निर्वाचनमा तालमेल हुने वा नहुने कांग्रेसको हातमा छ: अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको बताउनुभएको छ ।

सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोद्धन गर्न आज जनकपुरधाम आइपुग्नु भएका अध्यक्ष प्रचण्डले जनकपुर बिमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सो कुरा बताउनुभएको हो ।

“अहिलेसम्म पाँच दलीय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन्”, उहाँले भन्नुभयो, “आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसको हातमा छ ।”

अध्यक्ष दाहालले हामीले गठबन्धलाई निरन्तररुपमा अघि बढाउनुपर्ने पक्षमा छौँ तर कांग्रेसभित्र तालमेलको बिषयलाई लिएर फरक फरक कुरा आइरहेकाले आगामी यात्रा कसरी अघि बढ्छ, त्यो कांग्रेसकै भूमिकामा निर्भर हुने बताउनुभयो ।

“स्थानीय तहको निर्वाचनमा कांग्रेस तालमेल गर्न तयार भए आफूहरु पनि तयार छौँ, तर कांग्रेसले गर्न चाहेन भन्ने हामी पनि आफ्नै तरिकाले चुनाबमा जान्छौँ”, उहाँले भन्नुभयो, “त्यसैले कसरी जाने भन्ने कुरा कांग्रेसकै हातमा छ ।”

हामी आफ्नै खुट्टामा उभिएर चुनाबी परिणाम ल्याउने गरी तयारी गरिरहेको उहाँको भनाइ छ ।

अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सामेल गराउने बिषयमा गठबन्धनभित्र कुनै छलफल नभएको तर प्रधानमन्त्री र लोसपाका नेताबीच छलफल भइरहेको जानकारी दिदैं सत्तासाझेदार दलबीच मन्त्री हेरफेरबारे छलफल भइरहेको बताउनुभयो ।

“मन्त्रिपरिषद्मा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन”, उहाँले भन्नुभयो, “केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।”

अध्यक्ष दाहालले अब बस्ने प्रतिनिधिसभाको बैठकमा नागरिकता विद्येयक र रेलसम्बन्धी विद्येयक प्रस्तुत हुने बताउँदै त्यही बैठकबाट दुवै विधेयक पारित गरिने पनि जानकारी दिनुभयो ।

प्रचण्डद्वारा जनयुद्धका घाइतेको स्वास्थ्योपचार गराउन सरकारको ध्यानाकर्षण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपाङ्गता भएका व्यक्तिको उचित स्वास्थ्योपचारको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी उहाँले घाइते/अपाङ्ग योद्धाका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

अध्यक्ष दाहालले जनयुद्धमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि–२०७४ लाई संशोधन र घाइते भई अपाङ्गता भएका व्यक्तिको लगत सङ्कलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई सूचीकृत गर्न आग्रह गर्नुभयो ।

उहाँले जनयुद्धका क्रममा घाइते भई अपाङ्गता भएका व्यक्तिलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र दिन, जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत प्रगतिशील आन्दोलनमा शहीद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

अध्यक्ष दाहालले जनयुद्धका क्रममा जेल जीवनयापन गरी यातना पीडित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउन पनि आग्रह गर्नुभयो ।

सो क्रममा प्रधानमन्त्रीले जनयुद्धका शहीद तथा बेपत्ता परिवार, घाइते तथा अपाङ्गता भएका व्यक्तिको व्यवस्थापन शान्ति प्रक्रियाकै अभिन्न अङ्ग हुनाका साथै राज्यको कर्तव्य भएको उल्लेख गर्दै उक्त समस्या समाधान गर्न सरकार सकारात्मक रहेको बताउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

यसअघि अध्यक्ष दाहालले आजै बिहान वीरअस्पतालमा पुगी काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेट गरी उहाँको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको थियो ।

मकवानपुरको झुरझुरेमा भएको दोहोरो भिडन्तमा उहाँ घाइते हुनुभएको थियो ।

शान्ति प्रक्रियापछि राना वाइसिएलको जिम्मवारीमा रहनुभएको थियो ।

भीडन्तका क्रममा टाउकामा लागेको चोट बल्झिएपछि उहाँको खुट्टामा इन्फेक्सन देखिएको र त्यसका कारण दुवै खुट्टा शल्यक्रिया गरेर फाल्नुपरेको अस्पतालले जनाएको छ ।

भेटका क्रममा अध्यक्ष दाहालले आगामी दिनमा पार्टी र सरकारका तर्फबाट उपचारका पहल तथा व्यवस्थामा कुनै कमी हुन नदिने, सात वर्षको बच्चाको पढाइ र पत्नीको रोजगारीका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

उहाँले वीरअस्पतालमा उपचाररत अन्य बिरामीको स्वास्थ्योवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो ।

अस्पतालमा उपचाररत गोरखा फुजेलका तिलराम देवकोटा (शहीद परिवार)लगायत अन्य बिरामीसँग भेट गर्नुभएको थियो ।

बिरामीका आफन्तले अस्पतालमा चिकित्सक ड्युटीमा नरहने, बिरामीलाई प्राइभेट अस्पताल रेफर गर्ने, एमआरआई मेसिन बिग्रेको भनेर निजी प्रयोगशालामा पठाउने, अस्पताल फार्मेसीले उपलब्ध गराउने भनेको निःशुल्क औषधि नपाइने, महँगो औषधि निःशुल्क नभएको, शल्यक्रिया उपकरणमा चर्को दलाली हुने गुनासो गरेका थिए ।

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

जिल्ला निर्वाचन कार्यालय झापामा आसन्न स्थानीय तहको निर्वाचनमा भाग लिनका लागि मङ्गोल नेशनल अर्गनाइजेसनसहित ३६ वटा दल दर्ता भएका छन् ।

कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेका अनुसार छ वटा राष्ट्रिय दल र ३० अन्य गरी ३६ वटा दल कार्यालयमा आइतबारसम्ममा दर्ता भएका हुन् ।

विसं २०७४ को स्थानीय निर्वाचनमा ३२ वटा दल दर्ता भएर निर्वाचनमा सहभागी भएका थिए ।

यसपटक थप चार नयाँ दल थपिएको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो ।

उहाँले मङ्गोल नेशनल अर्गनाइजेसन, मौलिक जरोकिलो पार्टी, जनमत पार्टीलगायत थपिएको बताउनुभयो ।

कार्यालयले जिल्लामा चुनावमा भाग लिन इच्छुक दललाई दर्ता प्रक्रियाका लागि चैत २ देखि चैत ६ गतेसम्म समय दिएको थियो ।

निर्वाचन गराउन जिल्लामा छ हजार ६०० कर्मचारी परिचालन गरिने जनाउँदै धमाधम सरकारी कार्यालयसँग कर्मचारीको विवरण लिने काम भइरहेको उहाँले बताउनुभयो ।

कार्यालयले निर्वाचन आयोगद्वारा निर्धारित मापदण्डअनुसारको जनशक्ति नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट काजमा झिकाइ निर्वाचनसम्बन्धी काममा खटाउने भएको छ ।

सरकारी कार्यालयबाट आएको विवरणको आधारमा जिल्ला जनशक्ति व्यवस्थापन समितिले आवश्यक कर्मचारीलाई कार्यालयमा काजमा ल्याई निर्वाचन प्रक्रियामा खटाइने उहाँको भनाइ छ ।

चुनावमा भाग लिन झापामा मङ्गोल नेसनलसहित ३६ दल दर्ता

विकासको खाका बनाई नेकपा(एस) चुनावमा होमिने

नेकपा (एकीकृत समाजवादी)को बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा कार्यालय उद्घाटन गरिएको छ ।

पार्टीका काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीले सोमबार वडा कार्यालयको उद्घाटन गर्दै पार्टीले स्थानीयवासीसँग छलफल गरी नगरपालिकाको पाँचवर्षे विकास खाका तयार गर्ने जानकारी दिनुभयो ।

वाग्मती प्रदेशसभा सदस्य कार्कीले जनतामाझ आफ्ना योजना लगी त्यसलाई पूरा गर्ने प्रतिबद्धताका साथ पार्टी आगामी निर्वाचनमा सक्रिय रूपमा सहभागी हुने जानकारी दिनुभयो ।

एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषद् सदस्य कुमार ओझाले स्वच्छ र इमान्दार नेतृत्व रहेको आफ्नो पार्टीमा सहभागी हुन र निर्वाचनमा सहयोग गर्न सबैमा आह्वान गर्नुभयो ।

पार्टी केन्द्रीय सदस्य सीता श्रेष्ठ, पार्टी वाग्मती प्रदेश सदस्य ठाकुर खकुरेल, पार्टी वडा कमिटीका अध्यक्ष केदार चौलागाईँ, नगर कमिटी सदस्य हरिबहादुर बस्नेत र पार्टी वडा सचिव विश्वबल्लभ नेपालले आगामी निर्वाचनमा सफलता प्राप्त गर्नका लागि सबै नेता–कार्यकर्तालाई जनताका घरघरमा जान आग्रह गर्नुभयो ।

पहाडी भूभागमा मेघगर्जन:चट्याङसहित हल्का वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अन्य भू–भागमा सामान्यतया सफा रहने भएको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न र पहाडी भू–भागको एक वा दुई स्थानमा मेघगर्जन, चट्याङको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव छ डग्री र अधिकतम तापक्रम २९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम चार दशमलव एक डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३७ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।

रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

भवन निर्माण सम्पन्न पश्चात् अन्तिम बिल भुक्तानी दिने क्रममा ५ लाख घुस लिएको दाबी आयोगले गरेको छ ।

आयोगले मेयर धर्मेन्द्रप्रसाद पटेलले उपभोक्ता समितिबाट ५ लाख घुस लिएको अभियोग सहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

१५ फागुनमा मेयर धर्मेन्द्रप्रसाद पटेल र उनका सहयोगी अशोकप्रसाद पटेललाई अख्तियारको टोलीले दुई लाख रुपैयाँ नगद र दुई लाख रुपैयाँको चेकसहित पक्राउ गरेको थियो ।

अख्तियारले दुवै जनालाई ५ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले पुष्टी गरेका छन् ।

स्थानीय तहका प्रमुख घुससहित पक्राउ परेको र उनी विरुद्ध मुद्दा चलेको यो पहिलो पटक भएको प्रवक्ता भण्डारीले जानकारी दिए ।

रौतहटका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जादै

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जादै

आसन्न स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा (माओवादी केन्द्र)ले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर आउन लाग्नुभएको छ ।

जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादी केन्द्र मधेस प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिनुभयो ।

सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने जनाइएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड आज जनकपुर जादै

बिमस्टेकमा प्रधानमन्त्री भर्चुल माध्यमबाट सहभागी हुनुहुने

प्रधानमन्त्री शेरबहादुर देउवाले यही चैत १६ मा श्रीलङ्कामा हुने पाँचौ बिमस्टेक शिखर सम्मेलनमा भर्चुल माध्यमबाट सहभागिता जनाउनु हुने भएको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएका ज्ञानेन्द्रबहादुर कार्कीले बिमस्टेक मन्त्रीस्तरीय बैठक र बिमस्टेक परराष्ट्र सचिव/वरिष्ठ पदाधिकारी बैठकमा क्रमशः परराष्ट्रमन्त्री, परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाउन नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

बैठकले पाँचौँ बिमस्टेक शिखर सम्मेलनमा बिमस्टेक बडापत्रलगायत अन्य दस्तावेजमा नेपालका तर्फबाट हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

सरकारले आर्थिक वर्ष २०७९/८० मा प्रदेश र स्थानीय तहलाई उपलव्ध गराउने राजस्व बाँडफाँडको ढाँचा हिस्सा तथा वित्तीय समानिकरण अनुदान वितरणको अनुमानित सीमा स्वीकृत गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिडेटको महाप्रबन्धकमा प्रेमराज भण्डारी र विद्युत् नियमन आयोगको रिक्त सदस्यमा गौतम डङ्गोललाई नियुक्त गरेको छ ।

‘हाइलेज एक्स्पोर्ट फ्रम नेपाल टु चाइना’ सम्बन्धी समझदारीपत्रमा चीनसँग सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरिएको सरकारका प्रवक्ता कार्कीले बताउनुभयो ।

खानेपानी मन्त्रालय अन्तर्गत निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने र प्रहरी १०औँ संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको मन्त्रिपरिषद्ले आगामी जेठ १९ देखि २० गतेसम्म स्वीडेनको स्टकहोममा हुने कार्यक्रमका साथै यही चैत १४ गते दुवईमा हुने जलवायुसम्बन्धी कार्यक्रममा सहभागी हुन वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायतलाई स्वीकृति दिएको छ ।

यही चैत १० देखि १३ सम्म भारतको हैदरावादमा आयोजना हुने ‘विङ्स इण्डिया’ नामक कार्यक्रममा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिएको बैठकले यही चैत ७ मा युएन ह्याविटेटद्वारा आयोजित सहरी विकाससम्बन्धी बैठकमा भर्चुलरुपमा सहभागिता जनाउन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्वीकृति दिएको छ ।

बैठकले साविक विराटनगर नगर विकास समितिको क्षेत्र संशोधन गरी हालको विराटनगर महानगरपालिकाको चारकिल्लाभित्र सीमित रहने गरी नगर विकास ऐन २०४५ को दफा ४ बमोजिम विराटनगर नगर विकास समिति गठन गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता कार्कीले जानकारी दिनुभयो ।

कैलालीको धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन र फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्य अगाडि बढाउन स्वीकृति दिएको बैठकले आयुर्वेद विभाग पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको नाममा रहेको भवनसहित भौतिक संरचना प्रदेश नं १ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले पाथीभरता क्षेत्र विकास समितिको अध्यक्षमा रक्की थेवेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

कैलालीमा बढ्यो चुनावी सरगर्मी

सुदूरपश्चिम-आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ ।

चुनावको तयारीस्वरुप राजनीतिक दल बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित भइरहेका छन् ।

बैठक, भेला, प्रशिक्षणमा स्थानीय तहको चुनावमा पार्टीका तर्फबाट उठ्ने उम्मेदवारलाई कसरी विजयी बनाउन सकिन्छ भन्ने विषयमा छलफल हुने गरेको राजनीतिक दलका नेता कार्यकर्ताले बताएका छन् ।

पालिका तहमा विभिन्न दलबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारको नामको टुङ्गो लागाउन बाँकी रहँदा भइरहेका राजनीतिक दलका भेला, प्रशिक्षण, बैठक कुन तहमा कस्तो व्यक्तिलाई टिकट दिँदा चुनाव जित्न सकिन्छ भन्नेमा केन्द्रित देखिन्छन् ।

चुनावी सरगर्मी बढ्दा नेपाली कांग्रेसले ‘घर घर जाउँ, कांग्रेस जिताऔँ’ भन्ने नारासहित प्रशिक्षण, भेला र बैठक गरिरहेको सो पार्टीका जिल्ला सचिव नृप सुनार बताउनुहुन्छ ।

“वैशाख पहिलो हप्ताभित्र स्थानीय तहमा उठ्ने पार्टीका उम्मेदवारको टुङ्गो लागिसक्छ’’, सुनारले भन्नुभयो,‘‘विधान बमोजिम पार्टीका विभिन्न तहमा रहेका संसदीय बोर्डले उम्मेदवारको टुङ्गो लगाउँछ ।’’

नेकपा एमालेले पनि चुनाव लक्षित बैठक, छलफललाई तीव्र बनाएको छ ।

एमालेका जिल्ला नेता रणबहादुर चन्दले भन्नुभयो, ‘‘आफूहरु आगामी चुनावी रणनीतिमा केन्द्रित रहेर काम गरिरहेका छौं ।

’’(नेकपा माओवादी) केन्द्र र (नेकपा एकीकृत समाजवादी) पनि पार्टी सङ्गठन सुदृढीकरणका लागि आक्रामक रुपमा लागेका छन् ।

एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव खडक रावतले आगामी चुनावमा पार्टीका उम्मेदवारलाई विजयी बनाउन गर्नुपर्ने सबै तयारीमा पार्टी लागेको जानकारी दिनुभयो ।

रावतले भन्नुभयो,‘‘चुनावमा सकभर सत्तापक्षीय दलको गठबन्धन बनाएर जाने र गठबन्धनमा कांग्रेस सहमत नभए कम्तीमा पनि एमाले बाहेकको बामपन्थी दलको गठबन्धन बनाएर चुनावमा होमिने तयारी भइरहेको छ ।’’

पाँच वर्षअघि भएको स्थानीय तहको निर्वाचनमा कैलाली जिल्लाका कूल १३ स्थानीय तहका प्रमुखमध्ये सात तहमा एमाले, धनगढी उपमहानगरपालिकासहित तीन तहमा कांग्रेस, दुई तहमा नेकपा माओवादी केन्द्र र एक तहमा तत्कालीन लोकतान्त्रिक फोरमका उम्मेदवार प्रमुख पदमा विजयी भएका थिए ।

लोकतान्त्रिक फोरम कांग्रेसमा समाहित भएको छ भने एमाले विभाजनको अवस्थामा छ ।

आउने निर्वाचनमा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्रबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ ।

यद्यपि पाँच वर्षको अवधिमा विभिन्न पार्टीमा भएको विभाजन,आन्तरिक गुटगत राजनीति लगायतका कारण पालिका तहको निर्वाचनको परिणाम पहिलेको भन्दा फरक आउन सक्ने कतिपयको विश्लेषण पनि छ ।

चुनावी गतिविधि बढ्दै गएपनि निर्वाचनमा सत्ताधारी दलबीच चुनावी गठबन्धन हुने नहुनेमा निश्चित् भइसकेको छैन ।

कैलालीको क्षेत्र १ मा टीकापुर घटनामा दोषी ठहर गरिएका रेशमलाल चौधरीको नयाँ दलको गतिविधि बढ्न थालेको छ ।

अन्य दलको तुलनामा कैलालीमा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका चुनाव केन्द्रित गतिविधि कम देखिएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था संविधानले गरेको छ ।

नेपालको राज्य शक्तिको प्रयोग पनि यिनै सङ्घ, प्रदेश र स्थानीय तहले गर्न पाउने संवैधानिक व्यवस्था छ ।

सुदूरपश्चिम प्रदेशको राजधानी सहर र प्रमुख व्यापारिक केन्द्र धनगढी उपमहानगरपालिकाको चुनावलाई बढी चासो र उत्सुकतापूर्वक हेरिन थालिएको छ ।

नगरपालिकाका कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ ।

अख्तियारमा लिखित उजुरी परेपछि सो उजुरीसँगै सम्बन्धित कागजात नगरपालिकाबाट नियन्त्रणमा लिइएको अख्तियार अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो ।

“लिखित उजुरी परेपछि सोसँग सम्बन्धित कागजात मात्रै नियन्त्रणमा लिइएको हो”, उहाँले भन्नुभयो,“अब छानबिनको प्रक्रिया अघि बढ्यो ।”

स्रोतका अनुसार अख्तियारले पुल निर्माणका विस्तृत परियोजना प्रतिवेदन, इञ्जिनियरिङ परामर्शदाता छनोट, सोसम्बन्धी भुक्तानी लगायतका कागजात नियन्त्रणमा लिएको हो ।

त्यसैगरी आयोगले केही दिनअघि मात्रै भीमदत्त नगरपालिकाबाट महाकाली नदीमा रोयल्टी सङ्कलनको ठेक्का पाएको यहाँस्थित भवानी कन्स्ट्रक्सन कम्पनीको कागजात नियन्त्रणमा समेत लिएर छानबिन गरिरहेको छ ।

नदीजन्य पदार्थमा रोयल्टी सङ्कलनको जिम्मा पाएको उक्त कम्पनीले प्रतिघन मिटर नदीजन्य पदार्थको रु ७५ उठाउनुपर्ने भए पनि रु १०५ सम्म सेवाग्राहीबाट लिएको अख्तियारीको भनाइ छ ।

चुनावमा सत्तारुढ गठबन्धनमा तालमेल हुन्छ: अध्यक्ष नेपाल

काठमाडौँ-नेकपा एकिकृत समाजवादीका पार्टीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको चुनावमा तालमेल हुने बताएका छन् ।

काठमाडौँको शंखरापुर नगरपालिकामा आज भएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले सत्तारुढ गठबन्धनमा रहेका दलहरूका बिचमा तालमेल हुने बताएका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरूबिच तालमेलका विषयमा छलफल भइरहेको अध्यक्ष नेपालले बताएका छन् ।

स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहले जनताको मन जितेर काम गर्नुपर्ने बताउनुभएको छ ।

सुन्दरहरैचा नगरपालिका–८ सलकपुरस्थित प्रशासनिक कार्यालय भवनको आज शिलान्यास गर्दै उहाँले भन्नुभयो, “सङ्घीयताको जग स्थानीय तह भएकाले जनताको आकाङ्क्षाअनुसार जनप्रतिनिधिले काम गर्नुपर्छ ।”

प्रधानमन्त्री देउवाले उद्योग, पर्यटन र कृषि क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना बोकेको यो नगरपालिकाले यहाँको समृद्धिका लागि महत्वपूर्ण काम गरोस् भनी शुभकामना व्यक्त गर्दै व्यवस्थित सहरीकरण आजको आवश्यकता हो, यसतर्फ सबैको ध्यान जानुपर्दछ भन्नुभयो ।

उहाँले निर्माण हुन लागेको भौतिक संरचनालाई पूर्णता दिन सङ्घीय सरकारले थप बजेट व्यवस्थापन गर्ने बताउँदै यहाँको पर्यटकीय स्थलको समुचित विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउन सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उहाँले निर्वाचन गराउने काम निर्वाचन आयोगको हो बताउँदै सरकारले निर्वाचनका लागि आयोगलाई सहयोग गर्ने मात्र हो भन्नुभयो ।

प्रधानमन्त्री देउवाले पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज स्थापना गर्न सरकारले सहयोग गर्ने पनि बताउनुभयो ।

लेटाङ घटनाका दोषीलाई कारबाही गरिन्छ प्रधानमन्त्री देउवाले मोरङको लेटाङ नगरपालिकामा एक प्रहरी जवानको हत्या भएको घटनामा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धीत निकायलाई निर्देशन दिनुभएको छ ।

खेरुवास्थित शिक्षा विकास माविका एक शिक्षकले १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा आइतबार भएको सर्वपक्षीय छलफलमा आक्रोशित भीडको आक्रमणमा परेर महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियो ।

भीडले उनको घाँटी र छातीमा छुरा प्रहार गरेको थियो ।

होली खेल्ने क्रममा खेरुवास्थित सामाजिक शिक्षाका ५६ वर्षीय शिक्षक मनोज पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीया बालिकालाई यौन दुव्र्यवहार प्रयास गरेको विषयमा शिक्षक र अभिभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयवासीले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि त्यसलाई नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेको थियो ।

कार्यक्रममा सांसद गोपीबहादुर अछामी, रमेशजङ्ग रायमाझी र भानुभक्त ढकालले यस क्षेत्रका जनचासोका बिषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले चार बिघा एक कट्ठा जग्गा क्षेत्रफलमा रु २७ करोडको लागतमा सो प्रशासनिक कार्यालय भवन निर्माण हुने जानकारी दिनुभयो ।

झन्डै तीन दशकअघि स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज हुनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

उपप्रमुख धनमाया तामाङले यो नगरपालिकामा मिश्रित समुदाय र धर्मका मानिसहरु बसोबास गर्ने भएकाले यहाँको सौन्दर्य नै समाजिक सद्भाव बलियो छ भन्नुभयो ।

यसैगरी, प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैचा नगरपालिका–१ स्थित नवनिर्मित नगर अस्पतालको उद्घाटन गर्नुभयो ।

सो अवसरमा नगरप्रमुख ढकालले ३५ शय्याको सो अस्पतालबाट यस क्षेत्रका नागरिक निकै लाभान्वित हुने बताउँदै नेपाल सरकारको मापदण्डअनुसार अस्पताल निर्माण भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गादाता र अतुलनीय कार्य गर्नुहुने विभिन्न महानुभावलाई सम्मान पनि गर्नुभयो ।

चिनियाँ विदेशमन्त्री चैत ११ गते नेपाल आउदै

काठमाडौँ-आगामी चैत ११ गते चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आउने भएका छन् ।

परराष्ट्र मन्त्रालयले सोमबार जानकारी दिएको जानकारी अनुसार परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा विदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको स्रोतले बताएको छ।

यस्तै परराष्ट्रमन्त्री खड्कासँग दुई पक्षीय भेटवार्ताको मिति चैत १२ गतेका लागि तोकिएको छ ।

भ्रमणका क्रममा उनले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने तय भएको छ ।

विदेशमन्त्री वाङ चैत १३ गते स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।

नेपालको संसदबाट एमसीसी पारित भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान

नेपाल पत्रकार महासङ्घका अध्यक्ष बिपुल पोख्रेलले नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सामावेशी र सामाजिक मुद्दा उठाउने महत्वपूर्ण संस्थाका रुपमा विकास भएको बताउनुभएको छ ।

देशैभरबाट राष्ट्रिय महाधिवेशनमा सहभागी हुन सौराहा आएका फोनिज सदस्यको स्वागतमा नेपाल प्रेस युनियन चितवन शाखाले आयोजना गरेको कार्यक्रममा उहाँले समावेशिताको अभ्यासले राष्ट्रियतालाई बलियो बनाउँछ भन्नुभयो ।

अध्यक्ष पोख्रेलले सञ्चारमाध्यमहरुबाट सबै वर्ग र समुदायको भाषामार्फत आफ्ना कुरा अघि बढाउन प्रयास गरेको फोनिजसँग महासङ्घले सहकार्य गरेर अघि बढिरहेको छ भन्नुभयोे ।

नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले प्रजातन्त्र, समावेशी सिद्धान्तका क्षेत्रमा फोनिजको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

फोनिजका वरिष्ठ उपाध्यक्ष गजुरधन राईले राष्ट्रिय एकतालाई सर्वोपरि ठानेर फोनिज पत्रकारिता क्षेत्रमा लागेको हो भन्नुभयो ।

आइतबारदेखि सुरु भएको फोनिजको सातौँ राष्ट्रिय महाधिवेशन आज नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुँदै छ ।

समावेशी र सामाजिक मुद्दामा फोनिजको योगदान

निर्वाचनबारे छलफल गर्न एमालेको पोलिटव्युरो बैठक

निर्वाचनबारे छलफल गर्न एमालेको पोलिटव्युरो बैठक

काठमाडौँ-निर्वाचनबारे छलफल गर्न एमालेले आज डाकेको पोलिटव्युरो कमिटीको बैठक सुरु भएको छ ।

कार्की व्यांक्वेट बबरमहलमा जारी बैठकमा स्थानीय तह निर्वाचनको तयारीबारे छलफल हुने तथा चुनावी घोषणापत्रको खाका तयार पारिने बताईएको छ ।

बैठकमा अहिले सम्मको राजनीतिको समीक्षाका उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

निर्वाचनको तयारीमा सक्रिय एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

यसै गरी चैत १३ गते स्थायी कमिटीको बैठक बस्ने तय भएको छ ।

निर्वाचनबारे छलफल गर्न एमालेको पोलिटव्युरो बैठक