विदेश जाने सोच त्याग्न प्रधानसेनापतिको आग्रह

काठमाडौँ-प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका सङ्गठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गर्नुभएको छ ।

यहाँस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरुलाई सिकाएर सहयोग पु¥याउनु पर्छ भन्नुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “स्वदेशमै बसेर माटो खन्ने खोस्रने गर्नुस्, परिवार, समाज र देशको आर्थिक विकासमा टेवा पु¥याउनुस्, विदेश जाने सोचमा हुनुहुन्छ भने त्याग्नुस् ।”

विदेशमा गएकाले धेरै दुःख पाएको देखेको घटना सुनाउँदै उहाँले भन्नुभयो, “त्यहाँ नेपाली तल्लो स्तरको काम गरेको देख्दा चित्त दुख्छ, नेपाली माटोमै केही गरेर देखाउनुस्, विदेशमा पैसा फलेको हुन्न, झन् दुःख पाइन्छ, तपाईँ सक्षम हुनुहुन्छ तालिम र ज्ञानलाई यही प्रयोग गर्न अनुरोध गर्छु ।”

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृत गौरव तण्डुलले कोषमार्फत प्रदान गरिएको सहुलियतपूर्ण कर्जाको सदुपयोग गरी स्वरोजगार र आयआर्जन बढाउँदै जीवनस्तर उकास्न सुझाव दिनुभयो ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका वरिष्ठ उपाध्यक्ष अवकाशप्राप्त सहायक रथी केशरबहादुर भण्डारी, अप्रा उपरथी शम्शेर ठकुरी र बलाध्यक्ष रथी सरोजप्रताप राणाले कोषमार्फत सञ्चालन भएका स्वास्थ्य, शिक्षा, सीप र स्वरोजगार तथा सुविधा र सहुलियत कार्यक्रमले भूपू सैनिकको जीवनस्तर उकास्न गरेको योगदानको चर्चा गर्नुभएको थियो ।

सम्मेलनका क्रममा १०६ वर्षीया एकल महिला भद्रकाली कठायत र ९३ वर्षीय खड्गजीत खत्रीलाई ज्येष्ठ भूपू तथा एकल महिलाको सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा यस क्षेत्रको वेषभूषा, झाँकी प्रदर्शन गरियो । कार्यक्रममा प्रधानसेनापति शर्माले भूपू सैनिक र उनका परिवारसँग अन्तक्र्रिया गर्नुभएको थियो भने सम्मेलनमा कैलालीका ९१९ र कञ्चनपुरका एक हजार ३४४ भूपू सैनिक तथा एकल महिला परिवारको सहभागिता थियो ।

प्रतिकूल मौसमले उडान सामान्य प्रभावित

प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान सामान्य प्रभावित भएको छ ।

मौसम खराबीका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलको पूर्वनिर्धारित उडान झण्डै ४५ मिनेट ‘डिले’ भइरहेको सो विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले विमानस्थलको करिब तीन हजारमात्रै भिजिबिलिटी छ ।

यसका कारण अहिले ‘भिएफआर’ उडान हुनसकेको छैन ।

विमानस्थलमा ‘आइएफआर’ उडानमात्रै भइरहेकाले अहिले हरेक घण्टा १२ मात्रै उडान भइरहेको छ ।

सामान्य अवस्थामा प्रतिघण्टा ३० उडान हुने गरेको थियो ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाको आकाशमा क्षणिक बदली रहेको छ ।

अहिले देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भेगमा मौसम सामान्यतया सफा रहेको छ ।

प्रदेश नं १ बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसअघि बिहान अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि करिब एक घण्टा उडान प्रभावित भएको थियो ।

विमानस्थलको उडान अवतरण प्रभावित भएपछि नोटाम जारी गरिएको थियो ।

विमानस्थलका महाप्रबन्धक ठाकुरका अनुसार राडारमा सामान्य समस्या आएकाले करिब एक घण्टा उडान प्रभावित भए पनि विमानस्थलका प्राविधिकले तत्कालै मर्मतपछि अहिले उडान सामान्य अवस्थामा रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित १९ र अन्तर्राष्ट्रियमा अहिले दुई नेपालीसहित २० वायुसेवा प्रदायकले उडान सेवा दिइरहेका छन् ।

चुनावसम्म गठबन्धन कायम रहन्छ : आरजु

नेपाली कांग्रेसकी नेतृ डा आरजु राणा देउवाले अहिलेका सत्ता गठबन्धनका राजनीतिक दलहरु आमागी निर्वाचनमा पनि मिलेर जाने बताउनुभएको छ ।

उहाँले अहिलेकै सत्ता गठबन्धनको जनादेश मिलेर जाँदा देशलाई अघि बढाउन सकिन्छ भन्ने कुरा प्रमाणित भइसकेकोले यही जनादेशको गठबन्धन निर्वाचनमा पनि कायम गरेर जाँदा राम्रो हुने बताउनुभयो ।

नेतृ डा राणाले स्थानीय चुनाव तोकिएकै समयमा हुनेमा ढुक्क रहन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “संविधानको प्रावधानअनुसार नै निर्वाचन हुन्छ, निर्वाचन नहुने भन्ने कुरा खाली हल्लामात्रै हो, हामीहरु सबै अब निर्वाचनको तयारीमा लाग्नुपर्छ ।”

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको कार्यक्रममा नेपाली कांंग्रेसका केन्द्रीय सदस्यसमेत रहेकी डा देउवाले एक प्रसङ्गमा आगामी निर्वाचनमा कांग्रेसले जनताले रुचाएको व्यक्तिलाई नै टिकट दिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘जनताले रुचाएको, जनतासँगै रहेको, स्थानीय स्तरमा जनताका समस्यासँग जानकार रहेको र उनीहरुका आवश्यकताबारे जानकार रहेको व्यक्तिलाई नै पार्टीले टिकट दिन्छ ।’’

स्थानीय तह भनेका जनताको घरआँगनकै सरकार भएकाले उनीहरुका सुख, दुःखमा साथ दिने र अनुभवी व्यक्तिलाई नै पार्टीले टिकट दिने भन्दै त्यस्ता व्यक्तिलाई जिताएर पठाउन कांग्रेसका समग्र कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।

उहाँले आफ्ना विषयको एक प्रश्नमा आफू कैलालीका जनतासँग भिजिसकेकाले पार्टीले टिकट दिए फेरि पनि यहीँबाट निर्वाचन लड्ने बताउनुभयो ।

नेतृ डा देउवाले कांगे्रसका नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनमा मिलेर र एकजुट भएर लाग्न आग्रह पनि गर्नुभयो ।

पर्यटनमन्त्री आले भारत भ्रमणमा जाँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै हुनुहुन्छ ।

भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको एक कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत जान लाग्नुभएको हो ।

भारतको हैदरावादमा हुने उक्त कार्यक्रमको शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने तय भएको बताइएको छ ।

विभिन्न राष्ट्रका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सहभागी हुने उक्त कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको मन्त्री आलेसँगै उक्त कार्यक्रममा सहभागी हुन जान लागेका नेपाल नागरिक उड्डयन प्राधिकरणका डिडिजी हंशराज पाण्डेयले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त कार्यक्रममा विशेष गरी मन्त्री आलेले बढीभन्दा बढी पर्यटक भित्रियाउन तथा भारतसँग सिमान जोडिएका यहाँका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नेलगायत आवश्यक सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने कार्यक्रम तय भएको छ ।

मधेसमा विद्युत् महसुल नतिर्ने १२ हजार ८३३ ग्राहकको लाइन काटियो

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ ।

विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ ।

मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक वर्षको सात महिनाको अवधिमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन कट्टा गरी रु ६४ करोड ३५ लाख महसुल सङ्कलन गरिएको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालयका प्रमुख इ मुनिन्द्र ठाकुरले जानकारी दिनुभयो ।

लाइन कट्टा गरिएकामध्ये नौ हजार ७१४ जनाले पुनः लाइन जडान गरेको र त्यसबाट रु ४२ करोड ९२ लाख ३९ हजार १९० राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताउनुभयो ।

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकोले विद्युत् लाइन काट्ने अभियान चलाइएको उहाँको भनाइ छ ।

यस्तै विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि मधेस प्रदेशमा चालु आर्थिक वर्षको सात महिनामा करिब चार प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।

विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय मातहतका वितरण केन्द्रले चुहावट नियन्त्रणका लागि अभियान चलाएपछि चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्ममा विद्युत् चुहावट तीन दशमलव ८२ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षमा १६ दशमलव १२ प्रतिशत विद्युत् चुहावट भएकामा चालु आर्थिकको सात महिनाको अवधिमा विद्युत् चुहावटलाई १२ दशमलव तीन प्रतिशतमा झारिएको विद्युत् प्राधिकरणले जनाएको छ ।

सबैभन्दा बढी सिरहाको लहान वितरण केन्द्रले १३ दशमलव ९७ प्रतिशत चुहावट नियन्त्रण गरेको छ भने सबैभन्दा कम सर्लाहीको मलङ्गवा वितरण केन्द्रले चार प्रतिशत विद्युत् चुहावट नियन्त्रण गरेको प्रमुख इ ठाकुरले जानकारी दिनुभयो ।

यसरी हेर्दा मधेस प्रदेशमा विद्युत् चुहावट नियन्त्रण अभियानबाट विगत सात महिनाको अवधिमा रु ३४ करोड बराबरको विद्युत् चुहावट घटेको अनुमान गरिएको छ ।

सो अवधिमा चुहावट नियन्त्रण अभियानअन्तर्गत विद्युत् हुकिङ गर्ने एक हजार ५९० लाई पक्राउ गरी तिनीहरूबाट जरिवानाबापत रु तीन करोड ४८ लाख राजस्व सङ्कलन भएको प्रमुख इ ठाकुरले बताउनुभयो ।

सन्दर्भ विश्व क्षयरोग दिवसः कहाँ हराए क्षयरोगका ४० हजार बिरामी ?

काठमाडौँ-नेपालमा अझै पनि ४० हजारभन्दा बढी क्षयरोगका बिरामी उपचारबाट वञ्चित छन् ।

हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६७७ जनाले मात्र उपचार गराएको थियो ।

बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरका अनुसार नेपालमा वार्षिक नयाँ र पुरानो गरी एक लाख १७ हजार क्षयरोगका बिरामी हुन्छन् ।

तीमध्ये २८ हजार ६७७ जनाले मात्र रोग पत्ता लागि उपचार गराएका छन् ।

यसका आधारमा अझै पनि ७५.४८ प्रतिशत क्षयरोगका विरामी उपचार सम्पर्कबाट बाहिर छन् ।

उपचार गराउन आएकामध्ये ९१ प्रतिशत बिरामी निको भएर जाने गरेको उहाँले बताउनुभयो ।

तीमध्ये ६७ प्रतिशत पुरुष, ३३ प्रतिशत महिला र सात प्रतिशत बालबालिका रहेका छन् ।

“जनचेतनाको अभाव र उपचार गरे रोग निको हुन्छ भन्ने थाहा नपाएर अझै धेरै बिरामी सम्पर्कमा नै आएका छैनन्”, उहाँले भन्नुभयो, “ती बिरामीलाई सम्पर्कमा ल्याएर उपचार गर्नु चुनौती रहेको छ ।”

सरकारले औषधि निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

क्षयरोग नियमित उपचारले निको हुने गर्दछ ।

औषधि प्रतिरोधी क्षयरोगका बिरामी वार्षिक दुई हजार २०० रहेका छन् ।

यो सङ्ख्या जनसङ्ख्याको हिसाबले नेपालमा अत्यन्त धेरै हो ।

विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई सन् २०२१ देखि औषधि प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको ३० देशको सूचीमा राखेको छ ।

आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रममा ५६९ जनाको औषधि प्रतिरोधी क्षयरोग पहिचान गरिएको थियो ।

तीमध्ये ४१८ जना उपचारमा गराइरहेका छन् ।

केन्द्रका निर्देशक डा ठाकुरले औषधि प्रतिरोधी क्षयरोगका बिरामी र रोग पत्ता लागी उपचारमा आएका बिरामीको सङ्ख्या हेर्दा एक हजार ६३१ जना बिरामीको रोग पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले क्षयरोगको अन्त्यका लागि मन्त्रालयले पञ्चवर्षीय रणनीतिक योजना २०७८/७९ देखि २०८२/८३ कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यस रणनीतिअनुसार स्वास्थ्य सेवा प्रणालीलाई सुदृढीकरण गरी स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि गुणस्तरीय क्षयरोग सेवाको सुधार, राष्ट्रिय क्षयरोग प्रेषण प्रयोगशालाको सुदृढीकरण, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको गुणस्तर सुनिश्चितामा संलग्न गरिनेछ ।

यस्तै देशका विभिन्न चार स्थानमा क्षयरोग प्रेषण प्रयोगशालाको स्थापना गर्ने, समुदाय र परिवारमा आधारित डट्स सेवाको विस्तार तथा लागू गर्ने, केन्द्रीय स्तरमा निर्माण सम्पन्न भएको छाती रोग अस्पतालको सञ्चालन गरी सातवटै प्रदेशमा क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको विस्तार गर्ने रणनीतिमा उल्लेख गरिएको छ ।

सचिव डा पोखरेलले क्षयरोग नियन्त्रणमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिले पनि क्षयरोगका बिरामी पत्ता लगाउन कठिन भएको उल्लेख गर्दै निजी सङ्घसंस्थाको पहलमा सहकार्य गरेर क्षयरोगका बिरामी पत्ता लगाई उपचार गर्नुपर्ने बताउनुभयो ।

विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रमुख डा राजेश पाण्डवले क्षयरोग केन्द्रित सेवालाई प्रभावकारी रुपमा कार्यान्वयन गरी उपचार गर्नुपर्ने बताउनुभयो ।

उहाँले स्थानीय तहलाई नेपाल क्षयरोग मुक्त घोषणा अभियानमा सहभागिता गराई नेपाललाई चाँडै नै क्षयरोग मुक्त घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले प्रत्येक स्थानीय तहलाई क्षयरोगमुक्त गर्दै क्षयरोग निवारणका लक्ष्य हासिल गर्नका लागि यसै आवदेखि २५ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गरेको छ ।

स्थानीय तह क्षयरोग मुक्त अभियान आगामी चार वर्षभित्र सबै स्थानीय तहमा सञ्चालन गरिने केन्द्रका निर्देशक डा ठाकुरले जानकारी दिनुभयो ।

आव २०७७/७८ मा राष्ट्रिय क्षयरोग कार्यक्रमअन्तर्गत ८९६ माइक्रोस्कोपिक केन्द्र, ८४ जिनएक्सपर्ट केन्द्र तथा उपचार सेवाअन्तर्गत पाँच हजार ५०३ डट्स केन्द्र, २२ डिआर उपचार केन्द्र, ८१ डिआर उपचार उपकेन्द्र, ६ डिआर होस्टेल र एक डिआर होममार्फत सेवा प्रदान गरिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्थानीय तहबाट नै क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको बताउनुभयो ।

भोलि नेपालसहित विश्वभरि नै ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ ।

प्रमुख जनस्वास्थ्य समस्याका रुपमा रहँदै आएको क्षयरोग सरुवा रोग भएका कारण हराइरहेका बिरामी पत्ता लगाउन निकै चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो ।

क्षयरोग माइक्रोब्याटेरियम ट्युबरक्लोसिस नामक ब्याक्टेरियाका कारण हुन्छ ।

यो रोग खोक्दा वा हाछ्युँ गर्दा बिरामीबाट हावामा गई हावालाई दुषित बनाउँछ र उक्त हावा स्वास्थ्य मानिसले लिँदा रोग सर्न सक्छ ।

“लगातार खोकी लाग्ने, साँझपख हल्का ज्वरो आउने, खाना नरुच्ने, खकारमा रगत देखिने, शरीरको तौल घट्दै जानेजस्ता लक्षणहरु देखा परेमा रोग लागेको हुन सक्छ”, उहाँले भन्नुभयो, “यस्तो लक्षण देखिए नजिकको स्वास्थ्यसंस्थामा जचाउन जानुपर्छ ।”

क्षयरोग र कोरोना दुबै स्वासप्रस्वासबाट सर्ने रोग हो

क्षयरोग र कोरोना सङ्क्रमण दुबैले फोक्सोमा असर गर्दछ ।

दुवै रोगका मिल्दा लक्षणमा ज्वरो आउने, खोकी लाग्ने, थकाई लाग्ने, सास फेर्न गाहे हुने हुन्छ ।

त्यसैले यस्ता लक्षण देखिए कोरोनाका साथ क्षयरोगको परीक्षण गराउनुपर्छ ।

क्षयरोग केन्द्रको अनुसन्धानमा ४० प्रतिशत डिआरटिभीका विरामीहरुमा कोभिड–१९को सङ्क्रमण देखिएको छ ।

क्षयरोगका विरामीलाई कोभिड भएमा चाँडै निमोनिया बढ्ने र स्वासप्रस्वाससम्बन्धी जटिलता आउने भएकाले समयमै सजगता अपनाउनुपर्छ ।

विश्व स्वास्थ्य सङ्गठनको २०२० को प्रतिवेदनअनुसार विश्वभरि ९९ लाख मानिसहरु क्षयरोगबाट पीडित भएको र तीमध्ये वार्षिक १५ लाखको मृत्यु हुने गरेको छ ।

गठबन्धनमा तालमेल भए त्यसको लाभ आफ्नो पार्टीलाई: नेता भट्टराई

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताउनुभएको छ ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाउनुभएको हो ।

उहाँले स्थानीय तहको निर्वाचनमा एमालेले केन्द्रीयस्तरमा घोषणा गरेर कुनै पनि दलसँग तालमेल नगर्ने पनि स्पष्ट गर्नुभयो ।

उहाँका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनुपर्ने आह्वान गरिएको छ ।

प्रतिवेदनमा स्थानीय तहको उम्मेदवार हुनका लागि पार्टीप्रति प्रतिबद्ध, विगतको निर्वाचनमा विजय हासिल गरेको भए निजले गरेका काम राम्रो हुनुपर्ने, चारित्रिक हिसाबले असल र क्षमतावान् हुनुपर्ने मापदण्ड प्रस्ताव गरिएको उहाँले जानकारी दिनुभयो ।

बैठकमा विभिन्न प्रदेशका अध्यक्षले रिपोर्टिङ गर्दै पार्टी तल्लो तहसम्म पुनःसङ्गठित भएको र विभाजनको खासै असर नपरेको अवगत गराएका छन् ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २०.३४ अङ्कले घटेर दुई हजार ६३०.३६ मा पुगेको छ ।

नेप्सेको गिरावटसँगै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक पनि ४.२२ अङ्कले ओरालो लागेर ४९५.११ मा आएको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको आजको बजारमा कूल २२६ कम्पनीका ३९ लाख ८५ हजार ५७४ कित्ता शेयर रु दुई अर्ब चार करोड ६३ लाख ५२ हजार ५४७ मा खरिद विक्री भएका छन् ।

आज कारोबार भएका १३ उपसमूहमध्ये दुई उपसमूहका शेयर मूल्यमा वृद्धि देखियो भने ११ उपसमूहको शेयर मूल्य भने ओरालो लाग्यो ।

जसमा व्यापार १२.७७ र सामूहिक लगानी कोष ०.०४ अङ्कले बढेका छन् ।

बैंकिङ ९.१३, होटल तथा पर्यटन १९.८६, विकास बैंक ५२.५८, जलविद्युत् ३६.३९, वित्त ३४.५३, निर्जीवन बीमा ७९.५३, उत्पादन ७६.२१, अन्य २२.२१, लघुवित्त २०.७५, जीवन बीमा १२६.३१ र लगानी ०.८१ अङ्कले घटेका छन् ।

कारोबारका आधारमा आज एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । यो कम्पनीको कूल रु आठ करोड ४१ लाख ९४ हजार ६३९ रकम बराबरको कारोबार भयो ।

जीवन विकास लघुवित्त रु आठ करोड ४० लाख २३ हजार ३३६, अरुणभ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको रु आठ करोड १७ लाख १९ हजार २२४, नेपाल दूरसञ्चार कम्पनी रु सात करोड ६० लाख ७६ हजार ९६८ र अपी पावर कम्पनीको रु छ करोड १० लाख ५१ हजार २१२ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच स्थानमा रहे ।

नेप्सेका अनुसार, राष्ट्र उत्थान लघुवित्त संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको आजको बजारमा इमर्जिङ नेपालको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ ।

सनराइज बैंककोे ऋणपत्र ४.०४ एनआइबीएल प्रगति फण्ड ३.११ र नविल बैंकको ऋणपत्र २.९२ प्रतिशतले बढेका छन् ।

देशलाई समाजवादसम्म लैजान एमाले प्रतिबद्ध छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको काँधमा विद्यमान समस्या र चुनौतीको सामनासहित देशलाई समाजवाद निर्माणसम्म लैजाने अभिभारा रहेको बताउनुभएको छ ।

आजदेखि राजधानीमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको तेस्रो बैठकमा सम्बोधन गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा, भौगोलिक सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शान्ति सम्झौताका बाँकी कामलाई पूर्णता दिएर दिगो शान्ति स्थापना, सुशासनयुक्त विकाससहित मुलुकलाई समृद्धिमा लान कटिबद्ध हुनुपर्ने बताउनुभएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले यस बैठकपछि पार्टी पूर्णतः स्थानीय तहको निर्वाचनमा होमिने भएकाले त्यसको तयारीका लागि जनपरिचालन, सङ्गठनात्मक र अन्य कामका बारेमा निर्णय गर्ने जनाउनुभयो ।

एमाले लोकतान्त्रिक र कम्युनिष्ट आन्दोलनको मुख्य शक्ति रहँदै आएको उल्लेख गर्दै उहाँले यसबारे कुनै भ्रम नपाल्न आग्रह गर्नुभयो ।

“वर्तमानको जनादेश र राष्ट्रलाई अगाडि बढाउने नीति र व्यवहारका दृष्टिले एमाले मुलुकको सबैभन्दा ठूलो पार्टी हो”, उहाँले भन्नुभयो, “यो लोकतान्त्रिक आन्दोलनको पनि सङ्गठित इतिहासको विरासत बोक्ने पार्टी हो, एकता र एकीकरणको निरन्तरताको इतिहास बोकेको मूलधारको पार्टी हो भन्न अप्ठ्यारो मानिरहनु पर्दैन ।”

स्थानीय तहको आशन्न निर्वाचनका लागि पार्टीको तयारीलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको बताइएको छ ।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन, प्रदेशका अध्यक्षहरुको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । बैठक बिहीबारसम्म चल्नेछ ।

निर्वाचनमा गठबन्धन आवश्यक:नेता गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले सरकारमा सहभागी दलबीच निर्वाचनमा गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले गठबन्धनका कारण मुलुकमा राजनीतिक स्थायित्व, लोकतन्त्र र संविधानलाई सही दिशामा ल्याउन सफल भएको प्रष्ट पार्नुभयो ।

पूर्वउपप्रधानमन्त्री गच्छदारले गठबन्धन सरकार बनाउन मात्र गरिएको होइन भन्दै यसका कारण संविधान र नागरिकले पाएको राजनीतिक उपलब्धि खोसिनबाट जोगाउन सफल भएको धारणा राख्नुभयो ।

उहाँले वर्तमान गठबन्धन स्थानीय तहका साथै प्रदेश र संसद्को निर्वाचनसम्म जानुपर्ने धारणा राख्नुभयो ।

पार्टीका पूर्वउपसभापति गच्छदारले गठबन्धनको कारण कांग्रेसको नेतृत्वमा वर्तमान सरकार निर्माण भएको चर्चा गर्दै गठबन्धनबाट धेरै स्थानीय तहले नयाँ नेतृत्व पाउने दाबी गर्नुभयो ।

निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन संहिता पूर्ण पालना गर्नुपर्छ: आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ र मर्यादित वनाउन राजनीतिक दलले आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने बताउनुभएको छ ।

निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित स्थानीय तह निर्वाचन–२०७९ निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका विषयक अन्तरक्रियामा उहाँले यसपटकको निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन आचारसंहिता पालनाको विषय कडाइका साथ कार्यान्वयन गरिने धारणा राख्नुभयो ।

प्रमुख आयुक्त थपलियाले निर्वाचनमा हुने आचारसंहिता उल्लङ्घन गर्ने प्रवृत्तिलाई निस्तेज पार्न राजनीतिक दल एवं नागरिक समाजको सहयोग आवश्यक रहेको छ भन्नुभयो ।

उहाँले आयोगले प्रत्येक स्थानीय तहमा आचारसंंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो ।

उहाँले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धतिको सुधारका लागि राजनीतिक दलले आचारसंहिता पालनामा नैतिकता र इमान्दारिता देखाउन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो ।

उहाँले आचारसंहिता उल्लङ्घन गर्ने दल, उम्मेदवार, सर्मथकमाथि स्थानीय समुदायले खबरदारी गर्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

प्रमुख आयुक्त थपलियाले विगतको निर्वाचनमा आचारसंहिता पालना नभएको विषयमा व्यापक जनगुनासो आएको चर्चा गर्दै आयोगले यसपटकको निर्वाचनमा आचारसंंहिता कार्यान्वयनमा नयाँ रणनीति कार्यान्वयन गर्न लागेको छ भन्नुभयो ।

राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी: मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताउनुभएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताउनुभएको हो ।

उहाँले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन ।”

शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जनाउँदै उहाँले सकारात्मक सल्लाह लिएर मन्त्रालय आउन प्याब्सनलाई आग्रह गर्नुभयो ।

राज्यको एक मात्र लक्ष्य हाल कार्यान्वयनमा रहेको शिक्षा प्रणाली सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नु रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष टीकाराम पुरीले सीपमूलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि राज्यले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

हरेक दिन उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको भीडले गिज्याइरहेको जनाउँदै अध्यक्ष पुरीले त्यसको जवाफ राज्यले दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्कालाई ‘प्याब्सन गौरव सम्मान’ बाट सम्मानित गरिएको छ ।

त्यसैगरी वी एन्ड शर्मा, सानु अमात्य, डोलराज पाण्डे र नारायण अधिकारीलाई ‘प्याब्सन रत्न सम्मान’ बाट सम्मानित गरिएको छ ।

बिहीबारसम्म हुने महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ ।

अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् ।

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ ।

महाधिवेशनमा देशका विभिन्न स्थानबाट दुई हजार तीन सय प्रतिनिधि सहभागी रहेका छन् ।

देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं-देशभरका यातायात कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द भएको छ ।

प्राबिधिक समस्याका कारण सेवा बन्द गर्नु परेको यातायात कार्यलयले जनाएको छ ।

यातायात व्यवस्था विभागका सर्भरहरूमा समस्या देखिएको र सो समस्या समाधान गर्न बुधबार बेलुका ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द हुने भएको हो ।

विभागका प्रवक्ता डा.लोकनाथ भुसालले समस्या समाधानको प्रयास भइरहेको र नबन्दासम्म सेवा बन्द गरिने बताए ।

यसअघि पनि विभागको सर्भरमा समस्या आउँदा अनलाइन फारम, लाइसेन्स प्रिन्ट, नविकरण लगायतका सेवामा समस्या उत्पन्न हुँदै आएको थियो ।

आलेखः सुखीहरूको गाउँ ‘घलेगाउँ’

लमजुङ,
‘मैले जन्मेर हुर्केको गाउँ, मैले घाँसदाउरा गरेको गाउँ
स्वर्गभन्दा प्यारो लाग्छ मेरो घलेगाउँ’ (तेजबहादुर घिगाल, गणेश गुरुङ र रिमा गुरुङ’)

शिरमा सेतो हिमाल, मध्य भाग जङ्गल अनि फेदमा घलेहरूको बाहुल्य– घलेगाउँ विविधताको सङ्गम हो ।

प्रकृतिले सिंँगारिदिएको र पर्यटकीय रूपमा निकै महत्त्वपूर्ण घलेगाउँ अहिले लमजुङको सुखी गाउँका रूपमा परिचित बन्दै छ ।

पर्यटकलाई खुसी बनाउँदै पर्यटकीय सत्कारमा रमाउन थालेका यहाँका बासिन्दा यतिबेला मापदण्ड पूरा गर्दैे गाउँलाई नै सुखी गाउँ बनाउन लागिपरेका छन् ।

जिल्लामा सबैभन्दा बढी पर्यटक यसै गाउँमा आउँछन् । मुलुकमा जनान्दोलनपछि आन्तरिक पर्यटकको वृद्धि हुन थालेपछि घलेगाउँबासी खुसीले गद्गद् छन् ।

उनीहरू पर्यटकका लागि रातदिन नभनी मेहनत गर्छन् जसको पहिलो प्राथमिकता भनेकै गाउँमा आएका पर्यटकलाई खुसी बनाउनु हो ।

क्ह्वालासोथर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर घलेका नेतृत्वमा अघि बढ्दै आगामी वैशाख २ गते गाउँलार्ई ‘सुखी घलेगाउँ’ घोषणा गर्ने तयारीमा गाउँबासी लागेका छन् ।

पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुरका अनुसार सडक, खानेपानी, स्वास्थ्य र शिक्षा केही नभएको गाउँलाई कसरी सुखी बनाउन सकिन्छ भनेर आफूले दुई दशकअघि सोचेको योजना अहिले पूरा हुन लागेको बताउनुभयो ।

“म भारतीय सेनामा भर्ती हुन पुगेर पनि गाउँ फर्केँ । स्याङ्जा जिल्लाको सिरुबारीका घरमा पाहुना राख्ने र गाँस र बास दिएबापत पैसा लिने गरेको सुनेँ ।

के कसरी रहेछ भन्ने जिज्ञासाले अध्ययन गर्न त्यहाँ पुगेँ र मैले पनि गाउँमा पाहुना राख्ने र गाउँलेलाई दुईचार पैसाको मुख देख्न सक्ने बनाउने योजना बुनेँ ”, उहाँले भन्नुभयो ।

घले, गुरुङ र दलित समुदायको बसोबास रहेको घलेगाउँमा १२५ घर रहेकामा प्रतिघरको वार्षिक आम्दानी सरदर रु पाँचदेखि छ लाख र रु एक लाखदेखि डेढ लाखसम्म वार्षिक बचत हुने गरेकाले र मापदण्ड पूरा गरेकाले गाउँलाई सुखी गाउँ घोषणा गर्न लागिएको समितिको कार्यालय सचिव दीर्घराज घलेले जानकारी दिनुभयो ।

“घरमै बसीबसी आम्दानी भएपछि हामी सबै खुसी र सुखी छौँ”, उहाँले भन्नुभयो ।

विसं २०५७ वैशाख २३ गते ‘प्रथम घलेगाउँ महोत्सव’ गरी नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ का रूपमा अघि बढ्दै गरेको घलेगाउँका १२ घरमा सुरुमा पर्यटन प्रयोजनका लागि घरबास कार्यक्रम स्थापना भई प्रचारप्रसार भएपछि विसं २०५८ वैशाखमा ‘घलेगाउँ कला महोत्सव’ आयोजना गरिएको थियो ।

मान्छेहरूको भीडभाड हुने भएकाले सुरुमा तत्कालीन द्वन्द्वमा संलग्न माओवादीहरूले कार्यक्रम गरेको प्रति आपत्ति जनाएकामा पछि पर्यटन प्रवद्र्धनबारे कुरा बुझेपछि कुनै रोकतोक नभएको समितिका अध्यक्ष प्रेमबहादुरले बताउनुभयो ।

पछि बिस्तारै घलेगाउँमा पाहुना आउन थाले । प्रकृति, संस्कृति र रहनसहन देखाई गाउँमै उत्पादित खाद्य पदार्थ खुवाएर उनीहरूले आम्दानी गर्न थाले । बिस्तारै घलेगाउँबारे देशविदेशमा प्रचारप्रसार हुँदै गयो ।

दक्षिण एसियाली राष्ट्रहरूको सङ्गठन(सार्क) स्थापनापछिको केही समयमै सुरुका सदस्य राष्ट्र हरेकमा नमुना ‘सार्क भिलेज’ घोषणा गरिएअनुसार नेपालको लमजुङ जिल्लाको उत्तरी भेगमा अन्नपूर्ण हिमालका काखमा अवस्थित क्होलासोथर गाउँपालिका वडा नं ३ स्थित ऐतिहासिक घलेगाउँलाई नेपालको नमुना ‘सार्क भिलेज’ मा छनोट गरिएको थियो ।

यहाँ सडक, बिजुली, टेलिफोन, इन्टरनेट, खानेपानी, विद्यालय, स्वास्थ्यलगायत आधारभूत सुविधा पुगेपछि विसं २०७५ पुस १० गते ‘स्मार्ट भिलेज’ अभियान सुरुआत गरिएकामा गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७६ मङ्सिर १७ गते विधिवत् रूपमा नामकरण गरी शुभारम्भ गर्नुभएको थियो ।

गाउँ पर्यटन प्रबद्र्धन मञ्च ९भिटोफ० ले नेपालकै उत्कृष्ट होमस्टेका रूपमा पनि यसलाई पुरस्कृत गर्‍यो ।

घलेगाउँका बासिन्दा एवं घरबास पर्यटन सञ्चालक हेमकुमारी घलेले भन्नुभयो,“ विगतमा यहाँका बासिन्दालाई दुईचार पैसाको मुख देख्नदेखि स्वास्थ्य शिक्षा, यातायात, खानेपानी, इन्टरनेटलगायत समस्या थियो तर अहिले सबै सुविधा उपलब्ध हुँदै गएकाले उनीहरू सुखी हुन थालेका छन् ।”

गाउँमा दैनिक आउने पर्यटकमार्फत आम्दानी भई यहाँका बासिन्दाको आयस्रोतमा वृद्धि हुँदै जाँदा तिनलाई पैसाको अभाव हुँदैन ।

यहाँका ९० प्रतिशत जनसङ्ख्यालाई आम्दानीका लागि अन्य दुःख गर्नै नपरेको अध्यक्ष प्रेमबहादुर बताउनुहुन्छ ।

अधिकांश वस्तु गाउँमै उत्पादन हुन्छ । समितिका सचिव उमलबहादुर विकका अनुसार अन्य घरका बासिन्दाले भने पर्यटकलक्षित व्यापार–व्यवसाय गरेका छन् ।

स्थानीयवासीले निगालोको चोया, भेंडाको ऊन, अल्लोबाट हस्तकलाका सामग्री तयार गरेर बिक्रीवितरण गर्ने छन् ।

घरबासमा आएका पर्यटकले ती वस्तु खरिद गरेबाट समेत थप आम्दानी भई आयस्रोत वृद्धि हुँदै गएको स्थानीयवासी बताउँछन् ।

पर्यटक वृद्धि हुँदै गएको घलेगाउँमा विसं २०७३ माघ २२ मा राष्ट्रपति विद्यादेवी भण्डारीले परम्परागत गुरुङ सङ्ग्रहालय उद्घाटन गरेपछि झन् बढी पर्यटक पुग्न थालेका छन् ।

घरबास सञ्चालकले घरमै बसीबसी पर्यटक आगमन हुँदा महिनामै रु ४० देखि रु ७० हजार आम्दानी गर्दै आएका छन् ।

गण्डकी प्रदेश सरकारले घलेगाउँको प्रवद्र्धनका लागि आव २०७५/७६ मा रु २९ लाख ४६ हजार र क्ह्वालासोथर गाउँपालिकाले रु १५ लाख विनियोजन गरेका थिए ।

पर्यटन व्यवसायबाट गाउँलेले बर्सेनि करोडौँ रुपियाँ आम्दानी गर्दै परिवारको भविष्य बनाउनेदेखि गाउँको विकासमा टेवा पुर्‍याएका छन् ।

बाइसे–चौबिसे राज्यकालमा घले राजाले यस ठाउँमा शासन गरेका थिए ।

स्थानीयवासीका अनुसार घले राजाले शासन गरेको र घले जातिको बाहुल्य भएकाले गाउँको नाम नै घलेगाउँ रहन गएको हो ।

सात सय वर्ष पुरानो मानिएको घलेगाउँलाई गुरुङ भाषामा ‘कोइम्ली’ भनिन्छ ।

यहाँ अन्तिम राजा क्याल्बोरोजा क्लेको सालिक निर्माण गरिएको छ ।

गुरुङ जातिको कर्मकाण्ड, वेद तथा अन्य शास्त्र सिक्ने र सिकाउने पाठशाला ‘क्होइँबो’ पनि यहाँ निर्माण गरिएको छ ।

कोइम्लीका ४२ घरमा हाल घरबास कार्यक्रम सञ्चालनमा छ ।

गाउँमा आएका पर्यटकलाई स्वागत तथा सम्मान र बिदाइमा सेतो टीका, फूल, फूलको माला, गुच्छा र खादा चढाइन्छ ।

पर्यटकलाई गुन्द्रक, मकै, भटमास, कोदोको सेलरोटी, चियालगायत परिकार खुवाइन्छ ।

पर्यटकका लागि गुरुङसंस्कृति झल्किने गीत तथा नाच प्रस्तुत गरी भरपूर मनोरञ्जन दिलाइन्छ ।

पाहुना तथा पर्यटकलाई समाज घरमा लगेर गुरुङ संस्कारमा आधारित कृष्णचरित्र नाच, घाँटु, घ्याबे्र, लामा, सोरठीलगायत विभिन्न परम्परागत नृत्यहरु प्रस्तुत गर्नु घलेगाउँबासीको परम्परा हो ।

घलेगाउँमा प्रतिव्यक्ति एक रातको रु एक हजार २५० शुल्क लिइन्छ । सो रकम तिरेबापत एक रात सुत्न तथा एक छाक मांसाहारी र एक छाक शाकाहारी भोजन पाइन्छ ।

बिहानको खाजामा चिया, कोदोको सेलरोटी, तरकारी र अण्डा पर्यटकले प्राप्त गर्छन् ।

प्रकृतिले सिंँगारिदिएको घलेगाउँबाट छ हजार ९८६ मिटर उचाइको लमजुङ हिमाल, सात हजार ९३५ मिटर उचाइको मा अन्नपूर्ण हिमाल (दोस्रो), अन्नपूर्ण हिमाल(चौथो), छ हजार ९६३ मिटर उचाइकोको माछापुच्छे« हिमाल, आठ हजार १६३ मि उचाइको मनास्लु हिमाल, सात हजार ८९३ मि उचाइको हिमालचुली, सात हजार ८३५ मि उचाइको ङादीचुली(डा हर्क हिमाल) र छ हजार ६७२ मि उचाइको बुद्ध हिमाल देख्न सकिन्छ ।

सूर्योदय र सूर्यास्तको दृष्यावलोकन, गुरुङ समुदायको परम्परागत गुरुङ घर, गुरुङ सङ्ग्रहालय, क्वोइबो धीं, घले राजाको सालिक, सात कुवा, चिया बगान, भीर मौरी, वनझाँक्री छहरालगायत स्थानसमेत घलेगाउँको विशेषता हो ।

घलेगाउँको अर्को विशेषता हस्तकला पनि हो । गाउँबासीले दैनिक जीवनमा आवश्यकता पर्ने कतिपय वस्तु आफैँ तयार गर्छन् ।

भेंडाबाख्राको ऊनबाट राडीपाखी, बख्खु, अल्लोको धागोबाट भाङ्ग्रा, झोला, थैलो, नियालाको चोयाबाट डोको, नाम्लो, भकारी, थुन्से, घुम जस्ता वस्तु तयार गरिन्छ ।

धान कुट्ने ढिकी, मकै, कोदो पिस्ने जाँतो, ढुङ्गा, रातो रङका जस्तापाता र खरले छाएको घरको छाना, भर्‍याङ, ढोकामा कुदिएको कला तथा परम्परागत घुमाउरो घरमा प्रयोग भएका स्थानीय सीप पाहुना तथा पर्यटकलाई नौलो लाग्न सक्छ ।

यहाँ पुराना शैलीका घुमाउरो घर, बाक्लो घले (गुरुङ) बस्ती अनि चौबिसै घण्टा पानी, बिजुली र वाइफाइको व्यवस्था छ ।

स्थानीयवासीले यहाँ आउने पर्यटकलाई गाउँघरमै उब्जाइएका जैविक धान, मकै, कोदो, भटमास, रायोको साग, सिस्नोको खोले, स्थानीय कुखुरा, खसीबोका, भेंडाको मासुलगायत परिकार खुवाउने गर्छन् ।

लमजुङ तथा विशेष गरी क्होलासोथर गुरुङ जातिको उद्गमस्थल हो । यही नामबाट क्होलासोथर गाउँपालिका छ ।

पुर्खौँपुर्खादेखि हिमाली काखमा जीवनयापन गर्दै आएका स्थानीयवासीको आफ्नै मौलिक कला, भाषा, संस्कार, संस्कृति छ ।

स्वच्छ हावापानीमा रमाएको गुरुङ समुदायको लमजुङमा बाक्लो बस्ती तथा बसोबास छ ।

एकैठाउँमा गुचमुच्च भएर बस्न रुचाउने गुरुङ समुदायभित्र एकता पनि छ ।

पहिले रोधीँं हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा र बाबा समूह, युवा क्लबमार्फत गाउँ विकासमा लागेका छन् ।

जिल्ला सदरमुकाम बेँसीसहरबाट पैदलयात्रा गरेमा समुद्री सतहदेखि दुई हजार १०० मिटर उचाइमा रहेको घलेगाउँ ६ घण्टा र सवारी साधनमा गए डेढ घण्टामै पुगिन्छ ।

काठमाडौंँबाट तनहुँको डुम्रे बजार हुँदै बेँसीसहरसम्मको १७२ किमी र प्रदेश राजधानी पोखरादेखि बेँसीसहर ११० किमीको दूरीमा छ ।

त्यस्तै बेँसीसहरबाट घलेगाउँ पुग्न २४ किमी यात्रा गर्नुपर्छ । घलेगाउँसम्म पुग्ने सडक पूर्वाधार विकास भइरहेको छ ।

कालोपत्रे गर्दै गाउँसम्म पु¥याउनका लागि काम अघि बढिरहेको छ । केही वर्षभित्रै कालोपत्रे सम्पन्न भएपछि यात्रा अझै सहज र छिटो हुनेछ ।

औपचारिक रूपमा सुखीगाउँ घोषणा गर्नका लागि अहिले घरघरमा आयआर्जनलगायत तथ्याङ्क सङ्कलन भइरहेको जनाइएको छ ।

युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग हुन सक्ने रुसको चेतावनी

काठमाडौं-रुसीले युक्रेन युद्धमा परमाणुअस्त्र प्रयोग हुन सक्ने चेतावनी दिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने बताएका छन् ।

सीएनएन टेलिभिजनलाई दिएको एक अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो ।

जवाफमा उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे परमाणुअस्त्र प्रयोग हुन सक्ने बताएका हुन् ।

त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको समेत उनले उल्लेख गरेको बीबीसीले जनाएको छ ।

युक्रेनमा भइरहेको युद्धलाई प्रवक्ता पेस्कोभले विशेष सैनिक कारबाहीको संज्ञा दिए ।

पेस्कोभका टिप्पणीलाई अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन कर्बीले खतरनाक भन्दै एक जिम्मेवार परमाणुशक्तिले गर्ने व्यवहार त्यस्तो हुन नहुने बताएको बीबीसीले जनाएको छ ।