म बारामा १८१, सप्तरीमा १६१, सिरहामा १३५, धनुषामा १३२, पर्सामा १३२,

त्यस्तै रौतहटमा १२९, सर्लाहीमा ९३ र महोत्तरीमा ९१ जनाको मृत्यु भइसकेको छ ।

सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू

सुरुमा सङ्क्रमण तीव्रगतिमा फैलिए पनि खोप लगाउने दर बढेसँगै सङ्क्रमणदर घट्दै गएको चिकित्सकहरूले बताएका छन् ।

वर्तमान सरकारले सार्वजनिक सेवाका लागि अनिवार्य खोप कार्ड लागू गरेपछि करिब तीन साताका अवधिमा प्रदेशका जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने दर करिब १७ प्रतिशतले बढेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सार्वजनिक सेवाका लागि खोप कार्ड अनिवार्य, बढ्दै गएको सङ्क्रमणको ग्राफ, खोपसम्बन्धी निरन्तरको प्रचारप्रसार र स्थानीय जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको सक्रियताका कारण पछिल्लो समय प्रदेशमा खोप लगाउने दर बढेको निर्देशक झाले बताउनुभयो ।

गत पुससम्म दुई डोज खोप लगाउने १८ वर्षमाथि उमेर समूहको सङ्ख्या ३८ प्रतिशत मात्र रहेकामा पछिल्लो तीन साताको अवधिमा त्यो सङङ्ख्या बढेर करिब ५५ प्रतिशत पुगेको उहाँको भनाइ छ ।

उहाँका अनुसार पूर्ण डोज खोप लगाउनेको सङ्ख्या सर्लाहीमा ६७ , धनुषामा ६०, बारामा ५८, पर्सामा ५७, सप्तरीमा ५२, सिरहामा ५१, रौतहटमा ४५ र महोत्तरीमा ४३ प्रतिशत पुगेको छ ।

यस्तै १८ वर्षभन्दा माथि उमेर समूहका एक मात्र डोज खोप लगाउनेको सङ्ख्या भने प्रदेशमा करिब ६६ प्रतिशत छ ।

ती मध्ये सर्लाहीमा ७५, बारामा ७०, पर्सामा ६५, सिरहामा ६३, महोत्तरीमा ६९, धनुषामा ६४, सप्तरीमा ६१ र रौतहटमा ४५ प्रतिशत छन् ।

उमेरका हिसाबले १८ वर्षभन्दा माथि उमेर समूहको भन्दा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाको खोप लगाउने सङ्ख्या बढी छ ।

निर्देशक झाका अनुसार प्रदेशमा ती उमेर समूहका करिब ६७ प्रतिशतले खोप लगाइसकेका छन् ।

खोपको प्रभावकारिता

“खोप लगाउने दर कम हुँदा सङ्क्रमण फैलिने दर बढेको थियो”, राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा दिलीप साहले भन्नुभयो ।

तर पछिल्लो केही सातादेखि खोप लगाउने दर बढ्दै गएसँगै सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ, यसलाई सकारात्मकरूपमा लिन सकिन्छ ।”

अहिलेसम्म धेरैमा त्यस्तो जटिल नदेखिनुमा पनि खोपको प्रभावकारिता हो, उहाँको भनाइ थियो ।

तर स्वास्थ्य मापदण्ड पालना नगरेमा सङ्क्रमण अझै फैलिने सक्ने भएकाले सचेत हुनुपर्ने डा झाको सुझाव छ ।

सीमावर्ती क्षेत्रमा हेल्थडेस्क स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै आएकाले पनि कोरोनाको ग्राफ घटेको स्थानीयवासीको बुझाइ छ ।

“विगतभन्दा यसपालि समयमै बोर्डरमा हेल्थ डेस्क स्थापना गरी चाँच सुरु गर्‍याै”, महोत्तरी जलेश्वरका सुशीलकुमार कर्णले भन्नुभयो, “

सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट दैनिक एन्टिजेन परीक्षण गर्ने गरेका छन् ।”

जाँचका क्रममा सङ्क्रमित पाइएका नेपालीलाई होमआइसोलेशनमा र भारतीयलाई भारततर्फ फर्काउने गरेकाले पनि सङ्क्रमणदर घटेको हुनसक्ने उहाँको भनाइ थियो ।

पर्साको वीरगञ्ज, रौतहटको गौर, महोत्तरीको जलेश्वर भिट्टामोड र सिरहाको माडरमा ‘हेल्थ डेस्क’स्थापना गरी एन्टिजेन विधिबाट कोरोना जाँच गर्दै गरिँदै आइएको छ ।

वीरगञ्ज भन्सारमा रहेको हेल्थडेस्कमा बुधवार २८० को जाँच गर्दा छमा, रौतहटको गौर नाकामा १२ को जाँच गर्दा आठमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मधेस प्रदेशमा खोप लगाउने बढ्दै: कोरोना ग्राफ घट्दै

लोक सेवाकाे स्थगित परीक्षाको तालिका सार्वजनिक

लोक सेवाकाे स्थगित परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ-लोक सेवा आयोगले विभिन्न पदको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

कोरोनाका कारण स्थगित परीक्षाको तालिका आयोगले सार्वजनिक गरेको हाे ।

आयोगको बुधवार बसेको बैठकले उपसचिव वा सो सरह(प्राविधिक/अप्राविधिक), शाखा अधिकृत वा सो सरह(प्राविधिक) र स्वास्थ्य सेवा तर्फ नवौँ, आठौँ र सातौँ तहका विभिन्न पदका लिखित परीक्षाहरूको तालिका प्रकाशन गरेको हो ।

लोक सेवाकाे स्थगित परीक्षाको तालिका सार्वजनिक

पाँचथरमा लेक लागेर युवकको मृत्यु

पाँचथरमा लेक लागेर युवकको मृत्यु

चौंरी गोठ जाँदा लेक लागेर पाँचथरमा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको फालेलुङ गाउँपालिका– ५ को टुनीबोटेका ३१ वर्षीय विशाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

बुधबार राति साढे १२ बजेतिर विशालसहित उनका भाइ विक्रम सोही गाउँपालिकाको आहालेस्थिति चौंरी गोठ गएका थिए ।

हिउँ परेपछि घर फर्किने क्रममा धुपीडाँडा भन्ने क्षेत्रमा आइपुग्दा विशाललाई लेक लागेपछि हातखुट्टा नचलेको र बिहीबार बिहान ३ बजेतिर प्रहरी चोकी प्राङ्बुङबाट प्रहरी टोली पुग्दा उनी मृत अवस्थामा फेला परेको पाँचथर प्रहरी प्रवक्ता डम्बर विश्वकर्माले जानकारी दिए ।

घटनास्थललाई प्राङ्बुङ प्रहरीले सुरक्षित गरेको छ ।

प्रवक्ता विश्वकर्माले जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको बताए ।

गृहमन्त्रीद्वारा प्रजिअसँग जानकारी

गृहमन्त्री बालकृष्ण खाँणले विभिन्न जिल्लाका शान्तिसुरक्षाको अवस्थालगायतका विषयमा प्रमुख जिल्ला अधिकारीहरुसँग जानकारी लिनुभएको छ ।

उहाँले आज बिहान १४ जिल्लाका प्रजिअसँग टेलिफोनमार्फत जानकारी लिनुभएको हो ।

गृहमन्त्री खाँणले १३ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन वार्ता गरी जानकारी लिनुभएको हो ।

फोनवार्तामा गृहमन्त्री खाँणले जिल्लामा कोभिड–१९ सङ्क्रमण, जिल्लाको शान्ति सुरक्षा, जिल्लाबाट जनताले पाएका सेवा सुविधा, कर्मचारीको विवरणबारे जानकारी लिनुका साथै कर्मचारी पठाउनु पर्ने या नपर्ने तथा जिल्ला सुरक्षा समितिको बैठक नियमित बसेको छ कि छैन भनेर सोधपुच गर्नुभएको थियो ।

उहाँले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव (सुनसरी), काशीराज दाहाल (मोरङ), छविलाल रिजाल (झापा), कृष्णबहादुर कट्वाल (बारा), ध्रमेन्द्र मिश्र (नवलपरासी पश्चिम), ऋषिराम तिवारी (रुपन्देही) सँग टेलिफोन वार्ता गर्नुभएको थियो ।

त्यसैगरी चक्रपाणी पाण्डे (कपिलवस्तु), किरण थापा (कैलाली), सूर्यबहादुर खत्री (बाँके), सन्तबहादुर सुनार (बर्दिया), हिरालाल रेग्मी (दाङ), उमेशकुमार ढकाल (पर्सा) र रामप्रसाद पाण्डे (कञ्चनपुर) तथा नवलपरासी पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालसँग कुराकानी गर्नुभएको थियो ।

कञ्चनपुरका प्रजिअ पाण्डेले गृहमन्त्रीको टेलिफोनले आफूलाई मातहतका निकायसँगको सम्बन्ध र तथ्याङ्कबारे जतिबेला पनि जानकारी राख्न सजक गराएको बताउनुभयो ।

पर्साका प्रजिअ ढकालले गृहमन्त्री आफैले फोन गर्दा काम गर्ने हौसला मिलेको उल्लेख गर्नुभयो ।

आजदेखि सुकुम्बासीको जग्गा नापिने

भरतपुर-जिल्लाका तीन पालिकामा आजदेखि सुकुम्बासीको जग्गा नापिने भएको छ ।

राष्ट्रिय भूमि आयोगले जग्गा नापिको काम सुरु गर्न लागेको हो ।

आयोगले जग्गा नाप्नु पूर्व तीन पालिका भरतपुर महानगरपालिका, कालिका र माडी नगरपालिकाका अमिन तथा सर्वेक्षकलाई बुधबार प्रशिक्षण दिएको थियो ।

आयोगका जिल्ला अध्यक्ष बद्रि तिमिल्सीनाका अनुसार भरतपुरका छ वडा, कालिका र माडीका ३÷३ वडाबाट काम सुरु गर्न लागिएको हो ।

सुरुवाती गरेका वडा सकिएसँगै अन्य वडाको काम थालिने छ ।

भरतपुरमा ३५ दिन, कालिका नगरपालिकामा २० दिन र माडी नगरपालिकामा १५ दिनमा काम सम्पन्न गरि सम्बन्धित पालिकामा लगत बुझाउने गरि योजना बनाइएको छ ।

पालिकाले जिल्लास्थित राष्ट्रिय भूमि आयोगमा सो लगत पठाउने छ ।

तिमिल्सीनाका अनुसार नापजाँचका लागि २७ अमिन र नौ सर्वेक्षकलाई प्रशिक्षण दिइएको छ ।

नेटवर्किङ व्यवसायमा संलग्न पक्राउ

घोराही-दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो ।

ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार रु १७ हजार ठगी गरेको भन्दै उजुरी परेपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको हो ।

तीनै जना होटेल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ ।

उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

मिडियामा आएका समाचारमा कुनै सत्यता छैन्: अध्यक्ष नेपाल

मिडियामा आएका समाचारमा कुनै सत्यता छैन्: अध्यक्ष नेपाल

काठमाडौँ-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनबारे मिडियामा आएका समाचारमा कुनै सत्यता नरहेको दाबी गरेका छन् ।

अनेरास्ववियूद्वारा आयोजित रक्तदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले अहिले मिडियामा आएका कुरालाई लिएर दिमाग खराब गर्न जरुरी नरहेको बताएका हुन् ।

सत्तारुढ गठबन्धन टुटाउने एमालेको षड्यन्त्र सफल नहुने समेत उनले दाबी गरेका छन् ।

अध्यक्ष नेपालले भने,’भर्खरै प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डसँग मेरो छलफल भएको छ । मिडियामा आएका विषय मनगढन्ते भएकोले गठबन्धनलाई मजबुत बनाउने कुरा भएको छ’, ।

उनले गठबन्धन तोड्न कसैले प्रस्ताव गरेको भए पनि सफल नहुने बताए । ‘जेठमा स्थानीय चुनाव हुँदै छ । गठबन्धन एक ढिक्का भएर जानेछ । कसैले गठबन्धन तोड्नुस् भनेका होलान् तर तिनले चाहँदैमा गठबन्धन टुट्दैन’, उनले भने ।

राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनको जितको क्रम सुरु भएको बताए । ‘देश अब गठबन्धनको राजनीतिमा गइसक्यो । अब सबै चुनावमा गठबन्धन गरेर अगाडि बढ्छौँ’, उनले भने ।

मिडियामा आएका समाचारमा कुनै सत्यता छैन्: अध्यक्ष नेपाल

मधेसी आयोग प्रतिवेदन हस्तान्तरण

प्रदेश नं १ का प्रदेशप्रमुख परशुराम खापुङलाई मधेसी आयोगले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ ।

प्रदेशप्रमुख खापुङलाई आयोगका सदस्य रेणुदेवी साहले नेपालको संविधानको धारा, २९४ एवं मधेसी आयोग ऐन २०७४ को दफा २२ बमोजिम आव २०७७÷७८ मा सम्पादन गरेको कामसँग सम्बन्धित तेस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा प्रदेशप्रमुख खापुङले मधेसको समस्या मधेसको मात्र नभएर सबैको साझा समस्या भएकाले देश, सरकार, समाजले एकजुट भएर समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले आयोगले आफ्नो दायित्व जिम्मवारीपूर्वक निभाएकामा प्रशंसा व्यक्त गर्दै यस क्षेत्रको समस्यामा समाधानका लागि सम्पूर्ण राष्ट्र एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेशप्रमुख कार्यालयका सचिव तुलसी राम सेढाईंले संविधानको मर्मअनुसार आयोगले प्रदेशस्तरीय प्रतिवेदन निर्माण गरेमा समस्या समाधान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका सदस्यहरु रेणीदेवी र जीवछ साहले कर्मचारी र बजेटको अभावमा प्रदेशस्तरीय कार्यालय स्थापना गर्न नसकेको बताउँदै आगामी दिनमा प्रदेशस्तरीय प्रतिवेदन निर्माण गर्ने, मधेस प्रोफाइल, डकुमेन्ट्री, रेडियो जिङ्गल र मधेसी थर सूचीकरण गर्ने सम्बन्धमा पालिकास्तरमा पत्राचार गरेको जानकारी गराउनुभयो ।

आयोगको प्रतिवेदनमा आव २०७७/७८ मा महिला हिंसा, घर झगडा, भ्रष्टाचार, खुल्ला सीमा, व्यापार लगायतका चार सय उजुरीमध्ये ४६ प्रकारका उजुरी समाधानका लागि कार्यान्वयनमा पहल गरेको उल्लेख गरिएको छ ।

अझै कार्यान्वयनमा आएन ‘फ्री भिषा फ्री टिकट’

वैदेशिक रोजगारीका लागि लागतभन्दा १० गुणा बढीसम्म रकम तिर्नुपर्ने बाध्यता रहेको छ ।

विशेष गरी रोजगारीका खाडी मुलुकमा जानका लागि १० हजार रकम तिर्नुपर्ने भए पनि हाल एक लाखदेखि अढाई लाखसम्म तिर्नुपर्ने बाध्यता रहेको हालै यहाँ आयोजित कार्यक्रमका सहभागीले गुनासो गरेका थिए ।

सुरक्षित आप्रवासन परियोजनाद्वारा आयोजित कार्यक्रमका सहभागीले अझै पनि वैदेशिक रोजगारीमा जाने युवाले दुःख र वढी शुल्क तिर्नुपर्ने अवस्था रहेको जनाएका थिए ।

परियोजनाको एक अध्ययनअनुसार खाडी मुलुक जानकै लागि २४१ जनाले दुई लाखभन्दा बढी रकम तिरेका थिए ।

‘फ्री भिषा फ्री टिकट’मा ती देशमा २१ जना मात्र गएको अध्ययनले देखाएको छ ।

विनाप्रमाण धेरै रकम दिएर विदेश जानेको सङ्ख्या अहिलेसम्म घट्न नसकेको बताइएको छ ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलले वैदेशिक रोजगारीमा जान चाहनेले नै बढी सजगता अपनाउनुपर्नेमा जोड दिनुभयो ।

रोजगारीमा जानेले बढी रकम दिएर कम मूल्यको बिल लिने, प्रमाण नै नष्ट गर्ने जस्ता गतिविधि गर्नाले अन्याय पर्दा क्षतिपूर्ति लिनसमेत कठिन हुने गरेको पाइएको छ ।

नगरपालिकाभित्र वैदेशिक रोजगारीसम्बन्धी गरिएको अध्ययनअनुसार रोजगारीमा गएका विवाहित महिलाका श्रीमान्ले अर्को विवाह गर्ने क्रम बढेको छ ।

सो परियोजनाले गरेको अध्ययनअनुसार विदेश गएका १३६ महिलामध्ये २६ जना अर्थात् १३ प्रतिशत यहाँ रहेका पुरुषले अर्को विवाह गरेको बताइएको छ ।

तर विदेश गएका ८७९ विवाहित पुरुषमध्ये यहाँ रहेका २२ महिलाले मात्र अर्को विवाह गरेको तथ्याङ्क रहेको कार्यक्रम संयोजक ईश्वरी तामाङले जानकारी दिनुभयो ।

विभिन्न अध्ययनले समाजमा वास्तविकताभन्दा फरक प्रकृतिको हल्ला हुँदा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा गएका व्यक्तिका श्रीमती समस्या पर्ने गरेको समेत कार्यक्रममा जानकारी दिइयो ।

परियोजनाका झापा, पाँचथर र इलामका कार्यक्रम अधिकृत रामुकमार कर्णका अनुसार भ्रम चिर्नका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उहाँले सूचना तथा समाचार प्रसारण प्रकाशन गर्दा सञ्चारकर्मीले अरू बढी संवेदनशीलताका क्षेत्रमा समेत हेर्नुपर्ने बताउनुभएको छ ।

आप्रवासी कामदारको सकारात्मक फाइदा धेरै भए पनि नकारात्मक कुराहरु बाहिर आउने भएकाले सामाजिक समस्या आउने गरेको परियोजना संयोजक तामाङले बताउनुभयो ।

इलाम, सूर्योदय, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारीमा जानपूर्व लिनुपर्ने आवश्यक सूचना प्रदान गर्ने, सीप सिकेर मात्र विदेश जान सुझाउने गरेको छ ।

भरसक स्वदेशमा नै आयआर्जनको बाटो खोज्न प्रोत्साहित गर्ने परियोजनाको लक्ष्य छ ।

प्रधानमन्त्री कृषि परियोजना: गाउँभरि यन्त्रै यन्त्र

प्रधानमन्त्री कृषि परियोजना: गाउँभरि यन्त्रै यन्त्र

झापा-हरेक बिहान कनहैयालाल गणेश धान रोपाइँका लागि मध्यमाघको ठिही छिचोल्दै जोत्ने विद्युतीय मेसिन पावर टिलर लिएर खेतमा पुग्नुहुन्छ ।

घमाइलो भएपछि सौर्य विद्युत्बाट चल्ने सिँञ्चाइ पम्पको स्वीच ‘अन’ गर्नुहुन्छ ।

यतिबेला उहाँको खेतबारीमा हिउँदे धान रोपाइँको रौनक छ । बीउ काड्ने र रोप्ने खेताला भेला भएपछि रोपाइँ सुरु हुन्छ ।

कचनकबल–४ फेर्कागाछी निवासी ४३ वर्षीय कनहैयालाल मात्र होइन नेपालकै होचो पालिकाको रुपमा चिनिएको दक्षिणी झापाको कचनकबलको हरेक बस्तीमा यतिबेला सोलार र मोटर सिँञ्चाइ गरेर हिउँदे धान रोपाइँ चलिरहेको छ ।

किसान काममा व्यस्त छन् ।

गाउँतिर जताततै खेत जोत्न ट्र्याक्टर, पावर टिलरलगायतका आधुनिक कृषि उपकरण प्रयोग भइरहेका छन् ।

कनहैयालाल र उहाँको पालिकामा पाँच वर्ष अघिसम्म एक बाली मात्र खेती हुन्थ्यो ।

तर अहिले तीन बाली उत्पादन भइरहेको छ ।

२०७३ सालमा सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू गरेपछि कचनकबलको खेती प्रणाली फेरिएको हो ।

नेपाल सरकारले परियोजनासँगै झापाको कचनकबल गाउँपालिकालाई धान सुपरजोन घोषणा गरेर निर्वाहमुखी खेतीलाई व्यावसायिक बनाउने कार्यक्रम ल्यायो ।

न्यूनतम् एक हजार हेक्टर क्षेत्रफलमा सञ्चालन भएको बाली विशेषको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक एकाइलाई सरकारले सुपरजोन घोषणा गर्दै आएको छ ।

समूहमा खेती गर्न प्रोत्साहित गर्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानलाई ८५ प्रतिशतसम्म अनुदानमा आधुनिक कृषियन्त्र वितरण गर्‍यो । पाँच वर्षमा अहिले सिङ्गो पालिकाको कृषि उद्यममा आमूल परिवर्तन आएको छ ।

कचनकबलका सात वटै वडामा धान सुपरजोन लागू

हाल झापाको कचनकबलका सात वटै वडामा धान सुपरजोन लागू भएको छ भने झापा जिल्लाका १५ वटै पालिकाका आंशिक वडामा यसलाई विस्तार गरिएको छ ।

परियोजना अन्तर्गत जिल्लाका केही पालिकामा मकै, रबर र सुपारी जोन समेत लागू भएको छ ।

कनहैयालाल गणेशको १३ जनाको सगोल परिवार छ ।

करिब ६ बिघा जग्गामा धान, मकै, तोरी, आलु र अरु तरकारीखेती गरिररहेको उहाँले जानकारी दिनुभयो ।

पूरै परिवार दिनभर खेतीको कामबाट फुर्सद् नपाउने अवस्था छ ।

धान सुपरजोन अवधारणा लागू भएपछि उहाँकै अध्यक्षतामा स्थानीय ८३ परिवारले हरित कृषि समूह गठन गरेर पहिलोपटक सामूहिक खेती सुरु गरेका थिए ।

विसं २०७३ पुस १९ गते सुपरजोनको उद्घाटन

विसं २०७३ पुस १९ गते सुपरजोनको उद्घाटन भएको थियो ।

पाँच वर्षमा अहिले पूरै पालिकाभर कृषिमा आधुनिक यान्त्रिकरण भइसकेको छ ।

जुवामा हलो नारेर खेत जोत्ने कुरा कथा जस्तो हुन लागिसकेको छ ।

हरित कृषि समूहसँग अहिले एउटा धान रोप्ने मेसिन, एउटा बीउ राख्ने मेसिन, तीन सोलार सिँञ्चाइ, पाँच पावर टिलर रहेकाे छ ।

साथै एउटा मिनी टिलर, एउटा धान काट्ने मेसिन, १६ मोटर सिँञ्चाइ र एउटा समूह नर्सरी भवन रहेको अध्यक्ष गणेशले जानकारी दिनुभयो ।

समूहले ६० बिघा जग्गामा तीन बालीखेती गरिरहेको छ ।

जग्गा हरेक परिवारको निजी भए तापनि खेती गर्दा सामूहिक रुपमा यन्त्रको प्रयोग, समूहबाटै मल र बीउ खरिद र समूहकै बलमा बिक्री गर्ने प्रणाली बसाइएको उहाँको भनाइ छ ।

यसबाट सामूहिक खेती प्रणाली विकसित भइरहेको देखिन्छ ।

“प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आउनुभन्दा अघि हाम्रो खेतमा एकबाली मात्र फल्थ्यो,” कचनकबल–४ फेर्कागाछीका किसान लक्षुमन गणेश भन्नुहुन्छ,“समूहमाखेती गर्दा फाइदै फाइदा भएको छ ।

मान्छेले भन्दा बढी मेसिनले काम गरिरहेको छ ।”

उहाँले १० कठ्ठामा हिउँदे धान लगाइरहेको र त्यो धान आउँदो वैशाखमा फल्ने बताउनुभयो ।

सुपरजोन आउनुअघि बर्खामा पानी जमाउन सक्दा एकबाली धान हुने गरेको नत्र वर्षैभरि खेत बाँझो राख्ने गरेको स्मरण गर्दै उहाँले हाल एक बालीमा एक बिघामा ११० मनसम्म धान फल्ने गरेको जानकारी दिनुभयो ।

खाडीबाट खेतीमै फर्किन थाले युवा

कचनकबल गाउँपालिकामा धान सुपरजोनमा १८ समूह आवद्ध छन् ।

फेर्कागाछीका ४० वर्षीय ललितकुमार गणेशले १० वर्ष वैदेशिक रोजगारीमा बिताए ।

गाउँमा निर्वाहमुखी खेतीले परिवारको भरणपोषण कठिन भएपछि वैदेशिक रोजगारीमा खाडी भासिएका ललितकुमार र उनका भाइ हंश गणेश प्रधानमन्त्री कृषि परियोजनाले अवसर ल्याएपछि गाउँ नै फर्किएर कृषि पेशामा जोडिनु भएको छ ।

“पहिला पहिला खेतीपातीबाट हातमुख जोर्न मुस्किल थियो र हामी विदेश गएका थियौं,” ललितकुमारले गाउँको अवस्था बदलिएको बताउँदै भन्नुभयो,“अब त तीन बालीखेती हुन्छ ।

एक बाली तोरी लगाएको छु । दुई बाली धान नै फल्छ । गाउँका मानिस अब विदेश जाने सोचमा कोही पनि छैनन् ।” यन्त्र उपकरणको प्रयोग बढेको हुँदा खेती गर्दा मानिसलाई शारीरिक श्रम पनि कम परेको उहाँले अनुभव सुनाउनुभयो ।

यहाँ धान र अरु बालीको उत्पादकत्व बढेको छ । एक बिघामा ४० मन धान फलाउन गाह्रो भएको ठाउँमा अहिले सजिलै प्रति बिघा सय मनभन्दा बढी फलिरहेको छ ।

बजारको पनि खासै समस्या छैन्

स्थानीय उत्पादन बढेसँगै बजारको पनि खासै समस्या नभएको किसान बताउँछन् ।

दमकको किसान बीउ उद्योगलगायतका संस्थाले किसानको खेतमै आएर यहाँको उत्पादन किनेर लैजाने गरेका छन् ।

तराईमूलका गनगाई, राजवंशी र मुस्लिम समुदायको अधिक बसोबास रहेको यस पालिकामा पहाडी मूलका समुदायको पनि बसोबास छ ।

गाउँलेहरुले घरमा कुटानीपिसानी गरेको धान र चिउरा अन्यत्रबाट आउने मानिसले उचित मूल्यमा किनेर लैजाने गरेका छन् ।

गाउँभरि कृषियन्त्रको प्रयोग बढेसँगै किसान पावर टिलर, धान रोप्ने मेसिनलगायतका उपकरण चलाउन पोख्त भएका छन् ।

यान्त्रिक उपकरण चलाउन अनुभवी मानिएका हरित कृषि समूहका अध्यक्ष कनहैयालाल गणेशलाई मेचीनगरको एनएमसी नमूना कृषि परियोजना र जिल्लाभरका ठूला कृषि सहकारीले मेसिन सञ्चालन सम्बन्धी तालिम दिनका लागि बोलाउने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बनियानी शाखा कार्यालयका प्राविधिक अमृत कार्कीले सुपरजोनका किसानलाई पचास प्रतिशत अनुदानमा कृषियन्त्र दिइने गरिएको र नयाँ मेसिनरी चलाउन परियोजनाले आवश्यक तालिमसमेत प्रदान गर्दै आएको बताउनुभयो ।

उहाँले परियोजना आएपछि कृषि प्रणालीमा क्रान्तिकारी परिवर्तन भएको र यसबाट स्थानीय किसान लाभान्वित भइरहेको बताउनुभयो ।

मलखाद र अनुदान पुगेन

कृषिमा आधुनिकीकरण गर्ने सरकारी योजना कचनकबल जस्तो दुर्गम पालिकामा सफलतापूर्वक प्रयोग भइरहेको छ ।

तर, किसानका अनुभव र उपलब्धिका बारेमा पर्याप्त खोजी र अनुगमन नहुँदा किसानका कतिपय कठिनाइको भने सम्बोधन हुन सकेको छैन ।

खासगरी सिंञ्चाइका लागि परियोजनाले दिएका सोलार सिँञ्चाइका उपकरण अत्यन्त न्यून भएको र मलखादको उचित व्यवस्था नभएको किसानको साझा गुनासो छ ।

भारतबाट चोरी बाटो हुँदै मलखाद भित्र्याउनु परेको किसान बताउँछन् ।

उनीहरुले किसानले मागेजति सोलार उपकरण र मोटर सिँञ्चाइ उपकरण उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

मोटर सिँञ्चाइमा प्रयोग हुने विद्युत् महसुल निःशुल्क गरिदिनसमेत किसानको माग छ ।

धान सुपरजोन लागू भएपछि यस क्षेत्रमा धानको बर्खे र हिउँदे उत्पादन ह्वात्तै बढेको छ ।

धान सुकाउने ड्रायर मेसिनको अभावले गर्दा हिउँदे धानमा क्षति पुग्ने र एकैपटकमा धेरै मात्रामा उत्पादन भएको बेला किसानले धानको उचित मूल्य नपाउने गरेको देखिएको छ ।

सरकारले तोकिदिएको समर्थन मूल्य यहाँ लागू भएको छैन ।

सुरुमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू हुँदा त्यसको प्रमुख मेघनाथ तिम्सिनाले किसानको खेतखेतमा पुगेर यान्त्रिकीकरण गर्न हौसला दिने गरेको स्थानीय किसान सम्झिन्छन् ।

तर पछिल्ला दिनमा सरकारले उपकरण वितरणमा अनुदान कटौती गर्दै लगेको र पुराना मेसिनको मर्मत सम्भारको व्यवस्था नमिलाएको किसान गुनासो सुनाउँछन् ।

प्रधानमन्त्री कृषि परियोजना: गाउँभरि यन्त्रै यन्त्र

पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुनसक्ने

पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुनसक्ने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

आज रातिदेखि पश्चिम नेपालबाट प्रवेश गर्न लागेको उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै, यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

भोलि बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा बागमती प्रदेश, मधेस प्रदेश र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रहनेछ ।

शुक्रबार देशैभरि सामान्यदेखि पूर्ण बदली रहने र शनिबार देशभरि आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी शनिबार पनि पश्चिमी वायुको प्रभाव रहने र आइतबारदेखि मौसम क्रमिक रुपमा सुधार आउनेछ ।

बिहीबार

उक्त मौसमी प्रणालीको प्रभावले बिहीबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

साथै बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

पहाडी तथा तराईका धेरै स्थानमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार

शनिबार पनि गण्डकी, बागमती र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

साथै उक्त प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आइतबारदेखि यो मौसम कमजोर हुँदै मौसममा क्रमिक रुपमा सुधार हुने महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुनसक्ने