पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

समाचार लेखेको तथा भिडियो प्रयोग गरेको विषयलाई लिएर दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ मोरङ शाखाको गम्भीर ध्यानाकर्षण भएको छ ।

गएको माघ २५ गते सुनसरी धरान उपमहानगरपालिका–१५ स्थित युनाइटेड गुर्खा एकेडेमी स्कुल अगाडि भएको अमानवीय घटनाबारे लेखिएको समाचार र प्रयोग भएको भिडियोको विषय लिएर कोसी अनलाइन न्युज पोर्टलको विराटनगरस्थित कार्यालयमा बम प्रहार गर्ने धम्की दिएको घटनाप्रति शाखाको ध्यानाकर्षण भएको हो ।

पसलमा चोरी गर्न खोजेको आरोपमा एक युवालाई सार्वजनिकस्थलमा डोरीले बाँधेर निर्घात कुटपिट भएको विषयमा समाचार प्रकाशित भएपछि मनोज विक नाम गरेका व्यक्तिले बम पड्काउने धम्की दिँदै अनलाइनको पेजमा अडियो म्यासेज गर्ने र अन्य व्यक्तिहरुमार्फत पनि फोन गर्न लगाई अनलाइनको कार्यालयमा धम्की दिएको घटनाको शाखाले घोर निन्दा गरेको छ ।

प्रकाशित समाचार तथा प्रयोग भएको सामग्रीप्रति चित्त नबुझे कानुनी उपचारमा जान सकिने विकल्प हुँदाहुँदै पत्रकारलाई धम्क्याउनु, कार्यालयमा बम प्रहार गर्छु भत्रे अभिव्यक्ति दिनु प्रेस विरोधी हर्कत भएकाले दोषी उपर कडा कारबाहीको माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउन शाखाले आज विज्ञप्ति जारी गरेको छ ।

पत्रकारलाई धम्की दिएकोप्रति महासङ्घको ध्यानाकर्षण

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई १४ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागी रुकुम (पूर्व) का १४ विद्यालय छनोट भएका छन् ।

विद्यालयको भौतिक सुधार र सूचना प्रविधिसँग जोडिएको यो कार्यक्रमअन्तर्गत जिल्लाका तीन स्थानीय तहका १४ विद्यालय छनोटमा परेका हुन् ।

कार्यक्रमअन्तर्गत चार कोठे र दुई कोठे भवन निर्माण तथा सूचना प्रविधि प्रयोगशाला (आइसीटी ल्याब) स्थापनाका लागि बजेट आउने छ ।

चार कोठे भवनका लागि प्रतिविद्यालय रु ३६ लाख, दुई कोठे भवनका लागि रु १८ लाख र आइसीटी ल्याब स्थापनाका लागि रु छ लाख ५० हजार बजेट आउने शिक्षा विकास तथा समन्वय एकाइ रुकुम (पूर्व)का प्रमुख तिलक गौतमले जानकारी दिनुभयो ।

यो कार्यक्रमका लागि सिस्ने गाउँपालिकाका छ विद्यालय, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका चार÷चार विद्यालय छनोटमा परेका छन् ।

सिस्ने–१ को नवज्योति आधारभूत विद्यालय भट्टेचौर, वडा नम्बर २ को हिमालय मावि नायगाड, वडा नम्बर ५ को रुक्मिणी मावि आइसीटी ल्याब स्थापनाका लागि छनोट भएका छन् ।

वडा नम्बर ४ को जनप्रिय मावि दादिङमा चार कोठे भवन, वडा नम्बर १ को आधारभूत विद्यालय सिस्नेपोखरी र वडा नम्बर ४ को आधारभूत विद्यालय अमलाचौरमा दुई कोठे भवन निर्माण हुने भएका छन् ।

भूमेको वडा नम्बर २ मा रहेको त्रिवेणी मावि काँक्री, वडा नम्बर ८ को मावि कुचिबाङमा आइसीटी ल्याब स्थापना हुनेछ ।

वडा नम्बर ३ को टक्सार आधारभूत विद्यालय झुम्लाबाङमा दुई कोठे र वडा नम्बर ८ को सरस्वती मावि सिमखोला चार कोठे भवन निर्माण हुने छन् ।

पुथा उत्तरगङ्गाको वडा नम्बर १० को महेन्द्र मावि तकसेरामा कम्प्युटर विज्ञान र चार कोठे भवन, वडा नम्बर १४ को सिद्धमण्डली मावि राङ्सीमा दुई कोठे, वडा नम्बर ९ को आदर्श मावि खाराबाङमा चार कोठे भवन निर्माण हुने भएका छन् ।

यस्तै वडा नम्बर ११ को उत्तरगङ्गा आधारभूत विद्यालय सेराबालुवामा आइसीटी ल्याब स्थापना हुने भएको हो ।

स्थानीय तहमा वित्तीय हस्तान्तरण हुने वित्तिकै कार्यन्वयनको प्रक्रिया सुरु हुने समन्वय एकाइ प्रमुख गौतमले बताउनुभयो ।

संसदीय विकास समितिद्वारा विकास आयोजनाको अनुगमन

बागमती प्रदेश अर्थ तथा विकास समितिले भक्तपुर क्षेत्र नं २ अन्तर्गत सूर्यविनायक खण्डमा ठूला लगानीमा निर्माण भएका विभिन्न ठूला आयोजनाको आज अनुगमन गरेको छ ।

बागमती प्रदेश अर्थ तथा विकास समितिका सभापति नारायण सिलवाल र समितिका सदस्य शशीजङ्ग थापासहितको टोलीले बागमती प्रदेश सरकारले सञ्चालन गरेका योजनाको स्थलगत निरीक्षण गर्नुभएको हो ।

टोलीले कौशल्टारबाट बिरुवा सडकखण्डअन्तर्गत रु १० करोडको लागतमा निर्माण भइरहेको सिरुटार बिरुवा सडक खण्ड, रु पाँच करोडको लागतमा निर्माण भइरहेको भक्तपुरको सल्लाघारीबाट सिरुटार हुुँदै ललितपुरको महालक्ष्मी नगरपालिका लुभु जोड्ने सडकको स्थलगत अनुगमन गरेको हो ।

त्यस्तै रु पाँच करोडको लागतमा निर्माण भइरहेको काँठ चक्रपथ सडक, रु छ करोडको लागतमा गुण्डु छेडोमा निर्माणाधीन यातायात कार्यालय भवन निर्माणस्थलको र दधिकोटको अनन्तलिङ्गेश्वर डाँडामा रु दुई करोडको लागतमा निर्माण भइरहेको भ्यूटावरको अनुगमन गरेको बागमती प्रदेशसभा सदस्य थापाले बताउनुभयो ।

प्रदेश सरकारले सञ्चालन गरेको आयोजनाको प्रगतिको अवस्था, योजनामा आएको अवरोध र समस्या तथा उपलब्धिका बारेमा समितिले जानकारी लिएको उहाँले बताउनुभयो ।

योजनाको अवस्थाका बारेमा समितिको टोलीलाई प्रदेशसभा सदस्य थापाले जानकारी गराउनुभएको थियो ।

अनुगमनपछि समितिका सभापति सिलवालले यहाँका आयोजनाको प्रगति राम्रो भएको र केही आयोजनाको सञ्चालनमा आएको अवरोधलाई छलफलका माध्यमबाट समाधान गरेर विकासलाई पूर्णता दिनुपर्नेमा जोड दिएको उहाँले बताउनुभयो ।

‘निर्वाचनमा : सबै, सधैँ र सँगै’

काठमाडाैँ-आगामी निर्वाचनमा कुनै पनि मत बदर हुन नदिन मतदाता शिक्षा प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

प्रदेश निर्वाचन कार्यालय प्रदेश नं १ द्वारा आज विराटनगरमा छैटौँ निर्वाचन दिवसको सन्दर्भमा आयोजित निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले सो धारणा राखेका हुन् ।

निर्वाचन आयोगले यस वर्ष ‘निर्वाचनमा: सबै, सधैँ र सँगै’ प्रमुख नारा तय गरेको छ ।

निर्वाचन आचारसंहितामा कडाइ गर्नुपर्ने, खर्चमा मितव्ययिता अपनाउनुपर्ने र मत बदर हुन नदिन मतपत्रमा सुधार गर्नुपर्नेमा सहभागीले जोड दिए ।

मतदान केन्द्रका अधिकृतबाट कुनै लापर्बाही हुन नदिन आयोगले दिने तालिममा विशेष ध्यान दिनुपर्ने, मतपत्र गन्ती गर्दा ध्यान दिनुपर्ने भन्दै सहभागीले मतदानका लागि मतदातालाई सहज गरिदिनुपर्नेलगायत धारणा राखे ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले निर्वाचन निष्पक्ष, धाँधली एवं भयरहित तुल्याउन सबै राजनीतिक दलको साथ र सहयोग आवश्यक भएको बताउनुभयोे ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कास्यप अधिकारीले मोरङमा सात लाख १० हजारको हाराहारीमा मतदाता रहेको उल्लेख गर्दै मतदाता शिक्षालाई प्रभावकारी ढङ्गले सञ्चालन गरिने बताउनुभयो ।

अघिल्लो निर्वाचनमा मोरङमा ७४ दशमलव ९८ प्रतिशत मतदान भएको थियो ।

मोरङमा १२ दशमलव ३६ प्रतिशत मत बदर भएको उहाँले जानकारी दिनुुभयो ।

सत्र पालिका र १५९ वडा रहेको जिल्लामा अघिल्लो निर्वाचनमा चार हजार ३५१ उम्मेदवार चुनावी मैदानमा थिए भने निर्वाचित उम्मेदवारको सङ्ख्या ८२९ तथा चुनावमा भाग लिने राजनीतिक दलको सङ्ख्या २० रहेको थियो ।

सार्वजनिक सवारी भाडादर निर्धारण

गण्डकी प्रदेशभरि भाडादरमा एकरुपता कायम गर्ने उद्देश्यले सार्वजनिक सवारीमा भाडादर निर्धारण गरिएको छ ।

भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयमा यातायात व्यवसायी, उपभोक्ता मञ्च र सरोकारवालाबीच भएको छलफलका क्रममा संयुक्त प्रतिबद्धता पत्र जारी गर्दै सार्वजनिक सवारीमा भाडादर निर्धारण गरेको हो ।

सार्वजनिक सवारीमा बसको रु ३.१० प्रतिकिमी प्रतियात्रु, सिटी बसको फ्लाग डाउन रु २० (सुरुको तीन किमीसम्म) र त्यसपछि थप रु २.५ प्रतिकिमी प्रतियात्रु, जिपको पक्की बाटोमा रु ५.५० प्रतिकिमी प्रतियात्रु र ट्रकको रु ११.७२ प्रतिकिमी प्रतिटन कायम हुने गरी निर्णय गरिएको हो ।

त्यसैगरी, ९+१ सिट क्षमताका सार्वजनिक जिप प्रकृतिका सवारी साधानले बाटोको इजाजत लिई २५० किमीसम्म मात्र यात्रु बोकी सञ्चालन गर्न पाउने छन् ।

सार्वजनिक सवारी साधन चल्ने रुट र दूरी खुल्ने गरी निर्णय भएको भाडादरअनुसार सम्बन्धित यातायात व्यवसायीले कार्यान्वयन गर्ने निर्णय भएको तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो ।

भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेश पोखराको यातायात शाखाबाट भाडादर प्रमाणित गराएपछि आधिकारिक सूचना पार्टी, सवारी साधान र टिकट काउन्टरमा टाँस गरी सर्वसाधारणलाई जानकारी गराएर यसको प्रभावकारी कार्यान्वयनमा लैजाने निर्णय गरिएको छ ।

कच्ची बाटोको सन्दर्भमा समितिले सिफारिस गरेको भाडादरलाई आधार लिई सम्बन्धित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने अस्थायी मार्ग तथा भाडा निर्धारण समिति प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन–२०७६ ले भाडादर निर्धारण गर्न सकिने निर्णय गरेको छ ।

तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सकिने

डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुबाहक सवारी साधानले माथि तोकिएको भाडादरमा २० प्रतिशत रकम थप गरी लिन सकिने गरी निर्णय गरिएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेशभित्र रहेका सर्वसाधारण नागरिकलाई सरल एवं सुलभ ढङ्गबाट यातायात सुविधा उपलब्ध गराउन यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारबाट ०७८ माघ ३ गतेदेखि सार्वजनिक सवारीमा लागू हुने गरी भाडादर स्वीकृत गरिसकेको उहाँले बताउनुभयो ।

त्यसैगरी सार्वजनिक यात्रुबाहक सवारीका चालक एवं सहचालक र सहयोगीले समेत आफ्नो परिचय खुल्ने परिचयत्र देखिने गरी प्रयोग गर्नुपर्नेछ ।

चालकले खरानी रङ, सहचालक र सहयोगीले रिफलेक्टेड ज्याकेट लगाएको हुनुपर्ने, चालक, सहचालक र सहयोगीले जुत्ता लगाएको हुनुपर्नेछ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विद्यार्थी, जनआन्दोलनका अशक्त घाइतेलाई तोकिएको दरले सहुलियत दिने व्यवस्था गर्ने, सवारी साधान सफा, चम्किलो र नियमित सरसफाइ गर्नुपर्ने, यात्रुबाहक बसको छतमा हुट नराख्नेलगायतका १९ बुँदे निर्णय गरिएको छ ।

त्यसैगरी, सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटना पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीमाको व्यवस्था गर्न तथा सवारी साधानको करको रकम असुलउपर गर्ने कार्य प्रणालीलाई व्यवस्थित गर्न, सार्वजनिक तथा भाडाका सवारी साधनले लिने भाडा समयानुकूल बनाउन तथा तोकिएका रुटमा भाडादर समयसापेक्ष निर्धारण गर्नेलगायतका निर्णय गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेशका संयोजक भानुभक्त बराल, भौतिक पूर्वाधार सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका शाखा प्रमुख केदार सापकोटा, उपभोक्ता मञ्च गण्डकी प्रदेशका अध्यक्ष कपिलनाथ कोइराला, स्थानीय यातायात प्रालि कास्कीका प्रबन्धक रामचन्द्र लामिछाने, पृथ्वीराजमार्ग बस संञ्चालक कम्पनी प्रालि कास्कीका अध्यक्ष मेघराज त्रिपाठी, तनहुँ व्यासभूमि यातायात प्रालिका महासचिव पशुपतिनाथ अधिकारी, पोखरा यातायात प्रालिका प्रबन्ध निर्देशक अमृत शर्मा तिमिल्सेनाको सहभागिता रहेको थियो ।

त्यसैगरी, पोखरा फेवा यातायातका अध्यक्ष टीकाराम थापा, स्याङ्जा–गण्डकी यातायात प्रालिका कोषाध्यक्ष महेशबहादुर थापा, गण्डकी धौलागिरि यातायात प्रालिका अध्यक्ष उमेश केसी, धौलागिरि अञ्चल जिप व्यवसायीका अध्यक्ष विष्णुप्रसाद अधिकारी, बेगनासताल–पोखरा यातायात प्रालिका संरक्षक रवीन्द्र मोहन अधिकारी, दरौदी गोरखा यातायात प्रालिका अध्यक्ष नारायण खत्री, लमजुङ–कालिका यातायात प्रालिका अध्यक्ष कृष्णबहादुर अधिकारीलगायतको सहभागिता रहेको थियो ।

सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण सुरु

सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण सुरु

काठमाडौँ-जिल्ला प्रशासन कार्यालयले इ–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा थालनी गरेको छ ।

राहदानी विभाग काठमाडौँबाट पहिलोपटक १५६ सेवाग्राहीको इ–पासपोर्ट छापिएर आएपछि सो सेवा सुरु गरेको प्रमुख अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार तीन सेवाग्राहीलाई इ–पासपोर्ट प्रदान गरी कार्यक्रमको सुरुआत गरिएको हो ।

इ–पासपोर्ट छापिएर आएका अन्य सेवाग्राहीले पनि कार्यालयमा आएर आ–आफ्नो पासपोर्ट लिन सक्ने र आवेदन पेश भएको १५ दिनभित्र सेवाग्राहीलाई इ–पासपोर्ट वितरण उपलब्ध गराइने उहाँले बताउनुभयो ।

लामो समयसम्म प्रयोगमा रहेको हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लागू गरेको राहदानी विभागले करिब ११ वर्ष पछि इ–पासपोर्ट प्रयोगमा ल्याएको छ ।

विभागले दिने राहदानीमा विद्युतीय चाप हुने र यसमा सम्बन्धित व्यक्तिका विवरण समाविष्ट हुने कार्यालयले जनाएको छ ।

एमआरपीका तुलनामा इ–पासपोर्ट बढी विश्वसनीय र सुरक्षित हुने जनाइएको छ ।

जिल्लाबाटै सो सेवा पाइने भएपछि सेवाग्राहीलाई काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

साथै धेरै समय पर्खिनुपर्ने बाध्यता पनि हटेको छ ।

सर्लाहीबाट पनि इ–पासपोर्ट वितरण सुरु

एमसिसी र सत्ता गठबन्धन फरक विषय हुन्: प्रवक्ता डा महत

नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी अनुदान सहयोग एमसिसी र सत्ता गठनबन्धन फरक विषय भएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो “ कांग्रेसले एमसिसी सदनमा लगेर छलफल गरौँ भनेको हो । गठबन्धन टुट्नु पर्छ भनेको छैन । ”

उहाँले सत्ता गठबन्धन र एमसिसी फरक विषय भएकाले एमसिसीका कारण गठबन्धनमा समस्या नहुनेमा कांग्रेस विश्वस्त रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गठबन्धनको विषय एउटा हो एमसिसीको अर्को विषय हो । ” एमसिसीमा कुनै देशद्रोह नभएको उहाँले बताउनुभयो ।

प्रवक्ता डा महतले एमसिसी नेपालको हितमा रहेको जनाउँदै भन्नुभयो, “नेपालको सडक, विद्युत् ट्रान्समिसन लाइन बन्छ त्यो देश द्रोह हो ? संसद्मा पेश गरौँ, कमीकमजोरी भए आउँछन् । किन हिच्किचाहट भएको छ ?”

सभामुखले कुनै पनि विषयलाई रोकेर राख्ने अधिकार नभएको भन्दै उहाँले सार्वभौम संसद्को अधिकार हो भन्नुभयो ।

दलहरुका एमसिसी बारेको स्पष्ट धारणा आउनुपर्ने जनाउँदै उहाँले भन्नुभयो, “संसद्मा एमसिसीका पक्षमा मत हाल्ने हो कि नहाल्ने, बाहिर बस्ने हो कि, भित्र बस्ने ? निर्णय गर्नु प¥यो ।”

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसी पास गर्छु भनेर पत्र पठाएको स्मरण गराउँदै उहाँले भन्नुभयो, “प्रचण्डले एमसिसी पास गर्छाैं भने सिग्नेचर गरेका हैनन् र ?”

विगतमा केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि एमसिसी संसद्मा लैजान खोजिएको स्मरण गराउँदै प्रवक्ता डा महतले अहिले सत्ता बाहिर पुगेपछि कुरा नफेर्न एमालेसँग आग्रह गनुभयो ।

उहाँले भन्नुभयो, “ एमसिसीका बारेमा आज एउटा कुरा भोलि अर्काे कुरा । आज ठीक भोलि बेठीक । सत्तामा हुँदा ठीक नहुँदा बेठीक यस्तो पनि कुरा हुन्छ ?”

सत्ता साझेदार दलको बैठक आइतबार पुनः बस्ने

काठमाडौँ-अमेरिकी अनुदान सहयोग एमसिसी सम्झौता टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन सत्ता साझेदार दलको बैठक यही फागुन ८ गते आइतबार पुनः बस्ने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज बिहान बसेको सत्ता साझेदारका शीर्ष नेताको बैठक निष्र्कषमा नटुङ्गिएकाले पुनः छलफल गर्न आइतबार बिहान १० बजे बस्ने गरी आजको बैठक समाप्त भएको हो ।

आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसिसी सम्झौता संसद्मा टेबल गर्नेबारेमा सकारात्मक रुपमा छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

“सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले पर्सि हुने बैठकले साझा अवधारणा बनाउने गरी आजको बैठक समाप्त भएको छ”, उहाँले भन्नुभयो ।

बैठकमा प्रतिनिधिसभाको बैठक नियमित सञ्चालन गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षीको समेत रहेकाले हालको गतिरोध अन्त्यका लागि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको बारेमा जानकारी गराइएको मन्त्री कार्कीले बताउनुभयो ।

एमसिसी सम्झौता आजको संसद् बैठकमा टेबल गर्ने विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री कार्कीले कार्यव्यवस्था परामर्श समितिको आजको बैठकले निर्णय गर्ने छ भन्नुभयो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपालसहित सत्ता साझेदारका शीर्ष नेताको सहभागिता रहेको थियो ।

नेपाल प्रहरीमा तीन एआईजी दरबन्दी थप हुदै

काठमाडौँ-नेपाल प्रहरीमा तीन जना एआईजीको दरबन्दी थप हुने भएको छ ।

मन्त्रिपरिषद् बैठकले तीन जना एआईजी थप्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको जनपदतर्फ तीन जना एआईजी थप्ने निर्णय गरेको छ ।

प्रहरीको जनपदमा ५ जना एआईजीको दरबन्दी रहेकोमा तीन जना थपिएसँगै एआईजीको सङ्ख्या आठ पुग्नेछ ।

धितोपत्र बोर्डले पायाे नयाँ नेतृत्व

धितोपत्र बोर्डले पायाे नयाँ नेतृत्व

काठमाडौँ-लामो समय पश्चात नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको हो ।

मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

एनआरएन थाइल्यान्डका पूर्व अध्यक्ष समेत रहेका हमालले धितोपत्र बोर्डको समग्र सुधारको प्रतिज्ञा समेत गरेका छन् ।

धितोपत्र बोर्डका पुर्व अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्टको शेयरको भित्री कारोबारमा संलग्न रहेको पाइएसँगै सरकारले उनलाई गत असोजमा बर्खास्त गरेको थियो ।

ढुंगानाको बर्खास्तीसँगै लामो समय नेतृत्व विहिन बनेको धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ ।

धितोपत्र बोर्डले पायाे नयाँ नेतृत्व

६ जना सिडिओको सरुवा: नुवाकाेटमा नारायण रिसाल

गृह मन्त्रालयद्वारा ६ जना सिडिओको सरुवा

काठमाडौँ-सरकारले ६ जना सिडिओको सरुवा गरेको छ ।

गृह मन्त्रालयको बैठकले प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयले नुवाकाेटमा नारायणप्रसाद रिसाललाइ प्रजिअकाे जिम्मेवारीमा पठाएकाे छ । यस अघि रिसाल अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा प्रवक्ताकाे रुपमा कार्यरत हुनुहुन्थ्याे ।

रिसाल केहि समय अघि गृह मन्त्रालयमा सरुवा हुनु भएकाे थियाे । हाल नुवाकाेट जिल्लाकाे प्रजिअकाे जिम्मेवारीमा सरुवा हुनु भएकाे हाे ।

त्यसैगरी राम बहादुर शाहीलाई जाजरकोट पठाइएको छ ।

त्यहाँका प्रजिअ प्रेम प्रसाद देवकोटालाई बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।

देवकोटालाई बर्दिया सरुवा गरेसँगै त्यहाँ कार्यरत माधव थापालाई भक्तपुरको सहायकमा पठाइएको मन्त्रालय स्रोतले बताएको छ ।

साथै मन्त्रालयले युवराज कट्टेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

त्यहाँ कायम मुकायम रहेका जीवन प्रसाद दुलाललाई मन्त्रालय तानिएको छ ।

हुम्लाका प्रजिअ गणेश आचार्यलाई अध्यागमनमा सरुवा गरिएको छ ।

भक्तपुरकी सहायक परियारलाई मन्त्रालयले हुम्लाको सीडीओ बनाएर पठाएसँगै उनी दलित समुदायबाट सीडीओ बन्ने पहिलो महिला बनेकी छिन् ।

यसैगरी कृष्ण बहादुर खड्काको रुकुम पूर्व खटाइएको छ भने भक्तपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सीता परियारलाई हुम्लाको प्रजिअको जिम्मेवारी दिइएको छ ।

गृह मन्त्रालयद्वारा ६ जना सिडिओको सरुवा

काठमाडौँमा कुकर बम भेटियाे

काठमाडौँ-काठमाडौँमा कुकर बम भेटिएको छ ।

काठमाडौँकाे कल्कीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको हाे ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सडक पेटीमा दुई वटा कुकर बम फेला परेको जनकारी गराएकाे छ ।

नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।

एमसीसीको विरोधमा काठमाडौँमा केही दिनदेखि विरोधका विभिन्न कार्यक्रमहरू भइरहेका छन् ।

मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधवार नेपाल बन्दको आयोजना गरेका थिए।

रत्ननगर महोत्सव फागुन १५ देखि

कोरोनाका कारण स्थगन गरिएको रत्ननगर महोत्सव यही फागुन १५ गतेदेखि सञ्चालन हुने भएको छ ।

गत पुस २७ गतेदेखि सञ्चालन गर्ने भनिएको महोत्सव कोरोनाका कारण अन्तिम समयमा स्थगन गरिएको थियो ।

उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष अनिलकृष्ण श्रेष्ठका अनुसार स्थगन गरिएको महोत्सव फागुन १५ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागिएको हो ।

महोत्सवमा हुने चौथो चिकेन एण्ड एग फुड फेस्टिवल फागनु १६ देखि १९ गतेसम्म सञ्चालन हुने उहाँले बताउनुभयो ।

फुड फेस्टिवल सौराहा चोकमा हुने छ ।

महोत्सव उद्घाटनको अन्तिम तयारीमा पुगेको समयमा कोरोना महामारीका कारण स्थानीय प्रशासनले २५ जनाभन्दा बढी सहभागी हुने कार्यक्रममा रोक लगाएसँगै उद्घाटनको अघिल्लो दिन महोत्सव स्थगित भएको थियो ।

महोत्सवमा सबै संरचना त्यतिबेला नै बनाइएको थियो ।

बिग्रे–भत्केका संरचनालाई मर्मतसम्भार गरी महोत्सव गर्न लागिएको हो । महोत्सवमा ३५० कक्ष रहने छन् ।

महोत्सवमा कृषि उत्पादन र माछाको नयाँ प्रविधिलाई प्रथामिकता दिइने भएको छ ।

उद्योग वाणिज्य सङ्घ रत्ननगरको आयोजनामा हुन लागेको महोत्सवमा बृहत् व्यावसायिक कृषि प्रदर्शनी तथा प्रतियोगिता, ताजा तरकारी, थोपा सिँचाइ प्रविधि, केरा, च्याउ, दुग्धजन्य पदार्थ, पोल्ट्री, महसँगै यहाँ प्रवल सम्भावना भएका कृषि तथा पशुजन्य व्यवसायलाई विशेष जोड दिइने छ ।

मूल आयोजक समितिका संयोजक एवं सङ्घका अध्यक्ष श्रेष्ठले स्थानीयस्तरमा उत्पादित ताजा तरकारी, फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवं मल बीउबिजन महोत्सवमा प्रदर्शनको व्यवस्था गरिने जानकारी दिनुभयो ।

महोत्सव अवधिभर कृषिसँग सम्बन्धित विभिन्न गोष्ठी, अन्तक्र्रिया कार्यक्रम, चितवनको आर्थिक विकास र उन्नयनका लागि विशेष आर्थिक क्षेत्रको स्थापना तथा चुनौती विषयक छलफल गरिने उहाँले बताउनुभयो ।

महोत्सवमा माछापालनमा नयाँ वायोफलक प्रविधि प्रदर्शनी साथै माछापालन गर्ने तरिका तथा बजारीकरणको विषयलाई प्राथमिकतामा राखिएको छ ।

उहाँले भन्नुभयो, “माछापालन व्यवसायको पवद्र्धनका लागि महोत्सवमा माछाका भुराको प्रदर्शनी, अत्याधुनिक माछासहितको पोखरी, माछालाई आवश्यक पर्ने औषधि तथा दानाका स्टल चेतनामूलक सामग्री, श्रव्यदृश्य तथा गोष्ठी गरिने छ ।”

‘रत्ननगर महोत्सव हाम्रो पहिचान, व्यावसायिक कृषि र पर्यटन प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सव ११औँ संस्करण हो ।

विगत दुई दशकदेखि प्रत्येक दुई–दुई वर्षमा आयोजना हुने यस महोत्सवले समग्र जिल्ला तथा विशेषगरी पूर्वी चितवन र रत्ननगरको कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य विज्ञान, प्रविधि, कला, संस्कृति, व्यापार–व्यवसाय र अन्य आर्थिक महत्वका क्षेत्रको आधुनिकीकरण, वैज्ञानिक उत्पादन प्रणालीसँग अभिमुखीकरण गराउने प्रमुख उद्देश्य लिएको छ ।

बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठन

म्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले समयसापेक्ष रूपमा अध्यापन हुने विषयको दायरालाई बढाउँदै लगेको छ ।

क्याम्पसले पहिलोपटक स्नातक तहमा सेमेस्टर प्रणालीअन्तर्गत कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने तयारी गरेको हो ।

बिहीबार क्याम्पसमा आयोजित अन्तक्र्रिया कार्यक्रममा समय सुहाउँदो प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले जुनसुकै विषय लिएर प्लस टु उत्तीर्ण गरेका विद्यार्थीले अध्ययन गर्न सक्ने गरी स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषय (बिआइसिटीई)को अध्यापन गराउन लागिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्याम्पसले स्नातक तहमै शिक्षा सङ्कायमा विज्ञान विषयमा समेत अध्यापन गराउने भएको छ ।

जिल्लामा अत्यावश्यक र रोजागरको सम्भावना भएकाले कम्युटर र सूचना प्रविधि तथा विज्ञान विषयको अध्यापन गराउन लागिएको उहाँको भनाइ छ ।

अध्ययनका लागि कक्षा १२ मा न्यूनतम २.०१ ‘सी’ जिपिए प्राप्त र विज्ञान विषय लिएर पढेको वा विज्ञान सङ्कायमा अध्ययन गरेका विद्यार्थीले आवेदन दिनसक्ने क्याम्पसले जनाएको छ ।

स्थानतक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा धवलागिरिमै पहिलोपटक म्याग्दी क्याम्पसले अध्यापन गराउन लागेको क्याम्पसका निमित्त क्याम्पस प्रमुख श्रीधर सुवेदीले जानकारी दिनुभयो ।

यस वर्ष ३५ जनाको कोटा रहेकामा अहिलेसम्म १२ जना सम्पर्कमा आइसकेका र यही फागुन १० गतेसम्म नियमित तथा फागुन १५ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने उहाँले बताउनुभयो ।

अध्ययन गर्न आउने विद्यार्थीलाई सुविधासम्पन्न छात्राबास भएकाले रोजगारमा कार्यरत र बाहिर जिल्लाबाट अध्ययनका लागि आउनेले समेत आवेदन दिएर भर्ना हुन सक्नेछन् ।

आठ सेमेस्टरमा चारवर्षे शैक्षिक कार्यक्रममा विद्यार्थीलाई सैद्धान्तिक विषयसँगै प्रयोगात्मक अध्ययन अध्यापन गराइने क्याम्पसले जनाएको छ ।

विश्वविद्यालय अनुदान आयोगबाट (क्युएए) को प्रमाणपत्र प्राप्त क्याम्पसले यस अगाडि व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पठनपाठन गर्दै आएको छ भने शिक्षा र मानविकी विषयमा स्नातकोत्तर तहको पठनपाठन गराउने तयारीसमेत गरेको छ ।

क्याम्पस सञ्चालक समितिले क्याम्पसको भौतिक तथा शैक्षिक व्यवस्थापन र थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरी कार्यविधि बनाएर अघि बढेको सञ्चालक समितिका उपाध्यक्ष दिपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

विसं २०४८ पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल प्लस टु र स्नातक तहमा शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा स्नातकोत्तर तहको पढाइ हुँदै आइरहेको छ ।

यहाँ करिब एक हजार ३०० विद्यार्थी अध्ययनरत छन् ।

मन्त्रिपरिषद् बैठकद्वारा निरौला सचिवमा बढुवा

मन्त्रिपरिषद् बैठकद्वारा निरौला सचिवमा बढुवा

काठमाडौँ-मन्त्रिपरिषद् बैठकले सहसचिव मुकुन्द निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निरौलालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको मन्त्रालयस्रोतले सम्पति मासिकलाई बताएको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा माघ २५ गते मङ्गलवार बसेको बैठकले सचिव बढुवाका लागि पहिलो नम्बरमा सिफारिस गरेको थियो ।

पहिलो नम्बरमा सिफारिस गृह मन्त्रालयका सहसचिव निरौलालाई मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

सिफारिस समितिको बैठकले पहिलो नम्बरमा मुकुन्द प्रसाद निरौला, दोस्रो नम्बरमा विनोद प्रकाश सिंह र तेस्रो नम्बरमा गोपीकृष्ण खनालको नाम सिफारिस गरेको थियो ।

निराैला पुर्व सचिव टिका दत्त निराैलाका भतिज हुन् । उनि प्रशासन वृतमा डेमाेक्रेटिक प्रशासककाे रुपमा परिचित छन् ।

मन्त्रिपरिषद् बैठकद्वारा निरौला सचिवमा बढुवा