भौतिक पुर्वाधार मन्त्रालयको बिज्ञमा मिश्र

काठमाडौ-नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्री परिषदकार्यालयको फागुन १६ गतेको निर्णयले पुर्वाधार बिज्ञमा रेल बिभागका पुर्व महानिर्देशक बलराम मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

सोही निर्णय अनुसार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विशेषज्ञको रुपमा आज मन्त्री रेणु यादवले मिश्रलाई नियुक्तिपत्र दिनु भयो ।

लामो समय पुर्वाधार बिकास प्रशासनको अनुभव सगाल्दै कुशलता पुर्वक आफ्नो कर्तव्य पूरा गर्नुभएका मिश्रको नियुक्ति सगै भौतिक मन्त्रालय मातहतका कर्मचारीले खुसी व्यक्त गरेका छ्न ।

भर्खरै नियुक्त भएका मिश्र केही महिना अघि रेल बिभागको महानिर्देशक बाट जागिरे सेवा सकिए सँगै आफ्नो समय प्राविधिक क्षेत्रको बिकासमा समर्पित गर्दै आउनु भएको थियो ।

मिश्र अबका दिनबाट मन्त्रालयको यो जिम्मेवारीलाई बहन गर्दै जन अपेक्षा अनुसारको काममा लाग्नुहुने अपेक्षा गरिएको छ ।

बिगतमा जहाँ जहाँ रहेर काम गरेपनि परिणाममुखी काम गर्ने छवि बनाएका मिश्रको नियुक्तले मन्त्री यादवलाई मात्रै होइन सिङ्गो सरकार कै निम्ति पुर्वाधार बिकासको रफतार अगाडि बढाउन र जनमुखी काम गर्न सहज हुने प्राबिधिक बिश्लेषकहरुको धारणा रहेको छ।

१२६ जनामा कोरोना संक्रमण पुष्टि

थप १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार ८४२ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी १२६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल ७ हजार २४२ जना संक्रिय संक्रमित रहेका छन् ।

‘सरकार ! के गरेर खाम ’

‘सर्टिफिकेट छ डिग्री पासको
न त गासको न टुङ्गो बासको
मैले के गरेर खाम
देशमै भोकै बसम् की
खाडीतिर पसम् की
सरकार ! लौन निधो पाम…’ (पुरुष)

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार ! के गरेर खाम’ को पहिलो तुक्का हो, यो ।

बैंकले ऋण नपत्याएपछि ती बेरोजगार युवा सरकारसामु प्रश्न गर्छन् ।

        ‘पढेकी हुँ बेचेर खेतबारी
        अहिले खान पुग्दैन पेटभरी
        मैले के गरेर खाम...’ (महिला)

सर्टिफिकेट राखेर ऋण झिक्न पाइने सरकारी निर्णय सुनेर बैंकमा पुगेका युवालाई कर्मचारीले धितो/आयस्रोत नभई ऋण दिन नसिकने भन्दै रित्तो हात फर्काउँछन् ।

उल्टै सरकारसँग गएर ऋण माग्नु भनेर रुखो जवाफ लगाउँछन् ।

गीतमा प्रयुक्त संवादले शैक्षिक कर्जा कार्यान्वयनमा देखिएको सकसलाईसमेत दर्शाउँछ ।

यसरी देशमै स्वरोजगार बन्नबाट बञ्चित शिक्षित युवाको मनोदशा र त्यसले उब्जाएका प्रश्न गीतमा मुखरित छन् । गीतको रचना गर्भ पनि यही हो ।

सिर्जना गर्दा जहिल्यै जनजीवनका मुद्दा रोज्ने लोकगायक विष्णु खत्री र गायिका सजना बास्तोलाद्वारा स्वरबद्ध यस गीत युट्युबमा सार्वजनिक भएको भर्खर २४ घण्टा बितेको छ ।

‘विष्णु खत्री’ युट्युब च्यानलबाट सार्वजनिक गीतको म्यूजिक भिडियोले विस्तारै ‘भ्यूज’ पनि बटुल्दै छ ।

सर्जक तथा गायक खत्रीले गीतको मार्फत् नेपालमा व्याप्त शैक्षिक बेरोजगारीको समस्यालाई उजागर गर्न खोजिएको बताउनुभयो ।

“नागरिकलाई गास, बास, कपास, स्वास्थ्य, शिक्षा र रोजगारी दिलाउनु सरकारको दायित्व हो”, उहाँले भन्नुभयो, “यिनै मुद्दामा गीत लक्षित छ, कोही बेरोजगार नहोस, उत्पीडनमा पर्नु नपरोस्, राज्यले अभिभावकत्व लिइदिओस् ।”

स्वदेशमा रोजगारीको अभावले अहिले पनि दैनिक सयौँ नेपाली युवा विदेश भौँतारिनुपर्ने स्थिति छ । शैक्षिक जनशक्ति पलायन पनि उत्तिकै छ ।

समृद्ध, समुन्नत र न्यायपूर्ण समाज र देश निर्माणमा पनि गीतले सिर्जनात्मक खबरदारी गरेको लोकगायक खत्रीले सुनाउनुभयो ।

म्यूजिक भिडियोमा कलाकार विनोद न्यौपाने र जुना सुन्दासले गरेको अभिनयले गीतबाट दिन खोजेको सन्देशलाई सरल तर कलात्मक ढङ्गले प्रस्तुत गरेको छ ।

लोकसङ्गीत क्षेत्रका चर्चित गायक/सर्जक खत्रीका यसअघि पनि सामाजिक विषयवस्तुमा आधारित कैँयन गीत सार्वजनिक भइसकेका छन् ।

उहाँका ‘भरिया दाइ’, ‘अन्तरजातिय विवाह’, ‘कि सास चाहियो, कि लास चाहियो’, ‘जम्मु कश्मिरमा’, ‘किसानी दाइ’, ‘आमा म मरेको छैन’ लगायतका गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा जन्मनुभएका खत्री दुई दशकदेखि लोकसङ्गीतमा सक्रिय हुनुहुन्छ ।

गैँडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं-चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

चितवन कालिका नगरपालिका-२ घर भएका ४० वर्षीय राजन प्रजालाई प्रहरीले काठमाडौं महानगरपालिका-१६ वनस्थलीमा लुकिछिपी हिँडेको अवस्थामा पक्राउ परेका हुन्।

‘२०७८ साल असार महिनामा चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारी खाग चोरी गरी लगेको घटनामा संलग्न रहेका प्रजा फरार थिए ।

महानगरीय प्रहरी बृत्त बालाजुबाट सादा पोशाक समेतको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागी चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ ।

बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् ।

आज पनि दुई घण्टा उक्त क्यालिब्रेशन फ्लाइट भएको थियो । उक्त उडानका कारण आज पनि दुई घण्टा उडान र अवतरण हुन सकेको थिएन ।

अहिले भने आजका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेशन फ्लाइट सकिएको विमानस्थलका निर्देशक प्रेमनाथ ठाकुरले बताउनुभयो ।

उहाँले भन्नुभयो, “क्यालिब्रेशन फ्लाइटका कारण केही समय जहाज अडान र अवतरणमा केही कठिनाइ भई आकासमै होल्ड गराएका थियौँ, केही जहाज अवतरण गराएका थियौँ, आजलाई सकिएको छ, अब सिमरामा हुन्छ ।”

करिब दुई घण्टा भएको उक्त क्यालिब्रेशन फ्लाइटका कारण आज बिहान ११ः३० देखि १ः३० बजेसम्म धेरै जहाज आकासमै होल्ड भएका थिए भने सो अवधिमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान हुने जहाज आकासमै घुमिरहेका थिए ।

क्यालिब्रेशन फ्लाइट सकिएका कारण आकासमै होल्ड भएका जहाजहरु अहिले अवतरण भएका छन् भने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन भएको विमानस्थल कार्यालयले जनाएको छ ।

उक्त क्यालिब्रेशन फ्लाइटका लागि आएको जहाज अझै केही दिन नेपालमै रहने र केही दिनपछि समय हेरेर पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन फ्लाइट गरिने निर्देशक ठाकुरले जानकारी दिनुभयो ।

सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित

सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित

काठमाडौं-लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समितिको बैठकले २१औँ वार्षिक प्रतिवेदन पारित गरेको हो ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए ।

समितिले गरेका काम कारबाहीहरूको मूलभूत रुपमा बेरुजु फर्छ्यौट गर्ने नौ वटा उपसमितिहरुले गरेका कामहरु समावेश गरिएको छ ।

समितिले गण्डकी प्रदेशमा पर्ने कालीगण्डकी करिडोर लगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षण गरी त्यसको प्रतिवेदन प्राप्त भएको उपसमितिले पेश गरेको प्रतिवेदन समेत यसमा समावेश गरिएको छ ।

यसअघिफास्ट ट्रयाकसम्बन्धीको प्रतिवेदनमाथि नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेको थियो ।

अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको छ ।

सार्वजनिक लेखा समितिको २१ औं वार्षिक प्रतिवेदनको मस्यौदा पारित

लुटपाटमा संलग्न आठजना पक्राउ

नेपाल प्रहरीले लुटपाटमा संलग्न आठजनालाई पक्राउ गरेको छ ।

प्रहरीको महानगरीय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठजनालाई आज पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द र प्युठानका २१ वर्षीय कमल सुनार छन् ।

पक्राउ परेका उनीहरुले पसल सञ्चालकलाई नियन्त्रणमा लिएर पसलको काउण्टरमा भएको नगद, सामसुङ मोबाइल, घडीलगायतका सामग्री लुटेर फरार भएका थिए ।

पक्राउ परेकासँग प्रहरीले ११ थान मोबाइल, एक घडी, नागरिकता प्रमाणपत्र, पाँच एटिएम र दुई चेक बरामद गरेको महाशाखाले जनाएको छ ।

पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ ।

अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ ।

“गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ”, आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “

गम्भीर प्रकृतिको फौजदारी अपराधको अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने गरी पक्ष र विपक्षमा समाचार सम्प्रेषण नगर्न, सम्बन्धित व्यक्तिको अनुमति विना भिडियोहरु रेकर्ड नगर्न, रेकर्ड गरिएका भिडियोहरु सार्वजनिक नगर्न र अतिप्रचारका कारण प्रमाणहरु नष्ट हुनेतर्फ विचार पु¥याउनु पर्दछ ।”

गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्तअनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्ने र अधिकार प्राप्त निकायबाट अनुसन्धान प्रक्रिया चलिरहँदा आरोपका पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्नाले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुने सम्भावना भएको आयोगले जनाएको छ ।

यस सम्बन्धमा आयोगले अनुगमन तथा सूचना सङ्कलन गरिरहेको जनाएको छ ।

यस प्रकारका गतिविधिले नेपालको संविधानको धारा २८ को गोपनीयताको हक र धारा २० मा उल्लेखित न्यायसम्बन्धी हक, मुलुकी फौजदारी संहिताको दफा २९८, मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा १२ र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १७ मा व्यवस्था भएको गोपनीयताको अधिकारसमेत प्रभावित भएको देखिन्छ ।

राष्ट्रिय सभाका २० सदस्य आज पदमुक्त हुदै

काठमाडौँ-राष्ट्रिय सभाका २० सदस्य आज पदमुक्त हुने भएका छन् ।

४ बर्ष अगाडी गोला प्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेका २० सदस्यहरूको पदावधि आज देखि समाप्त भएको हो ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज सिंहदरबार नजिकको होटेलबाट ती सांसदहरूलाई बिदाइ गर्ने कार्यक्रम तय भएको छ ।

नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेकपा एमालेका आठ, नेपाली काँग्रेसका तीन र मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत एक जना गरी २० सदस्यहरूको पदावधि आज सकिएको हो ।

माओवादी केन्द्रका दीनारनाथ शर्मा, शशीकला दाहाल, खिमकुमार विक र जीवन बुढा तथा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्र प्रकाश पुरी, शान्ति कुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको कार्यकाल सकिएको छ ।

एमालेका परशुराम मेघ गुरुङ, अगम प्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, राम लखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त भएको हो ।

यस्तै नेपाली काँग्रेसका राधेश्याम अधिकारी, दृग नारायण पाण्डे र तारादेवी भट्टको कार्यकाल सकिएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण बिडारीको कार्यकाल पनि आजैबाट समाप्त भएको छ ।

२० सदस्यको पद रिक्त हुनुभन्दा एक महिना अगाडि नै राष्ट्रिय सभा सदस्य निर्वाचन गरिएको थियो ।

नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण शनिवार ११ बजे सङ्घीय संसद् सचिवालयमा आयोजना गरिएको छ ।

गत माघ १२ मा १९ सिटका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाली काङ्ग्रेसबाट गोपाल कुमार बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्र निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेश आले मगर, नरबहादुर विष्ट र जगबहादुर पार्की राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदन कुमारी शाह (गरिमा) निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट सोनाम गेल्जेन शेर्पा, जनता समाजवादी पार्टीबाट मोहम्मद खालिद र राष्ट्रिय जनमोर्चाबाट तुलप्रसाद विश्वकर्मा पनि राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन् ।

अर्का एक जना भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

एमसीसीले उत्पन्न विरोधले माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

एमसीसीले उत्पन्न विरोधले माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

काठमाडौँ-आज ११ बजे हुने भनिएको नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि धकेलिएको छ ।

११ बजे सुरु हुनु पर्ने बैठक १ बजे मात्र सुरु हुने भएको हो ।

एमसीसीले उत्पन्न तीव्र विरोध तथा पार्टी फुटको हल्लाका बिच माओवादीको बैठक बस्न लागेको हो ।

राष्ट्रिय सभागृहमा बस्ने बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको निर्णयमा नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल लगायतले लिखित रूपमै फरक मत राख्ने तयारी गरेका छन् ।

आजको केन्द्रीय कमिटी बैठकले वर्तमान राजनीतिक घटनाक्रमबारे समीक्षा गर्दै पदाधिकारी चयनबारे छलफल गर्ने नेता गणेश साहले जानकारी दिए ।

​माओवादीमा स्थायी कमिटी, पोलिटब्युरो, नेताको जिम्मेवारी बाँडफाँट, केन्द्रीय कमिटीलाई पूर्णता दिन बाँकी नै छ ।

माओवादी केन्द्रमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने व्यवस्था छ ।

एमसीसीले उत्पन्न विरोधले माओवादीको केन्द्रीय कमिटी बैठक सर्‍यो

भट्टराईको अध्यक्षतामा कर्मचारी सङ्गठनमा नयाँ नेतृत्व

भट्टराईको अध्यक्षतामा कर्मचारी सङ्गठनमा नयाँ नेतृत्व

नेपाल निजामती कर्मचारी सङ्गठनका भक्तपुर जिल्ला कार्यसमितिको ११औँ अधिवेशनले लेखनाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सङ्गठनको थिमिमा बिहीबार अबेर राति सम्पन्न अधिवेशनले उपाध्यक्ष (खुला) मा वसन्त चापागाईँ, उपाध्यक्ष (महिला) मा कल्पना बस्नेत, सचिवमा बिष्णुहरि आचार्य, कोषाध्यक्षमा शोभा गैँडा घिमिरे, र सहसचिवमा भीमप्रसाद शर्मा चयन हुनुभएको निवर्तमान अध्यक्ष बद्री कोइरालाले जानकारी दिनुभयो ।

सदस्यमा सदस्य खुला पशुपति गैँडा, भवानीप्रसाद पाण्डे, रुपेश गेलाल, रामप्रसाद गैँडा, युवराज ढकाल, महिलातर्फ अम्बिका दाहाल, निर्मला लामा, शाहजिमा खातुन, अनिता पौडेल र दलित सदस्यतर्फ सन्तोषी नेपाली चयन हुनुभएको छ ।

केन्द्रीय प्रतिनिधितर्फ बद्री कोइराला, तेजविक्रम कार्की, रामबहादुर रोकाया, रामप्रसाद पोखरेल, सङ्गीता ढुङ्गेल तथा प्रदेश प्रतिनिधितर्फ कल्पना बस्नेत, कुवेरबहादुर खड्का, विष्णुहरि आचार्य, टङ्क शिवाकोटी, कृष्ण धिमाल, पुष्पराज गुरागाईँलाई सर्वसम्मत चयन गरिएको छ ।

अस्पतालको प्रसूति कक्षमै भालु

ताप्लेजुङ-जिल्ला अस्पतालको उपचारकक्षभित्रै भालु पसेको छ ।

गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ ।

राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो ।

बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर थुनिएको र अहिले सोही कोठामै नियन्त्रणमा रहेको अस्पतालका चिकित्सक सोनिङ लामाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालको पछाडिको भागबाट ओहोरदोहोर गर्ने छोटो बाटोबाट राति अचानक भालु पसेको हो ।

सुरक्षित अवस्थामा रहेको भालुलाई उद्धार गर्ने तयारी भइरहेको छ ।

उद्धारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय भइरहेको जनाइएको छ ।

उद्धारका लागि आवश्यक प्राविधिक समूह र बेहोस बनाउने औषधि जथाभावी नपाइने भएकाले कोषसँग समन्वय गरिरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का वार्डेन रमेश यादवले जानकारी दिनुभयो ।

संरक्षण क्षेत्रको कार्यक्षेत्रभित्र नपर्ने भए पनि डिभिजन वन कार्यालयसँगै रहेर उद्धारका लागि विभिन्न क्षेत्रसँग समन्वय गर्ने कार्यमा सघाइरहेको यादवको भनाइ छ ।

चिसोका कारण माथिल्लो क्षेत्रबाट न्यानो खोज्दै तल्लो क्षेत्र झर्ने क्रममा सदरमुकामसम्म भालु आइपुगेको अनुमान गरिएको छ ।

बाँकेकोे नरभक्षी बाघ चितवनमा

बाँकेकोे नरभक्षी बाघ चितवनमा

केही समय पहिले बाँकेमा पाँच जनाको ज्यान लिएको नरभक्षी बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।

बिहीबार बाँके राष्ट्रिय निकुञ्जको सुरक्षाकर्मीसहितको टोलीले बाघलाई चितवन राष्ट्रिय निकुञ्जको खोरमा ल्याएर छाडेको हो ।

विशेष हेरविचार गर्ने चिकित्सकसहित बाघलाई खोरमा राखिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाँके राष्ट्रिय निकुञ्जमा खोर बन्दै गरेकाले उक्त बाघ अहिले चितवन ल्याइएको हो, यसलाई तत्काल जङ्गलमा छाडिँदैन, पछि अवस्था हेरेर चिडियाखानामा पठाउन सकिन्छ ।”

कसरामा राखिएको बाघलाई दिनमा चारदेखि छ किलोसम्म राँगाको मासु दिइन्छ । कहिलेकाहीँ मरेको जङ्गली जनावरको मासु पनि दिइन्छ ।

खोरमा भएको अवस्थामा केही स्वास्थ्य समस्या परेमा चिकित्सकले यसको स्वास्थ्य परीक्षण गर्छन् ।

प्रमुख संरक्षण अधिकृत आचार्यले कसरामा राखेर बाघको दैनिक बानी व्यवहारको अध्ययन गरिने जानकारी दिनुभयो ।

गत माघ २२ गते बाँकेको राप्तीसोनारी गाउँपालिका–४ की लीला विष्ट सामुदायिक वनमा घाँस–दाउराका लागि जाँदा नरभक्षी बाघले खाएको थियो ।

सोही घटनाको दुई दिनपछि राप्ती सोनारी–६ की चाँदनी थारूलाई सोही बाघले आक्रमण गरेर मारेको थियो ।

यी दुई घटना हुनुभन्दा पहिले सामुदायिक मध्यवर्ती क्षेत्रमा सोही बाघको आक्रमणबाट एक भारतीय नागरिकको ज्यान गएको थियो ।

त्यस्तै केही समयअघि स्थानीय दुर्गा थारू सोही बाघको आक्रमणबाट घाइते हुनुभएको थियो ।

उहाँ सामान्य उपचारपछि घर फर्किनुभएको थियो । त्यसैगरी फागुन पहिलो सातामात्रै नरभक्षी बाघको आक्रमणबाट स्थानीय धनबहादुर चलाउनेको ज्यान गएको थियो ।

त्यसपछि बाघको आक्रमणबाट वकिल गद्दी घाइते हुनुभयो । पटक–पटक मानिसलाई आक्रमण गर्दै ज्यान लिने नरभक्षी बाघलाई बुधबार डिभिजन वन कार्यालय बाँकेले नियन्त्रणमा लिएको थियो ।

राप्ती सोनारी–६ राप्तीपीडित सामुदायिक वनबाट नियन्त्रणमा लिइएको बाघलाई वन प्रशासनले बाँके राष्ट्रिय निकुञ्जमा बुझाएको थियो ।

बाँके राष्ट्रिय निकुञ्जका कर्मचारीले बाघलाई डार्ट गरेर (लठ्याएपछि) गाडीमा हालेर चितवन ल्याइएको हो ।

बाघ नियन्त्रणका लागि वन डिभिजन कार्यालयले माघ २६ गतेदेखि आहारा प्रजाति (पाडो) राखी सामुदायिक वनका कर्मचारी, भेटेरेनरी चिकित्सक, नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीसहितको जनशक्ति परिचालित गरेको थियो ।

बाँकेकोे नरभक्षी बाघ चितवनमा

बन्दाबन्दीलाई अवसर बनाउदै फस्टाएको विरयानी अड्डा

बन्दाबन्दीलाई अवसर बनाउदै फस्टाएको विरयानी अड्डा

मध्यबानेश्वरमा गत वर्ष फागुन १५ गते शुरु गरेको विरयानी अड्डा एक महिना नपुग्दै कोरोना भाइरसका कारण सरकारले लगाएको बन्दाबन्दीमा पर्यो तर बन्दाबन्दीमै होम डेलिभरी शुरु गरेर ग्राहकको मन जित्दै अघि बढ्यो ।

एकवर्षकै बीचमा अहिले ग्राहकबीच निकै लोकप्रिय बनेको छ ।

मध्यबानेश्वरमा पुस्तकालय चलाउने उत्सव कडेल विरयानी अड्डाको वियरानी खुब स्वादिलो भएका बताउँन्छन् ।

“सर्भिस राम्रो छ, विरयानीमा नयाँ स्वाद छ, रियल टेष्ट छ, सुपथ मूल्यमा खान पाइन्छ”, उनले भने, “यहाँ वास्तविक विरयानीको स्वाद पाइन्छ, म नियमित आउने ग्राहक हुँ, मैले सोचेजस्तो खान पाएको छु ।”

विरयानी भन्ने बित्तिकै मुसलमान जातीको खानाको परिकार हो भन्ने आम बुझाइ रहेको छ ।

आजभोलि नेपालीले पनि यसको स्वादमा मज्जा लिन थालेका छन् ।

मुस्लिम समुदायकी डा नुरसवालाई आजभोलि नेपालीले पनि आफ्नो परिकार आएकोमा राम्रो छ ।

विराटनगर घर भई हाल पुरानो बानेश्वमा तीन महिनादेखि बस्दै आएकी नुरसवाले भनिन, “मुस्लिमको खास खाना हो, यहाँ चाँहि हामीले बनाउनेजस्तै छ, मीठो र राम्रो छ ।”

उनलाई माटाको मट्कामा बाटाएको विरयानी आफ्नै घरमा बनाएझैँ लाग्छ ।

सिभिल इन्जिनियर सन्दीप रेग्मीको एक वर्षदेखि मनपर्ने खाना नै विरयानी बनेको छ ।

“विरयानी निकै राम्रो र स्वादिलो छ, सधैँ आउँछु, नजिकै पनि छ ।”

थापागाउँ १० बस्ने रेग्मीलाई मनपर्ने खानाको परिकार विरयानी हो ।

सुपथ मूल्यमा गुणस्तरीयता कायम हुँदा उनको मन तानिएको छ ।

“अन्त जादा २५ प्रतिशत नै बढी खर्च लाग्छ, यहाँ सुपथ र गुणस्तर दुवै छ ।”

विरयानी अड्डा विदेशमा लामो समय काम गरेर नेपालमै फर्किएर काम शुरु गरेको युवा राजन खनाल, रविन पाण्डे, सुदर्शन पौडेल र नवराज कार्कीले शुरु गरेका हुन् ।

विरयानी अड्डा निर्देशक खनालले बन्दाबन्दीले नै विरयानी अड्डाको लोकप्रियता बढेको अनुभव सुनाउन्छन् ।

“शुरु गर्ने बित्तिकै बन्दाबन्दी शुरु भयो, डर पनि लागेको थियो, लगानी डुब्ने भयो भनेर तर हाम्रो विरयानी बजारमा बैष्ट सेलभित्रै पर्यो ।”

विपद् कहिलेकाही अवसर ल्याउँछ भनेजस्तै यो विरयानी ब्रान्डलाई स्थापित बन्दाबन्दीले गर्यो ।

बन्दाबन्दीमा धेरैको घरघरमा विरयानी पुग्यो र लोकप्रिय खाना बन्दै गयो ।

जसले गर्दा विदेशमा पसिना चुहाएका नेपाली युवालाई नेपालमा पनि केही सकिन्छ भन्ने आँट पलाएको छ ।

चिकेन विरयानी एकल तीन सय ७५, दुई जना ६ सय ९९ र परिवार चारजना एक हजार एक सय ९९ रुपैयाँ रहेको छ ।

निर्देशक खनालका अनुसार गुणस्तरी, सुपथ मूल्य, सेवाग्रहीको स्वास्थ्यलाई ध्यान दिएर व्यवसाय शुरु भएको छ ।

“मुनाफा कमाउने तिर लागेका छैनौँ, ब्राण्ड स्थापित भयो, त्यसैमा खुशी छौँ ।”

आफ्नो जीवनको १६ वर्ष दुवई, युरोपका विभिन्न देशमा काम गरेर नेपालमा आएर विरयानी अड्डा खनालले शुरु गरेका हुन् ।

“विदेशमा १६ वर्ष यही काम गरे, त्यो अनुभव मैले यहाँ प्रयोग गरे” निर्देशक खनालले थपे, “ गर्यो भने हुने रैछ भन्ने आँट आएको छ ।”

विरयानी अड्डा २० वटा ठाउँमा खोल्ने योजना यो समूहको छ ।

निर्देशक खनाललका अनुसार अष्ट्रेलियाको सिडनी र बेलायतको लण्डनमा खोज्ने तयारी छ ।

गत वर्ष रु ८० लाखको लगानीमा मध्यबानेश्वर, १० काठमाडौँमा विरयानी अडा शुरु भएको थियो ।

बन्दाबन्दीको बीचमै बालुवाटारमा खोलिएको छ । अब वसुन्धरा र चाबहिलमा पनि खोज्ने तयारी छ ।

गत वर्ष तत्कालीन महिला, बालबालिका तथा समाजकल्याण तथा वर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विदेशमा बसेर सिकेको सीप नेपालमा लगानी गर्न प्रोत्साहन गर्दै उद्घाटन समारोहमा युवालाई स्वदेशमै राजगारीको र्सिजना र वातावरणमा बनाउन सरकार लागि परेको बताएका थिए ।

बन्दाबन्दीलाई अवसर बनाउदै फस्टाएको विरयानी अड्डा

साल्ट ट्रेडिङ्गले पायो नयाँ अध्यक्ष

काठमाडौं-साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले नयाँ अध्यक्ष पाएको छ ।

संचालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भई रिक्त रहेको उक्त पदमा कल्याण गोबिन्द श्रेष्ठ चयन भएका छन् ।

संचालक समितिको फागुन १६ गते बसेको बैठकले संचालक श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड नेपाल सरकारको लगानी रहेको एक ऐतिहासिक संस्था हो ।

आज भन्दा करिब ४८ बर्ष अगाडी २०१९ सालमा आयोडिन युक्त नुन बिक्री विरतणका लागी स्थापित उक्त संस्थाले हाल नुनको अलावा खाध्यान्न तथा चिनी समेत बिक्री बितरण गर्दै आईरहेको छ ।

यसका अलावा साल्ट ट्रेडिङ्गले एसटिसी ग्यास, कृषी मल समेत सर्बसुलभ मुल्यमा बिक्री बितरण गर्दै आएको छ ।

भुकम्प, नाकाबन्दी, लकडाउन, चाडपर्व जस्ता कालोबजारी मौलाउने समयमा बजारमा साल्ट ट्रेडिङ्गको उपस्थितीमार्फत जनताले सदैब राहत पाउने गरेका छन् ।

राज्यलाई करोडौ राजश्व बुझाउने साल्ट ट्रेडिङ्गले आपत विपतको समयमा जनतालाई कालोबजारी तथा ठगीबाट जोगाउदै आम अपभोक्तामा सर्वसुलभ सेवा मार्फत आफुलाई लोकप्रिय बनाउदै आएको छ ।