यस वर्षको महामुर्ख योजना आयोगका उपाध्यक्ष

जनकपुरधाममा प्रसिद्ध महामुर्ख सम्मेलनबाट यस वर्षको महामुर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको छ ।

होली पर्वका अवसरमा मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष दिँदै आएको ‘महामुर्ख’ को उपाधि यस वर्ष डा झालाई प्रदान गरिएको हो ।

त्यसैगरी प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशङ्ख, नेपाल पत्रकार महासङ्घ धनुषा शाखा अध्यक्ष मनिका झालाई दिलतोरियाको उपाधि दिइएको छ ।

यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शङ्ख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई सुरुआत गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझ्क्कड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दनको उपाधि दिइएको छ ।

उपाधि मधेस सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, मिनापका अध्यक्ष परमेश झा लगायतले हस्तान्तरण गर्नुभयो ।

दुई सचिवको सरुवा: सिंह फेरी शहरीमा

काठमाडौँ-बिभिन्न दाउपेच गरेर सचिव रमेश कुमार सिंह पुन: शहरी विकास मन्त्रालयमा सरुवा भएका छन् ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले सचिव रमेश कुमार सिंहलाई शहरी विकास मन्त्रालयमा पठाउने गरी शहरी विकासका सचिव मणि राम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानेको छ ।

मणि राम गेलाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तान्दै मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव रमेश कुमार सिंहलाई शहरी विकास मन्त्रालयमा पठाउने निर्णय भएको हो ।

मनपरी योजना हालेकोदेखि विभागीय मन्त्रीलाई समेत नसोधी एकलौटी निर्णय गरेपछि मन्त्री रामकुमारी झाँक्रीले उनको सरुवा गरेकी थिइन् ।

त्यसयता भौतिक भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय जान चलखेल गर्दै मन्त्री तथा नेताको घरदैलोमा लगेका सिंह अन्तिममा शहरी विकासमा फर्कन सफल भएका छन् ।

सिंह तेस्रो पटक शहरी सचिवमा फर्किएका हुन् । कर्मचारीदेखि कन्सल्टेन्सीसम्मै ‘सेटिङ’मा काम गर्ने सचिव सिंह विभागमा कार्यरत रहदा देखि नै आफ्नो स्वार्थ अनुकुल अख्तियारको प्रयोग गर्ने बदनाम प्राप्त सचिव हुन् ।

आफ्नै लगानीमा यिनले दर्जनौ कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । करारमा कर्मचारी भर्ना होस् कि उपत्यका विकास प्राधिकरणमा गरिएका नियुक्ति नै किन नहोस्, उनका कैयन् कैफियतबारे सम्बन्धित निकायको मौनतालाई पनि अर्थपूर्ण रूपमा हेरिएको मन्त्रालय स्रोत बताउँछ ।

अघिल्लो सरकारमा प्रधानमन्त्री ओलीलाई रिझाउन उद्घाटनकै लागि अनेक योजना थपेका सचिव सिंहले गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठुलो आर्थिक चलखेल गरेको पाईएको छ । ठुलो आर्थिक चलखेल गरिएको गोदावरी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माण सम्पन्न नहुँदै उद्घाटन गराउँदा केही दिनमै पानी चुहिएको थियो ।

प्रधानमन्त्री कार्यालयमा रहेको बेला फुर्सदको समयलाई चाकडीमा उपयोग गरेका सचिव सिंह शहरीमा फर्किएका छन् ।

राजनीति दुई ध्रुवमा विभाजन

नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एउटा ध्रुवको नेतृत्व एमाले र अर्काे ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताउनुभयो ।

उहाँले अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै भन्नुभयो, “केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ ।”

अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उहाँको भनाइ छ ।

स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको भन्दै उहाँले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाउनुभयो ।

निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै उहाँले भन्नुभयो, “सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन ।”

सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको आरोप लगाउँदै उहाँले भन्नुभयो, “संवैधानिक निकाय राजनीतिकको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा हो ।”

नेकपा (एमाले) ले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको उल्लेख गर्दै उहाँले मान्यता पाएका कुनै पनि दलसँग ठाउँ विशेषमा गठबन्धन गर्न पार्टीलाई आपत्ति नरहेको बताउनुभयो ।

नेपालबाट हराएका दुई मूर्ति बेलायत प्रहरीद्वारा फिर्ता

लन्डन नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ ।

नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो ।

सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो ।

यसैगरी १८औँ शताब्दीतिर कुँदिएको घुँडा टेकेर नमस्ते मुद्रामा रहेको ढुङ्गाको मूर्ति काठमाडौँको ओमबहालस्थित मञ्जुश्री मन्दिरबाट हराएको थियो ।

गृह मन्त्रालय र सुरक्षा निकायको सहयोगमा ती मूर्ति तिनका वास्तविक हकदारलाई फिर्ता गर्ने बेलायती सरकारको नीतिअनुसार हराएका मूर्ति पुनःप्राप्त गरी नेपाललाई हस्तान्तरण गरिएको हो ।

मूर्ति हस्तान्तरण समारोहमा राजदूत आचार्यले बेलायत सरकार तथा प्रहरीलाई नेपाल सरकारको तर्फबाट कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोगको अपेक्षा रहेको दूतावासले जनाएको छ ।

बेलायत प्रहरीका तर्फबाट आफ्नो भनाइ राख्दै डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले बरामद गरिएका प्राचीन सामग्री फिर्ता गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

हस्तान्तरण गरिएका मूर्ति चाँडै नै नेपालको पुरातत्व विभाग पठाउने व्यवस्था मिलाइने राजदूत आचार्यले जानकारी गराएको नियोग उपप्रमुख रोशनी खनालले बताउनुभयो ।

ग्लास्गो युनिभर्सिटीमा अपराध विज्ञानकी प्राध्यापक डा इमिलिन स्मिथले नेपाललाई सांस्कृतिक वस्तु फिर्ता गर्ने कार्यमा संलग्न हुन पाएकामा गर्व लागेको बताउनुभयो ।

महानिर्देशक भट्टराईविरुद्ध अख्तियारमा उजुरी

काठमाडौँ-औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

औषधि आयात तथा खरिदमा अख्तियार दुरुपयोग गरेको भन्दै महानिर्देशक भट्टराईविरुद्ध उजुरी परेको हो।

गुणस्तरहीन भारतीय लाइफ सेभिङ ड्रग्सलाई नेपाल ल्याउन करोडौँ रुपैयाँको लेनदेनगरी जनस्वास्थयमा सम्झैता गर्दै भ्रष्टाचार गरिएको उजुरी पत्रमा उल्लेख गरिएको छ ।

पार्थ फर्माका सचिन खण्डेवालसँग मिलेमतोमा गुणस्तर हिन औषधी नेपाल ल्याएर आईसीयूमा रहेका बिरामीहरुको जनस्वास्थ्यमा गम्भीर घात गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो ।

गत फागुन २७ गते सी–०३१२३१ नं।मा दर्ता भएको उजुरीमा गुणस्तरीय औषधि सेवन गर्न पाउने नेपालीहरुको नैसर्गिक अधिकारको रक्षा गर्ने औषधि व्यवस्था विभागका प्रमुख नै सो विपरीत कमसल औषधि आयात गर्न पार्थ फर्माका खण्डेवालसँग आर्थिक प्रभावमा परेर कार्य गर्दै आएको भनी अख्तियारमा उजुरी परेको हो ।

अख्तियारमा परेको उजुरीमा विभागका महानिर्देशक भट्टराईले ग्लोबल ट्रेड एग्जिम प्रा.लि., ब्राइट फर्चुन प्रा.लि., आर.एस.पी. ट्रेडिङ्ग प्रा.लि., आदित्य इन्टरनेशनल प्रा.लि., राजेश मेडिट्रेड प्रा.लि. तथा विमक्रिस इन्टरनेशनल प्रा.लि.लगायतका दर्जनौँ कम्पनीमार्फत औषधि आयातको काम गर्दै आइरहेका वीरगञ्जका महानगरपालिका– १० आदर्शनगरका औषधि व्यवसायी सचिन खण्डेवालबाट करोडौँको नजराना बुझ्दै नेपाली औषधि बजारमा गर्दै आइरहेका चलखेलका कारण नेपाली औषधि बजारमा गुणस्तरहीन औषधि छ्यापछ्यापती भित्रिनुको अलावा भेनस रेम्डिज लिमिटेड नामक भारतीय औषधि उत्पादक कम्पनीबाट स्पोरिम कार्बोपेनम ग्रुपका औषधि डेडिकेटेड फ्याकल्टीबाट उत्पादन नगरी दुवै औषधि एकै फ्याकल्टीमा उत्पादन भएका औषधि समेत निर्बाध रुपमा नेपालमा आयात गर्ने व्यवस्था मिलाएका भनिएको छ ।

यसरी उत्पादन भएका औषधिको प्रयोग सघन उपचार केन्द्रमा उपचार हुँदै आएको र यसले बिरामीको रोग निको पार्नेभन्दा पनि व्यवसायीलाई धनी बनाउनेबाहेक रोगीको उपचारमा कुनै सुधार नगरेको पाइएको छ’, उजुरीमा भनिएको छ ।

औषधि व्यवसायी खण्डेवालको यस्तै कामकारबाहीको विषयमा विभिन्न पत्रपत्रिकामा समाचार प्रकाशित भएसँगै खण्डेवाल प्रकरणसँगै जोडिएको सम्पूर्ण फाइल वरिष्ठ औषधि व्यवस्थापक एवम् सूचना अधिकारीको मात्र पहुँचमा रहने गरी महानिर्देशक भट्टराईले गोप्य राख्दै आएको समेत उजुरीमा भनिएको छ ।

महानिर्देशक भट्टराईले जसरी हुन्छ औषधि व्यवसायी खण्डेवाललाई चोख्याउनु र उनीबाट बुझेका करोडौँका नजराना हजम पार्न विभागीय स्वास्थ्य सचिव डा.रोशन पोखरेल तथा खण्डेवाल नेकपा एस पार्टीको शुभचिन्तक भएका कारण यस प्रकरणमा विभागीय मन्त्री विरोध खतिवडा समेतको मौन समर्थन लिने गरेको उजुरीमा भनिएको छ ।

अख्तियारमा दर्ता भएको उजुरीमा त्यस्तै यिनै औषधि व्यवसायी खण्डेवाल आयातकर्ता रहेको एसिया बायोटेक नामक भारतीय कम्पनीको तर्फबाट नेपालमा आयात हुने औषधिमा देखिएको कैफियत र खण्डेवालले औषधि उत्पादक कम्पनीको तर्फबाट प्रस्तुत औषधि उत्पादनको लागि आवश्यक असल उत्पादन अभ्यासको प्रमाण पत्र अर्थात् जीएमपी प्रमाणपत्र समेत नक्कली पेश गरेका कारण दुई पटक अडिट फेल भए पनि महानिर्देशक भरत भट्टराईले उक्त कम्पनीको औषधि समेत निर्बाधरुपमा नेपाल आयात गर्न अनुमति दिएको भनिएको छ ।

साथै औषधि बजारमा महानिर्देशक भरत भट्टराई र व्यवसायी खण्डेवालको बढ्दो चोचोमोचोका कारण संविधान प्रदत्त मौलिक हकअनुसार नेपाली जनताले स्वस्थ्य र गुणस्तरीय औषधि सेवन गर्न पाउने हकाधिकारबाट समेत वञ्चित भएको अवस्था छ ।

त्यस्तै आफ्ना काला कर्तुतका विषयमा सञ्चारमाध्यमा समाचार प्रकाशित भएसँगै महानिर्देशक भट्टराईले विभागमा कर्मचारी सरुवा आतंक मच्याउँदै भ्रष्ट छविको ताण्डव गर्दै आइरहेका छन् ।

साथै खण्डेवालजस्ता कुख्यात औषधि व्यवसायीको र नेपाली औषधि उद्यमी समेतबाट प्रतिकम्पनी १० लाख नजराना लिँदै महानिर्देशक भरत भट्टराईले ललितपुरको इमाडोलमा एक सरकारी कर्मचारीको आम्दानीले नभ्याउने घरघडेरी समेत जोडेको उजुरीमा आरोप लगाइएको छ ।

अतिरिक्त समूहमा रहेका उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौँ-सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

मन्त्रालयले ३० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेसँगै महिना दिन अघि बढुवा भएका उपसचिवहरुको पदस्थापन भएको छ।

अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई सङ्घ, प्रदेश तथा स्थानीय तहमा सरुवा गरिएको हो ।

बगरको कर तिर्दै बगरफाँटवासी

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटवासीले २०५७ सालमा म्याग्दी नदीमा आएको बाढीले कटान गरेर बगाएको ३६ रोपनी जग्गाको कर तिर्दै आएका छन् ।

बगरफाँटस्थित ढलेबगरको विराउटा भन्ने ठाउँमा अहिले म्याग्दी नदी बगिरहेको छ ।

नदी बगेको ठाउँभन्दा पारीपट्टी बेनी – ६ को डम्मरासम्म फैलिएको विरौटाको अहिले नामोनिसान छैन ।

जग्गा नभएपनि जग्गाधनी पूर्जा कामयमै रहेकोेले हुँदै नभएको जग्गा र आफूले उपभोग गर्नै नमिल्ने ठाउँको समेत कर तिर्न वाध्य हुनुपरेको बेनी २ का ओमवहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयवासी हिराबहादुर घिमिरे,भक्तवहादुर घिमिरे,ओमवहादुर थापा,कृष्णवहादुर थापा लगाएत ८ व्यक्तिहरुले मालपोत कर तिर्दै आएका छन् ।

पहिला जग्गा (खेत,बारी र घर) भएको ठाउँमा अहिले नदी बगेको र आफ्नो जग्गा भएको ठाउँ बेनी – ६ डम्मरामा नदीको बगरमा परिणत भएको स्थानीयवासी थापाले बताउनुभयो ।

“हाम्रो जग्गा अहिले डम्मरामा पर्छ, नदीको बगरमा परिणत भएको छ” उहाँले भन्नुभयो “जग्गाधनी प्रमाणपूर्जामा हाम्रो नाममा छ,वर्षेनी मालपोत कर तिर्दै आएका छौं,तर हाम्रै जग्गाको नदीजन्य पदार्थहरु हामीले प्रयोग गर्न पाउँदैनौं,हामीमाथि अन्याय भएको छ ।”

२०५७ सालमा सो नदीमा आएको भीषण बाढीले जग्गा बगाएको थियो ।

यसयताका २१ वर्षसम्म जग्गाधनीहरुले नियमितरुपमा मालपोत कर तिर्दै आएका जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्णवहादुर कार्कीले जग्गा नभए पनि जग्गाधनी प्रमाणपत्रमा जग्गा कायमै रहेको देखिएकोले जग्गाधनीले कर तिर्दै आएका जानकारी दिनुभयो ।

स्थानीयवासीले सो जग्गालाई सार्वजनिक जग्गामा दर्तागरी मालपोत कर कट्टा गर्न आग्रह गरेका छन् । गाउँ जोखिममा बगरफाँट गाउँ पहिरो र नदी कटानको जोखिममा पर्दै गएको छ ।

२०५७ सालदेखि म्याग्दी नदीले कटान गर्न शुरू गरेको बगरफाँटमा रहेका २०० घरधुरी वर्षाको समयमा गाउँको शिरानबाट खस्ने पहिरो र गाउँको पुछारमा नदीको कटानबाट वर्षेनि त्रसित हुने गरेका छन् ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि नदी किनारमा ग्याबिन जाली भर्ने गरिएको भए पनि वर्षामा ढुंगा र लेदोसहित उर्लिएर आउने बाढी नियन्त्रण हुन नसकेको स्थानीयले बताएका छन् ।

“गाउँ जोखिममा छ, शिरानबाट खस्ने पहिरो र पुछारमा बग्ने नदीका कारण वर्षामा कहिल्यै ढुक्कसँग सुत्न सकिँदैन, कतिबेला के हुन्छ भन्ने त्रास रहिरहन्छ,” नदी कटानबाट गाउँलाई जोगाउन वर्षेनी तटबन्धको पहल गर्दै आउनुभएका स्थानीय समाजसेवी नारायण कार्कीले बताउनुभयो ।

नदीको कटानका कारण बगरफाँटको १५० रोपनीभन्दा बढी खेतीयोग्य जमीन क्षय भइसकेको र नदी कटानको समस्या अझै बढ्दै गएको स्थानीय वुद्धिजीवी तथा म्याग्दी नदी कटान नियन्त्रण योजना उपभोक्ता समितिका अध्यक्ष समेत रहनुभएका कार्कीले जानकारी दिनुभयो ।

बेनी –३ को तारोखेतबाट बगेर बगरफाँटको शिरानमा अवस्थित पहरो हुँदै आउने पहिरो नियन्त्रण सम्भव नभए पनि नदी कटान नियन्त्रण गर्न सके केही मात्रामा गाउँ सुरक्षित रहने उहाँको भनाइ छ ।

गाउँको शिरानमा रहेको विशाल पहिरो नियन्त्रणका लागि स्थानीय तहको प्रयासले मात्र नहुने भएकाले प्रदेश वा संघबाटै ठूलो योजना आवश्यक पर्ने देखिएको छ ।

तर, समस्याको समाधान नभएकाले यसले सदरमुकाम बेनी बजार समेत प्रभावित हुने अनुमान गरिएको छ । पहिरो र नदी कटानका कारण सुन्दरबस्ती र कृषि उपजका लागि उर्वर फाँट रहेको बगरफाँट साँघुरिँदै गएको छ ।

आप्रे र उडाइनो छहराको बीचबाट खस्ने पहिरोका कारण गाउँको शिरानमा रहेको जंगल र बस्ती मासिने खतरा बढेको जनाइएको छ ।

पहिरोले गाउँ कुरूप बन्दै गएको र पाँच घरपरिवार बसाइ सरिसकेको स्थानीय टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपाली विद्यार्थी जापान पढ्न गएको १२० वर्ष पूरा

सरकारीस्तरमै उच्च शिक्षाका लागि नेपाली विद्यार्थी जापान गएको १२० वर्ष पूरा भएको छ ।

राणाकालीन सुधारवादी प्रधानमन्त्री श्री ३ देवशम्शेरले आफ्नो छोटो कार्यकालमा आठ जना नेपाली विद्यार्थीलाई सरकारी खर्चमा विभिन्न विषयमा अध्ययनको लागि जापान पठाउने निर्णय गर्नुभएको थियो ।

त्यसपछिका प्रधानमन्त्री श्री ३ चन्द्र शम्शेरले ती विद्यार्थीलाई सन् १९०२ मार्च ८ मा भारत हुँदै जापान पठाउनुभएको थियो ।

आठ जना नेपाली विद्यार्थीलाई पढाइमा कुनै दुःख नहोस् भनेर उनीहरुको साथमा १७ जना सुसारे पनि जापान पठाइएको थियो ।

उनीहरुको गाइडका रुपमा स्वामी पुरानन्द गिरी पनि साथमा हुनुहुन्थ्यो ।

यसरी पहिलोपटक जापानमा उच्च शिक्षा पढ्न जाने नेपाली विद्यार्थीहरुमा जंगनरसिंह राणा र भक्तबहादुर बस्न्यात हतियार इञ्जिनीयरिङ, देव नरसिंह राणा र बालनरसिंह रायमाझी खनिज, दीप नरसिंह राणा कृषि, हेमबहादुर राजभण्डारी मेकानिकल इञ्जिनिरिङ, रुद्रलाल सिंह व्यावहारिक रसायनशास्त्र र विचारमान सिंह सेरामिक्स ९माटोको भाँडा, पछि रेशम खेती० बारे थिए ।

नेपाली विद्यार्थी जापानमा उच्च शिक्षा पढ्न जान थालेको १२० वर्ष पुगेको अवसरमा जापानमा उच्च शिक्षा पढेर फर्केका नेपाली विद्यार्थीहरुको संस्था ‘जुआन’ले आज राजधानीमा अन्तरक्रियाको आयोजना गर्‍यो ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत युताका किकुताले नेपाल र जापानबीचको सम्बन्ध ऐतिहासिक रहेको उल्लेख गर्दै कोरोना महामारीका कारण विगत दुई वर्षदेखि जापानमा पढ्न जान नपाएका नेपाली विद्यार्थीहरुका लागि सोमबार १४ मार्चदेखि राजदूतावासले सहज बनाउने बताउनुभयो ।

पछिल्लो समय नेपाली युवा विद्यार्थीहरु अध्ययनको लागि जापानमा आर्कषित हुन थालेको राजदूत किकुताको भनाई थियो ।

सन् १९६० मा जापानमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्केका तत्कालीन ‘जुसान’ का पूर्वअध्यक्ष हरेन्द्र वरुवाले नेपाली विद्यार्थी जापान गएर पढ्न थालेको इतिहासबारे जानकारी गराउनुभएको थियो ।

त्यतिखेर नेपाली विद्यार्थीले जापानबाट उच्च शिक्षाको साथै जापानी कला संस्कृति र आफ्नो राष्ट्रियताको सम्मान गर्ने शैली पनि सिकेर फर्केको उहाँले उल्लेख गर्नुभयो ।

दोस्रो विश्वयुद्धपछि जापान आधुनिकीकरण भएको तर आफ्नो परम्परा र संस्कृतिलाई भने जीवित राख्न सफल भएको वरुवाले बताउनुभयो ।

जुआनका अध्यक्ष डा प्रवीण श्रेष्ठ, जापान वैदेशिक सहयोग नियोग ‘जाइका’ का प्रमुख प्रतिनिधि आकिमिचु ओकुबो, जुआनका उपाध्यक्ष डा खड्ग केसी, महासचिव डा जीवन भट्टराई, जानका अध्यक्ष डा रामचन्द्र भुषाल, ओट्सका अध्यक्ष प्रशन्नलाल श्रेष्ठ, जाल्टानका अध्यक्ष मनिष श्रेष्ठ, फुलब्राइटका अध्यक्ष किर्तिविलाश जोशी, ब्रिटिस एलुम्नाईका अध्यक्ष डा उत्तमबाबु पन्त, आनाका अध्यक्ष अनन्त पौडेल, राईसनका अध्यक्ष डा ताराप्रसाद सापकोटा, जुआनका पूर्वअध्यक्ष डा दिनेशराज भुजु, अशोक शम्शेर राणालगायतले नेपाल जापान सम्वन्धका बारेमा चर्चा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकको पहिलो वैदेशिक खाता जापानमा खोल्न विशेष योगदान गरेका नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर हिमालय शम्शेर राणालाई जुआन संस्थाको संरक्षकमा मनोनित गरेको घोषणा गरियो ।

जुआनका संस्थापक अध्यक्ष इलेक्ट्रिकल इञ्जियीर पद्मसुन्दर मल्ल हुनुहुन्छ र उहाँले सन् १९१६ मा जापानमा अध्ययन गर्नुभएको थियो ।

नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्छ : नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले आज आयोजना गरेको भेलामा उहाँले विश्वमा समाजवादी शक्ति पहिलेभन्दा अघि बढ्न सक्ने परिस्थिति बन्दै गएको बताउनुभयो ।

नयाँ संविधानअनुसार सम्पन्न निर्वाचनमा दुईवटा कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर अगाडि बढ्ने अवसर जुट्यो र त्यो अवसरका आधारमा झण्डै दुईतिहाइ बहुमत प्राप्त गरी सरकार निर्माण गर्दा जनताको आकाङ्क्षा सगरमाथाजस्तै चुलिएको चर्चा गर्दै नेता खनालले केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ खाएको दिनदेखि पार्टीलाई बेवास्ता गर्ने, पार्टीको निर्देशन नमान्ने प्रवृत्ति देखिएको, देश र जनतालाई धोखा दिएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “कम्युनिष्ट आन्दोलनप्रति, पार्टीप्रति एकपछि अर्को प्रहार गर्न थालेपछि नेपालको कम्युनिष्ट आन्दोलनमा बडो दुभाग्यपूर्ण स्थिति सिर्जना भयो, शक्तिशाली संसद् दुई–दुईपटक विघटन भयो र कम्युनिष्ट आन्दोलनलाई धोखा दिन थालेको सिलसिलामा नयाँ कम्युनिष्ट पार्टी नेकपा (एकीकृत समाजवादी)को जन्म भएको हो ।”

उहाँले राष्ट्रिय परिस्थितिमा रहेको प्रतिकूलतालाई बदलेर जानुपर्ने र त्यसका लागि शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ६१ युवा नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका थिए । नवप्रवेशीलाई नेता खनालले टीका र खाँदा लगाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

‘धाउन नमिल्ने’ सार्वजनिक

नेपाली सङ्गीत आकाशमा आफ्नो भविष्य खोजिरहेका प्रतिभावान् गायक एवं मोडल सुभम् चाम्लिङ राईले साङ्गीतिक सौगात ‘धाउन नमिल्ने’ सार्वजनिक गर्नुभएको छ ।

यस गीतमा गायक राईलाई चर्चित गायिका मेलिना राईले स्वरमा साथ दिनुभएको छ । गीतकार एवं गायक डिपी खनालको गीतमा शब्द, सङ्गीत रहेको छ ।

गीतमा राजु कार्कीको सङ्गीत संयोजन रहेको छ । मनिक राईको कोरियोग्राफी रहेको गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाङ्कन गर्नुभएको हो ।

भिडियोमा मोडल सुभम चाम्लिङ राई र मोडल नग्मा श्रेष्ठको अभिनय रहेको छ ।

‘म त्यता धाउन नमिल्ने’, ‘तिमी यता आउन नमिल्ने’, ‘तिम्रो यादले मुटु मेरो कुटुकुटु खान्छ’ ‘तिम्रो साथ नपाए त प्राण यसै जान्छ’ लगायत बोलका गीत भिडियोमा समेटिएको छ ।

भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो ।

गायिका मेलिना राईको युट्युब च्यानल ‘मेलिना राई’ मार्फत भिडियो सार्वजनिक भएको हो ।

मिथिलाञ्चलमा लोप हुँदै होली गीतः जोगिरा सर रर…

धनुषा:

‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगिरा सर र र !’

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ ।

होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन ।

तर पछिल्लो समय होलीको पौराणिकता विस्तारै हराउँदै गएको छ । पहिलेजस्तो होलीमा कथा, व्यथा तथा व्यङ्ग्यात्मक गीत सुन्न विरलै पाइन्छ ।

“मृदङ्ग, ढोलसँगै डम्फुको स्वर पनि हराउन थालिसक्यो”, जनकपुरधामका कैलाशप्रसाद महतोेले भन्नुभयो, “होलीको तर्क, दर्शनलाई गम्भीरतापूर्वक नलिइएकाले अबको सहरमुखी होलीले मौलिकता हराउँदै गएको छ ।”

फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर बिरलै सुन्न पाइने गरेको उहाँको भनाइ छ ।

“वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ”, उहाँले भन्नुभयो, “उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन्, न त फागुगीत नै गुञ्जिन्छन् ।”

पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने गरेको बताउँदै उहाँले जोगिरा नसुनेको पनि झण्डै सात वर्षभइसकेको छ भन्नुभयो ।

वसन्तऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।

मिथिलाञ्चलमा गाइने यसप्रकारको जोगिराले होलीपर्व खेल्नेबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साहले बताउनुभयो ।

उहाँले भन्नुभयो, “होलीपर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । भनिन्छ होलीपर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।”

मिथिलानगरपालिका–२ नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतोले पुख्र्यौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी मनले भन्नुभयो, “पहिलेपहिले यस्ता फागु गीत जोगिरा वसन्तऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकाबारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यतिमात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ ।”

“यसपालीको होली नजिकै आइसक्यो, न डम्फू बज्छ न जोगिराका स्वर नै सुनिन्छन्न् !”,

वर्षौंदेखि जोगिरा गाउँदै आएका क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलका ७२ वर्षीय रामसागर ठाकुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मेरा समूहका धेरै साथीको मृत्यु भइसक्योे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रस छ, तर साथ दिने कोही छैनन् ।”

वसन्त पञ्चमीसँगै होली ‘फागु’ पर्वको सन्देश छर्ने जोगिरा (फागु गीत) अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

ठाकुरले आफ्नै शैलीमा जोगिरा सुनाउनुभयो–

‘किनका के हाथ कनकपिचकारी,
किनका के हाथ अबिर झोरी ?
रामजी के हाथमें कनकपिचकारी,
सियाजी के हाथअबीर झोरी !
जोगिरा..सररर..!!’

(कसको हातमा सुन जडित पिचकारी (लोला) छ र कसको हातमा अबिरको झोला ? रामजीको हातमा सुन जडित पिचकारी छ र सीताजीको हातमा अबिरको झोला) पौराणिक गाथाका विषयवस्तु, भक्ति, ख्यालठट्टा, प्रेमयुक्त र रस मिसिएका मैथिली भाषामा गाइने जोगिरा अब मिथिलाञ्चलमा सुनिन छाडेका छन् ।

होलिया (फागु गीत गाउने गायक) का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवना मिथिलानीलाई उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलिया बताउँछन् ।

सामाजिक छुवाछूत, जातपात र भिन्नभिन्न धर्म संस्कृतिप्रति परहेज गर्ने पनि एक अर्कोलाई अङ्कमाल गर्दै सामाजिक सद्भाव र समानताको सन्देश दिन रमाउने परम्पराको होली पर्व मिथिला संस्कृतिको धरोहर मानिन्छ । यसको सौन्दर्यको महत्वपूर्ण अङ्ग जोगिरा लोप हुँदै गएर अब ‘डिजे’ बज्न थालेपछि मैथिली मौलिकता हराउँदै गएको नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेश कर्णले चिन्ता व्यक्त गर्नुभयो ।

ख्यालठट्टा गरिने नाताबीचका नवयौवनामात्र नभई होलियाबीच नै ठट्टा गर्ने जोगिराको कटाक्ष पनि कम मनोरञ्जक छैन ।

मिथिलाञ्चलमा वसन्तपञ्चमीदेखि होलीगीत (जोगिरा) सुरु भएर मिथिला माध्यमिकी परिक्रमाको सातौँ दिन महोत्तरीको भङ्गाहा नगरपालिका–९ कञ्चनवनमा यात्रीले एकापसमा रङ अबिर खेलेपछि होलीपर्व मनाउन थालिने परम्परा छ ।

त्रेतायुगमा भगवान् र सीताले यहाँ होली खेलेको धार्मिक विश्वास रहिआएको छ ।

जनकपुरधाम– १२ का सतीशलाल कर्णले भन्नुभयो, “होली गीतमा पहिले कामोत्सवको मर्म, धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पिरति तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीत आएकाले होलीमा माधुर्य र प्रेमभाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।”

दोहोरी गीत झँै गाइने जोगिरा र होलीका गीतका कारण तराई–मधेसका हरेक गाउँको वातावरणमा एक किसिमको रौनक छाएको हुन्थ्यो तर ती गीत भने अहिले लोप हुने अवस्थामा पुगेका छन् । भित्री ग्रामीण क्षेत्रमा कुनैकुनै गाउँ घरमा मात्र यस्तो जोगिरा सुन्न पाइन्छ ।

क्षिरेश्वरनाथ–७ हरिहरपुरका रामलाल महतोले भन्नुभयो, “होलीको पौराणिकता अब हराइसकेको छ ।

दिनहुँजसो हुने झैझगडा, रागद्वेषका कारण होली गीत गाउन नै छाडिएको छ ।

होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ ।

पहिलेपहिले बूढापाकाले रात परेपछि गाउँका बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगतरुपमा होली गीत जोगिरा गाउने गरेको सखुवा बजारका ६८ वर्षीय सत्यनाराण साहले बताउनुभयो । अब त्यो समय हराएर गएको छ ।

अधिकांश युवा कामका लागि खाडी मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै धनुषाधाम नगरपालिका पर्वताका अमरलाल कर्णले भन्नुभयो, “अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यता पूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखा परेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ ।”

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ ।

फागुपर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो ।

अब उच्छृङ्खल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लील शब्द बढी भएको सखुवा बजारका रामकृपाल जयसवालकोे भनाइ छ ।

मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्धरुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडीको भनाइ छ ।

पौराणिक होली गीतमा विषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो ।

अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको उहाँले बताउनुभयो ।

गाउँघरमा आजभोलि होलीका साँस्कृतिक गीतको साटो भोजपुरी र आधुनिक संस्कृतिले कब्जा जमाउन थालेको छ ।

वसन्तऋतुको आगमन सँगसँगै वसन्तोत्सव पर्वकारुपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुनथालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने सङ्घसंस्था अगाडि आउनुपर्ने अर्का संस्कृतिविद् रमापति चौधरीले बताउनुभयो ।

होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासी जस्तो ।

तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षणका लागि पछिल्लो केही वर्षदेखि जनकपुरधामस्थित मिथिला नाट्य कलापरिषद् (मिनाप)ले गाउँगाउँबाट होलियालाई झिकाएर जोगिरा प्रतियोगिता गराउने गरेको छ ।

यस्तो छ होलीको पौराणिक कथा

पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे ।

उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन ।

सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फागुण शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ ।

अमेरिका र टर्कीका राष्ट्रपति बीच युक्रेनमा रुसको आक्रमणबारे छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयप बीच बिहीबार टेलिफोन वार्ता भएको छ ।

सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीको बारेमा छलफल भएको जनाइएको छ।

“राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता गर्नुभयो ।

सो अवसरमा उहाँहरुले रूसको अव्यावहारिक र अनुचित आक्रमणको बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ” अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै देशले युक्रेनको सरकार र जनताको लागि आफ्नो बलियो समर्थन पुन: पुष्टि गर्दै रुसी आक्रामणको तत्काल अन्त्यको आवश्यकतालाई जोड दिनुभएको छ ।

“राष्ट्रपति बाइडेनले द्वन्द्वको कूटनीतिक समाधानलाई समर्थन गर्ने टर्कीको प्रयासको साथै शान्ति र स्थायित्वलाई प्रवर्द्धन गर्न मद्दत गर्ने क्षेत्रीय नेताहरूसँग टर्कीको हालैको संलग्नताको लागि प्रशंसा व्यक्त गर्नुभएको,” जनाइएको छ।

भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका आवश्यक

भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका आवश्यक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले खख्तियारले मात्रै चाहेर भ्रष्टाचार नियन्त्रण नहुने बताउनुभएको छ ।

जिल्ला सदरमुकाम जलेश्वरमा आयोगको बर्दिबास कार्यालयद्वारा आयोजित ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबै चेतनशील र क्रियाशील हुनु जरुरी रहेको बताउनुभएको हो ।

विभिन्न किसिमको भ्रष्टाचारका लागि विभिन्न प्रकारको कारबाही, दण्ड, जरिवानाको कानुनी व्यवस्था भए पनि तीमध्ये सबैभन्दा माथि नैतिक शिक्षा भएकाले नैतिकरुपमा भ्रष्टाचार गर्नुहुँदैन भन्ने बोध नहुञ्जेल भ्रष्टाचार नियन्त्रण गर्न कठिनाइ भएको आयुक्त चन्दको भनाइ थियो ।

जिल्ला समन्वय समितिका प्रमुख सुरेशप्रसाद सिंहले हाम्रो संस्कारमै भ्रष्टाचार रहेकाले त्यसलाई निराकरण गर्न आफ्ना सन्ततिलाई बच्चैदेखि नैतिक शिक्षा दिलाउनु पर्नेमा सुझाव दिनुभयो ।

कार्यक्रममा आयोगका सहन्यायाधिवक्ता घनश्याम ओझा, आयोगको जिल्लास्थित कार्यालयका प्रमुख गोपालकुमार अधिकारीले प्रस्तुत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभएकामा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा महोत्तरीका १५ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिकर्मी, सङ्घ, सङ्गठन, बुद्धीजीवी नागरिक समाज र सञ्चारकर्मीको सहभागिता थियो ।

भ्रष्टाचार नियन्त्रणमा सबैको भूमिका आवश्यक

ड्रागनखेतीमा बित्दै पूर्वमन्त्री विष्टका दिन

पूर्वमन्त्री लोकेन्द्र विष्ट हालका चल्तीका किसान हुनुहुन्छ । आफूलाई व्यावसायिक कृषक भन्न रुचाउने विष्ट अहिले पनि खेतीमा व्यस्त हुनुहुन्छ ।

नेपालमा ‘ड्रागन फल’को व्यावसायिक खेती भित्र्याउनेमध्येका एक हुनुहुन्छ विष्ट । हाल उहाँ तेस्रो चरणको ड्रागन फलको पर्खाइमा हुनुहुन्छ ।

दुई चरणको ड्रागनको फल भित्र्याएर उहाँले आम्दानी लिइसक्नुभएको छ ।

विष्टले दाङमा आएर ड्रागन खेती गरेसँगै नयाँ अनुभव लिनुभएको छ ।

मन्त्री हुँदा जति उत्साह थियो, अहिले खेती–किसानी गर्दा पनि उत्तिकै रहेको उहाँ बताउनुहुन्छ ।

विष्ट भन्नुहुन्छ, “म खेतमा काम गरिरहेको अवस्थामा कसैले देखेमा, भेट्न बोलाइ हाल्नुहुन्छ ।”

मन्त्री हुँदा जसरी मान्छे भेट्न आउँथे, अहिले खेती गर्दा पनि उत्तिकै भेट्न आउने गर्छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीस्थित घोराही–तुलसीपुर सडक छेऊमा कुनै समय बाँझो रहेको जग्गालाई विष्टले हराभरा बनाउनुभएको छ ।

ड्राग्रन खेतीका लागि त्यो भूमि त्यत्ति उपयुक्त होइन, किनकि त्यसका लागि बलौटे माटो चाहिन्छ ।

तर पनि मेहेनत गर्दा भने त्यसले राम्रै आम्दानी दिनेरहेछ भन्ने एउटा उदाहरण विष्टले प्रस्तुत गर्नुभएको छ ।

यसअघि उहाँले दुईपटक फल बिक्री गरिसक्नुभएको छ । अब तेस्रो पटकको पर्खाइमा हुनुहुन्छ ।

“अहिले हामीले जति मेहेनत यो जग्गामा गरेका छौँ, त्यति मेहेनत बलौटे माटोमा गरेको भए झनै धेरै आम्दानी गर्न सकिन्थ्यो”, उहाँले भन्नुभयो, “तर यसमै पनि निकै मेहेनत हामीले ग¥यौँ, त्यसैले आम्दानी राम्रै दिने गरेको छ ।”

ड्रागन फल जेठदेखि असोज–कात्तिकसम्म फल्छ । यो प्रायः रातिमा फल्ने भएकाले पनि ‘रातकी रानी’ भनेर पनि नाम दिइएको छ ।

यो फल मात्रै होइन, बिरुवाबाट पनि विष्टले आम्दानी गर्दै आउनुभएको छ ।

अहिलेसम्म उहाँले दुईपटकमा गरेर सरदर रु २०–२० लाख आम्दानी गरेको बताउनुहुन्छ ।

एक सिजनमा २८–३० क्विन्टल उत्पादन हुने गरेको छ । बिरुवाबाट त्यस्तै रु पाँच लाख जति आम्दानी भएको उहाँ बताउनुहुन्छ ।

अहिले उहाँले उत्पादन गरेका बिरुवा दाङमात्रै होइन, अन्य जिल्लामा पनि उत्तिकै बिक्री हुन्छ ।

फल्दै गरेको ड्रागन बेच्दै गर्दा भाइरल बनेका विष्टलाई उत्पादन भएको फल बेच्न त्यति कठिनाइ भएन भने बिरुवा बेच्न पनि सहज भयो ।

उहाँपछि सबैले यो खेतीका बारेमा चासो राखे । सबैले यो घरघरमै खेती गर्न चाहे ।

स्वास्थ्यका हिसाबले बहुउपयोगी मानिने यो फल सबैले घरमा लगाए । दुईपटक अधिक बिक्री भएको ड्रागन फलले तेस्रो पटकमा कत्तिको बजार पाउँछ, त्यो भने विष्टले पर्खिरहनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “बजार राम्रो छ, यहाँबाट काठमाडौँलगायत पनि पुग्ने गर्छ, बजारीकरणका लागि समस्या छैन ।”

करिब रु एक करोड लगानी गरेर विष्टसहित तीन जनाले व्यावसायिक ड्रागन खेती गर्नुभएको छ ।

उहाँले तीन जनाको सहकार्यमा उक्त खेती सुरु गरेको बताउनुभयो ।

यसअघि पनि उहाँ कालो धानको खेती गरेर चर्चामा आउनुभएको थियो ।

भकुन्डेमा कालो धानखेती गरेर चर्चामा आउनुभएका उहाँ दाङमा ड्रागन खेती गरेर उत्तिकै चर्चामा हुनुहुन्छ ।

दाङमा पनि केही क्षेत्रफलमा धानखेती गरेको उहाँ बताउनुहुन्छ ।

उहाँले पछिल्ला युवालाई पनि नेपालमै बसेर पसिना बगाए मनग्य आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएकोसमेत बताउनुभयो ।

“अहिले पनि युवा जमात रोजगारीका नाममा विदेश गइरहेको देखिन्छ”, उहाँले भन्नुभयो, “तर हाम्रै वरपर खेर गइरहेको जग्गामा पनि मेहेनत गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन सफल भएको छु, धेरै युवाले अहिले यही ड्रागन खेती पनि गर्नुभएको छ ।”

आफूले दाङमा यो खेती सुरु गरेपछि धेरैले यो खेतीमा चासो देखाएको समेत बताउनुभयो ।

छुटेन ‘लत’

राजनीतिबाट पूर्णरूपमा ‘रिटायर्ड’ भए पनि विष्टले राजनीतिक लत भने छाड्नुभएको छैन ।

उहाँ राजनीतिलाई नजिकबाट नियालिरहनुहुन्छ । यसको एउटा प्रमाण सामाजिक सञ्जालमा उहाँले दिने अभिव्यक्तिले पनि प्रष्ट हुन्छ ।

समसामयिक राजनीतिका विषयमा प्रत्येक दिन केही न केही स्टाटस आइरहेका हुन्छन् ।

यद्यपी उहाँ भन्नुहुन्छ, “अब म राजनीतिमा सक्रिय भएर लाग्दिनँ, अब मेरो पेशा भनेको कृषि नै हो ।”

कृषिलाई राजनीति अडिने घरका रूपमा वर्णन गर्नुहुन्छ बिष्ट । उहाँले राजनीति भनेको कृषिको धुरी भएको प्रतिक्रिया दिनुभयो ।

“अर्थतन्त्र भनेको राजनीतिको जग हो, कृषि भनेको हाम्रो जग हो”, उहाँले भन्नुभयो, “जब हामी कृषिलाई परित्याग गरेर राजनीति गर्छौँ, त्यो राजनीति हुँदैन, त्यो त लाजनीति हुन्छ ।”

भाषणमा समाजवादका कुरा गर्ने तर श्रम गरेर खाने वर्गलाई हेप्ने प्रवृत्ति छ, यो सर्वहारा वर्गका प्रतिध्रुवीय वर्गले अँगाल्ने चिन्तन रहेको उहाँ बताउनुहुन्छ ।

राजनीतिबिनाको कृषि र कृषिबिनाको राजनीति सम्भव नहुने उहाँ बताउनुहुन्छ ।

“म अब सक्रिय राजनीतिमा आउँदिनँ”, उहाँ भन्नुहुन्छ, “मेरो पार्टी भनेको यही कृषि पार्टी हो ।”

सत्ता सञ्चालनको विधि राजनीति भएको भन्दै उहाँले अन्य विकसित मुलुकले पनि राजनीति गर्ने तर कृषि पेशालाई नछाडेको अवस्था छ”, तर नेपालमा उल्टो भएको बताउनुहुन्छ ।

‘राजनीति सेवा हो’

आजीवन राजनीति गर्ने प्रवृत्तिको उहाँ विरोधी हुनुहन्छ । राजनीति भनेको आजीवनको पेशा नभई यो आवधिक हुने बताउनुहुन्छ । भन्नुहुन्छ, “राजनीति भनेको आजीवनको पेशा, व्यवसाय, कसैको ठेक्कापट्टा, रोजगारी होइन, यो त आवधिक समाजसेवा हो ।”

राजनीति भनेको निःशुल्क, निःशर्त, निःशुल्क हुने बताउनुहुन्छ । तर अहिले त आफूबिना राजनीति नै नचल्नेजस्तो प्रवृत्ति रहेको भन्दै यसको आफू निकै विरोधी रहेको समेत बताउनुभयो ।

विष्ट दुईपटक मन्त्री भइसकेका व्यक्ति हुनुहुन्छ । पहिलोपटक स्वास्थ्यमन्त्री हुनुभएका उहाँ दोस्रोपटक पर्यटनमन्त्री हुनुभएको थियो ।

माओवादीको १० वर्षे जनयुद्ध सुरुआत गर्ने १९ केन्द्रीय सदस्यमध्ये एक हुनुहुन्छ उहाँ । जतिबेला उहाँलाई ‘अभ्यास’ उपनामले चिनिन्थ्यो ।

आफू ५५ वर्ष हुँदासम्म राजनीति गरेको र अब बाँकी जीवन कृषिलाई समर्पित गर्ने उहाँले बताउनुहुन्छ ।

“मैले राजनीतिमा ५५ वर्ष बिताएँ, अब बढी बाँचे २०/२२ वर्ष बाँचुला”, उहाँले भन्नुभयो, “अब मैले सचेत ढङ्गले राजनीति छाड्नुपर्छ, भनेर नै यो पेशा अँगालेको हुँ, अब राजनीतिमा नयाँ मान्छे आउनुपर्छ, नेतृत्व विकास गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।”

कम्युनिष्ट सदस्य हुने रहर

राजनीति छाडेको भनेपछि अझै पनि पार्टीको सदस्यता बन्ने रहर भने मेटिएको छैन ।

अलि बढी क्रान्तिकारी र इमान्दारिता देखिएको कम्युनिष्ट पार्टीको सदस्यता भने लिने अझै पनि इच्छा छ विष्टको ।

“मर्ने बेलामा साथीले यो हाम्रो सदस्य हो भनेर झण्डा ओडाइदेलान नि !”, उहाँले भन्नुभयो, “त्यही झण्डाका लागि जिन्दगी राजनीतिमै समर्पण गरियो, अब मर्ने बेला झण्डा किन छाड्ने, त्यसैले तुलनात्मकरूपमा अलि क्रान्तिकारीजस्तो देखिने एउटा कम्युनिष्ट पार्टीको सदस्यता लिएर मर्ने रहर छ ।”

उहाँ राजनीतिप्रति भने वितृष्ण पैदा भएको बताउनुहुन्छ । उहाँले राजनीति समाजसेवाभन्दा पनि कमिशनखोरी भएको बताउनुभयो ।

त्यत्तिमात्रै होइन, राजनीतिमा षड्यन्त्रमय, रहस्यमय हुने गरेको उहाँको अनुभव छ ।

विष्ट भन्नुुहुन्छ, “पार्टीका शीर्ष नेतृत्वभित्रका मान्छेले मात्रै बुझ्ने र अरुले नतमस्तक भएर ताली पिट्नुपर्ने अवस्था छ, सर्वहारा वर्गको पार्टीमा यस्तो हुनु एकदम गलत हो ।”

उहाँले राजनीति र अपराधबीचमा कुनै भिन्नता नभएको, सर्वहारा, श्रमजीवी वर्गको विरोधीजस्तो देखिएको बताउनुभयो ।

अहिले पनि आफूलाई राजनीतिमा आउनुपर्छ, भनी धेरैले आग्रह गर्ने गरेको बताउनुभयो । तर उहाँलाई सक्रिय राजनीतिमा आउन इच्छा छैन ।

त्यसरी इच्छा मर्नुमा अहिलेको निर्वाचन प्रणाली पनि रहेको उहाँ बताउनुहुन्छ ।

“निर्वाचन नै लड्दा रु चार/पाँच करोड खर्च हुन्छ, अझ त्यत्तिले पनि पुग्दैन”, उहाँले भन्नुभयो, “हामीले जनयुद्ध सुरु गर्दा मकै, भटमास खाएर त्यतिबेलाको राप्तीसहित जाजरकोट, डोल्पा, कालीकोटमा सङ्गठन निर्माण गरेका थियौँ, तर अब त्यस्तो राजनीति रहेन, अब त्यो कल्पना पनि गर्न सकिने अवस्था छैन ।”
–––

रु ६०० ले बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ६०० ले बढेर रु एक लाख दुई हजार ६०० पुगेको छ ।

पहेँलो धातु बिहीबार प्रतितोला रु एक लाख दुई हजारमा कारोबार भएको थियोे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार १०० तोकिएको छ ।

यसको मूल्य बिहीबार प्रतितोला रु एक लाख एक हजार ५०० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ ।

बजारमा यो साता पहिलो कारोबार दिन आइतबार प्रतितोला रु एक लाख एक हजार ९०० मा किनबेच भएको सुन बुधबार भने हालसम्मकै महँगो हुँदै रु एक लाख पाँच हजार ५०० पुगेको थियो ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९८८ डलर आसपास कारोबार भइरहेको छ ।