मन्त्री आले र सलमान खानबीच भिडियो सम्वाद

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र भारतीय अभिनेता सलमान खानबीच आज भिडियो सम्वाद हुने भएको छ ।

भारतीय अभिनेता खान आगामी जेठ १८ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउन लाग्नुभएको हो ।

सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो सम्वाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेका स्वकीय सचिवालयले जनाएको छ ।

अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवद्र्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग सम्वाद गर्नुहुने कार्यक्रम तय भएको हो ।

दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो ।

तर कोभिड–१९ को उच्च जोखिमका कारण रोकिएको उहाँको कार्यक्रम पुनः हुने भएको हो ।

ओडिसी इन्टरटेनमेन्टले सो । कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ ।

आगामी जेठ १८ मा हुने सो कार्यक्रममा अभिनेता खानसँगै अन्य भारतीय कलाकार पनि नेपाल आउने बताइएको छ ।

भारतीय अभिनेता खान नेपाल आउँदा यहाँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्याब्सनको महाधिवेशन सुरु

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो ।

आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् ।

प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ ।

महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि सहभागि छन् ।

निर्वाचनलाई मध्यनजर गर्दै २५ डिएसपीको काज सरुवा

काठमाडौँ-आउदो स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रहरी प्रशासन जनशक्ती ब्यबस्थापनमा जुटेको छ ।

प्रहरी प्रधान कार्यालयले २५ डिएसपीको काज सरुवा गरेको हो ।

स्थानीय तह निर्वाचनका लागी प्रहरी प्रधान कार्यालयले डिएसपीको काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा आवश्यकताका आधारमा डिएसपीहरूलाई तोकिएको क्षेत्रमा खटिएर काम गर्न निर्देशन दिइएको छ ।

को कहाँ

योगले मानवलाई तन्दुरुस्त बनाउँछ: वरिष्ठ नेता पौडेल

योगले मानवलाई तन्दुरुस्त बनाउँछ: वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले योगले मानवलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण सहयोग पुर्‍याउने बताउनुभएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित योग शिविरको आज समापन गर्दै उहाँले योग जीवनको अभिन्न अङ्ग भएकाले यसलाई नियमितरूपमा सञ्चालन गर्नुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “योग शिविर ठाउँ–ठाउँमा सञ्चालन गरेर यसको महत्वका बारेमा उजागर गर्नुपर्छ ।”

आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले योगको महत्वलाई बुझेर गाउँपालिकाले योग शिविर सञ्चालन गरेको बताउनुभयो ।

उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शिविरका क्रममा मात्रै नभई दैनिकरूपमा योग गर्नुपर्नेमा जोड दिनुभयो ।

यही चैत ३ गतेदेखि सुरु योग शिविरमा दैनिक ६०० भन्दा बढीको सहभागिता रहँदै आएको थियो ।

गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार शिविरमा जनप्रतिनिधि, कर्मचारी, सर्वसाधारण, शिक्षक सहभागी थिए ।

योगले मानवलाई तन्दुरुस्त बनाउँछ: वरिष्ठ नेता पौडेल

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

राति पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

विभागका अनुसार बिहीबार पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ ।

अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव आठ डिग्री र अधिकतम तापक्रम ३० दशमलव पाँच डिग्री सेल्सियस छ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव शून्य डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस छ ।

इलाममा दुई हजार किलो छुर्पी बरामद

इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ ।

रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो ।

प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।

मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो ।

जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

चितवनमा २७ दल दर्ता

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिनका लागि समय दिएको थियो ।

आयोगले तोकेको समयमा जिल्लामा रहेका २७ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् ।

कार्कीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवण बुझाउनु नपर्ने भएकाले २७ दलले चिह्नका लागि विवरण बुझाएका हुन् ।

उनीहरुको विवरण निर्वाचन आयोगमा पठाइएको उहाँले बताउनुभयो ।

स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले मतदान केन्द्र थप गर्न आयोगलाई आग्रह गरेको छ ।

विसं २०७४ मा भएको स्थानीय निर्वाचनमा जिल्लामा १६१ मतदानस्थल र ३७६ मतदान केन्द्र थिए ।

अहिले मतदान केन्द्र थप गरी ४६१ पु¥याउन लागिएको कार्कीले बताउनुभयो ।

भरतपुर महानगरपालिकामा २०५, रत्ननगर नगरपालिकामा ६१, खैरहनी नगरपालिकामा ५७, कालिका नगरपालिकामा ३७, राप्ती नगरपालिकामा ४७, माडी नगरपालिकामा ३२ र इच्छाकामना गाउँपालिकामा २२ मतदान केन्द्र बनाउन कार्यालयले आयोगलाई सिफारिस गरेको छ ।

जिल्लामा तीन लाख ९८ हजार ७७१ मतदाता छन् । अझै केही थपघट हुनसक्ने कार्कीले बताउनुभयो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लामा तीन लाख १३ हजार तीन मतदाता थिए ।

मतदाताको सङ्ख्या बढेकाले मतदान केन्द्र थप गर्न लागिएको हो ।

निर्वाचनको तयारीस्वरुप कार्यालयले यही चैत १५ गते जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरेको छ ।

सदरमुकाममा प्रमुख निर्वाचन अधिकृतको कार्यालय रहने छ भने अन्य पालिकामा निर्वाचन अधिकृतको कार्यालय रहने छ ।

निर्वाचनका लागि कार्यालयले कर्मचारी माग गर्न थालेको छ ।

एउटा मतदान केन्द्रमा सातदेखि आठ जनाको दरले कर्मचारी परिचालन गरिने छ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणबाट नेपालको समृद्धिको यात्रामा भरपर्दो साझेदारी हुने विश्वास

काठमाडौँ-चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको यही चैत ११ देखि १३ गतेसम्म हुने औपचारिक भ्रमणले दुई देशबीचको शताब्दीऔँ पुरानो जनस्तरको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा मात्र गरिएको छैन समस्यारहित नेपाल–चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ ।

तीन वर्षको अन्तरालमा चिनियाँ विशिष्ट पाहुनाबाट हुन लागेको यो भ्रमणले नेपाल र चीनबीचको परम्परागत मैत्री, पारस्परिक हित र चासोका विषयमा सहकार्य एवं साझेदारीलाई थप सुदृढ तुल्याउन फलदायी हुने अपेक्षा गरिएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा मर्यादाक्रममा उपप्रधानमन्त्रीभन्दा माथिको ओहोदामा रहनुभएका विदेशमन्त्री वाङ पेशेवर कूटनीतिज्ञ हुनुहुन्छ ।

नेपालका पुराना मित्र उहाँ नेपाल र नेपालीका विकासका आकाङ्क्षाबारे जानकार पनि हुनुहुन्छ ।

उहाँको यो भ्रमण दुई देशबीचको सहकार्यात्मक सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन उपयोगी हुने ठानिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेपछि चीनबाट नेपालको भ्रमण गर्ने विशिष्ट व्यक्ति विदेशमन्त्री वाङको नेपाल बसाइलाई नेपालको राष्ट्रिय हित प्रवद्र्धन गर्न तथा सहयोगको दायरलाई अझ विस्तृत बनाउने प्रयास हुनेछ ।

नेपालको राष्ट्रिय हित र विकासका आवश्यकता र प्राथमिकतालाई विश्वको उदीयमान प्रमुख शक्ति राष्ट्र चीनसँग साझेदारी र सहयोग अभिवृद्धिलाई नै सरकारले छलफलको कार्यसूची बनाएको छ ।

नेपाललाई अति कम विकसित मुलुकबाट स्तरोन्नति गरी सन् २०३० सम्ममा मध्यम आययुक्त मुलुक बनाउने तथा दिगो विकासका लक्ष्य प्राप्त गर्ने नेपालको विकासका ‘एजेण्डा’लाई टेवा दिने हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल संरचनाभित्र बन्दरगाह, सडक, रेलमार्ग, हवाई यातायात तथा सञ्चारजस्ता महत्वपूर्ण संरचना विस्तार गर्न चीनले अघि सारेको बहु–अर्ब डलरको विशाल पूर्वाधार विकास परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’अन्तर्गत सहयोगका परियोजना कार्यान्वयन विषयमा केन्द्रित रहेर विदेशमन्त्री वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँग नेपालले गहन छलफल गर्ने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए ।

बिआरआई कार्यढाँचा सम्झौतामा नेपालले हस्ताक्षर गरेको पाँच वर्ष भइसकेको सन्दर्भमा त्यसलाई कार्यान्वयन गर्ने चिनियाँ प्रतिबद्धताको सन्देश प्रवाह गर्न विदेशमन्त्रीको भ्रमण हुन लागेको उनले बताए ।

चीनले बीआरआईको परियोजना कार्यान्वयन योजनालाई अन्तिम स्वीकृतिका लागि नेपालसँग प्रस्ताव गरिसकेको छ भने त्यसलाई यही भ्रमणका क्रममा टुङ्गो लगाउने नेपाल सरकारको तयारी छ ।

नेपाल र चीनका विदेशमन्त्रीबीच शनिबार हुने वार्तामा नेपाली पक्षले एक दशकभन्दा लामो समयदेखि रोकिएको सिमानाको संयुक्त निरीक्षण, नेपाल र चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढी र तातोपानी पूर्णरूपमा खोल्न, हवाई उडान पुनः सञ्चालन गर्न अनुरोध गर्नाका साथै कोभिड–१९ को महामारीका कारण एकाएक स्वदेश फर्किनुपरेका विभिन्न चिनियाँ विश्वविद्यालयमा भर्ना भएका नेपाली विद्यार्थीले भोग्नुपरेको समस्या समाधान, २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चीनफिङको नेपाल भ्रमण र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका विगतका सम्झौताको कार्यान्वयनलगायत विषयलाई नेपालले उठाउने ती अधिकारीले बताए ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका क्रममा हुने उच्चस्तरीय बैठकको कार्यसूचीलाई अन्तिम रुप दिन नेपाल सरकारका विभिन्न मन्त्रालयबीच छलफल जारी छ ।

चिनियाँ विदेशमन्त्रीको भ्रमणका बेला नेपालबाट घाँस निर्यात गर्नेसम्बन्धी समझदारीमा हस्तारक्षर हुनेछ भने प्राविधिक तथा आर्थिक सहयोगअन्तर्गत नेपाललाई थप चिनियाँ अनुदान प्राप्त हुने भएको छ ।

अनुदान सहयोग प्राप्ति तथा प्राविधिक तथा आर्थिक सहयोगअन्तर्गत नेपाललाई प्राप्त हुने वार्षिक सहयोगबारे परराष्ट्र र अर्थ मन्त्रालयका उच्च अधिकारीबीच छलफल पनि निष्कर्षमा पुगिनसकेको अर्थ मन्त्रालयका एक अधिकृतले राससलाई बताए ।

यसै वर्षदेखि चीनले वार्षिक सहयोग बढाउने आश्वासन दिएको पनि ती अधिकृतले बताए ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा हुन लागेको चिनियाँ विदेशमन्त्रीको यो भ्रमण पोहोर मङ्सिरमा त्यहाँको राज्य परिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको नेपाल भ्रमणपछि दुई देशबीच प्रत्यक्षरूपमा उच्चस्तरीय भ्रमण र छलफल हुनसकेको थिएन ।

समय–समयमा हुने यस्ता भ्रमणले एकअर्कालाई बुझ्न तथा पीरमर्का सम्बोधनका साथै सम्बन्धको नवीकरणमा मद्दत पुग्नेछ ।

अरनिको र भृकुटीले जोडेको युगौँ पुरानो नेपाल–चीन सम्बन्ध सन् १९५५ मा दुई मुलुकबीच कूटनीतिक सम्बन्ध कायम भएपछि निरन्तर मौलाउँदै गएको छ भने मैत्रीपूर्ण सहयोगको परम्परा र उच्चस्तरीय भ्रमण आदान–प्रदानले पारस्परिक आत्मीयता अझ बढाएको छ ।

१२ वर्ष कैद दावीसहित पल विरुद्ध तनहुँमा मुद्दा दर्ता

नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका नायक पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सोमबार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।

जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ ।

“पीडित १६ वर्ष कम भएका कारण शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद दावीसहित मुद्दा दर्ता गरेका छौँ”, उहाँले भन्नुभयो, “साथै मनासिव क्षतिपूर्तिको मागदावी गरेका छौँ ।”

नायक शाहका म्यानेजर भनिएका कृष्ण जोशीविरुद्ध सो सजायको आधा सजाय माग गरिएको पनि उहाँले बताउनुभयो ।

जोशीलाई मतियारका रुपमा शाहको भन्दा आधा सजाय मागदावी गरिएको उहाँले जानकारी दिनुभयो ।

गत फागुन ११ गते नाबालिगकले शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता गरेपछि शाहले फागुन १५ गते प्रहरीमा आत्मसमर्पण गरेका थिए ।

सोही दिन प्रहरीले शाहविरुद्ध सात, २१ गते १२ र चैत ४ गते पाँच दिनको म्याद थप गरेको थियो ।

शाहविरुद्ध जिल्ला अदालत नवलपुरमा मुद्दा दर्ता भइसकेको छ ।

शाहविरुद्ध नवलपुरमा मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर भएको थियो ।

कानुनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

नवलपरासी पूर्वको एक रिसोर्टमा २०७७ चैत ७ गते आफूमाथि बलात्कार भएको दावी गर्दै किशोरीले जाहेरी दिएकी थिइन् ।

त्यसपछि शाहलाई नवलपरासी पूर्वमा पनि झिकाएर प्रहरीले बयान लिएको थियो ।

सरकारको मनसाय व्यवसायीलाई दुःख दिने छैन

गृहमन्त्री बालकृष्ण खाँणले स्वदेशी उद्योग र व्यवसाय प्रवद्र्धन, संरक्षण र आयआर्जनका लागि वातावरण निर्माण गर्न सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको टोलीसँग आज गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री खाँणले उद्योग र व्यवसायको प्रवद्र्धन गर्न सकेमात्रै राज्यको राजस्व बढ्ने र बजेट बढाउनमा मद्दत मिल्ने बताउनुभयो ।

गृहमन्त्री खाँणले व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको पनि बताउनुभयो ।

“व्यवसायीले भोग्नुपरिरहेका समस्या समाधान गर्न सरकार तयार छ, ऐन कानुनअनुरुप हामीले समस्या समाधान गरेर सहज व्यवसाय गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध छ, व्यवसायीलाई दुःख दिने सरकारको मनसाय छैन”, गृहमन्त्री खाँणले भन्नुभयो, “आफ्ना समस्या समाधानमा व्यवसायी पनि प्रतिबद्ध रहनुपर्छ ।”

उद्योगी व्यवसायीले पनि राज्यले अवलम्बन गरेका नीति र बनाएका कानुनअनुरुप व्यवसाय सञ्चालन गरेर सरकारलाई सहयोग गर्नुपर्नेमा गृहमन्त्रीले जोड दिनुभयो ।

भेटमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ताले वीरगञ्जमा उद्योगी व्यवसायीले भोग्नुपरिरहेका समस्याबारे अवगत गराउनुभएको थियो ।

औषधिको मूल्य सात/आठ वर्षदेखि पुनरावलोकन नभएको, भन्सार र बोर्डर चुस्तदुरुस्त नभएको, बोर्डरमा सुरक्षा व्यवस्था कडा नभएको, आन्तरिक ओसारपसारमा सुरक्षाकर्मीले धेरै चासो दिएकोबारे उद्योगी व्यवसायीले गुनासो गरेका थिए ।

जवाफमा गृहमन्त्री खाँणले समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभएको छ ।

चैत मसान्तमै मेलम्चीको दैनिक १७ करोड लिटर पानी राजधानीका धारामा

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही चैत महिनाभित्रमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी काम भइरहेको बताउनुभएको छ ।

विश्व पानी दिवसका अवसरमा खानेपानी मन्त्रालय, सोफेनलगायत सरोकार भएका निकायले आयोजना गरेको कार्यक्रममा उहाँले मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदा पनि अभाव हुने भएकाले याङ्री र लार्केको पानी पनि राजधानीमा ल्याउने सहमति भइसकेको बताउनुभयो ।

“सुक्खाग्रस्त क्षेत्रमा पम्पिङ र लिफ्टिङ गर्दा सिँचाइकै जस्तो मूल्य निर्धारणका लागि पहल गर्नेछु, पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना मेलम्चीको पानी काठमाडौँवासीलाई खुवाउने सपना यही चैत मसान्तसम्ममा पूरा हुनेछ, मेलम्चीको विकल्पका रुपमा सिस्नेरीलगायतका स्रोतको पनि अध्ययन भइरहेको छ”, उहाँले भन्नुभयो ।

शुद्ध खानेपानी नपुगेको सामुदायिक विद्यालयमा मन्त्रालयले पानी पुर्‍याउने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

तराई मधेसमा ८० देखि ९० प्रतिशतसम्म राज्यको लगानी गरेर ठूला ठूला ओभरहेड ट्याङ्की निर्माण गरिए पनि पूरा नभएको उल्लेख गर्नुहुँदै मन्त्री चौधरीले पूरा गर्ने गरी योजना अघि बढाइएको बताउनुभयो ।

मन्त्रालयका सचिव सुरेश आचार्यले आर्सेनिक युक्त पानीलाई स्वच्छ र सुरक्षित बनाउन जरुरी रहेको उल्लेख गर्नुहुँदै भूमिगत जलस्रोतका विषयमा थप अध्ययन र अनुसन्धान गरिनु अवाश्यक रहेको सुनाउनुभयो ।

मन्त्रालयले ‘पानीको स्रोतसँग जोडिएको हाम्रो ज्ञान, मूल फुटाउने हाम्रो अभियान’ का साथ विशेष कार्यक्रम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ४० प्रतिशत चुहावट रोक्न सके यसले पनि धेरैलाई राहत मिल्ने भएकाले ध्यान दिन सचिव आचार्यले निर्देशन दिनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणाले भूमिगत पानी व्यवस्थापन गर्न नसक्दा समस्या भएको बताउनुभयो ।

वर्षामा एक हजार ६०० मिलिलिटर पानी पर्ने देशमा वर्षाको पानी सङ्कलन नगर्दा समस्या हुने गरेको उहाँको बुझाइ थियो ।

गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले सुन्दरीजलबाट अहिले पनि उपत्यकामा ७० प्रतिशत पानी जाने गरेकामा मूलमुनि भने खानेपानी नभएकाले पानीको व्यवस्था गर्न मन्त्रालयसँग माग गर्नुभएको थियो ।

मेलम्चीको पानी पनि सुन्दरीजलमै प्रशोधन भएर उपत्यकामा वितरण हुन जाने भए पनि सुन्दरीजलवासी पानी हेरेरमात्र बस्ने गरी बनाइएको नीति गलत रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नेपाल खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, सोफेनका अध्यक्ष अनिलभद्र खनाललगायतले भूमिगत पानीको सही रुपमा उपयोग एवं व्यवस्थापन गरिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रममा पानीका बारेमा माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगितसमेत आयोजना गरिएको थियो ।

सो अवसरमा मन्त्रालयका सचिव आचार्यले रचना गर्नुभएको पानीसम्बन्धी चेतनामूलक गीतको मन्त्री चौधरीले विमोचन गर्नुभएको थियो । सो अवसरमा पानीसम्बन्धी चेतनामूलक गीत र लघुनाटकसमेत प्रस्तुत गरिएको थियो ।

पाटे बाघ मृत फेला

बर्दियाको मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा एउटा पाटे बाघ मृत फेला परेको छ ।

डिभिजन वन कार्यालय बर्दियाका अनुसार सोमबार बेलुका बाघ मृत फेला परेको हो ।

कुहिएको अवस्थामा फेला परेकाले उक्त बाघ करिब एक हप्ता अगाडि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।

जङ्गलमा कुहिएको जस्तो गन्ध आएपछि खोजी गर्दा बाघ मृत फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत द्रोण शर्माले जानकारी दिनुभयो ।

बाघको शव परीक्षणका लागि सदरमुकाम गुलरिया ल्याइएको छ । बाघको मृत्युको कारण खुल्न बाँकी छ ।

पूर्वमन्त्री सिंह र अभिनेत्री करिश्मा एमालेमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रेमबहादुर सिंह, लोकप्रिय कलाकार करिश्मा मानन्धरलगायतलाई पार्टी प्रवेश गराउनुभएको छ ।

अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शङ्कर पोखरेलले उहाँहरुलाई स्वागत गर्नुभएको थियो ।

सोही अवसरमा पर्सा जिल्लाको माओवादी केन्द्रका बाबुराम कौसिक र जनता समाजवादीका कार्यकर्ता पनि सोही पार्टीमा प्रवेश गर्नुभएको थियो ।

११ उपसचिवको सरुवा

काठमाडौँ-सरकारले ११ जना उपसचिवको सरुवाको निर्णय गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेको बैठकले ११ जना उपसचिवको सरुवा गरेको हो।

स्रोतका अनुसार रतुवामाई नगरपालिका मोरङका प्रमुख प्रशासकीय अधिकृत दिनानाथ लम्साल, आदिवासी जनजाति आयोगका पवित्र प्रकाश शाह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी उपसचिव अजिता शर्माको गृह मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका उपसचिवद्वय ईश्वर व्यञ्जनकार र वैकुण्ठराज गौतमको क्रममा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय वा अन्तर्गत सरुवा भएको छ ।

राष्ट्रिय भूमि आयोग ताहाचलका उत्तम कुमार घिमिरेको राष्ट्रिय योजना आयोग काठमाडौँमा सरुवा भएको छ भने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव कुमार प्रसाद कोइराला लोक सेवा आयोग पुगेका छन् ।

यसैगरीमन्त्रालयले यातायात व्यवस्था विभागका उपसचिव डा। लोक नाथ भुसाललाई राष्ट्रिय योजना आयोग, रक्षा मन्त्रालयका प्रदीप सुवेदीको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका अर्जुन गौतमको कृषि तथा पशुपन्छी विकास मन्त्रालय वा अन्तर्गत र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव चेतनाथ अर्याललाई जिल्ला समन्वय समितिको कार्यालय धादिङमा पठाएको छ ।

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

मधेस प्रदेशसभाको बैठक फेरि सारियो

मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ ।

उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ मा बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो ।

बैठक बस्न ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

मधेस प्रदेशसभाको बैठक फेरि सारियो