सर्लाहीका एसपी ६ महिनामै जिम्मेवारीबाट च्युत

काठमाडौँ-सर्लाहीका एसपी कृष्ण प्रसाईँलाई जिम्मेवारीबाट हटाईएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले राजनीतिक दवाबमा सर्लाही प्रहरी प्रमुखलाई हटाएको जानकारहरुले बताएका छन् ।

जनता समाजवादी पार्टीका सचेतक तथा सर्लाही क्षेत्र न १ का सांसद प्रमोद शाहमाथी ईश्वरपुर नगरपालिकामा भएको हमलाका कारण एसपीलाई हटाइएको बताइएको छ ।

सर्लाही पठाइएको ६ महिनामै प्रहरी प्रधान कार्यालयले एसपी कृष्ण प्रसाईँलाई जिम्मेवारीबाट हटाएको हो ।

शाहमाथि शनिवार आक्रमण भएपछि जसपा एसपी प्रसाईँसँग रुष्ट थियो ।

प्रसाईँलाई हटाएपछि उनको ठाउँमा एसपी प्रवीण पोखरेललाई पठाइएको छ ।

नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुन्छ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताको जीविकोपार्जन नै बिजुली हुने बताउनुभएको छ ।

राप्ती नगरपालिकामा निर्माण भएको १३२/३३/११ केभी हर्दी विद्युत् सवस्टेसनको आज उद्घाटन गर्दै उहाँले ऊर्जा उत्पादनको क्षेत्रले क्रान्तिकारी छलाङ मारिरहेको बताउनुभयो ।

माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङको कहाँलिलाग्दो अवस्थाबाट मुक्त भएको जिकिर गर्दै उहाँले यसलाई सरकारले ऊर्जाखानीका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

अथाहा ऊर्जा उत्पादन, यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने दाहालको भनाइ छ ।

चितवनमा अबको ५० वर्षलाई धान्नेगरी ठूला–ठूला भौतिक पूर्वाधारका योजना बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकलाई उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत गरी विकास प्राधिकरण निर्माण गरेर यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको बताउनुभयो ।

विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने उल्लेख गर्दै उहाँले सबैको सामूहिक प्रयासले मात्र उपलब्धि हासिल हुने बताउनुभयो ।

कार्यक्रममा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले २६ हजार न्यून विद्युत् खपत गर्ने उपभोक्तालाई सरकारले निःशुल्क बिजुली उपलब्ध गराएको जानकारी दिनुभयो ।

कृषि प्रयोजनका लागि खपत हुने विद्युत्मा ५० प्रतिशत छुट दिने काम पनि आफैले गरेको भन्दै उहाँले विद्युत् महसुल कसरी घटाउन सकिन्छ भन्नेमा मन्त्रालयले प्रयत्न गरिरहेको बताउनुभयो ।

पेट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय सामग्री तथा विद्युतीय सवारी साधनमा आकर्षण बढाउन सरकारले काम गरिरहेको मन्त्री भुषालको भनाइ छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक तथा कार्यक्रमका अध्यक्ष घिसिङले नेपाल विद्युत् प्राधिकरणले ५० वर्षे कार्ययोजना बनाइ काम अगाडि बढाएको जनाउँदै पूर्वाधार निर्माणमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

पूर्वप्रधानमन्त्री ओली र खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित प्रतिनिधिमण्डलले आज पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालसँग अलगअलग भेटघाट गरी हालै सम्पन्न दसौँ विश्व सम्मेलनमा उठेका विभिन्न सवालका बारेमा जानकारी गराएको छ ।

एनआरएनएका अध्यक्ष कुल आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सम्मेलनमा उठेका सवालको उहाँहरुसँग सहकार्य र समन्वय गरिदिन आग्रह गरेको छ ।

अध्यक्षद्वयलाई बुझाइएको पत्रमा संसद्मा विचाराधीन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न आग्रह गर्नाका साथै १०० कोठाको अत्याधुनिक सुविधासम्पन्न वृद्धाश्रम निर्माणका लागि नेपाल सरकारसँग जग्गा उपलब्ध गराउन, गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको रु १० अर्बकोे सामूहिक लगानी कोषको कानुनी बाधा–अड्चन फुकाउनका लागि सहजीकरण, वैदेशिक रोजगार सामाजिक सुरक्षा कार्यक्रम ल्याउन पहल गर्न र वैदेशिक रोजगारबाट प्राप्त विप्रेषण सटहीमा प्रतिअमेरिकन दुई डलर सङ्घको वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा हुने गरी पहल गर्न सहजीकरणका लागि अनुरोध गरिएको छ ।

एमाले अध्यक्ष ओलीसँगको भेटपछि उहाँले गैरआवासीय नेपाली समुदायले पछिल्लो समय नेपालमा कोभिडका बेलामा गरेको सहयोगको प्रशंसा गर्नाका साथै एनआरएनएका सुझावको कार्यान्वयनमा आफूले सहयोग र समन्वय गर्ने बताउनुभयो ।

यस्तै एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले पनि प्रतिनिधिमण्डलले अगाडि सारेका सवाल उपयुक्त रहेकाले तिनको कार्यान्वयन गर्न आफू सकारात्मक रहेको बताउनुभयो ।

यसैबीच एनआरएनएको प्रतिनिधिमण्डलले आजै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग पनि भेट गरी संस्थाका मागका बारेमा अवगत गराएको थियो ।

अलग–अलग रुपमा भएका ती भेटमा ती पार्टीका शीर्ष नेताका साथै एनआरएनएको महाधिवेशनबाट निर्वाचित अध्यक्ष रबिना थापा र डा बद्री केसीलगायत अन्य पदाधिकारी पनि सहभागी हुनुहुन्थ्यो । भेटका क्रममा नवनिर्वाचित कार्यसमितिलाई सम्मान, बधाई तथा शुभकामना दिइएको थियो ।

पाँचौँ बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै नेपालले बिम्स्टेक क्षेत्रको लचिलो, समृद्ध र दिगो विकास क्षेत्रीय सहयोग प्रवद्र्धनबाट हुनेमा जोड दिएको छ ।

श्रीलङ्काको कोलम्बोमा जारी बिम्स्टेकको पाँचौँ शिखर सम्मेलनलाई आज श्रव्यदृश्यका माध्यमबाट काठमाडौँबाट सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले साढे दुई दशकको यात्रा पार गर्ने तरखरमा रहेको क्षेत्रीय सङ्गठन बिम्स्टेकलाई गतिशील एवं यस क्षेत्रका जनताको जीवनस्तर उठाउने क्षेत्रीय आकाङ्क्षालाई साकार तुल्याउन अन्तर्राष्ट्रिय संस्थाहरूसँग सुदृढ साझेदारी प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताउनुभयो ।

साथै उहाँले सदस्य राष्ट्रको स्रोतको सदुपयोग गरी सङ्गठनलाई नवजीवन दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले कोभिड–१९ महामारीका कारण आर्थिक, सामाजिक एवं विकासका क्षेत्रमा परेका प्रभाव घटाउन तथा बिम्स्टेक क्षेत्रको पुनःस्थापना सुनिश्चित गर्न बिमस्टेकले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

वर्तमान विश्वले जलवायु परिवर्तनलगायत विविध चुनौतीको सामना गरिरहेको, ती चुनौतीको प्रकृति जटिल रहेका बेला कोभिड–१९ को महामारीले निम्त्याएको सङ्कट, सञ्चार तथा सूचना प्रविधिको चरम विकासबाट अथाह लाभ हासिल गर्ने एकथरि र चरम गरिबीको रेखामुनि रहेका वर्गको उत्थानमा त्यसको उपयोग हुन नसक्दा गहिरिएको धनी र गरिबबीचको खाडल पुर्न सदस्य राष्ट्रबीच सहकार्य र साझेदारी आवश्यक भएको प्रधानमन्त्रीले बताउनुभयो ।

विगत दुई वर्षदेखि बिम्स्टेक क्षेत्र पनि महामारीविरुद्धको महालडाइँ लडिरहेको, लाखौँको मृत्यु भएको, धेरै जनता गरिबीमा परेका तथा संरचनात्मक कमजोरीहरू अझ बढिरहेको यथार्थ चित्रण गर्दै उहाँले महामारीको प्रभाव विस्तारै कम हुँदै गएको देखिए पनि त्यो समाप्त नभएकाले यसले आर्थिक र विकासलाई शिथिल बनाउने बताउनुभयो ।

“खोपको असमानताले उत्थानशील पुनरुत्थानमा अवरोध सृजना भएको छ,” प्रधानमन्त्रीले भन्नुभयो ।

क्षेत्रीय सहयोगको भावना, एकता, सहयोग र सहकार्य, ऐक्यबद्धताको प्रतिज्ञा गर्ने मञ्च बिम्स्टेक शिखर सम्मेलनको उच्च महत्व रहेको बताउँदै उहाँले ब्याङ्कक घोषणामा उल्लिखित शान्ति, प्रगति र समृद्धिको साझा लक्ष्यप्रतिको प्रतिबद्धता दोहो¥याउनुभयोे ।

‘स्वस्थ्य जनता,उत्थानशील क्षेत्र, समृद्ध अर्थतन्त्रतर्फ बिम्स्टेक’ आदर्श वाक्ययुक्त पाँचौँ शिखर सम्मेलनलाई प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्ष, जनवादी गणतन्त्र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भूटान अधिराज्यका प्रधानमन्त्री लोटे छिरिङ, गणतन्त्र भारतकाका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्ड अधिराज्यका प्रधानमन्त्री, प्रयुत चान–ओ–चा बिमस्टेकका महासचिव तेन्जिन लेकफेलले सम्बोधन गर्नुभएको थियो ।

विगत साढे तीन वर्षदेखि बिमस्टेक प्रक्रियाको सफल नेतृत्वका लागि श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षलाई उहाँका सक्रिय नेतृत्व, प्रतिबद्धता र समर्पण, श्रीलङ्का सरकार, सदस्य राष्ट्रका विदेशमन्त्री, महासचिवलगायत शिखर सम्मेलन आयोजनामा संलग्न सबै पदाधिकारीप्रति प्रधानमन्त्री देउवाले हार्दिक आभार व्यक्त गर्नुभयो ।

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ ।

लामो समयदेखि यस खण्डमा सडक बिग्रेभत्के पनि त्यसतर्फ सम्बन्धित निकायको चासो पुग्न नसकेको यस क्षेत्रका बासिन्दाको गुनासो छ ।

पर्यटकीय नगरी पोखरा प्रवेश गर्ने सडक नै अस्तव्यस्त बनिरहँदा यसले समग्र पोखराको पर्यटनमा नकारात्मक असर पार्ने सरोकारवाला बताउँछन् ।

पोखरा छिर्ने मुख्य सडकखण्ड बिग्रँदा त्यसले यहाँ आउने जो कोहीमा नराम्रो छाप पार्ने गरेको नेपाल पर्यटन बोर्डका पूर्वसदस्य एवम् वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई बताउनुहुन्छ ।

“पृथ्वीराजमार्गको यस सडक खण्ड हुँदै लामो समय पोखरा आवतजावत गर्ने पर्यटकले वर्षौसम्म पनि यस सडक खण्डको स्तरोन्नति हुन नसकेकामा प्रश्न गर्ने गरेका छन्”, उहाँले भन्नुभयो, “पोखराकै प्रवेशद्वार कोत्रे सडकखण्डले सरोकारवाला जो कोहीलाई गिज्याइरहेको छ ।”

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य लगभग सकिएको अवस्थामा पनि पोखरासँग जोडिएका सडक राम्रो बन्न नसक्नुले समग्र पर्यटनमा दिने सङ्केत राम्रो नहुने जनाउँदै उहाँले यसतर्फ चाँडै नै सम्बन्धित निकायको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

चार वर्ष लगाएर विमानस्थल बन्दै गर्दा त्यहाँ गरिएको राज्यको ठूलो लगानीलाई प्रतिफलयुक्त बनाउनका लागि पनि जोडिएका सडक पूर्वाधारलाई व्यवस्थित गर्नु जरुरी रहेको उहाँको भनाइ छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा जोडिएका सडक अस्तव्यस्त नै रहने हो भने तनहुँ, गोरखा, लम्जुङलगायत स्थानका सर्वसाधारणले आगामी दिनमा पोखरा विमानस्थलभन्दा पनि अन्यलाई नै रोज्ने अवस्था आउनेतर्फ पनि बेलैमा सोच्न जरुरी रहेको अर्का पर्यटन व्यवसायी एवम् पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष चिरञ्जीवी पोखरेलले बताउनुहुन्छ ।

पोखराको प्रवेश गर्ने मार्ग नै वर्षामा हिलाम्य र हिउँदमा धुलाम्यको अवस्थामा रहनु चिन्ताको विषय भएको जनाउँदै उहाँले यसतर्फ सम्बद्ध सरोकारवाला निकायको ध्यान पुग्नु जरुरी रहेको बताउनुभयो ।

लामो समयसम्म अस्तव्यस्त बनिरहेको सडकलाई चाँडो व्यवस्थित गर्न गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर निर्देशन दिइसकेको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमालले बताउनुभयो ।

“गण्डकी प्रदेशको राजधानी प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो सडकखण्ड अस्तव्यस्त बन्नु गम्भीर चिन्ताको विषय हो”, उहाँले भन्नुभयो, “यस सम्बन्धमा मुख्यमन्त्री स्वयंले चासो दिएर यथासक्य चाँडो यसलाई व्यवस्थित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइसक्नुभएको छ ।”

मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डका योजना प्रमुख अमित श्रेष्ठले यस सडक खण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको जानकारी दिँदै दुलेगौडा–कोत्रे खण्डलाई तत्कालीन रुपमा व्यवस्थित गराउनका लागि सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिइसकिएको बताउनुभयो ।

दुलेगौडा–कोत्रे सडक खण्ड पृथ्वीराजमार्गमा पर्नाका साथै पोखराबाट दमौली र दमौलीबाट पोखरासम्म ठूलो सङ्ख्यामा कर्मचारी तथा सर्वसाधारणसमेत दैनिक आवतजावत गर्ने भएकाले अत्यन्त व्यस्त रहन्छ ।

दैनिक आवतजावत गर्ने र सडक आसपासका बासिन्दा लामो समयदेखि वर्षामा हिलोे र हिउँदमा धुलो खानु परेको पीडा व्यक्त गर्दछन् ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौँ-न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सफल लिएका छन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठले शपथ दिएका हुन् ।

न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गरेकी थिइन् ।

यसअघि श्रेष्ठ उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश थिए ।

गठबन्धन गरी निर्वाचनमा जानुपर्छः नेत्री कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरुबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यक्ता रहेको बताउनुभएको हो ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएकी नेत्री कोइरालाले गठबन्धनका कारण दुई पटक विघटन गरिएको संसद् पुनःस्थापना र नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भएकाले हामीहरु स्वार्थी हुनुहुँदैन भन्दै पार्टीको केन्द्रीय कार्य समितिको निर्णय सबै नेता तथा कार्यकर्ताले अनुशरण गरी अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेत्री कोइरालाले पार्टीलाई पुनः सत्तामा जानका लागि गठबन्धन आवश्यक भएको चर्चा गर्दै गठबन्धन सरकारबाट नै लोकतन्त्रको संस्थागत विकास, रोजगारी अभिवृद्धि र सामाजिक रुपान्तरण हुने बताउनुभयो ।

एक प्रश्नको जवाफमा उहाँले पार्टीको १४ औं महाअधिवेशनमा डा शेखर कोइरालालाई सभापतिमा हराउन आफ्नो कुनै भूमिका नरहेको स्पष्ट पार्नुभयो ।

नेत्री कोइरालाले आगामी संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ आफू उम्मेदवार हुने घोषणा गर्नुभयो ।

नेपाल–सिङ्गापुर चेम्बर अफ कमर्शको अध्यक्षमा कुँवर

नेपाल सिङ्गापुर चेम्बर अफ कमर्श एण्ड इन्ड्रस्टिजको अध्यक्षमा इन्जिनियर दीपक कुँवर चयन हुनुभएको छ ।

कमर्शको मङ्गलबार साँझ सम्पन्न भेलाले कुँवरको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा योगदान पुर्‍याउनुभएका कुँवर नेपाल घरजग्गा व्यवसायी महासङ्घका द्वितीय उपाध्यक्ष, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष एवं नयाँ बसपार्कमा सञ्चालित लोत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष हुनुहुन्छ ।

उहाँ दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।

उपाध्यक्षमा सञ्जयकुमार अग्रवाल र विनोद ढकाल, महासचिवमा कृष्णकुमार अग्रवाल, कोषाध्यक्षमा गोविन्दप्रसाद थपलिया, सचिवद्वयमा देवआनन्द सरवगी र दिनेश बज्राचार्य चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा कमला श्रेष्ठ, गोविन्दप्रसाद घिमिरे, विजयसिंह वैद्य, मनोजकुमार अग्रवाल, स्कन्द अमात्य, दीपेश तुलाधर, रजुल श्रेष्ठ, खेमराज पन्त, अभिषेक सारडा, सुजेन श्रेष्ठ, सुमेध शाक्य, निशान ढकाल र आरुश्री खतिवडालाई चयन गरिएको छ ।

समितिको विशिष्ट सदस्यमा नेपाल चेम्बर अफ कमर्शका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई चयन गरिएको छ ।

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन

नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन

काठमाडौँ-नेपालका लागि अमेरिकी राजदूतमा डिन थम्पसन नियुक्त भएका छन् ।

नेपालका लागि अमेरिकी राष्ट्रपति जो बाइडनले थप्सनलाई राजदूत नियुक्त गरेको ह्वाइट हाउसले जनाएको छ ।

थप्सनले अमेरिकी राजदूत र्‍याण्डी बेरीको स्थानमा कार्य सम्पादन गर्नेछन् ।

हाल उनी अमेरिकाका लागि दक्षिण र मध्य एसियाली मामिला ब्युरोका उपसहायक सचिव हुन् ।

थम्पसनसँग अमेरिकी कूटनीतिमा २५ वर्षभन्दा बढी समयसम्म काम गरेको अनुभव छ ।

उनले मलेसियाको क्वालम्पुरस्थित अमेरिकी दूतावासमा डेपुटी चिफ अफ मिसनको रूपमा काम गरेका थिए ।

उनीसँग रोमानियाको बुखारेष्टस्थित अमेरिकी दूतावास, भारतको कोलताकामा अमेरिकी कन्सुलर जनरल र श्रीलङ्काको कोलम्बोस्थित अमेरिकी दूतावासको आर्थिक तथा वाणिज्य मामिला विभाग प्रमुखको रूपमा काम गरेको अनुभव छ ।

दुई अर्ब लगानीमा सूर्यविनायकमा तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा रु दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ ।

झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो ।

व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गर्नुभएको हो ।

सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो ।

बजारमा दुई हजार २०० कक्ष रहेका छन् ।

चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताउनुभयो ।

“किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो ।

तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उहाँको दाबी छ ।

दाङमा आर्थिक अनियमितताका उजुरी बढे

दाङमा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जिल्लामा गत आर्थिक वर्षमा ९४ उजुरी परेका थिए ।

चालु आवमा १२२ उजुरी परेका थिए ।

आर्थिक अनियमिततासम्बन्धी उजुरी बढ्दो क्रममा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख विजयराज पौडेलले जानकारी दिनुभयो ।

गत वर्ष २५ उजुरी तथा चालु आवमा ७१ उजुरी फछ्र्योट गरिएको उहाँले बताउनुभयो ।

“एक सय २० उजुरी फछ्र्योट गर्न बाँकी छ”, पौडेलले भन्नुभयो । दाङका १० स्थानीय तहमा दुई आवमा ८७ उजुरी परेका थिए ।

गत आवमा ४१ तथा चालु आवमा ४६ उजुरी परेका थिए । दुवै आवमा गरी ३९ उजुरी फछ्र्योट गरिएको उहाँले बताउनुभयो ।

तुलसीपुरमा सबैभन्दा बढी उजुरी परेका थिए ।

चालु आवमा आठ र गत आवमा १० उजुरी परेका थिए । दुवै आवमा गरी ६ उजुरी फछ्र्योट गरिएको छ । दुवै आवमा घोराही उपमहानगरपालिकामा २१, लमही नगरपालिकामा सात, राजपुर गाउँपालिकामा १५, शान्तिनगर गाउँपालिकामा सात, दङ्गीशरण गाउँपालिकामा १२, गढवा गाउँपालिकामा पाँच, राप्ती गाउँपालिकामा एउटा र बङ्गलाचुली गाउँपालिकामा एउटा उजुरी परेको अख्तियारले जनाएको छ ।

बबई गाउँपालिकामा भने उजुरी परेको छैन ।

विकास निर्माण गुणस्तरहीन गरेको, मापदण्ड विपरित काम गरेको, अनुगमन समितिको प्रतिवेदन वस्तुगत र यथार्थ नभएको, गलत इस्टिमेट तयार पार्ने, प्रक्रिया र नियम कानुनको पालना नगर्ने, नगराउने, आवश्यकभन्दा धेरै सामग्री खरिद गर्नेलगायत प्रवृत्ति देखिएको अख्तियारले जनाएको छ ।

परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)को १८औँ मन्त्रिस्तरीय बैठकमा भागलिने सिलसिलमा श्रीलङ्काको कोलम्बोमा रहनुभएका परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना भारतीय समकक्षी सुव्रमन्यम् जयशङ्करसँग भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका साथै पारस्परिक हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।

आगामी शुक्रबारदेखि प्रधानमन्त्री शेरबहादुर देउवाले गर्न लाग्नुभएको भारतको औपचारिक भ्रमणको जारी तयारीका बारेमा पनि दुवै देशका विदशेमन्त्रीबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसैबीच, भारतका बाह्यमामिलामन्त्रीले परराष्ट्रमन्त्री खड्कासँगको भेटमा भारत–नेपाल सम्पर्क सञ्जाल विस्तार, विद्युत् व्यापार, मलखाद आपूर्ति, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्नेबारेमा छलफल भएको सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।

उहाँले रामायण परिपथलाई अघि बढाउन आफूहरूबीच सहमति भएको पनि उल्लेख गर्नुभएको छ ।

कृषि गणनाका लागि ३३ सुपरिवेक्षक र १ सय ३३ गणक

केन्द्रीय तथ्याङ्क विभागले झापासहित देशभर आगामी वैशाख ६ गतेदेखि सातौँ कृषि गणना गर्न लागेको छ ।

नेपालमा विसं २०१८ देखि विभागले हरेक १० वर्षमा राष्ट्रिय कृषि गणना गर्दै आएको र सोहीअनुरुप नै आगामी वैशाख ६ गतेदेखि जेठ १९ गतेसम्म झापालगायत ७७ जिल्लामा गणना गरिने भएको हो ।

झापाका १५ वटै पालिकामा गणनाका लागि सुपरिवेक्षक र गणक गरी १६६ जनालाई खटाउन लागिएको जिल्ला कृषि गणना कार्यालयका अधिकृत चुडामणि लुइँटेलले बताउनुभयो ।

‘कृषि गणनाको सार, कृषि योजनाको पूर्वाधार’ भन्ने मूलनाराका साथ सुरु गरिने गणनाका लागि जिल्लामा ३३ सुपरिवेक्षक र १३३ गणक खटाउन लागिएको उहाँको भनाइ थियो ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार झापामा नौ हजार ४०० कृषि परिवार छ ।

सोही तथ्याङ्कलाई आधार मानेर जिल्लाको १३१ वडालाई ३७६ वडाखण्ड विभाजन गरी सुपरिवेक्षक र गणक खटाउन लागिएको अधिकृत लुइँटेलले बताउनुभयो ।

करारमा नियुक्त भएका सुपरिवेक्षक र गणकलाई चैत २५ देखि वैशाख २ गतेसम्म मेची क्याम्पसमा तालिम दिइने र त्यसपछि तथ्याङ्क सङ्कलनका लागि ४५ दिनसम्म घरदैलोमा पठाइने उहाँले उहाँले जानकारी दिनुभयो ।

अधिकृत लुइँटेललले भन्नुभयो, “यो गणनाले कृषि मन्त्रालयले दश वर्षमा कृषि क्षेत्रमा गरेको लगानी कतिको सदुपयोग भयो त्यसको पनि विवरण प्राप्त हुने सरकारको अपेक्षा छ ।”

कृषि गणनामा पारिवारिक, व्यावसायिक तथा संस्थागतरुपमा सञ्चालन भइरहेका कृषि कार्यको विवरण सङ्कलन गरिनेछ ।

जिल्लामा चैत १ गतेदेखि कार्यालय नै स्थापना गरेर काम गरिरहेको अधिकृत लुइँटेलको भनाइ थियो ।

प्राथमिकतामा परेन मदन भण्डारी विश्वविद्यालय

अढाइ वर्षअघि चिनियाँ प्राथमिकतामा परेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको विषय यसपाली ओझेलमा परेको छ ।

चिनियाँ स्टेट काउन्सिलर तथा परराष्ट्रमन्त्री वाङ यीको गतहप्ता तीनदिने नेपाल भ्रमणका क्रममा उक्त विश्वविद्यालयको प्रक्रियालाई अघि बढाउने विषयलाई पनि ‘एजेण्डा’मा समावेश गरिएको बताइएको थियो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सन् २०१९ अक्टोबरमा भएको नेपाल भ्रमणका क्रममा नेपाल सरकारको तत्कालीन नीति, कार्यक्रम तथा बजेट अध्ययनपछि सो विश्वविद्यालय निर्माणार्थ सम्झौतासमेत भएको थियो ।

तत्कालीन सरकारले उक्त विश्वविद्यालयका लागि मकवानपुरको चित्लाङमा जग्गा तयार पारेको भए पनि चिनियाँ सरकारले आफ्नो सहयोगमा बन्ने विश्वविद्यालय राजधानीभन्दा निकै टाढा भएको जनाउँदै नजिकका लागि काभ्रेको पाँचखालमा दश हजार रोपनीभन्दा बढी जग्गा प्राप्त गरिएको थियो ।

जग्गा प्राप्तिलगायत प्रक्रियाका लागि प्रक्रिया अघि बढाउन अघिल्लो सरकारले आर्थिक वर्ष २०७७/७८ मा रु एक अर्ब ५५ करोड विनियोजन गरेको थियो ।

यसअघि विनियोजित रु एक अर्ब २० करोडबाट पाँचखालमा निर्माण गरिने विश्वविद्यालयको (विस्तृत अध्ययन प्रतिवेदन) डिपिआर तथा चित्लाङ्मा निर्माण हुने विश्वविद्यालयको एक क्लष्टर (इञ्जिनीयरिङ शाखा)को पूर्वाधार निर्माण सुरु गरिएको थियो ।

तत्कालीन सरकारले गत साउनमा पाँचखालमा निर्माण हुने विश्वविद्यालयको डिपिआरनै अन्तर्राष्ट्रिय बिडिङ् अर्थात् ‘ग्लोबल बोलपत्र’ मार्फत हुने योजना बनाएको थियो ।

ग्लोबल बोलपत्रका लागि प्रक्रिया थालिएको विश्वविद्यालय पूर्वाधार निर्माण समितिले जनाए पनि नयाँ सरकारको ‘प्रतिस्थापन बजेट’मा चालु वर्षका लागि बनियोजित बजेट काटिएको थियो ।

“विश्वविद्यालय अन्तर्राष्ट्रियस्तरको भएकाले डिपिआर नै ग्लोबल बोलपत्रमार्फत गर्न लागिएको थियो”सांसद गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो ।

उहाँका अनुसार दश हजार रोपनीभन्दा बढी जमिनमा बहुवर्षीय योजनाअनुरुप निर्माण हुन लागेको विश्वविद्यालयको भौतिक संरचनासमेत अन्तर्राष्ट्रियस्तरको हुनेछ ।

परियोजना सम्पन्न गर्न रु ४३ अर्ब लाग्ने अनुमान गरिएको थियो ।

विश्वविद्यालय निर्माणका लागि आवश्यक जमिनमध्ये पाँचखालसहित नमोबुद्ध नगरको केही वडा समेटिएको छ ।

विश्वविद्यालयका लागि आवश्यक देखिएको करिब दश हजार ३०० रोपनी सार्वजनिक जग्गा अधिग्रहणको काम गत सालनै सकिएको जिल्ला मालपोत कार्यालय धुलिखेलले जनाउँदै आएको छ ।

कार्यालयका अनुसार पाँचखाल नगरको वडा नं ७, १० र १२ तथा नमोबुद्धको २ र ३ नं.वडाको दश हजार ३०० रोपनी सार्वजनिक जमिन हालै विश्वविद्यालयको पूर्वाधार विकास समितिका नाममा दाखिल खारेज (हस्तान्तरण)को नामसारी भइसकेको हो ।

उक्त जमिनमा शिक्षण, मेडिकल कलेज र अस्पतालका आवश्यकीय भवन, सडक, खानेपानी, शिक्षक–विद्यार्थीका होस्टेल, हेलिप्याड, खेलमैदानलगायत संरचना निर्माण गर्ने योजना बनाइएको छ ।

तत्कालीन मन्त्रिपरिषद्को २०७५ माघ २१ गतेको बैठकद्वारा गठित विश्वविद्यालय पूर्वाधार तयारी समितिले विश्वविद्यालय निर्माणको सम्पूर्ण प्रशासनिक जिम्मेवारी लिएको छ ।

सरकारले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार निर्माण समिति गठन आदेशानुसार २०७६ असार ९ गते राजपत्रमा प्रकाशित गरेको थियो ।

सोहीअनुसार २०७६ मङ्सिर २३ गते विकास समितिका नाममा जग्गा पास गरिदिने निर्णय सरकारले गरेको थियो ।

सोही निर्णय अनुसार अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्न पाँचखाल र नमाबुद्ध नपाको सीमामा अवस्थित उक्त परिमाणको जग्गा विश्वविद्यालयको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोकमा रहनेगरी जिल्ला मालपोत कार्यालयलाई जग्गा व्यवस्थापन प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो ।

विश्वविद्यालय सञ्चालनपछि नेपालमै विज्ञान तथा प्रविधिमा उच्चस्तरको अनुसन्धान गरी विश्वबजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरी नेपालबाट यस्तो जनशक्ति पलायन हुने क्रम न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ ।

८ सहसचिवको सरुवा

काठमाडौँ- ८ जना सहसचिवको सरुवा भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घ तथा प्रदेशस्थित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।

गत बिहीबार मात्रै दर्जन सहसचिवको सरुवा गरेको मन्त्रालयले आज थप सहसचिवको सरुवा गरेको छ ।

मन्त्रालयबाट प्राप्त विवरण अनुसार लगानी बोर्डको कार्यालयका भगवान् अर्याललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ भने आन्तरिक मामिला मन्त्रालय, कर्णाली प्रदेश सुर्खेतका प्रदेश सचिव प्रेम राज गिरीलाई प्रदेश नीति तथा योजना आयोग, गण्डकी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी रोशनी कुमारी श्रेष्ठलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, काठमाडौँमा ल्याईएको छ ।

यसै गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवहरू अमृत लम्साललाई लगानी बोर्डको कार्यालय, काठमाडौँ, प्रदीपराज अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय वा अन्तर्गत, दिनेश सागर भूषाललाई आन्तरिक मामिला मन्त्रालय, कर्णाली प्रदेश सुर्खेत, वेद प्रसाद खरेल भूमि व्यवस्था तथा यातायात मन्त्रालय, प्रदेश नं। १ विराटनगर र आभा श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा भएको छ ।