वनमा डढेलो लाग्ने क्रम सुरु

काठमाडौँ-फाल्गुन महिना सुरु भएसँगै बनमा डढेलो लाग्ने क्रम सुरु भएको छ ।

अहिले तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ ।

आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्नेअवस्था नभएपछि हेलिकप्टर झिकाइएकोे जानकारी दिनुभयो ।

आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौँबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।

आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिनुभयो ।

अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ ।

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीका विषयमा जानकारी नभएको बताउनुभयो ।

जनतालाई सुशासनको प्रत्याभूत गराउन अख्तियार आफ्नै रफ्तारमा

जनतालाई सुशासनको प्रत्याभूत गराउन अख्तियार आफ्नै रफ्तारमा

काठमाडौँ-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान तिब्र रुपमा बढाएको छ ।

बिगतमा अख्तियारले आफ्नो काम राम्रो हिसावले गरेन साना तथा खरिददार सुब्बा पदका कर्मचारीलाई मात्र अनुसन्धान गर्ने गरेको भन्ने जनटिप्पणीलाई चिर्दै अख्तियार अगाडी बढेको छ । यो सक्रियताले जनमानसमा सुशासनका निम्ति थप आशा जगाएको छ।

पुर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेसँगै अख्तियारको सर्वत्र चर्चा चल्न थालेको छ ।

पुर्व मन्त्री श्रेष्ठमाथि सरकारी सेवाको दुरूपयोग गरी ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा भ्रष्टाचार मार्फत आर्जन गरेको आरोप अख्तियारले लगाएको छ ।

यस्को साथै अख्तियारले १२ माघमा खानी तथा भूगर्भ विभाग महानिर्देशक रामप्रसाद घिमिरेसहित २७ जना विरुद्ध अख्तियारले आरोपपत्र दर्ता गरेको थियो ।

विभागका ९ जना कर्मचारी, ९ वटा सिमेन्ट कम्पनी सञ्चालकबाट १ अर्ब २६ करोड १९ लाख ४८ हजार रुपैयाँ राजस्व हिनामिना गरी राज्यलाई नोक्सानी गरेको आरोप अख्तियारले लगाएको छ ।

त्यसैगरी २३ मंसिरमा अर्थ मन्त्रालयको तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियामाथि पनि अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोपपत्र दर्ता गर्‍यो ।

सार्वजनिक पदको दुरूपयोग गरी उनले १ करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ २५ पैसा बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको उनीमाथि आरोप लागेको छ ।

गएको सात महिनामा अख्तियारले माथिका सहित ७२ वटा मुद्धा बिशेष अदालतमा दर्ता गराएको छ ।

पहिलेपहिले अख्तियारले खरिदार, सुब्बा कार्यलय सहयोगी माथी मात्र मुद्दा दर्ता गरेर दुःख दिएको भन्दै जनमानसमा तीब्र आलोचना खेपिरहेको परिदृष्यमा ठूला पद धारण गरेका व्यक्तिबाट भएका भ्रष्टाचारमा ‘एक्सन’ लिन थालेपछि अख्तियारबाट अहिले गलत प्रबृती बोकेका उच्च ओहदाका कर्मचारी समेत झस्किन थालेका छन् ।

अख्तियारले परेका उजुरीमा सुक्ष्म ढंगले छानबिन तथा अनुसन्धान गरी तथ्य र प्रमाणको आधारमा मात्र मुद्दा हाल्ने गरेको अख्तियार प्रशासनले दावी गर्ने गरेको छ ।

अख्तियारको नजरमा सबै बराबर दोषी कसैलाई नछाड्ने

अख्तियारले उसको अनुसन्धानमा कसैको पद तथा शक्तीले प्रभावित नपर्ने दावी गर्दै सचिव र मन्त्री पदमा बहाल रहँदा अकूत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनमाथि अनुसन्धान भैरहेको र मन्त्री श्रेष्ठले भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको तथ्य र प्रमाणबाट खुलेको हुदा मुद्धा दर्ता गरिएको दावी गरेको छ ।

अख्तियारले कसैलाई पनि पद तथा शक्तीका आधारमा नछाड्ने तथा अख्तियारको दुरुपयोग गरि गल्ती गर्नेलाई कार्वाहीको दायरामा ल्याएरै छाड्ने बताएको छ ।

अख्तियारको प्रमुख आयुक्तमा प्रेम कुमार राई नियुक्त भएसँगै जनभावना अनुसार अख्तियारले आफ्नो अनुसन्धान तिब्रगतीमा अगाडी बढाएको छ ।

अख्तियारले तत्कालीन योजना प्रमुख विजय चापागाईंसहित ५ जनालाई १२ साउनमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको थियो ।

पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाअन्तर्गत खोटाङ खण्ड निर्माण कार्य ठेक्का सम्झौताअनुसार नगरेको भन्ने उजुरीमाथि छानबिन गर्दा ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा हिनामिना गरी भ्रष्टाचार गरेको पाइएको थियो ।

त्यस्तै, प्रहरी सहायक निरीक्षक दिलीप कार्कीविरुद्ध पनि गत ३१ साउनमा भ्रष्टाचारको आरोपमा अख्तियारले अदालतमा मुद्दा दायर गर्‍यो ।

उनले प्रहरी कल्याण कोषद्वारा सञ्चालित पेट्रोल पम्प, नक्सालमा पदीय हिसाबले कार्यरत रहँदा बिक्री भएको तेलको वास्तविक रकम दाखिला नगरी १ करोड ३ लाख ९७ हजार ९३७ रुपैयाँ ५४ पैसा हिनामिना गरेका थिए ।

नेपाल खाद्य संस्थान शाखा लहानका कार्यालय प्रमुख गंगाप्रसाद साहसहित ३ जनाविरुद्ध गत ४ असोजमा भ्रष्टाचारको मुद्दा दायर गरियो ।
२०७५ सालमा नियमविपरीत ७० हजार क्विन्टल धान खरिद गर्दा कमिसन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको र ९७ लाख २ हजार ७८४ रुपैयाँ २८ पैसा हानि नोक्सानी पुर्याएको पुष्टि भएको थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडले गुणस्तरहीन डीएपी मल खरिद गरी १ अर्ब ५३ लाख २२ हजार ४०६ रुपैयाँ ७२ पैसा हिनामिना भएको पुष्टि भएको थियो ।

त्यस्तै, वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वनसँग मिलेर रकम हिनामिना गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीका निमित्त वन निर्देशक हेमराज बिष्टसहितलाई भ्रष्टाचारको मुद्दा दायर गरियो ।

बिष्टले गैरकानुनी रूपमा आर्जन गरी निजकी श्रीमती रुबी जीसी बिष्टको नाममा समेत घरजग्गा जोडिएको थियो ।

उनीहरूविरुद्ध अख्तियारले २१ पुसमा विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।

सामुदायिक वनका साधारण सदस्यहरू र पदाधिकारीहरूले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समूहमा सदस्य बनाई कार्यक्रमअन्तर्गत रूख कटान गर्ने कार्यमा संलग्न रही भ्रष्टाचार गरेको सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले दोषीमाथि छानबिन गर्न सिफारिस गरेको थियो ।

अब यो अभियानलाई स्वास्थ ,शहरी ,पर्यटन उर्जा, अर्थ, भुमिसुधार, सञ्चार,कृषी लगायतका सम्पुर्ण मन्त्रालय भित्र भएका भ्रष्टाचारका जालो तोडन अग्रसरता लिनुपर्ने यो अख्तियारको सुशासनको रफ्तार नियाल्ने सर्वसाधारणको धारणा पाइन्छ।

जनतालाई सुशासनको प्रत्याभूत गराउन अख्तियार आफ्नै रफ्तारमा

कर प्रशासनमा सुधार हुनुपर्ने

कर प्रशासनमा सुधार हुनुपर्ने

नेपाल राजस्व परामर्श समिति काठमाडौँद्वारा आज यहाँ आयोजित अन्तक्र्रियाका सहभागीहरुले नेपालको कर प्रशासनमा सुधार हुनुपर्ने सुझाव दिएका छन् ।

आर्थिक वर्ष २०७९/८० को राजस्व नीति र कर सुधारसम्बन्धी परामर्श एवं सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजित प्रदेशस्तरीय सो अन्तक्र्रियाका सहभागी उद्योगी, व्यापारीले सो सुझाव दिएका हुन् ।

नेपाल उद्योग परिसङ्घ प्रदेश नं १ का अध्यक्ष भीम घिमिरे, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, विराट व्यापार सङ्घका अध्यक्ष नरेशकुमार खत्री, मोरङ व्यापार सङ्घका महासचिव अनिल सारडा, नेपाल चेम्बर अफ कमर्श प्रदेश समितिका अध्यक्ष सुरेशमान श्रेष्ठ, उद्योगी देवकीनन्द अग्रवाललगायतले नेपालको कर प्रशासनमा सुधार र पूर्वाधारको विकास हुनुपर्ने धारणा राख्नुभयो ।

अर्थमन्त्रालयका सहसचिव रमेशकुमार केसीले बजेटको माग र आवश्यकतालाई बढाउन राजस्व बढ्नुपर्ने बताउँदै समृद्धिको सूचक आन्तरिक करको अंश बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले कर प्रशासन, करको दायरा वा आधारमा सुधार हुने भन्दै तीन तहको सरकारका राजस्व सङ्कलनमा एकरुपता नहुनु समस्या हो भन्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले खुला सिमानाका कारण नेपाली उपभोक्ता भारतीय बजारमा जाने प्रवृतिलाई रोक्न नेपाली बजारको मूल्यमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले स्वच्छ रुपमा काम गर्ने उद्योगी एवं व्यापारीलाई सम्मान र गलत मनशायका साथ काम गरिरहेका कतिपय व्यापारीलाई दण्डको व्यवस्था पनि हुनुपर्ने बताउनुभयो ।

भन्सार विभागका उपमहाननिर्देशक यज्ञराज कोइराला र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक अर्जुनप्रसाद भट्टराईले राजस्व सङ्कलन, स्रोतको व्यवस्थापन र व्यवसायी वा लगानीमैत्री कर प्रणालीले देशमा सुशासन प्रवद्र्धनमा मद्दत गर्ने बताउनुभयो ।

यस अन्तक्र्रियामा राजस्व परामर्श समितिका सदस्य सचिव भूमिराज शर्माले राजस्वका चुनौती, यस सम्बन्धमा गत वर्ष गरिएका सिफारिसहरु, राजस्व नीतिका विशेषता र चालु आर्थिक वर्षको प्रमुख कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कर प्रशासनमा सुधार हुनुपर्ने

चार घण्टापछि आगलागी नियन्त्रणमा:क्षतिको विवरण आउन बाँकी

तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ ।

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो ।

आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताउनुभयो ।

“हामी क्षतिको विवरण सङ्कलन गर्दैछौँ, पछि यसबारेमा जानकारी गराउँछौँ”, खड्काले भन्नुभयो ।

आगलागीबाट चार/पाँच घरमा क्षति पुगेको छ ।

व्यास नगरपालिकाका साथै पोखराबाट आएको दमकल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ आफैँ चढेर आएको हेलिकप्टरले आगो निभाउन सहयोग पुगेको थियो ।

साँघुरो ठाउँ भएकाले दमकल छिराउन समस्या भएको थियो ।

पछि भूपाल हार्डवेयरसँगै रहेको टहरा डोजरले भत्काएर दमकल छिराइएको थियो ।

सिम्रिक एयरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन सहयोग पुर्‍याएको थियो ।

हेलिकप्टरकै कारण आगलागी छिटो नियन्त्रणमा लिन सकिएको बताइएको छ ।

आगलागी नियन्त्रणका लागि चापाघाटस्थित कालीभञ्जन गण (इ), नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका थिए ।

महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन

प्रतिनिधिसभाको आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न समिति गठन गरेको छ ।

सो समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा सुवेदी (गुरुङ), रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा शिवमाया तुम्वाहाम्फे रहनुभएको छ ।

संसद्को बैठकमा आफ्ना माग पूरा गराउन विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सो समितिका लागि आफ्नातर्फबाट नाम दिएको छ ।

प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिश समिति गठन गरिएको हो ।

नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको प्रक्रिया अघि बढेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि यही फागुन १ गते कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाउँदै उक्त प्रस्ताव दर्ता भएको थियो ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन (आव २०७७–०७८) पेश गर्नुभयो ।

सांसद बानियाँ निलम्वित आजको बैठकमा सभामुख सापकोटाले बलात्कारसम्बन्धी अभियोग मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेको अनुन्धानका क्रममा हिरासतमा पर्नुभएकाले नेकपा (एमाले) का सांसद मोहन बानियाँलाई यही फागुन १६ गतेदेखि संविधानबमोजिम निलम्बन गरिएको अवगत गराउनुभयो ।

सभाको अर्काे बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

एमालेका बलात्कारी सांसद बानियाँ निलम्बित

काठमाडौँ-नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।

आजको प्रतिनिधिसभामा बैठकमा बलात्कार आरोपमा पक्राउ परेका सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराइएको हो।

एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो ।

हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

महाअभियोग प्रस्तावबारे सिफारिस समिति गठन हुने

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध प्रतिनिधिसभामा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन दलहरुबीच सहमति भएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज बोलाउनुभएको कार्यव्यवस्था परामर्श समितिमा उक्त प्रस्तावमाथि अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्न ११ सदस्यीय सिफारिस समिति गठन गर्ने सहमति भएको संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो ।

यससम्बन्धी विषय आजको प्रतिनिधिसभा बैठकको कार्यसूचीमा राखिने जनाइएको छ ।

प्रधानन्यायाधीशको कार्यक्षमता र आचारणसम्बन्धी प्रश्न उठाएर यही फागुन १ गते उक्त प्रस्ताव दर्ता भएको थियो ।

प्रतिनिधिसभा नियमावाली, २०७५ को नियम १६२ बमोजिम सो समिति गठनको व्यवस्था छ ।

यसैबीच आज दिउँसो १ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक कार्यव्यवस्था परामर्श समितिको बैठकका कारण सुरु हुन ढिलाइ भएको छ ।

लाग्यो ‘होेरी’ लागेन कतै फागु गीतको धुन

महोत्तरी-न कतै झ्याली, मृदङ्ग र डम्फूको आवाज, न फागु गीतको अलाप ! होरी लागेको छनकै पाइँदैन ।

मिथिलामा श्रीपञ्चमी पर्व मनाइएसँगै सुरु हुने होरी गीत (फागु गीत) कतै नसुनेपछि पर्वको उल्लास हराउँदै गएको छ ।

तिथिले फागुन शुक्लपक्ष लागेपछि ‘होरी’ लागेपनि कतै डम्फू, मृदङ्ग र झ्यालीका तालमा फागु गीत नसुनिएपछि पुराना पुस्ताका मैथिल निरास देखिँदा छन् ।

भक्ति, ठट्टा, परम्परा र उल्लासको सङ्गम हुन्छ फागु गीतमा । ‘शिव मठपर राम खेलैय होरी..हो..शिवमठपर..!’

(भगवान शिवको मठमा राम होरी खेल्छन्) बोलमा ‘होरैया’ ले डम्फू, मृदङ्ग र झ्यालीको तालमा गाएका गीत सुनिएपछि बाटो हिँड्ने बटुवा पनि टक्क अडेर त्यसको भावमा डुब्ने गरेका मिथिला संस्कृतिको विगत छ । ‘हो..किनकाके हात कनक पिचकारी..किनकाके हात अबिर झोरी…!’

(कसको हातमा सुनौला पिचकारी छन्) ‘होरैया’ भित्रकै एकपक्षको प्रश्नात्मक गीतको लयमा जवाफ फर्काउँदै अर्कोपक्षले ‘रामजीके हात कनक पिचकारी, सियाजीक हातमे अबिर झोरी…हो, खैलेय होरी..!’

(रामजीका हातमा सुनौलो पिचकारी र सीताजीका हातमा अबिरको झोली छ, उनीहरु होरी खेल्दैछन्) को लय गाँस्ने फागुगीत सुन्न छाडिएपछि पाका मैथिलमा निरासा बढेको हो ।

तिथिले फागुन शुक्लपक्ष सुरु भएपछि ‘होरी’ (फागु) पर्वको रौनक छाउने मिथिलाको पुरानो परम्परा हो ।

अझ श्रीपञ्चमीकै दिनदेखि मिथिलाका बस्तीबस्तीमा प्रत्येक रात झ्याली, मृदङ्ग र डम्फूको तालमा गुञ्जने ‘होरी’ गीतले प्रत्येकको मन रोमाञ्चित गराउने परम्परा अब विगत बनेको छ ।

श्रीपञ्चमीसँगै प्रत्येक बस्तीमा फागु गाउने ‘होरैया’ (फागु गीत गाउने) समूह देखिन छाडेका छन् । “होरी पर्व फागुन पूर्णिमाका दिन मनाइने बुझाइ छ तर त्यो होइन, त्यो त समापन हो”, फागुबारे स्पष्ट पार्दै बर्दिबास नगरपालिका–९ पशुपतिनगरका ८० वर्षीय नथुनी महतोले भन्नुभयो, “फागु त श्रीपञ्चमीसँगै सुरु हुन्छ ।”

श्रीपञ्चमी सम्पन्न भएसँगै सुरु हुने ‘होरैया’ को फागुगीतले फागुपर्व लागेको सङ्केत दिने र मिथिलामा घरमा आउने अतिथिलाई रङ अबिरले स्वागत गर्नेक्रम सुरु हुने पुरानो परम्परा रहेको उहाँले सम्झनुभयो ।

“सम्धी-सम्धिनी, सोल्टा÷सोल्टी र भिनाजु-सालासालीबीच श्रीपञ्चमीदेखि फागुन पूर्णिमाबीचको भेटमा रङको खेल चल्ने परम्परा नै हो”, उहाँले भन्नुभयो, “एकअर्कालाई लुकेर रङ छ्याप्नु र सम्बन्धबीचको ठट्टा परिहास स्थापित मैथिल संस्कृति नै हो ।”

‘कोन तालमें डम्फू बाजे, कोन ताल मृदङ्ग ! कोन ताल गोरिया नाचे, कोन तालमें हम ?’ (डम्फू कुन तालमा र मृदङ्ग कुन तालमा बज्छ ? अनि गोरी कुन ताल र म कुन तालमा नाच्ने ?) ।

डम्फू र मृदङ्गले चुनौती दिइरहेको हुन्छ र ‘होरैया’ को गीत भावले पनि । मन फुकाएर सामाजिकरुपमा ठट्टा गर्न मिल्ने स्वीकृति पाएका सम्बन्धबीच होरी गीतमा हुने यो ठट्टाभाव अन्य बेला सोच्न नसकिने पाका मैथिल बताउँछन् ।

वसन्त बिरुवाले पुराना पात झारेर नयाँ पालुवा फेर्ने मौसम हो र श्रीपञ्चमीदेखि यो ऋतु सुरु हुने मैथिल जनविश्वास छ ।

यस मौसममा प्रणय सम्बन्ध पनि गाढा हुने मैथिल साहित्यानुरागी र सौन्दर्यशास्त्री बताउँछन् । फागु गीतमा वसन्त उत्सव र प्रणय अपिल सबै भाव व्यक्त हुने मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का साहित्य विषयका सहप्राध्यापक ध्रुव रायले बताउनुभयो ।

श्रीपञ्चमीदेखि फागुन पूर्णिमासम्म प्रत्येक रात हासपरिहास र भरपुर व्यङ्गोक्ति भावका फागु गीतले दिने रोमाञ्चकता सम्झेर ५० वर्ष उमेर कटेका मैथिल अहिले थकथकिन्छन् ।

“खै के समय आयो, साँस्कृतिक पर्व परम्पराका रीतिथिति हराउँदैछन्”, भङ्गाहा–५ सीतापुरका ६५ वर्षीय राजेन्द्र मण्डलले भन्नुभयो, “फागुगीतका सट्टा अचेल चर्को आवाजका डिजे बाजामा डिस्को नाच पो देखिन्छ ।”

पछिल्लो युवा पुस्ताले संस्कृति परम्पराका कुरामा ध्यान नदिएपछि पुराना लोकचलन हराउँदै गएका पूर्ववडाध्यक्षसमेत रहिसक्नुभएका मण्डलको गुनासो छ ।

मिथिलामा फागुमा गाइने गीतमा ईश्वरप्रतिको भक्ति, स्थानीय चलन, सामाजिक र पारिवारिक सम्बन्धभित्रका हास्यपरक व्यङ्ग, युवायुवतीबीचको एकअर्काप्रतिको आकर्षण, शाब्दिक छेडखानी र संस्कृतिसँग सम्बन्धित भाव भेटिन्छन् ।

गीतकै माध्यमबाट रामसीताले वनविहार गर्दै रङ्ग छ्याछ्याप गरेका कथानक बुनिएका भावमात्र हैन, गीतमा नवयौवनालाई रङ खेल्न आउने चुनौतिपूर्ण निम्ता पनि हुन्छ । गीतमा हुने भरपूर मनोरञ्जनले नवयौवना ‘होरैया’ का अगाडि पर्न नसके पनि छिंडीमा लुकेर खिलखिलाउन भने छोड्दैनन् ।

फागु गीतमा रङ्ग, अबिरको महत्ता बाहिरी आङमा रङ देखिनुसम्म मात्र नभएर मन रङ्गिनुसँग हुन्छ । प्रशन्नता, उल्लास फागु गीतका अवयब नै हुन् ।

फागु गीतमा किशोरावस्था पार गरेसँगै युवापुस्तामा हुने÷आउने प्रणय सम्बन्धको कल्पना, रुप यौवनको वर्णन र एकअर्कामा समाहित हुन गरिने अपिलका भाव हुन्छन् ।

गीतमै नवयौवनाको मनोदशा वर्णनका रोमाञ्चक भाव समेटिएका हुन्छन् । अनुराग, प्रेम र समर्पणको भाव फागु गीतमा अलि बढी नै उच्छालिएका हुन्छन् । मैथिल संस्कृतिमा अन्यबेला छिल्लिएको अर्थमा बुझिने प्रस्तुति पनि ‘होरी’ मा स्वीकार्य हुन्छ ।

“होरी मनका बन्धन फुकाएर रमाइने पर्व हो, त्यसैले होरी गीतमा शृङ्गार रसको प्रधानता हुन्छ”, मिथिला क्षेत्रका साहित्यकार महोत्तरीकै जलेश्वर नगरपालिका बखरी बस्तीका बासिन्दा महेश्वर रायले भन्नुभयो ।

पूर्वप्रशासक ८० वर्षीय राय विश्वमै स्थान बनाएको मिथिला सभ्यता र संस्कृति पछिल्ला दिनमा ओझलिदै गएकोप्रति चिन्ता व्यक्त गर्नुहुन्छ ।

मिथिलामा ‘होरी’ रङ, अबिर र उल्लासको पर्व हो । श्रीपञ्चमीपछि सम्धीसम्धिनी भेटेर फर्केका मैथिलको रङ्गिन धोती नै सो कुराको साक्षी हुन्छ ।

धोतीमा रातो रङको छिर्का देखिनासाथ सम्धी÷सम्धिनी, सालासाली र सोल्टासोल्टी भेट भएका सहजै अनुमान लगाइन्छ ।

‘ए तपाई त सम्धीघर जानुभएको थियो ?’ सेतो धोतीमा रातो रङको छिर्का देखेपछि अर्का मैथिलले सिधै जिज्ञासा यसरी मेट्छन् ।

तर पर्वमा यो मनोरञ्जन र आत्मीय छेडखानी अब देख्न छाडिएको बलवा नगरपालिका भगवतीपुरका ७० वर्षीय उत्तिम माझी मुसहरले बताउनुभयो ।

‘होरी’ मात्र नभएर मिथिलाका अन्य चाडपर्वका अवसर पनि फिका पर्न थालेका पाका मैथिलको बुझाइ छ ।

स्थानीय संस्कृति परम्पराका अभ्यास पातलिँदै गएपछि अब आफ्नो भन्ने मौलिक कुरा हराउँदै गएको पाका मैथिलको चिन्ता छ ।

दमौली बजारमा भिषण आगलागी

तनहुँस्थित दमौली बजारमा भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले दमौली चोकमा भएको आगलागीको पुष्टी गरेको छ ।

स्थिानिय स्रोत साधनबाट आगलागी नियन्त्रणमा नआएपछी गृहमन्त्रालय काठमाडौको समन्वयमा हेलिकप्टर आगलागी नियन्त्रणमा पठाईएको छ ।

आगो नियन्त्रणमा लिन असम्भव भएपछि हेलिकप्टरबाट पानी हालेर आगो निभाउन सिम्रिक एयरको हेलिकप्टर दमौलीमा पठाएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि पनि ठूला आगलागी नियन्त्रण गर्न सिम्रिक एयरको हेलिकप्टर प्रयोग गरिन्थ्यो ।

बिजुली सर्ट भएर आगलागी भएको बताइएको छ ।

प्रेस काउन्सिल अध्यक्ष बस्नेतलाई पदबाट नहटाउन सर्वोच्चको आदेश

काठमाडौँ-प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन सर्वोच्च अदालतले आदेश गरेको छ।

शुक्रवार सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो।

मन्त्रिपरिषद्ले काउन्सिलका अध्यक्ष बस्नेतलाई स्पष्टीकरण सोधेको विषयमा प्रश्न उठाउँदै बस्नेतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै प्रारम्भिक सुनुवाइबाटै स्पष्टीकरणको कार्यान्वयन नगर्न भनेको छ।

प्रेस काउन्सिल स्वतन्त्र, स्वायत्त र अर्धन्यायिक निकाय भएकाले त्यसको काम कारबाहीमा सरकारी हस्तक्षेप अमान्य हुने आदेशमा भनिएको छ।

मध्यान्ह १ बजे प्रतिनिधि सभा बैठक

प्रतिनिधि सभाको बैठक आज मध्यान्ह १ बजे बस्दै छ ।

एमसिसि अनुमोदन पश्चात पहिलो पटक बस्न लागेको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेस गर्ने कार्यतालिका छ ।

आज बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ ।

महोत्तरी कांग्रेस सभापतिमा यादव

नेपाली कांग्रेसको महोत्तरी जिल्ला सभापति पदमा नागेश्वर यादव विजयी हुनुभएको छ ।

शनिबार घोषित मतपरिणामानुसार उहाँलाई दोस्रो मत प्राप्त गर्ने सुशीलकुमार यादवले समर्थन जनाउनुभएको थियो ।

विजयी नागेश्वरले कूल खसेको दुई हजार १३९ मतमध्ये एक हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

दोस्रो मत पाउने सुशीलकुमारले ७७९ र अर्का उमेदवार बजरङ्ग नेपालीले ३०६ मत प्राप्त गर्नुभएको थियो ।

कांग्रेसको विधानानुसार निर्वाचित हुन ५० प्रतिशत कटाउनुपर्ने प्रावधानले पहिलो र दोस्रो मत प्राप्त गर्नेबीच फेरि प्रतिस्पर्धा गराउनुपर्ने भए पनि दोस्रो मत प्राप्त गर्नेका सहमतिमा पहिलो मत प्राप्त गर्नेलाई विजयी घोषणा गरिएको निर्वाचन समितिका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिनुभयो ।

कांग्रेसको १४औँ महाधिवेशन क्रममा यसअघि बिभिन्न कारणले अल्झदै आएको जिल्ला अधिवेशनको मतदान शुक्रबार सम्पन्न भएको हो ।

मतदानमा ९४ प्रतिशत मतदाताले मतदान गरेका निर्वाचन अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

सभापतिमा विजयी नागेश्वर पञ्चायतकालदेखि नै कांग्रेसमा आबद्ध भई राजनीतिमा सक्रिय रहँदै आउनुभएको हो ।

यसअघि नेपाल विद्यार्थी सङ्घको बिभिन्न जिम्मेवारी र तरुण दलको केन्द्रीय उपाध्यक्ष रहिसक्नुभएका उहाँ दलको १३औँ महाधिवेशनमा पनि जिल्ला सभापतिका उमेदवार हुनुहुन्थ्यो । उहाँ जिल्लाको लोहारपट्टी नगरपालिकाको मधपुराका स्थायी बासिन्दा हुनुहुन्छ ।

‘सहमतिबाटै महाअभियोग’

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताउनुभएको छ ।

पत्रकार डबल महताराद्वारा लिखित ‘जुग जगाउँदाखेरि’ पुस्तक विमोचन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उहाँले न्याय क्षेत्रमा बेथिति बढ्दै गएपछि यसको समाधानका लागि महाअभियोग प्रस्ताव दर्ता गरिएको हो भन्नुभयो ।

उहाँले भन्नुभयो “जनताको पार्टी बनाउनका लागि हामीले गाउँ फर्किने अभियान सञ्चालन गरेका छौँ । नेतादेखि कार्यकर्तासम्म सबै जनतामा फर्किन आवश्यक छ ।”

उहाँले पुस्तकले माओवादी आन्दोलनलाई संस्थागत गर्नमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

पुस्तकका लेखक महतराले जनयुद्धका समयमा आफूले पत्रकारिताका क्रममा भोगेका अनुभव र अनुभूतिलाई पुस्तकमा समेट्नुभएको छ ।

पुस्तकमाथि प्रेस सेन्टर नेपालका पूर्वअध्यक्ष महेश्वर दाहाल, वरिष्ठ पत्रकार डा दीपेन्द्र रोकाया, पत्रकार महासङ्घका पूर्वसचिव प्रभात चलाउनेले टिप्पणी गर्दै यसले कठिन समयको स्मरण गराएको बताउनुभयो ।

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति: निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

काठमाडौँ-केही वर्ष पहिले दुगर्मका कुरा छाडौँ सहर तथा सुगम नै मानिएका स्थानमा बिजुलीको बिल तिर्न जाँदा पनि दिन बिताउनुपथ्र्यो ।

रु ८० बराबरको बिल तिर्न यसको चार गुणा बढी खर्च हुन्थ्यो । दिनभरि त्यसैका लागि बिताउनुपर्दा अरु महत्वपूर्ण काम छुट्थे । तर, आज त्यो अवस्था छैन ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व विकास तथा स्वदेशी कम्पनीहरूको आश्चर्यजनक विकासका कारण पछिल्ला दिनमा भुक्तानी प्रणालीको अभूतपूर्व विकास भएको छ ।

अन्य क्षेत्रका सरकारले हस्तक्षेप गरेपछि व्यापार व्यवसायमा गुणात्मक विकास भएको देखिन्छ । तर विज्ञान तथा प्रविधिको क्षेत्रमा भने निजी क्षेत्र अगाडि देखिन्छ ।

नेपाल राष्ट्र बैंकले पनि विद्युतीय भुक्तानी तथा कारोबारलाई महत्व दिएर व्यापक प्रचार–प्रसार गरेको छ ।

यसबाट पनि आम नागरिकलाई सहजरूपमा आफ्ना दैनिक काम कारबाहीलाई अगाडि बढाउन सहयोग पुगेको छ ।

कम्प्युटर, मोबाइल, कार्डजस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ ।

विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिँदैन । त्यसकारण पैसा हराउने, चोरिने तथा अन्य कुनै पनि समस्या हुँदैन ।

कोरोनाको महामारीले पनि विद्युतीय भुक्तानी तथा कारोबारमा थप विस्तार गरिदिएको हो ।

त्यसभन्दा अघि वैकल्पिक प्रणालीजस्तो रहेको विद्युतीय कारोबार अहिले आएर भने आम बन्न पुगेको छ ।

सो बैंकले योजनाबद्धरूपमा नै विद्युतीय भुक्तानी र कारोबारलाई बढावा दिएको छ ।

मोबाइल वालेट, कनेक्ट आइपिएस, आरजिटीएसजस्ता प्रणाली सञ्चालनमा ल्याएको छ । यसले गर्दा आम मानिसलाई कारोबारमा सहजता र विश्वसनीयता पनि थपेको छ ।

यता विद्युतीय कारोबारमा वृद्धि भएसँगै सुरक्षाबारे बढेको चासोप्रति भने नियामक निकायको दायित्व थपिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनामा विद्युतीय कारोबारको सङ्ख्या र परिमाण दुवै बढेको देख्न सकिन्छ ।

ठूलो कारोबारका राफसाफका लागि सञ्चालनमा ल्याइएको रियल टाइम ग्रस सेटलमेन्ट (आरजिटीएस) कनेक्ट आइपिएस र मोबाइल बैंकिङमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

केन्द्रीय बैंकका अनुसार गत पुस मसान्तसम्म ३१ लख ४५ हजार ९५९ पटक कनेक्ट आइपिएसबाट कारोबार भएको छ ।

आरजिटीएसमार्फत ६४ हजार २५४, मोबाइल बैंकिङमार्फत एक करोड ३५ लाख १८ हजार ९३६ पटक कारोबार भएको छ ।

वालेटबाट एक करोड ३७ लाख १२ हजार २०६ पटक, क्यूआर कोडबाट १९ लाख १८ हजार ५२६ पटक कारोबार भएको विवरण छ ।

कोरोनाका कारण बैंक तथा वित्तीय संस्थामा भौतिकरूपमा उपस्थित भएर कारोबार गर्न नपाएपछि आम मानिसले विद्युतीय कारोबारलाई नै प्राथमिकता दिएका कारण आमरूपमा स्थापित हुन पुगेको छ ।

विद्युतीय कारोबार सहज र सस्तो भएकाले पनि मानिसको आकर्षण बढेको देखिन्छ । राष्ट्र बैंकको विवरणानुसार कनेक्ट आइपिसमार्फत हुने कारोबार रु एक खर्बभन्दा बढीले भएको छ ।

विसं २०७७ जेठ मसान्तमा रु ५१ अर्ब ३० करोड ६० लाख बराबरको कारोबार कनेक्ट आइपिएसमार्फत भएकामा त्यो बढेर २०७८ जेठ मसान्तमा आइपुग्दा रु एक खर्ब ५८ अर्ब २५ करोड ४० लाख बराबर पुगेको छ ।

अघिल्लो जेठमा १४ लाख ६४ हजारवटा कारोबार भएकामा २०७८ जेठमा आइपुग्दा त्यो बढेर २१ लाख ६० हजार ६४८ पटक कारोबार भएको छ ।

सबै क्षेत्रमा सहजरूपमा विद्युतीय कारोबार हुने र स्वीकार्य हुने अवस्था बनेको खण्डमा नगद कारोबारलाई न्यून विन्दुमा झार्न सकिने अवस्था क्रमशः बन्दै गएको छ ।

केन्द्रीय बैंकले कालिमाटी तरकारी तथा फलफूल बजारका अतिरिक्त देशका प्रमुख तरकारी बजार, डिपार्टमेन्टल स्टोर तथा अन्य सार्वजनिक स्थानमा क्यूआर कोडको प्रयोगलाई बढावा दिन नियमित अभियान नै चलाएको छ ।

क्यूआर कोड प्रयोग गर्ने क्रम बढ्दै जाँदा त्यसले समाजमा समेत सकारात्मक प्रभाव पारेको छ । खुद्रा पसल, तरकारी बजार तथा सामान्य व्यवसायमा समेत क्यूआर कोड प्रयोगमा वृद्धि हुँदै आएको छ ।

नगदरहित कारोबारलाई बढावा दिँदै जाने केन्द्रीय बैंकको योजना छ ।

गभर्नर महाप्रसाद अधिकारीले यो अभियानलाई महाअभियानको सङ्ज्ञा दिनुभएको छ ।

केन्द्रीय बैंकले आव २०७९÷८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षका रूपमा मनाउने लक्ष्य राखेको छ ।

त्यसका लागि चालु आवमा आवश्यक पूर्वाधारको विकास र चेतना अभिवृद्धिमा जोड दिने लक्ष्य छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जाको आवेदनदेखि स्वीकृति गर्नेसम्मको प्रक्रियालाई विद्युतीय माध्यमबाट हुने व्यवस्थाका लागि सहजीकरण गर्न डिजिटल कर्जा मार्गदर्शन तर्जुमा गरी कार्यान्वयनमा ल्याउन लागिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले महसुल भुक्तानीमा केही वर्ष पहिलेदेखि नै विद्युतीय प्रणाली सुरुआत गरिसकेको छ ।

काठमाडौँका अधिकांश वितरण केन्द्रको महसुलमध्ये झण्डै ५० प्रतिशत हिस्सा विद्युतीय प्रणालीमार्फत हुने गरेको छ ।

खानेपानीको बिलदेखि हवाई टिकट खरिदसम्म विद्युतीय माध्यमबाटै हुने गरेको छ । सरकारको राजश्वदेखि अन्य दैनिक उपभोग्य सामग्रीको खरिदमा समेत विद्युतीय भुक्तानीको मात्रामा बढोत्तरी भएको छ ।

नगद नै नभए पनि जीवन सहजरूपमा चलाउन सकिने अवस्था सिर्जना भएको छ ।

घर, कार्यालय वा आफूलाई आवश्यक परेको स्थानमा मोबाइलबाटै खाना तथा खाजासमेत मगाउन सकिने सहज वातावरण सिर्जना भएको छ ।

कनेक्ट आइपिएसमार्फत नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, राहदानी तथा ट्राफिक प्रहरीको जरिवाना तिर्न सकिन्छ ।

यस्तै सवारीसाधन खरिद, शेयरबजार कारोबार, बीमाशुल्क तथा इन्टरनेटको बिल, मोबाइल टेलिफोनको बिल तथा वालेटमा समेत पैसा राख्न सकिन्छ ।

भुक्तानी प्रणालीमा ‘क्यूआर कोड’

नेपालको हकमा भुक्तानी प्रणालीमा आएको क्रान्तिका पछाडि एफवान सफ्टको नेतृत्वदायी भूमिका रहेको छ ।

भुक्तानी प्रणालीमा ‘क्यूआर कोड’ क्रान्ति नै भएको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ ।

नेपालमा डिजिटल पेमेन्टको सुरुआत ई–सेवाले ग¥यो । ई–सेवाले डिजिटल पेमेन्टको क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

ई–सेवाको यो सुविधा यति व्यापक भयो कि डिजिटल पेमेन्ट भनेकै ई–सेवा हो भन्ने मान्यता विकास भएको छ ।

मोबाइलमा रिचार्ज गर्दा होस् वा प्लेनको टिकट काट्न, बिजुलीको बिल तिर्न, स्कुलको फि तिर्न तथा इन्स्योरेन्सको प्रिमियम बुझाउनेलगायतका सेवाका लागि ई–सेवा सबैभन्दा सहज माध्यम बनेको छ ।

सुरुआती दिनमा बैंक तथा वित्तीय संस्थालाई पनि विद्युतीय प्रणालीमा जोड्न ठूलै मेहेनत गर्नुपरेको स्मरण गर्नुहुन्छ प्रमुख कार्यकारी अधिकृत शर्मा । सुरुमा एसएमएसमार्फत जानकारी दिने प्रणालीको विकास भयो ।

मोबाइल फोनमा भएको क्रान्ति तथा इन्टरनेटको सहज उपलब्धतासँगै विद्युतीय कारोबारको दायरा र सीमामा आकाश–जमिनको फरक देखिन थालेको हो ।

ठूला सपिङ मलदेखि, कफीसप र रेष्टुराँ हुँदै साना पान पसलले पनि यतिबेला क्यूआर कोड स्क्यान गरेर बिल भुक्तानी गर्न सकिन्छ ।

बैंक तथा वित्तीय संस्थाहरु फाेनपे, ई–सेवा, खल्तीजस्ता भुक्तानी प्रणालीमा जोडिएका छन् ।

यसबाट समयको बचत भयो भने भुक्तानी प्रणाली मोबाइलको एक क्लिकका भरमा हुने भयो ।

एफवान सफ्टका सिइओ शर्माका अनुसार फोनपेबाट मात्रै हाल रु दुई अर्ब ५० करोड बराबरको भुक्तानी हुन्छ ।

ई–सेवाको झण्डै ५० लाख पटक एप डाउनलोड भएको छ ।

समयक्रमअनुसार सेवामा विविधिकरण गरिरहेको र नगदरहित कारोबारका अलावा, विद्युतीय प्रणालीबाटै ऋण लिने तथा अन्य दैनिक जीवनसँग जोडिएका क्षेत्रमा पुग्ने लक्ष्य राखिएको उहाँको भनाइ छ ।

तपाईँको बैंक खातामा पैसा छ भने कही कतै जाँदा पनि वा कुनै काम गर्दा पनि रोकिने अवस्था छैन ।

हरेक क्षेत्रमा सहजरूपमा भुक्तानी गर्न सकिने अवस्था सिर्जना भएको छ ।

नगद छैन, के गर्ने होला भन्ने चिन्तासमेत आम मानिसमा हट्दै जानु नै आफूहरूको पनि सफलता भएको उहाँको भनाइ छ ।

तरकारी किन्न जाँदासमेत नगद नभए पनि चल्ने भएको छ ।

नगदको सट्टामा मोबाइलमा भएको एपबाट क्यूआर कोडमार्फत भुक्तानी गर्न पाउँदा सहज भएको छ ।

गोजीभरि नगद राख्न पनि नपर्ने, एटिएमको बुथ खोज्दै दौडनु पनि नपर्ने र चेक बोकेर सटहीका लागि लामो लाइनमा लाग्नुपर्ने झन्झट हट्नु पनि अर्को सफलता भएको प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ ।

समयको बचतमात्रै होइन, भुक्तानी गरेको रकमको १० प्रतिशत रकम खातामा तुरुन्तै फिर्ता आउने भएकाले पनि मानिसलाई थप आकर्षित गरेको छ ।

नेपालको भुक्तानी प्रणालीमा नयाँ मार्गदर्शन गर्ने एफवान सफ्टले स्थापनाको १७ वर्ष पूरा गरेको छ ।

यसबीचमा कम्पनीले सबै बैंक तथा वित्तीय संस्थालाई यस प्रणालीमा जोडेको छ ।

ती सबैको मोबाइल एप एफवान सफ्टले बनाएको छ । एफवान सफ्टको सिस्टममा सबै बैंक तथा वित्तीय संस्था जोडिएको छ ।

त्यसबाट बैंक तथा वित्तीय संस्थालाई पनि निक्षेप प्राप्त हुने, उपभोक्तालाई नगद बोक्नुपर्ने झन्झटको अन्त्य गरिदिएको छ भने मर्चेन्टहरुलाई सुरक्षितरूपमा बैंकमा पैसा जम्मा भइराख्ने अवस्था बनेको छ ।

पसलमा पनि क्यूआर कोडमार्फत भुक्तानी गर्दा एउटा स्ट्यान्डमात्रै राख्दा हुने भएको छ ।

त्यसबाट जुनसुकै बैंकको एप वा ई–सेवा, फोनपे, खल्तीजस्ता एपबाट भुक्तानी गर्न सकिने भयो ।

भुक्तानी प्रणालीको नयाँ विकास वास्तवमै प्रभावकारी बनेको जानकारी दिँदै शर्माले समग्र बैंकिङ प्रणालीलाई यसैमा जोडिएकाले बैंक तथा वित्तीय संस्थाका ग्राहकले यसैमार्फत सहजरूपमा कारोबार गर्न पाएको र सबैभन्दा सुरक्षित रहेको बताउनुभयो ।

अन्य प्रविधि विदेशबाट आयात भए पनि सूचना प्रविधिको क्षेत्रमा भएका विकासको श्रेय भने नेपाली व्यवसायीलाई नै जान्छ ।

भारतलाई केन्द्र बनाएर काम गरिरहेका फोनपे, गुगलपे, पेटिएमजस्ता सेवाप्रदायक पनि नेपालमा आउने तयारी गरिरहेका छन् ।

कत्तिको चुनौती देख्नुहुन्छ भन्ने प्रश्नमा एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत शर्मा भन्नुहुन्छ, “हामी हाम्रो प्रविधि र हाम्रो सेवामा विश्वास गर्छौँ । यही आउने हो उनीहरु पनि त्यसकारण हामीलाई कुनै चुनौती हुँदैन ।”

जसरी प्रविधिको प्रयोगमार्फत मानिसको दैनिक जीवन सजिलो बनेको छ त्यसमा थप सुविधा थप्दै जानुपर्ने आवश्यकता पनि बढेर गएको छ ।

कुनै पनि कामका लागि पनि बैंक तथा वित्तीय संस्थामा लाइन लाग्नुपर्ने अवस्थाको अन्त्यका लागि के–कस्ता काम गर्न सकिन्छ भनेर सुरु गर्दै जाँदा डिजिटल लेण्डिङ पनि अगाडि बढेको जानकारी दिँदै कार्यकारी निर्देशक शर्माले नेपाल सरकार र राष्ट्र बैंकको भूमिका पनि प्रसंशनीय रहेको बताउनुभयो ।

डिजिटल वित्तीय सेवा कम्पनी एफवान सफ्ट इन्टरनेशनल १८औँ वर्षमा प्रवेश गरेको छ ।

सन् २००४ को मार्च ६ गतेबाट कम्पनीले आफ्नो सेवा सुरु गरेको थियो ।

कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ ।

उपभोक्ताको दैनिक सहज

एफवान सफ्टले निर्माण गर्ने प्रविधिले आम मानिसको दैनिकी सहज बनाओस् र त्यसको फाइदा मुलुकलाई पुगोस् भन्ने दृष्टिकोण राखेर काम गरिएको जनाउँदै उहाँले सरकारले अगाडि सारेको डिजिटल नेपालको लक्ष्यसमेत क्रमशः पूरा हुँदै जाने बताउनुभयो ।

कम्पनीले एक हजार बढीलाई रोजगारी दिएको छ । एफवान सफ्टसहित १३ कम्पनी सञ्चालनमा छन् ।

यसमा एफवान सफ्ट, ई–सेवा, फोनपे, ई–सेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका, सिरानटेक, दर्शन टेक, एक्टेन्सो डेटा, स्वस्तिक कलेज, बस सेवा, ई–सेवा ट्राभल छन् ।

कम्पनीले वित्तीय क्षेत्रबाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उद्देश्यले सफ्टवेयर निर्माण गर्छ ।

ई–सेवा नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो । सन् २००९ देखि सेवा सुरु गरेको ई–सेवाले हाल ५० लाख ग्राहकलाई प्रत्यक्ष सेवा र एक लाख एजेन्ट नेटवर्कबाट डेढ करोड जनतालाई भुक्तानी सेवा दिइरहेको छ । ई–सेवाबाट हाल दैनिक दुई लाखभन्दा बढीको कारोबार हुन्छ ।

हाल ई–सेवामार्फत मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, रेमिट्यान्स सेवा, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका दुई हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिने प्रमुख सिइओ शर्माको भनाइ छ ।

त्यस्तै फोनपेको नेटवर्कमा एक करोड ३० लाख बढी रजिष्टर्ड युजर, एक लाख ५० हजार बढी मर्चेन्ट र ५० बढी पार्टनर आबद्ध छन् ।

फोनपेअन्तर्गत फोनपे अफर, फोनपे मर्चेन्ट, फोनपे डाइरेक्ट, क्यूआर पेमेन्ट, कर्पोरेट फोनपे, हब पेमेन्ट, थर्डपार्टी पेमेन्टजस्ता सेवा उपलब्ध गराउँछ ।

नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व राख्ने शल्यक्रिया

काठमाडौ-नेपालमा पहिलो पटक मुटुको कृत्रिम भल्व राख्ने शल्यक्रिया भएको छ ।

शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले एक ८० वर्षीयमा महिलाको मुटुमा कृत्रिम भल्व राख्ने शल्यक्रिया सफल भएको हो ।

मुटुको एओर्टिक भल्व साँधुरो भएपछि उक्त भल्वको स्थानमा नयाँ कृत्रिम भल्व राखिएको केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारीले जानकारी दिनुभयो ।

उहाँले नेपालमा पहिलो पटक सफलतापूर्वक ‘ट्रान्सक्याथर इरोटिक भल्व इम्प्लामेन्टेशन (टाभी)’ विधिबाट महिलाको सफलतापूर्वक भल्वको प्रत्यारोपण गरिएको जानकारी दिनुभयो ।

यसविधिअनुसार तिघ्राको धमनी फिमोरल आर्टरीबाट एक विशेष किसिमबाट निर्मित तार अर्थात् क्याथेटरद्वारा मानवनिर्मित भल्व मुटुभित्र छिराई रोग भएको एओर्टिक भल्वको स्थानमा प्रत्यारोपण गरिन्छ ।

प्रत्यरोपण भएको भल्वले तुरुन्तै काम शुरुगर्ने हुँदा बिरामीलाई चाँडै नै आराम महसूस हुने गर्दछ ।

केन्द्रले ती बिरामी महिलाको सोमबार भल्व प्रत्यारोपण गरेर आज शुक्रबार डिस्चार्ज गरेको हो ।

मुटुको एओर्टिक भल्व साँघुरो भएपछि मानिसमा छाती दुख्ने, बेहोस हुने र रिँगटा लाग्ने गर्दछ ।

उक्त एओर्टिक भल्व बयस्क मानिसमा शल्यक्रियाद्वारा उपचार गर्न सकिन्छ भने वृद्धाअवस्थामा भने शल्यक्रिया गर्न असहज भएको भल्व नै प्रत्यारोपण गर्नुपर्ने हुन्छ ।

मुटुबाट निस्कने मुख्य धमनीमा रहेको एओर्टिक भल्व साघुरिने रोगलाई ‘एओर्टिक स्टेनोसिस’ भनिन्छ ।

यस्ता रोग लागेमा बिरामीकोे पाँच वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत, तीन वर्षमा मृत्यु हुने सम्भावना ५० प्रतिशत र दुई वर्षभित्र मृत्यु हुने सम्भावना ५० प्रतिशत हुने गर्दछ ।

यस रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भल्व प्रत्यारोपण गरिने विधि हो ।

तर वृद्धावृद्धामा यस रोगका शल्यक्रिया गरेर उपचार गर्दा जोखिम हुने भएकाले ‘टाभी’ विधिबाट मात्र सम्भव हुने गर्दछ ।

ती महिलाको भल्व प्रत्यारोपण केन्द्रले दुई महिनाको अथक प्रयासपछि केन्द्रले सफल भएको हो ।

“बिरामीको नियमित दुई महिनाको नियमित परीक्षण पछि हामीले सफल प्रत्यारोपण गर्न सफल भएका हौँ”, उहाँले भन्नुभयो, “भल्वको सिटी स्क्यान गरेर कम्पनीमा पठाऔँ र सोहीको आधारमा भल्व बनाइ नेपाल पठाइएको हो ।

लामो सल्लाहपछि भल्व प्रत्यारोपण गर्न हामी सफल भयौँ ।” बिरामीको मुटुमा २३ एमएमको भल्व राखिएको छ । बिरामीलाई २३ एमएम, २६ एमएम, २९ एमएम र ३१ एमएमका भल्व राख्ने गरिन्छ ।

उहाँले नेपालमा नै उक्त भल्वको सफल प्रत्यरोपण गरेपछि अब भल्व परिवर्तन गर्नका लागि भारतलगायत विदेशमा महङ्गो खर्च गरेर जान नपर्ने बताउनुभयो ।

केन्द्रका निर्देशक डा अधिकारीका नेतृत्वमा रहेको २२ जनाको चिकित्सकसहित टोली सफल भल्वको प्रत्यारोपण गरेको हो । कृत्रिम भल्व नेदरल्याण्डमबाट खरिद गरी ल्याइएको हो ।

“भल्व प्रत्यारोपण सफल गराउनु ठूलो चुनौति थियो । मैले यसभन्दा अघि पनि नेपालमा पहिलो पटक हुने ठूलाठूला शल्यक्रिया गरेका थिए”, उहाँले भन्नुभयो, “भल्व प्रत्यारोपण गर्नका लागि म आफैँ एक दुई दिनदेखि कसरी सफल गराउन भन्नेमा थिएँ । प्रत्यारोपण सफल भयो । म खुशी छु ।”

यस किसिमको प्रत्यारोपणले अब नेपालमा हुने भएपछि धेरै बिरामीको उपचार गर्न सकिने उहाँले बताउनुभयो ।

सन् २००२ देखि यस किसिमको कृत्रिम भल्व फ्रान्स पहिलो पटक गरिएको थियो । कृत्रिम भल्व प्रत्यारोपण भारतमा ६० देखि ८० लाख रुपियाँ लाग्ने र नेपालमा २० देखि २५ लाखमा गर्न सकिने केन्द्रका निर्देशक डा अधिकारीले बताउनुभयो ।