पशुपतिनाथमा तीन लाख भक्तजनले गरे दर्शन

काठमाडौँ-महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनले दर्शन गर्नेक्रम जारी छ ।

बिहान ११ बजेसम्म पशुपतिनाथ मन्दिरमा करिव तीन लाख भक्तजनले दर्शन गरेका छन् ।

बिहान आठ बजेसम्म भक्तजनले सहज रुपमा लाइनमा बसेर दर्शन गर्न पाएका थिए ।

बिहान आठ बजेअघि २० मिनेटदेखि आधा घण्टामा भक्तजनले मन्दिरभित्र प्रवेश गरेर बाहिर आएका पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

बिहान चिसोमा कम भक्तजन भएकाले चाँडै जाने भक्तजनलाई दर्शन एवं पूजा आराधनानामा सहज भएको हो ।

आठ बजेपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने सवारीको चापसँगै पशुपतिनाथ मन्दिरमा पनि भक्तजनको भीड बढेको हो ।

पशुपतिनाथको नियमित रुपमा दर्शन गर्ने भक्तजनले बिहान सात बजेअघि नै दर्शन गरेका थिए ।

आठ बजेपछि भने लाइन बढ्न थालेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो ।

अहिले पूर्वतर्फको लाइन गुह्येश्वरी मन्दिर नजिक, उत्तरतर्फको लाइन चावहिल चोकमाथि, पश्चिमतर्फको लाइन जयवागेश्वरी घुमेर गौशाला नजिक र दक्षिणतर्फको लाइन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक पुगेको उहाँले बताउनुभयो ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथ मन्दिरभित्र गई १० लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

आज पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

करिब पाँच हजार नेपाल प्रहरी, तीन हजार ५०० सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाकासमेत गरी करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको सुरक्षा उपसमिति संयोजकसमेत रहनुभएका कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिनुभयो ।

बिहान ११ बजेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–गौशाला–चावहिल सडकमा सार्वजनिक र निजी यातायात सञ्चालन भइरहेको छ ।

लाइन र भक्तजनलाई व्यवस्थित गरी दिनभर यातायात सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको छ ।

यसका लागि नेपाल स्काउटसहित करिब पाँच हजार स्वयंसेवक परिचालन गरिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क रुपमा पिउने पानी, भोजन, गुर्जो चियासहित ६० प्रकारका जडिबुटीबाट बनेको चियाको धुलो, स्वास्थ्य शिविरलगायत सेवा प्रदान गरिएको छ ।

पशुपति क्षेत्रका १० स्थानबाट आज निःशुल्क गुर्जो चिया र धुलो वितरण भइरहेको अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो ।

पशुपति क्षेत्रका राममन्दिर, १५ शिवालय, मृगस्थली, तिलगङ्गा, हंसमण्डप, उमाकुण्ड, गुह्येश्वरी, गौरीघाट, भुवनेश्वरी र मित्रपार्क क्षेत्रबाट गुर्जोको चियासहित धुलोको निःशुल्क सेवा दिइएको उहाँले सुनाउनुभयो ।

महाशिवरात्रिका अवसरमा आज भक्तपुरको डोलेश्वर मन्दिरमा पनि निःशुल्क गुर्जो सेवा दिइएको छ ।

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ ।

महाशिवरात्रिका लागि आज बिहान तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको थियो ।

आज रातिसम्म पशुपतिनाथमा दर्शन गर्न चाहनेका लागि सेवा दिइने कोषले जनाएको छ ।

पशुपतिनाथ मन्दिरमा आज चारै प्रहर विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय नियम छ ।

महाशिवरात्रिका अवसरमा आज पशुपतिनाथका साथै काठमाडौँ उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

गोकर्णेश्वर महादेव मन्दिरमा आइतबारदेखि नै बिजुली बत्तीले सिँगारेर झिलीमिली बनाइएको छ ।

गोकर्णेश्वर मन्दिरमा पनि बिहान चार बजेदेखि नै भक्तजन आउन थालेको पुजारी जगदीश भट्टले बताउनुभयो ।

पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा आराधना हुने गर्छ ।

श्रीयन्त्रको पूजा आराधना हुने महादेवको दर्शनपछि बालयन्त्रको पूजा आराधना हुने मन्दिरमा पनि जानुपर्ने विधि भएकाले पशुपतिनाथ आउने केही भक्तजन गोकर्णेश्वर महादेव मन्दिरमा पनि दर्शनका लागि जाने गर्छन् ।

काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित पेप्सीकोला टाउन प्लानिङमा रहेको नागेश्वर मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

यसैगरी राजधानीका अन्य स्थानमा रहेका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

देशभरका अन्य शिवालयमा पनि भक्तजनको भीड लागेको जनाइएको छ ।

आज भगवान् शिवलाई जाडो हुने मान्यताका आधारमा बेलुीक विभिन्न मठ मन्दिर एवं चोक र चौबाटोमा धुन जगाइन्छ ।

धुनीमा प्रसाद बनाएर खाने प्रचलनसमेत छ ।

आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ ।

पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रुख, बिरुवा तथा झारहरू उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।

व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिवमन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।

राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ ।

कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ ।

भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।

यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताउनुभयो ।

चार वर्ष अघिदेखि नै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो ।

यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले पक्राउ कारबाही गर्ने उहाँले बताउनुभयो ।

बिहान ३ बजे नै पशुपतिका चार ढोका खुले

महाशिवरात्रिका अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिका चार ढोका खोलिएको कोषले जनाएको छ ।

यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।

यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ ।

पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ ।

यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि पाँचवटा लाइनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरीरूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको सदस्यसचिव थापाले जानकारी दिनुभयो ।

यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो ।

नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ ।

जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोहीमार्ग हुँदै मन्दिर प्राङगणबाट बाहिरिने व्यवस्था मिलाइएको छ ।

दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरीपारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ ।

आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि धुमधामका साथ पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

हितग्राही खाताकोे सङ्ख्या ५० लाख नाघ्यो

धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको देखिएको छ ।

गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हाल डिम्याट खाताको सङ्ख्या ५० लाख सात हजार २४२ छ ।

त्यस्तै डिम्याट खाताका साथै मेरो शेयर खाताको सङ्ख्यासमेत बढेको छ । सिडिएसका अनुसार मेरो शेयरको सङ्ख्या ४१ लाख नाघेको छ ।

विवरणानुसार पछिल्लो समय डिम्याट र मेरो शेयर खाताको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ ।

गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो शेयरको सङ्ख्या ४१ लाख १९ हजारभन्दा बढी रहेको छ ।

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा शेयरको अभिलेखीकरण कार्य गर्नका लागि निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको सङ्ख्या गत आवको अन्त्यमा ७८ रहेकामा सार्वजनिक पछिल्लो तथ्याङ्कानुसार त्यस्तो सदस्य सङ्ख्या ८२ पुगेका छन् ।

धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ०को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ ।

प्राथमिक बजारतर्फ प्राथमिक निष्काशन, हकप्रद निष्काशन, ऋणपत्र तथा सामूहिक लगानी योजना गरी सबै निष्काशन अनुमति रकममा उच्च बढोत्तरी आएको छ ।

कम्पनीको आइपिओे निष्काशनमा भाग लिनेको सङ्ख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ ।

पछिल्लो समय कम्पनीले निष्काशन गर्ने आइपिओमा २५ लाखभन्दा बढीले आवेदन गर्दै आएका छन् ।

प्रविधिको विकास र विस्तारले धितोपत्र बजारमा कारोबार गर्नेको सङ्ख्या बढेको बोर्डले उल्लेख गरेको छ ।

बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् ।

बोर्डबाट धितोपत्रको पूर्ण अभौतिक कारोबार हुने व्यवस्था, नेप्सेको कारोबार अनलाइनबाट हुने व्यवस्था, प्राथमिक बजारमा आस्वा तथा सि–आस्वा प्रणाली लागू, उपत्यका बाहिर धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको शाखा विस्तार गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरेसँगै बजारमा सर्वसाधारणको सहभागिता व्यापक तथा उत्साहजनक रहेको बोर्ड बताउँछ ।