सत्ता गठबन्धनका शिर्ष नेता बीच भेटवार्ता

सत्ता गठबन्धनका शिर्ष नेता बीच भेटवार्ता

काठमाडौं-सत्ता गठबन्धनका प्रमुख तिन दलका शिर्ष नेता बिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

बुधबार दिउँसो बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल बिच भेटवार्ता भएको हो ।

उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

मंगलबार प्रधानमन्त्रीसँगको भेटमा निर्वाचन आयोगका पदाधिकारीले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई परामर्श दिएका थिए ।

प्रधानमन्त्री देउवाले गठबन्धनमा छलफल गरेर सरकारले मिति तोक्ने बताएका थिए ।

त्यस्तै पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरेका छन् ।

बुधबार प्रचण्ड र नेपालसँग प्रधानमन्त्रीले यीनै विषयमा कुराकानी गरेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।

सत्ता गठबन्धनका शिर्ष नेता बीच भेटवार्ता

सबै जातजातिको संरक्षण गर्नु राज्यको कर्तव्य हो : पूर्वप्रम नेपाल

सबै जातजातिको संरक्षण गर्नु राज्यको कर्तव्य हो : पूर्वप्रम नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकका सबै जातजाति तथा समुदायको भाषा, संस्कृति तथा पहिचानको संरक्षण गर्नु राज्यको कर्तव्य भएको बताउनुभएको छ ।

तामाङ समुदायले नयाँ वर्षका रूपमा मनाउने सोनाम ल्होसार २०७८ का अवसरमा सम्पूर्ण दिदीबहिनी तभा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उहाँले बहुजातीय, बहुधार्मिक र बहुप्राकृतिक विशेषतायुक्त नेपालका विभिन्न समुदायका रीति, परम्परा र संस्कृति मौलिक पहिचान र बहुमूल्य सम्पत्ति भएको बताउनुभएको छ ।

यस्ता पर्वले मौलिक संस्कृति प्रवद्र्धन, सामाजिक सद्भाव अभिवृद्धि र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको जनाउँदै पूर्वप्रधानमन्त्री नेपालले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम, हार्दिकता र सम्मान कायम गर्दै सामाजिक न्याय र समानतासहितको समुन्नत समाजवादी मुलुक निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सोनाम ल्होसारले सबैमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सबै जातजातिको संरक्षण गर्नु राज्यको कर्तव्य हो : पूर्वप्रम नेपाल

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ-खोप हिनामिना गरेको आरोपमा लगाउँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा बिरुद्ध अख्तियारमा उजुरी दायर भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको सङ्गठन राष्ट्रिय युवा सङ्घ, नेपालले २४ लाख डोज खोप हिनामिना गरेको आरोपमा लगाउँदै विरोध खतिवडा बिरुद्ध अख्तियारमा उजुरी दायर गरेको हो ।

युवा सङ्घका सहसंयोजकहरू संजीवकुमार झाले मन्त्री विरोध खतिवडालगायतविरुद्ध आज (मंगलबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा उजुरी दर्ता गराएका हुन् ।

उजुरीमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाले पछी खतिवडाले २४ लाख डोज कोरोना भाइरसको खोप हिनामिना गरेको आरोप लगाइएको छ ।

‘नेपाल सरकारका स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्री भई जिम्मेवारी बहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्य कोषको रकम हिनामिना गरेको हुँदा मन्त्री विरोध खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्ति उपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाउँ, उजुरीमा भनिएको छ, यस सम्बन्धमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३, ८, १७ तथा अन्य कानुनी प्रावधान बमोजिम भ्रष्टाचारमा संलग्न स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा तथा अन्य व्यक्ति पत्ता लगाई कारबाही गरिपाऊँ ।’

केही दिन पहिले प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवले २४ लाख डोज खोपको विवरण मन्त्रालयसँग नभएको अभिव्यक्ति दिएका थिए ।

मन्त्री खतिवडासहितका अधिकारीविरुद्ध उजुरी दिनका लागि एमालेका केन्द्रीय सदस्य तथा युवा सङ्घका संयोजक किरण पौडेल, सङ्घका सङ्गठन विभाग प्रमुख क्षितिज थेबेलगायतका नेता उपस्थित थिए ।

स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी नबुझाउने पाँच क्यासिनोलाई सात दिनभित्र रोयल्टी बुझाउन पत्राचार गरेको छ ।

मन्त्रालयले मङ्गलबार सूचना जारी गर्दै होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाट, रक इन्टरनेशनल प्रालि काठमाडौँ, ह्याप्पी आवर प्रालि काठमाडौँ र सेन्ट्रल मिडिया प्रालि काठमाडौँले क्यासिनो सञ्चालन गरेबापत सरकारलाई तिर्नुपर्ने बाँकी वक्यौता रकम चुक्ता गर्न पत्राचार गरेको हो ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ सम्मको वक्यौता होटल याक एण्ड यती लिमिटेड दरबारमार्ग काठमाडौँले रु २० करोड ६८ लाख १५ हजार, ओरियन्टल होटल्स लिमिटेड (र्‍याडिसन होटल) लाजिम्पाटले रु १८ करोड ७६ लाख, रक इन्टरनेशनल प्रालि काठमाडौँले रु ११ करोड ४५ लाख ८२ हजार ८४८, ह्याप्पी आवर प्रालि काठमाडौँले रु २१ करोड ५५ लाख तथा सेन्ट्रल मिडिया प्रालि काठमाडौँले रु १३ करोड ३९ लाख ५० हजार बुझाउन बाँकी रहेको छ ।

गत कात्तिक ७ गते ३५ दिने सूचना र पुस २७ गते १५ दिने म्याद तोकेर पत्राचार गरिए पनि अहिलेसम्म बाँकी रहेको वक्यौता चुक्ता नभएकाले सातदिने सूचना जारी गरिएको मन्त्रालयले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले क्यासिनोले तिर्न बाँकी रहेको रोयल्टी बुझाउनुपर्ने ताकेता गरेपछि पर्यटन विभागले सो रकम बुझाउन पत्राचार गरेको हो ।

क्यासिनो सञ्चालकलाई प्राइम बैंकको जमानत

यसअघि सरकारलाई रोयल्टी, नवीकरण दस्तुर र जरिवाना नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालकलाई प्राइम बैंक जमानत बसेपछि छाडिएको थियो ।

काठमाडौँको साङ्ग्रिला र रुपन्देहीको टाइगर प्यालेस होटलमा क्यासिनो सञ्चालन गर्ने एसएचएल म्यानेजमेन्ट प्रालिका तर्फबाट रु १४ करोड २० लाख बैंक जमानत प्राप्त भएको पर्यटन विभागले जनाएको छ ।

क्यासिनो सञ्चालन गरेबापतको रोयल्टी, जरिवाना र दुई वर्षको नवीकरण दस्तुरसहित रु १४ करोड २० नतिरी अमेरिका भाग्न लागेका क्यासिनो सञ्चालक माइकल बोल्सोवरलाई माघ १ गते साँझ मन्त्री आलेको निर्देशनमा अध्यागमनमा रोकिएको थियो ।

पर्यटनमन्त्री आलेले राज्यलाई नियमानुसार हुन आउने रकम बराबरको राजस्व नबुझाए कारबाही हुने चेतावनी दिनुभएको छ ।

सात दिनभित्र रोयल्टी तिर्न पाँच क्यासिनोलाई मन्त्रालयको पत्राचार

आज सोनाम ल्होसार पर्व मनाइँदै

आज सोनाम ल्होसार पर्व मनाइँदै

काठमाडौँ-तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ ।

आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश हुन्छ ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धानदाता टीका शेर्पाले जानकारी दिनुभयो ।

तामाङ जातिको बाहुल्यता रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेषरुपमा मनाइन्छ ।

यस वर्ष बुधबार मनाइने पर्वका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

पर्वका अवसरमा बौद्धनाथ क्षेत्र विकास समितिले बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी मनाउने गरेकामा यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण औपचारिक कार्यक्रम राखिएको छैन ।

समितिका कार्यकारी निर्देशक वसन्त लामा यस वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर बौद्ध क्षेत्रका चैत्यमा कार्यसमिति सदस्य, सल्लाहकार मात्र बसेर पूजापाठ गरी ल्होसार मनाउन लागिएको बताउनुहुन्छ ।

विगत वर्षमा बौद्ध क्षेत्रमा सोनाम ल्होसारका अवसरमा सांस्कृतिक झाँकीसहित बाजागाजाको ¥याली निकालिने गरिएको थियो ।

दिउँसो महेन्द्र बौद्ध माध्यमिक विद्यालय परिसरमा मूल समारोह समितिका तर्फबाट कार्यक्रम गर्ने गरिएकामा त्यो पनि स्थगित गरिएको जनाइएको छ ।

यसैगरी राजधानीको स्वयम्भू क्षेत्रका चैत्यमा आन्तरिक रुपमा मात्र पूजा पाठका कार्यक्रम गरी ल्होसार मनाइने बताइएको छ ।

देशका अन्य भागमा पनि ल्होसार मनाइने तयारी भइरहेको छ ।

आज सोनाम ल्होसार पर्व मनाइँदै

प्रेम आलेको सिफारिसमा अधिकारी महानिर्देशकमा नियुक्त

काठमाडौँ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको सिफारिसमा प्रदीप अधिकारी नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका छन् ।

मन्त्रिपरिषद् बैठकले अधिकारीलाई प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेको हो ।

अधिकारीसँग प्राधिकरणको राष्ट्रिय गौरव आयोजना प्रमुख भएर कार्य गरेको अनुभब समेत रहेको छ।

३ वटै तहमा ६८ उपसचिवको सरुवा

काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६८ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयमा बसेको सचिव स्तरीय बैठकको निर्णयबाट ६८ उपसचिवको सरुवा भएको हो ।

मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय ३ वटै तहमा उपसचिवको सरुवा गरिएको छ।

कतिपय उपसचिवको बढुवापछि सरुवा मार्फत पदस्थापन समेत भएको छ ।

निगम मासिक साढे चार अर्ब घाटामा

काठमाडौँ-अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ ।

आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन ।

विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउनुहुन्छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ मूल्य सूची पठाएको छ ।

पन्ध्र दिनअघिको तुलनामा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ९२ पैसा, डिजेलमा प्रतिलिटर सात रुपैयाँ २४ पैसा, मट्टितेलमा प्रतिलिटर आठ रुपैयाँ ८० पैसा तथा हवाई इन्धनमा प्रतिलिटर सात रुपैयाँ ४८ पैसा बढेको छ ।

एलपी ग्यासमा प्रतिसिलिण्डर ८१ रुपैयाँ ६२ पैसा घटेको छ ।

निगमले गए राति १२ बजेदेखि डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर रु तीन रुपैयाँले वृद्धि गरेको छ ।

यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर वृद्धि गरिएको छ ।

मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर रु १२५ तथा पेट्रोल प्रतिलिटर रु १४२ पुगेको छ ।

पेट्रोलको मूल्य अहिलेसम्मकै बढी हो ।

यसअघि २०७० सालमा नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर रु १४० पुगेको थियो ।

एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० ले वृद्धि गरी प्रतिलिटर रु ११६ पु¥याएको छ ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि प्रतिकिलोलिटर १०० अमेरिकी डलरले वृद्धि गरी एक हजार ९५ अमेरिकी डलर पु¥याइएको छ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको भए पनि अझै मासिक रु साढे चार अर्ब घाटा रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपछि पनि निगमलाई १५ दिनमा करिब रु दुई अर्ब २३ करोड घाटा रहेको प्रवक्ता उपाध्यायको भनाइ छ ।

मूल्य वृद्धिपछि पनि आगामी १५ दिनमा पेट्रोलमा रु ४३ करोड, डिजेलमा रु एक अर्ब एक करोड र एलपी ग्यासमा करिब रु एक अर्ब घाटा हुने निगमको प्रक्षेपण छ ।

निगमलाई मट्टितेल तथा हवाई इन्धनमा भने सामान्य नाफा छ ।

पन्ध्र दिनमा मट्टितेलको बिक्रीबाट रु दुई करोड, हवाई इन्धन (आन्तरिकतर्फ) रु तीन करोड र हवाई इन्धन (बाह्यतर्फ० रु १६ करोड नाफा हुने निगमको आकलन छ ।

डिजेल, पेट्रोल र ग्यासको उच्च घाटा मट्टितेल तथा हवाई इन्धनको बिक्रीबाट पूर्ति हुन नसक्ने निगमले जनाएको छ ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ २३ पैसा, डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर ५६० रुपैयाँ नौ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर १८ रुपैयाँ १२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ ५० पैसा र बाह्य इन्धनमा प्रतिलिटर ३२ रुपैयाँ ७२ पैसा नाफा छ ।

मूल्य समायोजन गरे पनि इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न निगमले ऋण लिनुपर्ने बाध्यता रहेको सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिनुभयो ।

निगमसँग सञ्चित बचत शून्यमा झरेपछि मूल्य समायोजनपश्चात पनि प्रतिमहिना रु पाँच अर्ब ऋण लिनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

सञ्चित रकम र अन्य दायित्व रकम सबै पेट्रोलियम पदार्थ खरिदमा सकिएपछि निगमले गत साता सरकारसँग सहयोग मागेर आइओसीलाई भुक्तानी गरेको थियो ।
सरकार मातहतको मूल्य स्थिरीकरण कोषबाट समेत रु एक अर्ब ८० करोड लिएर निगमले आइओसीलाई पठाएको थियो ।

नेपालमा पेट्रोलियम पदार्थको मूल्य चर्को भएको भनेर आलोचना भइरहँदा सीमावर्ती भारतीय क्षेत्रको भन्दा नेपालतर्फ सस्तो रहेको निगमले जनाएको छ ।

मूल्य समायोजनपश्चात भारतको सीमावर्ती बजार रक्सौलभन्दा वीरगन्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२ रुपैयाँ २४ पैसा, डिजेल २५ रुपैयाँ ३१ पैसा, एलपी ग्यास प्रतिसिलिण्डर ५० रुपैयाँ ६५ पैसा र हवाई इन्धन (आन्तरिकतर्फ) भारतको कोलकाताको भन्दा काठमाडाँैमा प्रतिलिटर २८ रुपैयाँ ७९ पैसाले सस्तो रहेको निगमले जनाएको छ ।

सचिव ढुङ्गाना अनिवार्य अवकाशमा

काठमाडौँ-नेपाल सरकारका सचिव शिशिर कुमार ढुङ्गानाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अवकाश लिएका हुन् ।

अनिवार्य अवकाश पाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मङ्गलवार बिदाइ गरेको हो।

माघ २० गतेबाट अनिवार्य अवकाश पाउने ढुङ्गानालाई सार्वजनिक बिदा परेको कारण मङ्गलवारनै बिदाइ गरिएको छ ।

२०५४ कार्तिक १२ गते हवाई विभाग अन्तर्गत एयर ट्रान्सपोर्ट सपोर्ट केन्द्रमा शाखा अधिकृतबाट जागिरे जीवन शुरु गरेका ढुङ्गानाले नेपाल सरकारका विभिन्न निकायमा २४ वर्ष तीन महिना ४ दिन सेवा गरे ।

२०६० सालमा उपसचिवमा नाम निकालेपछि आन्तरिक राजश्व कार्यालय काठमाडौँबाट सहसचिवको यात्रा शुरु गरेका ढुङ्गानाले राजश्व अनुसन्धानको उपमहानिर्देशक, त्रिभवन विमानस्थल भन्सार कार्यालय प्रमुख, अर्थ मन्त्रालयको प्रशासन र आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख, भन्सार विभागको महानिर्देशक भएर समेत देसको सेवा गरे ।

२०७३ साल माघ २० सचिवमा बढुवा भएसँगै क्षेत्रीय प्रशासन कार्यालय दिपायलको क्षेत्रीय प्रशासकमा खटिएका सचिव ढुङ्गाना अर्थ मन्त्रालयको राजश्व सचिव, २०७५ पुस १ गतेदेखि २०७६ कार्तिक १४ गतेसम्म प्रधानमन्त्री कार्यालय, त्यसपछि राजश्व सचिव, २०७६ माघ २९ गतेदेखि २०७८ साउन १७ सम्म अर्थ सचिव र त्यसयता प्रधानमन्त्री कार्यालयको सचिवका रूपमा काम गरे ।

सचिव ढुङ्गानाले निजामती सेवामा राम्रा मान्छेहरू भित्रउनेसँगै कर्मचारीलाई उत्प्रेरित बनाउने तर्फ ध्यान दिनु पर्ने बिदाइ समारोहलाई सम्वोधन गर्दै बताएका छन् ।