गठबन्धनको बैठकअघि सिंहदरबारमा तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडाैँ-सत्तारुढ दलका गठबन्धनको बैठक अगाडि सिंहदरबारमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

उहाँहरुबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदनलगायतका विषयमा परामर्श भएको थियो ।

बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनलाई जोगाएर एमसिसीलगायतका विषयलाई निष्कर्षमा लैजानेबारे कुराकानी भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाइएको छ ।

सोही बैठकको तयारीका लागि आफूहरुले छलफल गरेको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “हामी गठबन्धनलाई कसरी बचाउने र एमसिसीबारे कसरी निकास दिने भन्नेमा नै केन्द्रीत छौँ ।”

उहाँले पाँच दलको बैठकमा छलफल गरेर एउटा निष्कर्ष निकाल्नेमा नै जोड रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले आफूहरु गठबन्धनलाई जोगाएर अन्य विषयमा सहमति गराैँ भन्ने मनसायमा रहेको बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीको जिज्ञासामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेताहरुले धेरै बोलेर कुरा बिग्रेको भन्दै आफूले अहिले केही पनि नबोल्ने प्रतिक्रिया दिनुभयो ।

एमालेका केपी ओली पद्मा अर्याल सहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

एमालेका केपी ओली पद्मा अर्याल सहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं-नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।

झापास्थित गिरीबन्धु टी स्टेटको नाममा बिर्तामोड र अर्जुनधारामा रहेको करिब ३०० बिघा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गरेको भन्दै बिहीबार अनेरास्ववियुले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन भूमि व्यवस्थामन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता गराएको हो ।

यस्तै, स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको भन्दै सीसीएमसीका तत्कालीन संयोजक ईश्वर पोखरेल र तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध पनि उजुरी दर्ता गराएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

त्यस्तै, ‘भिजिट नेपाल २०२०’ मा विदेशीहरूलाई व्यापक रूपमा भित्र्याउने उद्देश्यले प्रचारप्रसारका लागि राज्यकोषको करोडौँ रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईविरुद्ध पनि उजुरी दर्ता गराएको उनले बताए ।

अनेरास्ववियुका तर्फबाट वाग्मती प्रदेश कमिटीका संयोजक दीपक बुढाथोकीले उजुरी दर्ता गराएका हुन् ।

एमालेका केपी ओली पद्मा अर्याल सहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

एमसिसी छिटो संसद्मा प्रवेश गराएर छलफल गरिनुपर्छ : सचेतक भुसाल

नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता यसअघिका सबै सरकारले प्रतिबद्धता जनाएर कार्यान्वयनका लागि अघि बढाएको विषय भएकाले सदनमा प्रस्तुत गर्ने विषयमा अलमल र दुविधा हुन नहुने बताउनुभएको छ ।

एमसिसीलाई कुनै पनि राजनीतिक दलले सत्तामा पुग्ने भर्‍याङ बनाउन नहुने बताउँदै उहाँले दुई देशबीचका वैदेशिक सम्बन्धदेखि आर्थिक सम्बन्धसँग जोडिएका विषय भएकाले छिटोभन्दा छिटो संसद्मा प्रवेश गराएर व्यापक छलफल गरिनुपर्छ भन्नुभयो ।

नेत्री भुसालले नेकपा(माओवादी केन्द्र), नेकपा(एमाले) र नेपाली कांग्रेसका यसअघिका सरकारले एमसिसीलाई स्पष्टसँग अघि बढाएको अवस्था रहेको स्मरण गर्दै एमाले सरकारले त संसद्बाट पारित गर्नुपर्छ प्रावधान नै राखेको घटना सुनाउनुभयो ।

उहाँले रासससँग भन्नुभयो, “एमसिसी यथाशीघ्र सदनमा प्रवेश गराएर धेरै छलफल गरियो भने उठेको प्रश्नबारे आमजनता स्पष्ट हुन्छन्, हाउसमा टेबल भएर छलफल भइसकेपछि चित्त नबुझ्नेले मतदान गर्न सक्दिन भन्न पाउँछ नि ।”

हाम्रो पार्टीले एमसिसी सदनमा प्रवेश गराएर व्यापक छलफल गर्नुपर्छ भनिरहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलका सचेतक उमाशङ्कर अरगरियाले नेपाल र नेपालीको हितमा रहेको एमसिसी सम्झौतालाई सदनमा छिटो प्रवेश गराई गहन छलफल हुन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “राजनीतिक दल र केही नेता विशेषमा मात्र सीमित नतुल्याएर यथाशीघ्र एमसिसीलाई छिटो सदनमा प्रवेश गराउनुपर्छ । यो नेपालको विकास र नेपालीको समृद्धिसँग सम्बन्धित विषय छ ।”

देउवा र र्यान्डी बेरीबीच गोप्यवार्ता

देउवा र र्यान्डी बेरीबीच गोप्यवार्ता

काठमाडौँ-नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी बीच भेटवार्ता भएको छ ।

बुधबार साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच गोप्यवार्ता भएको हो ।

भेटवार्तामा प्रधानमन्त्री र राजदूत बेरीबीच एमसीसी कार्यान्वयनका विषयमा छलफल मात्र भएको बालुवाटार श्रोतले दाबी गरेको छ ।

देउवा र र्यान्डी बेरीबीच गोप्यवार्ता

८६३ फर्म कारबाहीमा

काठमाडौँ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ ।

विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यका लगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो ।

अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु ८९ लाख ८० हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।

अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिनुभयो ।

उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिनुभयो ।

सात महिनाका अवधिमा विभागले ८६३ फर्मलाई जरिवाना, ८२३ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो ।

यस्तै, १६ फर्मबाट परीक्षण गर्न बस्तुको नमूना सङ्कलन, साधनसहित तीन प्रक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो ।

यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकोले रु २८ लाख ५५ हजार ३१८ बराबरको बस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो ।

विभागले सात महिनाको अवधिमा सबैभन्दा धेरै फार्मेसी पसलको अनुगमन भएको जनाएको छ ।

तथ्याङ्क अनुसार उक्त अवधिमा १०६ फार्मेसी पसलको अनुगमन गरिएकामा ३३ वटालाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।

यस्तै, ५३१ खाद्यान्न तथा किराना, १५६ कस्मेटिक तथा कपडा पसल, ८ स्टेशनरी पसल, ४८ अण्डा तथा मासु पसल, २८ मार्ट, २७ मदिरा तथा पेय पदार्थ, ५५ फलफूल तथा तरकारी पसल, ४९ दुग्धजन्य पदार्थ तथा बेकरी र ७५४ अन्य उद्योगको अनुगमन गरिएको थियो ।

विभागले नियमित रुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ ।

अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ५८ विद्यालय छनौट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ५८ विद्यालय छनौट

काठमाडौँ-राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत काभ्रे ५८ विद्यालय छनोट भएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अध्यक्षतामा यसै साताको बैठकले उक्त कार्यक्रममा देशभरका चार हजार १५७ मध्ये जिल्लाको ५८ विद्यालय छनोटमा परेको हुन् ।

छनोट गरिएकामा पनि १३ स्थानीय तहमध्ये सबैभन्दा बढी मण्डनदेउपुर नगरपालिकामा नौ विद्यालय परेका छन् ।

यस्तै शिक्षा मन्त्रालयका अनुसार अन्य स्थानीय तहमा बनेपा नपामा आठ, धुलिखेल नपामा पाँच, पनौती नपामा पाँच, नमोबुद्ध नपामा तीन, पाँचखाल नपामा तीन तथा बेथानचोक गाउँपालिकामा चार, भुम्लुमा दुई, खानीखोलामा तीन, रोशीमा तीन, चौँरीदेउरालीमा पाँच र तेमालमा सात विद्यालय छनोटमा परेका हुन् । काभ्रेपलाञ्चोकमा ५०० भन्दाबढी विद्यालय छन् ।

छनोटमा परेका विद्यालयमा एक कम्प्युटर ल्याब, एक बाली विज्ञान, एक कम्प्युटर विज्ञानलगायत आइसिटी ल्याब व्यवस्थापन गरिने जनाइएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार यस कार्यक्रमअन्र्तत वाग्मती प्रदेशका १४ जिल्लामा भने विद्यालय भवन निर्माणका लागि हाल बजेट विनियोजन गरिएको छैन ।

सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु सात अर्ब ८५ करोड ५१ लाख रकम छुट्याएको छ ।

मन्त्रालयका अनुसार कार्यक्रमका लागि देशरभरका ७३७ स्थानीय तहबाट १३ हजार ४७३ विद्यालयले भवन निर्माण, आइसिटी ल्याब, तथा प्राविधिक विद्यालय व्यवस्थापन र घेराबार गरी खेलमैदान निर्माणका लागि प्रस्ताव पठाएका थिए ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम: ५८ विद्यालय छनौट

एमसिसीबारे सत्ता गठबन्धनको बैठक बस्दै

एमसिसीबारे सत्ता गठबन्धनको बैठक बस्दै

संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी)लगायत विषयमा छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक बस्दैछ ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा आज अपराह्न ५ बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिनुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सत्तारुढ दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरु सहभागी हुनुहुनेछ ।

बैठकमा यही फागुन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीसम्बन्धी प्रस्ताव टेबल गर्नका लागि साझा धारणा बनाउनेलगायतका विषयमा छलफल हुने बताइएको छ ।

संसद्को बुधबारको बैठकमा सो प्रस्ताव टेबल गर्ने सरकारको तयारी भए पनि सत्तारुढ दलबीच सहमति नभएपछि टेबल गरिएको थिएन ।

एमसिसीबारे सत्ता गठबन्धनको बैठक बस्दै

स्थानीय निर्वाचनका लागि दल दर्ता सुरु

स्थानीय निर्वाचनका लागि दल दर्ता सुरु

काठमाडौँ-स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले दल दर्ता सुरु गरेकाे छ ।

आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो ।

वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यपालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

फागुन ५ देखि फागुन १५ गतेसम्म कार्यालय समयभित्र आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन सकिने उनले बताए ।

सरकारले वैशाख ३० गते एकै चरणमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको थियो ।

स्थानीय तहको मितिविरुद्ध सर्वोच्चमा रिट परेको थियो र उक्त मुद्दा दरपिठ भएको थियो ।

तर सर्वोच्चले निर्वाचन मितिविरुद्ध परेको रिट दर्ता गर्न बुधवार आदेश दिएको छ ।

स्थानीय निर्वाचनका लागि दल दर्ता सुरु

फूलपाती विसर्जन गरी स्वस्थानी व्रत समापन

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको एक महिने स्वस्थानी व्रत बुधबार रातभर जाग्राम बसी आज बिहान पवित्रस्थलमा फूलपाती विसर्जन गरेर समापन गरिएको छ ।

पौष शुक्ल पूर्णिमादेखि नै सुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम समापन गरी बर्तालु रातभर जाग्राम बसेका थिए ।

जाग्रामपछि आज बिहान एक महिनासम्म स्वस्थानी देवीलाई चढाइएको फूलपाती नजिकको नदी, ताल, तलाउ वा पोखरीमा लगी सेलाउने व्रत विधि छ ।

विधिपूर्वक एक महिने व्रत गरेका बर्तालुले माघ शुक्ल पूर्णिमाका दिन शनिबार १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फुल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।

चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवं मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने व्रत विधि छ ।

आफू बसेको स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो ।

उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थानअर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।

यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ ।

सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनिन्छ ।

स्वस्थानीका चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन् भनी व्रतकथामा उल्लेख गरिएको छ ।

बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास

यस्ती देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनर्मिलन हुन्छ भन्ने विश्वास छ ।

रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।

सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ । व्रतपछि बिछोडमा परेका नाग नागिनीको समेत पुनर्मिलन भएको कथामा उल्लेख छ ।

गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधिअनुसार गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठ ‘सक्व’ ले जानकारी दिनुभयो ।

उपत्यकाको पूर्वी भेगस्थित शालीनदीमा पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत पनि आज बिहान स्नानलगायत कर्म गरी समापनको तयारी गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । यस वर्ष १२५ बर्तालुले माधवनारायणको व्रत गरेका थिए ।

सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै

टीकापुर-कैलालीकी झरना जैसीको परिवारसँग जति सम्पत्ति छ सबै उहाँकै नाममा छ ।

झरनाको जग्गा, घर सबै उहाँको नाममा छ ।

झरनाका श्रीमान् रोजगारीका सिलसिलामा भारतमा बस्नुहुन्छ । भारतमा कमाएको कमाइ झरनाकै नाममा आउँछ ।

झरनाले घर चलाउने देखि लिएर अन्य सबै काम गर्नुहुन्छ तर सम्पत्ति किनबेच गर्दा श्रीमान्कै निर्णय अन्तिम हुन्छ ।

“मेरो नाममा सबै सम्पत्ति छ, तर किनबेच गर्ने काम श्रीमान्ले गर्नुहुन्छ”, झरनाले भन्नुभयो, “खर्चको सबै हरहिसाब पनि उहाँलाई बुझाउनुपर्छ, मैले सबै हिसाब लेखेर राख्छु, श्रीमान् घर आएको बेला देखाउँछु ।”

झरनाजस्तै टीकापुर नगरपालिका–४ की प्रेमरानी चौधरीको पनि घर यसरी नै चल्छ । प्रेमरानीको एक कट्ठा मात्रै जमिन छ त्यो पनि उहाँकै नाममा छ ।

श्रीमान्ले कमाउने तर घर चलाउने जिम्मा प्रेमरानीकै काँधमा छ ।

प्रेमरानीले सबै हरहिसाब श्रीमान्लाई दिनुहुन्छ तर उहाँका श्रीमान्ले भने कहिल्यै प्रश्न गर्नुभएको छैन ।

“श्रीमान् हाम्रो खर्च चलाउनका लागि काम गर्नुहुन्छ, उहाँको विश्वासका लागि म हिसाब त दिन्छु तर कहिल्यै अविश्वास गर्नुभएको छैन”, प्रेमरानीले भन्नुभयो, “घर व्यवस्थापन मैले गर्ने भएकाले पनि सबै कारोबार मैले नै गर्छु ।”

टीकापुरकै रविना चौधरीको घरमा भने सबै सम्पत्ति घरमूली ससुराका नाममा छ । रविनाका श्रीमान् सवारी चालक हुनुहुन्छ ।

सबैले कमाएको सम्पत्ति ससुराको हातमा भए पनि सम्पत्ति जोड्दा, बिक्री गर्दा वा कुनै नयाँ काम गर्दा सबैबीच सल्लाह हुन्छ ।

“पहिलेदेखि नै भएको जग्गा ससुराका नाममा छ, हामीले कमाएको सबै रकम ससुरा राख्नुहुन्छ”, रविनाले भन्नुभयो, “हामी किनबेच गर्दा सल्लाह गर्छौं, घरमा पालेका कुखुरा बेच्दा पनि घरमा भएकाबीच सल्लाह हुन्छ, सबैको सहमतिमा काम गर्छौं ।”

रविनाका घरमा सल्लाहमा काम हुने भएकाले परिवार मिलेको छ । आर्थिक स्वामित्व महिलाका नाममा नहुँदा महिला हिंसामा पर्ने गरेका धेरै घटना सुनिन्छन् ।

त्यसैले बराबरी अधिकार स्थापित होस् भनी सरकारले महिलाका नाममा घरजग्गा खरिद गर्दा नामसारीका लागि लाग्ने शुल्कमा २५ छुट दिने गरेको छ । त्यसले महिलाका नाममा सम्पत्ति थपिँदै गएको छ ।

मालपोत कार्यालय टीकापुरमा चालु आर्थिक वर्षको पुस महिनासम्म दुई हजार ९०५ लिखत पारित भएकामा एक हजार ४७ लिखत महिलाका नाममा पारित भएका छन् ।

मालपोतको तथ्याङ्क हेर्दा रु एक करोड पाँच लाख १४ हजार ५३५ महिलाका नाममा रजिष्टे«सन गर्दा छुट पाइएको छ ।

महिलाका नाममा रजिष्ट्रेसन हुने जग्गा कारोबार हेर्दा प्रतिशतका हिसाबले ३६ प्रतिशत पुगेको मालपोत कार्यालयका नायब सुब्बा सर्वनन्द चपाईले बताउनुभयो ।

“२५ प्रतिशत छुट पाउने भएपछि महिलाका नाममा रजिष्ट्रेसन गर्ने परिवार बढ्दै गएका छन्”, चपाईले भन्नुभयो, “जसले करोड बढी रकम छुट पाइएको छ, यो सरकारले दिएको अधिकार महिलाका नाममा सम्पत्ति बढेमा महिला आर्थिकरुपमा सबल हुन्छन् भनेर हो, यसको सकारात्मक प्रभाव बढ्दै गएको छ ।”

समाज रुपान्तरण हुँदै गएको छ । चेतनाको विकास भएका र सरकारी नीतिबारे जानकारी पाएकामा रकम छुट पाइने हुँदा महिलाका नाममा सम्पत्ति दर्ता हुने क्रम बढेको अधिकारकर्मी चन्द्रावती शर्मा बताउनुहुन्छ ।

“महिला र पुरुष समान हुन्, समान भए पनि हाम्रो समाजमा महिलालाई पुरुषभन्दा कमजोर छन् भने चित्रण गरिएको छ”, शर्मा भन्नुहुन्छ,

“पुरुषभन्दा महिला कमजोर वा घर व्यवस्थापनको जिम्मा बढी दिइँदा सम्पत्तिमा महिलाको अधिकार स्थापित हुन नसकेको हो, तर पछिल्लो समय सम्पत्तिमा महिलाको अधिकार स्थापित गराउन सरकारले नीतिगतरुपमै अभियान चालेपछि सम्पत्तिमा महिलाको स्वामित्व बढ्दै गएको देखिन्छ ।”

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं-एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका र प्रहरीबीच झडप भएको छ ।

काठमाडौंको नयाँबानेश्वर क्षेत्रमा झडपकाे कारण तनावको स्थिति श्रृजना भएकाे छ ।

झडपमा वाईसीएल संयोजक सुमन देवकोटा घाइते भएका छन् ।

प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर भ्यानमा कोचेको छ ।

प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरासमेत प्रयोग गरेको छ ।

केही प्रदर्शनकारी संसद भवनको एक नम्बर गेट (सिभिल अस्पतालतर्फको गेट)सम्मै पुगेका थिए । ती प्रदर्शनकारीलाई प्रहरीले हटाएको छ ।

प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरीले पानीको फोहोरा प्रयोग गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भएको भेटवार्तामा आजको संसद बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको छ ।

भोलि दिउँसो सत्ता गठबन्धनका नेताहरुको बैठक बसेर एमसीसीबारे निर्णय गर्ने बताइएको छ ।

सभामुख अग्नि सापकोटाले पनि दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् ।

एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनावग्रस्त

पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन

पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन

काठमाडौँ-सामुदायिक विद्यालयका शिक्षकहरुलाई विद्यालय समयमा पढाउन छाडेर आयोगको तयारी नगर्न निर्देशन जारी भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सामुदायिक विद्यालयका शिक्षकहरुलाई उक्त निर्देशन जारी गरेको हो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले विद्यालय समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने गरेको गुनासो आएको भन्दै उक्त कार्य नगर्न निर्देशन दिएका हुन् ।

यदि त्यस्तो गरिएमा शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को प्रावधान विपरीत भई विभागीय सजाय आकर्षित हुनेसमेत केन्द्रले चेतावनी दिएको छ ।

स्थानीय तहमार्फत सबै शिक्षकहरुलाई निर्देशन दिन र इकाई मार्फत नियमित अनुगमनको व्यवस्था समेत मिलाउनसमेत केन्द्रले अनुरोध गरेको छ ।

पढाउन छाडेर आयोगको तयारी नगर्न शिक्षकलाई निर्देशन

चितवनमा सात महिनामा ३० जना बेपत्ता

चितवनमा सात महिनामा ३० जना बेपत्ता

जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन् ।

प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन् ।

सम्पर्कमा नआउनेमा १३ महिला, १२ पुरुष, एक बालक, तीन बालिका र एक ज्येष्ठ नागरिक छन् ।

गत आर्थिक वर्षमा १३ महिला, २७ पुरुष, दुई बालिका र तीन ज्येष्ठ नागरिक बेपत्ता थिए ।

फेला नपर्नेहरू साथीको घर जान्छु भनेर, स्कुलबाट घर नफर्किएर, बजार गएर आउँछु भनेर घरबाट निस्किएका बढी मात्रामा रहेको उहाँले जानकारी दिनुभयो ।

चालु आवको माघसम्ममा १०६ महिला, ८३ पुरुष, १६ बालक, ४८ बालिका र १७ ज्येष्ठ नागरिक हराएका थिए ।

उनीहरुमध्ये ९३ महिला, ७१ पुरुष, १५ बालक, ४५ बालिका र १६ ज्येष्ठ नागरिक परिवारको सम्पर्कमा आएका छन् ।

परिवारको सम्पर्कमा नआएकाको खोजी भइरहेको नरालले बताउनुभयो ।

कार्यालयको महिला सेलमा घरेलु हिंसाका घटना बढ्दो क्रममा रहेका छन् ।

चालु आवको सात महिनामा २६१ घरेलु हिंसाका घटना भएका छन् ।

खान लाउन नदिएको ६८, कुटपिटका १२६ र गाली बेइज्जतीका ६७ वटा छन् ।

नरालका अनुसार गत आवमा घरेलु हिंसाका घटना १५४ दर्ता भएका थिए ।

आव २०७६/७७ मा ८४ वटा घरेलु हिंसाका निवेदन दर्ता भएको उहाँले जानकारी दिनुभयो ।

हरेक वर्ष जिल्लामा घरेलु हिंसाका घटना बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

कार्यालयको तथ्याङ्कानुसार यस आवमा परेका निवेदनमध्ये १८१ वटा मिलापत्र भएको छ भने ५४ वटा निवेदन अदालतमा दर्ता भएको र २४ वटा निवेदन छलफलका क्रममा छन् ।

चितवनमा सात महिनामा ३० जना बेपत्ता

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि यही फागुन ११ गतेदेखि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४१ हजार ४३७ कित्ता सामूहिक लगानी कोषलाई र जारी पुँजी (रु २५ करोड ५०लाख)को शुन्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार ७५० कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ७४ हजार ५६३ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ ।

सर्वसाधारणले फागुन १५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् र सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए आगामी फागुन २५ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोशेयर’ प्रयोग गरेर पनि शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।

अधिकृत पुँजी रु ५० करोड र हालको जारी पुँजी रु २५ करोड ५० लाख तथा चुक्तापुँजी रु १७ करोड २१ लाख २५ हजार रहेको कम्पनीले सर्वसाधारणलाई खरिदका लागि खुला गरेको साधारण शेयरको बाँडफाँटपश्चात् यसको चुक्ता पँुजी रु २५ करोड ५० लाख पुग्नेछ ।

धितोपत्रको सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ ।

रेटिङअनुसार कम्पनीको हालको अवस्था वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने बुझिन्छ ।

आइपिओ जारी गर्दै नेष्डो समृद्ध लघुवित्त

दसै खर्च सम्म माग्ने सचिब सिंह भौतिक ताक्दै-कर्मचारी आतंकित

दसै खर्च सम्म माग्ने सचिब सिंह भौतिक ताक्दै-कर्मचारी आतंकित

काठमाडौँ—नेपाल सरकारका सचिव रमेश प्रसाद सिंह निजामती प्रशासन बृतमा निकै बदनामी कमाएका सचिव हुन् ।

शहरी बिकाश तथा भवन निर्माण बिभागमा हुदा यिनले गरेको चलखेल तथा कमाएको अमुत सम्पती बारे कुरा गर्दा अहिले पनि प्रशासनका कर्मचारी उनको फेहरिस्त सुनाउने गर्दछन् ।

उनको यि यावत् हर्कत भने त्यस बेलाका शहरी बिकाश मन्त्रि प्रभु साहबाट प्रेरित भएर गरेका थिए ।

उनको ति क्रियाकलाप राम कुमारी झाक्री मन्त्री भएर उक्त मन्त्रालयमा गएसँगै रोकिन पुगेको थियो ।

मन्त्री झाक्रीले उनको स्वइच्क्षाचारी कार्यमा नियन्त्रण गर्न थालेपछी उनले कार्यलय तथा मन्त्रालय मार्फत हुने कार्यसम्पादनमा असहयोग गरेर रुकावट पैदा गर्न थाले ।

तत् पश्चात उनलाई नियन्त्रण गर्न मन्त्रालयले सरुवा गरेर अतिरिक्त सचिवको रुपमा राख्न बाध्य भएको थियो ।

यो बीचमा यिनको मनपरीतन्त्रले आजित भएका कर्मचारीलाई केही समयदेखी राहत भने मिलेको छ ।

अहिले उठाउने धन्धा नभएपछि पानी बिनाको माछा जस्तै बन्न पुगेका सचिब सिह नेताहरूको घरदैलो गर्न थालेका छन् ।

जहाँ पुग्यो त्यहीँ उठाउने धन्धामा सक्रियता देखाउने उनले आफन्तहरुको नाममा दर्ता गरेका परामर्श कम्पनीहरु खडा गरेर मन्त्रालयका कामहरु कब्जा नै गरेका थिए ।

गत दसैंमा रातिराती सहरी बिकास मन्त्रालय अन्तर्गतका आयोजनाहरुका प्रमुखलाई फोन गरेर दसैं खर्च समेत छोडेन भन्ने सन्दर्भ यतिबेला भौतिक भित्र अहिले पनि चर्चामा आउने गरेको छ ।

उनि फेरी भैतिकमै फर्कन नेताको घरदैलो गर्न थालेको खबरले धेरै कर्मचारी आतंकित भएको समाचार श्रोतले बताएको छ ।

अहिले सचिब सिंह फेरी अतिरिक्तबाट भौतिक पुर्वाधार मन्त्रालय ताकेर मन्त्रीका आफन्त र पार्टी अध्यक्ष उपेन्द्र यादबलाई चुनाव खर्च उठाइदिन्छु मलाई लैजानोस भन्दै नेताहरूको घर दैलो गरेको बिषय मन्त्री निकट कतिपयले निको मानेका पनि छैनन ।

रकम बोकेर भौतिक भित्र्याउन लागेकाहरु पनि पात्रको अतित हेर्दा कहिले प्रभु साह त कहिले राजेन्द्र महत्तो जो सँग पनि सजिलै रङ्ग फेर्ने कलामा निपुण उनलाई रकमकै लोभमा बोक्न बाध्य भएको बुझिन्छ ।

उनलाई नजिक बाटै नियालेका जानकारहरु भने उनलाई जगेडा मै राख्दा हितकर हुने बताउछन् ।

शहरी विकास मन्त्रालय अन्र्तगतका निकायहरुमा बस्दा रकम असुलेर त्यो रकमको बलमा सहरी मन्त्रालयको सचिबमा छिरेका सिंह अहिले फेरी पाए भौतिक त्यसपछि उर्जा त्यो पनि नभए सिचाइमा फर्कने दाउपेचमा छन् ।

उनको उक्त क्रियाकलाप सँगै उक्त कार्यलयका कर्मचारी आतंकित मनस्थितिमा रहेको बुझिएको छ ।

उनी जान खोज्ने कार्यालय आफै फेरी बदनाम हुने आम कर्मचारीको चिन्ताको बिषय भएको देखिएको छ ।

सेटिङ्ग,कमिसन तथा आफ्नो अख्तियारीको दुरुपयोग गर्नेको सुचिको पहिलो नम्बरमा सुचिकृत सचिव सिंहको ओम्नी लगायतका बिवादास्पद कम्पनीसँग सोझै साठगाठ रहेको समाचार स्रोतको दावी रहेको छ ।

यस्तो बिवादास्पद छवि बोकेका सचिव सिंहलाई महत्वपुर्ण जिम्मेवारी दिईएमा उनको कुकृत्यका कारण राज्यले दिर्घकालिन समस्या भोग्ने जन प्रशासनका जानकारहरुले बताएका छन् ।

दसै खर्च सम्म माग्ने सचिब सिंह भौतिक ताक्दै-कर्मचारी आतंकित